बेलायती डायस्पोराका एक नेपाली कवि दयाकृष्ण राई आफ्नो पछिल्लो कवितासङ्ग्रह अश्वेत महावाणीमा गृहभूमि र लक्ष्यभूमिबिचको द्वैधतालाई अभिव्यक्त गर्दछन् ।

वि.सं. २०७८ मा प्रकाशित दयाकृष्णको कवितासङ्ग्रह अश्वेत महावाणीभित्र जम्मा एकाउन्नओटा कविताहरू छन् । ती कविताहरूलाई पाँचओटा खण्डमा विभाजन गरेको पाइन्छ । ती पाँच खण्डहरूमध्ये पहिलो खण्डमा उन्नाइसओटा कविताहरूले पहिचान तथा विश्व परिवेशका समसामयिक मुद्दाहरूलाई समेटेका छन् । दोस्रो खण्डका दशओटा कवितालाई युद्ध कविता नामकरण गरिएको छ । तेस्रो खण्डका बाह्रओटा कविताहरू यौन विषयमा केन्द्रित छन् । चौथो खण्डका पाँचओटा कविताहरूलाई भूकम्प कविता नाम दिइएको छ । पाँचौँ खण्डमा रहेका पाँचओटा कविताले कोभिड कालको बन्दाबन्दी र सकसपूर्ण मानव अनुभूतिलाई प्रक्षेपण गरेका छन् । यी विभिन्न पाँच खण्डहरूको प्रस्तुतिले दयाकृष्णका कविताको विषयगत वैविध्यलाई पुष्टि गर्दछन् ।

यी खण्डहरूमध्ये पहिलो र दोस्रो खण्डका विभिन्न कविताले आप्रवासी जीवनका विरोधासपूर्ण अस्तित्व र खण्डित ‘स्व’ लाई व्यक्त गरेका छन् । गृहभूमि संस्कृति र लक्ष्यभूमि संस्कृतिबिच अलमलिरहनु नै आप्रवासी चरित्र हो । यो अलमले चरित्र आजको ऐतिहासिकताले उब्जाएको मनोदशा हो । अश्वेत महावाणीभित्रका विभिन्न कविताहरूको विश्लेषणबाट यही मनोदशा झल्किन्छ । यो मनोदशालाई दयाकृष्णले बौद्धिक र काव्यिक शक्तिको सन्तुलनसहित अभिव्यक्त गरेका छन् ।

आप्रवासीहरूको खण्डित मनोविज्ञान दयाकृष्णका अन्य पुस्तकहरूमा पनि पाइन्छ । अश्वेत महावाणीभन्दा पहिले नै उनका अन्य दुई कवितासङ्ग्रहहरू प्रकाशित छन् । तिनीहरूमध्ये पहिलो ‘लाहुरेको कथा र जापानको व्यथा’ हो भने दोस्रो ‘ईश्वरको मलामी’ हो । सम्झनाको आलिङ्गनमा बाँधिएर दयाकृष्णको नियात्रासङ्ग्रह हो । पागल दार्शनिकका अभिव्यक्तिहरू उनको निबन्धसङ्ग्रह हो । गन्तव्यहीन यात्रीको सपना दयाकृष्णको कथासङ्ग्रह हो ।

अश्वेत महावाणी सङ्ग्रहभित्रका कविताहरूको चर्चा गर्ने क्रममा गृहभूमि र लक्ष्यभूमिबिच आकर्षण र विकर्षणको चाकाचुलीमा अलमलिरहेका आप्रवासी नै दयाकृष्णको रचनाका मुख्य पात्रका रूपमा देखिन्छन् । एउटा आप्रवासी राष्ट्रिय दायराभन्दा धेरै पर हुन्छ । विभिन्न संस्कृतिहरूको बिचमा उसले आफूलाई अन्तरसांस्कृतिक बनाउँदै जान्छ । एक आप्रवासी कविका रूपमा चुच्चो नाक र थेप्चो नाक भएका इथ्नोहरूबिच हुने संशय र विभेदलाई ‘नाकको लडाइँ’ कवितामा दयाकृष्ण यसरी उठाउँछन् ः
कसरी सुरु भयो चुच्चो र थेप्चो नाकको विभेद ?

थेप्चो नाक देख्दा चुच्चो नाक खुम्चिने

चुच्चो नाक देख्दा थेप्चो नाक खुम्चिने

कहिलेबाट सुरु भयो नाकको लडाइँ

अनि कहिले अन्त हुने नाकको लडाइँ ? (पृ.२५)

ओझेल र दमनमा परेका सीमान्त जाति र समुदायका मुद्दा तथा अभियानमाथि दयाकृष्णको सहानुभूति छ । उनको सर्वोच्च कामना चाहिँ शारीरिक रूप र रङका आधारमा हुने पारस्परिक विभेद, घृणा र संशयको समाधान हो ।

एक उदारवादी आप्रवासीका रूपमा उनले ‘रङ, जाति र लिङ्गभेद’ शीर्षकको कवितामा रङ्गभेद, लिङ्गभेद र वर्गभेदको परिभाषालाई नयाँ ढङ्गले विस्तार गरेका छन् । हामी ख्यालै नगरी रङ्गभेद, लिङ्गभेद, जातिभेद र वर्गभेद गरिरहेका हुन्छौँ । सेतो बङ्गुरको सेकुवा बन्छ तर हामी धराने कालो बङ्गुरको सेकुवा भन्दै रङ्गभेदी सोच प्रकट गर्छौँ भन्ने दयाकृष्णको आशय हो । उनको विचारमा ‘गोरे’, ‘काले’ जस्ता शब्द प्रयोग गर्नु रङ्गभेद हो । चुच्चे नाक भन्नु जातीय भेद हो । ‘लोकल रातो भालेको सुप’, ‘मार्सी चामलको भात’ जस्ता पदावलीहरू पनि लिङ्गभेद, रङ्गभेद र वर्गीय असमानताका घोतक हुन् ।

दयाकृष्णले ‘सुदूर सम्झनामा विलय भइसकेकी सोल्टिनीलाई फेसबुकमा भेट्दा’ कवितामा गृहभूमि र लक्ष्यभूमि बिचको द्वन्द्वलाई निकै मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । किशोर कालमा गाउँका हाटबजारमा सँगै डुलेकी सोल्टिनीसँग बकन्तेको लामो विछोड हुन्छ । बकन्ते विदेशी सेनामा भर्ती भएर स्वदेश छोड्न पुग्छ । कैयौँ वर्षपछि डायस्पोरा निवासी सोल्टी र जन्म गाउँ निवासी सोल्टिनी फेसबुकमा भेटिन्छन् । बकन्ते सोल्टी हर्षविभोर हुन्छ । गफ गर्दै जाने क्रममा सोल्टीनीले सोल्टीलाई स्वदेश बिर्सिएको आरोप लगाउँछिन् । खसी बोकाझैँ बेचिएको र बेलायती सरकारले पोसेको समेत भन्न भ्याउँछिन् । आफू भने सिस्नो र खोलेफाँडो खाएर नेपालमै बसेको गौरवबोध गर्छिन् । सोल्टीनीको यस्तो प्रतिक्रियाबाट आप्रवासी सोल्टी बेखुस हुन्छ । सोल्टी भन्छ :

मलाई उनको त्यो च्याँठिएको देशभक्तिले

भनभन्ती रिङ्गटा छुट्यो

सोल्टिनी तिम्रो ठुटे देशभक्तिप्रति सलाम (पृ.४२)

यहाँ देशको भौगोलिक परिधिभित्र बस्नेले आफूलाई बढी राष्ट्रभक्त मान्ने मनोग्रन्थी बोकेको पाइन्छ । आप्रवासी पनि तुलनात्मक रूपमा सहज विदेशी जीवनशैली उपभोग गर्दै स्वदेशी अतीत अनुरागमा डुबिरहेका हुन्छन् । यही बिन्दुमा गृहभूमि र लक्ष्यभूमिबिच अल्झनुको द्वन्द्व बल्झिन्छ ।

‘म ध्रुवतारा’ कवितामा दयाकृष्ण आफ्नो परादेशीय नजरद्वारा देशका सीमारेखाहरूलाई कृत्रिम सीमाङ्कन ठान्दछन् । यो उनको डायस्पोरिक चेतनाको अभिव्यक्ति हो । यसो भन्न डायस्पोरा नै भइरहनुपर्ने जरुरी नहोला, यद्यपि डायस्पोरिक नजरमा राष्ट्रहरूबिचका सीमारेखा त्यति धेरै जायज लाग्दैनन् । राष्ट्रिय सीमारेखाहरूको कम्तीमा पनि एक तहको भञ्जनको चाहना डायस्पोरिक मनोविज्ञानमा कतै प्रस्ट र कतै प्रच्छन्न रूपमा बसेको हुन्छ । दयाकृष्ण लेख्छन् :

पृथ्वीमा मानिसले तेरो र मेरो भन्दै

आ-आफ्नै देशहरू सीमाङ्कन गरेको

कृत्रिम रेखाहरू देख्यौ कि देखेनौ ? (पृ.४८)

दयाकृष्णको ‘फलानो गाउँ जाने बाटो सोधिरहेका गोर्खालीहरू’ कवितामा मातृभूमि नेपाललाई आमा र लक्ष्यभूमि बेलायतलाई सानीआमा भनिएको छ । सानीआमाबाट आफूमाथि भेदभावपूर्ण व्यवहार भइरहेको गुनासो कविले गरेका छन् । डायस्पोराहरू सानीआमाको काख त्यागेर आमाको काखमा पनि आउन सक्दैनन् । यो उनीहरूको आम सीमितता हो । उनी लेख्छन् :

श्याम, श्वेत, पीत वर्ण

सबैलाई समान अवसर भन्ने

नारामा मात्रै सीमित रहेछ

रातो राहदानीले त हाम्रो पीत वर्ण

श्वेत वर्णमा अवश्य परिवर्तन हुन सक्दैन (पृ. ५८)

आफ्नै लक्ष्यभूमि बेलायतप्रति कवि दयाकृष्णको चरम निराशा छ । ‘के दिन सक्छौ नयाँ कुरा’ कवितामा उनी भन्छन्, “एक्काइसौँ शताब्दीको सूर्य/अब तिम्रो बसमा छैन” (पृ. ६६) । पतन भइसकेको साम्राज्यको विरासत बोकेको बेलायत अब केवल भग्नावशेष हो । यससँग नयाँ विचार दिने र संसारलाई दिशानिर्देश गर्न सक्ने कुनै तागत छैन । यहाँ कवि दयाकृष्णले लक्ष्यभूमिमाथि नपुंसकताको आरोप लगाएका छन् :

तिम्रो साम्राज्य गुमेको मानसिक तनावले

नपुंसक भएको महसुस भएर

ऊर्जा चाहिएमा

हिमाली भियाग्रा यार्सागुम्बा टिपेर दिन सक्छौँ

हिमालमा पाइने बिखुमा र

सबै जडीबुटी टिपेर दिन सक्छौँ (पृष्ठ. ६७)

‘बिन लादेन र उनको सपना’ कविताभित्र दयाकृष्णले बिन लादेनको जातीय शुद्धतावादी सोचलाई उजागर गरेका छन् । आतङ्कवादको भियग्रा सेवनले मातेको बिन लादेनको नजरमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा एक अपवित्र अस्तित्व हो भन्ने कवि दयाकृष्ण ठान्दछन् । एक धर्म र एक जातिको अन्ध पक्षपाती लादेनको आँखामा आजका परादेशीय मानिस मौलिक पहिचानविहीन अपवित्र ठिमाहा हुन् । लादेनलाई ठिमाहापनविरोधी शुद्धतावादी भन्ने आरोप लगाइसकेपछि दयाकृष्ण ठिमाहापनका पक्षपाती देखिन्छन् । ठिमाहापन आप्रवासीहरूको स्वाभाविक विशेषता हो । बिन लादेनको दृष्टिबिन्दुबाट दयाकृष्ण भन्छन् :

ओबामा….

गधा र गाईको संसर्गबाट जन्मिएको

एउटा ठिमाहा बछेडा हौ

मेरो मृत्युको घोषणा गर्न लालायित तिमी

न त अमेरिकी

न त अफ्रिकी

खोइ तिम्रो मौलिक पहिचान ? (पृष्ठ ७०)

समग्रमा भन्दा अश्वेत महावाणीभित्र कवि दयाकृष्ण राईले विषयगत हिसाबमा विविधतायुक्त कविताहरू प्रस्तुत गरेका छन् । काव्यको मिठाससहित वैचारिकताको उठान दयाकृष्णका कविताको प्रस्ट देखिने विशेषता हो । जातजातिका मुद्दा, लैङ्गिक सम्बन्ध, यौन, लक्ष्यभूमि र गृहभूमिप्रतिका दृष्टिकोणजस्ता विषयमा उनी कविताद्वारा विचार प्रदान गरिरहेका पाइन्छन् । दयाकृष्णको अश्वेत महावाणीभित्र रहेका युद्ध कविताहरूले एकातिर गोर्खा सैनिकको अदम्य साहसलाई उजागर गरेका छन् भने अर्कोतिर गोर्खा सैनिकबारे निर्माण गरिएको आधारहीन नकारात्मक छविलाई निन्दा गरेका छन् । यसका साथै यौन विषयमा लेखिएका उनका कविताहरू निकै नै ‘साहसी’ प्रतीत हुन्छन् ।

कवि दयाकृष्ण राई पूर्वी पहाडको भोजपुरबाट उठेर जापान हुँदै बेलायतमा साहित्य साधना र जीविका साधना गरिरहेका एक समर्पित स्रष्टा हुन् ।