काठमाडौँ आफैमा रमणीय छ भन्ने कथन सुनेकै हो, बुझेकै हो । अनि पढेको पनि हो । तर जब जब काठमाडौँ  जान्छु मैले धुलो, धुवा र ध्वनि प्रदूषण मात्र देख्छु । मैले रमणीय ठाउँ नदेखेर हो या काठमाडौँलाई रमणीय देख्ने-लेख्नेहरूले धुलो-धुवा नदेखेरै हो भगवान् जानुन् !

हुन त म चक्रपथ भन्दा बाहिर घुमेको पनि छैन । पशुपति र रत्नपार्क भन्दा अरू ठाउँ पुगेको पनि छैन । रानीपोखरीको कोखैको आकाशे पुलबाट धरहरा चाहिँ हेरेकै हो । कहिले जाँदा चढ्न पाइने हो थाहा पनि छैन !

धरहरा नेपालको वर्तमान अवस्था झल्काउने प्रतिबिम्ब हो जस्तो लाग्छ । पूरा भयो भनेको उहिले नै हो । अझै पनि अधुरो नै छ । हुन त धरहरा पनि अब त्यो धरहरा कहाँ रह्यो र ?

जुन धरहरा बर्षौं पहिला इँटा-इँटा जोडिएर मात्र बनेको थिएन । भीमसेन थापाको रहर र कहर थियो त्यसमा । पुरै उपत्यका देखाउने खुबी थियो त्यसमा । एउटा शैली थियो – मान्छेहरू चढ्न रहर गर्थे । म जस्ता लाखौँ होलान् जसले धरहरा चढ्न पाएनन् । अब चढे पनि उहीँ भ्यु टावर सम्झिएर न चढ्ने हुन् ।

त्यही माथि नवनिर्मित स्काई टावर झन् सुविधा सम्पन्न र आधुनिक आकर्षक बोकेर उभिएको छ । कहीँ यसले धरहरालाई सुकाउने त हैन भन्ने पिर पनि लाग्यो । धरहरा त किन सुक्थ्यो र ! त्यहाँ चढ्न चाहनेहरूको भिड सुक्छ कि भन्ने कुराले मन खोतलिरह्यो । झन् जनताको पसिनाबाट बनेको धरहरा भोलिको दिनमा एक स्तम्भ मात्र बन्यो भने ?

आकाशे पुलमाथि उभिएर यस्तै कुरा सोचिरहेको थिए ।

धरहरा चढ्न नपाए पनि स्काई टावर भए पनि चढौँ कि भन्ने ख्याल  न आएको हैन। यस्सो गोजी छामछुम पारेँ।

भैगो !  “यो पैसाले त भोलि बटौली पुगिन्छ ।”

यही सोचका साथ साझा बस चढेर फर्किएँ । अब भने अलि ढुक्क भएँ । धरहरा सायद स्तम्भ मात्र रहँदैन ।

स्काई टावर नचढ्ने बहाना थियो मसँग । टावरको उद्घाटन अझै भएको थिएन ।

अरालिँदै-बरालिँदै बसपार्कतिर मोडिएँ । फोक्सोभरि काठमाडौँ को धुलो लिएर सानिमाको होटेलतिर लागेँ । होटेलमा ग्राहकको चाप खासै थिएन ।

“बफ खान्छस् कि पोर्क ?”

सानिमा सोध्दै हुनुहुन्थ्यो । यस्सो टिसर्ट उठाएर हेरेँ जनैले मलाई नै गिज्याउँदै थियो ।

चुपचाप दुई झिर बफ सेकेँ अनि घरतिर लागेँ ।

दूध र मोही त सधैँ खाइराखेकै हो । आज सेकुवा खादा लाग्यो, “भगवानले भैँसीलाई अलराउन्डर नै बनाएका रहेछन् । दूध, मोही, घिउ, सुकुटी, सेकुवा, मम जे बनाए पनि मीठो !”

चिन्ताहरण रेस्टुरेन्टमा अलिकति चिन्ता सेकुवासँग मिसाएर घुर्लुक्क निलेपछि पेटपुजा पनि भयो । अब फर्किनु थियो ।

****

म त फर्किन चाहन्थे । समयले अर्कै चाहेको थियो क्यारे । यस्सो फेसबुकका भित्ता नियाल्दै थिएँ । मुग्लिनमा पहिरो खसेको न्युज अगाडि आयो । समयले अझै एक दुई दिन भैँसीसँगै रमाउन भने क्यारे ! यस्तै सोच्दै थिएँ । कृष्ण ढुङ्गेल जीको पोस्टले स्वात्तै तान्यो ।

साहित्यपोस्ट उत्तम आख्यान, गैरआख्यान, काव्य पुरस्कार वितरण हुँदै रहेछ । त्यो पनि होटेल अक्मामा ।

सानैदेखि साहित्यमा रुचि भएरै होला । अघिल्ला पुस्ताका साहित्यकारहरूलाई रस मानी मानी पढियो । बुबा निद्रा लागेन भनी भनी मध्यरातसम्म लोककथा पनि सुनियो । नयाँ पुस्ताका साहित्यकारलाई पनि पढिएकै छ । सकेसम्म पढ्ने कोसिस गरिएकै छ ।

कहिलेकाहीँ आफै पनि लेख्ने गर्थें । मैले सबैभन्दा पहिला कविताबाट सुरु गरेँ । त्यसपछि अलिअलि गजल, मुक्तक, कथा, संस्मरण पनि लेखियो । तर के लेखिँदै छ भन्ने चाहिँ थाहा हुँदैन थियो ।

साहित्यपोस्टको आगमनपछि थाहा भयो हामीले लेखेका लेखहरू पनि स्तरीय भए भने त छापिँदा रहेछन् नि !

सानैदेखि साहित्यमा रुचि भए पनि तैँले लेख्नुपर्छ भनेर हौसला दिने चाहिँ कोही भेटिएको थिएन । बरु कथा, उपन्यास लेख्नेहरू त पागल हुन्छन् भन्ने चाहिँ सुनियो ।

साहित्यपोस्टमा एउटा संस्मरण लेख छापिएपछि चाहिँ यही पागलपन्तीको भिडमा हिँड्न मन लागिरहेको छ ।

यात्रामा कोही अलि मिजासिलो मान्छे भेटियो भने चाहिँ मैले पनि कथा कविता लेख्छु है भन्न छुटाउँदिन । कतिले त हौसला पनि दिन्छन् । कोही अलि अलग्गै हुन्छन् क्यारे ।

भन्छन्, “यस्ता फाल्तु चिजमा लागेर पनि जिन्दगी बन्छ र ?”

“जिन्दगी बनाउन भन्दा पनि बह पोख्न लेख्ने गरेको छु ।” यति भनेर मुसुक्क मुस्कुराइदिन्छु।

अब सबैलाई सम्झाएर पनि त कहाँ साध्य छ र ?

तर मनमनै महाकवि, भैरव अर्याल आदिलाई सम्झन्छु र यही प्रश्न आफैलाई गर्छु ।  अनि प्रश्नहरूले देखाएको बाटो हिँड्ने कोसिस गर्छु । जवाफ खोज्दै- खोज्दै ।

साँच्चै साहित्यकारहरू कस्ता हुन्छन्  ?

यही प्रश्न लिएर म साहित्यपोस्टको कार्यक्रममा पुगेको थिएँ ।

पहिला त नजाऊ होला जस्तै लागेको थियो । तर कृष्ण ढुङ्गेलले सबैलाई चुले निम्तो छ है भनेर लेखेको देखेपछि चाहिँ जाने मन बनाएँ ।

आदरणीय गुरु महेश पौड्याललाई म्यासेज गरेँ । उहाँ पनि आउँदै हुनुहुँदो रहेछ । त्यही भेट्ने निधो भयो ।

कार्यक्रम दिउँसो एक बजेदेखि थियो । मेरो मन भने बिहानैदेखि ढुकढुक थियो । न त मेरो कुनै कृति छ जो पुरस्कृत हुनेवाला छ । न त म सम्मानित हुनेवाला छु । आखिर किन यति साह्रो ढुकढुक ? लामो श्वास तानेँ  अनि तयारीतिर लागेँ । एघार बजेको थियो । कपडा लगाउनु पर्यो भनेर कोठामा पसेको गतिला कपडा नै छैनन् ।

लौ बरबाद !

वर्षाले गर्दा धोएका कपडा सुक्नै पाएका थिएनन् । एउटा अलिक पातलो सर्ट र पाइन्ट ल्याएर सानिमालाई इस्त्री गरिदिन आग्रह गरे । मैले इस्त्री गरेर कपडा लगाएको पनि पहिलो पटक थियो । उहाँ हतारमा हुनुहुन्थ्यो । राम्रोसँग इस्त्री गर्न भ्याउनुभएन । कपडा अझै अलिअलि चिसै थिए । त्यस्तै लगाएँ ।

कपाल मिलाउनु पर्यो भनेको गतिलो तेल नै भेटिन । छातेटोपीले कपाल ढाक्ने निधो गरेँ ।

टोपी र टाउको काे तालमेल मिलेको थिएन । म खासै लवाइ खवाइको तालमेल मिलाउने मान्छे त हैन । तरपनि आज साहित्यकारहरूको जमातमा मिसिन जो जाँदै थिएँ । सबै चिटिक्क परेर आउँछन् होला । म भने … । मनमा अनगिन्ती ख्यालहरू फुटबल खेल्दै थिए ।

“अलिक टाढै जानु छ है ।” यत्ति मात्र भने अनि बाहिर निस्किएँ ।

ती गल्लीहरू मेरा लागि खासै परिचित थिएनन् । एकछिन त मूल सडकमा निस्कनु नै सकसपूर्ण रह्यो । आखिर विज्ञान के का लागि ? गुगल म्याप खोलेँ । उसले सजिलै हाइवेमा पुर्याइदियो । बिजी मल अगाडि आएर टक्क उभिएँ । किन ? किन ?

आज सबैले मलाई हेरिरहेका छन् कि झैँ आभास हुँदै थियो ।

ठुला ठुला साहित्यकारहरूसँग भेट्दै छु। कस्तो पो देखिएको छु कुन्नि ! मनमा यही पिर थियो। गोजीमा पेन राख्न पनि बिर्सेछु ।

****

बस त आइरहे, गइरहे । आज मलाई बसमा जान मन लागेन । पठाओ बुक गरेँ र गन्तव्यतिर लागेँ ।

अगाडि तिर त ज्यादै धुलो रहेछ । खर्लप्पै ढाक्यो । बरु बस नै ठिक थियो झैँ  लाग्यो । अब उत्रिने कुरो भएन । चुपचाप बसिरहेँ । होटेल अक्मामा पुग्नै लाग्दा वर्षाले भेट्यो । भिज्दै भिज्दै होटेलतिर लागेँ अनि बाहिर पट्टि ओत लागेँ ।

पानीले भिजेपछि सर्ट त झन् भद्दा लाग्दै थियो । यति ठूलो होटेल छ । भित्र पस्न दिन्छन् कि नाइँ कुन्नि  ! झन् मेरो हुलिया हेर्दा बाहिरै बाट लखेट्ने हुन् कि भन्ने पनि लाग्यो ।  मनमा विभिन्न कुराहरू खेलाउँदै भित्र पसेँ । रिसेप्सनमा टक्क अडिएँ । एक भलाद्मी मान्छेले नमस्कार टक्र्याए । सधैँ स्टाफको रूपमा होटेलहरूमा पसियो । कुनै होटेलमा पस्दा नमस्कार पाएको चाहिँ पहिलो पटक नै थियो ।

“हजुर के सेवा गरौँ ?”

उनको मिजासिलो बोलीले भुतुक्कै भएको थिएँ सायद।

“हजुर यहाँ साहित्यपोस्ट…!” भन्दै थिएँ ।

उनले बाटो देखाइदिँदै भने त्यहाँ जानुस् । हस् भनेर त्यतैतिर लागेँ ।

हलभित्र पस्दा स्टाफहरू सेटिङ गर्दै थिए । भित्रपट्टि कुर्सीको ताँती थियो । मञ्च व्यवस्थापन हुँदै थियो । सायद म नै छिटो पुगेको थिएँ । साहित्यिक सम्बन्धित मान्छे कोही देखिन र  बाहिरै उभिएँ । भिजेको जिउ त्यही माथि एसिको चिसोले आङ सिरिङसिरिङ गर्दै थियो । मुटु ढुकढुक गर्दै थियो ।

त्यतिकैमा अनिता कोइराला म्याम आउनुभयो । नमस्कार टक्र्याएँ। उहाँले जवाफी नमस्कार फर्काउँदै सोध्नुभयो, “भाइ वाईफाईको पासवर्ड के होला ?”

खै म्याम म पनि भर्खर यही कार्यक्रमको लागि आएको ।

यत्ति भन्दै थिएँ । अनिता जी ले मुस्कुराउँदै भन्नुभयो, “सरि है भाइ ! मैले त स्टाफ होला भन्ने लागेर नि !”

अब त झन् मलाई आफ्नै हुलियाप्रति शङ्का लाग्न थाल्यो । मैले त खासै हुलिया देखेर मान्छेको अन्दाज गर्दिनँ । तर अरूले त गर्छन् होला ! यस्तै कुराहरू मनमा आइरहे । शङ्कालाई थाती राखेर कुरा अगाडि बढाएँ । अनिताजीका कथाहरू पढिरहेको हुन्थे । त्यही कुरा जाहेर गरेँ ।
छोटो वार्तालापपछि उहाँभित्र पस्नुभयो । म पनि लुरुक्क पछाडि पट्टिको कुर्सीमा गएर बसेँ ।
एकैछिनमा हल भरिन लाग्यो । सबै एक अर्कासँग आदर सत्कारमा व्यस्त थिए ।

कोही भने म जस्तै अनजान बनेर चुपचाप बसिरहनु भएको थिए । विडम्बना यो थियो कि भिडमा केहीलाई मात्र मैले चिनेको थिएँ । बाँकी सबै अनजान ।

हुन त मैले सिर्जना पढेपछि सर्जकको नाम याद राख्छु । अनुहार बिर्सन्छु । कतिपय भने मैले नपढेका सर्जक थिए ।

कतिपय साथीहरूले भन्ने गर्छन्, “त केटी जस्तो छस् ।”

अनि मनमनै सोच्छु, “के केटा भएर लजाउन पाइँदैन र ?”

फेरि सबै नारीहरू लजालु स्वभावका नै हुन्छन् भन्ने पनि त छैन । आफ्नो स्वभाव परिवर्तन गर्न पनि कहाँ त्यति सजिलो छ र ? निकै बेर चुपचाप बसेपछि छेवैका एक अधबैँसे युवकसँग परिचय गरेँ । उनी कसैको साथमा आएका थिए । मलाई भने कुरा अगाडि बढाउन सहज भयो । एकैछिन उनैसँग गन्थनमन्थन गरेँ । मैले पनि कथा-कविता लेख्छु भनी गफ छाँट्न पनि भ्याएँ । उनले मेरो कुरा विश्वास नगरेको  प्रस्टै भान हुन्थ्यो । अन्य केही अपरिचित अनुहार सँग पनि परिचित भएँ ।दुखको कुरा के हो भने उहाँहरूको नाम सायदै याद छ ।

मेरै अगाडिपट्टि एक लेखक ज्यु विराजमान हुनुहुन्थ्यो । उहाँ  पुरस्कारको निम्ति निकै चिन्तित अथवा उत्सुक देखिनुहुन्थ्यो । कति पटक त हात जोडेर भगवानलाई पनि सम्झिन भ्याउनुभयो ।

एक छिन त उत्सुकताका साथ ताली बजाउँदै हुनुहुन्थ्यो । उहाँको कृतिले प्रथम पुरस्कार नपाएपछि भने उहाँको ताली पनि सेलाउँदै गयो । एकैछिनमा परिचित अनुहार पनि देखा परे ।

आदरणीय व्यक्तित्व  अश्विनी कोइराला, अच्युत कोइराला, महेश पौड्याल, नवराज पराजुली, प्रदिप रोदन आदि ।

अहो !

यो म कहाँ आएको थिएँ ?

हिजोसम्म सबैलाई फेसबुकमा पढ्दै थिएँ । आज ती अनुहारहरू मेरै सामु थिए । तर पनि म चुप थिए ।

एकैछिनमा अश्विनी सर सबैसँग परिचय बाँड्दै आउनुभयो।

मैले पनि जुरुक्क उठेर नमस्कार गर्दै सोधेँ, “मलाई चिन्नुभयो कि नाइँ कुन्नि !”

उहाँलाई चाहिँ गाह्रै पर्यो ।

“हजुर म माधव काफ्ले ।”

“ओहो !”

“मुम्बईदेखि लेख्नुहुन्छ नि ।”

“हजुर ।”

“तपाईं अप्रत्याशित रूपमा आउनुभयो ।  आउनुहुन्छ भन्ने लागेको थिएन ।”

उहाँको कुराले म मुसुक्क हाँस्दै मनमनै भनेँ, “हिजोसम्म त मलाई पनि यहाँ आउँछु भन्ने लागेकै थिएन ।”

कार्यक्रम सञ्चालनमा ढिलाइ हुने भएपछि हामी चिया-कफी पिउनतिर लाग्यौँ । त्यसरी लाइन लागेर चिया लिएको पनि मेरो लागि पहिलो पटक नै थियो । चिसोले मुटु काँपिरहेको थियो ।

सबै कफीतिर लागिरहँदा म भने चियातिर लागेँ । चियामा चिनी छैन भन्ने चाहिँ अन्दाजा थियो।

वेटरलाई सोधेँ, “चिया रेडिमेट हो कि ….?”

हजुर रेडिमेट हो । उसको जवाफले ढुक्क हुँदै कपमा चिया भरेँ र हलतिर लागेँ ।

चियाको पहिलो चुस्कीले मेरो मन नै खल्लो बनायो । चियामा त चिनी नै थिएन । हामीले त रेडिमेट भनेपछि चिनी पनि हालेर बनाउँथ्यौ त ! मनमा गाली आइसकेको थियो । तर कुनै दिन मलाई त्यस्तै भएको थियो । होटेल लाइनमा नयाँ थिएँ । शेफको ड्रेस लगाएर अगाडि दुई भाडामा  सुप राखेर त्यस्तै काउन्टरमा उभिएको थिएँ ।

एउटा ग्राहक ले सोध्यो; “ये कौनसा सुप हे भाइ ?”

अब भएन मर्नु । मलाई सुपको नाम नै थाहा थिएन ।अगाडि लागेको ट्याग देखाइदिएँ ।

तर त्यो ट्याग मैले पनि हेरेको थिएन। कोखैको काउन्टरमा एउटा वेटर उभिएको थियो । मलाई हेरेर खितिक्क हाँस्यो । म भने लाजले रातोपिरो भएँ । सुगर लिन फेरि त्यही काउन्टरमा फर्किन मेरो मनले मानेन । फिकै भए पनि पुरै चिया घुटुघुटु निलेँ ।

एकैछिनमा कार्यक्रम सुरु भयो । अच्युत सरले कृष्ण जीलाई मञ्चको जिम्मा लगाएपछि उनले पचपन्न मिनटमा कार्यक्रम सकिसक्ने घोषणा गरे । म भने एक कुनामा बसेर निर्दोष नजरले नियालिरहेको थिएँ । अजब गजब तरिकाले कार्यक्रम अगाडि बढ्यो । आफूलाई सम्हाल्दै हामीलाई हँसाउने प्रयास गर्थे । आसन ग्रहण हुँदै कार्यक्रम पुरस्कार वितरणतिर बढ्यो ।

सबैलाई रुद्राक्षको कसम खुवाउँदै मन्तव्य छोटो गरिदिन आग्रह पनि गरियो ।

मेरो नजर महेश गुरुतिर गयो । घरी चारैतिर नियाल्नुहुन्थ्यो । घरी नाक कन्याउँदै पेन टोक्न थाल्नुहुन्थ्यो । यति बिधि गरिरहँदा उहाँले पानामा केही लेख्न पनि भ्याउनुभयो ।

कसैलाई पुरस्कारको चिन्ता थियो । कसैलाई भोकको चिन्ता थियो । म भने एक एक गर्दै सबैको अनुहार नियाल्नमा व्यस्त थिएँ । किनकि मलाई हेर्नु थियो साहित्यकारहरू कस्ता हुन्छन् ।

साँच्चै साहित्यकार पनि त आम मान्छे नै हुन् । बस उनीहरूमा आम जिन्दगी नियाल्ने अलग खुबी हुन्छ । अलग आँखा हुन्छ । जुन आँखा म आफूभित्र पनि खोजिरहेको छु ।

तर साहित्यकारहरूले ताली बजाउन चाहिँ कन्जुसी गरेको अनुभूति गर्दै थिएँ । मैले चाहिँ निर्धक्कसँग ताली बजाएँ । सायद सबैको ताली एकातिर अनि मेरो अर्कातिर राखेको भए मेरै तालीको आवाजले जित्थ्यो होला ।

एक समयमा त मैले पनि मञ्चमा गएर कविता सुनाइदिऊँ कि जस्तै लागेको थियो । किनकिन तब त्यो फूल शीर्षकको कविता कविता जस्तै लागेन र मोबाइल गोजीमा थन्क्याएँ । मसँग बहाना थियो । कृष्ण जीले अघि नै भनिसकेका थिए । समय कम छ ।

यति किन्ती समयमा फगत शब्दहरू सुनाएर के उहाँहरूको उपस्थितिको खिल्ली उडाउनु ?

घर आएपछि उक्त कविता पुनः पढ्दा चाहिँ कविता जस्तै लागेको थियो ।

कार्यक्रम सकियो । पुरस्कृत सबै फोटो सेसनतिर लागे । महेश सर भने म तिरै आउँदै हुनुहुन्थ्यो । खुसीको कुरा थियो । उहाँलाई चाहिँ मैले परिचय दिइराख्नु परेन ।  उहाँसँग धेरै गन्थनमन्थन त गर्न सकिन । तर उहाँले धेरै नै प्रेम दर्साउनु भयो । उहाँको त्यो आत्मीयता सधैँ यादगार रहनेछ । उहाँसँगको तस्बिर क्लियर नहुँदा मन कटक्क भएको थियो ।

जे जस्तो भए पनि उक्त तस्बिरमा आत्मीयता थियो । सद्भाव थियो । त्यसैले मलाइ प्रिय थियो ।

मेरो मोबाइलबाट फोटोसेसन सकिएपछि पुन बाहिर निस्किएँ । केही खाने मन त थिएन । सबै लाइनमा लागेको देखेपछि म पनि मिसिएँ । केही परिकारले प्लेट सजाएपछि पुन:हलतिर लागेँ ।

टेबलमा पहिलेदेखि नै एक महिला अवस्थित हुनुहुन्थ्यो । खाँदा खाँदै कुरा गर्न मन लागेन । सकिएपछि कुराकानी अगाडि बढाएँ । पुरस्कृत कृति ‘यशोधरा’का लेखक हरिबोल काफ्ले ज्यु कि श्रीमती हुनुहुँदो रहेछ । म पनि काफ्ले , उहाँ पनि काफ्ले।

कुराकानी अर्कै ढङ्गको भयो ।

“कुन काफ्ले ?”

“बासी काफ्ले।”

“कुन देवता ?”

“मस्ट देवता ।”

हाम्रा पुर्खाहरूको ठाउँ जुम्लाको पनि कुरा चल्यो ।

यहाँ बासी काफ्ले त साजी काफ्लेको पनि अर्कै कहानी थियो ।

ठ्याक्कै त मलाई पनि थाहा छैन । तर बुबा भन्नुहुन्थ्यो ।

“एकदिन काफ्ले खलकको एउटा परिवारमा दुई भाइले सुत्केरी हुन लागेको गाई कुरेर मध्यरातसम्म बसेका रहेछन् । बाच्छो त जन्मियो । गाईले अगेरो फाल्न ढिला गर्यो । कान्छो भाइ लाई निद्रा लागेछ र त्यही सुतेछ । जेठो चाहिँ गाईले अगेरो फालेपछि गाई धोएर त्यसको ब्याउती बनाउन लागेछ । उसले त ब्याउती राती नै खायो । कान्छो भाइले बिहान उठेर खाएछ ।

जसकारण जेठो दाइका सन्तान साजी काफ्ले भए अनि कान्छो भाइका सन्तान बासी काफ्ले भएछन् ।”

यो कुरामा कतिको सत्यता थियो थाहा भएन । तर यस सम्बन्धमा मैले सुनेको एउटा कथा त्यही थियो ।

उहाँलाई पुरस्कारको लागि बधाई दिँदै म चिया लिन गएँ ।

अश्विनी सर गफमा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई कसरी बिर्सन सक्थेँ र ! उहाँसँग पनि एउटा तस्बिर खिचाएपछि कप टेबलमा राखेँ र बिदा माग्दै बाहिर निस्किएँ ।

अचम्मको अनुभव थियो यो । मेरो ठाउँमा अरू भएको भए कतिसँग चिनजान गर्ने थिए होला । म भने बाघको भिडमा एक्लो बाख्रो झैँ भएको थिएँ ।

जे जस्तो भए पनि यो पल मेरो लागि अविस्मरणीय थियो ।

बाहिर वर्षा रोकिएको थियो । पठाओ सस्तो थिएन । तर मलाई बसमा दस मिनट यात्रा गर्दा पनि बान्ता आउला झैँ हुन्थ्यो । विकल्प नभए त अर्कै कुरा हो । विकल्प भएसम्म किन मुख बिगार्नु भनेर पठाओ बुक गरेँ । पठाओ चालकलाई पनि गर्वसँग भनेँ, “आज ठुलै मान्छेहरूसँग चिया पिएर आइयो ।”

उसले कुनै प्रतिक्रिया दिएन । आफ्नै रफ्तारमा बाइक कुदाइरह्यो । रेस्टुरेन्ट पुगेर सानिमालाई पनि तस्बिरहरू देखाएँ । तैँले कहिले पाउँछस् यस्तै पुरस्कार ?

यसको जवाफ त मसँग थिएन । दुई झिर बफ सेकुवा मगाएँ र कपाकप खाएँ ।

मनमनै सोचेँ अब भैँसीको कथा लेख्नुपर्छ ।