सङ्गीतको व्यापक अस्तित्वलाई स्वीकार गरेर स्रष्टा अग्रसर रहन्छ । यदि साङ्गीतिक चेतनालाई पन्साएर कोही कवि हुन्छ भने त्यो नामको कवि होला । यथार्थमा उसका रचना बाँच्न सक्तैनन् ।

प्रिय दुष्टमति ! तँ, आफ्नो अनुभव सुनाई दे न । त्यो बेला तैँले सङ्गीतकारसँग सोधेको  कुरा के थियो र के उत्तर पाइस् त्यो भनी दे न ! हरिराज अलिक अभिमानी देखिन्छ । ऊसँग यस्ता कुरा सोध्नु व्यर्थ छ । तैं भनी दे ।

मैले हरिराजको तुजुक झार्नु थियो । त्यसैले उसलाई पनि लिएर वरिष्ठ सङ्गीत विशेषज्ञ कहाँ पुगेर प्रश्न गरेँ – ‘गुरुदेव, सिनेमा, रेडियो, संस्थान र यस्तै अनेक ठाउँबाट उत्पादित गीत र साहित्यिक गीतमा यत्रो बेमेल किन ?’

विशेषज्ञले एउटै वाक्यमा भने– ‘सिनेमाका र संस्थानहरूबाट उत्पादित गीतमा वाद्य सङ्गीत र गायनको चमत्कारपूर्ण ऊर्जा छ । त्यसैले त्यस्ता गीत चम्कन्छन् । यदि वाद्य–सङ्गीत र कण्ठ–सङ्गीत झिकिदियो भने ती गीत भिजेका नेपाली कागज हुनेछन् । तिमीले सही प्रश्न गर्यौ | मैले खुलस्त गर्ने मौका पाएँ ।’

हरिराज पनि सङ्गीत प्रवीणका कुरा सुन्दै थियो । किनकि यो कला गीतकै चर्चा थियो ।

‘हेर, लोकगीतको प्रसङ्गलाई एकछिन परै राखौं | सिनेमाका गीत,अरू सङ्गीतबद्ध गीत र दृश्यबद्ध गीतको वर्ग र साहित्यिक गीतको वर्ग मिल्दैन । जुनसुकै गीतलाई गाउन र सङ्गीतले सजाउन सकिन्छ । यो अर्को पाटो हो । वास्तविक गीत  बाह्य –सङ्गीतका वैशाखीमा बाँच्ने गर्दैन । अर्थात् त्यसलाई सङ्गीत नदिए पनि, कसैले नगाए पनि त्यो गीत आफ्नो अस्तित्वमा सदैव जीवित रहन्छ । देवकोटाको मुनामदन र माधव घिमिरेका (किन्नर किन्नरी) गीत उत्तिकै प्राणवान् र शक्तिशाली पनि छन् । यस खालका गीतको तुलना अरू खाले गीतसँग गर्न मिल्दैन । वाद्य सङ्गीत र कण्ठ सङ्गीतको सहयोगले अस्तित्वमा देखिने गीतको आयु लामो हुँदैन – जति काव्यगीतको हुन्छ ।

काव्यगीत वा साहित्यिक गीतको गरिमा अलिक फरक हुन्छ । त्यसले  बाह्य सङ्गीतको अपेक्षा राख्दैन । त्यो वैकल्पिक कामना मात्र हो । वास्तविक गीत त स्वसङ्गीतमा नै जीवित हुन्छ । शब्द–सङ्गीत, भाव–सङ्गीत गीतसँगै जोरिएर हिँड्छन् । काव्य-गीतको सङ्गीत त सुनले आफ्नो रङ्गसँगै राखेजस्तै हो । पृथक् होइन |

उनले थपे, ‘हरिराज तँ पनि कान खोलेर सुन् । साहित्यिक गीत सङ्गीतसँगै जन्मन्छ ।  बाह्य सङ्गीत त ऐच्छिक मात्र हो । आवश्यकताअनुसार थप्न सकिन्छ । नजोडे पनि हुन्छ । प्रत्येक भोक्ताले आफ्नो रुचिको लय वा गायन प्रक्रियाबाट त्यसको आनन्द लिन्छ । जस्तो –

‘गौंथली बोल्यो चिरिबिरी च्यार्र… (लेखनाथ पौडेल)
बालक बबुरो,द्विजशुकनामा… (लेखनाथ पौडेल)

‘कुन मन्दिरमा जान्छौ यात्री… (देवकोटा)
तिनले गाइन् घँसिया गीत… (देवकोटा)

काव्य र सङ्गीत दुवै पृथक् र आफैँमा पूर्ण विधा हुन् । यी आ–आफ्नै सीमा र स्थितिमा अस्तित्ववान देखिन्छन् । फेरि पनि टड्कारो भिन्नता के हो भने काव्य आफैँमा, जन्मजात आएको सङ्गीतको शक्तिले जीवित रहन्छ भने सङ्गीत-शास्त्रीय सङ्गीत सप्त स्वरको आवृत्ति र सङ्कुचन, प्रसारण, यति, गति, उदात्त, अनुदात्त, आरोह–अवरोह, आलाप–प्रलाप (?) आदि विविध पद्धतिद्वारा आफैँलाई पूर्ण र तुष्ट राख्दछ ।

अथवा यसरी हेरौँ- चमत्कार देखाउन शास्त्रीय सङ्गीत काव्यमा आरूढ हुन्छ । हुन त सङ्गीत आफैँमा पूर्ण छ, किन्तु काव्य बिना सङ्गीत पूर्ण नहुने हुनाले जन्मदै सङ्गीत लिएर आएको हुन्छ । यसलाई हामी स्वसङ्गीत भन्छौँ । अन्य सङ्गीत ऐच्छिक मात्र हो । तुलसीकृत रामायण/रामचरित मानसलाई  बाह्य  सङ्गीतले सिँगारे पनि हुन्छ,गायकले आफूखुसी गाए पनि हुन्छ । सङ्गीतको वैकल्पिक स्थिति यसैलाई भनिन्छ । यहाँ बाहिरी सङ्गीतको अभावमा, मानसको न गरिमा घट्छ, न महिमा थामिन्छ ।

आयो दक्षताको कुरा, कवि जब कविता वा गीत लेख्न बस्छ पहिले उसको छातीभित्र भावविन्दु जन्मन्छ र हृदयमा ठाउँ लिन्छ । अनुभूतिले त्यो घोलिन्छ र विद्युत् तरङ्गको गतिले झन्कार जन्माउँछ, चस्काइदिन्छ र त्यसबाट सङ्गीतको ध्वनि मुखर हुन थाल्छ । कवि लयमा भावलाई समेट्न, दुवाली भर्न र सुन्दर भाव भय निकास दिन गुनगुनाउँछ । फलतः लय, गति, यति, वितान र सङ्कोचनमा आन्तरिक अभ्यास थाल्छ, आवृत्ति दिन्छ अनि सुन्दर गीत मूर्त हुन्छ र लिपिमा बाँधिन पुग्छ । भित्री सङ्गीतकै ऊर्जाको परिणाम हो यो ।

त्यसैले कवि यदि सङ्गीतसँग सम्पृक्त छैन भने उबाट उच्च गीत/कविता जन्मन सक्तैन । त्यो स्थितिमा ऊ लोक कविबाट सजिलै पराजित हुन पुग्छ । बिचरा हरिराज के बुझोस् !

गीतको आयाम र लोकगायनको महत्ता बारे फेरि बोलौंला । हरिराजले तेजोवध भएको ठाने जस्तो छ । त्यो कुरा होइन । कुरा अर्कै छ । फेरि भेटेर संवाद गरौंला नि ! गफै त हो । सकिने कहाँ हो र !