हाल अमेरिकाको  पेन्सिलभेनिया राज्यको च्याम्पसवर्ग सहरमा बसोबास गर्नु हुने सरला श्रेष्ठको जन्म रामेछापको भँगेरीमा भएको हो। स्वास्थ्यकर्मीको रूपमा उहाँले अमेरिकामा लामो समयसम्म सेवा गरिसक्नु भएको छ। गीत लेखनमा उहाँको रुचि विशेष किसिमको भएता पनि साहित्यका अन्य विधामा पनि उहाँको उपस्थिति दरो छ। श्रेष्ठले सयौँ गीतहरू लेखिसक्नु भएको छ। उहाँका तिन दर्जन भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्। सरला श्रेष्ठको नाम केवल एक गीतकारको रूपमा मात्र चर्चित छैन। कोमल हृदय भएको श्रेष्ठ समाजसेवीहरूको सूचीमा अग्र स्थानमा हुनु हुन्छ।

प्रस्तुत छ साहित्य पोस्टका लागि विश्वराज अधिकारीले सरला श्रेष्ठसँग गर्नु भएको कुराकानी।

===

अचेल के गर्दै हुनु हुन्छ ?

– अचेल म फाट्ट फुट्ट गीत र कविताहरू लेख्दै छु। आफूले लेखेका रचनाहरूलाई सङ्कलन पनि गर्दै छु।  साथै केही अध्ययन र बारी-बगैँचाको काममा व्यस्त छु। फूलबारी र करेसा बारीमा काम गर्न सारै मन पर्छ।  बारी, बगैँचामा काम गरिरहँदा प्रकृतिसँग जोडिन पाउँछु। धेरै खुसी लाग्छ!

तपाईंले लेख्नु भएका गीतहरू रेकर्ड भएको खबर निकै पढेको र सुनेको छु। अहिलेसम्म कति ओटा गीतहरू लेखिसक्नु भयो ?

– ठ्याक्यै यति ओटा नै त भन्न गारो छ किनभने मेरा गीतहरू सबैतिर छरिएर रहेका छन्। कुनै नोटबुकहरूमा छन्, कुनै सादा कागजको टुक्राहरूमा छन्। कुनै आई फोनको नोटमा छन्। नोटबुक भित्रका असी वटा गीतहरू मैले नेपालमा हुँदा, २०४५-४६ तिर लेखेको रहेछु। ती मध्ये कति त अझै रेकर्ड हुन बाँकी नै छ। अरू पनि धेरै छन्। यता अमेरिका आएपछि र हालसम्म लेखेका गीतहरूको गन्ती मैले कहिले राखिन।

गीत किन लेख्नु हुन्छ ?

सरला श्रेष्ठ

– गीत, कविता अथवा अरू केही लेख्नु मेरो लागि आत्म सन्तुष्टि पाउनु हो।  हृदयलाई हलुका बनाउनु हो।  जब कुनै कुराले टक्क मेरो मन र मस्तिष्कलाई छुन्छ, मेरो लागि पहिलो प्रतिक्रिया भनेको लेख्नु नै हो। अरूलाई भन्नु भन्दा पनि लेख्नुमा बढी आत्म सन्तुष्टि मलाई प्राप्त हुन्छ, चाहे आफूले अनुभव गरेका, भोगेका कुराहरू होस् वा आफूले देखेका र अरूलाई परेका दुःख, पिर, व्यथाका कुराहरू होस्। कुनै पनि कुराले जब मेरो मन, मस्तिष्कलाई छुन्छ तब म लेखिहाल्छु।

गीत समाजको ऐना हो भन्नेहरू पनि छन्। तपाईं गीतलाई कसरी वा कुन अर्थमा लिनु हुन्छ ?

– पक्कै पनि हो। गीत, कविता, कथा, उपन्यास तथा साहित्यका अरू कुनै पनि विधाहरू समाजको ऐना हो।  विशेष गरेर गीत भनेको त झन् सबैले सुनेर रमाइलो मान्ने अथवा आफ्ना भावनाहरूसँग जोड्ने साहित्यको एउटा महत्त्वपूर्ण विधा हो।  गीतको माध्यमबाट नै धेरैले आआफ्ना भावहरू व्यक्त गरिरहेका हुन्छन् चाहे त्यो सुखको भाव या दुःख को, मिलनको भाव या बिछोडको, वा कसैले कसैलाई पिडा दिएको होस्।  समाजमा घटिरहेका मिठा वा नमिठा घटनाहरूको चित्रण गीतले गरिरहेको हुन्छ।

प्रेम, बिछोड, सङ्घर्ष, यातना, आशा, खुसी, उमङ्ग, धोखा आदि आदि गीत लेखनका सामाग्रीहरू हुन्। तर गीतहरू प्रेम र बिछोड मात्र किन अत्यधिक लेखिएको होलान् ?

– गीत म विभिन्न विषयहरूमा लेख्छु, जब कुनै कुराले मेरो मन मस्तिष्कलाई छुन्छ।  जस्तै कि ‘जिन्दगीसँग लड्दा लड्दै ऊ घाइते भएको मान्छे’ यो गीत मैले एक जना नेपाली क्यान्सर पीडित भाइको पिडामा आफैलाई पिडा भएको अनुभव भए पछि लेखेको थिएँ। जब उहाँले मलाई मेसेन्जर मार्फत, ‘दिदी मेरो क्यान्सर फर्कियो’ भन्ने सारै दुःखको खबर सुनाउनु भएको थियो। त्यसै गरी, ‘माटोको महिमा’ मैले बारी बगैँचामा बोट बिरुवाहरू रोप्दै गर्दा, माटोमा खेल्दै गर्दा, मेरो मन मस्तिष्कमा उब्जिएका भावनाहरू हुन्।  तर पनि मेरा गीतहरूमा प्रेम र बिछोडका कुराहरू नै बढी हुन्छन्। सायद प्रेम र बिछोडका कुराहरूले मेरो मन मस्तिष्कलाई धेरै छुने भएकोले होला। प्रेम र बिछोडजस्तो अति नै संवेदनशील विषयले मन मस्तिष्कलाई छुनु स्वाभाविक पनि हो।

हाल सालै मात्र रेकर्ड भएको गीत ‘बोलूँ कसरी बोलूँ’ मा एक जना साथीको जीवनमा परेको वियोगान्त पिडाको भाव पोखेको छु।  मैले लेखेका गीतहरूमा मेरै मात्र भावनाहरू छैनन्। मैले चिनेका, देखेका र सुनेका पात्रहरूको कथा र व्यथाहरू पनि व्यक्त छन्।

धेरै व्यक्तिहरूलाई सोधिएको एउटा प्रश्न दोहाेर्याउँदै छु। आजभोलि गीतहरूमा गायक (महिला एवं पुरुष) हरूको चर्चा बढी र गीतकारको चर्चा ज्यादै कम हुँदै गएको छ। दृश्य-गीतहरूमा त दर्शकहरूले केवल दृश्य-गीतमा अभिनय गर्ने कलाकारहरूको मात्र नाम याद गर्ने स्थिति छ। यसरी, गीतमा गीतकारहरूको भूमिका क्षय हुँदै जानु के राम्रो कुरा हो ?

यो राम्रो कुरा पक्कै पनि हैन। गीतकारले गीत नलेखी सङ्गीतकारले सङ्गीतको सिर्जना गर्दैन। गीत तथा सङ्गीतको सिर्जना भइसके पछि मात्र गायक गायिकाहरूले गाउने काम हुन्छ।  सङ्गीतमा गीत थोरैले मात्र लेख्छन्। कुनै पनि गीतमा सबै भन्दा पहिले गीतकारहरूको नाम आउनु पर्छ।  किनभने सबै भन्दा पहिले, गीतको सिर्जना भए पछि मात्र न अरू कामहरू प्रारम्भ हुन्छ।  अझ म्युजिक भिडियो बन्ने र नायक नायिकाहरूले अभिनय गर्ने, नाच्ने काम त गीत, सङ्गीत र गायनको काम पछि मात्रै हुने कार्यहरू हुन्।

सबै सर्जकहरूले आआफ्नो महत्त्वपूर्ण भूमिका निभाएको हुन्छन्, एउटा गीतको रेकर्ड हुनुमा र त्यस गीतमा म्युजिक भिडियो निर्माण हुनुमा। यस अर्थमा, अझै भन्नु पर्दा, गीतकारहरूको भूमिका अझै बढी हुन्छ किनभने गीत सिर्जना एउटा बलियो जग हो र त्यस जगमा अरू सिर्जनाहरू थपिँदै, एउटा अर्को राम्रो सिर्जना बन्छ।  र त्यो दर्शक तथा श्रोताहरूसम्म पुग्छ।  यसरी गीतकारहरूको नाम बिर्सनुमा पश्चिमी देशको प्रभावले हो किनभने पश्चिमी देशहरूमा गायक गायिकाहरू आफै गीत लेख्छन् र ती गीतहरूलाई आफैले सङ्गीत दिन्छन्, अनि आफै गाउँछन् पनि। अझ म्युजिक भिडियोमा पनि आफैले  अभिनय समेत गर्छन्।

जस्तै कि अमेरिकाकी अत्यधिक चर्चित गायिका टेलर स्विफ्टको कुरा गरौँ।  उनी आफै गीत लेख्छिन्, आफैले सङ्गीत दिन्छिन्, र आफैले गाउँछिन् पनि। दर्शक तथा श्रोताहरूले एउटै नाम सम्झिन्छन्, त्यो हो टेलर स्विफ्ट।  त्यति मात्र नभई म्युजिक भिडियोमा पनि आफै अभिनय गरेर आफ्नो गीत, सङ्गीत र गायनलाई श्रोता तथा दर्शक माझ प्रस्तुत गर्छिन्। त्यसै गरेर जन लेजेण्डले आफूले गाउने गीत आफैले लेख्छन्, आफैले सङ्गीत दिन्छन् र आफैले गाउँछन्, पनि। आफूले गाएको म्युजिक भिडियोमा आफै अभिनय गर्छन्।

गीत, सङ्गीत, गायन र म्युजिक भिडियोको सिर्जना पूर्वीय देशहरूमा फरक छ। हामीले आफ्नो मौलिकता कायम गर्नु पर्छ। पश्चिमी देशहरूको नक्कल गर्नु भन्दा पनि र जुन कामको लागि जसलाई सम्झिनु पर्ने हो उसलाई सम्झिनु पर्छ। र सबै सर्जकहरूलाई गर्नु पर्ने आदर र श्रद्धा पनि गर्नु पर्छ।

कुनै गीत अति प्रसिद्ध भएमा, त्यो गीत त्यसरी अति प्रसिद्ध हुनुमा कसको भूमिका वा कार्यलाई बढी  महत्त्वपूर्ण मान्नु हुन्छ ? गीतकार, गायक (महिला।पुरुष) वा सङ्गीतकारलाई ?

– मलाई लाग्छ गीत, सङ्गीत र गायन भनेको एउटा ग्रुप प्रोजेक्ट हो।  गीत प्रसिद्ध हुनु अथवा सबैले मन पराउनुमा गीतकार, सङ्गीतकार तथा गायक सबैको आआफ्नै भूमिका रहेको हुन्छ।  त्यति मात्र नभई सङ्गीत संयोजन राम्रो हुनु पर्यो।  रेकर्डिङ पनि त्यत्तिकै राम्रो हुनुपर्यो। एरेन्ज राम्रो हुनु पर्यो। कुनै गीत प्रसिद्ध हुनुमा धेरै जनाको उत्कृष्ट कामले भूमिका खेलेको हुन्छ

गीत सिर्जनाको श्रेयता कुनै विशेष परिस्थिति, घटना वा स्थानलाई दिनु उपयुक्त हुन्छ वा गीतकारको सोच, कल्पना वा बौद्धिकतालाई ?

– मेरो आफ्नै विषयमा भन्नु पर्दा गीत रचनाको श्रेयता म कुनै विशेष घटना, कुनै विशेष व्यक्ति वा कुनै विशेष परिवेशलाई दिन्छु।  संवेदनशीलता, बौद्धिकता र काल्पनिक क्षमता त चाहिन्छ नै हामी गीतकारहरूमा जुन कुरा हामीलाई भगवानले दिनुभएको हुन्छ वा भनौँ प्रकृतिले नै दिएको हुन्छ तर कुनै कुराले मन मस्तिष्क छुँदा नै मलाई तुरुन्तै लेख्नको लागि विषयवस्तु जन्मिन्छ। अनि सररर बगिहाल्छ गीत, कविता, कथा या अरू केही पनि। लेख्नको लागी एउटा प्रेरणा बनेर आएको हुन्छ मेरो लागि कसैको माया, कुनै विशेष घटना र  प्राकृतिक दृश्यहरू।

यो संसारमा घटिरहेका कुनै घटना या दुर्घटनाहरू, आफ्नै जीवनमा परेका दुःख, पिर, व्यथा या खुसीका पलहरू पनि प्रेरणा बनेर आउने गर्छन् मेरो लागि। सानै देखि सङ्घर्षमय जीवन बिताएको म त्यही सङ्घर्षहरू नै मेरो लागि, लेख्नको लागि, मुख्य प्रेरणाको श्रोत बन्यो। र लेख्नु मेरो लागि बाँच्नुको एउटा आधार थियो र अहिले पनि त्यही छ।  कुनै पनि कुरा ले मन मस्तिष्क छोए पछि नलेखी बस्नै सकिँदैन। अरूलाई भन्नु भन्दा पनि लेखेर आफ्ना भावनाहरू व्यक्त गर्नुको आनन्द अर्कै हुन्छ।

नेपालमा गीत-साहित्यको स्थिति कस्तो छ ?

– गीत, सङ्गीत धेरै बनिरहेका छन् त्यो खुसीको कुरा हो तर पाश्चात्य सङ्गीत तथा बलिउडको पनि प्रभाव धेरै छ।  मौलिकता चाहिँ हराएको हो कि जस्तो लाग्छ। गीत भनेको सुन्नको लागि हुनु पर्छ भन्छु म तर हेर्नको लागि बनिरहेको छ। गीत, सङ्गीतको डिमान्ड त्यस्तै छ विशेष गरेर नयाँ पुस्ताहरूको। कालजयी गीतहरू चाहिँ थोरै नै मात्र बनिरहेको छ।  बजारले मागिरहेको र भाइरल हुने गीतहरूको गीत र सङ्गीतको सिर्जनामा जोड दिन्छन् कति स्रष्टाहरू। म भने जसरी मन मस्तिष्कबाट बग्छ त्यसरी नै लेख्नुमा बढी सन्तुष्टि पाउँछु।  गीत, सङ्गीत र मनोरञ्जनको नाममा विकृतिहरू पनि देखिएका छन्। त्यस्तो हुनु हुँदैन भन्छु म।

साहित्यिक विषयमा भन्नु पर्दा राम्रै भइरहेको देख्छु।  महिला लेखकहरू पनि धेरै छन्। पचास वर्षअघि औँलामा गन्न पुग्ने सम्म मात्र थिए महिला लेखकहरू। आज भोलि धेरै छन्। साहित्य सिर्जनामा अग्रसर महिला दिदी, बहिनीहरू देखेर मलाई धेरै खुसी लाग्छ।

गीत सिर्जना र प्रस्तुतिलाई आय आर्जनको माध्यम बनाउनु उपयुक्त होला वा मनोवेग अभिव्यक्त गर्ने माध्यम ?

– गीत सिर्जनालाई आयको स्रोत बनाउन गाह्रै छ हाम्रो देशमा। उल्टा खर्च पो अत्यधिक हुन्छ किनभने गीत रेकर्ड गर्न निकै खर्च लाग्छ।  अचेल त फेरि गीत रेकर्ड गरेर मात्र पनि पुग्दैन, म्युजिक भिडियो बनाएर दर्शक र श्रोताहरू सम्म पुर्याउनु पर्ने डिमान्ड छ, जुन कुराको लागि धेरै लगानी गर्नुपर्ने हुन्छ। हालसम्म धेरै जसो मैले आफ्नै लगानीमा मेरा गीतहरूको रेकर्डिङ र भिजुअल पनि बनाएर दर्शक तथा श्रोताहरू माझ पुर्याउँदै छु।

मेरो मुख्य उद्देश्य हो आफ्ना सिर्जनाहरूको संरक्षण गर्नु। मैले गीत सिर्जना वा कुनै पनि साहित्य सिर्जनालाई आयको स्रोत बनाउने उद्देश्य कहिल्यै राखिन।  आयको स्रोत र जीवनोपार्जन गर्ने माध्यम आफ्नो पेसा हो।  सानैदेखि विज्ञान विषयमा अत्यन्त झुकाव भएको हुँदा ठुलो भए पछि पनि विज्ञान विषय पढेँ। मेरो पेसा चाहिँ स्वास्थ्य कर्मी हो। लेखाइलाई नै आएको श्रोत बनाउन त गाह्रै छ जहाँ पनि भलै अमेरिका र युरोपियन देशहरूमा सजिलो होला, एकदमै राम्रा र चर्चित भइसकेका लेखकहरूका लागि।

‘द हंगेरियन सुसाइड सङ – ग्लुमी सन्डे’ सुनेर धेरैले आँसु खसाले। केहीले आत्महत्या पनि गरे रे। यो गीत बजाउन केही देशहरूमा प्रतिबन्ध पनि लागेको थियो। यो एक अति दुखान्त गीत हो। के दुखान्त गीत राम्रो हो ? वा सुखान्त गीत लेख्नु राम्रो ?

– गीत हृदयको भावना हो बग्छ र बग्न दिनु पर्छ।  जीवन भनेकै दुःख र सुखको सङ्गम हो।  हार जीतको खेल हो। मिलन, बिछोड, आँसु, हाँसो सबै हुन्छ हाम्रो जीवनमा।

एउटा सर्जकलाई यिनै कुराहरूबाट लेख्नका लागि प्रेरणा  प्राप्त भइरहेको हुन्छ। त्यसैले म भन्छु गीतमा यी सबै कुराहरू हुनुपर्छ। मेरा सिर्जनाहरूमा यी सबै भावनाहरू पाउनु हुन्छ। गीतको भावनामा दुख: मात्र वा खुसी नै मात्र भयो भने त के मज्जा भयो र? जिन्दगीलाई जसरी भोगिन्छ त्यसरी नै  गीतमा लेखिन्छ।

गीत, सूचना, सन्देश र मनोरञ्जन मध्ये बढी के हो ?

गीत सबै हो। मनोरञ्जनको लागि पनि चाहिन्छ गीत। तर गीत,  सङ्गीत जस्तो गहन कुरा मनोरञ्जनमा मात्र सीमित हुनु चाहिँ हुँदैन।  गीत, पिर, व्यथाहरू पोख्ने उद्देश्यले पनि लेखिन्छ, चाहे आफ्नै दुःख, पिर, व्यथा होस् वा अरू कसैको। गीत खुसी र उमङ्गमा पनि लेखिन्छ।  मेरो आफ्नै विषयमा भन्नु पर्दा गीत पहिले त आफ्नै भावनाहरू व्यक्त गर्न, मन हलुका बनाउन, दुःख र पिडाहरूबाट मुक्ति पाउन म गीत लेख्छु। गीत समाजको लागि पनि लेखिन्छ। देशको लागि पनि लेखिन्छ।

कुनै विशेष सन्देश दिन वा आवाज उठाउन पनि लेखिन्छ।  पिल्सिएका, पछाडि परेका, न्याय नपाएका र समाजबाट ठगिएकाहरूको लागि बुलन्द आवाज बनेर उर्लन्छ गीत कहिलेकाहीँ। उदाहरणको लागि हालसालै मात्र रेकर्ड भएको मेरो गीति कविता ‘अधिकार बाँडिदेऊ’ लाई लिन सकिन्छ, जुन ‘यात्रा शुभारम्भ’ मेरो कविता सङ्ग्रह २०४४ मा  सङ्कलित छ।

छोरीको जन्म हारेको कर्म  नभन हे आमा

छोरीको जन्म हारेको  कर्म नभन  हे  बाबा  

छोरीलाई मात्र ज्युने यहाँ अधिकार छैन र ? 

छोरीको लागि संसार बिच  ठाउँ नै  छैन र ? 

यो गीति कविता मैले मेरै लागि नभई सबै  ती महिला दिदी बहिनीहरूको लागि लेखेको थिएँ जो आधारभूत अधिकारबाट समेत वञ्चित छन्।  गीत कहिले देशको मायामा चुर्लुम्म डुबेर लेखिन्छ।

विदेशको यो माटोमा देशको माया बोकेर

हिँडिरहेछु  म  त  यहाँ  नेपाललाई सम्झेर

(दुई वर्ष अघि रेकर्ड भएको गीत ‘विदेश’बाट)

१३ समाजलाई मन पर्ने गीत लेखिनु पर्छ वा गीतकारलाई मन पर्ने ?

दुवै थरीका गीतहरू लेख्नु पर्छ। आफूलाई मन पर्ने र आफ्नो मन हलुका पार्ने गीतहरू र समाजको लागि, देशको लागि पनि लेख्नु पर्छ गीतहरू किनभने गीत, कविता भनेको साहित्यका महत्त्वपूर्ण विधाहरू हुन्।  गीतकारहरूको उत्तिकै महत्त्वपूर्ण उत्तरदायित्व हुन्छ आफू जन्मेको, हुर्केको र बाँचेको समाज तथा देशप्रति।

कस्तो गीतलाई अति लोकप्रिय मान्ने ? धेरै व्यक्तिले सुनेको, हरेको वा सन्देशमूलक गीत ?

– धेरै व्यक्तिहरूले सुन्दैमा र हेर्दैमा (भनौँ अहिलेको भाषामा भन्नु पर्दा ‘भाइरल’ हुँदैमा) त्यो गीतलाई उत्कृष्ट र लोकप्रिय भन्न मिल्दैन।  गीतले बोकेको भाव, शब्द संयोजन, सरलता, गीतको कुन परिवेशमा लेखिएको छ, के को लागि लेखिएको छ यी सबै कुराहरू गीतका लागि महत्त्वपूर्ण विषयहरू हुन्। कुनै पनि गीतले श्रोताहरूको मन मस्तिष्क छुन सक्छ र लामो समयसम्म श्रोता वा दर्शकहरूको मन मस्तिष्कमा रहन्छ भने त्यो गीत महत्त्वपूर्ण हो।  कुनै गीतले देश र समाज लागि कुनै उपयुक्त सन्देश दिन सक्छ भने त्यो गीत झनै महत्त्वपूर्ण हुन्छ।

महाकवि देवकोटाको मुनामदन किन कालजयी भयो ?  मुनामदनमा उहाँले समाजलाई दिनुभएको सन्देश र देखाउनु भएको बाटोले गर्दा हो ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने भाव धेरैको हृदयमा बसेको। त्यति बेलाको समाजलाई यस्तो सन्देश दिन सक्नु र त्यस्तो बाटो देखाउनु महा कवि देवकोटाको महानता हो। मुनामदनमा केवल मनोरञ्जनका कुराहरू मात्र लेखिएको भए पक्कै पनि मुनामदन कालजयी हुने थिएन होला। यो त एउटा ज्वलन्त उदाहरण मात्र हो।

भारतीय फिल्मका चर्चित कलाकार सुनिल दत्तले आफ्नो छोरा सञ्जय दत्तलाई कुनै समस्या परे गीत सुन्नु भन्थे। उनी गीतहरूमा समस्याको समाधान हुन्छ भनी विश्वास गर्थे? सुनिल दत्तको त्यो विश्वास के तपाईंलाई सही लाग्छ ?

– आफूलाई पिर, दुःख पर्दा कुनै आशावादी, आफ्नो मनलाई शान्ति मिल्ने गीत सुन्दा मन हलुका हुन्छ।  आफ्ना भावनाहरूसँग सम्बन्धित गीत सुन्दाको आनन्द छुट्टै हुन्छ र कति गीतहरूमा समस्याको समाधानहरू पनि हुन्छ।  यस अर्थमा सही लाग्छ सुनिल दत्तका त्यो कुरा।

बजारिया गीत र कालजयी गीत बिच कस्तो अन्तर हुन्छ ?

– बजारिया गीत पपुलारिटी को लागि बनेको हुन्छ र त्यसले केही समयको लागि मनोरञ्जन दिन्छ। कालजयी गीत भने लामो समयसम्म श्रोताहरूको मन मस्तिष्कमा बसिरहन्छ।  सतहमा हैन, गहिरोसँग छुन्छ श्रोताहरूको मन मस्तिष्कलाई र  त्यो कहिले पनि मर्दैन। सदा बहार हुन्छ।

गीत लेख्नु भनेको कुनै खास भाव प्रकट गर्नु हो। त्यो भाव कथा वा उपन्यास नै लेखेर पनि प्रकट गर्न सकिन्छ। गीत नै किन लेख्नु परेको हो ?

कथा, उपन्यास, निबन्ध जस्ता विधाहरू लेख्न समय लाग्छ र पूरा गर्न गाह्रो पनि हुन सक्छ, निरन्तरता दिन सकिएन भने। तर गीत तथा कविताहरू थोरै समयमा लेख्न सकिन्छ।  कुनै कुराले मन मस्तिष्क टक्क छोयो भने पहिलो दुई लाइन आइहाल्छ दिमागबाट। कहिलेकाहीँ त हाइवेमा गाडी चलाउँदै गर्दा पनि  मेरो मन मस्तिष्कमा गीत आउने गर्छ।

कुनै बेला पार्किङ लटमा गाडी रोकेर पनि गीत लेखेको छु। तर उपन्यास तथा कथाहरूलाई छोटो समयमा यसरी लेखन सकिँदैन।  अर्को कुरा, गीत गेय हुन्छ, लयात्मक हुन्छ। गीतमा एक प्रकारको छुट्टै मिठास हुन्छ। त्यो पक्ष पनि मलाई सारै मन पर्छ। त्यसैले म विशेष गरेर गीत लेख्न मन पराउँछु।

के महिलाले गर्ने अनुभूति र पुरुषले गर्ने अनुभूति फरक हुन्छ? कि समान हुन्छ ?

कति कति कुराहरू फरक हुन्छन्।  भनिन्छ, महिलाहरूको मन कमलो हुन्छ र छिटै दुख्छ पनि। कतिपय कुराहरू पुरुषहरूले भोग्नु पर्दैन जुन महिलाहरूले भोग्नु पर्छ। विशेष गरेर हाम्रो जस्तो पुरुष-प्रधान देशमा महिलाहरू धेरै कुरामा पछाडि छन्। पछाडि पारिएका पनि छन्। त्यसैले महिलाहरूका कथा र व्यथाहरू पनि फरक हुन्छन्।

महिला अनुभूतिका कुराहरू पुरुषहरूले आफ्ना गीतहरूमा लेख्नु के उचित हो ?

– कुनै कुरामा महिला र पुरुषहरूको अनुभूति उस्तै होला तर कतिपय कुरामा फरक हुन सक्छ।  उदाहरणको लागि कसैको मायामा पर्नु अथवा कसैसँगको मायामा टुट्नुको अनुभूति महिला र पुरुषमा उस्तै उस्तै होला तर महिला हुनुको नाताले महिलाहरूले नै मात्र भोग्नु पर्ने समस्याहरूको अनुभूति पुरुषहरूलेे गर्न नसक्लान्।  जस्तै छोरी भएर जन्मनुको कारणले कति महिलाहरूले आफ्नै परिवार र आफू बाँचेको समाजबाट अवहेलना सहनु परेको हुन सक्छ तर यस्तो अवहेलनाको अनुभव पुरुषहरूले खप्नु पर्दैन। तर लेखक तथा साहित्यकारहरू संवेदनशील हुन्छन्।  अरूलाई परेको पिर व्यथाहरू आफूलाई नै परेको जस्तो हुन्छ।

त्यस्तो बेला अरूको  अनुभूतिलाई आत्मसात् गर्दै कतिपय पुरुष लेखकहरूले पनि लेख्ने गर्छन् महिलाका अनुभूतिहरू। पुरुषहरूले महिलाहरूको अनुभूति लेख्नु ठिक हो वा होइन यो प्रश्नको उत्तर अलि जटिल छ।  किनभने मैले माथि नै भनेँ लेखक, साहित्यकार, गीतकारहरू संवेदनशील हुन्छन्।  अरूलाई दुख्दा उनीहरू पनि दुख्छन्।  अरूको मर्म उनीहरू बुझ्छन्। यस अर्थमा महिलाहरूको पिडालाई, समस्यालाई आत्मसात् गरेर, अनुभूत गरेर लेख्नु ठिक पनि हो।  तर प्रश्न के उठ्न सक्छ भने के महिलाहरूका अनुभूतिलाई पुरुषहरूले के सत प्रतिशत उस्तै प्रकारले अभिव्यक्त गर्न सक्छन्? यो अति जायज प्रश्न पनि हो।

तपाईंको विचारमा कस्ता कस्ता गीतलाई कालजयी मान्नु पर्छ ?

– कालजयी गीतहरूले श्रोताहरूको मन मस्तिष्कलाई छुने मात्र हैन सधैँ उहाँहरूको मन मस्तिष्कमा बसिरहन सफल हुन्छन्। ती सदाबहार हुन्छन्।  त्यस्ता कालजयी गीतहरूको कुनै समय-सीमा हुँदैन। काल हुँदैन त्यस्ता गीतहरूको अन्त्य पनि हुँदैन।

जुन गीतले धेरैको कथा र व्यथाहरू बोलेको हुन्छ, समाजमा भएका समस्याहरू मात्र हैन समाधान पनि देखाउँछ, सरल भाषामा गहिरो भाव व्यक्त गर्छ त्यस्ता गीतहरू कालजयी हुन्छन् र सधैँ बाच्छन्।

तपाईं सामाजिक कार्यहरूमा पनि सक्रिय हुनुहुन्छ।  कसरी प्रेरणा पाउनुभयो सामाजिक कार्यमा सक्रिय हुन ?

– मैले त्यस्तो ठूलो  सामाजिक कार्य त केही गरेको छैन तर आफ्नो देशवासीलाई दुःख परेको बेला सकेको केही सहयोग गर्दै आएको छु।  सानो तिनै केही सहयोग गरिदिन पाउँदा पनि खुसी लाग्छ।  मनमा शान्ति मिल्छ।  सकेको सहयोग सबैलाई गर्न मैले प्रथम त मेरो परिवार बाटै सिकेको हो। मेरो बजै (बुवाको आमा) सारै दयालु स्वभावको हुनुहुन्थ्यो। आफूसँग भएको कुनै पनि कुरा चाहे त्यो खाद्यान्न होस वा लुगाफाटाहरू होस्, गरिब दुखीलाई दिनुहुन्थ्यो।  मेरो बुवा र आमा पनि उस्तै स्वभावको हुनुहुन्छ। अरूको दुःख देख्न सक्नुहुन्न।  आफूसँग जे छ, धेरै थोरै जति सकिन्छ दिनु हुन्छ। अरूको दुःखमा साथ रहनु हुन्छ।  यस अर्थमा मैले दुःखीहरूलाई सहयोग गर्नु पर्छ भन्ने कुरा बुवा, आमा र बजैबाट सिकेको हो।

विशेष गरेर नेपालमा कोभिड १९ आए पछि धेरै मजदुरहरूको काम गुम्यो। एक जना दयालु नेपाली बहिनी सरु सुबेदीले राहत बाँड्ने अभियान चलाउनुभएको रहेछ। प्लास्टिकको झोलामा एउटा परिवारलाई दुई छाकलाई पुग्ने चामल, दाल, मस्यौरा, नुन राखेर दिने गर्नु हुँदो रहेछ। त्यस अभियानमा हाम्रा कवि तथा लेखक साथी जय छाँग्छा ज्यू ले पनि एक दिनको राहतको लागि आर्थिक मद्दत मात्र गर्नु भएन उहाँ आफै फिल्डमा गएर राहत वितरण गर्न मद्दत गर्नु भएको पोस्ट मैले देखेँ। सारै मन छोयो त्यो पोस्टले।  मैले जय जीलाई मेसेन्जरमा सम्पर्क गरेर भनेँ, “जय जी म पनि सकेको केही मद्दत गर्न चाहन्छु। यी गरिब मजदुरहरूलाई राहत बाँड्ने अभियानमा यस्तो दुःख परेको बेलामा।” उहाँले मलाई सरु बहिनीसँग फेसबुक, मेसेन्जरमा कनेक्ट हुन सुझाव दिनुभयो र सरु सुबेदी बहिनीको फोन नम्बर दिनुभयो। यसरी म र सरु बहिनी, तुलसादेवी हरिहर फाउण्डेशन सँग जोडियौँ। र सकेको केही मद्दत गर्न थाल्यौँ।

अहिले के कस्तो सामाजिक कार्यहरूमा संलग्न हुनुहुन्छ ?   

– खासै त्यस्तो धेरै त केही गर्न सकेको छैन। सरु बहिनीले चलाउनुभएको अभियानका सुरुका दिनहरूदेखि तुलसादेवी हरिहर फाउण्डेसनलाई सकेको मद्दत गर्दै आएको छु।  विदेशमा रहेर पनि आफ्नो देशवासीहरूलाई दुःख परेको बेलामा केही सहयोग गर्न पाउँदा धेरै हर्ष लाग्छ।  नेपालमा गएको ठुलो भूकम्प पछि नमुना बस्तीमा घरहरू बनाउने अभियान चलेको थियो। त्यति बेला धेरै नसके पनि एक लाख रुपियाँ मैले बुवा आमाको सम्मानमा नमुना बस्तीको प्रोजेक्टलाई दिएको थिएँ।

त्यसै गरेर समता स्कुलको प्रोजेक्टमा पनि नेपाली नानी बाबुहरूको शिक्षाको लागि एक हजार डलर सहयोग दिएँ, गत वर्ष मेरो छोरीको जन्मदिनको उपलक्षमा।

दुई वर्षअघि छोरीको जन्म दिनको अवसर पारेर नेपालको एउटा छात्रावास जहाँ टुहुरी छोरीहरूलाई पढाइन्छ, त्यस छात्रावासको लागि आर्थिक सहयोग गरेको थिएँ।

प्रत्येक वर्ष छोरीको जन्मदिनको उपलक्षमा कुनै न कुनै सामाजिक कार्यको लागि सहयोग गर्ने काम मैले छोरी सानै हुँदादेखि सुरु गरेँ। सेन्ट जुड हस्पिटल क्यान्सर रिसर्च प्रोजेक्ट देखि लिएर फिड द चिल्ड्रेन अभियानलाई समेत मैले सकेको मद्दत पठाउने गरेको थिएँ।

विगत तिन-चार वर्षदेखि भने गरिब नेपाली परिवारहरूलाई सकेको मद्दत गर्दै आएको छु।

एक जना क्यान्सर पीडित नेपाली भाइलाई सकेको मद्दत गर्दै आएको थिएँ, उहाँको उपचारको लागि। ‘गो फण्ड मी’ एकाउन्ट खोलेर जम्मा भएको रकम उहाँको क्यान्सर उपचारको लागि पठाएँ गत वर्ष।  तर दुर्भाग्यवश उहाँ बाँच्नु भएन।  उहाँ बित्नु भए देखि उहाँको गरिब परिवारलाई आर्थिक सहयोग गर्दै आएको छु।  बाबु, नानीहरूलाई पढाउने खर्च देखि लिएर यो गरिब परिवारको लागि सकेको आर्थिक सहयोग पठाइदिने गरेको छु।  दुःख परेको बेलामा कसैलाई गरेको सानै मद्दत पनि उसलाई ठुलो हुने रहेछ।

सकेको मद्दत गर्नु मानवीयता हो। यो नै ठुलो धर्म हो। मलाई यस्तो लाग्छ।  हाल सालै धादिङमा एक जना गरिब नेपाली परिवारलाई एउटा सानो घर बनाई दिएँ। कम से कम एउटा गरिब परिवारलाई बस्ने एउटा ठाउँ भयो।  हावा, पानीबाट जोगिने, ओत लाग्ने ठाउँ भयो। म खुसी छु। सन्तुष्ट छु।

हालसालै मात्र बर्दियामा आगलागीबाट पीडित परिवारको लागि पनि सकेको केही रकम पठाइदिएँ।  म लगायत अरूले पनि पठाएको सहयोग ती आगलागी पीडित परिवारसम्म पुगेको देखेर मनमा खुसी लाग्यो।

सरु सुबेदी बहिनीले सुरु गर्नुभएको तुलसादेवि हरिहर फाउण्डेसनलाई पनि सकेको मद्दत गरिरहेको छु।  यो फाउण्डेसनमा बस्नुहुने गरिब तथा रोगी बुवा, आमा, बालबालिकाहरूको पोषणको लागि चाहिने दूध खर्च महिनाको रु १५ हजारको दरले एक वर्षको लागि गत वर्ष भुक्तान गरेँ। यो वर्षको लागि भने एक जना विद्यार्थी एक वर्षको लागि बोर्डिङ स्कुलको ट्युसन फी को लागि रु. ४५ हजार पठाई दिएँ। यी बालबालिकाहरू दुःखी परिवारका हुन्। यिनीहरूलाई राम्रो शिक्षा दिन पाए यिनीहरूको भविष्य बन्छ।

कसैलाई दुःख परेको मैले सुने भने म सकेको मद्दत गरिदिन्छु, आफ्नै पारिवारिक खर्चमा कटौती गरेर भए पनि।

विदेशमा बसेर पनि, आफूले सके जति, आफ्नो आम्दानीले भ्याए जति, आफ्ना देशवासीहरूलाई निस्वार्थ सहयोग गर्न पाउँदा मनमा शान्ति मिल्छ। हर्ष वृद्धि हुन्छ।

सम्बन्धित सबैमा धन्यवाद।