फुटुङ तारकेश्वरमा जन्मनुभएका साहित्यकार लब गाउँलेकाे  साहित्ययात्रा २०३४ देखि सुरु  भएकाे हो । ‘अतीत र वर्तमानलाई दाँज्दा’ उहाँकाे पहिलो कथा हो भने ‘म मेरो देश खोजिरहेछु’  मुक्तकसङ्ग्रह उहाँकाे पहिलाे कृति हो । उहाँले आधा दर्जन कृति प्रकाशन गरिसक्नु भएको छ । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित उहाँ सम्पादक तथा निर्देशक पनि हुनुहुन्छ । 

प्रस्तुत छ, बहुप्रतिभाशाली साहित्यकार लब गाउँलेसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

 

हालै तपाईंको जीवनसङ्गिनीको दुःखद निधन भयो । “स्रष्टा  दुःखमा  पनि लेख्न सक्छ, सुखमा पनि” भन्ने भनाइ छ । तपाईंमा यो भने कतिको लागू हुन्छ ? 

लव गाउँले

दुःख-सुख, आँसु-हाँसो, पीडा-खुसी मानव जीवनका आरोह अवरोह हुन् । समले भनेजस्तै जीवन नियमित आकस्मिकता (रेगुलर एक्सिडेन्ट) हो । दुःख, पीडा, आँसु हाँसोलाई जीवन नमान्ने हो भने जीवनको अर्थ नै अपुरो हुन्छ । जीवनको दुःख, विरक्ति हटाउने एउटा प्रमुख आधार आँसु हो । तर कति रुने ? कहिलेसम्म रुने ? दुःख, पीडा, वैराग्य हटाउने सजिलो माध्यम अध्ययन र लेखन हो । लेखनको माध्यमबाट यी पीडाहरू व्यक्त गर्न पाउँदा जीवनमा थप ऊर्जा मिल्छ । त्यसैले मेरो जीवनमा पनि यो कुरा मिल्छ ।

तपाईंका कविता बेजोड हुन्छन्, राम्रो कविता लेख्न के गर्नु पर्छ ? 

कविता बेजोड हुन सोच मात्र हैन मन बेरिएर आउनुपर्छ । यति मात्र हैन सबभन्दा पहिले कवि इमानदार हुनुपर्छ । अरूको लागि इमानदार हुन सक्नु नसक्नु बेग्लै कुरा हो तर आफ्नो लागि इमानदार भएन भने त्यो कविता बेजोड हुनै सक्दैन । त्यसले पाठकको मन मस्तिष्क छुनै सक्दैन । राम्रो कविता लेख्न कवि इमानदार हुनुपर्यो । आफ्नो सिर्जनामा मौलिकता हुनुपर्यो । नाम छोपेर कविता पढ्दा यसको लेखक फलानो हो भन्ने आफ्नै शैली हुनुपर्यो ।

तपाईंलाई  कतिपयले  आशु कवि पनि भन्छन्, यसो भन्न मिल्छ ? 

मिल्दैन । देख्ने बित्तिकै लभ र बोलेपछि ट्राजिडीलाई आधार मान्ने हो भने जोसुकै आशु कवि बन्नसक्छ । किन भने कविताको पहिलो सूत्र भनेकै प्रणय र बिछोड हो । त्यसपछि मात्र कविलाई नशा लाग्छ र ऊ गहिराइमा पुगेर विभिन्न विधामा आफ्नो भावना व्यक्त गर्न सक्छ । संसारमा कुनै कवि यस्तो छैन ऊ जति बेला पनि कविता रच्न सक्छ । म त के हुँ र ?

तपाईं कस्तो साहित्यिक पुस्तक मन पराउनुहुन्छ ?

म दर्शन रुचाउने मान्छे । मलाई मनोविज्ञान, दर्शन, स्वास्थ्य दर्शनमा आधारित पुस्तक मन पराउँछु । धार्मिक दर्शन भनेको परमात्मासँग लीन हुने वा जीवन मुक्तिको बाटो हो । मान्छे मुक्त भएपछि ऊ रिक्त हुन्छ अथवा ऊ शून्यमा जान्छ । मलाई शून्य रोज्नु छैन । जीवन अलरेडी शून्य हो । मलाई धार्मिक दर्शन पच्छ्याएर फेरि शून्य हुनु छैन । तर म साहित्यमा शून्यवाद उपन्यास लेखिरहेछु ।

तपाईंको लेखकीय मापदण्ड के हो ? 

मेरो इमानदारिता, मेरो मौलिकता, मेरो शैली र मेरो प्रस्तुतीकरण ।

नेपाली साहित्यको सम्मान र पुरस्कारलाई कसरी हेर्नुहुन्छ ? 

यो नेपाली साहित्यमा सबैभन्दा दुःखदायी प्रश्न हो । नेपाली साहित्यमा पुरस्कार सम्मानको कुनै आधार नै छैन । ढुङ्गेयुगमा बार्टर विनिमय हुन्थ्यो पैसाको सट्टा सामान दिएर सामान लिने । सम्मान र पुरस्कारको सन्दर्भमा हामीले त्यो युग छिचोल्न सकेका छैनौ । हामी सम्मान पुरस्कार एक अर्कामा साट्छौँ ।

तपाईंलाई वर्तमान कविता र नियात्राको धार कस्तो लाग्छ ? अहिले नेपाली नियात्राको अवस्था कस्तो देख्नुहुन्छ ? 

कविता र नियात्रालाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन । यी नितान्त फरक विधा हुन । प्रेम या बिछोडमा छटपटिनेले कविता लेख्न सक्ला तर नियात्रा लेख्न सक्दैन । नियात्रा विश्वभरि सर्वत्र फैलिएको विधा हो । नेपालमा नियात्राले वर्चस्व कायम गरेको छ ।

अध्ययन, चिन्तनमनन र साहित्य लेखन सबैको सन्तुलनले नै मान्छेलाई उचाइमा लान्छ भन्छन् के यो कुरा सत्य हो ? 

अध्ययन, चिन्तन मनन र साहित्य लेखनले सबैको सन्तुलन भनेको के ? मान्छे सन्तुलनमा बाँच्नुपर्छ । यो सत्य हो । मान्छेमा समर्पण, सद्भाव, सहनशीलता, समभाव नभएसम्म ऊ उचाइमा पुग्ने कुरा स्वैरकल्पना हुनजान्छ ।

तपाईंले साहित्य, जीवन, दर्शन र प्रकृतिलाई कसरी हेर्नुभएको छ ? 

जीवन र दर्शनमै यो संसार अडिएको छ । साहित्य जीवन हो । दर्शन अध्ययन हो । प्रकृति सुन्दर छ । हामी यसैमा अडिएका छौँ ।

साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ? 

साहित्यकारले लेखेर बाँच्न गाह्रो छ । नेपालमा डायमन शम्शेर एक्ला रथी हुन् । उनको किताबको सलामी (रोयल्टी) ले उनी बाँचेका थिए । हुन त उनी किताबको पैसाले बाँच्नुपर्ने परिवारका साहित्यकार थिएनन् ।

अहिलेको नेपाली साहित्यमा विचार, युगचेतना, विश्वपरिवेशको अभिव्यक्ति कत्तिको पाउनुहुन्छ ?

अहिलेको नेपाली साहित्य विश्व परिवेशमा प्रवेश गर्ने जमर्को गरिरहेको छ । विचार र युग चेतनाको आधारमा कुरा गर्नुपर्दा । हामी नेपाली साहित्य सर्जकहरूले अझ कति वर्ष सङ्घर्ष गर्न बाँकी नै छ । तपाईं विश्व परिवेश, विश्व साहित्य वा विश्व बजारकै कुरा गर्नुस् । हामीले अझै धेरै मिहेनत गर्नुपर्छ विश्व साहित्यको सिमाना छुन ।

तपाईंको साहित्य कसरी सुरु भयो ? 

हाहा । यो अलि हाइपोथेटिकल प्रश्न हो । मान्छेको जीवनमा साहित्य कसरी सुरु हुन्छ भन्ने कुरा व्यक्ति आफैलाई थाहा हुँदैन । सालाखाला मान्छेले कुखुरे बैँसबाट साहित्यको सुरुवात गर्छ भन्छु म । तर संस्कृतका विद्यार्थीहरू भने स्कुल जीवनबाटै साहित्य सिर्जना गर्न थाल्छन् । संस्कृत साहित्यको गुरु हो ।

तपाईंलाई नेपाली साहित्यको अवस्था कस्तो लाग्छ ? आजको युगमा नेपाली साहित्यलाई विश्व परिवेशमा लैजान कुन कुन निकायले के गर्नु पर्छ जस्तो लाग्छ ? 

नेपाली साहित्य सोचेजस्तो स्तरीय छैन । किनकि नेपाली लेखकलाई कि अभावले गालेको छ कि प्रभावले गालेको छ । अभावको साहित्य पेटको कविता लेख्छ । प्रभावको साहित्य दलको झण्डाको कविता लेख्छ । खै स्वतन्त्र वातावरण ? यसको अलावा नेपाली साहित्यलाई विश्व परिवेशमा लैजाने कुरा अलि हतारमा बोलेजस्तो लाग्छ । नेपाली साहित्यलाई विश्व सञ्जालमा राख्नुपर्यो । मलाई यो भन्नुपर्दा दुःख लागिरहेछ कि अनेसास विश्वका एक सय छयालीस देशमा फैलिएको छ । त्यति उपलब्धि देख्दिनँ । हरेक च्याप्टर पुस्तक विमोचन, कुनै नेताको स्वागत र वार्षिक साधारण सभामै अलमलिएका छन् । अझ यसका अधिकांश पदाधिकारीहरू एनआरएन गतिविधिसँग अल्झिएका छन् । यसलाई विशुद्ध साहित्यिक संस्था बनाउनुपर्यो सबै च्याप्टरहरूले कम्तीमा वर्षमा एउटा नेपाली साहित्यिक कृतिको अङ्ग्रेजीमा अनुवाद गरेर प्रकाशनमा ल्याउनुपर्यो । अनि त्यति बेला हामी नेपाली साहित्य र विश्व परिवेशको आँकलन गर्न सक्छौँ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ? 

डायस्पोरिक साहित्य मूलतः अमेरिकामै सीमित छ । अलिकति क्यानाडा, जापान र अस्ट्रेलियामा छ । अन्त त्यति  देख्दिनँ ।

नेपाली साहित्यलाई विश्वसँग प्रतिस्पर्धामा लैजान के गर्नुपर्छ ? 

म एक्लो बृहस्पति बनेको छु नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजार सिमाना छुवाउने कुरामा । युरोपबाट मेरो मौलिक गैरआख्यान अङ्ग्रेजी किताब ‘An Unwanted Sound’ प्रकाशनमा आयो २०२२ मा । यो त समुद्रमा पानीको थोपो हो । धेरै मिहेनत, धेरै सङ्घर्ष र जीवन नै साहित्यमा समर्पण गर्नसके आगामी पुस्ताले नेपाली साहित्यलाई विश्वसँग प्रतिस्पर्धामा लैजान सक्ला ।

तपाईं सफल साहित्यकार हो ? 

हैन । सफल हुने साहित्यिक बाटोमा हिँडिरहेछु ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ? 

म रङ्गिला मान्छे हुँ । फुर्सतमा म फिल्म हेर्छु । सङ्गीत सुन्छु । टम एण्ड जेरी कार्टुन हेर्छु । टिकटक हेर्छु । चार छोरीहरू विदेशमा छन् । अरू थप दुई छोरीहरूसहित भिडियो चाटमा कुरा गर्छु । कहिले निकै घोरिइरहन्छु । कहिले फास्ट दगुरिन्छु ।

अन्त्यमा मैले सोध्न बिर्सेका र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नुहुन्छ ? 

तपाईंले सोध्न बिर्सेका कुरा पनि होलान् । मैले भन्न बिर्सेका कुरा पनि होलान् । त्यो अहिलेलाई थाँती राखौँ ।