कवितामाथिको पहिलो रियालिटी सो “द पोइट आइडल”सँग सम्बन्धित व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रममा आज भने आइडलकी विजेता नीलम गुरुङसँगको कुराकानी राख्नेछु । पोइट आइडलको भोटिङ राउन्ड अर्थात् उत्कृष्ट १४ मा भारतीय नेपाली साहित्यबाट दुई जना कविहरू पल्लविब (दार्जिलिङ) र नीलम गुरुङ (सिक्किम) पुग्नु भएको थियो । आइडलको भोटिङ राउन्ड सुरु भएको पहिलो हप्ता नै कवि नीलम रेडजोन अर्थात् बटम टुमा पर्नुभएको थियो । “आशु कवि राउन्ड”मा रोल्पाका कवि युग सर्वनामलाई पराजित गरेपछि कवि नीलमको यात्रा निरन्तर अघि बढ्यो । त्यसपछि उहाँ एक पटक पनि रेडजोनमा नपरी फाइनलसम्म पुग्नु भयो । भोटिङका आधारमा सबैभन्दा कम भोट प्राप्त गर्ने दुई जना कवि बटम टुमा पर्ने गरेका थिए । आफ्नो क्षेत्रको कवि सुरुमै आइडलबाट आउट हुन लागेको देखेर सिक्किम यसरी जुरमुरायो कि कवि नीलमलाई फाइनलमा मात्रै पुर्याएन उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल भयो । स्रष्टा

सर्जकलाई कस्तो प्रेम गर्नु पर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण सिक्किमले आइडलको दौरानमा देखाएको छ । कवि नीलमप्रति  सिक्किमले गरेको सम्मान, देखाएको प्रेम साँच्चै नै लोभलाग्दो थियो र छ पनि । यसका लागि सिक्किमलाई धन्यवाद भन्नै पर्छ ।

आइडलको विजेता बने लगत्तै मैले कवि नीलमसँग अन्तरवार्ता गर्ने कोसिस नगरेको पक्कै होइन। तर उहाँको अधिक व्यस्तताले गर्दा बल्ल अहिले आएर कुराकानी गर्ने मौका मिलेको छ । पोइट आइडलको अनलाइन मिडिया पार्टनर साहित्यपोस्ट हुनु अनि यसको विजेताको अन्तर्वार्ता साहित्यपोस्टमा नआउनु, यो अलिक ठिक नहोला कि ? भन्ने लागेर ढिलै भए पनि मैले उहाँसँग कुराकानी गर्ने जमर्को गरेको छु  । “हिरोको पालो अन्तिममा आउँछ” भनेको पनि सायद यही होला । ढिलै भए पनि कुराकानीको केन्द्रबिन्दु चाहिँ पोइट आइडल नै रहेको छ । कुराकानी सुरु गर्नुभन्दा पहिले उहाँको बारेमा थोरै केही भनौँ होला ।

कवि नीलमको जन्म ११ नोभेम्बर सन् १९९१ मा सिक्किमको गान्तोकमा भएको हो । आमा बसुन्धारा गुरुङ र बुबा दिलिप गुरुङकी उहाँ जेठी छोरी हुनुहुन्छ । बुबा दिलिप गुरुङ चर्चित हाँस्य कलाकार हुनुहुन्छ । जसलाई “सिक्किमे हमजाएगा” भनेर पनि चिनिन्छ । नपत्याए “सिक्किमे हमजाएगा” भनेर युट्युब र गुगलतिर खोज्नुस् उहाँका बारेमा थुप्रै सामग्रीहरू भेट्न सक्नु हुनेछ । बुबाको यो गुण छोरी नीलममा पनि सरेको छ । उहाँ कविता लेखनसँगै “स्ट्याण्डअप कमेडी” पनि गर्नुहुन्छ । नेपालीमा स्नातक गर्नु भएकी कवि नीलम पेशाले शिक्षिका हुनुहुन्छ ।  गान्तोकमा रहेको टाशी नामग्याल अकादमी पाठशालामा उहाँले कक्षा १० सम्मका विद्यार्थीहरूलाई नेपाली विषय पढाउनु हुन्छ ।

सन् २००७ अर्थात् पछिल्लो १६ वर्षदेखि कवितासँगको यात्रामा रहेको बताउने कवि नीलम चाँडै नै कृति प्रकाशनको तयारीमा रहेको जानकारी गराउनु हुन्छ । विद्यालयमा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आएकोले त्यसले आफ्नो आत्मविश्वास बलियो बनाउँदै लगेको र दार्जिलिङ तथा सिक्किममा हुने विभिन्न कविता प्रतियोगिताहरूमा भाग लिने गरेकोले पनि कविताको राम्रो अभ्यास गराएको उहाँ अनुभव सुनाउनु हुन्छ । कवितासँगै उहाँ गीत पनि लेख्नु हुन्छ र गायनमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । उहाँले  ‘आरोग्य’ र ‘नाय्टमेर्यस्’ म्युजिक ब्याण्डका लागि थुप्रै गीतहरू लेखिसक्नु भएको छ । उहाँ नाटक लेखनमा पनि कहिलेकाहीँ कलम चलाउने गर्नुहुन्छ । उहाँद्वारा लिखित

नाटक ‘हाम्रो संस्कार हाम्रो संस्कृति’ सिक्किमको NSD ले हालैमा मञ्चन गरेको थियो ।  पोइट आइडलको विजेता बनेसँगै कवि नीलमलाई “भिम दाहाल निर्माण युवा पुरस्कार” बाट सम्मान गर्ने घोषणा गरिएको छ । निर्माण प्रकाशनले स्थापना गरेको सो पुरस्कार  जुन १० तारिख शनिवार  गान्तोकमा एक कार्यक्रमको आयोजना गरी  वितरण गरिएको थियो ।

“कविता शब्दहरूको सिम्फनी हो, एक मन्त्रमुग्ध नृत्य जहाँ भावनाहरूले फन्को लिन्छन् र विचारहरूको उतारचढाव हुन्छन्। यो भाषाको क्यालिडोस्कोप हो, मस्तिष्कको आँखामा जीवन्त परिदृश्यहरू चित्रण गर्दै एउटा सानो माकुराले आफ्नो जटिल जालो बुनेझैँ, कविहरूले कविताहरू बनाउँछन् जसले आत्माको क्षणिक साउतीहरू कब्जा गर्छन् । कविताको क्षेत्रमा, शब्दहरू प्वाँख बन्छन् जसले हामीलाई कल्पनाको पखेटामा बोक्छ, ईथरको उचाइहरूमा उचाल्छ र मानव अस्तित्वको गहिराइमा डुबाउॅंछ । यो भाषाको कीमिया हो, साधारण वाक्यांशहरूलाई गहन अर्थको सुनौलो डलामा रूपान्तरण गर्दछ। प्रत्येक पङ्क्ति एक कलिलो ब्रशस्ट्रोक हो ।” उहाँ भन्नुहुन्छ ।

अब लागौँ पोइट आइडलसँग सम्बन्धित रहेर यसकी विजेता कवि नीलम गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ :

कवितामाथिको पहिलो रियालिटी सो “द पोइट आइडल”को विजेता बन्नुभएको छ । यसका लागि बधाई पनि छ । कस्तो लागिरहेको छ ? भनेर त म सोध्दिन । तर उपाधि पाइसकेपछि तपाईंको जीवनमा के कस्ता परिवर्तन भइरहेका छन् ? त्यो चाहिँ सुनौँ न बरु ।

– पोइट आइडलको विजेता भएपछि मेरो जीवनमा एकदमै सुनौलो र मिठो परिवर्तन आएको छ । किनभने मलाई यहाँ सबैले चिन्नुहुन्छ । एकदमै माया गर्नुहुन्छ र आदर सत्कार पनि  गर्नुहुन्छ । साथै उहाँहरूले एउटा अपेक्षा पनि राख्नु भएको छ । उहाँहरूको आँखामा एउटा ठुलो अपेक्षा देख्छु कि अब मैले मेरो जीवनलाई कस्तो पाराले अगाडि बढाउँछु, कविताको क्षेत्रमा कस्तो खाले योगदान दिनेछु भन्ने उहाँहरूको आँखामा नै त्यो अपेक्षा झल्केको म देख्दछु । विशेष गरी मेरा विद्यार्थीहरू ममाथि एकदमै आशावादी भएर बसेका छन् । किन भने म नेपाली शिक्षिका पनि हो । पोइट आइडल जितिसकेपछि उनीहरूको नेपाली भाषाप्रतिको माया अझै बढेर गएको छ । मेरा विद्यार्थीहरूले पनि कविता लेख्न थालेका छन् । खुसी लाग्छ । अब मैले यो यात्रालाई कसरी निरन्तरता दिनेछु भन्ने एउटा ठुलो चुनौती पनि ममाथि आइपरेको छ ।

पोइट आइडलको विजेता भइसकेपछि यस विषयमा तपाईंसँग कुराकानी गर्न मैले निक्कै समय कुर्न पर्यो । बल्ल आएर पालो आयो । आइडलको विजेता बनेपछि निक्कै नै व्यस्त हुनु भयो है ?

– हजुर एकदमै व्यस्त नै भयो जीवन । तर उपलब्धिमूलक रूपमा व्यस्त भइयो । धेरै कार्यक्रम सम्मान समारोह, कवि सम्मेलन तथा अन्तर्वार्ता इत्यादितिर म व्यस्त भएँ र त्यो व्यस्तता अहिले पनि कायमै छ । सिक्किम, दार्जिलिङ, कालिम्पोङ लगायत ठाउँकाले मलाई रुचाइदिनु भएको छ । बोलाउनु हुन्छ, मेरा प्रतिक्रियाहरू लिनु हुन्छ । आफ्ना अनुभवहरू सार्वजनिक गर्नका लागि बोलाउनु हुन्छ । पोइट आइडल जितिसकेपछि जीवनले जस्तो मोड लिएको छ एकदमै मिठो र सुनौलो रहेको छ । त्यही हो म एकदमै व्यस्त भएँ । म एकदमै खुसी पनि छु । तर पोइट आइडल हुनुभन्दा अघिको व्यस्तता र अहिलेको व्यस्ततामा एकदमै फरक छ ।

पोइट आइडलको भोटिङ राउन्ड सुरु हुने बित्तिकै सुरुमै तपाईं रेड जोनमा पर्नु भएको थियो । त्यसदेखि यता एक पटक पनि रेड जोनमा नपरी सिधै फाइनलमा पुग्नु भयो । फाइनलमा प्रवेश गर्दै गर्दा नै “मलाई त भोटको राम्रो साथ छ, उपाधि त मेरै हो” भन्ने लागिसकेको थियो ?

– साथ एकदमै राम्रो थियो । सुरुमै म रेड जोनमा पुगेपश्चात् चाहिँ  यहाँ सिक्किममा पनि धेरै जनालाई त्यो डर भयो । कविता सुन्दै गएपछि उहाँहरूले मेरो कविता पनि मन पराउन थाल्नुभयो । हुन त पहिलेदेखि नै उहाँहरूले मलाई कवि भनेर चिन्नुहुन्थ्यो । तर जब त्यो “हामी विदेशी होइन, ओ काठमाडौँ” भन्ने मेरो कविता सार्वजनिक भयो तब सिक्किममा पोइट आइडलको लहर अझ सुरु भयो । काठमाडौँमा पनि मलाई “तमु ह्युल छ्योजदी”,  “गुरुङ राष्ट्रिय परिषद काठमाडौँ”ले एकदमै डर लाग्दो सपोर्ट गर्नुभयो । एकदमै धेरै साथ दिनु भयो । मेरो अनुमानका हिसाबले आम मानिसहरूबाट पनि एकदमै राम्रो भोट आएको थियो । तर मलाई जित्छु जस्तो चाहिँ लागेको थिएन ।

किनभने मेरा समकालीन कवि साथीहरूलाई पनि एकदमै राम्रो सपोर्ट थियो । दार्जिलिङबाट पल्लविबलाई पनि एकदमै राम्रो साथ मिलिरहेको थियो । मलाई लाग्थ्यो कि कतै पल्लविबले पो जित्ने हो कि ? भनेर । कवि न्याथन रायनलाई पनि राम्रो साथ थियो । सबैभन्दा खुसीको खबर चाहिँ के थियो भने कविता समाज समक्ष पुग्दै छ भन्ने हामीले पुष्टि गर्न सक्यौँ । मलाई पनि एकदमै धेरै साथ दिएको हुनाले जित्छु कि ? भन्ने पनि लागेको थियो बिचमा । सिक्किमबाट एउटा टिम नै काठमाडौँ आएको थियो । त्यो देखेर मैले नै जित्छु कि ? भन्ने मानसिक रूपमा   साथीहरूले सङ्केत चाहिँ दिइसकेका थिए र मलाई आशा पनि थियो ।  मानसिक रूपमा तयार पनि थिएँ कि यदि मैले जितिन भने पनि म खुसी नै हुनेछु । चाहेको यति नै हो, मान्छेले चिनोस् भन्ने थियो र चिने पनि । कविता पनि समाजसम्म पुग्यो । योभन्दा ठुलो जित अरू केही होइन भन्ने मेरो मनमा पहिलेदेखि थियो ।

सुरुमै आफू रेड जोनमा पर्दै गर्दा “पोइट आइडलमा मेरो यात्रा यहीँसम्म मात्र रहेछ कि क्या हो ?” भन्ने चाहिँ लागेको थिएन ?

– सुरुमै रेड जोनमा पर्दा  पोइट आइडलमा मेरो यात्रा यहीँसम्म रहन्छ कि क्या हो ? भन्ने चाहिँ  मलाई एकदमै भएको थियो । किनभने हरेक चोटि जब रेड जोनको घोषणा हुन्थ्यो, तब मलाई लाग्थ्यो कि ला ! यसपालि म पो जान्छु कि ? भन्ने भइरहन्थ्यो । डर लागिरहन्थ्यो । किन भने कसले कति भोट प्राप्त गरेको छ भन्ने कुराको हामीलाई कुनै अनुमानै हुँदैन थियो । आफ्नै लाटो हिसाब मात्र गरिन्थ्यो । तर ढुक्कका साथ भन्न सकिँदैन थियो कि म सेफ हुन्छु भनेर  ।

त्यसकारण हरेक पटक रेड जोनको घोषणा हुँदै गर्दा यसपालि म आउट हुन्छु कि भन्ने चाहिँ लागिरहेकै हुन्थ्यो । यदि आउट भइहाल्यो भने जाने बेलामा के भन्ने ? त्यसको पनि तयारी दिमागमा भइरहेको हुन्थ्यो । धन्यवाद त दिनै पर्छ । त्यसका लागि के कसरी राम्रो कुरा भनेर जाने होला भन्ने पनि मनमा चलिरहेको हुन्थ्यो । म मात्रै होइन हामी सबैले नै एक किसिमले त्यसको तयारी गरिरहेका हुन्थ्यौँ । सुरुमै रेड जोनमा पर्दै गर्दा म निराश पनि भएँ उसो त । सिक्किमबाट यत्रो काठमाडौँसम्म आइयो । सुरुमै आउट भएर गएँ भने त मेरो विद्यार्थी र मेरो समाजमाथि के कस्तो असर पर्छ होला भन्ने डर पनि थियो मनमा ।

फाइनल प्रवेश गर्दै गर्दा पोइट आइडलको उपाधि तपाईंबाहेक अरू तीन जनामा कसको सम्भावना बेसी देख्नु भएको थियो ?

– सबैभन्दा धेरै जित्न सक्ने सम्भावना भएको पल्लविब थियो । किनभने उसलाई एकदमै धेरै साथ थियो र उसको कविता पनि मिठो, राम्रो थियो । मनलाई नै छुने, समाजलाई  छुने, भुइँ कविता थिए । भुइँ कविता लेख्छ ऊ । आफूलाई पनि ऊ भुइँ कवि हो भन्छ । ऊमाथि ठुलो विश्वास थियो र उसलाई सपोर्ट गर्नेहरूप्रति पनि उसलाई आशा थियो । अर्को चाहिँ थिए न्याथन रायन । पल्लविबपछि न्याथनको सम्भावना किन थियो भने उसले जसरी मेहनत गर्छ चाहे त्यो कविता लेख्न होस, चाहे त्यो प्रस्तुति दिन होस्, कवितालाई कण्ठ गर्न होस, हरेक कुरामा उसले आफ्नो प्राण आहुति गरेर नै काम गर्ने गर्दछ । त्यसरी नै उसलाई भोट गर्नेहरूले पनि लागिपरेर नै गरिरहेका थिए । यी दुई मध्येबाट नै कोही एक जना विजेता बन्छ भन्ने नै लागिरहेको थियो । तर विजेताको रूपमा मेरो नाम उच्चारण गर्दा एक छिन त मैले पत्याउनै सकिन कि मैले जितेँ भनेर । तर पनि जित सबैको भएको छ ।

पोइट आइडलको उत्कृष्ट १४ मा भारतीय नेपाली साहित्यबाट तपाईं र पल्लविब पर्नु भएको थियो । दुवै जना फाइनलमा पुग्नु भयो र उपाधि पनि भारतीय नेपाली साहित्यकै पोल्टामा पर्यो । यताका कविहरू रिसाएनन् ?

– जो चाहिँ साँचो कवि हुन्छ उसले कुनै सिमाना देख्दैन । कुनै राज्य, कुनै ठाउँ, म यहाँको, तँ त्यहाँको भन्ने कुरा देख्छ जस्तो मलाई चाहिँ लाग्दैन । पोइट आइडलमा भारतबाट हामी दुई जना पल्लविब र म थियौँ । त्यसमा उपाधि मैले हासिल गर्दै गर्दा अन्य कविहरू रिसाए जस्तो मलाई लागेन ।  किन भने धेरै बधाईहरू आएका थिए नेपालबाट पनि । सिक्किमबाट जति माया पाइरहेको थिएँ, नेपालबाट पनि उत्तिकै माया पाइरहेको थिएँ । यी कुराहरू देखिरहँदा, बुझिरहँदा यो नेपालको कवि, यो भारतको कवि भन्ने चाहिँ  हुन्छ होला जस्तो मलाई लाग्दैन । किन भने कवि कवि हो   कविको जात, धर्म, राष्ट्रियता, लिङ्ग आदि इत्यादि केही पनि हुँदैन । ऊ नितान्त रूपमा एउटा कवि मात्र हुन्छ । त्यसकारण मैले उपाधि पाएकोमा वास्तविक कविहरू चाहिँ रिसाए जस्तो लागेन ।

कुनै रियालिटी साेको विजेता बन्नु आफैँमा सुन्दर कुरा हो र ठुलो खुसीको कुरा पनि । आइडलको भोटिङ राउन्डमा पुगेदेखि नै तपाईंलाई जिताउन सिङ्गो सिक्किम नै लागिपरेको थियो । यसलाई कसरी हेर्नुहुन्छ ?

– सिक्किम अलिकति ढिलो नै आइपुग्यो भनौँ न । मलाई जीवनले भारतदेखि नेपालसम्म १५ मिनेट अगाडि हुत्याइदियो । सिक्किमभन्दा १५ मिनेट अगाडि म मेरो जीवन बाँचिरहेको थिएँ । जब म सुरुमै बटम टुमा परेँ तब तमु ह्युल छ्योजदी, गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले मलाई सहयोग गर्यो  । दुई ओटा राउन्ड नितान्त उहाँहरूले नै अगाडि बढाइदिनु भयो । सिक्किममा हामीलाई विदेशी भनेर आरोप लाग्ने गर्छ । त्यो आरोपले मेरो पनि कवि हृदय दुखेको हुनाले मैले “ओ काठमाडौँ” भन्ने कविता आइडलको मञ्चमा वाचन गरेको थिएँ । त्यो कविता एकदमै भाइरल हुन गयो र त्यसले पोइट आइडल र मेरो कवितामाथि सिक्किमको ध्यानाकर्षण गरायो । त्यसपछि भने सिक्किमले निरन्तर सहयोग गर्यो ।

अहिले उपाधि जितिसकेपछि पनि सम्मान दिन होस, अथवा कार्यक्रममा निमन्त्रणा दिन होस्, एकदमै माया, आदर सत्कार गरेर मलाई स्याहारिरहेको छ । मेरो काव्य हृदयबाट कविताको प्रस्फुटन भइरहेको छ । चाँडै नै म थुप्रै कविताहरू लिएर म तपाईंहरू समक्ष उपस्थित हुने छु । सिक्किम, नेपाल र नेपाली हामी सबै एकै हो भनेर हेर्छु म । त्यहाँ आइडलको मञ्चमा “अन्तर्राष्ट्रिय” भन्ने शब्द मात्रै थियो । तर मलाई कहिल्यै पनि म आफू बाहिरको भन्ने लागेको थिएन । पोइट आइडलको त्यो एक सय दिन यति मिठो बित्यो कि अब हामी चाहेर पनि त्यो समयमा फर्केर जान सक्दैनौँ । सिक्किम एउटा महान् ठाउँ हो जसले कलालाई चिन्छ र यो कुरा ममार्फत पोइट आइडलको दौरानमा सिक्किमले प्रमाणित गरिदिएको छ ।

सबैको यति धेरै माया, साथ सहयोग  र हौसला पाएर विजेता बन्नु भएको छ । भोलिका दिनमा यो मायालाई जोगाउन नसकिएला कि ? भन्ने पिर पनि हुन्छ बेलाबेला ?

– हो, यो डर मलाई एकदमै लागिरहन्छ जहिल्यै पनि । सबै जनाले मलाई यति धेरै माया, साथ सहयोग, हौसला दिनु भएको छ । पोइट आइडलको उपाधि प्राप्त गर्नुमा उहाँहरूको ठुलो देन छ । सबैको आशीर्वाद मसँग छ । भोलिका दिनमा यो जितलाई निरन्तरता दिइरहन मैले निर्वाह गर्नुपर्ने जुन कर्तव्य छ त्यसलाई पूरा गर्न सक्दिन कि ? भन्ने डर पनि लाग्छ । किन भने म एउटा शिक्षिका पनि भएको नाताले विजेता भइसकेपछि म मात्रै अगाडि आएर, मैले आफूले आफूलाई मात्र, मेरो कवितालाई मात्र पस्किरहन चाहिँ मैले चाहेको छैन अहिले । किनभने ममाथि मेरा विद्यार्थीहरूको ठुलो अपेक्षा छ र मेरो पनि उनीहरूमाथि अपेक्षा छ । हामी दुईको सम्बन्धलाई पोइट आइडलको उपाधिसँगै जोड्न चाहन्छु आगामी दिनहरूमा पनि ।

मलाई प्राप्त भएको माया मेरा विद्यार्थीहरूसँग पनि बाँड्न चाहन्छु । म बाल साहित्यमा पनि केही काम गरिरहेको छु । जुन घरमा बालबालिका छन्, जुन घरमा नेपाली पढ्नु पर्ने नानीहरू छन् ती घरमा मैले लेखेका गीतहरू पुगोस् । मैले पाएको माया त्यसरी म ती सबै बालबालिकाका आमा-बाबालाई फिर्ता दिन चाहन्छु । फर्काउन चाहन्छु, जताउन चाहन्छु र बताउन चाहन्छु कि म तपाईंहरूलाई पनि माया गर्छु भनेर । यसरी नै कतिखेर बोल्दाबोल्दै कविता पनि फुरिपठाउँछ । पोइट आइडलको यात्रा चाहिँ धेरै मिठो थियो । म जीवनमा जति पनि दिनहरू बाँच्छु एउटा साँचो कवि भएर नै बाँच्न चाहन्छु र म हरेक घरमा माया पुर्यान चाहन्छु ।

नेपालका अन्य रियालिटी सोलाई आधार मानेर भन्ने हो भने अपवादबाहेक विजेताहरू बिस्तारै  हराउने चलन खुब छ । तपाईंको हकमा त्यो नहोस् भन्ने हाम्रो कामना छ । तपाईं आफूले चाहिँ कविताको क्षेत्रमा भोलिका दिनमा के कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?

– कविताको क्षेत्रमा मैले सुरुदेखि सुरुवात गर्ने जमर्को कसेको छु । हाम्रो समाजमा अहिले युवामाझ पढ्ने चलन कम छ र लेख्ने कुरा त अहिले नगरौँ नै होला । यो पढ्ने क्रममा नानीहरूले विभिन्न माध्यमबाट अन्य भाषाहरू सिकिरहेका छन् । तर आफ्नै नेपाली भाषा चाहिँ उनीहरूले सिक्नै सकिरहेका छैनन् । एउटा साधारण व्यञ्जन वर्ण र स्वर वर्णको समागम, बाह्रखरीको उत्पत्ति यी केही पनि बुझेका छैनन् ।

म शिक्षिका र कवि दुवै भएर काम गरिरहँदा एउटा ठुलो जिम्मेवारी आइपर्दो रैछ । आगामी दिनहरूमा मैले बाल साहित्यमा काम गर्ने योजना बनाएको छु । मैले व्यञ्जन वर्णको गीत पनि बनाएको छु “लुकामारी” भनेर । त्यसलाई चाँडै नै रेकर्ड गरेर भिडियो सार्वजनिक गर्ने योजना पनि बनाएको छु । त्यसको लागि अहिले कसरत गरिरहेको छु । त्यस गीतलाई अहिले आफ्नो पाठशालामा सिकाइरहेको पनि छु । केही समय लगाएरै भए पनि राम्रो भिडियो निकाल्ने छु । त्यसबिचमा अन्य कार्यक्रमहरू हुने नै छन् । काठमाडौँमा चाँडै नै मेरो कविता कन्सर्ट हुँदै छ । समर भ्याकेसनलाई म एकदमै सकारात्मक ढङ्गले उपयोग गरौँ भन्दै छु । यसरी नै कविताका कार्यक्रमहरूमा तपाईंहरुले मलाई देखिरहनु नै हुनेछ र भोलिका दिनमा यसरी नै अघि बढ्ने योजना बनाएको छु ।

पोइट आइडलको फाइनलमा पुगिसकेपछि र विजेता बनेर फर्किँदै गर्दा सिक्किमले तपाईंलाई जुन किसिमले स्वागत गर्यो, जुन किसिमले सम्मान गर्यो , जुन किसिमको माया देखायो, त्यो साँच्चै नै लोभलाग्दो थियो । “कवि हुनु त सिक्किमको हुनु” भनेर मैले पनि लेखेको थिएँ । स्रष्टा सर्जकलाई सिक्किमले अलिक बेसी माया गर्छ हो ?

– हो, स्रष्टा सर्जकहरूलाई सिक्किमले औधी नै माया गर्छ । किन भने यहाँ जति पनि सर्जकहरू छन्, जसले सिक्किमको प्रतिनिधित्व गरेका छन्, उनीहरूलाई सिक्किमले सधैँ नै सपोर्ट गरिरहेको छ । यसको श्रेय चाहिँ यहाँको सरकारलाई पनि जान्छ । यसलाई तपाईंहरूले राजनीतिक पक्षबाट नहेरिदिनु होला । किन भने मैले भनिसकेँ कि कविको कुनै सीमा हुँदैन भनेर । सिङ्गो संसार नै एउटा समाज हो कविको निम्ति । त्यसैले यस कुरालाई तपाईंहरूले कविताको दृष्टिकोणबाट मात्रै हेरिदिनुहोला । यति बेला सिक्किम सरकारलाई पनि म सम्झिन चाहन्छु र धन्यवाद दिन चाहन्छु । आशय र कारण जे सुकै भए पनि पोइट आइडलको यात्रामा सिक्किम सरकारले मलाई धेरै राम्रो सहयोग गर्यो ।

सिक्किमको कवि हुनु, सिक्किमको नृत्यकार हुनु, सिक्किमको गायक हुनु अथवा भनौँ समग्रमा सिक्किमको सर्जक हुनु भाग्यको कुरा हो । सरकारले धेरै गरिरहेको छ । सिक्किमले जसरी माया गरिरहेको छ अब हामी सर्जकहरूले पनि सिक्किमलाई माया गर्नु पर्छ र त्यसको लागि संस्था नै पनि बनाउन सक्छौँ । त्यसो गर्न सकियो भने एकदमै सुन्दर हुन्छ भन्ने मलाई लाग्छ । सिक्किमको कवि भएर मलाई चाहिँ एकदमै आनन्द आइरहेको छ र म एकदमै मिठो जीवन बाँचिरहेको छु । कविता लेखिरहेको छु । समाजले मलाई कवि भनेर चिनाउने काम गरिरहेको छ । यो कुरालाई एकदमै जिम्मेवारीका साथ अगाडि लानेछु ।

“मलाई यस्तो ठाउँमा पुर्याइदिनु जहाँ म कविता मात्र लेख्न सकूँ” भनेर दार्जिलिङको एक गुम्बामा गएको बेला प्रार्थना पनि गर्नु भएको रहेछ । नभन्दै त्यसो भनेको भोलिपल्टै पोइट आइडलबाट तपाईंलाई फोन आएछ । आस्था र विश्वासले पनि काम गर्दो रैछ है ? कि यो संयोग मात्रै हो ?

– म सिक्किममा जस्तो किसिमको जीवन बाँचिरहेको थिएँ, मलाई एक किसिमले न्यास्रो पनि लागिरहेको थियो । किनभने एकदमै गतिहीन जीवन थियो । स्कुल जाने, स्कुल सकेपछि प्राय: साथीहरूसँग भेटघाट हुन्थ्यो । तर कोही पनि आफ्नो भन्ने थियो जस्तो मलाई लागेन । जसले कविताको कुरा गरोस् । जसले रङ्गको कुरा गरोस् । जसले ताराहरूको, बिम्बहरूको कुरा गरोस् । प्रकृतिको कुरा गरोस् । त्यस्तो खालको साथ नपाइरहेको स्थितिमा सङ्गतसँग पनि न्यास्रो लागिरहेको थियो र मैले बाँचिरहेको जीवनबाट पनि न्यास्रो लागिरहेको थियो । त्यही क्रममा स्कुलकै सहकर्मी साथीहरूसँग दार्जिलिङ घुम्न जाने क्रममा त्यहाँको एक गुम्बामा जाने कुरा भयो । त्यहाँ चाहिँ साँचो हृदयले प्रार्थना गरेको कुरा पूरा हुन्छ भन्ने  सुन्नमा आयो । त्यस बेला म अलिकति लोभी पनि भइपठाएँ कि भन्दा पनि भयो अथवा अलिकति स्वार्थ भावना पनि जाग्यो भनौँ ।

मलाई अलिक कतै टाढा भाग्नु थियो । स्कुलको छुट्टी पनि सुरु हुन लागेको थियो । त्यस गुम्बामा मैले हृदयबाटै यस्तरी प्रार्थना गरेँ कि आँखाबाट आँसु पनि आयो । मैले भनेँ कि हे ईश्वर मलाई यहाँबाट यति टाढा लगिदेऊ जहाँ म मात्र कविता लेख्न सकूँ । त्यहाँ कुनै नियम नहोस् । त्यहाँ कुनै कानुन नहोस् । त्यहाँ कुनै झैझगडा नहोस् । त्यहाँ कुनै अपराध नहोस् । त्यहाँ केवल माया होस् । मात्र कविता होस् । मित्रता होस् । घनिष्ठता होस् । एउटा मिठो परिवर्तन आओस् आफैँमा पनि ।

त्यसरी प्रार्थना गरिरहँदा आनन्द पनि आएको थियो । त्यसपछि म केही पनि अपेक्षा नराखी, पुग्छ पुग्दैन केही नसोची म निदाएँ । लगत्तै भोलिपल्ट पोइट आइडलबाट फोन आयो म छानिएँ भनेर । त्यसरी फोन आउँदा म छाँगाबाट खसेजस्तै भएको थिएँ । यो संयाेग हो कि के हो ? प्रार्थना स्वीकार गरिएको हो कि के हो ? मैले बुझ्नै सकिन । पोइट आइडलको पहिलो दिन जब हामी पल्लविब र म काठमाडौँ पुग्यौँ, त्यहाँ पहिलो पटक कवि मल्लिका खतिवडा बैनीसँग भेट भयो । पछि सबैसँग परिचय भयो । वार्तालाप भयो । त्यसपछि त स्कुल छैन । साथीभाइ छैन । मैले जे प्रार्थना गरेको थिएँ सप्पै पूरा पुग्यो । बस, उठ, खाऊ, कविता लेख, प्रस्तुति देऊ, मान्छेमाझ पुग, एउटा मिठो जिन्दगी बाँचियो ।

अहिले यसरी भनिरहँदा पनि मलाई एकदमै आनन्द आइरहेको छ । त्यसकारण पोइट आइडलका निर्देशक तथा परिकल्पनाकार अमन प्रताप अधिकारी सरलाई धन्यवाद भन्न चाहन्छु । जसले यति सुन्दर कार्यक्रमको आयोजना गर्नुभयो । हामी जस्तो युवा कविहरूलाई साथ सहयोग गर्नुभयो । हाम्रो युवा ऊर्जालाई उहाँले चिन्नुभयो । हाम्रो क्षमतालाई बुझ्नु भयो । त्यसकारण उहाँको चरण स्पर्श गरेर म उहाँलाई सम्झिन चाहन्छु । सबै निर्णायकहरूलाई पनि सम्झिन चाहन्छु । कार्यक्रम सञ्चालक दिव्यदेव दादाले एकदमै राम्रो कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । उहाँको प्रस्तुति र व्यक्तित्व पनि निक्कै मज्जाको थियो । उहाँ एकदमै “हम्बल, डाउन टु अर्थ” मान्छे हो । उहाँबाट पनि थुप्रै राम्रा कुराहरू सिक्यौँ । अन्य १३ जना कविहरूलाई पनि सम्झिन चाहन्छु । जसले एकदमै मिठो परिवर्तन ल्याए मेरो जीवनमा । हृदयलाई छोएर भन्न चाहन्छु, सबैलाई माया छ । सम्पूर्ण जनता, सम्पूर्ण सिक्किमलाई, जस-जसले मलाई भोट गर्नुभयो, साथ सहयोग गर्नुभयो सबैलाई धन्यवाद भन्न चाहन्छु । भन्नुपर्ने कुराहरू धेरै छन् । तर अहिले धन्यवादमै पूर्णविराम गर्न चाहन्छु ।

तपाईंको कविताको एक अंश सापटी लिन मन लाग्यो,

“मान्छे जेमा डुबे नि मर्छ

म तिमीमा डुबेर बाँचेको छु…”

तपाईं साँच्चै सुन्दर/राम्री पनि हुनुहुन्छ । पोइट आइडलको विजेता बनिसकेपछि माथि कवितामा भनेजस्तो भन्नेहरूको सङ्ख्या झन् बेसी बढेर गयो होला है ?

– पोइट आइडलको विजेता बनेपछि त यो कविताको हरफ जुन तपाईंले उल्लेख गर्नुभयो त्यसो भन्नेहरूको सङ्ख्या बढेर त हैन बरु हराएरै गयो । हाहा…। किनभने एउटा नारी अलिकति सशक्त भएपछि, अलिकति इन्डिपेन्डेन्ट, अलिक कन्फिडेन्ट भइसकेपछि पुरुषहरू सायद असुरक्षित महसुस गर्छन् कि के हो ! त्यस बारेमा त मैले अहिले केही सोचेको त छैन । सिङ्गल नै थिएँ, सिङ्गल नै छु । यदि त्यही सोध्नु भएको हो भने चाहिँ । हाहा..! त्यही छ, जस्तो थियो पहिला, त्यस्तै छ । जस्तो थिएँ, त्यस्तै छु । जीवन चलिरहेको छ । अब कविताको यात्रालाई अघि बढाउने प्रसङ्गमा नै म जुटेकी छु । त्यस विषमा चाहिँ अलिक पछि नै सोचौँला ।

साहित्यपोस्टसँग कै अन्तरवार्तामा पोइट आइडलका निर्देशक अमन प्रताप अधिकारीले, “नीलमका माध्यमबाट नेपालसँग पुनः एक पटक सिक्किमका नेपाली जोडिएका छन्” भनेर भन्नुभएको थियो । उहाँले भनेजस्तै साँच्चै जोडिएका हौँ हामी ?

– हो, किनभने सिक्किममा जब हामीलाई विदेशी भनेर लाञ्छना लगाइयो यो कुरा जब नेपालमा पनि सबैले चाल पाए, सबै जनाको मन दुखेको कुरा मैले पनि बुझेँ  । मलाई नेपालमा यति धेरै माया मिल्यो कि म सिक्किमको हो भनेर भेदभाव गरेको मैले कहिल्यै पनि  महसुस गरिन । जब सिक्किम सरकारका प्रतिनिधिसहित ३० जनाको टोली नेपाल आयो, उहाँहरूले पनि नेपालको माया पाउनु भयो । मैले पनि ४ महिनाको अवधिमा त्यति नै माया पाएँ नेपालबाट । आफ्नो चेलीलाई नेपालले पनि माया गर्दै छ भन्ने थाहा पाउँदा सम्पूर्ण सिक्किम नेपालप्रति आभारी भएको थियो र अहिले पनि आभारी छ । यसरी कविताको कुनै सिमाना हुँदैन भन्ने कुरा पनि पुष्टि भयो ।

त्यसैकारण उपाधि पाइसकेपछि मैले साहित्यको माध्यमबाट हाम्रो सिमाना मेटियो भनेर पनि भनेको थिएँ । घोषणा नै गरिदिएको  थिएँ । सिक्किम र नेपालको माया जसरी बलियो हुँदै गयो, जसरी नेपालका दर्शकहरूले पनि मलाई भोट गर्नुभयो, माया दिनु भयो, बाटोमा भेट्दा आफ्नै नेपालको छोरी जसरी व्यवहार गर्नुभयो यी कुराहरूले गर्दा नै मैले त्यो सिमाना मेटिएको कुरा भन्ने आँट आयो । अब चाहिँ नीलमलाई नेपालकै बुहारी बनाउनु पर्छ भन्ने खालका प्रतिक्रियाहरू पनि पाएको थिएँ । धेरैले जिस्काउनु पनि भएको थियो । यी तमाम कुराहरूले गर्दा मलाई एकदमै खुसी लाग्यो । निर्देशक अमन प्रताप अधिकारी सरहरू अस्ति भर्खर सिक्किम आउनु भएको थियो । उहाँहरूलाई पनि सिक्किममा धेरैले स्वागत गर्नुभएको थियो । उहाँहरूको आगमनले धेरै जना खुसी हुनुभएको थियो । यसरी नेपाल र सिक्किमको घनिष्ठता पोइट आइडलको माध्यमबाट एकदमै बढेर गयो र म औधी-औधी खुसी छु । सबैभन्दा ठुलो उपलब्धि र सबैभन्दा ठुलो  जित मध्ये यो पनि एउटा हो ।

पोइट आइडलमा हरेक हप्ता एउटा विषयवस्तु दिएर कविता लेख्न लगाइन्थ्यो ।  “आशु कवि राउन्ड”मा पनि विषय दिएर कविता लेख्न लगाइन्थ्यो । त्यसको साटो आफैँले पहिले लेखिसकेका अथवा आफ्नै इच्छा अनुसार त्यति बेला लेखेका कविता प्रस्तुत गर्न पाएको भए अझै राम्रो हुन्थ्यो होला भन्ने पनि लाग्यो कहिलेकाहीँ ?

– पोइट आइडलमा जब यहाँबाट यात्रा तय भयो तब मैले जाने बेलामा नै १० ओटा जति कविता लिएर गएको थिएँ । किन भने मलाई कार्यक्रमको फर्म्याट थाहा थिएन । पहिले नै लेखेका कविताहरू वाचन गर्न पाए राम्रै हुन्थ्यो होला भन्ने पनि लाग्थ्यो । किन भने धेरै समय लगाएर लेखिएका कविताहरू लिएर गएको थिएँ  । अझै केही सम्पादन पनि गरेको थिएँ  ।

तर त्यहाँ पुगेर हामीले विषय पाउन थाल्यौँ, सुरुसुरुमा अलिक अप्ठ्यारो पनि लाग्थ्यो । किनभने दुई दिनमा कविता लेखेर, प्रस्तुति समेत जोडजाड गर्दा हामीले एक हप्ताको समय पाउने गर्थ्यौं । सुरुसुरुमा अलिक गाह्रो पनि भयो । दिइएको विषय वस्तुमा कसरी संलग्न रहने भन्ने कुरामा पनि अन्योलमै परेका थियौँ  । तर कार्यक्रम अगाडि बढ्दै जाँदा त्यही फर्म्याट नै हामीलाई एकदमै राम्रो लाग्न थाल्यो । किनभने जुन विषय बस्तुमा कविता लेखिन्थ्यो पहिला अथवा मैले जुन विषयमा कविता लेख्थेँ त्यो एउटा निश्चित वाद अथवा निश्चित दृष्टिकोणभित्र रहेर लेखिन्थ्यो । जस्तो म नारीवादी धारणाका कविताहरू धेरै लेख्ने गर्थें ।

तर पोइट आइडलको फर्म्याटअनुसार जसरी विषय वस्तुहरू दिइँदै गइयो, मैले पनि आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन सकेँ । आफूले आफूलाई चुनौती दिन सकेँ । अन्य विषयहरूमा पनि म कविता लेख्न सक्दो रैछु र एउटा कवि भएर कहिल्यै पनि एउटा वादमा मात्रै अडिन हुँदैन रैछ, एउटा सिद्धान्तमा मात्रै अडिनु हुँदैन रैछ, धेरै विषयहरू छन्, धेरै कुराहरू समाजमा छन् र त्यसलाई हामीले हाम्रो कवितामा पनि उतार्न सक्नु पर्छ, यो क्षमता एउटा कविमा अनिवार्य हुनै पर्ने रैछ भन्ने कुराको बोध भयो । आइडलको भोटिङ राउन्डको पहिलो हप्ता नै म “आशु कवि राउन्ड” अर्थात् बटम टुमा मा परेको थिएँ । त्यति बेला लागेको थिएन कि ३० मिनेटको अवधिमा म कविता लेख्न सक्छु भनेर । तर “म आमा बन्न चाहन्न” भन्ने कविता लेखेँ आधा घन्टा भित्रमा ।

त्यसले मेरो पनि आँखा उघारिदियो । मेरो क्षमताको पनि परीक्षण भयो त्यहाँ । त्यसमा म उत्तीर्ण पनि भएँ । त्यसकारण कविता लेख्नका लागि विषयवस्तु दिने पोइट आइडलको त्यो फर्म्याटलाई म हृदयबाटै नमन गर्न चाहन्छु । त्यसले गर्दा मेरो कलममा ठुलो पखेटा पलायो र यसलाई निरन्तरता दिने जमर्को पनि कसेकी छु ।

दिइएको विषयवस्तुमाथि कविता लेख्न जति गाह्रो हुन्थ्यो त्यो भन्दा गाह्रो काम आफ्नो लागि भोट माग्न हुन्थ्यो भनेर पोइट आइडलको भोटिङ राउन्डमा पुग्नु भएका अन्य कविहरूले भन्नुभएको छ । तपाईंको लागि चाहिँ कत्तिको सकसपूर्ण रह्यो यो भोट माग्ने कुरा ?

– कविताको विषयवस्तुका बारेमा त मैले माथि नै कुरा गरिहालेँ  । भोट माग्ने प्रक्रियामा चाहिँ सुरुमा मेरो धारणा कस्तो थियो भन्दा प्रस्तुति राम्रो छ भने जनता आफैँले भोट गरिहाल्नु हुन्छ भन्ने खालको थियो । जसले गर्दा मैले जतिसक्दो आफ्नो प्रस्तुतिमै ध्यान दिइरहेको थिएँ । तर जब पहिलो पटक नै म बटम टुमा परेँ त्यसपछि मात्रै भोटको प्रक्रियामा मेरो ध्यानाकर्षण भयो । भोटका लागि आफूले पनि जमर्को कस्नु पर्ने रैछ, आफूले पनि दुख गर्नु पर्ने रैछ, आफूले पनि अलिकति कसरत गर्नु पर्ने रैछ भन्ने बुझेँ । त्यसपछि म पनि यता उत्रिएँ र मैले पनि यताउति भोटका लागि सहयोग मागेँ । फेसबुकमा पोस्टहरू गरेँ । सिक्किममा पनि मैले सहयोग मागेँ । सुरुमा चाहिँ मेरो निम्ति  भोट गर्न नेपालबाट नै लागिपर्नु भयो ।

नेपालको  “तमु ह्युल छ्योजदी”  गुरुङ राष्ट्रिय परिषद् काठमाडौँका सदस्यहरू हामी बसेको ठाउँ उत्पला क्याफेमै आएर कार्यक्रमको फर्म्याट बुझ्नु भयो । भोटका लागि के कसो हो हिसाब गर्न थाल्नुभयो । पहिलो दुई राउन्ड त चोखो नेपालबाटै सहयोग मिल्यो । यसरी जाने क्रममा भोटको कारणले हामी प्रतिस्पर्धीहरू बिचमा पनि तनाव बढेर गएको थियो । कार्यक्रम अघि बढ्दै जाँदा पहिलो दुई-तीन ओटा राउन्डमा चाहिँ मैले धेरै नै कसरत गर्नुपर्यो । पछि पोइट आइडलको बारेमा जब सिक्किमले सूचना पायो, त्यसपछि भने सिक्किमबाट पनि लागिपर्नु भयो । त्यसपश्चात् चाहिँ भोटिङ राउन्डमा मलाई अलिक सहज हुँदै गयो । जसले गर्दा मैले पूर्णपुरमा प्रस्तुतिमै ध्यान दिन पाएँ ।

तपाईंको नजरमा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के हो जस्तो लाग्छ ?

– यस कार्यक्रमलाई डिजाइन गर्ने अमन प्रताप अधिकारी सरको जुन दृष्टिकोण छ, जुन पारदर्शिता छ, त्यो चाहिँ मलाई एकदमै मन परेको हो । किन भने प्रथम चोटि  जब पोइट आइडलको बारेमा सुनेँ, कविहरुको बारेमा पनि सोचिदिने र यत्रो ठुलो दुख गर्ने कोही रहेछ भन्ने कुराले म एकदमै खुसी भएँ । म आत्तिएको पनि थिएँ । हामी सबै जनाले यस्तो भव्य कार्यक्रम होला भनेर सुरुसुरुमा चिताएको पनि थिएन । सोचेको पनि थिएन । सम्पूर्ण कार्यक्रमलाई मध्यनजर राखेर भन्नुपर्दा सबैभन्दा सुन्दर पक्ष  मलाई बटम टु अर्थात आशु कवि राउन्ड नै लाग्छ ।

आशु कवि राउन्ड चाहिँ पोइट आइडलको आत्म हो भन्छु । किन भने भोटको कुरालाई लिएर मान्छेहरूले पोइट आइडलमाथि औँला उठाइरहेका थिए । कवितामा पैसा मिसायो भनेर सुरुसुरुमा धेरैले लाल्छना लगाइरहेका थिए । तर जब दुई कवि भोटको अभावमा बटम टुमा उभिएका थिए, ती उभिएका कविलाई पनि अन्तिम पटक मौका दिइयो र कविताकै माध्यमबाट हामी फेरि कार्यक्रममा आउन सफल भयौँ । म आफैँ पहिलो पटक बटम टुमा परेँ र आज विजेता भएको नाताले पनि यो कुरा भनेको हुँ । यदि आशु कवि राउन्डमा मैले त्यो मौका नपाएको भए आज यो दिन देख्न पाउने थिइन र यति धेरै भव्यतामा म पर्ने थिइन । खाली भोटको मात्रै कुरा भएको भए चाहिँ हामीलाई पनि कताकता दुख लाग्थ्यो होला । किन भने सुरुमा त हामीले भोटका लागि त्यति जमर्को कसेका थिएनौँ ।

त्यसकारण आशु कवि राउन्ड चाहिँ पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष हो । नितान्त रुपले कविले कविताको माध्यमबाट नै अघि बढ्न पाए । उदाहरण स्वरुप म कैलालीकी कवि मुनु अधिकारीलाई सम्झिन चाहन्छु । उहाँ सबैभन्दा धेरै चार पटक बटम टुमा परेको कवि हो । राम्रो कवि भए पनि उहाँले भोट त्यति पाउनु भएन । तर हरेक पटक रेडजोनमा पर्दा  सुन्दर-सुन्दर कविता लेखेर उहाँले आफूलाई जोगाउनु भयो । नितान्त रूपमा उहाँ कविताकै बलले अघि बढ्नु भएको थियो ।

लामो समयसम्म पोइट आइडलको क्लोज क्याम्पमा रहनु भयो । त्यहाँको बसाइ चाहिँ कस्तो रह्यो समग्रमा ?

– लामो समयसम्म हामी पोइट आइडलको क्लोज क्याम्पमा बस्यौँ । काठमाडौँको बौद्ध स्थित उत्पला क्याफेमा बसेका थियौँ । सबै १४ जना कविहरूलाई त्यहीँ राखिएको थियो । सुरुसुरुमा एकदमै रमाइलो भयो । किन सुरुसुरुमा भने त ? भन्दा त्यतिबेला भोटको अथवा अन्य कुनै किसिमको  तनाव थिएन । गीतहरु गाउने गर्थ्यौँ । रमाइलो गर्थ्यौँ । आ-आफ्ना कुरा सुनाउथ्यौँ । जसले गर्दा अन्य १३ जना कविहरुको जीवनशैली बुझ्न पाउँदा, जान्न पाउँदा त्यो आफैँमा कविता फुरे जस्तो लाग्थ्यो । किन भने म जुन ठाउँमा बसिरहेको छु सिक्किम त्यो आफैँमा सम्पन्न ठाउँ हो । यहाँ मान्छेहरूले धेरै दुख पाउँदैनन् । पानी, बत्ती इत्यादि सबै कुरा छ । यहाँका मान्छेहरू विदेश पनि त्यति जाँदैनन् ।

दार्जिलिङबाट पल्लविब थियो । उहाँको र मेरो जीवनशैली पनि भिन्न छ । हामी सामाजिक सञ्जालमा जोडिएका थियौँ  । कहिलेकाहीँ कवि सम्मेलनहरूमा भेट हुन्थ्यो । उहाँसँग पनि  घनिष्ठता बढ्यो र अन्य कविहरूलाई पनि नजिकबाट चिन्ने मौका मिल्यो । सबैसँग मित्रता बढ्दै गयो । हामी एक अर्कामा प्रतिस्पर्धी थियौँ तर हाम्रो सम्बन्ध राम्रो थियो र त्यो अहिले पनि निरन्तर छ । क्लोज क्याम्पको सबैभन्दा स्मरणीय कुरा गर्नुपर्दा उत्पला क्याफे पूर्वरूपमा शाकाहारी हो, यति लामो समयसम्म मासु नखाई कसरी बस्ने होला ? भन्ने चर्चा हुन्थ्यो । बिस्तारै हामी आसपासका क्याफेतिर जान थाल्यौँ । कहिल्यै पनि बिर्सन नसकिने कुरा चाहिँ किमा नुडल अनि अर्को चाहिँ सेकुवा । साँझपख हामी बाहिर जान्थ्यौँ ती कुरा खानलाई ।

यसरी ती दिनहरू बिते । अहिले पनि एकदमै याद आउँछ । त्यो तीन-चार महिना नितान्त कवि भएर बाँचियो । कविहरूसँग बाँच्न पाइयो । बौद्धमै बसेर हामी कहिले मिक्लाजुङ पुग्यौँ, कहिले भोजपुर पुग्यौँ । यसरी कहाँ-कहाँ पुग्यौँ । परिवार जस्तो भएर बस्यौँ । धेरै सुन्दर क्षणहरू बितायौँ हामीले त्यहाँ ।

पोइट आइडल हुँदै छ भनेर पहिलो पटक सुन्दा तपाईंको पहिलो प्रतिक्रिया के थियो ?

– पोइट आइडल ? कविताको रियालिटी सो ? यो कस्तो नमिल्ने कुरा । म आफैँ कवि भएर पनि हाम्रो मस्तिष्कमा एउटा कुरा यति साह्रो  गाभिएछ कि कविहरूले पनि यस्तो सुन्दर ढङ्गमा, यस्तो भव्य ढङ्गमा कविता वाचन गर्न पाउँछौँ, संसारले कविता सुन्न थाल्छ, समाजमा कविता पुग्छ भन्ने कुरामा जहिले पनि हामी शङ्कामा नै हुन्थ्यौँ ।

यहाँ सिक्किममा पनि हामी धेरै प्रयास गरिरहेका थियौँ कि कसरी चाहिँ कवितालाई अघि बढाउने भन्ने कुरा भइरहेकै बेलामा सामाजिक सञ्जालतिर पोइट आइडल हुँदै छ है भन्दा त सुरुमा त हामीले नजरअन्दाज नै गर्यौ भनौँ न । हामीले त्यस्तो पत्याएनौँ । कविहरूलाई कसले चाहिँ यत्रो मान्यता दिन्छ र ? भन्ने प्रश्न हामी आफैँ कवि भएर पनि आएको थियो । पछि बिस्तारै पोइट आइडलका बारेमा जानकारीहरू आउन थाल्यो । म अन्योलमा पनि थिएँ ।

म उत्कृष्ट १४ मा  छानिए पनि । यो कुरा  स्कुलमा, घरमा र अन्य साथीहरूलाई सुनाउँदा एकदमै सामान्य पारामा उहाँहरूले शुभकामना दिनु भएको थियो । तर जब काठमाडौँ पुगेँ, आइडलको स्टेजको बनावट हेरेँ, क्यामेरा सेटअप हेरेँ, कार्यक्रमको फर्म्याटहर बुझेँ ती सबै कुरा बुझ्दै गएपछि भने म छक्कै परेँ । पोइट आइडललाई सुरुसुरुमा मैले मात्रै होइन हामी सबैले अण्डरइस्टिमेट गरेकै हो । हामी सबै जनाले नपत्याएकै हो । तर अन्त्यमा कति भव्य भयो । सुन्दर भयो । खुसी लाग्छ ।

डिजिटल अडिसनमार्फत पोइट आइडलमा सहभागी हुँदै गर्दा यसको विजेता नै बन्छु भन्ने त लागेको थिएन होला ?

– डिजिटल अडिसनमार्फत पोइट आइडलमा सहभागी हुँदै गर्दा यसको विजेता त के, म प्रतिस्पर्धीको रूपमा पनि छनौट हुन्छु होला भनेर सोचेको पनि थिएन । किन भने अनलाइन अडिसन थियो । एउटा भिडियो बनाएर पठाउनु पर्ने थियो । तर मसँग चाहिँ अगाडिबाट नै धेरै भिडियोहरू थियो र त्यतिकै मैले पठाइदिऊँ न त भनेर फ्यास्स एउटा भिडियो पठाएको थिएँ । त्यसको केही दिनपछि तपाईं अर्को चरणका लागि सेलेक्ट हुनु भयो भनेर मलाई फोन आयो र खुसी लाग्यो ।

अर्को चरणमा पनि हामीलाई तीन ओटा विषयमध्ये एउटा विषयमा कविता लेखेर भिडियो बनाएर पठाउनु पर्ने थियो । त्यसपछि अब चाहिँ म छानिन्छु होला भन्ने लागेकै थिएन । किनभने नेपालमै यति धेरै सुन्दर कविहरू छन् । नेपालको त नेपाली भाषा नै कति शुद्ध, कति मिठो छ । त्यसरी आफूले आफूलाई नै नपत्याउँदै “सम्झना” विषय छानेर कविता लेखेर भिडियो बनाएर पठाएँ । पठाइसकेपछि मैले यो कुरा बिर्सिएँ । किन भने म छानिन्छु भन्ने त सोचेकै थिएन ।

तर केही समयपछि तपाईं उत्कृष्ट १४ मा छानिनु भयो भन्दै मलाई फोन आयो । उत्कृष्ट १४ ? उत्कृष्ट १४ जना कविहरूमा एउटा म पनि परेँ भन्दा त मेरो खुसीको त सीमा नै रहेन । फेरि काठमाडौँ जानु पर्ने थियो । जीवनमा कहिल्यै पनि काठमाडौँ गएको थिइन । जाने इच्छा धेरै थियो । तर जुरिरहेको थिएन । कविताले मलाई काठमाडौँसम्म पुर्याउँदै छ, म छानिएँ भन्दा खुसी त भएँ नै । मैले यहाँ अरूलाई सुनाउँदा बधाई त दिए । तर उहाँहरूले पनि यस्तो भव्यता होला भनेर अनुमान गरेका थिएनन् र मैले पनि म विजेता नै हुन्छु भन्ने सोचेको थिएन ।

पहिले कविता लेखिरहँदा कुनै दिन यसरी कविताको पनि रियालिटी सो आउला भन्ने सोच आउँथ्यो कहिलेकाहीँ ?

– यस्तो त सोचेको थिएन । यो त कसैले पनि नसोचेको कुरा हो । कसैले पनि परिकल्पना नगरेको कुरा हो । कवितालाई, साहित्यलाई यसरी कसले सोच्ला र ? भन्ने कुरा थियो । तर म आफैँलाई श्रव्य साहित्य र दृश्य साहित्यमा काम गर्न चाहिँ मन थियो। कविता केवल पढ्ने मात्र होइन, सुन्ने पनि हो, हेर्ने पनि हो भन्ने चाहिँ थियो । पोइट आइडल अघिका मेरा कविताहरू युट्युबमा हेर्नुभयो भने त्यहाँ पनि मेरो प्रस्तुति त्यस्तै खालको देख्न सक्नु हुनेछ । अभिनय, म्युजिक सबै हालेर नै म कविता गर्दै थिएँ ।

त्यही क्रममा पोइट आइडल आयो । कत्ति धेरै सुनौँला कुरा हो यो । त्यसको परिणाम अहिले हामीमाझ छ । मैले त के कसैले पनि सोचेको थिएन होला कि कविताको रियालिटी सो हुन्छ भनेर । कविता चाहिँ कवि सम्मेलन, कार्यक्रम, जमघटमा मात्र सीमित थियो । एउटा कोठामा मात्र सीमित थियो । त्यसरी कविता एउटा कोठादेखि यस्तो भव्यताका साथमा रियालिटी साेको रूप धारण गर्छ भनेर कहिल्यै पनि सोचेको थिएन । पोइट आइडलले धेरै नयाँ-नयाँ आइडियाहरूको पनि उत्पत्ति गरायो ।

पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धी ?

– मैले माथि पनि भनेँ कि म कविताको यात्रामा एउटा वादमा, एउटा सिद्धान्तमा अडिएको थिएँ ।  मेरा कविताहरू एकदमै बलियो, सशक्त अथवा एकदमै चर्को हुने गर्थ्यो । समाजलाई मैले धेरै नै चुनौती दिने गर्दथेँ  । तर लेख्नका लागि धेरै विषयहरू छन् भन्ने कुरा पोइट आइडलबाट सिक्न पाएँ ।

हामी कहिल्यै पनि एउटै सिद्धान्तमा अडिएर बस्नु हुँदैन । आफूले लेखेको कुरा मात्र सही हो भन्ने कुरामा विश्वस्त भएर बस्नु हुँदैन । एउटा कविले जहिल्यै पनि आफूलाई लचक बनाएर राख्नुपर्छ भन्ने कुरा थाहा पाइयो । एउटा प्रेमको कविता लेख्न सक्नेले त्यसको विपरीत भावमा पनि लेख्न सक्नु पर्छ । एउटा वृद्धको बारेमा लेख्दै छ भने अर्को युवाको बारेमा पनि लेख्न सक्नु पर्छ । समाजको हरेक रङ्लाई अँटाउन सक्नु पर्दो रैछ भन्ने कुरा मैले राम्रोसँग बुझेँ ।

यो कुरा अझ प्रखर रूपले त्यति बेला पुष्टि भयो जति बेला हामीलाई कविता लेखनका लागि विषय दिइएको थियो “प्रेम” ।  फेरि म प्रेममा चाहिँ अलिकति अभागी नै छु । हाहा….। त्यसरी प्रेममाथि कविता लेख्नु पर्दा मलाई एकदमै साह्रो परेको थियो । म अलिकति भावुक पनि भएँ । बार्दलीमा बसेर मैले धेरै पानाहरू नष्ट पनि गरेँ । अन्तमा कविता लेखिछाडेँ । अलिकति साह्रो पर्यो । आफूले आफूलाई जबरजस्ती गरे जस्तो पनि लाग्यो । छोडिदिऊँ जस्तो पनि लाग्यो । त्यसमा धेरै चुनौती पनि सामना गरेँ ।

तर ती सबै कुराको बाबजुद पनि मायाको कविता लेखेँ र अहिले म सिक्किमका केही म्युजिक ब्यान्डका लागि प्रेमिल गीतहरू लेखिरहेको छु । जुन कुरा पोइट आइडलले गर्दा सम्भव भएको हो । त्यसका लागि आइडललाई धेरै धन्यवाद दिन चाहन्छु ।

समग्रमा पोइट आइडलमा आफ्नो यात्रालाई कसरी व्याख्या गर्नुहुन्छ  ?

– पोइट आइडलअघि म जस्तो नीलम गुरुङ थिएँ, पोइट आइडलपछि म एकदमै संशोधित, एकदमै औतारिएको, अथवा एकदमै पखालिएको, माझिएको, निखारिएको नीलम गुरुङ भएर घर फर्किएको छु । कविताप्रति मैले गर्नु पर्ने धेरै दायित्वहरू रैछ, धेरै जिम्मेवारीहरू रैछ भन्ने कुरा मैले बुझेँ । मेरो जीवनमा पोइट आइडलले पुर्याएको योगदानलाई मेरा विद्यार्थीहरूमा समर्पित गर्न चाहन्छु । लोक साहित्य र बाल साहित्यमा काम गर्न चाहन्छु । त्यसको सुरुवात मैले गरिसकेको छु । आफ्ना कविता मात्रै होइन, अरूका कविताहरू पनि पढ्नु पर्ने रैछ भन्ने कुरा मैले बुझेँ र मैले पढ्न पनि थालेको छु । म मात्रै ठिक हो, म मात्रै सही हो भन्ने भ्रममा हामी बस्नु हुँदैन भन्ने कुरा मैले बुझेँ । त्यसैले यो यात्रा एकदमै सुनौलो रह्यो । काकरभिट्टाबाट हामीले नेपालको यात्रा तय गरेका थियौँ । २४ घण्टा लगाएर काठमाडौँ पुग्यौँ ।

काठमाडौँको स्थितिहरू बुझ्यौँ । काठमाडौँको घाम पानी खाइयो । दुख सुखका जीवन बाँच्यौँ । चार महिना हाम्रो काम मात्र कविता लेख्नु र प्रस्तुति गर्नु थियो । त्यो जीवन घरीघरी कहाँ फर्किएर आउँछ र ? अहिले पनि लोभ लाग्छ सम्झिँदा । अहिले पनि त्यहीँ फर्किएर जान मन लाग्छ । तर भनिन्छ नि मिठो खाने कुरा पनि थोरै खाएको राम्रो । सुन्दर कुराहरू कमै हुन्छ । आयु छोटो हुन्छ भनिन्छ सुन्दरताको । पोइट आइडल पनि त्यही सुन्दर पक्ष भएर आइदियो मेरो जीवनमा । सुनौलो बिहानीको घाम जस्तो बनेर आयो । यसको बारेमा जति नै भने पनि कमै हुन्छ । किन भने एउटा कविलाई तेरो इच्छा के हुन्छ ? भनेर सोध्दा यही हुन्छ, यस्तै हुन्छ । जुन कुरा पोइट आइडलले हामी कविहरूलाई नमागी दिएको छ ।

यो यात्रामा कवि मुनु अधिकारी र मल्लिका खतिवडा बैनीसँग साथै अरू सबै प्रतिस्पर्धीहरूसँग मित्रता भयो । यो यात्राको त्यो एउटा अविस्मरणीय पल बन्न गयो । हामीले दुख सुख सेयर गर्यौ । एक अर्कासँग रोयौँ पनि । एक अर्कालाई सम्हाल्यौँ पनि । विभिन्न स्वभावका साथीहरू त्यहाँ हामी भेला भएका थियौँ । कसरी घुलमिल हुने भन्ने कुरा पनि बुझियो । अलिक धेरै बोल्ने, अलिकति रमाइलो गर्ने स्वभाव थियो मेरो । तर आइडलपछि ममा अलिकति गम्भीरता पनि आएको छ ।  यो यात्रालाई म यसरी सम्झिन चाहन्छु र जीवनभर आफ्नो हृदयमा सिउरेर अघि बढ्न चाहन्छु ।

पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– यसले एकदमै सुन्दर र सटिक प्रभाव पारिरहेको छ । पार्दै छ, पारिसक्यो भनौँ । किन भने पोइट आइडल सुरु हुँदा दुई समूह थियो । एउटा, यसलाई समर्थन गर्ने र अर्को यसलाई आलोचना गर्ने समूह ।  ठुला र वरिष्ठ कविहरूले पनि यसको विरोध गरेका थिए । पैसाको कुरा भयो, राजनीति भयो, कविताको सुन्दरतालाई भत्कायो, कविहरूलाई कलाकार बनायो, अभिनय हाल्यो, पोइट आइडल होइन, यो अभिनय आइडल हो, यो थैट आइडल हो भनेर पनि धेरैले आलोचना गरे । तर आज हेर्नुस् त ! म विजेता भएर मात्रै पनि यो भनिरहेको हैन ।

अन्य १३ जना कविहरूले पनि आफ्नो-आफ्नो ठाउँमा कविताको माध्यमबाट कति धेरै सुन्दर कुराहरू गरिरहनु भएको छ । धेरैले आफ्नो युट्युब च्यानल सुरु गरिसक्नु भएको छ त कसैले कार्यक्रमहरू गरिरहनु भएको छ । कसैले नाटक खेलिरहेको भएको छ । पोइट आइडलले गर्दा अन्य क्षेत्रमा पनि अवसरको बाटो खोलिदियो  । कविता मात्रै होइन, हामी गायनमा पनि सशक्त छौँ, अभिनयमा पनि सशक्त छौँ । कवितासँगै हामीमा अन्य प्रतिभा पनि  रैछ भन्ने कुरा आफैँमा खोज्ने काम पनि भएको छ । त्यसकारण यस किसिमका कार्यक्रमहरूले कविताको क्षेत्रमा एउटा स्पष्ट

वातावरण दिन्छ । किनभने अहिले पढ्ने लेख्ने कविता सुन्ने सुनाउने चलन हामी युवामाझ घटेर गएको छ । कविताको कुरा त अलिक परकै भयो, भाषा पनि हेर्नुस् न! नेपाली भाषा समेत हाम्रा नानीहरूले धेरै बोल्न रुचाउँदैनन् ।

अभिभावकहरू छोराछोरीले अङ्ग्रेजी बोलेकोमा धेरै खुसी हुन्छन् । नेपाली बोल्न जानेन भने गर्व गर्छन् । तर अब यो कुरा म आफैँ पनि सिकाउँदै छु । मेरै पाठशालामा पनि मेरा विद्यार्थीहरूले कविता लेख्न थालेका छन् । किताब पढ्छु भन्न थालेका छन् । अक्षरहरूलाई अझै नजिकबाट चिन्न खोज्दै छन् । यो कुरा एउटा कवि र शिक्षिकाका लागि सबैभन्दा ठुलो कुरा हो । विनिर्माण भन्ने कुरा अब्बल रूपले पोइट आइडलले समाजलाई दिएको छ । कविहरू कहिलेसम्म सल ओढेर, झोला बोकेर, दरिद्र भएर समाजको अघि आउने त ? कविहरू पनि अब सुन्दर, एकदमै भिन्न रूपमा आउन पर्छ ।

कवि पनि सेलिब्रेटी हो नि त । कविले पनि समाजमा त्यो ठाउँ पाउनु पर्छ भन्ने कुरा पोइट आइडलले बुझाएको छ । समाजमा यसले राम्रो प्रभाव छोड्न सकेको छ । पोइट आइडलको सयौँ सिजन आओस् भन्न चाहन्छु र सिक्किमबाट धेरै धेरै माया छ पोइट आइडललाई ।

जाँदाजाँदै अन्त्यमा केही ?

– पोइट आइडलप्रति म आभारी छु । एउटा जिम्मेवारी बोध भएको छ । यो उपाधिलाई म त्यसै खेर फाल्ने छैन । निरन्तर रूपले अघि बढ्दै जाने छु । बुबा क्षेत्र प्रताप अधिकारीप्रति छोरा अमन प्रताप अधिकारीको जुन समर्पण छ, बाबाको लागि यस्तो भव्य कार्यक्रम गर्नुभयो त्यसप्रति नमन छ । यो पोइट आइडल जन्माउने अमन सर पनि हाम्रो बाबा सहर नै हुनुहुन्छ । उहाँले आफ्नो बुबालाई गरे जस्तै म पनि उहाँ र पोइट आइडलका लागि केही गर्न चाहन्छु ।

म जस्तो कविलाई खोजेर पोइट आइडलको उपाधि दिनुभएकोमा म पनि  यसको गरिमालाई कायम राख्नेछु । पोइट आइडलको,  कविताको र भाषाको घनिष्ठतालाई समाजसम्म पुर्याउने कोसिस गर्नेछु । वाचा गर्न चाहन्न तर समय समयमा तपाईंहरूले मलाई देखिरहनु हुनेछ । मलाई यसरी नै माया गरिरहनु होला । खुसी लाग्यो तपाईंहरूसँग अन्तरवार्ता गर्न पाउँदा र आइडलको यस उपलब्धिलाई जीवनभर अघि बढाएर लैजाने छु ।

धन्यवाद ।