सप्तर्षि भन्नाले सात ऋषिहरूलाई बुझिन्छ । तर सात ऋषिहरू कोको हुन् भन्नेबारेमा मतैक्य नभएकोले दुवै मतलाई समेटी दुवै समूहको वर्णन गर्ने प्रयास स्वरूप मैले यस अघि द्वितीय समूहका ऋषिहरूको वर्णन गरिसकेको छु । अब यसमा मैले प्रथम समूहका ऋषिहरूको संक्षिप्त चिनारी गराउने प्रयास गरेको छु । सप्तर्षिहरूको वर्णन ब्रह्म पुराणमा सविस्तार उल्लेख गरिएको छ ।

(क) पहिलो समूह 

यस समूहमा (१) गौतम (२) भारद्वाज (३) विश्वामित्र (४) जमदग्नि (५) वशिष्ठ (६) कश्यप र (७) अत्रिलाई सप्तऋषिको समूहमा राखेको भेटिएको छ ।

यस अघिको भागमा सप्त ऋषिहरूको ब्रह्माका मानस पुत्र हुन् भनी उल्लेख भइसकेको छ । तसर्थ, म सीधा विषयवस्तुमा प्रवेश गर्न चाहेँ ।

००००

(१) गौतम

ब्रह्म पुराणका अनुसार गौतम ऋषि जन्मै अन्धा थिए । एक दिन स्वर्गकी कामधेनु यिनीसँग प्रसन्न भइन् र यिनको तम हरण गरिन् । “कामधेनु” समुद्र मन्थनबाट उत्पत्ति भएको सम्पूर्ण इच्छा पूरा गर्ने गाईको नाम हो र “तम” भनेको अन्धकार वा अँध्यारो हो । यसरी “गौ” अर्थात् कामधेनु गाईले ऋषिको अन्धकार अर्थात् “तम” हटाइदिएकोले यिनको नाम गौतम रहन गएको हो ।

गौतम ऋषि ब्रह्माका मानस पुत्र थिए । यिनको विवाह ब्रह्माकी मानस पुत्री अहिल्यासँग भएको थियो । यिनहरूका दुई सन्तान थिए । छोराको नाम शतानन्द थियो भने छोरीको नाम विजया थियो । पुराणमा पाइएअनुसार ब्रह्मालाई सबैभन्दा पहिले एक श्रेष्ठ सुन्दर स्त्रीको सृष्टि गर्ने विचार आयो । यसका लागि उनले ठाउँठाउँबाट सुन्दर वस्तुहरूको सङ्कलन गरी एक अभूतपूर्व र निष्पाप स्त्रीको रचना गरे । यस्तो निष्पाप चिजलाई अहल्या भनिन्छ । तसर्थ, पापरहित भएकीले ब्रह्माले तिनको नाम अहिल्या राखे ।

पृथ्वीमा यस्ती सुन्दर स्त्रीको जन्म भएपछि सबै देवता एवम् ऋषिहरूले उनीसँग विवाह गर्ने इच्छा गरे । स्वर्गका राजा इन्द्रले पनि ब्रह्मासँग आफ्नो इच्छा राखे तर ब्रह्माले इन्द्रलाई अहिल्या दिन अस्वीकार गरे ।

यसपछि ब्रह्माले घोर तपस्या गरी बसेका ऋषि गौतमलाई अहिल्या एक धरोहरको रूपमा दिए र भने, “मलाई इच्छा लागेपछि अहिल्यालाई फिर्ता लिनेछु ।” अहिल्या पनि ऋषि गौतमको सेवासुश्रुषा गर्न लागिन् भने गौतम ऋषिले पनि अहिल्यालाई एक धरोहरकै रूपमा लिए । तिनलाई कहिल्यै पनि कुदृष्टि र कुभावले हेरेनन् ।

ऋषि गौतमले हजारौं वर्षपछि अहिल्यालाई ब्रह्मासामु लिएर आफैं गए र बचनअनुसार फिर्ता गर्न चाहे । ब्रह्माले गौतम ऋषिको यो सत्यता र पवित्रता देखेर अहिल्याको विवाह नै गौतम ऋषिसँग गरिदिए । यसपछि उनीहरूबाट एक सन्तान महर्षि शतानन्दको जन्म भयो । पछि ऋषि शतानन्द महाराजा जनकका राज पुरोहित भए ।

यता ब्रह्माले इन्द्रलाई अहिल्या माग्दा नदिएको कुरामा अपमानबोध भइरहेको थियो । एक दिन इन्द्रले गौतम ऋषि आश्रममा नभएको मौका पारी आफ्नो माया शक्तिले आकाशमा पुरुषोयुक्त सुगन्ध छरिदिए । यस्तो पुरुषोयुक्त सुगन्ध अहिल्याको नाकमा बास्ना बनी पसेपछि उनी मुग्ध भइन् । अहिल्याले भनिन्, “मेरो वरिपरि अदृश्य रूपमा कुन सुगन्धयुक्त पुरुष छ, अगाडि प्रकट भई आउनू ।” अहिल्याको आदेश आएपछि एक अपरिचित दिव्य पुरुष अहिल्याका अगाडि आए । अहिल्याले यस्तो सुगन्धित दिव्य पुरुष देखी अँगालो हालिन् । ती पुरुषसँग अहिल्या मोहित भइन् तर ती पुरुष भेष बदली आएका इन्द्र थिए भन्ने कुरा चालै पाइनन् । जब अहिल्याले युवकसँग अँगालो हालिन्, उनी यौन उत्तेजनाले मदहोस् भइन् । यसपछि इन्द्रले अहिल्यासँग यौनसम्बन्ध राखे ।

जब इन्द्र त्यहाँबाट हिँडे, आश्रमतिर आउँदै गरेका गौतम ऋषिले ती नव पुरुषलाई आफ्नो आश्रमबाट निस्कँदै गरेको देखे । नयाँ पुरुषलाई देखी गौतम ऋषिले तत्काल सोधे, “तिमी को हौ ? आफ्नो असली परिचय देऊ । नत्र भने तिमीलाई म यही श्राप दिन्छु ।” ऋषिको कुरा सुनी नव पुरुष डराए । उनी आफ्नो इन्द्र स्वरूपमा प्रकट भई ऋषिसँग माफी मागे । इन्द्रबाट यस्तो कुरा थाहा पाएर ऋषि गौतमले आफ्नी पत्नी अहिल्यालाई ढुङ्गा हुने श्राप दिए । उनी तत्काल पत्थरमा परिणत भइन् भने इन्द्रलाई शरीरभरि हजार योनी होस् भनी श्राप दिए । इन्द्रका शरीरमा हजारौं हजार योनीहरू तत्कालै उत्पन्न भए ।

ब्रह्माले पनि अहिल्या र इन्द्रको यस्तो कृत्य थाहा पाएर अहिल्यामा मात्र भएको सौन्दर्य पृथ्वीका अन्य स्त्रीहरूमा पनि बाँडियोस् भनी श्राप दिए । साथै, ब्रह्माले इन्द्रलाई उनको पद स्थायी नहोस् भनी श्राप दिए । यसैकारण, संसारका सबै स्त्रीहरू सुन्दर हुनुको कारण अहिल्याबाट भाग लागेर आएको सौन्दर्यको प्रभाव हो भने इन्द्रको पदमा राजाहरू पनि परिवर्तन भइरहन्छन् । कुनै समय नहुष राजा इन्द्रको पदमा थिए भने अहिले स्वर्गको इन्द्राशनमा जयन्त इन्द्रको रूपमा विराजमान छन् ।

००००

(२) भारद्वाज 

भारद्वाजको अर्थ हो भाग्यशाली पंक्षी । भारद्वाज देवताहरूका गुरु वृहस्पतिका छोरा थिए । पुराणअनुसार वृहस्पतिले आफ्ना भाइ अतश्याकी पत्नी (भाइ बुहारी) ममतासँग जबरजस्ती यौनसम्बन्ध राखेका थिए जसबाट भारद्वाजको जन्म भयो । जन्मपश्चात् नै उनलाई वृहस्पति र ममता दुवैले त्यागिदिएका थिए । पछि उनलाई मृदगणले पालन गरे । देवताहरूले वृहस्पति र ममता दुवैका पुत्र भएकोले यिनको नाम द्वाज अर्थात् दुवैको छोरो भएकोले भारद्वाज राखे ।

वैदिक ऋषिहरूमा यिनको विशेष स्थान रहेको छ । भारद्वाज ऋषि त्रेता युगमा रामभन्दा अगाडि नै जन्मिएका थिए । रामायणका अनुसार राम वनवास गएको बेला ऋषि भारद्वाजको आश्रममा पनि गएका थिए । त्यो समय त्रेता र द्वापर युगको सन्धिकाल थियो ।

भारद्वाज ऋषिकी पत्नीको नाम द्रोणी थियो र उनीहरूका छोराका नाम द्रोण थियो । द्रोणलाई द्रोणाचार्यको नामले पनि चिनिन्छ । द्रोणाचार्य महाभारतकालीन समयमा हस्तिनापुरका राजकुमार कौरव पाण्डवका गुरु पनि थिए । महाभारतमा वर्णित राजा भरतले आफ्नो राज्यको उत्तराधिकारी यिनै भारद्वाजलाई सुम्पेका थिए । यसपछि यिनका सन्तान अभिमन्यु हुँदै भरत वंश अगाडि बढ्दै गयो भने पछि यिनै मध्येका एक पुस्ता हस्तीको जन्म भयो जसले हस्तिनापुरको स्थापना गरे ।

००००

(३) विश्वामित्र 

प्रजापतिका एक पुत्र कुश थिए । कुशका छोरा कुशनाभ भए । कुशनाभका छोरा राजा गाधि भए । राजा गाधिकी रानीको नाम सत्यरानी थियो (गाधिकी रानीको नाम नभेटिएकोले काल्पनिक नाम सत्यरानी राखिएको छ । – लेखक) यिनै राजा गाधि र सत्यरानीका दुई सन्तान भए- छोरा विश्वामित्र र छोरी सत्यवती । विश्वामित्र “विश्व” र “मित्र” दुई शब्दको सन्धि भएर बनेको हो । तसर्थ, विश्वामित्रको अर्थ सबैसँग मैत्री र प्रेम हो । जन्मका आधारमा विश्वामित्र क्षेत्रीय कुलमा जन्म लिएका एक राजपुत्र अर्थात् राजकुमार थिए ।

हिन्दु परम्परामा विश्वामित्रको ठूलो स्थान छ । जन्मले यिनी क्षेत्रीय भए पनि पछि तपस्याद्वारा ठूलो साधना गरी ब्राह्मणत्व ग्रहण गरेको हुनाले विश्वामित्र ब्राह्मण र क्षेत्रीय गुणले सुसम्पन्न थिए । गायत्री मन्त्रको लेखन पनि विश्वामित्र ऋषिले नै गरेका थिए । विश्वामित्रकी बहिनी सत्यवतीको विवाह ऋषि ऋचिकसँग भएको थियो ।

विश्वामित्र ऋषिले एकपटक देवताहरूको स्वर्गलोकभन्दा भिन्नै अर्को स्वर्गलोकको निर्माण गर्ने उद्देश्यले भयङ्कर तपस्या गरिरहेका बेला इन्द्रको कोपभाजनमा परे र उनको यो योजना नराम्रोसँग असफल भयो ।

विश्वामित्र र त्रिशंकुको कथा ।

विश्वामित्रले अर्को स्वर्गलोकको निर्माण गर्न खोजेको कथा निकै रोचक छ । यो कथा रामायणको बालकाण्डमा पढ्न पाइन्छ । कथाअनुसार उसबेला अयोध्यामा पृथु नाम गरेको एक प्रसिद्ध सूर्यवंशी राजा थिए । राजा पृथुपछाडि उनका छोरा सत्यब्रत अयोध्याको राजा भए । यो कथाको मुख्य पात्र पनि राजा सत्यब्रत हुन् ।

सूर्यवंशी राजा सत्यब्रतले लामो समय राजकाज गरी वृद्धावस्थामा प्रवेश गरेपछि राज्यका उत्तराधिकारी उनकै छोरा हरिश्चन्द्रलाई राजपाठ जिम्मा लगाए । यो अयोध्या राज्यको कुरा हो । राजा सत्यब्रत अत्यन्तै धार्मिक थिए । यसकारण उनी स्वर्गका लागि योग्य व्यक्ति पनि थिए, तर राजा सत्यब्रतलाई जिउँदै स्वर्ग जाने इच्छा भयो । जिउँदै स्वर्ग जाने राजाको यही इच्छाको कारण विश्वामित्र कथामा जोडिन्छन् र यो रोचक कथाको जन्म हुन्छ । राजा सत्यब्रतलाई यस कथाले त्रिशंकु नामले पनि चिनाउँछ ।

सशरीर स्वर्ग जाने आफ्नो इच्छा पूरा गर्न राजा सत्यब्रत आफ्ना गुरु वशिष्ठकहाँ गएर आफूलाई जिउँदै स्वर्ग जाने इच्छा रहेको र यसका लागि विशेष यज्ञ गरिदिन आग्रह गरे । सशरीर स्वर्ग जानु प्राकृतिक नियम विरुद्ध हुन्छ भनेर गुरु वशिष्ठले उनको अनुरोधलाई अस्वीकार गरे । गुरुको अस्वीकृतिपछि राजाको इच्छा झन् तीव्र हुँदै गयो । राजाले जेठा गुरुपुत्र शक्तिलाई पनि आफ्नो इच्छा पूर्तिका लागि यज्ञ गरिदिन आग्रह गरे । यसबापत मागे जति धनसम्पत्ति एवम् प्रसिद्धि दिने लोभ पनि देखाए । राजाले सम्पत्ति एवम् प्रसिद्धिको लोभ देखाई प्राकृतिक नियमविरुद्ध स्वर्गमा जाने यस्तो जघन्य कर्मका लागि प्रोत्साहन गरेको भनी शक्तिले क्रुद्ध हुँदै राजालाई ‘चण्डाल भई त्रिशंकु बन्नु’ भनी श्राप दिए । गुरु वशिष्ठ र गुरुपुत्र दुवैबाट सहयोग प्राप्त गर्न नसकेपछि सत्यब्रत उर्फ त्रिशंकु आफ्नो इच्छा पूर्तिका लागि उपायको खोजीमा वन जङ्गलतिर विचरण गर्न थाले ।

जङ्गलमा सत्यब्रतको भेट ऋषि विश्वामित्रसँग भयो । भेटमा राजाले विश्वामित्रलाई आफ्नो उद्देश्य बताउँदै गुरु वशिष्ठ एवम् गुरुपुत्र शक्तिद्वारा उनको इच्छा नजरअन्दाज गरी आफूलाई अपमान गरेको कुरा सुनाए । राजाको कुरा सुनी विश्वामित्रले राजालाई सहयोग गर्ने वचन दिए । वशिष्ठद्वारा अस्वीकृत प्रस्तावलाई यसरी विश्वामित्रले स्वीकार गर्नुको कारण उनीहरूका बीच भएको शत्रुतापूर्ण सम्बन्ध थियो । यिनीहरूको वैमनश्यताको कारण पृष्ठ ……. मा दिइएको छ ।

विश्वामित्रले तुरुन्तै सत्यब्रतलाई जिउँदै स्वर्ग पठाउने हेतुले यज्ञको प्रारम्भ गर्ने वचन दिए । त्यसपछि विश्वामित्रले उनका छोराहरूलाई बोलाएर यज्ञका सामग्री तयार गर्न अह्राए । फेरि आफ्ना शिष्यहरूलाई वनमा रहने सबै ऋषिमुनीहरू एवम् वशिष्ठसहित उनका पुत्र शक्तिलाई पनि यज्ञमा बोलाउनू भनी आदेश दिए । विश्वामित्रको निमन्त्रणा पाएर वशिष्ठसहित सबै ऋषिमुनीहरू उपस्थित भए तर शक्तिले यज्ञमा आउन अस्वीकार गरे । चण्डाल जजमान र क्षेत्री पुरोहित भएको यज्ञमा जान सकिँदैन भन्ने उनको आरोप थियो । वशिष्ठका छोरा शक्तिको जवाफ सुनेर रिसाएका विश्वामित्रले उनलाई कालपासले बाँधेर ल्याई सात सय वर्षसम्म चण्डाल योनीमा विचरण गर्नू भनी श्राप दिई यमलोक पठाइदिए ।

यज्ञ प्रारम्भ भयो । यज्ञको समाप्तिपछि आ-आफ्नो भाग लिन आउनू भनी विश्वामित्रले सबै देवताहरूलाई आह्वान गरे तर गलत उद्देश्यका लागि गरेको यज्ञ भनी कुनै पनि देवताहरू प्रसाद लिन आएनन् । देवताहरूसँग रिसाएका विश्वामित्रले मन्त्र पढ्दै अर्घ्य लिएर आकाशतिर जल छर्किए र जजमान राजा सत्यब्रततिर हेरे ।

यज्ञको प्रभावले राजा सत्यब्रतको शरीर स्वर्ग-यात्राका लागि आकाश मार्गतिर उड्न लाग्यो ।

यस्तो अप्राकृतिक घटना हुने सम्भावनाले स्वर्गमा ठूलो खैलाबैला भयो । अन्तमा, देवराज इन्द्रको अगुवाइमा सम्पूर्ण देवताहरू मिलेर सत्यब्रतलाई स्वर्गमा प्रवेश निषेध गरे । स्वर्गको सिमानामा प्रवेश गर्नै लाग्दा देवताहरूले सत्यब्रतलाई मत्र्यलोकतिर नै ठेलेर हुत्याइदिए । देवताहरूले स्वर्गको सीमाबाट घचेटिएका राजा पृथ्वीतर्फ नै झर्न लागेको देखी विश्वामित्रले आफ्नो योगबलले सत्यब्रतलाई पृथ्वीमा झर्नबाट बीचमै रोके । फलतः राजा सत्यब्रत स्वर्ग र पृथ्वीको बीचमा तल न माथि “त्रिशंकु” बनेर झुण्डिए । जिउँदै स्वर्ग जाने कुरा अप्राकृतिक हो भनी अगाडि नै ऋषि वशिष्ठसमेत उनका पुत्र शक्तिले अस्वीकार गरेको र शक्तिले क्रोधित भई त्रिशंकु हुनु भनी दिएको श्राप यहाँ आएर सत्य साबित भयो । यसपछि वृद्ध राजा त्रिशंकुका नामले पनि चिनिन थाले ।

घटना यतिमै सीमित रहेन । देवताहरूले सत्यब्रतलाई स्वर्गबाट पृथ्वीतिर घचेटिदिएपछि विश्वामित्रले यस घटनालाई प्रतिष्ठाको विषय बनाए । वशिष्ठसँगको वैमनश्यता अब इन्द्रसँग पनि गाँसिन पुग्यो । विश्वामित्रले आफ्नो वचनको मान जोगाउन स्वर्ग र पृथ्वीका बीचमा नयाँ स्वर्गको निर्माण गरी त्रिशंकुलाई सशरीर त्यहीँ नयाँ स्वर्गमा पठाए । नव निर्मित स्वर्गमा प्रवेश भएपछि त्रिशंकु अब श्रापबाट मुक्त भई पूर्ववत् सत्यब्रत भए । यता विश्वामित्रले नव निर्मित स्वर्गमा सत्यब्रतलाई नै नयाँ इन्द्र बनाउने विचार गरी भयङ्कर तपस्याको प्रारम्भ गरे ।

विश्वामित्रको यो तपस्याबाट देवताहरू चिन्तित भए । यही बेला विश्वामित्रको तपस्यामा मेनकाको प्रवेश भयो । राजा इन्द्रले विश्वामित्रको यही तपस्या भङ्ग गर्न अप्सरा मेनकालाई तपस्या स्थलमा पठाए र मेनकाले विश्वामित्रको तपस्या भङ्ग पनि गराइन् । मेनकाद्वारा विश्वामित्रको तपस्या भङ्गसम्बन्धी चर्चा र त्यसको परिणामबारे माथि नै आइसकेको छ । यसको विस्तृत विवरण मेनका खण्डमा वर्णन गरिएको छ ।

तपस्या भङ्ग भएपछि विश्वामित्रले पनि तपस्या परित्याग गरे । देवताहरूले जिउँदो शरीर धारण गरी कुनै पनि व्यक्ति स्वर्गमा प्रवेश गर्नु सृष्टिको नियम विपरीत हुने भएकोले सत्यब्रतलाई प्रवेश निषेध गरिएको भनेर विश्वामित्रलाई सम्झाए । सृष्टिको नियम विश्वामित्रलाई थाहा नभएको होइन । देवताहरूले सम्झाएपछि विश्वामित्रको अहम पनि शान्त भयो । उनले तपस्या स्थगित गरे पनि विश्वामित्र आफ्नो कर्मबाट पछि हट्न चाहेनन् । फलतः विश्वामित्र र देवताहरूका बीच सम्झौता भयो । के सम्झौता भयो भने त्रिशंकु नयाँ स्वर्गमा नै बस्नेछन् । देवताहरूले उनलाई कुनै कष्ट दिने छैनन् र त्रिशंकुले पनि इन्द्रको आज्ञा पालन गर्नेछन् ।

आज पनि यो विश्वास गरिएको छ कि स्वर्ग र पृथ्वीको बीचमा झुण्डिएको त्रिशंकु स्वर्गमा राजा सत्यब्रत उर्फ त्रिशंकु अहिले पनि बसिरहेका छन् ।

यस घटनालाई आधुनिक विज्ञानसँग जोडेर हेर्न सकिन्छ । मानिसहरूले पृथ्वीको तल्लो कक्षमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन खडा गरेको छ । यस स्टेसनमा खगोलशास्त्रीहरू जाने आउने गर्दछन् भने यसबाट चन्द्रमा लगायत अन्तरिक्षको अध्ययन गर्न सजिलो भएको छ । त्यस्तै, विश्वामित्रले खडा गरेको त्रिशंकु स्वर्ग पनि अहिलेको स्पेस स्टेसन जस्तै हो । अर्को दृष्टिमा भन्दा त्यतिबेला विज्ञानको विकास आजको भन्दा उच्चस्तरको थियो । वैदिक कालमा एक जना ऋषिको योगबलले अन्तरिक्षमा चाहेअनुसारको स्थान बन्दथ्यो भने विज्ञानको उन्नति उत्तिकै अब्बल रहेको मान्नुपर्छ । योगबल  ऋषि विश्वामित्र र ऋषि वशिष्ठको शत्रुताको कारण ।

विश्वामित्र राजा गाधि र महारानी सत्यरानीका पुत्र थिए । तसर्थ, उनी राज्यका उत्तराधिकारी थिए । विश्वामित्र कसरी ऋषि बने भन्ने अत्यन्तै घतलाग्दो कथा छ । राजा गाधिले आफ्नो जीवनको उत्तरार्धतिर राज्यबाट अवकाश लिई वानप्रस्थ जीवन निर्वाह गर्ने निर्णय गरे । राजाले राजकुमार विश्वामित्रलाई राजगद्दी सुम्पिए र आफू वानप्रस्थका लागि प्रस्थान गरे । राजा भएपछि विश्वामित्रले आफ्नो नाम जस्तै कर्म गर्दै रहे । उनको राज्य ठीकसँग चलिरहेको छ । उनको राज्यमा प्रजाहरू खुसी र सुखी नै थिए । एक दिन राजा विश्वामित्र मनोरञ्जनका लागि आफ्नी रानीसँग जुवा खेल्न भनी बसे । उसबेला राजा महाराजाहरूका राजदरबारमा मनोरञ्जनका रूपमा जुवा खेल्ने प्रचलन नै थियो । मनोरञ्जनका रूपमा खेलिने भए पनि खेल त खेल नै हो । त्यहाँ जीत र हारको कुरा हुन्छ । जित्नका लागि दाउ पेचको कूटनीति हुन्छ, बुद्धि र चालबाजीको प्रयोग हुन्छ । राजा विश्वामित्र र रानीका बीचको खेलमा रानीले खेल जितिन्, राजाको हार भयो ।

खेल जितेपछि रानी जोडजोड हाँस्न थालिन् । रानीको हँसाइले पराजित राजा विश्वामित्र भित्रभित्रै हारको पीडाले कुँडिए र उनलाई अपमानबोध भयो । रानीसँगको हारले पीडित राजाले जुवा खेल्दा प्रयोग हुने सबै पासा फुटाई जुवा खेल्न प्रयोग हुने कपडासमेत च्यातेर फ्याँकिदिए । राजा विश्वामित्र क्रोधित हुँदै दरबार गए ।

दरबार पुगेका राजालाई देखेर उनका भारदारहरूले उनको जयजयकार गर्न थाले । उनले भारदारहरूलाई भने, “मैले के त्यस्तो जयजयकार हुने काम गरेको छु र जयजयकार गरेको हो ?” राजाका भारदारहरू अर्थ नबुझी मौन भए ।

राजाले भने, “अब म जयजयकार हुने काम गर्नेछु ।”

उनले दरबारमा यो घोषणा गरे, “अब हामीले राज्यको बिस्तारमा लाग्नुपर्छ । तसर्थ, राज्यमा भएका १२ वर्षभन्दा माथिका र सबै युवकहरूलाई सैन्य तालिम केन्द्रमा पठाउनू । उनीहरू युद्धका लागि तयार भएर रहनू ।”

उनले अगाडि भने, “जुन जुन राजाहरू आत्मसमर्पण गर्दछन्, तिनीहरूलाई आफ्नो साथमा लिनुपर्छ । जसले अवज्ञा गर्नेछन्, हामी उनीहरूसँग युद्ध गर्नेछौं ।”

त्यसपछि विश्वामित्र ठूलो सैन्यशक्ति लिएर राज्य बिस्तारका लागि युद्धमा हिँडे ।

राजा विश्वामित्रले धेरै देशका राजाहरूसँग युद्ध गरी उनीहरूलाई आफ्नो अधीनमा लिए । लगातार बाह्र वर्षसम्म राज्य विस्तारको चरण पूरा गरेपछि राजा विश्वामित्र आफ्ना सैन्य बलसहित दरबार फर्किँदै थिए । फिर्ती यात्रामा राजा र उनका सैनिकहरू एक ठाउँमा शिविर खडा गरी बास बस्न पुगे । संयोगले ऋषि वशिष्ठको आश्रम पनि त्यहीँ नजिक थियो ।

राजा विश्वामित्र ठूलो सैन्य बलसहित आफ्नो आश्रमछेउ बसेको सूचना ऋषि वशिष्ठलाई चेलाहरूले दिए । ऋषि वशिष्ठले आफ्ना राजालाई आतिथ्य ग्रहणका लागि आश्रममा निमन्त्रणा गरे । ऋषिको आग्रहलाई राजाले पनि स्वीकार गरे । एकदिन विश्वामित्र केही सैनिक लिएर वशिष्ठका आश्रममा गए । वशिष्ठले उत्साहपूर्वक राजाको सत्कार गरे । केही दिन ऋषि आश्रममा बिताएपछि राजाले ऋषिलाई भने, “हे ऋषि वशिष्ठ, मेरा साथमा धेरै सैनिकहरू पनि छन् । तपाईंलाई यति धेरै सैनिकसहित अतिथि सत्कार गर्न गारो हुने भएकोले आज्ञा दिनुहोस्, हामी बाटो लाग्नेछौं ।” राजाको यस्तो कुरा सुनेर ऋषिले पुनः बिन्ती गर्दै भने, “हे राजन ! चिन्ता नलिनुहोस् । मलाई यसमा कुनै समस्या हुने छैन ।” ऋषिको अनुरोधलाई राजाले टार्न सकेनन् र केही दिन बस्ने निधो गरे ।

ऋषि वशिष्ठले अधिक सैनिकसहितका राजाको सत्कार गर्न कामधेनु गाईलाई बोलाए । कामधेनु गाईका प्रतापले राजा र सम्पूर्ण सैनिकहरूका लागि ८४ व्यञ्जनसहितको राजभोजन र बस्ने व्यवस्था भयो । ऋषि वशिष्ठको आतिथ्य सत्कार पाई राजा एवम् सबै सैनिकहरू पूर्ण सन्तुष्ट भए ।
राजा विश्वामित्रलाई वशिष्ठ ऋषिले पालेको कामधेनु गाईले आश्चर्य पार्‍यो । एउटा गाईको यस्तो चमत्कार देखेर राजाले वशिष्ठसँग कामधेनु गाई मागे । राजाको यस्तो माग सुनेर ऋषि बोले, “हे राजन ! कामधेनु मेरो जीवन हो । कुनै पनि मूल्यमा म यो गाई दिन सक्दिन ।” यसरी ऋषिले राजाको मागलाई अस्वीकार गरे । त्यत्रा सैनिकसहितका शक्तिशाली राजाको मागलाई ऋषिले अस्वीकार गरेको राजालाई सह्य भएन । तत्काल कामधेनु गाईलाई बाँधी हिँडाउन राजाले सैनिकहरूलाई आदेश दिए ।

राजाको आज्ञा पाएपछि सैनिकहरूले दाम्लोले बाँधी गाईलाई हिँडाउन थाले । गाई हिँड्न नमानेपछि लौरोले पिटीपिटी गाईलाई दण्ड दिँदै गाईलाई खेद्न थाले । राजाको यस्तो कर्मबाट दुःखी भएर कामधेनु आफ्नो शक्तिले बन्धनबाट छुटी ऋषिकहाँ आएर दुःख पोखिन् । ऋषिले गौमातालाई भने, “हे गौमाता ! म पनि दुःखी छु । विश्वामित्र मेरा यहाँ अतिथि छन्, त्यसैले यिनलाई श्राप दिन पनि सक्दिन । फेरि यी राजासँग यति धेरै सैन्यबल छ । लडेर जित्न सकिँदैन । यसैले म निरुपाय छु, म केही गर्न सक्दिन ।” ऋषिको यस्तो कुरा सुनी कामधेनुले भनिन्, “उसो भए मलाई आज्ञा दिनुहोस् । म यी राजालाई छिनभरमै परास्त गर्नेछु । मलाई यी कुनै कुराको बन्धन छैन ।” अन्य कुनै उपाय नदेखेपछि ऋषिले कामधेनुलाई आज्ञा दिए ।

ऋषिको आज्ञा लिएर कामधेनु गाईले आफ्नो योगबलद्वारा शास्त्रअस्त्रले सुसज्जित हजारौं वीर योद्धाहरूको उत्पन्न गरिन् । कामधेनुका योद्धाहरूले राजा विश्वामित्रका त्यो विशाल सैनिकलाई क्षणभरमै सखाप पारिदिए । आफ्ना सैनिकहरू यसरी पराजित हुन लागेको देखेर विश्वामित्रका एक सय छोराहरूले एकैपटक ऋषि वशिष्ठमाथि आक्रमण गरे तर ऋषि वशिष्ठले विश्वामित्रका एउटा छोरा छाडी बाँकी सबैलाई प्रतिकारमा मारिदिए ।

आफ्ना उनान्सय पुत्र र सैनिकहरूको त्यस्तो दुर्गति भएपछि पराजित भएका राजा प्रतिशोधको भावनाले वशिष्ठविरुद्ध उपायको खोजी गर्न थाले । बदलाको भुङ्ग्रोमा बिरोलिएका राजाले बचेको पुत्रलाई राजगद्दी सुम्पिएर हिमालयको गुफामा गई महादेवको कठोर तपस्या गर्न थाले । कठोर तपस्याद्वारा महादेवलाई प्रसन्न पारी उनले धनुर्विद्याको सम्पूर्ण ज्ञानको वरदान प्राप्त गरे ।

महादेवबाट धनुर्विद्यामा दीक्षित भएपछि विश्वामित्र ऋषि वशिष्ठको आश्रममा पुगे । उनले क्रोधित भई वशिष्ठलाई चुनौती दिँदै भने तिम्रो म सर्वनाश गर्नेछु । ऋषि वशिष्ठले पनि उनको चुनौतीलाई सहर्ष स्वीकारे । उनीहरूको बीचमा घोर लडाइँ भयो । लडाइँमा विश्वामित्रले वरुणास्त्र, रुद्रास्त्र, इन्द्रास्त्र र पशुपतास्त्रले प्रहार गरे । शस्त्रविद्यामा वशिष्ठ पनि कम थिएनन्, उनले विश्वामित्रका ती अस्त्रहरूलाई पलमै निष्काम गरिदिए ।

आफ्नो अस्त्र निष्फल भएको देखी विश्वामित्रले फेरि मानवास्त्र, महानास्त्र, गन्धर्वास्त्र, जुम्भनास्त्र, दार्नास्त्र, बज्रास्त्र, ब्रह्मापास, कल्प, वरुणपाश, पिनाक धनुष, दण्डास्त्र, ऋषिशास्त्र, क्रौनचास्त्र, धर्मचक्र, कालचक्र, विस्त्रलेष्ट, शास्त्रास्त्र, द्वन्द्वास्त्र, षड्यन्त्र, आधार, कलास्त्र आदिलगायतका हतियारहरूले प्रहार गरे । वशिष्ठले ती सम्पूर्ण प्रहारको सामना गरी विश्वामित्रमाथि ब्रह्माण्डीय अस्त्र (ब्रह्मास्त्र)को प्रहार गरे । यस अस्त्रबाट उत्पन्न हुने भयंकर आवाजले ब्रह्माण्ड नै बहिरो जस्तो भयो, यसबाट उत्पन्न भएको लाखौं सूर्य बराबरको प्रकाशले सबैको नेत्रशक्ति गए जस्तो भयो र उत्पन्न ऊर्जाले ब्रह्माण्ड नै ध्वस्त हुने जस्तो भएकोले संसार नै सकसपूर्ण भयो ।

वशिष्ठले प्रहार गरेको यस्तो प्रलयकारी शक्तिको पीडाबाट संसारलाई जोगाउन सबै ऋषिमुनीहरूले वशिष्ठलाई अनुरोध गरे, “तपाईंले विश्वामित्रलाई पराजित गर्नुभयो । अब यस शक्तिको प्रभावलाई निष्क्रिय गर्नुहोस् ।” ऋषिमुनीहरूको यस्तो बिन्ती सुनेर वशिष्ठले आफ्नो मन्त्रले त्यस अस्त्रलाई फिर्ता बोलाए र त्यसको आवाज, ज्वाला र शक्तिलाई शान्त गरे । विश्वामित्रले पनि आफ्नो हार स्वीकार गरे ।

वशिष्ठबाट पुनः पराजित भएका विश्वामित्र हार स्वीकार गरी श्रीमतीसँगै ब्रह्माजीको तपस्या गर्न दक्षिण दिशातिर लागे । यसपटक विश्वामित्रमा वशिष्ठसँगको पहिलो हार जस्तो प्रतिशोधपूर्ण रहेन, तथापि वशिष्ठ र उनका पुत्रले क्षेत्री पुरोहित भएको यज्ञ स्वीकार नगरेको घटनाप्रति भने चिन्तित थिए । विश्वामित्रको तपस्यादेखि प्रसन्न भएर ब्रह्माजीले ऋषिलाई राजर्षिको वरदान दिए । राजर्षिको वरदान प्राप्त भए पनि विश्वामित्रमा भने सन्तुष्ट भएनन् । उनलाई महर्षि हुने इच्छा थियो । तसर्थ, उनले विचार गरे, मेरो तपस्या अझै पूरा भएको छैन । उनले फेरि तपस्यामा जाने निधो गरे ।

त्यसपछि विश्वामित्र पूर्व दिशातिर गई झन् कठोर तपस्यामा बसे । यस तपस्यामा उनलाई अनेक बाधाहरू पनि आइलागे तर कस्तै बाधा आइपरे पनि बिनाक्रोध विश्वामित्र अविचलित भई तपस्यामा लीन रहे । केही कालपछि जब तपस्याको समयावधि सकियो, विश्वामित्र भोजनका निम्ति बसे । भोजन गर्ने समयमा राजा इन्द्र एक जना भिक्षुक रूपमा आएर भोजनका लागि हात थापे । तपस्या समाप्तिपछि गर्न लागिएको भोजन भिक्षुकद्वारा याचना भएपछि विश्वामित्रलाई लाग्यो, मेरो तपस्या समाप्त भएको छैन र अहिले भोजन गर्ने समय पनि होइन । तसर्थ, विश्वामित्रले भोजन भिक्षुकलाई दिई पुनः निराहार तपस्या सुरु गरे ।

यसपटक विश्वामित्रले तपस्यामा निराहार रहनुका साथै प्राणायाम योगपद्धतिद्वारा सम्पूर्ण श्वासप्रश्वास क्रियालाई स्थिर राखी महादारुण तपस्या गरे । विश्वामित्रको यो तपस्या आमरण तपस्या थियो । यस्तो कठोर तपस्या देखी देवताहरूले ब्रह्मासँग गएर बिन्ती चढाए, “हे प्रभु ! विश्वामित्रको तपस्याले क्रोध र मोहको सीमा पार गरिसकेको छ । यस तपस्याको बलले यिनको शरीरबाट तेज उत्पन्न भएर रातमा पनि सूर्य उदाएसरि उज्यालो भएको छ । यसकारण, हे ब्रह्मा ! अब विश्वामित्रलाई वरदान दिनुहोस् र उनको आकाङ्क्षा पूरा गर्नुहोस् ।”

देवताहरूको कुरा सुनी ब्रह्मा पनि खुसी भएर विश्वामित्रकहाँ प्रकट भई उनलाई ब्राह्मणको उपाधि दिए । विश्वामित्रले तब ब्रह्मालाई बिन्ती गरे, हे भगवान् मलाई ओंकार, षट्कार र चार वेदको ज्ञानको वरदान दिनुहोस् । फेरि विश्वामित्रले अनुरोध भावमा भने, जबसम्म ऋषि वशिष्ठ आएर मलाई ब्राह्मण स्वीकार गर्नेछैनन्, तबसम्म म मेरो तपस्या पूर्ण भएको मान्नेछैन । ब्रह्माले विश्वामित्रका सबै इच्छाहरूलाई “तथास्तु” भनी त्यहाँबाट अलप भए ।

विश्वामित्रलाई ब्रह्माले वरदान दिएको कुरा देवताहरूले ऋषि वशिष्ठलाई गएर बेलिबिस्तार लगाए । देवताहरूको कुरा सुनी ऋषि वशिष्ठ पनि उनीहरूसँगै विश्वामित्रकहाँ गएर भने, “हे विश्वामित्र, म तपाईंको ब्राह्मणत्व स्वीकार गर्दछु । तपाईं ब्रह्मर्षि हुनुहुन्छ ।” त्यसपछि विश्वामित्र र वशिष्ठले आपसमा प्रेमपूर्वक अङ्कमाल गरे र उनीहरूको वैमनस्यताको अन्त्य भयो ।

यस प्रकार, एक क्षेत्रीय कुलका राजा विश्वामित्रले सदैव ब्राह्मणत्व ग्रहण गरे ।

००००      

(४) जमदग्नि 

जमदग्नि ऋषि भृगुवंशी ऋचिक र सत्यवतीका पुत्र थिए । ऋचिक ऋषिले आफ्नी पत्नी सत्यवतीलाई एकदिन दुईवटा चरु दिँदै भने, “यो एउटा तिम्रो लागि हो र अर्को तिम्री आमा सत्यरानीको लागि हो ।” सत्यवतीले एउटा चरु आमा सत्यरानीलाई दिइन् र एउटा आफूले खाइन् । जब सत्यवतीले त्यो चरु खाइन्, यिनले क्षत्रीय गुणसम्पन्न जमदग्नि ऋषिलाई जन्म दिइन् र उनकी आमा सत्यरानीले खाएको त्यो चरुबाट उनले विश्वामित्रलाई जन्म दिइन् ।

यो नाता सम्बन्धलाई हेर्दा के देखिन्छ भने ऋषि ऋचिकले दिएको चरु उनकी सासू सत्यरानीले खाएर विश्वामित्र जन्मिएकोले एक अर्थमा विश्वामित्र ऋचिक ऋषिका छोरा भए भने पत्नी सत्यवतीतिरबाट हेर्दा जेठान पनि भए । जमदग्नीका लागि पिताबाट हेर्दा विश्वामित्र भाइ भए भने आमापट्टिबाट हेर्दा विश्वामित्र मामा भए । यसै गरी, सत्यरानीका लागि छोरीतिरबाट हेर्दा ऋचिक ऋषि ज्वाइँ भए भने विश्वामित्रबाट हेर्दा पति पनि भए । ऋचिक ऋषिका लागि सत्यरानी सासू पनि भइन्, पत्नी पनि भइन् । एउटै व्यक्ति एउटै समयमा दुई नातामा देखा पर्दछन् । यो अवस्था वैदिककालीन समयमा सम्बन्धको लीलामय अवस्था हो ।

जमदग्नीकी पत्नीको नाम रेणुका थियो । जमदग्नि ऋषि र रेणुकाको पाँचौँ सन्तानका रूपमा परशुरामको जन्म भएको थियो ।

००००

(५) वशिष्ठ 
पुराणअनुसार वशिष्ठ ऋषि ब्रह्माका मानस पुत्र हुन् । ब्रह्माका अर्का मानस पुत्रको नाम मरीचि थियो । मानस पुत्र भन्नाले मैथुन क्रियाबाट जन्म नभई इच्छाद्वारा उत्पत्ति भएको पुत्र वा पुत्री भन्ने बुझिन्छ । यस्तै ब्रह्माकी सन्ध्या नामकी एक मानस पुत्री पनि थिइन् । ऋषि वशिष्ठ त्रिकालदर्शी थिए । उनी अति नै सहनशील पनि थिए । यिनका एक सय छोरालाई ऋषि विश्वामित्रले मारिदिए तथापि ऋषि विश्वामित्रलाई वशिष्ठले माफ गरिदिए ।

ऋषि वशिष्ठको विवाह अरुन्धती र उर्जासँग भएको थियो । प्रथम पत्नी अरुन्धती ऋषि कर्दम र देवहूतीका नौ कन्यामध्ये आठौं कन्या थिइन् (देवहूती मनु र शतरूपाकी छोरी थिइन् ।) दोस्री पत्नी उर्जा भने दक्ष प्रजापति र उनकी पत्नी प्रसूतिकी छोरी थिइन् ।

ऋषि वशिष्ठ त्रेता युगमा अयोध्याका राजा दशरथका राजगुरु थिए । शास्त्रअनुसार फरक फरक आठ वशिष्ठहरू थिए भन्ने विश्वास गरिएको छ । एक वशिष्ठ द्वापर युगमा महाभारतकालीन समयमा पनि थिए । ऋषि वशिष्ठ राजा नहुष, रतिदेव, राम र भीष्म जस्ता ज्ञानी र महापुरुषहरूका पनि गुरु थिए ।

कर्दम ऋषिकी नौ वटी छोरीहरूको नाम कला, अनुसुइया (पति ऋषि अत्रि), श्रद्धा, हविर्भू (पति ऋषि पुलस्य), गति, क्रिया, ख्याती, अरुन्धती (पति ऋषि वशिष्ठ) र शान्ति हो भने छोराको नाम कपिल थियो ।

ऋषि वशिष्ठको जीवनमा विश्वामित्रसँग अति कटु सम्बन्ध रहेको थियो । उनीहरूका बीचको सम्बन्ध शत्रुतामा समेत बदलिएको र एक अर्कामा घात प्रतिघातसमेत भएको थियो । तथापि यस्तो अप्रिय सम्बन्धको कारक भने वशिष्ठ थिएनन् । तर पछि गएर यी दुवै ऋषिहरूको शत्रुतापूर्ण सम्बन्धको अन्त भई सुमधुर मित्रवत् सम्बन्ध पनि बनेको थियो । तसर्थ, वशिष्ठ र विश्वामित्रको सम्बन्ध कसरी शत्रुतापूर्ण भयो र पछि कसरी त्यो सम्बन्ध मित्रतामा परिणत भयो भन्ने वर्णन माथि विश्वामित्र खण्डमा सविस्तार वर्णन गरिएको छ ।

००००

(६) कश्यप 

पुराणका अनुसार कश्यप ऋषि ब्रह्माका मानस पुत्र मरीचिका छोरा थिए । यसरी हेर्दा उनी ब्रह्माका नाति थिए । यिनकी आमाको नाम कला थियो । कला कर्दम ऋषिका नौ वटी छोरीमध्ये एक छोरी थिइन् । यो कुरा माथि पनि उल्लेख गरिसकिएको छ ।

महर्षि कश्यपका १३ वटी पत्नी थिए भन्ने कुरा महाभारतमा उल्लेख भएको पाइन्छ । कसैले भने यिनका १७ पटी पत्नी थिए भनी उल्लेख गरेको पनि भेटिन्छ । तिनीहरूको नाम थियो- अदिति, दिति, दनु, काष्ठा, अरिष्टा, सुरसा, इला, मुनि, क्रोधवशा, ताम्रा, सुरभि, सुरसा, तिमि, विनता, कद्रू, पतांगी र यामिनी । यिनहरूमध्ये एक पत्नी कद्रुबाट सबै नागहरू जन्म भएका हुन् । पुराणका अनुसार कश्यप ऋषिका अन्य पत्नीहरूबाट बाँकी प्राणीहरूको सृष्टि भयो । यसकारण महर्षि कश्यपलाई सृष्टिका रचयिता पनि भनिन्छ ।

कश्यप ऋषि एक प्रजापति पनि हुन् । यिनले आफ्ना बुबा मरीचिबाट सिर्जनाको अधिकार विरासतको रूपमा पाएका थिए । उनी भगवान् विष्णुको उर्जाबाट सञ्चालित भएका हुन् ।

वैदिक साहित्यका अनुसार ऋषि कश्यपले द्वापर युगमा कृष्णका पिता वासुदेवका रूपमा जन्म लिएका थिए । यसको कारण ऋषि कश्यपलाई ब्रह्माले दिएको श्राप थियो । ब्रह्माको त्यही श्रापमोचनका लागि उनी वासुदेव बनेर गोप वंशमा जन्म लिएका थिए ।

ब्रह्माले ऋषि कश्यपलाई श्राप दिनुपर्ने कारण के थियो त ? एकपटक ऋषि कश्यपलाई सम्पूर्ण प्राणीजगतको कल्याणको लागि देवताहरूलाई आहुति दिन ठूलो धार्मिक अनुष्ठान सुरु गरे । यसको लागि ऋषिलाई दूध, घिउ जस्ता यज्ञ-पवित्र प्रसादहरूको जरुरी थियो ।

यसका लागि ऋषिले वरुणको आह्वान गरे । वरुण प्रकट भएपछि ऋषि कश्यपले यज्ञका लागि असीमित प्रसादको जरुरी भएकोले सहयोग मागे । वरुणले एउटा पवित्र गाई दिएर भने, “हे ऋषि कश्यप, तिमीलाई यज्ञमा जे कुराको आवश्यकता पर्दछ, यस गाईले पूरा गर्नेछ । यज्ञ पूरा भइसकेपछि तर गाईलाई म फिर्ता लिनेछु ।”

केही समयपछि ऋषिको यज्ञ सम्पन्न भयो । सर्तअनुसार तर ऋषि कश्यपले गाई फिर्ता दिन अस्वीकार गरे । उनको भनाइ थियो, ब्राह्मणहरूलाई दिइएको कुनै पनि वस्तु फिर्ता लिइँदैन । जसले लिन्छ, ऊ पापी हुनेछ । ऋषिको कुरा सुनेर वरुणले कश्यपलाई लिएर ब्रह्मासमक्ष पुगे । वरुणले सबै कुराको बेलिबिस्तार ब्रह्मका अगाडि राखे र भने, “हे ब्रह्मा, ऋषि कश्यपका सबै गुणहरू नष्ट हुनेगरी यिनको लालसा पनि छुटाइदिनुपर्‍यो ।”

ब्रह्मासँग वरुणले गरेको यो अनुरोधपश्चात् पनि ऋषि कश्यपले गाई फर्काउनेबारे कुनै चासो देखाएनन् । ऋषिको यो कृत्यसँग ब्रह्मालाई रिस उठ्यो । उनले ऋषिलाई श्राप दिए, “धरतीमा गाईगोठालाका रूपमा जन्म लिनू ।” ब्रह्माको श्रापपछि मात्र ऋषिको चैतन्य खुल्यो । दुःखी हुँदै उनले ब्रह्मासँग आफ्नो गल्तीप्रति क्षमायाचना गरे । ब्रह्माले ऋषिको कुरामा ध्यान दिँदै अगाडि भने, “जो भइसक्यो, त्यो तिमीले भोग्नै पर्दछ । यो नै तिम्रो प्रायश्चित पनि हुनेछ । तिमी गोपाल वंशमा जन्म लिनेछौ र तिम्रो पुत्रका रूपमा भगवान् विष्णुले धरतीमा जन्म लिनुहुनेछ ।”

ब्रह्माको यही श्रापका कारण ऋषि कश्यपले पृथ्वीमा गोपाल वंशमा वासुदेवको रूपमा जन्म लिए र उनकै छोराको रूपमा भगवान् विष्णुले कृष्ण अवतार लिएका हुन् । गोप जाति अन्तर्गत अहिले पनि नेपालको तराईका केही जिल्ला र भारतका विहार, बङ्गाल, उत्तर प्रदेश आदि ठाउँहरूमा बस्ने यादवहरूलाई जनाउँछ । तसर्थ, कृष्ण पनि गोप जातिभित्र यादव कुलमा जन्म लिएका थिए ।

००००

(७) अत्रि 

पुराणका अनुसार महर्षि अत्रि ब्रह्माजीको आँखाको भागबाट उत्पन्न भएका मानस पुत्र थिए । ब्रह्माका इच्छित सात मानस पुत्र थिए जसको नाम हो- पुलस्य, पुलह, वशिष्ठ, कौशिक, मरीचि, क्रतु र नारद । यी सबैले ऋषि दर्जा प्राप्त गरेका छन् । अत्रि ऋषिको आश्रम चित्रकूटमा थियो । वैदिक देवताहरूका लागि अत्रि ऋषिले धेरैभन्दा धेरै भजनहरू लेखेका थिए ।

अत्रि ऋषिको विवाह कर्दम ऋषिकी पुत्री अनुसूयासँग भएको थियो । अनुसूयाकी माताको नाम देवहूति भएको कुरा माथि वशिष्ठ खण्डमा लेखिसकिएको छ । अत्रि ऋषि र अनुसूयाका तीन पुत्र भए दत्तात्रेय, चन्द्रमा र दुर्वासा । अत्रि दम्पतीले तपस्याद्वारा ब्रह्मा, विष्णु र शंकार “त्रिदेव”लाई खुसी पारी विष्णुको अंशबाट महायोगी दत्तात्रेय, ब्रह्माको अंशबाट चन्द्रमा र शंकरको अंशबाट महामुनि दुर्वासाको जन्म दिएका थिए । यिनकी एउटी ब्रह्मावादिनी नामकी छोरी थिइन् ।

ऋग्वेदमा लेखिएअनुसार महर्षि अत्रि ब्रह्माका पुत्र, सोमका पिता र कर्दम ऋषि एवम् देवहूतीकी छोरी अनुसूयाका पति भएको कुरा उल्लेख छ । उनकी पत्नी अनुसूयाको बारेमा लेखिएको छ- एकदिन अत्रि ऋषि बाहिर गएको बेलामा ब्रह्मा विष्णु र शंकर ब्राह्मण भेष धारण गरी अनुसूयाको घरमा भिक्षा माग्न आए र भने- आफ्नो सम्पूर्ण लुगा फुकालेर नाङ्गै भएपछि मात्र भिक्षा स्वीकार गर्नेछौं । यस्तो कुरा सुनेपछि उनले आफ्नो सतित्वको शक्तिले तीनै जना देवतालाई बालक बनाएर भिक्षा दिइन् । त्यसपछि त्रिदेवहरू आफैं लज्जित भई फर्कनुपरेको थियो ।

पुराणअनुसार अत्रिपुत्र चन्द्रमाले बृहस्पतिकी पत्नी तारासँग विवाह गरे । विवाह गरे के भन्नु, उनले वृहस्पतिकी पत्नी ताराको अपहरण गरेका थिए । उनीहरूबाट बुधको जन्म भयो । बुधले क्षेत्रीहरूमा चन्द्रवंशको सुरुआत गरे । यस वंशका सबै राजाहरूले आफूलाई चन्द्रवंशी मान्दछन् । अत्रि ऋषिका सन्तान चन्द्र भएकाले आत्रेय पनि चन्द्रवंशी नै भए । अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध, बुधबाट पुरूरवा, पुरूरवाबाट आयु, आयुबाट नहुष, नहुषबाट यति, ययाति, संयाति, आयति, वियाति र कृति नामका ६ जना महाबली विक्रमशाली पुत्रहरू भए ।

रिचमण्ड, भर्जिनिया, अमेरिका ।