अमेरिकामा प्रसूति गराउँदा बालकको नाम तयार पारेरै पुग्नुपर्छ । त्यसैबाट दर्ता हुन्छ र त्यसैअनुसार अभिलेखले कानुनी मान्यता पाउँछ ।

नेपालमा कुमारी केटीले सन्तान पाई भने उसले आफ्ना पतिको (?) प्रेमीको अर्थात् त्यस बालकका बाबुको नामथर भन्नुपर्थ्यो, परिवारबाट माग्नुपर्थ्यो, स्वीकृति लिनुपर्थ्यो । कहिलेकाहीँ बाबुको नाम पाउनका लागि सन्तानले पाउने सम्पूर्ण चल–अचल सम्पत्ति पनि छोड्न मञ्जुर हुनुपर्थ्यो । हिजोसम्म यस्तै थियो ।

पुराण, प्रवचन, धार्मिक अनुष्ठान, सांस्कृतिक कर्म र सामाजिक विधि र निषेधका लागि विज्ञ, ज्ञानी, सत्पुरुषलाई बोलाएर विधिवत् उद्देश्य पूरा गराइन्थ्यो र आज पनि त्यो प्रणाली छँदैछ । यी सबै विधि र प्रक्रियाहरू मङ्गलकार्य भित्र पर्छन् ।

उच्च कोटिका अनुष्ठानका लागि त विद्वान्, वक्ता, प्रवक्ता, उपाध्याय आचार्यहरूको बुकिङ् नै हुन्छ । यजमानहरू तत्तत् क्षेत्रका ज्ञानीजनलाई आफ्नो उद्देश्य पूरा गर्न ठेक्का नै दिन्छन् । आचार्यहरू आफ्नो यजमानको रुचि र कामना अनुसार कार्य सम्पादन गरिदिन्छन् । सामग्री तयार छन्, उद्देश्य निर्धारित छ, सङ्कल्प पूरा गरिदिनु छ । आचार्य पूर्ण र सन्तुष्ट भएर फर्कन्छ– फेरि–फेरिका लागि आह्वानको आशा राखेर ।

प्रोफेसर गायत्रीनाथ पन्तलाई विदेशबाट निम्ता आउँथ्यो । उहाँ जानु हुन्थ्यो र त्यहाँ पुगेका वस्तुहरूको अध्ययन गरेर पुस्तक तयार पारिदिनु हुन्थ्यो र पारिश्रमिक आदि लिएर फर्कनु हुन्थ्यो ।

नेपाल बाहिर पुगेका नेपालीहरूले पनि यस्ता अनुष्ठान गरेका छन् र अनेक क्षेत्रमा यस्ता विधिहरू देखा पर्छन् । यो अनुकरणीय कर्म हो । जय मान्नुपर्छ ।

अब साहित्यिक अनुष्ठानको कुरा गरौँ । विदेश पुगेका नेपालीहरू विदेशलाई स्थायी मान्ने पनि छन् र अस्थायी वास ठान्ने पनि छन् । किन्तु रचना जन्माउन छोडेका छैनन् । यो महत्वको कुरा हो ।

हामीले विज्ञ बोलायौँ । सामग्री देखायौँ । सिर्जनालाई मूल्य दिने र स्थायित्व प्रदान गर्ने सङ्कल्प बोध गरायौँ । कर्म पूरा भो, विषय मूर्त भो । नाम दिनुपर्ने भो हामीले आफ्नो उद्देश्य पूर्ण गर्न नामको सङ्कल्प गरिसकेका थियौँ । यजमान र पुरोहित (आचार्य)ले एक–अर्काको मन बुझे, मुख सुँगे डायस्पोरा साहित्य नाम जुर्यो । नयाँ संसार भेटिएको प्रचार चल्यो ।

‘प्रेम रोग’ भन्ने सिनेमाको दुर्घटना सम्झन्छु– विवाहका लागि वर वधूको चिन्ह पटक्कै मिलेन । ठाकुर साहेबले बन्दुक तेर्साएपछि आचार्यले ‘चिन्ह मिलेको छ भन्नुपर्यो’ भने ।  केही दिनपछि दुलही फर्काउन आउँदा दुर्घटना हुन्छ । केटी विधवा हुन्छे । अलपत्र !

अमेरिकी नेपाली साहित्यको स्थिति यस्तै छ । किनभने डायस्पोरा शब्दले साहित्यमा प्रवेश पाउनुअघि कुनै देशमा आएको विप्लव, जनताको बहिर्गमन, तिनलाई दिइएको नाम, जीवन भोगाइ र परिस्थितिको कारुणिक दृश्य नेपाली सन्दर्भमा मिल्दैन | त्यसैले आफ्नो देशबाट हठात् पलायन लिन विवश यहुदीहरूको जीवन गतिसँग नेपाली जातिको जीवन स्थितिलाई नजोड्ने हो कि !

नमिल्ने कुराको तुलना गरेर यी कान्छाहरूले, यी बहादुरहरूले ‘नराम्रो काम रे’ भन्ने दुर्नाम चलाउन रोक्ने हो कि ! अपिल यति मात्र हो डायस्पोरा नाम सही भएन र आधार पनि बन्दैन ।

निष्कर्षतिर लागौँ ‘डायस्पोरा’ शब्दसँग यजमानको मोह भो, आचार्यले अनुमोदन दियो । प्रचार भो । तर शब्दले नाम, इतिहास, संस्कृति,जीवन–प्रणाली र व्यवस्थाको रङ्ग पनि जनाउँछ । नेपालीको जीवन यस अर्थमा कुनै पनि हिसाबले डायस्पोराको प्रकृतिसँग मिल्दैन । त्यसैले यो शब्द वा डायस्पोरा भन्ने नाम नै फेर्नुपर्छ कि !

यो डायस्पोरा भन्ने नाम– गुर्खा, बहादुर, कान्छा जस्तै ‘सम्मानजनक’ होला । तर यो खालको ‘सम्मान’ बाहिर बस्ने नेपालीले शायदै चाहन्छ । बरु नेपालकाहर यस्ता शब्दावलीले सम्मानित हुन चाहन्छन् भने उनीहरूलाई भनिदिन्छौँ– गुर्खा, बहादुर कान्छा । यदि शब्दमा खेल हुँदैन भने अप्ठेरो मान्ने किन ?

अर्काले दिएको नाम सबैलाई सधैँ प्रिय लाग्दैन । नत्र प्रचलित नाम छोडेर किन मुम्बई, चेन्नाई, बेजिङ, इरान आदि भन्दा हुन् । जापान र इन्डिया जस्तो दाहक शब्दले जनाउने पीडा खप्न विवश छैनन् त निहोन्जिन् र भारतीयहरू ? राम्रो र प्यारो लाग्ने अर्काका कुरा टिप्दै जाँदा कतै गलत ठाउँमा पुगिने हो कि न !

आजको जीवनलाई घिसार्दै त्यो युगमा पुर्याएर डायस्पोराको डोरीमा झुण्डाउनुको अर्थ के ? स्वार्थ के ? त्यसैले आचार्य र यजमानको विवेक पुगोस् ।

त्यसैले अपिल यति मात्रै हो– मूर्च्छामा नहिँडौँ । सचेततापूर्वक हिँडौँ । सीतालाई सुरसा बनाउने यत्न किन ?