अभिघात शब्दको आभिधानिक अर्थ (१) काटमार, प्रहार (२) कसैप्रतिको आक्रमण, हमला (३) व्यापारिक प्रतिष्ठा (४) अति प्रेरणा, ज्यादै झिझ्याहट (५) अति, अत्यन्त, ज्यादा (६) धेरै, अति भन्ने दिइएको छ (नेपाली बृहत शब्दकोश, प्रज्ञा प्रथम संस्करण, पृ.६५) ।

साहित्यमा अभिघात भन्नालेशारीरिक तथा मानसिक चोट अथवा आघातले पीडित पात्र-पात्राले गरेका बयान र तिनमा आधारित आख्यानलाई बुझिन्छ । यो अति पीडादायक अनुभूति हो । हिस्टेरिया, सिजोफ्रेनिया, हाइपरटेन्सन, आत्मविस्मृति, बहुलापन, अनिद्रा जस्ता अनेकौं रोग अभिघातभित्र पर्छन् । वर्तमान समाजले हिंसाका विभिन्न प्रकृति झन धेरै खप्नु परिरहेकाले यसको दु:ख झन बढेको छ । यसलाई एउटा यस्तो आँधीसँग तुलना गरिएको छ, जुन हाम्रो अस्तित्वको मुटुसम्म पसिसक्यो । आज अनेकौं समस्याले एउटै चोटमा लडाउन थालेका छन्—त्यो हो ट्रौमा अर्थात् ट्रौमा भोग्नुका पछि सयौं कारण बढदै गएका छन्, झनझन असुरक्षित हुँदैछ, विभिन्न खालका शब्द थपिंदै छन् । तीमध्ये एउटा प्रबल कारण हो- युद्ध । जीवनमा  मृत्यु, बलात्कार, विनाश, अपहरण आदि संकटका स्थितिमा असहनीय पीडाको बोध गरी मान्छे अभिघातग्रस्त बन्छ ।

पाश्चात्य साहित्यको सिर्जना र समालोचनामा समय समयमा विविध प्रकारका अवधारणा, वाद, सिद्धान्त र पद्धतिहरू प्रचलनमा आएका छन्, तिनमा अभिघात सिद्धान्त पनि एक हो। यो कुनै एकजना सिद्धान्तकारले प्रवर्तन गरेको सिद्धान्त होइन। यसलाई सैद्धान्तिक रूपमा स्थापना गर्नुमा डेमिनिक लाकाप्रा, केथी कारुथ, अविसायी मार्गलिट, सोसना फेलम्यान, जेफ्री हार्टम्यान, जेफ्री अलेक्जेन्डर, पौल डिम्यान, पिलिस मिलर, वीना दास आदि धेरै चिन्तक र सिद्धान्तकारहरूको योगदान रहेको छ। उसैगरि अभिघात सिद्धान्तलाई उत्तरआधुनिक दृष्टि दिनुमा डेरिडा र येल स्कुलको ठूलो भूमिका छ। यो वर्तमान अध्ययन र अनुसन्धानको एक स्थापित विषय बनेको छ । विश्वका धेरैजसो विश्वविद्यालयमा यसको पठनपाठन हुन्छ। नेपाली साहित्यको सन्दर्भमा भन्नुपर्दा डा. गोविन्दराज भट्टराईले उनका ‘काव्यिक आन्दोलनको परिचय (वि.स. २०४९) र ‘उत्तरआधुनिक विमर्श’ (२०६४) मा युद्ध साहित्य र अभिघात सिद्धान्तका  बारेमा विस्तृत चर्चा गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा पनि अभिघात विषय अन्तर्भूक्त भएको छ। डा.शान्तिमाया गिरीले अभिघात विषयमा विद्यावारिधि गरेकी छन्। ‘आधुनिक नेपाली कथामा अभिघात’, डा. गिरीको समालोचनात्मक ग्रन्थ हो। यस शोधग्रन्थमा गिरीले वि.स. २०५० देखि २०७० सम्मका नेपाली कथाहरूलाई अभिघात सिद्धान्तको आधारमा विश्लेषण र मूल्याङ्कन गरेकी छऩ।

अभिघात सिद्धान्त सिर्जना र समालोचना दुवै हो। अभिघात सिद्धान्तको प्रमुख उद्देश्य हो- अभिघातसँग जोडिएका कुरालाई अभिव्यक्ति दिने साहित्यिक कृतिलाई यसै सिद्धान्तको आधारमा अध्ययन, विवेचन र मूल्याङ्कन गर्नु।

भय अथवा आतङ्कबाट उत्पन्न हुने शारीरिक एवं मानसिक विचलनका अनेक स्थिति साहित्य सिर्जनामा समेटिएका हुन्छन् । यो एकप्रकार पक्षाघातको, विचलनको, असन्तुलनको, विस्मृतिको स्थितिमा पुग्ने अवस्था हो । यस्तो स्थितिमा पुगेका पात्रबारे लेखिएका साहित्य सिर्जना निकै चर्चित र जनप्रिय हुन्थालेको छ । यस किसिमको विशेष सिर्जनालाई मुल्याङ्कन गर्न अभिघात सिद्धान्तको प्रयोग हुन् थालेको छ । यसरी नै साहित्यमा अभिघात सिद्धान्तको स्थापना भएको हो । अभिघात उपन्यास पदावलीले कुनै त्यस्तो आख्यान कृतिलाई बुझाउँछ जसमा व्यैयक्तिक अथवा सामुहिक रूपमा बिस्तारै क्षति बेहोर्नु परेको कुरा छ। अभिघात उपन्यासलाई परिभाषित गर्ने विशेषता व्यक्तिको भयङ्कर अनुभूतिजन्य कायाकल्प हो जसको स्मृतिले उसलाई आफू तथा दुनियाँको बारेमा नयाँ अनुभूति दिन्छ। भोक्ताको अत्यधिक प्रतिक्रियालाई प्रकाशमा ल्याउने बाह्यिक घटक प्राकृतिक दूर्योग, युद्ध अथवा सुनामी नै हुनुपर्छ भन्ने छैऩ।

यो युद्धको त्रासदी नेपाली साहित्यमा पनि धेरै मात्रामा पाइन्छ। उत्तर पूर्वाञ्चल भारतीय-नेपाली साहित्यको शुरुवात नै युद्ध साहित्यबाट भएको छ। सन् १८९३ मा प्रकाशित तुलाचन आलेको मणिपुरको धावाको सवाई युद्ध साहित्य हो। युद्ध अभिघातको कारक हुनाले भलै पश्चिमेली सिद्धान्तकारहरूले अभिघातलाई दोस्रो विश्वयुद्ध पछिको भनून्, प्रकृतार्थमा युद्ध साहित्य पनि युद्ध जति नै पुरानो हो। रामाय़ण, महाभारत, इलियाड, ओडिसी आदि प्राचीन ग्रन्थहरूमा युद्धकै वर्णन पाइन्छ ।

पाश्चात्य युद्ध साहित्य अभिघातले भरिएको छ। यसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ। लीलबहादुर क्षेत्रीको उपन्यासब्रह्मपुत्रको छेउछाउ,पारिजातको शिरीषको फूल, गोविन्दराज भट्टराईको उपन्यास सुकरातका पाइला, महेशविक्रम शाहको छापामारको छोरो (कथा संग्रह) र अरू धेरै आधुनिक नेपाली साहित्य कृतिहरूलाई अभिघात सिद्धान्तका आधारमा अध्ययन गरेर पुनर्मुल्याङ्कन गर्न सकिन्छ ।

दोस्रो विश्वयुद्धपछि अब युद्ध हुनेछैन भन्ने ठानेका थिए, तर युद्ध समाप्त भएन। त्यसपछि पनि धेरैवटा युद्छ भए। आज पनि कतिपय युद्धोन्माद देशहरू डुक्रिन छोडेका छैनन् । नागासाकि-हिरोसिमामा एटम बमले तर्साएको मान्छे आजसम्म बौरिन सकेको छैन। अहिले त झन न्युक्लियर शक्तिसम्पन्न देश धेरै छन्। कतिले त बायोलोजिकल वारफेयरको पनि डर देखाउँदै छन्। हिजोआज कोरोना भाइरसले अमेरिका, युरोपलगायत सारा विश्वमा महामारीको रूप लिएको छ। के यो कोभिड १९ भाइरस मानव निर्मित बायोलोजिकल हतियार हो ? प्रश्न उठेको छ। अब लडिने युद्धमा सायद बारुदको गन्ध आउने छैन। खुकुरी, बन्दुकजस्ता हतियार काममा आउने छैनन् । अब सिर्जना हुने अभिघात साहित्यले समकालीनतालाई पक्रेर अघि बढ्ने छ।

गुलाफको फूलमा अहिले

किन बारुदको गन्ध आउँछ

अङ्कमालमा मुटु किन

बोल्दछ बमको आवाजझैं

किन हरेक झ्याङझ्याङबाट

चितुवा लुकेझैं शङ्का चिहाउँछ। (विजय मल्ल)

असमका कवि हरिभक्त कटुवालका निबन्ध र कवितामा पनि गोर्खा जातिले भोग्नुपरेको युद्धजनित अभिघातका कुरा पाइन्छन् । उनी लेख्छन्-

बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ

खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ

आँखा चिम्लन पनि जगजगी

आँखा उघार्न पनि जगजगी । (हरिभक्त कटुवाल)

१६ दिसम्बर, २०१२ का राति दक्षिण दिल्लीमा एउटी मेडिकेलकी छात्रालाई छजना नराधमहरूले चलन्त बसमा बलात्कार गरी मृतप्राय: अवस्थामा गाडीबाट झारेर फरार भएका थिए। निर्भया नाम गरेकी ती युवतीलाई थाइलेण्ड लगियो तर उनले दम तोडिन। यस घटनाले सारा देशमा सन्सनी फैलियो। २०-०३-२०२० का दिन चारजना कुख्यात अपराधीलाई तिहार जेलमा मृत्युदण्ड दिइयो।

‘मी टु’ आन्दोलन पनि नारीमाथि यौन शोषणको विरुद्धमा उठेको आन्दोलन हो। समाजका विभिन्न क्षेत्रका दिग्गजहरूको यसले मखुण्डो खोलिदियो।

मान्छे किन यत्ति निष्ठूर हुन्छ ? के मनोविश्लेषणले व्याख्य़ा गर्न सक्छन् ?

अभिघातले व्यक्तिले भोगेका सबै आघातदेखि लिएर सामाजिक जीवनलाई समेत समेटेको छ। वर्तमान समाजमा हिंसाका प्रकृति झन जटिल, झन क्रूर र झन विस्तारित हुँदै छन्। ट्रौमा वा अभितलाई यस्तो आँधीसँग तुलना गर्न सकिन्छ, जसले व्यक्तिको अस्तित्वलाई मेटिदिन्छ। अभिघात भोग्नुका अनेकौँ कारण हुन्सक्छन् ।

सिद्धान्तकारहरूको अध्ययनमा उत्पत्तिका आधारमा अभिघातलाई  प्राकृतिक र मानवनिर्मित यी दुई भागमा राखिएको छ भने यसले असर गरेका क्षेत्र अनुसार (क) शारीरिक अभिघात (ख) मनोवैज्ञानिक अभिघात र (ग) लैङ्गिक अभिघात गरी तीन प्रकारका अभिघातमा वर्गीकृत गर्न सकिन्छ।

साहित्यमा अभिघात सिद्धान्त किन चाहियो? भन्ने प्रश्न आउन सक्छ। यसको कारण, यतिखेर पहिलेका साहित्य सिद्धान्तहरूको पुनर्मूल्याङ्कन हुँदैछ, नयाँ सिद्धान्त थपिँदै छन्। यो नयाँ समय अनुकूलको दिशा परिवर्तन हो। कतिले उत्तरआधुनिकतासँग शून्यवाद जोड्न चाहन्छन्। मानवीय मूल्यबोधलाई अक्षुण्ण राख्ने उद्देश्यले अभिघात सिद्धान्त आएको छ। अर्को कुरा, अभिघात सिद्धान्तले अनेक किसिमका दु:ख, पीर, मनोघातका अभिलक्षण र तिनका कारक तत्वहरू पत्ता लगाउन सजिलो हुन्छ। यसले फ्रायडीय मनोविज्ञानभन्दा माथि उक्लेर आघातपश्चात् उत्पन्न भएका पीडा र मनोरोगको पत्ता लगाउँछ अनि निराकरणको उपाय निकाल्छ।

अभिघात सिद्धान्तका प्रवर्तक तथा व्य़ाख्याताहरूमा केही शोधकर्ताहरूको संक्षिप्त परिचय-

केथी कारुथ (Cathy Caruth):

येल विश्वविद्यालयबाट डक्टरेट गरेकी केथी कारुथ(१९५५) कर्ऩवेल विश्वविद्यालयकी अंग्रेजी र तुलनामूलक साहित्य विषयकी प्रोफेसर हुन्। साहित्य, मनोविश्लेषण र अभिघात उनका अध्ययनका विषय हुन्। आनक्लेइम्ड एक्सपिरियेन्स भन्ने पुस्तकमा केथीले इतिहास, आख्यान र अभिघातका कुरालाई नयाँ दृष्टिले अध्ययन गरेकी छन्। लिट्रेचर इन द एशेस अफ हिस्ट्री, लिस्निङ् टु ट्रौमा, ट्रौमा एक्सप्लोरेसन्स इन मेमोरी उनका महत्वपूर्ण ग्रन्थ हुन्।

सोसना फेलम्यान (ShoshanaFelman):

१९४२ मा अमेरिकामा जन्मेकी सोसोना फेलम्यान साहित्य समालोचक र सिद्धान्तकार हुन्। फ्रान्सको इमोरी विश्वविद्य़ालयमा प्राध्यापकका पदबाट उनले सेवावकाश लिइन् । अभिघात र मनोविश्लेषण विषयमा गहिरो अध्ययन गरेर फेलम्यानले गवेषणात्यक ग्रन्थ लेखिकी छन्। उनका प्रकाशित ग्रन्थहरूमा द क्लेम्स अफ लिट्रेचर, ह्वाट डज अ विम्यान वान्ट, राइटिभ एण्ड म्याडनेस, द जुरिडिकल आनकन्सस आदि उनका उल्लेखनीय ग्रन्थ हुन्।

जेफ्री हार्टम्यान(Geoffrey Hartman):

जेफ्री हार्टम्यान (१९२९-२०१६) को जन्म जर्मनीको फ्रेङ्कफुर्टमा भएको हो। यहुदी हुनाले नाजीहरूको उत्पीडनमा परेर भाग्दै बाल्यकालमै बेलायत गए, त्यहाँबाट फेरि अमेरिका पुगे। उऩले युद्धमैदानबाट कुनैसुरत उम्किएका र अधमरो भएर बाँच्नेहरूको अनुभवको आधारमा अभिघातको व्याख्या गरेका छन्। येल विश्वविद्यालयमा प्रोफेसर रहेका हार्टम्यान साहित्यका समालोचक र सिद्धान्तकार हुन्। अभिघात सिद्दान्तका उनी एकजना चिन्तक र व्याख्याता हुन्। द लङ्गेस्ट सेडो, क्रिटिसिज्म इन द वाइल्डरनेस, रोमान्टिसिज्म आफ्टार होलोकास्ट उनका चर्चित ग्रन्थ हुन्।

हार्टम्यानले समालोचना पनि सिर्जना जस्तै कला हो भनेका छन् ।

प्रस्तुत लेखमा क्षेत्रीको भारतीय साहित्य अकादेमीबाट सन्१९८७ मापुरस्कृत उपन्यास ‘ब्रह्मपुत्रका छेउछाउ’लाई अभिघात सिद्धान्तका आधारमा अध्ययन गर्ने प्रयास गरिएको छ।

लीलबहादुर क्षेत्री नेपाली आख्यान-साहित्यका अग्रपंक्तिका सर्जक हुन् । सन्१९३३ को १ मार्चका दिन गुवाहाटीको पुलिस रिजर्भमा जन्मेका क्षेत्रीका पिता प्रेमबहादुर क्षेत्री पुलिस विभागमा डी.एस.पी.को पदसम्म जागीर खाएका रवाफिला व्यक्ति थिए भने आमा पवित्रादेवी धार्मिक प्रवृत्तिकी नारी थिइन् । क्षेत्रीले अर्थशास्त्रमा एम.ए गरेर गुवाहाटीको आर्यपीठ कलेजमा १९६२ देखि १९९४ सम्म प्राध्यापकका रूपमा सेवादान गरे । बसाइँ, अतृप्त,ब्रह्मपुत्रका छेउछाउ, प्रतिध्वनिहरू विस्मृतिकाक्षेत्रीका बहुचर्चित उपन्यास हुन्।भारतीय वाङमयको सेवामा आजीवन समर्पित रहेका क्षेत्रीलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गर्ने निश्चय गरेको छ।

ब्रह्मपुत्रका छेउछाउ’असमको पृष्ठभूमिमा रचिएको सामाजिक यथार्थवादी उपन्यास हो । गुमाने, मालती, केशव काकती, श्रीमती काकती, मानवीर, जुरेली, डायरी महाजन, हरेन, टोपे, सुब्बा, हेडमास्टर सूर्यप्रसाद, डा. बैश्य आदि यस उपन्यासका पात्र-पात्रा हुन् ।आख्यानमा मूलत पात्र पात्राहरूको माध्यमबाट नै अभिघात प्रकाशमा आउँछ। तसर्थ अभिघात बेहोरेका पात्रहरूको अध्ययन गरी कारक तत्व फेला पार्नु अभिघात सिद्धान्तको उद्देश्य हो।

गुमानेको अभिघात:

गुमानसिं उर्फ गुमाने ‘ब्रह्मपुत्रका छेउछाउ’उपन्यासको मुख्य पात्र र नायक हो । ऊ मानवीर र जुरेलीको छोरो, कलिलो उमेरमा नै टुहुरो भयो । डायरी महाजनले उसलाई गोठालो बनाउन चाहेको थियो । काकती बाबूले उसलाई आफ्नो घरमा लग्छ, तर उसकी स्वास्नीले गुमानेलाई गोठालाको छोरो भनेर हेप्छे, मूल घरभित्र पस्नमा वारण गर्छे । काकतीको अलिकति दया र अलिकति माया पाउँछ, तर काकतीकी स्वास्नीको कचकच र गाली सहेर बस्नुपरेको छ । काकतीको छोरो हरेनले उसलाई शत्रु ठान्छ र एक्कासी हमला गर्छ । मालतीले माया गरे पनि ऊ आफूलाई एक्लो ठान्छ । ‘मेरा बाबु छैनन्, आमा छैनन्, आफन्त भन्ने कोही छैनन् । मेरो दयनीय अवस्थामा कसैले सहानुभूति पोख्लान्, तर माया गर्ने कोही छैन ।”,ऊ यसरी आफ्नो दुखेसो पोख्छ ।

काकतीकी छोरी मालतीसँग उसको प्रेम हुन्छ, तर उसको प्रेमको परिणति विवाहसम्म नपुगी विच्छेदमा टुङ्गिन्छ । ऊ हीनमन्यताको भावनाले ग्रस्त छ, त्यसैले मालतीको विवाहको प्रस्तावलाई चाहेर पनि स्वीकार गर्ने आँट गर्न सक्तैन । परिस्थिति अनुकूल नहुनाले ऊ मालतीसँग विदा भएर सहरतिर लाग्छ । डायरी महाजनका पञ्जाबाट गौचरण भूमि उद्धार अभियानमा ऊ सफल हुन् सकेन । वनविभागले बाढीको चपेटमा परेका निमुखा गाउँलेहरूलाई उच्छेद गरेको कार्यको विरोध गर्दा ऊ थुनामा पर्छ । राजनीतिमा पसेर उसले समाजसेवा गर्न चाहेको थियो । यसमा पनि ऊ षडयंत्रको जाल रचिनाले सफल हुन् सकेन । यसरी पाइलैपिच्छे असफल हुनाले अभिघात बेहोर्छ । युद्धमा गोली लाग्नाले उसको सग्लो अनुहार बिकृत र डरलाग्दो भएको, सानैमा टुहुरो भएको, प्रेमिकाबाट पनि बिछोडिनु परेको,  एक्लो जीवन बिताउन बाध्य भएको गुमानेको जीवन अभिघातग्रस्त छ ।

मालतीको अभिघात:

मालती ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासकी प्रमुख नारीपात्र तथा नायिका हो । ऊ गुमानेलाई प्रेम गर्छे । मालती गुमानेसँग सल्केकी छ भन्ने कुरा गाउँमा फैलिएको हुदाँ, त्यो परिस्थितिबाट छुटकारा पाउन गुमाने गाउँ छोडेर अन्तै जान्छ । यता मालतीको बिहेको तरखर हुन्थाल्छ । मालती भने गुमानेको प्रतीक्षामा बौलाहीजस्ती हुन्छे । उसको मानसिक सन्तुलन खल्बलिएको छ । हृदयको व्यथा लुकाउने प्रयास गर्छे, तर असफल हुन्छे । एकजना डाक्टरसँग मालतीको बिहे हुन्छ । बिहेका केही दिनपछि डाक्टर पतिले उसको यौनक्षुधा जागृत पार्छ, तर आफू नपुंसक हुनाले त्यो क्षुधालाई निवारण गर्न असमर्थ भएर अर्कापट्टि फर्केर रुनथाल्छ । नपुंसक भनिने लोकलज्जाबाट छुटकारा पाउने उद्देश्यले मात्र उसले बिहेको नाटक गरेको रहेछ । मानसिक सुखबाट वञ्चित भएकी मालती शारीरिक यौनसुखबाट पनि वञ्चित भई । चुनावमा गुमानेलाई सहयोग गर्छे तर उसैको दाजु हरेनले गुमानेमाथि मारात्मक हमला गरेपछि उसको हताशा चरममा पुग्छ र आत्महत्या गर्छे । यसरी हेर्दा मालतीको जीवन अभिघातग्रस्त देखिन्छ ।

मानवीर र जुरेलीको अभिघात:

मानवीर र जुरेली इतिहासले लखेटेका प्रतिनिधि पात्र हुन् । आफ्नो जन्मभूमिमा गाँस र बासको जोहो गर्न नसकेर भाग्यको अन्वेषणमा अरू सरह यो दम्पति पनि आसाम पसेको हो । बर्म गयो कर्म सँगै भन्ने उखान उनीहरूको जीवनमा फेरि सत्य सावित भयो । नौलो ठाउँमा यिनीहरूले जिउने संग्राम गरे, तर यहाँ पनि शोषणको शिकार बने । जुरेली उपचार नपाएर मरी । उपचार बिना उमेरै नपुगी मृत्युका मुखमा परेकी जुरेलीको अभिघातले मानवीरलाई गाँज्नु स्वाभाविक हो । जुरेलीको मृत्युपछि मानवीर आफू एक्लो भएको अनुभव गर्छ, उसको जिउने इच्छा नै हुँदैन । जुरेलीलाई ऊ बिर्सिन सक्तैन र दु:खी बन्छ । आर्थिकस्थिति बिग्रिएको आघात, विस्थापित हुनुपरेको आघात उसले सहेकै थियो, त्यहीँमाथि मायालु पत्नीको मृत्यको बज्राघात थपिनाले भित्रभित्रै खोक्रिएर मानवीरको पनि मृत्यु हुन्छ ।

यस उपन्यासमा सुब्बा नामको सहायक पात्र छ । सुब्बा अनपढ र सोझो छ । ऊ डायरी महाजनको गोठालो हो । महाजनले उसको दुई वर्षको कामको ज्याला हडप गरिदिनाले सुब्बा पनि अभिघात बेहोरेको छ । डायरी महाजनजस्ता गरीबका खुनले ढाडिएका शोषक सधैँ भोका हुन्छन् ।

श्रीमती काकतीको अभिघात:

आफ्नै गल्तीले गर्दा श्रीमती काकतीको जीवन अभिघातग्रस्त बन्छ । ऊ आफ्नै जातको गतिलो केटासँग छोरी मालतीको बिहे होस् भन्ने चाहन्छे । उता छोरी भने अर्कै जातको, त्यो पनि आफ्नै घरमा पालेको टुहुरो केटो, नोकर बराबरको गुमानेका प्रेममा पागल भएको चाल पाएर उसको मानसिक शान्ति हराउँछ । पुल्पुल्याएर राखेको छोरो हरेन कुटपीटको मामलाबाट बँच्न घरबाट बेपत्ता हुन्छ । छोराछोरीको सुख नै आफ्नो सुख ठाने पनि छोराले गरेका गल्तीमा आँखा चिम्लनु, बुझकी छोरीको हृदयमा जागेको प्रेमलाई नबुझेर अर्कै पात्र उसको जिन्दगीमाथि थोपरिदिनु जस्ता भुल गर्नाले श्रीमती काकतीको जीवनमा अभिघात पसेको छ । छोरीलाई गुमानेबाट छुटाउन सफल भए पनि छोरीको घर-संसार टुटेको हुनाले उसको रक्तचाप बढ्छ । पारिवारिक अशान्तिका कारण नै श्रीमती काकतीको मृत्यु हुन्छ ।

उपन्यासमा प्रतिबिम्बित नेपाली जनजीवनमा अभिघात

ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा असमेली जनजीवनको सुन्दर चित्रण पाइन्छ । लीलबहादुर क्षेत्रीले उनको पहिलो उपन्यास बसाइँमा नेपालको पृष्ठभूमि देखाएका छन् भने तेस्रो उपन्यासमा असमलाई लिएका छन् । उपन्यासकारले ब्रह्मपुत्रका छेउछाउलाई बसाइँको परवर्ती पुरक खण्ड भनेका छन् । आफ्नो देश अथवा कुनै ठाउँमा सुख-शान्तिले बसोबास गरिरहेको कोही पनि बसाइँ जान चाहँदैन । अत बसाइँसँग अभिघातको नङमासुको सम्बन्ध हुन्छ ।

लेखकले वर्णन गरे अनुसार ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा नेपाली जनजीवन समस्यै-समस्याले जेलिएको अभिघातग्रस्त छ । अशिक्षा, अन्धविश्वास, गरिबीले सताएका नेपालीहरू सोझा र सबल्टर्न छन् । वनविभागले सिपाही र हात्ती लगाएर घर भत्काइदिनाले गाउँबासी नेपालीको बिजोक हुन्छ । संगठित नहुनाले त्यस अन्यायको कडा विरोध हुन् सकेन । प्रकृतिका सन्तान निमुखा नेपालीहरूलाई प्रकृतिले पनि साथ नदिएकै देखिन्छ । वर्षेनी आउने बाढी र गडालागीले नेपालीलाई नै सताएको हुन्छ, किनभने खेतिकिसान र गोठ पालेर बस्ने नेपालीहरूको नदीका छेउछाउमा बसोबास हुन्छ । यसरी, चरनभूमिको समस्या, बासको समस्या, आदि अनेकौं समस्या झेल्दै रैथाने असमेली जनगोष्ठीसँग साइनो गाँस्दै असमेली नेपाली जनजीवनमा पनि धेरथोर अभिघातको अभिव्यक्ति पाइन्छ ।

निष्कर्ष:

लीलबहादुर क्षेत्रीको ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा प्रमुख पात्र गुमाने, मालती र सहायक पात्रहरू- मानवीर, जुरेली तथा श्रीमती काकती साथै परिवेश चित्रणमा अभिघात सिद्धान्तको सुन्दर प्रयोग भएको छ । असमको छाती चिरर बगेका ब्रह्मपुत्र नदीको असमेली जनजीवन र संस्कृतिमा ठूलो महत्व छ । यो असमका लागि वरदान र अभिशाप दुवै बनेको छ । ब्रह्मपुत्र नदी नभएको भए असम मरुभुमि बन्ने थियो र गाँस-बासको आसले कोही पनि यता आउने थिएनन्, अनि यो उपन्यास पनि रचिने थिएन । उपन्यासकार क्षेत्रीका नजरमा ब्रह्मपुत्रको वरदान परेनछ, त्यसैले उनले उपन्यासमा अभिघात मात्र देखाएका छन् ।

——————————————————————————————-

The term TRAUMA NOVEL refers to a work of fiction that conveys profound loss or intense fear on individual or collective levels. A defining feature of the trauma novel is the transformation of the self ignited by an external, often terrifying  experience, which illuminates the process of coming to terms with the dynamics of memory that inform the new perceptions of the self and world. The external event that elicits an extreme response from the protagonist is not necessarily bound to a collective human or natural disaster such as war or tsunamis.

सन्दर्भ

  1. उत्तरआधुनिक विमर्श— डा. गोविन्दराज भट्टराई, मोडर्न बुक्स, काठमाडौ।

  2. काव्यक आन्दोलनको परिचय — डा. गोविन्दराज भट्टराई, साझा प्रकाशन, काठमाडौ।

  3. Trends in Literary Trauma Theory: Balaev,Michelle, Mosaic Winnipeg

  4. A Reader’s Guide to Contemporary Literary Theories, Raman Seldon et al, Pierson Longman