राजेन्द्र सुवेदीको परिचय

नेपाली साहित्यमा राजेन्द्र सुवेदीको योगदान रहेको छ। उनको जन्म ताप्लेजुङको अमरपुर भन्ने ठाउँमा  साउन  ९ गते, वि. सं. २००२ मा भएको हो। उनका बाबुआमाको नाम स्व. पद्मप्रसाद सुवेदी र स्व. राधिका सुवेदी हो। उनले कालिम्पोङको कुमुदिनी हाई स्कुलबाट मेट्रिक परीक्षा उत्तीर्ण गरी क्रमैले आफ्नो अध्ययन जारी राखेका हुन्। उनले शिक्षणका विभिन्न पदबाट सेवानिवृत्त भएर हालमा काठमाडौँको कोटेश्वरमा आफ्नो स्वतन्त्र लेखनमा एकनिष्ठ भएर रहेका छन्। हालसम्म उनका कविता, निबन्ध र समालोचना गरी जम्मा १६ वटा जति पुस्तक प्रकाशित छन्। कविले आफ्नो जीवनकालभरि साहित्यकै सेवा र साधना गरिरहेका छन्। उनी मूलतः समालोचक हुन् भने कवि र निबन्धकार पनि हुन्।

राजेन्द्र सुवेदी

राजेन्द्र सुवेदी

राजेन्द्र सुवेदीले आफ्नो जीवनकालमा विभिन्न ठाउँको पानी पिएका थिए। कता कता पढ्दै जाँदा कालिम्पोङमा केही वर्ष पढे। इलामको महेन्द्र रत्न कलेजका संस्थापक अध्यक्ष, मेची क्याम्पसमा प्राध्यापन गर्दै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभागमा विभिन्न तह हुँदै प्रोफेसरसम्म बनेका थिए। उनी आफ्नो जीउडालले मात्र होइन, मनले, कर्तव्यले, लेखनले, उच्च गुणस्तरीय पुस्तकहरूले, स्नेह, सदव्यवहारले, आदर्शत्वले पनि ‘जायन्ट’ थिए। उनी प्रगतिशील साहित्यकार थिए भन्ने भनाइ छ तर उनीका कुनै कृतिमा झण्डावादी प्रगतिवादिता भएको जस्तो लागेन। उनी भारतका प्रायः धेरैजसो साहित्यकारसित सुसम्पर्कित, न्यानो सम्बन्ध राख्दथे। उनलाई दार्जिलिङ, सिक्किम, आसाम, मणिपुरतिर पुग्नुभएको, धेरै साहित्यकारसित सुसम्बन्ध राखेका थिए। ती ती ठाउँमा आफैँ घुमी घुमी साहित्यकारसित सम्पर्क राखेका थिए। यताको नेपाली साहित्यलाई उनीले विशेष महत्त्व दिन्थे।

* * *

कवि राजेन्द्र सुवेदी

राजेन्द्र सुवेदी मूलतः प्रगतिवादी धाराका कवि पनि हुन्। उनका कवितामा शास्त्रीय छन्दप्रयोगका साथै शास्त्रीय चिन्तन, अध्ययन र पौल पाइन्छ। कवितालाई आफ्ना स्वान्त सुखायका निम्ति प्रयोग गरे तापनि उनका कवितामा नीति, ज्ञान, उपदेश, देश–जाति-भाषा प्रेमको सन्देश, आर्य सभ्यता, संस्कृतिका उत्थान-उन्नयनका पक्षधर र चिन्तक देखिन्छन्। आत्मनिर्माण महाकाव्यका भाव, शैली र ढाँचा देवकोटाकै शाकुन्तलसित केही मात्रामा मिल्ने गर्छन्। उनी शास्त्रीय वार्णिक छन्दमा कविता लेख्छन्, अझ त्यसमा पनि शार्दूलविक्रीडित छन्द उनका निम्ति प्रिय छन्द देखिन्छ।

उनी सजिलैसँग छन्दमा कविता लेख्न सक्छन्, छन्दमा नै आफ्ना भावलाई व्यक्त गर्न सक्छन्। उनका निम्ति छन्द साधन हो तर बाधक होइन। उनले आफ्ना सहजानुभूतिलाई छन्दमा नै पाठकसमक्ष अभिव्यक्त गरेर काव्यानन्द दिन्छन्। छन्दको पालन मात्र नगरेर उनका कवितामा भावको सघनता, अर्थगत गम्भीरता, आधुनिक विचारधारा र युगीन चेतना पाइन्छन्। यसका साथै उनका कवितामा इतिहास चेतना, जातीय उत्थानका चिन्तन, समाज अध्ययन, आदर्शको परिपालन, कवि-प्रतिभाको गुणगान, प्राकृतिक सौन्दर्य वर्णन जस्ता विषयवस्तु पाइन्छन्। उनले पूर्वीय काव्य परम्परालाई जोगाइराखेका छन्, काव्यको भव्य गरिमालाई पालन गरिरहेछन्।

सुवेदीका व्यक्तित्वका विभिन्न आयामको थिए। एक कवि, निबन्धकार, कुशल समालोचक, सिद्धहस्त सम्पादक, प्रकाशक थिए। यद्यपि उनी एक प्रिय र आदर्श शिक्षक, दक्ष प्रशासक र एक असल मानिस। उनले पैँतिस वर्षभन्दा बढी क्याम्पस र विश्वविद्यालय ब्याचका ब्याच विद्यार्थीका निम्ति प्यारो र आदर्श गुरु थिए। उनका धेरै विद्यार्थीहरू अहिले त्रिभुवन विश्वविद्यालय, प्रशासनिक सेवा, विद्यालय आदिमा कार्यरत् छन्। एक जना कुशल साहित्यकार थिए। उनी एक सशक्त स्रष्टा र द्रष्टा दुवै थिए। उनले सजिलैसँग छन्दमा कविता लेख्न सक्थे। उनको छन्दोबद्ध ‘आत्मनिर्णय’ महाकाव्य प्रकाशित छ। यसमा नेपालको उत्पत्ति, सुवेदीहरूको उत्पत्ति र पृष्ठभूमि, नेपालका विभिन्न भूभागको सौन्दर्य वर्णन गरिएको छ। उनी एक कुशल निबन्धकार थिए।

* * *

समालोचकका रूपमा राजेन्द्र सुवेदी

समालोचनामा पनि उस्तै उँचाइमा थिए। पछिल्लो उनको सांस्कृतिक समालोचना र नेपाली साहित्य पुस्तकमा अहिले नयाँ नयाँ पाश्चात्य साहित्य सिद्धान्तको व्याख्या र तिनको नेपाली साहित्य सन्दर्भको समीक्षा गरेका छन्। उनको ‘नेपाली समालोचना परम्परा र प्रवृत्ति’ पुस्तकमा पनि नेपाली समालोचनाको इतिहास, परम्परा, काल विभाजन र प्रत्येक चरणको प्रवृत्ति र समालोचकहरूको बारेमा सम्यक् चर्चा गरिएको छ। यीबाहेक उनीका अन्य धेरै पुस्तक प्रकाशित छन्।

तीमध्ये ‘विषय गहन सतह चिन्तन’, २०३८) ‘स्रष्टा सृष्टि – द्रष्टा दृष्टि’ (२०४३, ‘नेपाली निबन्ध विषयक समालोचना), ‘समकालीन साहित्यकारका बिचमा झपटबहादुर राणा’ (२०४७), ‘केही समीक्षण केही विश्लेषण’ (२०४९), ‘कविता सोच (२०५०),‘नेपाली उपन्यास परम्परा र प्रवृत्ति’(२०५३), ‘सृजन विधाका परिधिमा पारिजात’ (२०५४), ‘सृजन विधाका परिधिमा ध्रुवचन्द्र गौतम’ (२०५४), ‘नेपाली साहित्यको रूपरेखा’ (२०५५, सहलेखन), ‘सृजनात्मक लेखन सिद्धान्त र विश्लेषण’ (२०५७), ‘नेपाली समालोचना परम्परा र प्रवृत्ति’ (२०६८), ‘काव्य निबन्ध केन्द्रका देवकोटा’ (२०६६), ‘चलचित्र अध्ययन’ (२०६९), ‘समसामयिक नेपाली उपन्यासका प्रवृत्ति’ २०७२, ‘सांस्कृतिक समालोचना र नेपाली साहित्य’ (२०७२), मा आदि उच्च अध्ययनका निम्ति आधिकारिक सन्दर्भ ग्रन्थका रूपमा रहेका छन्।

उनले समापदन गरेका कृतिहरू हुन्- ‘स्रष्टा देवकोटा द्रष्टा परिवेशमा’ (२०४१), ‘पूर्वआधुनिक नेपाली साहित्यको रूपरेखा’ (सहलेखन, सम्पादन), ‘वृहत रत्न नेपाली समालोचना’, भाग १ र २, ३. (०६९), ‘प्रज्ञा नेपाली समालचना’ (२०६९), ‘जुगल सैद्धान्तिक नेपाल समालोचना’ (२०७१), ‘समालोचनाका वृत्तमा खेमनाथ दाहाल’ (२०७२)

समालोचक कुमारप्रसाद कोइरालाका अनुसार ‘राजेन्द्र सुवेदीले सैद्धान्तिक व्यावहारिक जीवनीपरक, विधापरक, आधुनिक, उत्तर आधुनिक, प्रगतिवादी, प्रगतिवादाेत्तर, प्रभाववादी, शोधमूलक र सामान्य आदि अक प्रकारका समालोचना लेखेका छन्। उनी पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्तका आधारमा साहित्यको अध्ययन गर्दछन्। उनका समालोचना विश्लेषणात्मकता, व्याख्यात्मक तुलनात्मक, इतिहाससापेक्ष र निरपेक्ष देखिन्छ।‘ (प्रा डा कुमारप्रसाद कोइराला, प्रज्ञा नेपाली समालोचक कोश, नेप्रप्र, २०७५, पृष्ठ २४०)।

राजेन्द्र सुवेदीले नेपाली समालोचना क्षेत्रको विकासका निम्ति निकै ठुलो काम गरेका छन्। उनको नेपाली सालोतना परम्परा र प्रवृत्ति पुस्तकले नै उनको समालोचनाकारितामाथि विस्तृत सर्वेक्षण, अध्ययन, मूल्याङ्कन गरेका छन्। यस पुस्तकमा नेपाली समालोचनाको विस्तृत अध्ययन गरेका छन्। उनले नेपाली समालोचनाको काल विभाजन गर्दा उनले पूर्वार्द्ध कालखण्ड र उत्तरार्द्ध कालखण्ड गरी मूल दुई वटा वर्गीकरण गरेका छन्। पूर्वार्द्ध कालखण्डमा पनि समालोचनाको पृष्ठभूमि र आधुनिक समालोचनाको उठान गरी दुई वटा उपवर्गीकरण गरिएको छ। उत्तरार्द्ध कालखण्डलाई पनि उत्तर आधुनिकताको आरम्भ पूर्ववर्ती चरण र उत्तर आधुनिकताको चरण।

यस पुस्तकमा जम्मा नौ वटा अध्याय रहेका छन्। पहिलो अध्यायमा समालोचनाको परिभाषा परिचय, यसबारे विस्तृत जानकारी राखिएको छ। दोस्रो अध्यायमा पाश्चात्य समालोचनाका स्थापित सम्प्रदायको संक्षिप्त, तेस्रो अध्यायमा नेपाली समालोचनाको उदय, अध्याय चारमा आधुनिक नेपाली समालोचनाको पूर्वार्द्ध अध्याय पाँचमा आधुनिक नेपाली समालोचना पूर्वार्द्ध पछिल्लो चरण, अध्याय छ मा नेपाली समालोचनाको उत्तरार्द्ध खण्ड, अध्याय सातमा प्रभावपरक समालोचना र नेपाली समालोचनाकको पछिल्लो चरण २०२० जेख वर्तमान सम्म, अध्याय आठमा प्रगतिवादी समालोचना र अध्याय नौमा बहुलवादी विविध धारा सैद्धान्तिक समालोचना चिन्तन।

पुस्तकको अध्याय दुईमा नीतिवादी, नवशास्त्रीयवाद, स्वच्छन्दतावाद, कल्पना सिद्धान्त, नवनीति वाद, अभिव्यञ्जनवाद, कलावाद, नवपरिष्कारवाद, मनोवैज्ञानिक समालोचना, पाश्चात्य समालोचनामा पूर्ववर्ती चेतनाको अन्त्य र उत्तरवर्ती चेतनाको आरम्भ, नवमूल्यको स्थापना र स्थापित मूल्यहरूको विस्थापन उत्तरआधुकता, नारीवादी समालोचना चिन्तन, उत्तर औपनिशिकवादी समालोचना चिन्तन, सीमान्तीयवादी समालोचना चिन्तन, उत्तर सासंस्कृतिक समालोचना चिन्तन, आप्रवासीयतावादी समालोचना चिन्तन पर्यावरणीय समालोचना चिन्तन र अभिघातवादी समालोचना चिन्तन आदि जस्ता विषयमा वैचारिक, विश्लेषण र चिन्तन गरिएका पाइन्छ। यसमा मोतीराम भट्टदेखि ज्ञानु अधिकारीसम्म सयभन्दा बढी समालोचकहरूका समालोचना प्रवृत्तिका बारेमा छलफल गरेका छन्।

राजेन्द्र सुवेदीको ‘सांस्कृतिक अध्ययन र नेपाली साहित्य’ पुस्तकमा पनि अहिले विश्वमा चलेका नयाँ नयाँ समालोचनाका सिद्धान्तको  विश्लेषण गरेका छन्। यस पुस्तकमा रहेका केही विषयगत लेखहरू हुन्- ‘समसामयिकता साहित्यको सन्दर्भ’, ‘पुँजीवादको सांस्कृतिक यात्रामा मानवको विस्थापन’, ‘नेपाली साहित्यको सन्दर्भमा उत्तर औपनिवेशिकता’, ‘अभिधात सौन्दर्य चिन्तन र नेपाली साहित्यमा प्रयुक्त अभिघात चेतना’, ‘आप्रवासीयतावादी साहित्य चिन्तन र नेपाली साहित्य’, ‘पर्यावरणीय समालोचना र नेपाली साहित्य’, ‘सांस्कृतिक समालोचना चिन्तन र साहित्य’, ‘सांस्कृतिक समीक्षाका सन्दर्भमा पूर्वआधुनिकता’, ‘आधुनिकता र उत्तरआधुनिकता’, ‘नेपाली साहित्यका सन्दर्भमा सांस्कृतिक अध्ययन’, ‘नेपाली साहित्य जातीय सीमान्तता’, ‘नेपाली साहित्यमा लैङ्गिकता’, ‘नेपाली साहित्यमा पृथकता, क्षमता र प्रतिनिधित्व’, ‘नेपाली साहित्यमा अल्पसङ्ख्या रङ्ग, परिचय र राज्य’, ‘नेपाली साहित्यमा कुसङ्केचन र अपाङ्गता’ रहेका छन्।

राजेन्द्र सुवेदीको समालोचनालाई हामी एक गहन अध्येताका रूपमा पाउँछौँ। सैद्धान्तिक छलफल र विवेचनामा उनको कलम तिखर पाउँछौँ। उनका समालोचनाका जम्मै पुस्तक नपाली साहित्यमा उच्च अध्ययन गर्ने विद्यार्थी, शोधार्थी र सामान्य पाठकका निम्ति सन्दर्भ ग्रन्थका रूपमा रहेका छन्। नेपाली समालोचनाका क्षेत्रमा राजेन्द्र सुवेदीको नाम सदा आदरणीय, अनुकरणीय, स्मरणीय रहेका छन्।