सामाजिक चेतनाको बीउ छर्न अथवा भनौँ समाजलाई सही विचारको मार्गदर्शन गराउनुको लागि दुई वटा कुरा हुनु नितान्त आवश्यक छ भन्ने मलाई लाग्छ – एक महान् चिन्तन र दोस्रो महान् आदर्श । तब मात्र सामाजिक चेतना सम्भव हुन्छ । हुन त प्रत्येक व्यक्तिले जीवनमा नयाँ नयाँ पाठ घोकिरहेका हुन्छन् । तर तिनीहरूलाई राम्रोसित मनन गर्नु र भित्री मनले ती पाठहरूको विचार र द्वन्द्वलाई बुझ्न र व्यवस्थापन गर्न अनुभूतिको साथसाथै आत्मबोधको पनि आवश्यकता पर्छ । तर त्यो सबैले गर्न सक्ने मानसिकता मान्छेमा विकसित हुन सकेको छैन ।

मानव समाजमा परापूर्व कालदेखि नै अनेकौँ समस्या र कठिनाइहरू विद्यमान छन् । जस्तै: बेरोजगारी, गरिबी, रोग र अशिक्षा आदि । जसका कारणले गर्दा मानिसको सामाजिक परिवेश प्रभावित हुन्छ । र विभिन्न समयमा विचारशील मानिसले सामाजिक सेवा गर्दै आएका छन् । सामाजिक सेवा भनेको समस्यामा परेका मानिसहरूलाई उद्धार गर्ने कार्य हो । सामाजिक कार्य एक सामाजिक विज्ञान पनि हो । जसले एउटा व्यवस्थित बाटोको निर्माण गर्छ । संस्कृत भाषाको बाँध्नु अर्थको बन्ध् धातुमा घञ् (अ) प्रत्यय र नि उपसर्ग लागेर बनेको निबन्धको शाब्दिक अर्थ जुनसुकै विचारलाई पनि व्यवस्थित रूपमा अभिव्यक्त गर्नु हो । त्यसैले म भन्न चाहन्छु अजय खड्काको ‘पखेटा चलुन्जेल’ निबन्ध सङ्ग्रह सामाजिक जनचेतना ल्याउन सक्ने अथवा भनौँ उनको विचार गर्ने क्षमता ज्ञान र विज्ञान माथि आधारित एउटा पठनीय कृति हो ।

अजय खड्काको साहित्यिक यात्राको थालनी सन् १९९० देखि नै भएको हो । अहिलेसम्म उनको एउटै मात्र मौलिक कृति/सृजना ‘पखेटा चलुञ्जेल’ प्रकाशित भएको छ तर कृतिहरू जस्तै – जनमानस, दायित्व, जनप्रवाह, कालजयी कर्महरूमा बद्रीनारायण प्रधान, अवलोकन आदि पुस्तक र पत्रिकाहरूमा सम्पादन-सहसम्पादन गरेका छन् । साथै सन् २०१२ मा मेहरमान थापा स्मृति पुरस्कारले सम्मानित पनि भएका हुन् ।

निबन्ध सङ्ग्रह ‘पखेटा चलुञ्जेल’भित्र एकातिर लेखकीय विचार र अनुभूति तरङ्गहरूले विभिन्न विषयका माध्यमबाट चेतनाको बोध गराइएका छन् भने अर्कोतिर हाम्रो समाजमा विद्यमान सामाजिक, सांस्कृतिक एवम् राजनीतिक विकृति र विसङ्गतिको भन्डाफोर पनि गरेका छन् । साथै मानवीय संवेदनाको र वैयक्तिक विचारहरू निबन्धका विषयहरूले समेट्न सक्षम छन् । समाज, संस्कृति, शिक्षा, राष्ट्र, इतिहास, आदि क्षेत्रहरूलाई विषयवस्तु बनाएर निबन्धकारले निजी विचार, दृष्टिकोण, तर्क, चिन्तन आदिलाई प्राय सबैजसो निबन्धमा प्रयोग गरेको पाइन्छ । विचारात्मक र सत्यताको घेराभित्र रहेर ज्ञानमूलक, सूचनामूलक एवं नैतिक सुधारको चाहना राख्दै खड्काले के भन्न खोजेका छन् आउनुहोस् अवलोकन गरौँ ।

००००

सही विचारका पक्षधर

‘के सुन्दर ? को सुन्दर ?’ सङ्ग्रह भित्रको पहिलो निबन्ध हो । प्रस्तुत निबन्धमा उनले सुन्दरतालाई प्रायः सबै पक्षबाट मनन गरेर लेखेका छन् । तर वर्तमानको तितो सत्य- आशक्तिलाई सुन्दरता ठान्नेहरूको विषयमा उनी यसरी लेख्छन्

“यो उत्तरआधुनिक भूमण्डलीकरणको युगमा मुनाफाखोरहरूले सुन्दर भनेको चाहिँ यो-यो थोक हो भन्ने प्रचार गरी त्यसप्रति दुनियाँलाई लड पारेर आफ्नो व्यापारलाई अघि बढाइरहेछन्  । विभिन्न थरीका सुन्दरी र प्रतियोगिता राखेर ‘सुन्दरी’-को उपाधि दिँदै तिनै सुन्दरीद्वारा माल सामानको बिक्री गराउँछन् । आज विश्व यही ‘उपभोक्तावादी संस्कृति’ को कमारो बनिरहेछ र पत्याइरहेछ उसको असत्यपूर्ण अर्थ, परिभाषा र पाठहरू एक अबोध बालकले झैँ । सुन्दर भन्ने कुरा थोपरेर थोपिने विषय ठ्याम्मै होइन । आफ्नो विवेकको सही र स्वतन्त्र प्रयोगद्वारा ‘के र को सुन्दर’ भन्ने कुराको निर्धारण गर्न सक्छौँ । तर यो प्रदूषणयुक्त संस्कृतिको चपेटले ‘विवेक छ मसित’ भन्ने बोधसमेत गर्ने फुर्सद छैन आजको उपभोक्तावादी मानिसलाई ।”

विशिष्ट समालोचक रुपेश शर्माले दुई शब्दमा खड्कालाई विचारको प्रतिरक्षा र त्यसको जीवन्तता र औचित्यलाई पनि दृढतापूर्वक सिद्ध गर्ने लेखक भनेका छन् र म पनि उनलाई सही विचारको पक्षधर भन्न चाहन्छु । किनकि यहाँ खड्काले उपभोक्तावादी मानसिकताको मूल जरोलाई निर्मूल पार्ने र सही विचारको जरोलाई मलजल गर्ने ठुलो प्रयत्न गरेको देखिन्छ । हो,वास्तवमा, वर्तमान युग आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले आफ्नो क्रान्तिकारी प्रवाह दर्ता गरेको युग हो । त्यसैले सौन्दर्यता आज प्राकृतिक गुण नभएर करोडौँको प्रसाधन उद्योगको बजारीकरण बनेको छ भन्दा अतिशयोक्ति हुँदैन । आज हामी बाँचिरहेको युग वैज्ञानिक र औद्योगिक युग हो र भौतिकतावाद चरम सीमामा पुगेको छ । यो युगमा सबै कुरा कृत्रिम रूपमा उत्पादन भइरहेका छन् । मानिसको चिन्तन शक्तिलाई पनि कृतिमताले ग्रास गरिसकेको छ ।

दूरदर्शी भावना

यस कृतिको दोस्रो निबन्ध – “मेरो सपनाको बस्ती”मा खड्काले आजको समाजले अकर्मण्यताको खास्टो ओढेर अन्योलग्रस्ततामा छटपटाएको समाजलाई लिएर चिन्ता व्यक्त गरेका छन् । आजको समाजमा, मानिसका लक्ष्यहरू समाज केन्द्रित नभएर व्यक्ति केन्द्रित बनेका छन् । समाजमा यस्तो अवस्थाले विभिन्न सामाजिक संस्थागत काममा बाधा पुर्याउँछ, जसका कारण यी संस्थाहरूबिच आपसी तनाव र द्वन्द्व हुन्छ, र ती संस्थाहरूले समन्वयको अभावमा एकअर्का विरुद्ध काम गर्छन् । यसरी लेखकको दूरदर्शी भावना स्पष्ट रूपमा झल्केको पाइन्छ ।

आत्म निरीक्षक

यस निबन्ध सङ्ग्रह “पखेटा चलुन्जेल”भित्र भएको चौथो निबन्ध ‘पखेटा चलुन्जेल’ नै जुराएर निबन्धकारले आधुनिकतासित पौँठेजोरी खेल्दै विकृतिपूर्ण जिन्दगी बिताइरहेका तन्नेरीहरूको दुर्दशामय अवस्थाको चित्रण गरेका छन् ।

“आजका धेरैजसो तन्नेरीहरू आफूमा निहित अपार शक्ति र सामर्थ्यलाई चिन्नदेखि टाढिएर विकृतिको मार्गतिर अग्रसर भइरहेछन्  । तन्नेरीहरूमध्ये थोरै मात्र सही मार्ग समातेर आफूसितको अदम्य सामर्थ्यलाई सदुपयोग गरिरहेछन्  । विकृतिका बीजहरू बजारभरि पाइन्छन् सस्ता दाममा  । तन्नेरीहरूलाई विकृतिको पराकाष्ठामा पुयाई जगतबाटै विस्थापित गर्ने गुरुयोजनाले आज कार्य गरिरहेछ  । यो कुउद्देश्यको भित्री कारण नबुझी हाम्रा तन्नेरीहरू माछाहरू जस्तै बल्छीमा अल्झाइएका खानेकुराको लालचका शिकार भइरहेछन् । संसार जिले सामर्थ्य भएका युवाशक्तिको यो दुर्दशाका जिम्मेवार को हुन् ?”

भारतीय स्वतन्त्रता सङ्ग्रामको इतिहास हेर्दा युवाहरूको योगदान अतुलनीय रहेको देखिन्छ । युवाहरूमा ठूलो जोस हुन्छ । त्यसैले चन्द्रशेखर ‘आजाद’, भगत सिंह, राजगुरुले युवावस्थामा देशका लागि हाँस्दै आफ्नो ज्यान दिएका थिए । स्वामी विवेकानन्दले पनि आफ्नो युवावस्थामा भारतको उत्थानका लागि देश र विदेशको भ्रमण गरेर विशेष गरी युवाहरूलाई भारतका उत्पीडित दलित जनताको सेवा गर्नतर्फ प्रेरित गरेका थिए, त्यसैले स्वामी विवेकानन्द लगायत शारीरिक रूपले विकलाङ्ग भए पनि मानसिक रूपमा अत्यन्तै शक्तिशाली हेलन केलर, होमर, पारिजात, पारस गजमेर, झमक घिमिरे, बाबुराम आचार्यको कृतित्वले भन्दा युवाहरूलाई दार्शनिक दिशा अरू कसले पो दिन सक्छ र !

खड्का भन्छन् – आजको युवाको जोस र जाँगरलाई सही दिशामा लैजान सके देशलाई अझ समृद्ध पार्न सकिन्छ । तर यदि युवा जोसले सही दिशा पाएन भने यसले विनाश गर्न पनि समय लाग्दैन । सांस्कृतिक विविधतालाई सम्मान गर्ने र बहु आयामिक वातावरण सिर्जना गर्ने विचारहरू अनि धर्म र जातको परवाह नगरी एक अर्कालाई सजिलै अँगाल्न तयार हुनसक्ने दिशातर्फ काम गर्ने समय आएको छ ।

जीवनवादी विचार

जीवनवादी विचार र विश्लेषणको दृष्टिले हेर्दा यस सङ्ग्रहको निबन्ध ‘मदिरामस्त माहौल’मा वर्तमान हाम्रो समाजलाई निकै कहरपूर्ण सन्त्रासले चेपेको कुरा उल्लेख गरिएको छ । मदिराको सेवनले मानिसको विवेक सहित सोच्ने शक्तिलाई नष्ट गर्छ । मान्छेले राम्रो र नराम्रोको बीच भिन्नता बुझ्न सक्दैन । मदिरा सेवनले मानिसको शरीर र बुद्धि दुवैको नाश गर्छ । आजको समाजमा अनेकौँ किसिमका अपराध फस्टाउनुमा नशा एउटा मुख्य कारण हो । र यस सङ्कलनमा समकालीन जीवनलाई छेउबाटै हेर्नु र विचार विवेचना गर्न खोजिएको छ, युवाजीवनको महत्त्व कति छ भन्ने, निकै गम्भीरताका साथ बुझाउन खोजिएको छ । वर्तमान युवाहरू व्यक्तित्व, चेतना र सकारात्मक विचारको वशमा नभएर विकृतितर्फ लम्किएको छ भन्ने कुरा उल्लेख गरिएको छ ।

मानवतावादी र सुधारवादी स्वर

खड्काले समाजमा विद्यमान समस्याहरूलाई विषय बनाएर सामाजिक विकास गर्न लेखेका निबन्धहरूमा मानवतावादी र सुधारवादी स्वर रहेको पाइन्छ । सामाजिक विकास नै लेखकको अपेक्षा हो । समाज विकास आफैमा सामाजिक परिवर्तनको सूचक हो भने लेखक सामाजिक परिवर्तन गर्ने माध्यम हो । यहाँ लेखकले समाजको निर्माण, विकास र परिवर्तनलाई अभिन्न रूपमा लिएको देखिन्छ । प्रत्येक मान्छेको सामाजिक, आथिर्क एवं राजनीतिक समस्याहरूलाई सार्वजनिक विकास र निर्माणमा समेटेको देखिन्छ । लेखकलाई थाहा छ- समाज विकासले सम्पूर्ण सामाजिक पक्षहरूको आपूर्ति गर्दछ ।

चिन्तनशील लेखक

खड्काले समाजका विकृति, निम्न वर्गका समस्याहरू, सामाजिक अन्याय, जस्ता विषयहरूलाई सरल भाषाशैलीका माध्यमबाट कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । त्यसैले उनलाई चिन्तनशील लेखक पनि भन्न सकिन्छ । उनको विचारमा समाजमा सकारात्मक परिवर्तन हुनु पर्छ । समाज परिवर्तन र विकासमा अनेकौँ बाधाहरू रहेको पाइन्छ । जस्तै,सामाजिक असुरक्षा, राजनीतिक प्रतिबद्धता र सक्षमताको कमी, अन्धविश्वासमा आधारित सामाजिक मूल्यमान्यता, गरिबी, अशिक्षा, भ्रष्ट्राचार, सामाजिक द्वन्द्व, न्यून स्रोतसाधनको उपयोग, नागरिक समाजको गतिशीलताको कमी । त्यसैले समाज परिवर्तन र विकासमा रहेका यी बाधाहरूलाई निर्मूल पार्ने प्रयास लेखकले गरेको देखिन्छ ।

०००

आत्मपरक र वस्तुपरक शैली

आत्मपरक र वस्तुपरक शैलीमा लेखिने निबन्ध लेखन पनि अन्य विधा जस्तै अनेकौँ तत्त्वहरूबाट निर्मित एक सशक्त विधा हो । खड्काले यस सङ्ग्रहमा आत्मपरक र वस्तुपरक दुवै किसिमको शैली प्रयोग गरेका छन् ।

आत्मपरक निबन्ध, भावनात्मक र विचारात्मक गरी दुई प्रकारका हुन्छन् । खड्काले यस सङ्ग्रहमा तर्क, चिन्तन र विचारलाई प्राधान्यता दिँदै आत्मपरक शैलीको भावात्मकतालाई भन्दा विचारात्मकतालाई धेरै स्थान दिएका छन् ।

त्यसरी नै वस्तुपरक निबन्ध पनि विवरणात्मक र वर्णनात्मक गरी दुई प्रकारका हुन्छन् । खड्काले आफूले अनुभव गरेका विषय आदिको तथ्यपरक र वर्णनात्मक ढङ्गमा प्रस्तुत गरेका छन् । साथै अनुभव, ज्ञान र विवेकको उचित प्रयोग गरेर विवरणात्मक तरिकाले पनि लेखिएको पाइन्छ । समाजमा विद्यमान धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, प्रशासनिक, शैक्षिक क्षेत्रका विविध सन्दर्भलाई विचारका पखेटा लगाइदिएर, सत्यताको घेराभित्रै राखेर यस सङ्ग्रहका प्रत्येक निबन्धलाई समान महत्त्व दिन भरपुर प्रयत्न गरेका छन् ।

उद्देश्य

यो सङ्ग्रहको मुख्य उद्देश्य भन्नु पर्दा युवा पीढीको चौतर्फी दृष्टिकोण सुनिश्चित गर्नु हो, सामयिक चेतनाको विकास गराउनु हो । शारीरिक, मानसिक, भावनात्मक पक्षहरूको सन्दर्भका साथसाथै देशभक्तिको भावना, असल नागरिकको मूल्य मान्यता जगाउनु हो र सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भाइचाराको महत्त्व बुझ्न सक्षम बनाउनु हो ।

शिल्पशैली

शिल्पविधान भनेको कसिलो किसिमको सङ्क्षिप्त एवम् कलात्मक लेखन हो । यसभित्रको शिल्पविधानले तार्किकता र व्याख्यात्मकतालाई सही स्थान दिएको छ । निबन्धको शिल्प आकर्षक नै रहेको छ । विशेष गरी यसका छोटा छोटा वाक्य गठनले पाठकलाई पढ्न र बुझ्नमा सजिलो पारेको छ ।

शीर्षक

यस कृतिमा विशेष कुरातर्फ औँल्याउँदै सङ्केतात्मक शीर्षक “पखेटा चलुन्जेल” कति सार्थक, सिर्जनशीलताले भरपुर र परिणाममुखी लाग्यो! विज्ञानदेखि बाहेक अरू धेरैजसो कुरा भनौँ या उक्ति नै भनौँ यसलाई समयले होस् अथवा परिस्थितिले होस् अलग अलग दिशाबाट हेर्न सिकाउँछ । हेर्नु पनि पर्छ । र मात्र हामीले साहित्यको विशालता बोध गर्ने क्षमता प्राप्त गर्न सक्छौँ । त्यस्तै यो पुस्तकको शीर्षक र विषयवस्तु नियाल्दा, विज्ञानसम्मत विचारका आधारमा लेखिएका विषयवस्तुलाई यो शीर्षकले सम्पूर्ण प्रकारले समेट्न सक्षम छ र पुस्तक भित्रका प्रत्येक दृष्टिकोणहरूलाई पनि यी दुइटा शब्द ‘पखेटा चलुन्जेल’ शीर्षकले आफूभित्र धारण गरेर राख्न उत्तिकै महत्त्वपूर्ण तरिकाले निर्वाह गरेको छ । यो निबन्ध सङ्ग्रहभित्र आफ्नो मन मस्तिष्क डुलाउनु हो भने खड्काले प्रत्येक विषय वस्तुलाई प्रत्येक दृष्टिकोणबाट निहालेको कुरा छर्लङ्ग हुन्छ ।

पुस्तक पढ्दै जाँदा आनन्द लाग्छ । किनकि, यो पुस्तकको सार तत्त्व नै मानवताको प्राप्ति हो । बीज एउटाले कहिले पूर्णता पाउँछ? जब पृथ्वीमा बीउ छरिन्छ, त्यो अङ्कुरित हुन्छ, रूख बन्छ, फूल र फल लाग्छ; तब मात्र त्यो बीउको महत्त्व हुन्छ । त्यसरी नै, हाम्रो जीवनले जब मानवताको सही अर्थ बुझ्दछ, तब मात्र एउटा समाज सुन्दर र विचारशील बन्छ । मानवता भनेको आफूभित्रको करुणा, प्रेम, सद्भाव, सेवा र परोपकार हो ।

०००

उपसंहार

भैरव अर्यालका अनुसार, “कुनै विषयमा आफूले भनेको , सोचेको र मनमा लागेको कुरा रसिलो पारामा प्रकट गर्ने छरितो गद्य नै निबन्ध हो ।”

‘पखेटा चलुन्जेल’ निबन्ध सङ्ग्रहका लेखक अजय खड्काले पनि आफूले मनन गरेका राम्रो विचारलाई विस्तार गर्न खोजेका छन् । भिन्न भाषा, वर्ण, रङ्ग, जाति संस्कृति, वेशभूषा, मूल्यमान्यता र सिद्धान्तमा आबद्ध मानिसहरूको समूह नै समाज हो । लेखकले समाजमा रहेका यिनै विषयवस्तुलाई तुलनात्मक रूपमा लेखेका छन् र कतै आक्रोश पोख्दै जीवन- जगतका विविध आयामबारे सूचना दिएका छन् । निबन्धकार आफ्नो लेखनप्रति गम्भीर छन् । अनुभव र विवेचनाले निबन्धलाई सकेसम्म स्तरीय बनाउनु प्रयास गरेका छन् । स्वतन्त्र विचार र चिन्तन प्रकट गर्दै, गम्भीर विषयमा आधारित निबन्ध लेख्न प्रयास गरेका छन् ।

निष्कर्षमा भन्नुपर्दा अजय खड्काको यो कृति ‘पखेटा चलुञ्जेल’ले निकै माथिसम्म पखेटा फिँजाउन सक्षम भएको छ । किनभने अहिलेसम्म यो पुस्तकको तेस्रो संस्करण पनि निस्कने जानकारी प्राप्त भएको छ ।

अन्त्यमा, यसै गरी अरू पनि विचारात्मक र तर्कपूर्ण निबन्धहरू पढ्न पाउने आशाको साथ आउँदा दिनहरूको लागि हार्दिक शुभकामना ।