स्वागत गर्दै मीमांसकले भूमिका बाँधेर भन्यो:

“एकपटक साहित्य संसदमा ईश्वर बराल बोल्दै थिए । मेघराज मञ्जुलले सदस्यको हैसियतले कुनै झिल्कामाथि प्रतिवाद गरे । उनको कुरा सही ठानेर युवा स्रष्टाले ताली बजाए । ईश्वर बराल त्यस बेला ग्वाँ… भए । युवा पुस्ता शक्तिशाली थियो । आज सम्झँदा ईश्वर बरालले हारेर पनि जितेका रहेछन् । किन्तु अब त्यो स्थिति आउने छैन । ईश्वर बराल हारेकै हुनुपर्छ ।

युगले फड्का मार्यो । विधाहरूले नाति, पनाति, जनाति विधा जन्माइसके । कसैले भन्न र सोच्न नभ्याएका कुरा साहित्यका माध्यमले आइसके । पुराना संहिताभित्र खुम्चिएर बस्ने र त्यसैमा अटाउन सक्ने स्थिति छैन । पूर्वाग्रह र प्रतिगमन जस्ता युगवाचक शब्दहरूको निरन्तर अभ्यास मार्फत् स्रष्टाहरूले आफ्नो भनाइलाई दुरुस्त राख्ने युग ल्याइसकेका छन् । यो स्वागत योग्य कुरा हो ।

पनाति जनाति विधाहरूको स्वागत र अनुमोदन हुनुपर्दछ । अरू पनि महाकवि, युगकवि,जनकवि,आशुकवि, राष्ट्रकवि, विश्वकवि भैसके | तिनको अभिनन्दन र इतिहास हुनुपर्छ । प्रतिभा र पुरस्कारबाट सुस्थिर बनाउने यत्न गर्नैपर्छ ।

प्रत्येक स्रष्टाले आफ्नो युग काँधमा बोकेर हिँडेको हुन्छ । त्यत्रो भार बोकेर हिँड्ने व्यक्तिको गुनासो पनि होला । अब हामी गुनासो सुन्ने पक्षमा छौँ । स्रष्टाहरू आफ्ना दृष्टिकोण राख्तै जानेछन् । सबै पक्षबाट सुनुवाइ हुनेछ भन्ने विश्वास छ । र, यो कार्यक्रमको प्रत्यक्ष वा जीवित प्रसारण हुँदै छ । सिर्जना गोष्ठीका तर्फबाट स्रष्टाहरूलाई स्वागत गर्दै कार्यक्रमको थालनी गर्न अनुरोध गर्दछु । सम्झना रहोस्, समस्या पनि तपाईंकै र समाधान पनि तपाईंबाटै हुनेछ । धन्यवाद !”

एउटा स्रष्टाले भन्यो: ‘मलाई श्री लेख्न असजिलो भो, म परम्परागत ढङ्गले नै पद्म, सद्म, प्रभु लेख्न चाहन्छु । समृद्धि लेख्न पनि सकिन । के गरौं ?’

“तपाईं विनिर्माण पाठशाला जानुभएन छ । परम्परा बोक्नैपर्छ भन्ने छैन । मन परेको जुत्ता लगाउन खुट्टा अप्रेसन गरेर भए पनि लगाउने नि ! तपाईंको जिब्रोले त र ट छुट्याउँदैन भने जिब्रो अप्रेसन गर्ने । नयाँ कुरा गर्ने, आफूलाई मन पर्ने कुरा गर्ने । कसैलाई बक्साउनु पर्दैन । लेखक नै सर्वश्रेष्ठ हो । हार मान्ने कुरै छैन । कैफियत यति मात्रै हो– शहीद लेखे आगन्तुक मानिएला,स्रोत खुल्ला,सहिद लेखे स्रोत थाहा नहोला,आफ्नै मानिएला । गुरु वा कोश चाहिएला | बस् |

आयो श्रीको कुरा, त्यसै पनि संस्कृतको शब्द हो, त्यो अब प्रिय छैन । हिजोका राम्रा कुरा भत्काएर नयाँ उन्नति गरेझैँ, श्रीलाई पनि मिल्काउनै पर्छ । नत्र त्यसले बुझाउने अर्थ पढ्न पूरा १ साता कसले खर्च गर्ने ? फेरि अर्थ पनि यति छन् र ! मलाई खुसी लाग्यो– धन्न तपाईं श्रीको अर्थ बुझ्न लाग्नुभएन । त्यसको तात्पर्य बुझ्न खोज्नु भएको भए तपाईं भासिनु हुने थिए छ । तपाईंको योग्यताले त्यो कुरा सहने थिएन । तपाईं जोगिनुभो राम्रो कुरा हो । लेखकको भाषा-ज्ञानमाथि प्रश्न गर्न मिल्दैन |

“अँ, भत्काउनुपर्ने वर्ण र हटाउनु पर्ने शब्दहरू फेरि खोजेर ल्याउनु होला । तपाईंको प्रश्न आदरणीय छ । अब हामी अर्को स्रष्टाको समस्या या प्रस्ताव सुन्ने छौँ ।” अर्को स्रष्टाले लामो उत्तर दियो ।

ब्रेक सुरु भयो ।