२०१३ सालमा जन्मनुभएको साहित्यकार महेश प्रसाईले करिब ३५ वर्ष  अध्यापनमा नै समय बिताउनुभयो । ‘शब्द सारथी’ निबन्ध सङ्ग्रह, भारतीय नेपाली कविताको सन्दर्भमा समालोचनात्मक कृति, ३ वटा लघुकथा सङ्ग्रह, ८/१० वटा कविता सङ्ग्रह गरी झण्डै २ दर्जनको हाराहारीमा उहाँका सङ्ग्रहहरू प्रकाशन भएका छन् । उहाँले विराटनगरबाट दिइने प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, व्यथित काव्य पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मान समेत प्राप्त गर्नुभएको छ ।

प्रस्तुत छ,  बहुप्रतिभाशाली महेश प्रसाईसँग साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

महेश प्रसाई

महेश प्रसाई

तपाईं अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाई रहनुभएको छ ?

– व्यस्तताको नाम जीवन हो । जीवनसित क्रीडा नगरी बाँच्न सकिन्न । अध्ययन, लेखन र पुस्तक प्रकाशनका क्रियाहरूले एउटा सर्जकलाई जीवनसित क्रीडा गर्न सिकाइन्छ । तर व्यवस्थित जीवन बाँच्न सकेको छैन मैले । समय मिलाएर मिल्ने विषय होइन । आफूले आफूलाई प्रबन्ध गर्नुपर्ने कुरा चाहिँ समयोचित हुन्छ ।

साहित्य, जीवन दर्शन, आत्मा र प्रकृतिलाई तपाईंले कसरी हेर्नुभएको छ ?

–  साहित्य अनुभूतिको कलात्मक प्रतिबिम्ब हो । यसले विश्वदृष्टि प्रस्तुत गर्छ, जहाँ विश्वव्यवस्थाका अनेक पात्र, घटना, परिवेश, रङ्गमञ्च आदिलाई रोमाञ्च विचरण र कौतूहलपूर्ण परीक्षण द्वारा प्रेषण गरिन्छ ।

प्रत्येकको जीवनदर्शन एक अर्कासित नमिल्न सक्छ । आफूले प्राप्त गरेको संस्कार, शिक्षा, अनुभव, परिवेश र स्थितिजन्यताहरूले निर्मित हुन्छ उसको जीवन दर्शन ।

आत्मा अदृश्य, अजेय छ । अज्ञेय छ । तर छ अनुभूत । यसको स्वरूपलाई न विज्ञानले अर्थ्याउन सकेको छ, न त अध्यात्मले नै तोक्न सकेको छ । अध्यात्मवादीहरूको ‘पर्सपेक्टिभ’लाई कसरी ठोकुवा गर्न सकिन्छ र ?

प्रकृतिका बारेमा  परिभाषा गर्न सकिन्न । प्रकृति एक शाश्वत सत्य हो, यसका वरिपरि हामी छौँ ।

साहित्य, जीवन दर्शन, आत्मा र प्रकृतिलाई मैले हेरिरहेको होइन । यी सबैका लीलाकारितामा म छु । उत्सव भइरहेको छु, जीवन बाँचेर ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

– लेखकीय उत्सव मनाइँदै आएको मेरो सर्जकीय पहिचानलाई तपाईंले जाँगरसित जोडेर हेरेको हुनुपर्दछ । तपाईंको त्यो अनुमानमा परेको एउटा सूक्ष्म सत्य, उचित नै हो कि ?

पाश्चात्य साहित्य र पूर्वीय साहित्यिकमा के फरक पाउनुहुन्छ ?

– साहित्यमा पूर्व र पश्चिमको सन्दर्भचाहिँ विज्ञान, प्रविधि, भौतिक, प्रगति, समृद्धि वा उन्नतिशीलताका गतिविधि आदिले फरक देखिए पनि अनुभूति त्यही हो, संवेदना-अभिव्यक्ति त्यही हो । उन्माद-उत्तेजना त्यही हो । व्यञ्जना सम्प्रेषण त्यही हो । पूर्वीय साहित्यका रामायण र महाभारतलाई पश्चिमले जितेर जान सकेको छैन । पश्चिमी साहित्यले विश्वलाई शासित गरिरहेको यथार्थदेखि चाहिँ हामी पृथक् बस्न सक्तैनौं ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

– एक हदसम्म तपाईंको प्रश्नले इङ्गित गराएको ‘साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलन’बाट कोही कहीँ कुनै उचाइमा पुग्न सक्छ । तर त्यो कुन उपलब्धि हासिल गरिने उचाइ हो, प्रश्न स्वयंका लागि अनुत्तरित छ । एउटा कुरा के साँचो हो भने जुनसुकै कर्म क्षेत्रको मैदानमा श्रेष्ठ कार्य गर्ने, मानवोपयोगी व्यक्ति नै, उसले चाहे जस्तो गन्तव्यमा पुग्न सक्छ । शायद त्यही गन्तव्य नै उसको एउटा उचाइ हो कि ?

तपाईंले साहित्यमा निकै कलम चलाउनु भएको छ, तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्न मिल्छ ?

– म सामान्य व्यक्ति सरह सामान्य लेखक हुँ । मेरो कार्यप्रति अरूले मूल्याङ्कन गर्ने हो । कलमसित मेरो गहिरो नाता छ । म यसबाट अलग्गिन सक्तिन । नलेखी बाँच्न सक्तिन पनि ।

तपाईंले लेखन प्रेरणा  स्रोत को को र के के हुन् ?

– मेरो प्रेरणाको स्रोत यो जगत् हो ।  वरिपरि बाँचेको परिवेश हो । प्रत्येक व्यक्तिसित दृष्टि हुन्छ । गन्तव्य हुन्छ । कोही कहीँ निरर्थक जीवन बाँच्ने दुस्साहस गर्दैन । कोही प्रेरणास्रोत चिनेर अघि बढ्छन् । कसैले चिन्दैनन् । कोही चिनेर पनि अलमलिएका हुन्छन् । मैले अलमलिनु परेन । म कृतार्थ हुन पाएको छु, यो जगतसित । परिवेशसित । अवसर र चुनौतीसित ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– म सधैँ समयसित हुन्छु । कुनै रिक्तता बोधसित हुन्न म । अर्थात् ‘खाली समय’ हुँदैन मसित । लेख्छु । पढ्छु । लेख्छु, लेखिरहन्छु । लेखन र समय सँगसँगै बगिरहेको हुन्छ ।

साहित्य राम्रो लेख्न के गर्नुपर्छ ? 

– ‘प्रतिभा’ र ‘साधना’को ‘केमेस्ट्री’ मिल्यो भने ‘राम्रो’ले  ‘राम्रो’को स्वरूप तय गर्छ ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?

– नेपालको साहित्यिक पत्रकारिताको अवस्थातर्फ सरकार संवेदनशील छैन । संस्कारको नीति नियम, भिजन मिसन केही छैन । साहित्य संस्कृति र साहित्यिक पत्रकारिता आदिको (समग्र वाङ्मय र वाङ्मयसेवीहरूको) संवर्द्धन प्रवर्द्धन गर्ने दिशामा सरकार अन्धो बसेको छ । सरकार र सरकारी निकायबाट उपेक्षित-अवहेलित हुँदै आएको नेपालको साहित्यिक पत्रकारिताको दुरावस्थाका बारेमा तपाईं शायद अनभिज्ञ हुनुहुन्न । साहित्यिक पत्रकारिताको विकासमा आफ्नो समग्र जीवन समर्पण गर्दै आउनु भएका नगेन्द्रराज शर्मा, रोचक घिमिरे, चूडामणि रेग्मी, मोहन दुवाल, दधिराज सुवेदी, विमल भौंकाजी, धीरकुमार श्रेष्ठ, अच्युत घिमिरे, गोकुल अधिकारी, राम सन्जेल, नवराज रिजाल लगायतले जे जति गर्दै आइरहनु भएको छ, यसको दुखकष्ट उहाँहरूलाई नै थाहा छ । बितेर जानुभएका भवानी घिमिरे, वालमुकुन्द देव पाण्डे, कमल दीक्षित, शान्तदेव भट्टराई, मदनदेव भट्टराई, पुरुषोत्तम वस्नेत, लगायतका ती पूर्वजहरूको कथा-व्यथाको फेहरिस्त सानो छैन ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनुहुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नुपर्छ ?

– नयाँ पुराना सबै स्रष्टाका स्तरीय कृति पढ्न मन पर्छ । पढ्दा पढ्दै मन छोए पछि कृतिभित्र प्रवेश गर्न थालिन्छ । त्यसैले ‘लेखकको मृत्यु र पाठकको उदय’ भनिएको होला यो स्थितिलाई । पठन संस्कृतिको विकास हुन आवश्यक छ । क्रमैले गुणात्मक लेखन र प्रकाशन सङ्ख्यामा विस्तार गर्न अपरिहार्य देखिन्छ । सर्वप्रथम प्रकाशक समृद्ध हुनुपर्छ र तिनका नियता पनि पारदर्शी हुन आवश्यक छ । तथापि अझै केही वर्ष साहित्यकारले लेखेर बाँच्ने स्थिति देखिँदैन ।

साहित्यको मापदण्ड के हो ?

– साहित्य मनुष्य समाजको कल्याणका लागि लेखिने विषय हो । मनुष्य समाजका ती देखिएका नदेखिएका पाटाहरू माथि विश्व दृष्टि प्रदर्शन गर्ने ‘स्वयंप्रकाश’ प्राञ्जल भाषा शैलीको करामतमा थियो अघिदेखि । तपाईंले सङ्केत गर्न खोजेको ‘मापदण्ड’ ‘सत्यम् शिवम् सुन्दरम्’को सुयोग त होइन, एउटा यस्तो स्वयं प्रकाश माथि ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनुभएको छ ?

– नेपालको राजनीति र राजनीतिक जगतप्रति आशा गर्ने ठाउँ देखिँदैन । नेपाली जनता निराश छन् । पथभ्रष्ट राजनीति र भ्रष्टाचारमुखी शासन सत्तामा फसेको नीतिहरूको नीति राजनीति कहिले सङ्लिने हो, यसै भन्न सकिने स्थिति छैन ।

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?

– प्रतिभाशाली लेखक जमातको उदय भइरहेको छ । नवीन तर पुनर्संस्करणित विचारहरू आइरहेका छन् । युगचेतना प्रवर्द्धनमा छ । साहित्य, कला-संस्कृति, गीत सङ्गीत आदि विश्व दृष्टिका साझा अभिव्यक्ति हुन् । प्रयोग, आन्दोलन र सप्रेष्यताहरू भिन्न सांस्कृतिकताका परिप्रेक्ष्यताहरू हुन् । बौद्धिक विमर्श, आन्दोलित मनसा, उपभोक्तावादी चेतनता, मानव मूल्यको खोज, नवोत्भेषी द्वरुकृता, सत्यका निरूपण जस्ता विश्वजनित अभिव्यक्तीकरणहरू हुन् ।

पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– पुरस्कार, सम्मान र समालोचना पारदर्शी र जबाफदेही छैनन् । प्राय सम्मान र पुरस्कारहरू आपसी लेनदेनबाट सञ्चालित छन् । नेपालको वर्तमान राजनीति र पुरस्कार, सम्मान तथा समालोचनाको स्थिति उस्तै उस्तै छ । पुरस्कार, सम्मान र समालोचना ती प्रायोजकहरूले आफ्नो बजार प्रवर्द्धन गर्ने ‘भरपर्दो एजेन्सी’का रूपमा रूपान्तरण गरेका छन् । प्रायोजित पात्रहरूको निद्रा भङ्ग भएको छैन । यस्तो हुर्मतमा परेको सम्मान पुरस्कार ग्रहण नगर्ने प्रकाश सायमीको उचाइका अघिल्तिर ती असङ्ख्य सम्मान पुरस्कारहरूले विभूषित रचनामधन्यहरूले कुम मिलाउन सक्छन् र  समालोचनाका क्षेत्रमा रामकृष्ण शर्मा वा ताना शर्माहरूले पुनज्जीवन नलिई हुँदैन कि  ?

अहिलेसम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?

– मेरा डेढ दर्जन जति कृति प्रकाशित भइसकेका छन् र डेढ दर्जन भन्दा बढीको सङ्ख्यामा सम्पादित कृतिहरू पनि प्रकाशन भएका छन् । ५-७ वटा पाण्डुलिपिहरू प्रकाशनको सङ्घारमा छन् । आफ्ना कृतिका बारेमा आफैले मूल्याङ्कन गर्नु कति उचित हुन्छ र ? पाठक अध्येताको जिम्मा छोडिदिनु उपयुक्त हुन्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– डायस्पोरिक साहित्य के हो र यसको आशयभित्र के कस्ता तत्त्वहरूले कार्य गरिरहेका छन् भन्ने समग्र यथार्थ थाहा पाउन केही वर्ष अघि कान्तिपुर दैनिकमा मनु ब्राजाकीकाे लेख छापिएको थियो । त्यसबाट धेरै कुराहरू छर्लङ्ग हुन्छ । डायस्पोरिक साहित्यका बारेमा मलाई कुनै टिप्पणी गर्नु छैन ।

भैरव अर्याल पछिको नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नुभएको छ ?

– भैरव अर्यालको उत्तराधिकार पुस्ता आउन सकेको देखिँदैन । जुन बेला भैरवले हास्यव्यङ्ग्य विधामा कलम चलाइरहनु भएको थियो, यो विधा त्यस कालका पण्डित पुरोहितबाट अवहेलना परेको थियो । भैरव अर्यालले वासुदेव शर्मा लुइँटेल, रामकुमार पाण्डे, घटोत्कच शर्मा, केशवराज पिंडाली र श्याम गोतामे जस्ता हास्य व्यङ्ग्य लेखनका विशिष्ट साधकहरूलाई ती अभियानमा ऊर्जा थप्न ठुलो भूमिका निर्वाह गर्नु भएको थियो । हास्यव्यङ्ग्यमा केही सर्जकहरू आइरहनु भएको छ । भैरव युगलाई अझ अगाडि बढाउन सक्नु भयो भने फेरि विमर्श गरौँला ।

तपाईंले अन्तर्राष्ट्रिय साहित्य समाजलाई कसरी हेर्नुभएको छ ?

– अन्तर्राष्ट्रिय साहित्य समाजले लेखन र प्रकाशनको गतिविधिहरू सन्तोषजनक रूपमै गरिरहेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण-प्रवर्द्धन गर्न तम्सिनेहरू सबै प्रशंसनीय हुनुहुन्छ ।

तपाईं अहिले के गर्दै हुनुहुन्छ ?

– अहिले म के गर्दै छु भन्ने विषयमा एउटा प्रश्न उभिएको छ । त्यही प्रश्नको अघिल्तिरबाट दौडिरहेको छ मेरो कलम ।

तपाईंको लेखनमा र अन्य साहित्यकारमा के फरक पाउनुहुन्छ ?

– मेरो लेखन र अन्य साहित्यकारको लेखनमा पाइने फरक भनेको स्वत्वको परीक्षण हो । प्रत्येक स्रष्टाको आफ्नो मौलिक पहिचान हुन्छ । म मजस्तै छु । अरूहरू उहाँहरू जस्तै हुनुहुन्छ । सबैको एउटै शिल्प-एउटै शैली हुँदैन । फरक त्यहीबाट छुटिन्न । ऐना त्यही हो, बिम्ब-प्रतिविम्बहरु फरक पर्छन् ।

भर्खरै निकाल्नुभएको पुस्तक कस्तो छ ?

– मेरो भर्खरै प्रकाशित कृति ‘कुमुदाग्नि’ (लघुकथा सङ्ग्रह) हो । यो साझा प्रकाशनबाट प्रकाशन भएको हो ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– आजका लेखक भन्दा पाठक धेरै सचेत छन् ।

पठन संस्कृतिमा ह्रास आउन नदिने पाठक संचेतनाको दायित्वबोध यो, लेखकहरूका लागि सधैँ सुखद हुन्छ । सचेत पाठकलाई मैले भन्नु पर्ने केही छैन ।

हामी सबै ‘खेलौँ बाँच्ने खेल ।’

  समय बाँच्ने खेल ।

  क्षर रहित, अक्षर अमर हुने खेल ।

अक्षरलाई अमर बनाउन जिम्मेवार लेखक भन्दा बढी आजका पाठक हुन् ।