नेपाली गीत बजारमा आउन रोकिनुको नाम लिएको छैन। दिनहुँ जसो नयाँ नेपाली गीतहरू हामीले सुन्न पाइरहेका छौँ। नेपाली सङ्गीतको भविष्य राम्रो छ भने सङ्केत पनि हो यो। कुनै-कुनै गीत र त्यसका सङ्गीतकार अत्यधिक चर्चामा आई पनि हाल्छ भने कुनै कुनै गीत त गाउनेलाई बाहेक नयाँ गीत सार्वजनिक भएको छ भनेर कसैलाई पनि पत्तो समेत हुँदैन‌। स्थिति यस्तो पनि छ। समयको तुलना गरेर हेर्छौ भने वर्तमानमा नयाँ गीतहरू निकाल्नु सहज नै छ।

मेरिना लेप्चा

मेरिना लेप्चा

त्यो जमाना थियो जहाँ गीत रेकर्ड गर्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो। स्वर चाहिँ धनी तर खल्ती चाहिँ गरिब भनेको जस्तो अवस्था थियो‌। नेपालबाहेक हाम्रो कालेबुङ, दार्जिलिङ भेकमा पनि अब्बल गायक-गायिकाहरू रहेको कुरा कसलाई पो थाहा छैन होला र ? यो भेक अम्बर गुरुङ, गगन गुरुङ, जितेन्द्र बरदेवा, गोपाल योञ्जन, अरूणा लामा, प्रकाश गुरुङ, उदय सोताङ, कुमार सुब्बा, कर्म योञ्जन, दिलमाया खाती, डेजी बराइली, दुर्गा खरेल जस्ता दिग्गज गायक गायिकाहरूले जन्म लिएको पवित्र ठाउँ हो। नेपाली सङ्गीतलाई चुचुरोमा पुर्‌याउनमा दार्जिलिङ-कालेबुङको योगदान अतुलनीय छ।

सङ्गीतको क्षेत्रमा होस् चाहे साहित्यको क्षेत्रमा होस् यहाँ नौलो ताराहरूले जन्म लिइरहेको नै छ। त्यही ताराहरूमध्ये एउटा उज्ज्वल तारा हुन् मेरिना लेप्चा। स्कुलको एउटा कक्षाको बेञ्चीमा बसेर गीत गाउँदै गरेको सानी, फुच्ची केटी तपाईंहरूको मन-मस्तिष्कमा अवश्य नै ताजा भयो होला। फेसबुकमा धेरै चर्चा बटुल्न सक्षम बनेकी मेरिनाले स्कुलमा गाएको गीतको सानो अंश यस्तो छ-

“बालापनको आँगन त्यागेर,

खोला नाला काटेर,

आउनुपर्यो नौलो घरको सङ्घार।” -(स्वर :- अरूणा लामा)

कालेबुङ जिल्लाअन्तर्गत पेदोङदेखि केही कि.मि तल कास्योङ भनेर चिनिने गाउँमा  २३ जुलाई २००३ का दिन मेरिना  लेप्चाको जन्म भएको हो। माता स्व मेरी राई र पिता श्रीमान् अल्फ्रेड लेप्चाको कोखबाट जन्म लिएकी मेरिना लेप्चा कलिलो उमेरमा नै मातृ शोकमा डुब्नुपर्यो। गाउँकै प्राथमिक पाठशालामा प्राथमिक शिक्षा आर्जन गरेकी हुन्। स्कुलमा आयोजना हुने प्रत्येक कार्यक्रममा सहभागिता जनाइन, गाइन मानौँ आफ्नो प्रतिभालाई निखार्ने मौका पाइन्। गाउँ-समाज स्तरको कार्यक्रममा गीत गाउन कहिले चुकिनन्।

प्राथमिक पाठशालामा प्रायः मेरिनाले गाइरहने गीत यस्तो छ- (१) मर्ने कसैलाई रहर हुँदैन। (२) तिमीलाई कुनै पल। छिमेकी देश नेपालमा भयावह भूकम्प आएको कुरो सबैलाई सर्वविदित नै छ। मेरिना त्यसताक सानै थिइन्। त्यहाँ लाखौँले आफ्नो बहुमूल्य ज्यान गुमाउनु परेको थियो। यस प्राकृतिक प्रकोपले नेपाल ध्वस्त बनाउँदा सबै राष्ट्रहरूमा चिन्ता अनि शोकको लहर छाएको‌ थियो। यही घटनासँग ठ्याक्कै मेल खाने गीत “मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाऊ कुन ठाउँ जाऊ, मान्छे नमर्ने सहर हुँदैन ।”

एकदमै चर्चामा आएको हो। यहाँ भने मेरिनाले यो गीत आफ्नो कोमल स्वरमा गाएर धेरै साथी-भाइ,गाउँलेहरूलाई भावुक पनि बनाएको हो। सबैलाई आफ्नो स्वरले मन्त्रमुग्ध बनाएकी नै हो। उनी सानै उमेरदेखि प्रतिभाशाली कलाकारको रूपमा देखा पर्न थालिन्। कुनै प्रशिक्षण नलिई यस्ता गीत गाउन सहज भने पटक्कै छैन भन्ने कुरोमा सम्पूर्ण गाउँलेहरू चकित नभएको पनि होइन।

शिक्षा आर्जन गर्ने क्रममा उनी सन् २०१७ मा कक्षा ८ मा पेदोङको ख्यातिप्राप्त पाठशाला सन्त जर्ज उच्चतर माध्यमिक पाठशालामा भर्ना लिइन्। यस पाठशालामा झनै आफ्नो प्रतिभाले स्थान पायो, मञ्च पायो। स्कुललाई प्रतिनिधित्व गर्दै धेरै ठाउँसम्म पुगिन्। खण्ड, जिल्ला, पाठशाला स्तरको गायन प्रतियोगितामा प्रायः जसो धेरै विजेताको उपाधि आफ्नो बनाएकी छिन्।

मेरिनाले स्कुललाई प्रतिनिधित्व गरेर गायन प्रतियोगितामा छनौट भएर पश्चिम बङ्गाल राज्य स्तरको प्रतियोगितासम्म पुगेकी थिइन् तर आमाको आकस्मिक निधनले जान नपाएको उनी बताउँछिन्। खण्ड र जिल्ला स्तरमा धेरैजसो विजेताको उपाधि जितेकी छिन्। कालेबुङमा आयोजित एउटा प्रतिष्ठित गायन प्रतियोगिता “मेरो कला मेरो परिचय २०१९” को खिताब आफ्नो झोलीमा हाल्न सक्षम बनिन्। त्यही साल कालेबुङमा फेरि एउटा प्रतिष्ठित प्रतियोगिता “कालेबुङ गट् ट्यालेन्ट”- मा उपविजेता बन्न सक्षम बनिन्।

उनी भन्छिन्, “‘बालापनको आँगन त्यागेर’ गाएको गीत यस्तो भाइरल हुन्छ भनेर मैले एक मनले पनि सोचेको थिइनँ। यही गीतले गर्दा मलाई धेरै प्रख्यात नेपाली सङ्गीतकारहरूले फोन गरे, म विषय जान्न खोजे। मैले यही गीतले गर्दा साङ्गीतिक क्षेत्रको सानो चुर भेटाएँ।”

हो, यस गीतले गर्दा मेरिनालाई नेपालका प्रख्यात सङ्गीतकारहरूले नेपाल आएर गीत गाउने निम्तो दिन थाले। नेपालका एकजना प्रख्यात गायक विक्रम राईले निम्तो दिँदा मेरिना नेपाल गएकी हुन्। नेपाल आइपुगेको थाहा लागेर नेपालको धेरै नामी पत्रकारहरूले अन्तरवार्ता पनि लिएका छन् जुन अन्तर्वार्ताहरू सञ्चार माध्यमबाट हाम्रो भेकमा पनि आइपुग्यो अनि झनै उनी भाइरल हुन पुग्यो।

विक्रम राई नेपालमा सञ्चालन हुने प्रतिष्ठित प्रतियोगिता “नेपाल आइडल २०१७” पहिलो संस्करणको विजेता हुन्। एकजना असल शब्दकार मात्र नभएर राई उत्कृष्ट सङ्गीतकारको रूपमा पनि धेर चिनिन्छन्। उनका शब्दहरूमा नेपालका नामी गायक-गायिकाहरूले आफ्नो स्वर हालेर गाएका पनि छन् उदाहरणको रूपमा- मेलिना राई।। नेपालको काठमाडौँ पुगेपछि त्यहाँ उनीले जम्मा तीन वटा गीत गाएर अथवा रेकर्ड गरेर स्वदेश फर्किए। काठमाडौँ नामी स्टुडियो “किङ्गस स्टुडियो” मा रेकर्ड गर्ने सौभाग्य भयो जुन स्टुडियोमा मेलिना राई, राजेश पायल राई अनि एलिना चौहान जस्ता गायक-गायिकाहरूले गीत रेकर्ड गर्ने गर्दछन्। मेरिनाले दुई वटा एकल गीत अनि १ युगल गीत विक्रम राईसँग गाएकी छिन् र तीन वटा गीतको स-साना अंश यहाँ राखिदिएको छु-

“सरगमको धुनसँगै गीत गाउने रहर,

रहर पुरा गर्छु भनी आएको छु सहर।”

शब्दकार -मनकुमार लिम्बु।

सङ्गीत – विक्रम राई।

स्वर – मेरिना लेप्चा।

 

“उडी जाने वनचरीको घर हुन्न रहेछ,

तिमीबिना बाँच्दिन भन्नेको नै,भर हुन्न रहेछ।”

शब्दकार-दुर्लभ जन्तरे।

सङ्गीत-विक्रम राई।

स्वर-मेरिना लेप्चा।

 

“एकबारको जुनीमा मरे माटोमुनिमा,

यो जीवनको के भर लानु के नै छ र।”

शब्दकार- अञ्जम किँराती।

सङ्गीत-विक्रम राई।

स्वर- विक्रम राई अनि मेरिना लेप्चा।

माथि उल्लेख गरिएको यी तीन वटा गीतहरूमध्ये दोस्रो गीत नेपालमा अझसम्म पनि धेरै लोकप्रिय छ भन्ने तथ्य छ। टिकटकमा अभिनय गर्नेहरूको सङ्ख्या लाखौँमा छ। त्यहाँका कलाकारहरूले पनि कार्यक्रममा यो गीत गाएको खबर र तथ्य छ।

मेरिनाले काठमाडौँमा एक सप्ताहमा यसरी तीन वटा गीत गाएर घर फर्किइन्। रोचक कुरा के छ भने काठमाडौँ जस्तो ठाउँ, सानै उमेरमा, घरमा बाबुलाई एक्लै छोडेर उनी यहाँबाट एक्लै गएकी हो। छोरी मान्छे एक्लै हिँड्नु हुँदैन भन्ने भय त हाम्रो मनमा पक्कै छ तर त्यस्तो टाढा एक्लै यात्रा गरेर अनि आएर पनि एउटा उदाहरण देखाइदिइन्। यसको अर्थ हो केही राम्रो गर्न दुःख, भय झेल्नु नै पर्छ। मेरिना लेप्चाको नयाँ गीत हिजो अस्ति भर्खरै मात्रमा सार्वजनिक पनि भएको छ।

धार्मिक गीतहरूमा पनि मेरिनाको उत्तिकै रुचि र सहभागिता छ। युगल र एकल गरेर जम्मा ६ वटा धार्मिक गीतहरू सार्वजनिक भैसकेको छ। मैले अन्तरवार्ता लिने क्रममा मेरिनालाई गीतको थुप्रै विधाहरूमध्ये मन पर्ने विधा बताउने आग्रह गर्दा नेपाली आधुनिक गीत, पुरानो गीत, दोहोरी गीत गाउन मन लाग्ने मनसाय बताएकी छिन्। नारायण गोपाल, अरूणा लामाका गीतहरू सुन्ने गर्छु, केही सिक्ने गर्छु भनी बताउँछिन्।

उनी भन्छिन्, “पुराना गीतहरू मर्नु दिनु हुँदैन, यस्ता गीतहरू समाजमा बाँचिरहनु पर्छ।”

“तुलना गर्दा समकालीन गीतहरू धेरै सहज हुन्छ तर पुराना गीतहरू धेरै जसो कठिन हुँदछ। सुर, लय अनि वाद्यमा धेरै कठिन हुँदछ तर त्यही कठिन नै गीतको साँचो परिभाषा हो।”

मेरिनाले आफ्नै स्वरमा कुल बाह्र वटा भन्दा अधिक गीत गाइसकेकी छिन्।

गीत मात्र नभएर उनी ठुलठुला कार्यक्रमहरूमा उद्घोषिकाको भूमिका पनि राम्रो ढङ्गले निभाउँदै आइरहेकी छिन्। मेरिनाको परिवारमा अहिले बाबु-छोरी मात्र छ। बाबुको ढाडको शल्यक्रिया विगतको वर्ष मात्र बेङ्गलोरमा भएको हो। बाबु अझ पनि पूर्ण रूपले स्वास्थ्य, तगडा भैसकेको छैन। बाबाको स्वास्थ्यले गर्दा उनी टाढा-टाढाबाट आएको निम्तोहरूमा आफ्नो प्रस्तुति दिन जान असमर्थ पनि छिन्। घरको काम सिध्याएपश्चात उनी कलेज जान्छिन्।

पेदोङ स्थित सरकारी कलेजमा उनी दोस्रो वर्षमा अध्ययनरत छिन्‌। उनी यसो भन्छिन् ‘ईश्वरको कृपा र सबैको सहयोगले गर्दा म खुसी छु। भविष्यमा आफ्नो ठाउँ, गाउँको निम्ति केही गरेर उदाहरणीय नारी बन्ने नै छु। आमाको मृत्युले जीवनमा धेरै उतारचढाव ल्यायो। आमा आज हामीसँगै हुनु हो भने म‌ गीत गाउन धेरै ठाउँ पुग्न सक्ने थिए‌ँ, आमालाई धेरै खुसी बनाउने थिएँ।

हाम्रो ठाउँ जमानाअनुसार विकसित हुँदै गइरहेको छ। क्षेत्रीय विकाससँगै बौद्धिक विकासको पथमा पनि उत्तिकै अग्रसर छ। गायनमा,सङ्गीतमा रुचि राख्नेहरूको भिड भने अझ बढी नै रहेको छ तर विडम्बनाको कुरो हाम्रो क्षेत्रमा सङ्गीत सिक्ने,प्रशिक्षण लिने कुनै छुट्टै केन्द्र धेर छैन। यस्ता केन्द्रहरू नहुँदा नहुँदै पनि हाम्रा क्षेत्रका प्रतिभाशाली गायक-गायिकाहरूले नेपालमा वर्षैपछि हुने अन्तर्राष्ट्रिय नेपाली गायन प्रतियोगिताहरूमा सहभागिता जनाउन भने पछि हट्दैनन्।

“भोइस अफ नेपाल”, “नेपाल आइडल”, “भोइस अफ् किड्स” जस्ता कार्यक्रम जुन कार्यक्रम सम्पूर्ण नेपाली भाषीहरूले विश्वको‌ कुना कुनाबाट हेर्ने गर्छन्। यस्तै प्रसङ्गमा मेरिनाले आफ्नो मन्तव्य यसरी राखेकी छिन् “हाम्रो क्षेत्रमा एउटा सङ्गीत सिक्ने, प्रशिक्षण गर्ने छुट्टै केन्द्र हुनु हो भने मैले अझ साङ्गीतिक क्षेत्रमा योगदान दिन सक्ने थिएँ।” मेरिनाको सपना धेरै गुणस्तरीय गीतहरू गाएर आमालाई खुसी बनाउनु,गौरवान्वित बनाउनु  थियो तर आमाले सानै उमेरमा मेरिनालाई छाडेर जानुभयो। यस्ता पिडाहरू अङ्गाल्दै भए पनि मेरिना उज्यालो तारा भएर चम्कनु रोकिनेवाला भने पटक्कै छैन। नामी नामी सङ्गीतकारहरूले गीत गाउने प्रस्ताव नराखेका होइनन्।

मेरिनाको उज्ज्वल भविष्यको कामना गरौँ। मेरिना जस्ता प्रतिभाशाली गायक-गायिकाहरूले हाम्रो भेकमा जन्म लिइरहोस्,सदा सङ्गीतको सेवा गरिरहुन्।