
दार्जिलिङमा जन्मनुभएको दीपा राई पुन हाल बस्टेन अमेरिकामा हुनुहुन्छ । कथासङ्ग्रहकाे तयारीमा हुनुभएकाे उहाँले चार वटा कविता सङ्ग्रह ‘तिम्रो सपनाको म’ (२०६८), ‘स्पन्दनका रागहरू’ (२०७०), ‘छुटेको बाग्दाता’ (२०७२-२०७४) एवं ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ (२०७८) ‘प्रतिरूप’ (गीति एल्बम २०७४) प्रकाशन गरिसक्नु भएकाे छ । वि.सं.२०७१ भानुभक्त स्वणर्पदकबाट सम्मानित हुनुभएकाे उहाँ विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।
प्रस्तुत छ, कवि दीपा राई पुनसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
आजकल तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?
– परदेशमा मनले चाहेर लेखपढ गर्नुभन्दा पनि समय उबारेर पढ्ने लेख्ने काम गर्नुपर्छ । समय नउब्रिँदा म भने भोग्नु परेका या आइलागेका प्रत्येक परिस्थितिबाट अनुभवलाई मनन गर्दै जीवनलाई पढ्छु । अनुभवको शृङ्खलाहरूलाई बिचार र चिन्तनमा मथेर निस्किएको निचोडलाई कति बेला कहाँकहाँ क्लिक भइदिन्छ । अनि फोनको नोटमा लेख्ने काम गर्छु । न व्यस्त न सुस्त जीवनमा विचारप्रवाह भएको बेला नचुकी लेखिरहेछु ।

दीपा राई पुन
तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?
– दर्शन, जीवनको स्वप्नलाई बुझ्ने कारक हो भने गहिरो चिन्तनमार्फत् अभिव्यक्त भएका सारगर्भित सिर्जना साहित्य हो । तिनै विषय जीवनलाई गहन रूपले बुझ्ने अध्ययन गर्ने र अनुभव उतार्ने माध्यम हुन् साहित्यका सबै विधा । तर, जीवनको परिभाषा यही हो भन्न सकिन्न । व्यक्तिपिच्छे यसको परिभाषा अलग हुन्छ ।
नेपाली साहित्यको भविष्य कस्तो देख्नु हुन्छ ?
– म सुन्दर देख्छु । इमानदार भएर समय र सन्दर्भलाई महसुस गरेर लेखिरहने हो भने आजको सत्य र समकालीन समाजको इतिहासलाई इतिहासकारले भन्दा लेखकले लेख्ने छ । सकारात्मक ऊर्जाहरू समाजलाई साहित्य मार्फत दिइरहँदा एउटा पिँढीलाई परिवर्तन गर्न सक्ने क्षमता साहित्यले राखेको हुन्छ ।
नेपाली साहित्य अङ्ग्रेजी अनुवाद गरेर विश्वसामु पनि परिचित गर्ने काम भइरहेको छ । मिडिया र प्रविधिले गर्दा संसार हातमा नै छ । आफ्नो कुरा सबैले राख्ने अवसर प्राप्त भएको छ । यसले पनि नेपाली साहित्यको भविष्य अझ सुन्दर हुने निश्चित छ । हाम्रो लेखकीय इमानदारिता र कर्तव्यमा पनि आधारित छ यो कुरा । लेखकले लेखनमा गम्भीर हुनु भने जरुरी छ र कहाँकहाँ केके कुरामा ज्ञान लिनुपर्ने र सच्चिनु पर्ने कुरा छ भने समयमै सच्चिनु पर्छ ।
अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नु हुन्छ ?
– यो साहित्यकारहरूको अन्तर्राष्ट्रिय र महत्त्वपूर्ण सङ्गठन हो । ८० भन्दा धेर देशहरूमा यसको च्याप्टर छ । हरेक दुई वर्षमा विविध विधाका उत्कृष्ट रचना छनोट गरेर अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत गर्दै आएको छ । उत्कृष्ट कृतिलाई अङ्ग्रेजी अनुवाद गरेर विश्व सामु पुर्याउने पनि यसको लक्ष्य छ । असल व्यक्तिहरू यस्तो पवित्र संस्थामा रहिरहने हो भने अनेसास साहित्यकारहरूको साहित्यिक मन्दिर हुन्छ, हुनेछ । बिओटी मार्फत यसको आफ्नै भवन निर्माणको प्रयास स्तुत्य छ ।
सुरुका दिनमा साहित्यमा लाग्न कसरी प्रेरणा आयो ?
– साहित्य भनेको के हो थाहा नहुँदै म साहित्यमा भिजिसकेको रहेछु । घरमा बाबाआमा किताबहरू खुब पढ्नु हुन्थ्यो । म नि बुझी नबुझी सब सुटुक्क रातभर पढिसक्थेँ । किनभने उहाँहरूले पढ्ने किताब पढ्नै भनेर छुट समय मसँग थिएन । तर, पढ्ने रुचिले नीदको लोभ गरेन । कति रातहरू ननिदाईकनै बितेका छन् मेरा ।
एक दिन घरमा मित मामा कवि भानु प्रकाश मार्मिक डुवर्सबाट आउने कुराले घरको वातावरण नै अर्कै थियो । मेरो बालसुलभ मनले बुझेअनुसार मामा कवि, खुब पढेको मान्छे जससँग म डराउने अनि बाबाआमा पनि सतर्क रहेर मामालाई आदर–प्रेम गर्ने । त्यो देखेर जीवनमा पढ्नु पर्ने रहेछ भन्ने बुझेथेँ । यसैले के पढ्ने भनेर नजाने पनि म भेटे जति पुस्तक पढ्थेँ । स्कुल लाइब्रेरीबाट रवीन्द्रनाथ टैगोरको ‘मन‘ डायमन शमशेरको ‘सेतो बाघ’ बाबाको दराजबाट चोरेर पढेको ती दिन सुनौला थिए मेरा निम्ति ।
तपाईंलाई साहित्यमा राम्रो गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
– निरन्तर अध्ययन र खोजले निखार्नु पर्छ आफ्नो अभिव्यक्तिलाई । अन्तर्राष्ट्रिय साहित्य कतातिर बगिरहेछ, अपडेट भइरहनु पर्छ । लेख्ने अभ्यास पनि गरिरहनुपर्छ । सबै लेखेका प्रकाशनयोग्य हुँदैन । त्यसको भाव बुझेर सम्पादन गरिरहने । राम्रा सङ्गीत सुन्ने, राम्रा सिनेमा हेर्ने, विविध विषयका उम्दा पुस्तकहरू पढ्ने । र, सबभन्दा मुख्य कुरा आफूभित्रको संवेदनालाई जोगाइराख्ने ।
अहिले तपाईंले सोचे जस्तो लेख्न र अध्ययन गर्न सक्नु भएको छ ?
– छैन नि । पहिले जस्तो त आँखाले पनि दिँदैन । परदेशमा समयले पनि साथ दिँदैन । कोसेली आइपुगेको पुस्तकसँग झम्काभेट हुँदा आँखा जुधाउन पनि पाइन्न कहिलेकाहीँ । के सोच्दै होला नि दराजमा थन्किएका पुस्तकहरूले जस्तो लागेर खिन्न महसुस हुन्छ । तर, नयाँ राम्रा पुस्तकहरू स्पर्श गर्दा पनि मन शान्ति र आनन्द हुन्छ ।
कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?
– पढ्न त भेटेको सबै पढ्ने मेरो रुचि हो । मलाई हरेक पुस्तक एउटा अर्को विश्वविद्यालय जस्तो लाग्छ । हरेकको जीवनको आफ्नै भोगाई र अनुभूति हुन्छ । पढ्दै गएपछि आफ्नो शैलीको पनि निर्माण हुँदै जान्छ ।
तपाईंको मन पर्ने साहित्यकार कोको हुनु हुन्छ ?
– को को भन्ने त होला र ? समयसँगै नयाँनयाँ जो पनि हुन सक्छन् । तर सुरु सुरुमा हुरुक्कै भएर शंकर लामिछाने, पारिजात, इन्द्रबहादुर राई पढेको हुँ । कृष्ण धारावासी, झमक घिमिरे, अमर न्यौपाने, बुद्धिसागर र प्रगति राईको सबै सङ्ग्रह पढ्न छुटाएको छैन । नयाँ भाइ बहिनीलाई पनि पढिरहन्छु ।
अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ।
– खास भनिहाल्ने त्यस्तो केही छैन अहिलेका लागि । धेरै कुराहरू सोधिसक्नु भयो, जवाफ पनि दिइसकेँ । बोल्नु भन्दा गर्ने कुरा धेरै छन् । सबै मिलेर नेपाली साहित्यलाई विश्वस्तरको बनाउने अभियानमा लागौँ । नेपाली साहित्यको आधार सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र धार्मिक हिसाबले संसारकै अनुपम र अद्वितीय छ । यसलाई हामी चिनेर लेख्न सकेका छैनौँ । यसतर्फ पनि सोच्नु पर्ला कि भन्ने लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
