डायस्पोरामाथि प्रोफेसर अभि सुवेदी, अरुण गुप्तो, गोविन्दराज भट्टराईहरूको विद्युत् संवाद सुनेँ । आँखा र ऊर्जा मिलेको अनुभव गरेँ । दुई मत देखेँ । पुरानो थाती राखेँ–पृष्ठपोषणबाट जोगिनु थियो । एउटा टिपेँ ।
प्रोफेसर गुप्तो र अभिको अवलोकन र बुझाइ अत्यन्त सूक्ष्म र छिनछिनमा निरन्तर भोगिने अनुभव गरिने तत्त्वको भावले हेरिएको ठानेँ । यो पक्ष अलि मनोवैज्ञानिक जस्तो मानेँ । हो पनि आफ्नो आँगन छोडेर अर्को आँगनमा पुग्दा–पुग्दै डायस्पोराको मनोदशा निर्माण हुन थाल्छ । न्यास्रो लाग्छ । बिरानो लाग्छ । असजिलो लाग्छ । आफ्नै आँगन र परिवेशमा मन ठोकिन पुग्छ । मनले त्यतै चौतारी खोज्छ । अर्काको भाषामा डायस्पोरा भनिदियौँ ।
मनको यो अवस्था शब्द प्रयोगमा आउनुभन्दा पहिलेको हो कि न ! यहुदीको प्रसङ्ग तानेर हाम्रो चिन्तन र मनोदशालाई पढ्ने प्रणाली नै महान् यज्ञ भइदियो त ? के भन्ने ? कसरी बुझ्ने ? राजनीतिक सन्तुलन बिग्रेर यहुदीलाई त डायस्पोराको जीव बनायो रे ! त्यस घटनाको सादृश्यले नेपालीको बहिर्गमनलाई तौलन–दाँज्न नमिल्ला कि भन्छु र न्यायका लागि अपिल गर्छु ।
माण्डू उपत्यका (काठमाडौँ) र समग्र नेपाल नै दुनियाँका नजरमा डायस्पोरिक साहित्य उत्पादन गर्ने सबभन्दा ठुलो केन्द्र बनेको छ ।
उदाहरण हेरौँ :
(क) उहिलेदेखि बर्मा, थाइल्याण्ड, सुखिम (अब सिक्किम), भुटान, हङकङ, मलया, बेलायत, तिब्बततर्फ गएर बसेका र त्यहीँको भइसकेका नेपालीहरूका लागि नेपाल अहिले डायस्पोरा नै हो । तिनले यहाँ आएर गरेका सिर्जना डायस्पोरा नै भए कि ! भाषाको बार रहेन शायद ।
(ख) विदेशीहरूले (चोखा विदेशी) यदि नेपालमा पुगेर रचना गर्छन् भने नेपालसँग जोडिएको होस् या उसकै देशको कुरा होस् त्यो रचना पनि नेपाली डायस्पोराकै सम्पदा सूचीमा दरिने भो कि न ! यो चाहिँ शुद्ध विजातीय, विधर्मी,विरङ्गी, विदेशी,विभाषी तत्त्वको सिर्जना हुने भो– नेपाली डायस्पोरा ! कि के भन्नु ? कसरी चिन्नु ? संसारभरिका मानव यहाँ आउँछन् र रचना निकाल्छन् । हिप्पीसम्म जुटे । यसरी पनि नेपाल डायस्पोरिक साहित्यको उर्वर भूमि मानिएको होला कि !
बाह्य जगतबाट आएका विदेशीहरूले नेपाल डायस्पोरामा जन्माएका कृतिको ‘क’ र ‘ख’ कोटीमा हेर्नुपर्ने भो । स्पष्ट भो– विदेशी हुन पुगेको स्वदेशी, जोसँग पुरानो कुनै नाता छ । र अर्को चाहिँ शुद्ध विदेशी । यी दुवैका रचना नेपाल डायस्पोराभित्र श्रृङ्खलित भए । कि कसो गर्नू ?
अन्तर्देशीय डायस्पोरा साहित्यमा नेपाल पहिलेदेखि नै धनी छ । जस्तो पृथ्वीनारायण शाहले एकीकरण गरेपछि जितेका देशका जीव गोर्खाका भए र फेरि नेपालका भए । यिनले कलम चलाउँदा नयाँ देशमा पनि चलाए | ती रचना डायस्पोरामा नै दरिने भए । आज पनि कुमाउँ, डोटी र कर्णालीको मानव दुइटा भाषामा रचना गर्न सक्तै छन् । नेपालभित्र नेपालीले डायस्पोरा साहित्यको निर्माण गर्दै छ । मान्डू आएर ताप्लेजुङको आँगन सम्झनु डायस्पोरा प्रवृत्ति भएन र ! त्यसैले अब स्थानीय र वैदेशिक डायस्पोरा भनेर प्रशिक्षण गर्नुपर्ने हो कि ! भित्री डायस्पोराका भेद किन नदेखेझैँ गर्ने ? आफ्नै आङ हेर्ने मौका होइन र ? काउसो नठानियोस् । बुद्धि विलास गर्ने प्रसङ्ग अवश्य हो– निस्सार भए पनि, गन्तव्य हराए पनि ।
अब आफैँतिर फर्कौं : पहाडबाट मधेश झर्दा बाटामा कयौँ रात बिताएर झर्यौं । न्यास्रो लाग्थ्यो, घर–परिवेश दौँतरी र व्यवहार सम्झनामा आउँथे । आज आएर थाह भो मनमा डायस्पोरा भरिएको रहेछ । आमा–बाबुको योजनाले विवाह गरेर अन्माइदिएकी चेली कयौँ साल डायस्पोराको जीवन, पीडा, कटुता र असामान्य सामाजिक जीवनबाट डायस्पोरा भोग्दै रहन्छिन् । कालान्तरमा त्यो डायस्पोरा भाव हराउँदै जान्छ ।
एउटा रेखाबाट अर्को रेखामा, एउटा गाउँबाट अर्को गाउँमा र एउटा घरबाट अर्को घरको बसाइ सराइमा डायस्पोरा भएन त ! आफ्नो ठाउँको सूक्ष्म दूरी वा अल्प दूरीबाट न्यास्रोपन जन्मन थाल्छ, असजिलो लाग्न थाल्छ भने त्यो पनि डायस्पोरिक मनोदशा निर्माणको स्थिति भएन र ! त्यसैले डायस्पोरा भौतिक भन्दा मानसिक पो हो कि !
मानववंश दीर्घजीवी रहँदै आएको छ तर वंशलताभित्रको मानव दीर्घजीवी छैन । डायस्पोराको आयु हुन्छ । त्यो टुङ्गिन्छ । फेरि अर्को थालिएला ।
कोही सधैँका लागि प्रवासी हुँदैन । उसको र उसको पुस्तापछिको पुस्ता स्थानीय हुन्छ– शायद नाति पुस्ता । अङ्गीकृत अर्को पुस्तापछि अङ्गीकृत रहिरहँदैन । बुहारी अर्कै वंशकी छोरी हुन् तर यो घरमा आएपछि हाम्रै वंशको सन्तान जन्माउँछिन् ।
त्यसैले भानुभक्तको आधा क अन्त्यमा किन आयो सुरुमा किन आएन भनेर उच्च चिन्तनले आयु सकेजस्तो आचार्य वा मीमांसकहरूले विद्यार्थीहरूको आधा आयु नघटाए के बिग्रन्छ ? यो अपिल हो– नयाँ पुस्तालाई धारिलो पारौँ तर रोगी बाटो नदेखाऔँ । रोकौँ । विवाद हुनुपर्छ । गरौँ । तर परिणाम सुखद होस् ।
शुभकामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।