मध्यरात एक्कासि एक तला माथिको फ्ल्याटबाट ह्वाँ ह्वाँ डाको छाडेर रोएको हृदय भेदक पुरुष आवाज आयो ।
शिरिषाको निद टुट्यो । कान थापेर सुनी। यो त मामाको आवाज हो । उसले ठम्याई । हत्तपत्त बाजेबोजूलाई उठाउन गई ।
“बाजे ! बोजू ! मामा त फेरि रुन थाल्नु भो । लौ न माथि गएर सम्झाऔँ” तीनै जना माथि उक्लिए ।
शिरिषाले ढोका ढकढक्याई । ढोका खुल्यो। छोराको यस्तो हालत देखेर बाउ चाहिँ रिसले केही बोलेन ।
आमाले सम्झाई, “हेर् छोरा जाबो एउटी केटीले छाडेर गई भनेर यति हत्ते गर्नु पर्छ त ? जिन्दगीमा थुप्रै प्रेमिकाहरू आउन सक्छन् । यो तैँले के गरेको भन् त ?”
शिरिषाले थपी, “त्यै त के मामा । तपाईं किन यसो गर्नु हुन्छ । तपाईंलाई छाडेर ऊ अमेरिका गएकी हो कुनै मङ्गल ग्रह गएकी हैन । तपाईं पनि भिजा अप्लाइ गर्नुस् । त्यही देश गएर ऊ भन्दा राम्री केटी गर्लफ्रेन्ड बनाएर देखाउनुहोस् ।” त्यसपछि आमा र भान्जीले के के सम्झाए के के बकबक गरे उसले केही सुनेन ।
००००
ऋतुले उसलाई जीवनभरि सम्झिनेछु भनेर गएकी थिई ।
ऋतुले उसको स्वस्थ मुटुको चाल बढाएर गई । उसको राम्रो जीवनको हाल बिगारेर गई। ऋतु जाँदा उसको सिङ्गो सहर उचालिएर गयो । ऋतुको गलाको मफलर बनेर उसको सहरको चक्रपथ पनि गयो । ऋतुको गल्ती कसरी भन्नु ! राम्रो छात्रवृत्ति पाएपछि आफ्नो भविष्यको लागि विदेश जानु सामान्य कुरा हो । तर यो असामान्य तब भइदियो जब उसको लागि ऋतु सास जतिकै जरुरी भइदिई।
साथी भाइहरूबाट ऊ अलग थियो । ऋतु नै उसको एक मात्र साथी थिई; प्रेमिका थिई; सब थोक थिई । उसको दिनचर्याको अब के हालत होला ? ऊ कोसँग फोनमा लामो लामो बात मार्ला ? ऊ मुस्कुराउँदै घरबाट कसलाई भेट्न जाला ? छ वर्षको प्रेम अवधिमा उसले आफ्नो जिन्दगी केवल ऋतुमै केन्द्रित गर्यो । यो केन्द्रीकृत प्रेमजीवन अब सारै कष्टदायी हुने पक्कापक्की थियो । उसको केन्द्र जो भत्किएको थियो ।
जब ऊ ओछ्यानमा पल्टन्थ्यो सारा ब्रह्माण्डका शून्यताहरू ह्वारह्वारती उसका कोठामा भेला हुन्थे । उसको सारा शरीरमा केही तत्त्वको कमी हुन्थ्यो । त्यो तत्त्व केवल ऋतु थियो । उसले कति फकायो ऋतुलाई कि नेपाल मै साथै पढौँ भनेर। पटक पटक सल्लाहहरू भए । सल्लाहहरू बहसमा परिणत भए । बहसहरू भनाभनमा बदलिए । भनाभनहरू झगडा, ईख र रोषमा फेरिए । अन्ततः स्वयं ऋतुले घोषणा गरी कि ऊ यो प्रेम र अध्ययनमध्ये अध्ययनलाई रोजेर अमेरिका जानेछिन् । साथै मनमुटाब त्यो तहमा बढिदियो कि ऋतुले उसलाई दुनियाँकै सबै भन्दा स्वार्थी पुरुषको उपमा दिँदै, छ वर्षको प्रेम सम्बन्ध पूर्णविराम लगाएको घोषणा गरिदिई ।
फेसबुक, भाइबर, इन्स्टा सबैमा ऋतुले उसलाई ब्लक गरेकी थिई । अब त ऋतुले नेपाल छोडेको पनि दुई हप्ता भैसकेको थियो । उसले आफूले आफूलाई कोठामा बन्द गरेको पनि दुई हप्ता नै बितिसकेको थियो । छोराको यो हालत देखेर पन्ध्रौँ दिनसम्म चुपचाप बसेको बाउलाई आज सारै झोँक चल्यो । बाउले सरासर छोराको कोठामा छिरेर उसलाई तान्दै किचनमा ल्याए । उसलाई डाइनिङ टेबलको कुर्सीमा थचक्क बसाएर आँखाभरि आँसु पार्दै हप्काए,
“मान्छे यति सजिलै मरिँदैन बुझिस् ? यी यो हेर । यो भात हो । यी यो हेर यो मासुको तरकारी हो । यसलाई मुखमा हालेर चपाएपछि निल्नु पर्छ । निल्न सकिएन भने पानीले निल्नु पर्छ । घाँटीबाट तल झरेपछि यसले काम गर्न सुरु गर्छ र मान्छे बाँचिन्छ । साला गधा ! थुइक्क साहु !”
उसले काँपेको हातले एक चम्चा खाना उठायो । मुखमा हाल्यो र जबरजस्ती घुटुक्क निल्यो । छोराको यो क्रियाकलाप देखेर आमा उता फर्केर रुन थाली। भान्जी शिरिषा पनि मामाको यो हालत देखेर सुकसुकाउन थाली । पुरै घर रोदनमय भयो । धेरै दिनपछि उसको पेटमा अन्न परेको देखेर सबै जना अब सब ठिकठाक हुन्छ भनेर खुसी समेत देखिए । उसले पनि आफ्नो परिवारको प्रेम देखेर अबदेखि मनलाई दरिलो पारेर जिउने सङ्कल्प गर्यो ।
००००
अफशोच् ! उसको यहाँसम्मको कथा काल्पनिक झुट थियो । असलमा उसको घर त पूर्वी पहाडको कुनै विकट गाउँमा थियो । उसका आमा बाबु दुवै गाउँमै खेतीपाती गर्दै बसेका गरिब किसानहरू थिए । उसकी भान्जी शिरिषा विवाह भइसकेर बिर्तामोडतिर कतै बस्थी । ऊ त उच्च शिक्षाको लागि सहर आएको केवल एक सिधासादा विद्यार्थी थियो । कथाको सुरुमा डाको छोडेर मध्यरात रुने पुरुष भने ऊ नै थियो । आफ्नो सारा हाँसो खुसी अमन चैन केवल एक युवतिमा सुम्पिएर सम्पूर्ण रूपले परनिर्भर भएको पनि ऊ नै थियो । आफ्ना जिन्दगीका सारा उज्यालाहरू आफ्नी प्रेमिकालाई सर्लक्कै सुम्पिएर धरतीका जम्मै अन्धकारहरू कोसेली पाउने अभागी पनि उही थियो ।
ला..! त्यसो भए ऊ अहिले के गर्दै छ त ?
ऊ अहिले चीर निद्रा निदाइरहेको छ । उसको छब्बीस वर्षे लामो जिन्दगी केवल छब्बीस इन्ची लामो डोरीमा तुर्लुङ्ङ झुन्डिरहेको छ । भाडा तिरेर बसेको उसको साँघुरो कोठाको बिच भागमा उसको लास झुन्डिरहेको बाहिरबाट कसैले पत्तो पाएका छैनन् । उसको जिन्दगीबाट ऋतु गएदेखि आज पहिलो चोटि उसलाई जिन्दगी यति हलुका लागेको हुनु पर्छ । आज पहिलो चोटि उसको मन शान्त भएको हुनुपर्छ । आज बल्ल छटपटीबाट मुक्ति मिलेको हुनुपर्छ ।
ए …उसको कक्रिएको चिसो एक जोडा पैतालामुनि थोत्रो टेबुलमा, चुरोटको एष्ट्रेले थिचिरहेको एउटा नोट पनि त रहेछ । लेखिएको रहेछ :
“मेरो मृत्युको लागि कोही जिम्मेवार छैन । म आफैले मेरो भावनात्मक अत्मनिर्भरता गुमाएकोले मर्ने निर्णयमा पुगेको हुँ । हे प्रिय डार्विन ! अचम्म लाग्छ । अचानकै मर्ने बेला तिम्रो पो याद आयो । कस्तो ठिक कुरा बताएछौ तिमीले कि योग्य नै बाँच्छ भनेर । भावनाको संसारमा पनि त जो फिट छ उही नै सर्भाइभ गर्ने रहेछ । बिन्ती ! एक बारको जीवनमा कसैले आफ्नो भावनाको साँचो ताल्चा अरू कसैको हातमा नदिनु होला ।
बिन्ती ! जहिले पनि जिन्दगीमा आफ्नो लागि एउटा निजी स्पेस राख्नु होला बिन्ती ! भावनात्मक परनिर्भर नबन्नु होला ”
द .कोरिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।