बर्माको लोखुमा रहेको संस्कृत विश्वविद्यालयमा म रात बिताउँछु । विश्वविद्यालयका सहसचिव मनबहादुरजीले ‘भोलि सँगसँगै गाउँतिर डुल्न जाऊँला’ भने पनि भोलिपल्ट बिहान मनबहादुरजी आउनुभन्दा पहिल्यै म गाउँ पसिसकेको छु । त्यहाँ पढ्ने विद्यार्थीहरूले ‘यो वरिपरिको पूरै बस्ती गोरखाली (नेपाली) को हो ?’ भनेपछि मलाई त्यो गाउँ कहिले पसौँ जस्तो भएको छ । म निकै हतारिन्छु र सामान्य चियापानी लिएपछि हिँडिहाल्छु ।

 

नगेन्द्र न्यौपाने

आधा भाग रातो माटो, आधा भाग कंक्रिटको आँगन, चारैतिर काठको गाह्रो अनि आँगनको छेउमा तुलसीको मठ– म सडकछेउको त्यो एकतले घरतिर सरासर पस्छु । त्यो बिरानो मुलुक, बिरानो भेष, नबुझ्ने भाषा अनि म एक्लो तर मलाई गाउँ पस्दा डर लागेन, त्यो आँगन टेक्न त्रास पसेन । दकस लागेन । किनकि त्यो गाउँलाई मेरो मनले जितिसकेको थियो । अझ एक जना व्यक्तिले ‘कसलाई खोज्नुभयो ?’ भन्दै आएपछि मेरो साहस झन् थपिन्छ । रमाइलो लाग्छ । म हौसिँदै उत्तर दिन्छु– ‘तपाईंलाई नै खोजेको ।’

उनले आपूmसँग ल्याएको घाँस गाईको गोठमा राख्छन् र सरासर मतिर आउँछन् । अनि निकैबेर नै मलाई तल–माथि गरेर हेरिरहेका हुन्छन् । म नै मेरो परिचय दिन्छु ।

‘म नेपालबाट आएको । हिजो राति यहीँ रामेश्वरधामको छात्रावासमा बसेँ । अब आज यसो गोरखालीको बस्तीतिर… ।’ तर उनले मेरो वाक्य पूरा हुन दिँदैनन् । बोलिहाल्छन्– ‘तपाईं नेपालबाट आउनुभयो । नेपाल नै देखेको जस्तो लाग्छ । खै ! हामी त कहिले नेपाल जान पाइन्छ होला र ! आफ्नो पूर्वजको थातथलो ! बसौं न !’ भन्दै आँगनमा कुर्सी ल्याउँछन् ।

एउटा व्यक्तिलाई सिङ्गो नेपाल देख्ने ती आँखाहरूप्रति मेरो आत्म–सम्मान मात्र गमक्क फुलेन, ती व्यक्तिको नेपालप्रतिको हार्दिकताले द्रविभूत बन्छु । मलाई के गरौं, कसो गरौं बनाउँछ । मैले उनको घरको चारैतिर नेपालै नेपाल प्रवाह भएको अनुभव गर्छु । त्यो गर्मीमा पनि सितल अनुभव हुन्छ । उनले कुर्सी ल्याउँछन् तर म बस्दिनँ । बरु घरको मूलढोकातिर जान्छु । घरभित्र टि.भी. बजिरहेको छ भने एक जना वृद्ध महिला नेपाली दोहोरी–गीत सुनेर बसिरहेकी छन् । सम्भवतः ती वृद्ध महिला ती व्यक्तिका माता हुन् । सेतै फुलेका केश, बुढ्यौली अनुहार, विधवा भेष अनि हँसिलो अनुहार । ती वृद्ध महिला आपूm बस्दै गरेको कुर्सीबाट हल्का रूपमा उठ्छिन् र मतिर आउँछिन् र केही बोल्न खोज्दै छिन् तर म नै उनलाई सोध्छु ।

‘सन्चै हुनुहुन्छ ?’

‘सन्चै बाबु !’ उनले मलाई धेरैबेर नै गहिरिएर हेरेपछि फेरि सोधिन्– ‘बाबुलाई मैले ठम्याउन सकिनँ त ?’

‘मलाई तपाईं चिन्नुहुन्न । म नेपालबाट आएको हुँ ।’

‘ए ! बाबु नेपालबाट पो ! खै म त ! एकपटक नेपाल नै नपुगी मर्ने भएँ । आफ्नो बाबु–बाजेको जन्मथलो । जान मन थियो ।’

‘नेपाल किन जानपर्यो त ! टि.भी.मा त्यस्तो मीठो दोहोरी गीत सुनिरहनुभएको छ । यहाँ यति राम्रो मिलेको गाउँ रहेछ । अझ तपाईंको घर नजिकै त्यति ठूलो संस्कृत पाठशाला छ । अब त यतैको रस बस्नुपर्ने होइन र ?’

‘खै बाबु !’ उनले केही दिक्कलाग्दो स्वरमा बोलिन्– ‘बसेन ! जति गरे पनि यो मन उतै जान खोज्छ । जतिबेला पनि हजुरबाले सुनाएको कुरो कानमा आउँछ ।’

‘हजुरबाले के सुनाउनु हुन्थ्यो र ?’ म सोध्छु ।

‘हाम्रो घर वरिपरि डाँडै–डाँडा थिए अरे ! आँगनमा ढुङ्गा बिछ्याएको थियो अरे ! अनि आँगनका डिलमा लहरै चार–पाँचवटा सुन्तलाका बोटहरू थिए अरे ! एउटा सानो खोल्सी तरेपछि बेसिआई पुगिन्थ्यो अरे ! गाई–बाख्रा सराबरी थिए अरे ! साँझ परेपछि सुसेली बजाउँदै मान्छेहरू गाउँतिर उकालो लाग्थे अरे ! रमाइलो थियो अरे ।’

उनी केही भावुक देखिन्छिन् । उनको बोलीमा स्मृतिका तरङ्गहरू सलबलाउन थाल्छन् । उनको हजुरबाले सुनाएको विगतसँग वर्तमान नमिलेको पनि हुनसक्छ तर उनको आत्मा छट्पछिनु स्वाभाविक नै हो । कहिल्यै नदेखेको, कहिल्यै नटेकेको भूगोलसँग आफ्नो आत्मीयतालाई सामीप्यमा ल्याउन खोज्नु हरेक गोरखाली (नेपाली) को रुचिमात्र होइन, ममता पनि हो ।

‘तपाईं यस्तोसम्म मिलेको जग्गामा बस्नेलाई डाँडा–काँडाको के सम्झना आयो त ! नेपालमा पनि खेतीपाती गरेर खान गाह्रो छ । बाटो–घाटो छैन ।’
मेरो भनाइमा उनले आपूmलाई सन्तोष मान्न तयार छैनन् । केही कडा स्वरमा बोल्छिन्– ‘होइन बाबु ! एकपल्ट त जानै पर्छ । पोहोर दशैं सकिँनासाथ छोरालाई लगी दे भनेको थिएँ । मिलेन । यसपटक पनि मिल्दैन जस्तो छ । … तर जान्छु ! जान्छु ।’

त्यहीबेला मनबहादुरजी मोटरसाइकल प्याट–प्याट पार्दै आइपुग्नु हुन्छ र केही हतारिएको आभासमा बोल्नुहुन्छ, ‘सर त यहाँ पो आउनुभएको रहेछ, उहाँ खाना तयार भइसकेको छ । जाऔं ।’

वास्तवमा खाना खाइसकेपछि मनबहादुरजीले मलाई आफ्नो घर लैजाने सल्लाह पहिल्यै तय भएको थियो तर मेरो गाउँ घुम्ने रहर मेटिएको हुँदैन । म यो अनुरोध मनबहादुरजीलाई सुनाउँछु र पुनः मनबहादुरजी बिना नै खाना खाएपछि गाउँ पस्छु । मलाई गाउँ घुम्न कुनै साथीको आवश्यकता पर्दैन ।
असोज महिना भएकोले पूरै गाउँ ढकमक्क छ । थन्क्याउन तयार भएका खैरा–पहेँला मकैका घोगाहरू, उखुको बाक्लो खेती, अनि धानको हरियो फाँट । कृषिको यो सौन्दर्य देखेपछि मैले सोचेँ– सायद यही दृश्यले लोभ्याएर नै गोरखालीहरू बर्मामा अड्किए होलान् । फराकिलो आँगन, आँगनको एकछेउमा भर्खर भित्र्याउन तयार भएका मकैको थुप्रो अनि पिँढी लहरै बसिरहेका व्यक्तिहरू ! म सरासर अगाडि बस्छु र पिँढीमा बसिरहेका सबैलाई एकैचोटि नमस्कार गर्छु ।

स्वाभावतः गाउँमा नयाँ व्यक्ति पसेको छ भन्ने थाहा पाएपछि सबैको कौतूहलता बढ्नु स्वाभाविक नै हो । अझ त्यो घरका धनीलाई यो जानकारी आइसकेको रहेछ । म त्यहाँ देखा पर्नासाथ एक जना युवकले मलाई सोधिहाल्छन् ।

‘ए ! तपाईं नै नेपालबाट आउनुभएको ? मलाई मनबहादुरजी फोन गर्नुभएको थियो । आउनुहोस् बस्नुहोस् ।’ म उनले देखाएको कुर्सीमा बस्छु । उनी थप्दै जान्छन् ।

‘यी ! हाम्रो बर्माको बसाइँ यस्तै छ, खानलाई दुःख छैन । बाबु–बाजेले मन पराएपछि हामीले पनि मन पराउनु पर्यो । उनीहरूले आफ्नो देश छोडेर आए । यही खेती देखेर त लोभ्यायो होला ।’

हुन त बर्मामा रहेका हरेक नेपालीले खान–लाउनको लागि चिन्ता गर्नुपर्दैन । आधुनिक प्रविधिबाट पनि उनीहरू टाढा छैनन् । गाउँ–गाउँमा सडक पुगेको छ, सबैका आ–आफ्ना यातायातका साधन छन् । घर–घरमा रेडियो, टेलिभिजन छ, हात–हातमा फोन छ । तर पनि उनीहरूको पछुतो– इतिहाससँग छ ।

बाबु–बाजेप्रति गुनासो छ । अझ त्यसमा थपिएको हुन्छ– नेपालसँग आफ्नो सम्बन्ध तोड्न नसक्नु । यी वस्तुस्थितिलाई संकेत गर्दै म गफ गरिरहेको हुन्छु । र गफ सिलसिलालाई जोड्दै सेतै फुलेका ज्ञावाली बाजेलाई सोध्छु– ‘तपाईं आफैँ बर्मा आउनुभएको हो कि ! तपाईंको बुबा ?’
उनलाई आफ्नो बुबाको धमिलो कथामात्र सम्झना रहेछ । त्यो कथाभित्र जतिसुकै वेदना र कष्ठहरू गुट्मुटिए पनि उनलाई त्यो कथा सुनाउन कुनै दकस छैन, कुनै अप्ठ्यारो छैन ।

‘आउन त मेरो बुबा आउनुभएको हो, गोराको पछि लागेर– बगैँचाको रेखदेख र गोडमेल गर्न तर मलाई मेरो बुबाको अनुहार सम्झना छैन । नेपालमा राजा जुद्धशमशेर थिए ।’ उनी बोल्दै जान्छन्– ‘बर्मामा जापानीहरूले आक्रमण शुरु हुनासाथ बृटिशले पनि आफ्नो पल्टन बढाएछ । त्यहीँ बढेको पल्टनमा थुप्रै गोरखाली लिएर गोरा कलकत्ताबाट बर्मा आए । गोरखाले बहादुरसाथ लडे । जापानी हारेर गयो तर गोरखालीले बर्मा छोड्न चाहेनन् । बरु नेपालबाट उनीहरूका श्रीमती र छोरा–छोरी थपिए । अझ मेरो बुबाको सैताने हाँगो रहेछ, फर्किने कुरै भएन । गोराले पनि तिमी अहिले यही बस, म भारत गएर आउँछु भनेर फर्केको थियो अरे । तर भारतबाट ऊ बर्मा फर्किएन । आफ्नो देश बेलायत पो गएछ । केही दिनपछि यता बर्मामा गोराको घरमा बम बिष्फोटन भयो । मेरो बुबा उम्कन सक्नुभएन । म र मेरी आमाचाहिँ उम्कन सक्यौं तर मलाई बुबाको अनुहार हेक्का छैन ।’
आफ्नो वेदनायुक्त कथा भनिसकेपछि पनि ज्ञवाली–बाजेको अनुहारमा कुनै भावुकता देखिनन् । उनी अपमानबोध देखिएनन् । वास्तवमा कयौं वर्ष अघिको घाउलाई सम्झेर पनि भएन ।

त्यहीबेला एक जना ४५ वरिपरिको व्यक्ति आँगनमा टुप्लुक्क देखा पर्छन् । उनको अनुहारको रोकन र कम्मरमा बेरिएको लुङ्गीले म अन्दाज लगाउँछु– पक्कै गोरखाली नै हुन् । र ती व्यक्तिलाई सामान्य रूपमा आपूm नजिकै आउने संकेत गर्दै नमस्कार गर्छु ।
“नमस्कार ! आउनुहोस् ! बसौं ।”

तर ती व्यक्ति मेरो नमस्कार फर्काउन परै जाओस्, टाउको समेत हल्लाउँदैन । बरु सुने–नसुने गरी पिँढीको छेवैको कुर्सीमा ढसमस्स बस्छन् ।
“यो गोरखाली होइन, यसले नेपाली बुझ्दैन ।”

“यी को हुन् त ? नेपाली जस्तै देखिन्छन् ।” म सोध्छु ।

“यो यहीको ‘खोष्टे’ हो । बर्मेली !”

म खोष्टेको अर्थ बुझ्दिनँ । तर यसको अर्थ आदरणीय वा सम्मानजनक जस्तो लाग्दैन । यसले अवश्य कुनै समुदायलाई होच्याएको छ वा प्रहार गरेको छ । पछि थाहा हुन्छ । जब बर्मामा बृटिशले भारतीय र नेपालीलाई ओर्सान थाल्यो– त्यति नै स्थानीय बासिन्दाहरू रुष्ठ हुन थाले । उनीहरू डाइले बन्दै गए । स्थानीय र थपिएका बीच तनाव बढ्दै गयो । बर्मेलीहरू आफ्नो बासस्थानमा नयाँ अनुहार देख्न चाहँदैन थिए तर बृटिश सरकार थप्दै जान्थ्यो । अब उनीहरूबीच मारपिट र भनाभन गालीगौलज शुरु हुन थाल्यो । बर्मेलीहरू बाहिरबाट थपिएकालाई ‘कल्ला’ भनेर दुर्वाच्च बोल्थे भने आप्रवासीहरू भने स्थानीयलाई ‘खेष्टे’ भनेर होच्याउँथे । कल्लाको अर्थ– कुला, पानी वा डुङ्गा तरेर आएको विदेशी । त्यस्तै खेष्टे भनेको– मकैको खेष्टामा सुर्ती बेरेर तान्ने ।

त्यो दिनभरि नै म घर–घर चाहार्दै हिँड्छु । मकै, चिया, मिठाइ खाँदै हिँ्छु । लाग्छ ! म त्यति टाढा पुगेर पनि आफ्नै गाउँघरमा हिँडेको छु । र साँझतिर मात्र नाउछो (अर्को शहर) पुग्छु ।

क्रमसः