गत शुक्रबार एउटा ब्यानर सार्वजनिक भयो : ‘शिल्पी थिएटरमा दैलो प्रोडक्सनले भैरव अर्यालका निबन्धमाथि नाटक देखाउने ।’ नाटकको लेखन तथा निर्देशन बारत लिम्बूले गर्ने लेखियो । नाटक मञ्चनका लागि भैरव अर्याल पुरस्कार गुठीको पनि सहयोग रहेको भनियो ।

भैरव अर्यालले हास्यव्यङ्ग्य नाटक लेखेर कालजयी बने । उनले कर्मचारी, नेता, व्यापारी, पण्डित, समाजसेवी कसैलाई पनि व्यङ्ग्य गर्न बाँकी राखेनन् । उनलाई समालोचकहरूको साथ थियो, उनलाई एउटा कालखण्डले पचाइसक्यो । उनका निबन्ध नपढ्ने बिरलै कोही हुनन् ।

शिल्पी थिएटरको ब्यानर प्रकाशनमा आएपछि भैरव अर्यालका निबन्धहरूमाथि खोजी कार्य सुरु भयो । भैरव अर्यालका प्रायः सबै निबन्ध पढेको मान्छेले यो ‘ह राम पण्डित’ कतै पढेको जस्तो लागेन । सरकारी स्वामित्वको अनलाइन लाइब्रेरी ई पुस्तकालयमा उपलब्ध भएका निबन्धहरू हेर्दा ‘हराम पाँडे हजुर !’ निबन्ध प्राप्त भयो । त्यहाँ चलाखीपूर्वक हराम पाँडेलाई हराम पण्डित बनाइएको जस्तो थियो । अनलाइन किन खोजियो भन्दा पुस्तकभन्दा खोजीका लागि यता सजिलो हुन्छ ।

मैले तत्काल साहित्यकार तथा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालालाई उक्त सामग्री पठाएर जिज्ञासा राखेँ । उनले भने, ‘नाट्यकर्मी झुक्किएका हुन् । झुक्किएको होइन भने यो नियोजित विषयान्तर हो ।’ इटहरीका अर्का स्रष्टा युवराज काफ्लेसँग यसबारे कुरा गर्दा उनले यसलाई बौद्धिक अतिक्रमण भएको बताउँछन् ।

इटहरीमा लामो समयदेखि नाट्यकर्मीका रूपमा ख्याति बनाएका सोनु जयन्ती आयोजकले गलत गरेको बताउँछन् । जयन्ती थप्छन्, ‘हामी पनि बिपी कोइरालाको ‘शत्रु’ कथामाथि नाटक देखाइरहेका छौँ । फलानाको कथामा आधारित भनेर लेखिएपछि केही तलमाथि गर्न मिल्दैन । कसैको उमेर ४५ छ भने त्यसलाई ४४ वर्षीय भन्न पनि मिल्दैन । मौलिकता ख्याल राख्नुपर्छ । अर्यालको निबन्धमाथि गरिएको परिवर्तन पनि स्रष्टामाथि अन्याय हो । यहाँ त शीर्षक पनि नियोजित रूपमा राखेजस्तो देखिएको छ ।’

अर्का रङ्गकर्मी युवराज घिमिरेको मत भिन्न छ । घिमिरे भन्छन्, ‘रङ्गकर्म समाजभन्दा बढी सोच्छ । कसैलाई व्यङ्ग्य गर्न बाँकी राख्दैन । नाटककारको योग्यता र क्षमताले विषयलाई जतै ढाल्न पनि सक्छ । प्रसिद्ध प्राचीन कृति ह्यामलेट दशौँ नाट्यकृतिमा रूपान्तर भएको छ । यसलाई नाटककारले कसो गर्न खोज्छ, त्यसै गरिन्छ ।’ भारतीय चलचित्र थ्री इडियट्सको उदाहरण दिँदै उनले रङ्गकर्मलाई नबुझ्नेहरूले यसको विरोध गर्नु स्वाभाविक भएको बताए ।

रङ्गकर्मी सुनील पोख्रेललाई यसबारे जिज्ञासा राख्दा उनले नाटककार सचेत नभएको प्रतिक्रिया दिँदै शीर्षक परिवर्तन नै गर्नुपरे पनि तयार हुनुपर्ने बताए । उनले थपे, ‘साहित्य र रङ्गमञ्च समाजभन्दा अघि सोच्छ र व्यवहार गर्छ । लोककै उपज भएकाले कलाक्षेत्रले जनभावनाको भने कदर गर्नुपर्छ । नेपालको वर्तमान विषम परिस्थितिसँगै देखा पर्नुमा सायद यो संयोग भएको हुनुपर्छ । यसबारे नाट्यकर्मी सचेत हुनपर्छ ।’ नाटककारको सोच्ने र काम गर्ने क्षमतामा भर पर्ने बताउँदै यस्ता विषयको प्रकाशनअघि ध्यान दिनुपर्ने उनको तर्क छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागमा लामो समयदेखि नाटक अध्यापन गर्दै आएका सहप्राध्यापक डा. सुभाषचन्द्र न्यौपाने नाटक मञ्चनमा यस्ता विषय सामान्य भएको प्रतिक्रिया दिन्छन् । नाटक मञ्चनका बेला भने शीर्षकीकरण वा फेरबदलको जानकारी दर्शकलाई दिँदै शीर्षक अनुकूलन गर्नुपर्छ । उनी भन्छन्, ‘नाटकलाई कसरी व्यङ्ग्यात्मक वा रोचक बनाउने स्रष्टा र अभिनेताको कार्य हो । यस्ता निबन्धलाई पनि नाटक त बनाइन्छन् । तर, समय प्रतिकूलताका कारण शीर्षक नियोजितजस्तो देखिएको सत्य हो । निबन्धलाई नाट्य रूपान्तरण गर्नु साहसिक काम भए पनि जनभावना विपरीत भए शीर्षक परिवर्तन गर्नुपर्छ, ठूलो कुरा होइन ।’

‘साहित्य वा रङ्गमञ्चले धर्ममा के प्रभाव पार्छ र ? यसमा खासै ठूलो बदमासी त छैन’ भन्ने प्रश्नमा हिन्दू जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायले यो सरासर गलत काम भएको बताए । नेपालमा हिन्दू धर्म र ब्राह्मण जातिलाई नहोच्याई केही नै नचल्ने भाष्य निर्माण हुँदै गएको तर्क राखे । उनले भने, ‘उता गीताको विषयवस्तु हुँदै नभएको चलचित्रले गीताकै नाम राखेको छ । यता अर्को त्यस्तै नाम भएको नाटक मञ्चन हुन लागेको छ । भैरव अर्याल एक समयमा पचेका साहित्यकार हुन् । उनलाई पञ्चायतले समेत पचाएको थियो । उनकै नाम बेचेर जातीय द्वेष फैलिने गरी नाटक देखाउनु त भएन नि । हामीले निर्देशकसँग शीर्षक परिवर्तन गर्न भनेका छौँ, हेरौँ ।’

‘तपाईँहरूले नियतवश गरेको हो कि नजानेर ? शीर्षक अरू नै किन नराखेको ?’ भन्ने प्रश्न गर्दा निर्माता तथा लेखक बारत लिम्बूले आफूद्वारा जातीय विद्वेष फैलाउने गरी त्यसो नगरिएको बताए । आफू पनि हिन्दू भएको बताउँदै यो संयोगले यस्तो भएको बताए ।

उनले थपे, ‘हामी सारा नेपालीलाई आग्रह गर्छौं, यो हामीले जातीय हिंसा भड्काउन गरेको होइन । नाटकको विषयवस्तुमा पण्डितजीको दुर्दशालाई देखाएर उनलाई न्याय गरिएको छ । तपाईँहरू पनि नाटक हेर्न आउनुहोस्, चित्त नबुझे नाटक प्रसारणमा हामी रोक्छौँ ।’ शीर्षक परिवर्तनको सवालमा प्रचारप्रसार भइसकेको विषयमा असहज हुने तर्क गरे । ‘पण्डित बाजेको लौरी’ चलचित्रबारे केही आलोचना नभएको तर आफ्नो काममा विरोध भएको निर्देशक लिम्बूको तर्क छ । तर उक्त चलचित्र प्रदर्शनको समय र अहिलेको समय केही भिन्न छ ।

भैरव अर्याल एउटा अफ्ठेरो कालखण्डमा पनि रुचाइएका स्रष्टा हुन् । उनलाई राजा, पञ्चदेखि जनतासम्म सबैले पढे । अर्यालका कृतिमा सबै वर्ग र समुदायको विरोध गरिएको छ । सरकारी कार्यालयमा हुने ढिलासुस्ती, समाजमा नेताहरूले गर्ने खराब नेतृत्व, धार्मिक तथा सामाजिक तहमा हुने रूढीवादी विश्वास आदिबारे उनले चोटिलो व्यङ्ग्य गर्दै गरीब, विपन्न र किसानका पक्षमा लाग्न आह्वान गरेका छन् । इतिश्री, जयभुँडी, भैरव भन्छन् जस्ता अनेकौँ निबन्ध कृति लेखेर अमर बनेका स्रष्टामाथि बारत लिम्बूको समूहले गरेको प्रयास सराहनीय छ । तर, एउटा वर्ग छ, जो दुखेको छ । कतै चर्च, कतै गोहिंसा त कतै चलचित्रको नामकरणको सवालमा आन्दोलित छ । आज पनि सडकमा गुहार गरिरहेको छ ।

साहित्य र कलालाई समाजमा उत्पादक हुनुपर्ने तर्क राख्दै प्रत्युत्पादक साहित्यमाथि पश्चिमी दार्शनिक प्लेटोले पनि निषेध चलाएका थिए । साहित्यको गुण र दोष केलाउँदै पूर्वीय साहित्यका मूर्धन्य स्रष्टाहरू सत् साहित्य लोकोपकारी हुनेमा सतर्क थिए । एकै शब्द मात्र सुप्रयुक्त भइदिए स्वर्ग र लोकमा जयजयकार हुने बताउँदै महाभाष्यकार पतञ्जलि खेलाँची नगर्न अह्राउँछन् ।

भैरव अर्यालमाथि अनिर्वचनीय काम गरेको दैलो प्रोडक्सनले शीर्षक मात्र सार्वजनिक गर्दा कसैको दिल दुख्छ भने सो समूहको भावना र संवेदनामाथि ख्याल राखी शीर्षक परिवर्तन गरेर अझै विश्वास बटुल्नु वाञ्छनीय हुन्छ । नाटक मञ्चन सुरु भएको छैन यसकारण सामान्य सूचनाले पनि काम गर्छ । मिलेर बसेको समाजलाई व्यङ्ग्यको नाममा भड्काउने कोसिस गर्नुहुँदैन । श्रीमद्भगवद्गीताको विषय सेलाउन नपाउँदै पाँडे र पण्डितको मुद्दाले सामाजिक सञ्जाल तरङ्गित भएको छ ।

पाठकवर्गले ख्याल गरेको विषय ‘हराम पाँडे हजुर’ लाई ‘ह राम पण्डित’ नबनाई अरू नै कुनै नाम दिँदा समस्या समाधान हुन्छ । नाटकका निर्माताले ‘ह. राम. पण्डित’ राखिएको दाबी गरे पनि शिल्पी थिएटरको आधिकारिक फेसबुक पेजको कभरमा आएको ब्यानरमा त्यसो गरिएको छैन । यसबारे संयोगै सही, निर्माता र दर्शक दुवै गम्भीर हुनु जरुरी छ ।