विषय प्रवेश

आलोचनाको अङ्ग्रेजी पर्यायवाची शब्द क्रिसिजम् हो। युनानी शब्द ‘क्राइटस्’बाट ‘क्रिटिकोस्’ हुँदै ‘क्रिटिसिजम्’ बनेको हो। क्राइटसकाे अर्थ न्यायकर्ता र क्रिटिकोसकाे अर्थ साहित्यको न्याय हो। अतः क्रिटिसिजमकाे व्युत्पत्ति अर्थ खोतल्दा कुनै पनि साहित्यिक कृति सम्यक् रूपमा पारख गर्नु वा गुणदोषादिको निर्क्योल गर्नु। आलोचना, समालोचना, समीक्षा, विवेचना, चर्चा, परिचर्चा, अनुशासन, परिशीलन, दृष्टि, परख, अवलोकन आदि शब्दका आ-आफ्ना अर्थका परिसीमा भए तापनि समग्रमा पर्यायवाची शब्दकै रूपमा प्रचलित छन्।

समालोचना शब्दको व्युत्पत्ति र अर्थका आधारमा हेर्दा समालोचनाका विभिन्न स्वरूप भेदोपभेद देखिन्छन्। सामान्य रूपमा समालोचना, आलोचना र समीक्षा शब्दको प्रयोग भएको पाइन्छ। यद्यपि यी तीन वटा शब्दका अर्थ र सीमा रहेका हुन्छन्। व्युत्पत्तिका आधारमा हेर्दा यसको अर्थ सम्यक् गुणदोष दुवैको विवेचना गर्ने कार्यलाई नै समालोचना भनिन्छ। ‘समालोचनाका यिनै अर्थका आधारमा नै यसको परिभाषा गरिएको पाइन्छ। समालोचना परिभाषा गर्ने तथा यसको व्याख्या-विश्लेषण गर्ने कार्य पूर्वीय र पश्चिमी साहित्यमा पहिले देखि नै हुँदै आएको छ। साहित्यका अन्य विधाका परिभाषामा जस्तो समालोचनाको परिभाषा दिने क्रममा पनि विभिन्न विद्वान तथा समालोचकहरूका बिचमा मतैक्य पाइँदैन। विभिन्न विद्वानहरूले समालोचनाको सम्बन्धमा आफ्नो नवीन धारणाहरू राख्दै आएका छन् र यसरी आफ्नो मत राख्ने क्रममा समालोचना सम्बन्धी नयाँ परिभाषाहरू पनि आएका देखिन्छन्।

० ० ०

घनश्याम नेपाल- व्यक्तित्व र कृतित्व

घनश्याम नेपालको जन्म १३ मार्च, १९५९ मा राले खेसे, पूर्व सिक्किममा भएको हो। उनका मातापिताको नाम पद्मावती नेपाल र कृष्णलाल नेपाल हो। उनले ‘लक्ष्मीप्रसाद देवकोटाको गद्य कृतिहरूको शैली वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि गर्नुभएको हो। उनी उत्तर बङ्ग विश्वविद्यालयको वरिष्ठ प्राध्यापकका रूपमा सेवारत हुन्। यसअघि उनले सन्त जोसेफ्स महाविद्यालयमा दुई वर्ष (१९८४-८६) र काशी हिन्दु विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको हो।  उनका समालोचना पुस्तकहरू रूप र रेखाहरू (१९९१), नेपाली साहित्यको परिचयात्मक इतिहास (पहिलो संस्करण १९९१, दोस्रो संस्करण २००९), शैलीविज्ञान (प्रथम संस्करण १९९२), आख्यानका कुरा (प्र. सं. १९८७ र दो. सं. २००५), विधा विविधा (२०१४) प्रकाशित छन्।

उनले समयाङ्कन, दृष्टिकोण, अभिज्ञान भन्ने समालोचनामूलक पत्रिकाको कुशल सम्पादन गरेका छन्। उनको  आख्यानको कुरामा रहेका शीर्षकहरू हुन्- उपस्थापन, प्रवेश, कथावस्तु-कथानक-कथा, पात्र तथा चरित्र-चित्रण, विचारतत्त्व, पर्यावरण र चित्तवृत्ति, परिप्रेक्ष्य, प्रतीक र विम्ब, समय-गति र लय, भाषा-बुनोट र संरचना। यी शीर्षकहरूले आख्यानका सैद्धान्तिक र व्यावहारिक तत्त्वहरूबारे सम्यक् चर्चा गरिएका छन्।

उनको  रूप र रेखाहरूमा रहेका लेखहरू हुन्- ‘कवि रिमाल : क्रान्तिकारी कि विद्रोही’, ‘पहराको फूल : एउटा अध्ययन’, ‘मूर्छनाका कवि स्याङ्देन’, ‘पागल कविताको संरचना परिपाटी’, ‘सूर्यविक्रम ज्ञवाली : व्यक्तित्वका केही आयाम’, ‘भाषिक संयोजन प्रक्रिया र उज्यालोका संयोजक तत्त्व’, ‘घाम डुबेपछि केही विशेषताहरूको रेखाङ्कन’, ‘निबन्ध र यसको नेपाली परम्परा’, ‘म तिम्रो छोरीलाई प्रेम गर्छु : आधुनिक काव्यवाचनका सन्दर्भमा’, ‘इन्द्रबहादुर राईको खीर कथामा पात्र प्रयोग’, ‘शिवकुमारका कथामा पात्र-प्रयोग’।

उनको  पछिल्लो विधा विविधा भन्ने अत्यन्त महत्त्वपूर्ण समालोचना पुस्तकमा बाइस वटा लेखहरू समावेश छन्- ‘अन्तर्पाठात्मकता’, ‘इतिवृत्तशास्त्र’, ‘उत्तरआधुनिकता’, ‘रूपक’, विधा सिद्धान्त’, ‘विनिर्माण’, ‘सङ्केत -विज्ञान’, ‘अर्थहरूको पछिल्तिर- माथि छोटो टिप्पणी’, ‘आख्यानकार रूपनारायण सिंह’, ‘कथाकार गुरुप्रसाद मैनाली’, ‘कथा सम्पदाका सानु लामाका कथाकारिता’, ‘कवि पुष्पलालबारे छोटो टिप्पणी’, ‘नेपाली लोककविता र व्यञ्जनाका कुरा’, ‘बिट्स कवि एलेन गिल्सबर्ग’, ‘भारतीय साहित्य : नेपाली साहित्य’, कवि किरणको कविता-केन्द्र’, ‘मेरा आँखीझ्यालबाट गुरु डिल्लीराम तिम्सिना’, ‘युजिन आयनेस्को र विसङ्गतिवाद’, ‘निबन्धकार रामलाल अधिकारी’, ‘विपना कतिपयको बोली विवेचन’, ‘विपश्यना –का कवि विचन्द्र बाबू’ र ‘हास्य-व्यङ्ग्य लेखनमा सानुभाइ शर्मा’।

ग्रन्थमा सात वटा लेखहरू सैद्धान्तिक समालोचना रहेका छन्। यसमा रहेका अन्तर्पाठात्मकता, इतिवृत्तशास्त्र, उत्तर आधुनिकतावाद, रूपक, विधा-सिद्धान्त, विनिर्माण र सङ्केतविज्ञान जस्ता लेखहरू समसामयिक साहित्यिक सिद्धान्तको अवधारणा र विश्लेषण रहेका छन्। अझ अन्तर्पाठात्मकता, इतिवृत्तशास्त्र र सङ्केतविज्ञानबारे आधिकारिक व्याख्या विश्लेषण गरिएको छ।

नेपाली साहित्यको अध्ययन र समालोचना क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ। उनी पाश्चात्य साहित्य सिद्धान्तको एक गम्भीर अध्येता हुनाले उनको समालोचनामा मूलतः पाश्चात्य साहित्य सिद्धान्तको चिन्तन र व्याख्या विश्लेषण गरिएको पाइन्छ। उनले आफ्नो समालोचना शैली वैज्ञानिक, सङ्केतवैज्ञानिक, संरचनावाद, उत्तरआधुनिकता, भाषावैज्ञानिक, तुलनात्मक आदिबाट अध्ययन प्रस्तुत गरेका छन्। उनका समालोचनामा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षबाट कृतिको पाठनिष्ठ अध्ययन गरिएको पाइन्छ। कुनै एउटा विषयमा लेख्दा त्यसको गहन विश्लेषण, तत्त्व र मूलसम्म प्रकाश पारिएको पाइन्छ। पाठनिष्ठता, इतिहासपरकता, विश्लेषणात्मकता, कृतिको मूल्याङ्कन आदि उनको  समालोचकीय विशेषता देखिन्छन्।

उनका समालोचनामा मूल्य निर्णय, विश्लेषण, सैद्धान्तिकीकरण, शोधपरकता, प्रमाणिक र आधिकारिक निष्कर्ष, अध्ययन र चिन्तन आदि गुण र विशेषता पाइन्छन्। उनको  समालोचना लेखनमा कृतिको गुणदोष दुवैको परख गरिएको हुन्छ। शैली वैज्ञानिक समालोचना उनी अग्रणी छन्। उनको  शैलीविज्ञान पुस्तकले नेपाली समालोचनाको फाँटमा भाषावैज्ञानिक समालोचना प्रवृत्तिको अवधारणालाई चिनाउने काम गरेको छ। शैलीविज्ञानिक समालोचनालाई नेपालीमा आधिकारिक रूपमा सुरू गर्नेमा घनश्याम नेपाल र मोहनराज शर्मा हुन्।

नेपालका समालोचनामा व्याख्यात्मक, कृतिकेन्द्रियता, बौद्धिक एवम् सन्तुलित दृष्टिकोण, अभिव्यक्तिगत सिर्जनात्मकता, अन्वेषणात्मकता, शोधपरकता, संरचना र भाषिक तथा सैद्धान्तिक पद्धति अपनाइएको पाइन्छ। नेपालीमा सर्वप्रथम न्याराटिभ डिस्कोर्स र आख्यान लेखन शिल्पको सैद्धान्तिक पद्धतिबारे व्याख्या गरी लेखेको पाइन्छ। आख्यानका लेखन शिल्पको सैद्धान्तिक पद्धतिबारे व्याख्या गरी लेखिएको आख्यानका कुराहरू शीर्षक कृतिले विद्यार्थी, शोधार्थी र प्रबुद्ध पाठकलाई लाभान्वित तुल्याएका छन्। उनले नेपाली साहित्येतिहासमा पनि निकै महत्त्वपूर्ण योगदान रहेको पाइन्छ।

साहित्य सेवागरेवापत घनश्याम नेपालले हालसम्म दियालो पुरस्कार, रत्नश्री स्वर्ण पदक, स्रष्टा पुरस्कार, भानु पुरस्कार, देहरादून (१९९५), भानु पुरस्कार, (सिक्किम, १९९५), सैनध्वज-नन्दकुमारी पुरस्कार, पार्वती स्मृति पुरस्कार, जोरथाङ, सिक्किम, शिक्षारत्न पुरस्कार, पश्चिम बङ्गाल सरकार जस्ता पुरस्कार पाएका छन्। यीबाहेक आशा रानी- आशबहादुर सम्मान, सिक्किम सम्मान आदिबाट सम्मानित भएका छन्। हालैमा नेपाली साहित्य अध्ययन समिति, कालेबुङले उनलाई रामकृष्ण शर्मा समालोचना पुरस्कार प्रदान गरेको छ।

साहित्येतिहासकारका रूपमा घनश्याम नेपाल

नेपाली साहित्यको इतिहास लेखनमा घनश्याम नेपालको नाम पनि अग्र पङ्क्तिमा आउँछ। उनको  नेपाली साहित्यको परिचयात्मक इतिहास पुस्तकमा साहित्येतिहास लेखनमा काल विभाजनको नयाँ बान्की प्रस्तुत गरेर विधागत इतिहास लेखिने काम भएको छ। उनले गरेको नेपाली साहित्यको कालविभाजन र तिनका आधारलाई वैज्ञानिक, तर्कसम्मत र सन्तुलित मानिन्छ। उनले आर एस क्रेन, लुइ कजाँमियाँ, रेने वेलेक, दयाराम श्रेष्ठ आदिका मतलाई अघि सारेर आफ्नो मत अघि सार्नुभएको छ। उनका अनुसार नेपाली साहित्यको सात वटा कालविभाजन गरिएको छ- प्रस्तावना काल, स्तवन काल, शृङ्गारिक काल, नीतिकाल, रोमान्टिक काल, प्रयोगकाल र उत्तर प्रयोगकाल गरी सात वटा रहेका छन्।

यसमा साहित्येतिहासको सैद्धान्तिक अवधारणालाई प्रस्तुत गर्दै तिनका आधारमा नेपाली साहित्यको इतिहासको अङ्कन गरेका छन्। यसमा इतिहास र साहित्येतहास, साहित्येतिहासका अन्तर्पाठात्मक, केन्द्रवादी, एकीकृत अथवा अवयववादी, इतिवृत्तात्मक जस्ता भेदहरू, साहित्येतिहासको सामग्री संयोजन, लेखनविधि, साहित्येतिहासको इतिहास, नेपाली साहित्यतेहासको काल विभाजन र विकासक्रम जस्ता पक्षहरूको सम्यक् अध्ययन प्रस्तुत गरेका छन्।

उनका जम्मै समालोचना कृतिहरू आधिकारिक, उच्चस्तरीय, मूल्यवान र महत्त्वपूर्ण छन्। उनका पुस्तकहरू नेपाल भारत सबैतिर बढी उद्घृत (Citation) सन्दर्भग्रन्थका रूपमा रहेका देखिन्छन्। उनका ‘विधा विविधा’ र ‘रूप र रेखाहरू’ जस्ता दुई समालोचना पुस्तकले पनि नेपाली समालोचनामा विशिष्ट योगदान दिएका छन्। उनको  समालोचना लेखनले नयाँ पुस्ताका समालोचकहरूलाई दिशा निर्देश गरी अध्ययनको फाँट विस्तार गर्ने परिवेश सिर्जना गरिदिएको पाइन्छ।

शैलीवैज्ञानिक समालोचकका रूपमा घनश्याम नेपाल-

नेपाली साहित्यमा शैलीवैज्ञानिक समालोचकहरू थोरै छन्। मोहनराज शर्मा, घनश्याम नेपाल, कृष्णप्रसाद दाहाल, माधवप्रसाद पोखरेल, लक्ष्मणप्रसाद गौतम आदि प्रमुख हुन्। यसलाई मूल रूपमा अघि बढाउने मोहनराज शर्मा हुन् भने यसलाई गति दिने घनश्याम नेपाल हुन्। साहित्यको समालोचनाको एउटा महत्त्वपूर्ण पक्ष हो शैलीवैज्ञानिक समालोचना। यसले भाषाविज्ञान, सङ्केतविज्ञान र साहित्यशास्त्रलाई आफ्नो सैद्धान्तिक आधार लिएर  शैलीवैज्ञानिकले समीक्षा गर्दछ। कृतिभित्र भाषाकोको कलात्मक र सौन्दर्यात्मक अभिव्यञ्जन गर्ने भाषिक संरचना हो।

‘शैलीविज्ञानले कुनै कृति विशेषको अध्ययन, विश्लेषण गरेर पाठकहरूमाझ प्रमातानिष्ठ साहित्यिक मबल्या अथवा समीक्षकनिष्ठ साहित्यिक मूल्य नदेखाएर कृतिनिष्ठ साहित्यिक मूल्य देखाइदिन्छ। कृतिनिष्ठ मूल्य उद्घाटनका निम्ति यस पद्धतिले कृतिलाई तीन स्तरमा विश्लेषण गर्दछ’। (गोपालप्रसाद दाहाल, नेपाली अकादमी जर्नल, वर्ष ३ अङ्क ३, २००६, पृष्ठ ५१)। शैलीविज्ञानले मूलतः तीन स्तरमा कृतिको अध्ययन विश्लेषण गरिन्छ- कला सामाग्री स्तर, कला माध्यम स्तर र कला-प्रतीक स्तर। नेपालका परिबन्द कथानक संरचनाको विश्लेषण, पहराको फूल क विश्लेषण, भाषिक संयोजन प्रक्रिया र उज्यालोका संयोजक तत्त्व, इन्द्रबहादुर राईको खीर कथामा पात्र प्रयोग, पागल कविताको संरचना परिपाटी, विपना कतिपयको बोली विवेचन जस्ता लेखमा शैलीविज्ञनिक आधार लिइएको छ।

घनश्याम नेपालले लक्ष्मीप्रसाद देवकोटाको गद्यकृतिहरूको शैलीवैज्ञानिक अध्ययन विषयमा नै विद्यावारिधि गरेका हुन्। उनका ‘शैलीविज्ञान’, ‘रूप र रेखाहरू’, ‘विधा विविधा’ जस्ता कृतिमा शैलीविज्ञानलाई आधार लिएका छन्।  अझ शैलीविज्ञान पुस्तकमा शैलीविज्ञानको सिद्धान्तलाई सरलता र रोचकतासाथ प्रस्तुत गरेका छन्।

उत्तरसिद्धान्त विमर्शक समालोचकका रूपमा घनश्याम नेपाल-

घनश्याम नेपाल एक युगसचेत, गहन अध्येता र साहित्य चिन्तक हुनाले उनको लेखनले पूर्वीय र पाश्चात्य किसिमको सन्तुलन राखेको पाइन्छ। विधा विविधा कृतिभित्र रहेका इतिवृत्तशास्त्र, उत्तरआधुनिक सिद्धान्त, अन्तर्पाठात्मक, रूपक, विधा-सिद्धान्त, विनिर्माण, सङ्केतवैज्ञानिक जस्ता लेखहरू पठनयोग्य छ। उनले समाख्यानात्मक सिद्धान्तलाई गरेर नेपाली कृति सन्दर्भअनुरूप व्याख्या विवेचन गरेका छन्।

नेपाली सर्वप्रथम इतिवृत्तशास्त्रको व्याख्या गर्ने नेपाल नै हुनुपर्छ। उनका अनुसार इतिवृत्तशास्त्र आख्यान शास्त्रभन्दा अझ उपयुक्त संज्ञा हो। आख्यान कृतिभित्र कथा, कथानक, इतिवृत्त, आख्यान भिन्नाभिन्नै भए तापनि एकार्कामा सम्बद्ध हुन्छन्। तिनको माझबाट एउटा इतिवृत्यात्मक ढाँचा निर्माण हुन्छ। यसै गरी भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा सबल्टर्नका बारेमा एउटा लेख लेखेका थिए। त्यसमा किनारीकरण के हो, यसको साहित्यिक लेखनमा के कस्तो अवधारणा छ भन्ने कुरा उल्लेख गरिएको छ।

सम्पादकका रूपमा घनश्याम नेपाल-

घनश्याम नेपाल एक कुशल सम्पादक हुन्। हालसम्म उनले समयाङ्कन र अभिज्ञान जस्ता अनुसन्धानमूलक जर्नलको सम्पादन गरेका छन्। यसै गरी ‘कथासागर’, ‘कविता सागर’ र ‘निबन्ध नन्दन’ जस्ता पुस्तकहरू विभिन्न तहमा पाठ्यपुस्तकका रूपमा परिचित छन्। यी पुस्तकमा रहेका सम्पादकीय नै गहन अध्ययनका उपज हुन्। यी पुस्तकहरूको भूमिकामा नै नेपाली कथा कविता र निबन्धका परिभाषा, परिचय, विकासक्रम र प्रकृतिहरूको राम्रोसँग लेखाजोखा गरिएको पाइन्छ। उनले दृष्टिकोण भन्ने पत्रिकामा पनि कुशल सम्पादन गरेका छन्।

व्याकरणकारका रूपमा घनश्याम नेपाल-

नेपाली व्याकरण लेखनमा घनश्याम नेपाल एउटा विशिष्ट नाम हो। उनी एक व्याकरणकार पनि हुन्। आजसम्म उनका तीन वटा नेपाली व्याकरण पुस्तक देखिन्छन्- नेपाली व्याकरण प्रकाश, माध्यमिक नेपाली व्याकरण र रचना (सहलेखक पुष्कर पराजुली), उच्च माध्यमिक नेपाली व्याकरण र रचना (सहलेखक कविता लामा)। उनी नेपाली भाषाको प्राकृतिक स्वरूप र आधुनिक भाषाविज्ञानका आधारलाई नियालेर त्यस मुताबिक व्याकरण लेखेका छन्। उनी भाषाका कुशल प्रयोक्ता हुन्। उनको व्याकरणमा वैज्ञानिकता, भाषिक सचेतता, मौलिकता जस्ता गुण पाइन्छन्। उनका व्याकरण पुस्तकहरूमा नेपाली भाषाको मौलिक स्वरूप र प्रवृत्तिहरूलाई आत्मासात गरी उक्त व्याकरण पुस्तकहरू तयार पारिएको छ। उनका व्याकरण पुस्तकहरूमा सरलता, सहजता, वैज्ञानिकता जस्ता विशेषता पाइन्छन्।

अनुवादकका रूपमा घनश्याम नेपाल-

घनश्याम नेपाल एक कुशल अनुवादक पनि हुन्। उनको अङ्ग्रेजी र बङ्गला भाषा साहित्यमा पनि दखल हुनाले उनको अनुवाद कला पनि विशिष्ट देखिन्छ। उनका अनूदित कृतिहरूमा रवीन्द्रनाथ ठाकुरका केही नाटक (सह-लेखन) र एम. हिरियानीको भारतीय दर्शनको रूपरेखा (२०१६) प्रकाशित छन्। यसमा अनुवादको भाषिक शिल्प, तकनिकी पक्ष र भाव प्रतिपादन गरिएको पाइन्छ। भारतीय दर्शन जस्तो गम्भीर विषयको मूल पाठलाई आकर्षक शैली र भाषामा उतारेका छन्। स्रोत भाषालाई नेपाली लक्ष्य भाषामा खुबै शब्द र शैलीसचेत भएर उतारिएको छ।

मूल्याङ्कन र उपसंहार-

अतः सैद्धान्तिक र प्रायोगिक दुवै समालोचना प्रणालीका आधारमा नेपाली समालोचनालाई उच्चस्तरीय मर्यादा पुराउने समालोचक डा. घनश्याम नेपालले खेलेको भूमिकाले निकै ठुलो ऐतिहासिक महत्त्व राख्दछ। उनका समालोचनामा गुणात्मकता, मूल्य निर्णय, दिशा निर्देश, चिन्तनका नयाँ आयामको खोजी, एउटा कृतिलाई  विभिन्न सिद्धान्तका आधारमा मूल्याङ्कन, भाषावैज्ञानिक, संरचना आदि जस्ता विशेषता पाइन्छन्। उनी गहन अध्येता हुनाले पूर्वीय पाश्चात्य सबै पुराना र नयाँ समालोचनाका सिद्धान्तका आधारमा समालोचना गर्दा हाम्रा कृतिहरू आलोकित र मूल्याङ्कित बनेका छन्।

उनी एक आदर्श गुरुका साथै नयाँ पुस्ताका समालोचकहरूका प्रेरणाको स्रोत हुन्, मार्ग निर्देशक हुन्। उनका प्रत्येक पुस्तकहरू नेपाली समालोचनाका माइलखुट्टी साबित भएका छन्, पुस्तकहरूका भीडमा परैबाट टलक्क देखिए सरहका बनेका छन्।