आजबाट फेरि ३ दिनको लागि नयाँ सहर जाँदै छु ।

त्यहाँ गएर के हेर्ने , के के गर्ने खासै केही बुझेको छैन। जे होस् अब बस्ने ठाउँ चैँ यो टापुको प्रमुख सहर राजधानी सरह हो। म बस्ने ठाउँ भिडभाडयुक्त केन्द्रबाट ५-६ किलोमिटर टाढा छ । लास पालमास भन्ने ठाउँ पुग्न यहाँबाट बसमा डेढ घण्टा लाग्ने रहेछ र सहरको मुख्य भागबाट अर्को बसमा चढी २० मिनेट लाग्ने रहेछ। सकेसम्म मोबाइलमा नक्सा हेर्दै हिँडेरै जाने बिचार गर्दै खाजा खाएर बस चढेँ। यता जाँदा पनि बाटोमा हेर्ने दृश्यहरू राम्रा थिए- देब्रे पट्टी समुद्र अनि दाहिने पट्टी पहाडी डाँडाकाँडा । यही बिचमा यो टापुबारे केही बुझ्ने जिज्ञासा भयो र आजभोलिको सजिलो तरिका विकिपिडिया, गुगलमा ‘क्यानरी टापु’ हालेर खोज्न थालेँ।

अफ्रिकी महादेशको उत्तर पश्चिममा पर्ने स्पेनको अधीनमा रहेको ७ वटा स्वशासित टापुहरू रहेको यी भूभागलाई क्यानरी टापु भनिँदो रहेछ तर म अहिले रहेको टापु चैँ टेनेरिफा र फुएर्तेभेन्तुरा पछिको तेस्रो ठुलो टापु ग्रान क्यानरी हो। उत्तर अफ्रिकी देश मोरोकोबाट जम्मा १०० किलोमिटरको दुरीमा रहेको यी टापुहरूमा करिब २२ लाख मानिसहरू बस्दा रहेछन्। यहाँको मौसम, अद्भुत किसिमका सामुद्रिक किनार अनि लाभा विस्फोटले बनाएका पहाडहरूका कारण पर्यटक निकै नै आउने रहेछन् ।

जम्मा ७५०० वर्ग किलोमिटर क्षेत्र फलमा फैलिएको यी टापुहरूमा वर्षमा एक करोड २० लाख पर्यटकले भ्रमण गर्दा रहेछन्। म अब पुग्न लागेको लास पालमास चैँ यी सातै टापु मध्यको सबैभन्दा ठुलो रहेछ। यसको उत्पत्तिका बारे अध्ययन गर्दा ल्याटिन भाषामा कुकुरहरूको टापु भनिँदो रहेछ। इतिहासकार प्लिनी दे एल्डरका अनुसार ठुला ठुला कुकुरहरू जनाउने गरी यी टापुको नाम रहन गएको रहेछ। ५ दिन बिताइसकेको ठाउँबारे यति जानकारीहरू लिँदै गर्दा बस पनि गन्तव्यमा पुग्यो र अब नक्सा हेर्दै बस्ने ठाउँतिर हिँड्न थालेँ।

सहरमा हिँड्दै गर्दा अहिले काठमाडाैँमा बनाउन खोजिएको सडक पेटीको सम्झना दिलायो। यहाँ पनि अति जनघनत्व रहेछ र साना सडक र अति नै भिडभाडयुक्त सवारी आवागमन । तर पैदल यात्रीका लागि सानै भए पनि फुटपाथको व्यवस्था गरिएको रहेछ। यहाँ फुटपाथ जम्मा एक हात  चौडाइको छ र मानिस अनुशासित भएर एकतर्फी हिँड्ने गरेका रहेछन्। अनि सार्वजनिक यातायातको लागि बिचमा भाँचिन मिल्ने लचकदार लामा लामा बस हालिएको रहेछ जसले गर्दा व्यक्तिगत सवारी साधनको चाप घटाउन मदत पुगेको देखियो। १ युरो ४० सेन्ट भाडामा होटेल पुगिने भएता पनि १ घण्टामा पुगिने पैदल यात्रा नै रमाइलो थियो। दिउसो भएकोले कुनै हतार नगरी, सहर नियाल्दै हिँडेरै बस्ने ठाउँ पुगेँ।

म बस्ने ठाउँका होस्ट अति मज्जाका रहेछन् गेटमै लिन निस्कनु भएको थियो, भित्र लगेर सबै देखाउनु भो, बुझाउनु भो। ३ तल्ले उहाँको घरमा भान्सा सबैभन्दा तल अनि मेरो कोठा कौसी सँगै जोडिएको थियो मैले चाहेको जस्तै । सहरको मुख्य भागबाट त्यति टाढा राजमार्गको बाटो हुँदै जानुपर्ने ठाउँमा म हिँडेरै पुगेकोले वहाँ अलि छक्क पर्नु भो। झोला बिसाएर एक छिन फ्रेस भएर रेस्टुराँ, पसलहरू खोज्ने र त्यो ठाउँबारे बुझ्ने हिसाबले बाहिर अलि चहलपहल हुने ठाउँतिर निस्किए।

त्यस्तै १० मिनेट जति हिँडेपछि एउटा स्कुल छेउ पुगेँ , ११ -१२ कक्षा पढाई हुने रहेछ, विद्यार्थीहरू विद्यालय पोसाकमा टन्नै देखिए , उनीहरूको छुट्टीको समय भएको थियो त्यसैले बस चढ्ने ठाउँ तिर खचाखच जम्मा भएका थिए। यो दृश्य नेपालका विद्यालयमा छुट्टीको घण्टी लागेपछि देखिने चहलपहल याद गराउने खाले थियो। यो टापु युरोपभन्दा धेरै दक्षिणमा पर्ने भएकोले यहाँका मानिसहरूको अनुहार हामीहरूको जस्तै जस्तै देखिन्छ। युरोप आएपछि मैले नेपालकै झल्को मेटिने गरी यसरी टाई सहित विद्यालय पोसाकमा विद्यार्थीहरू देखेको थिइन त्यसैले एक छिन मन आनन्दित बनायो। उता फिन्ल्याण्डतिर यस्तो धेरै भिडभाड नहुने, हल्लाखल्ला नि नगर्ने, सबै कानमा इयरफोन लगाएर हिँड्ने गर्छन् । धरै सुनसान लाग्थ्यो भने यता हरेक गतिविधि बढी जीवन्त महसुस हुने।

होटेल लिने बेला मैँले त्यो ठाउँबारे खासै केही बुझेको थिइन, बुकिङ डट कम बाट अलि राम्रो रेटिङ भएको र सार्वजनिक यातायात सजिलै पुग्ने भएर मेरो रोजाइमा परेको थियो। विद्यार्थीहरू नियाल्दै अझै अगाडि बढ्दै गर्दा त्यहाँ त टापुकै सबैभन्दा ठुलो विश्वविद्यालय रहेछ – “लास पालमास युनिभरसिटी” । प्राय सबै विधामा पढाइ हुने यो विश्वबिद्यालय अन्तर्गत झन्डै २५००० विद्यार्थी अध्ययन गर्ने रहेछन्। स्थानीय वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि एउटै वार्षिक शुल्क (१०००-२५०० अमेरिकी डलर) उल्लेख गरिएको छ तर थप जानकारी लिन खोज्दा स्पानिश बाहेक अन्य भाषामा केही भेटिएन। स्पानिश भाषा अङ्ग्रेजी पछि बोलिने दोस्रो ठुलो भाषा भएकोले सायद विदेशी विद्यार्थी भनेता पनि स्पानिश भाषामै अध्ययन गर्न आउने होलान्। वास्तवमा कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको क्षेत्र जस्तै रूपमा विकास गरिएको रहेछ। अलि उचाइमा रहेको अनि २-३ तर्फ समुद्र , समुद्रका छेउछाउका बाक्ला बस्ती, अर्को तर्फ अग्ला पहाड देखिन्थे, ठ्याक्कै कीर्तिपुरबाट उपत्यका देखिए जस्तै लाग्ने।

त्यहाँको बजार पुरै घुमेँ, एउटा स्पार सुपर मार्केट, २-३ टा साना साना कफी सप र बार अनि एउटा अलि ठुलै रेस्टुराँ रहेछ । म अलि तातो खाने आशाले त्यही ठुलो रेस्टुराँ पसेँ, म्याक्सिकन भनेर लेखिएको थियो “अक्युइ एस्ता एल देताल्ले”। भित्र गएर एउटा टेबलमा बसेँ, बल्ल बल्ल मेनुबाट एउटा ”बुरितो” अर्डर गरेँ, काउन्टरका व्यक्तिले अङ्ग्रेजी खानै बुझेनन्। परिकार तयार हुँदै गर्दा मेरो आँखा भान्साको छेउको टेबलमा पुग्यो जहाँ ढलोटबाट बनाइएको गणेशको ठुलो मूर्ति देखेँ। म एक टकले त्यो मूर्तिमा हेर्दै नजिक जान खोजेँ। ती काउन्टरका व्यक्तिले भित्र भान्सामा पकाउँदै गरेकी महिलालाई बोलाइदिए उनी अङ्ग्रेजी राम्रै बोल्दी रहिछिन।

मैले यो मूर्ति यहाँ कसरी र किन राखेको जिज्ञासा व्यक्त गरेँ।

उनले बेली बिस्तार लाइन- उनी भारत घुम्न जाँदा बुझेकी रहिछन् कि त्यहाँ रोग व्याध नलागोस् भनेर अनि जुनसुकै कुराको सुरुवात गणेशको पूजा आराधनाबाट गरिन्छ भनेर। त्यसपछि उनले त्यहाँबाट गणेशको मूर्ति ल्याएर आफ्नो व्यवसाय सुरु गरेकी रहिछन् । आफ्नोमा आउने ग्राहकलाई आफूले पस्कने खानाले कुनै रोग व्याध नलागोस् , स्वच्छ परिकारले पाहुनाको सेवा गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्य लिएर। म एक छिन भावुक भएँ, आँखा रसाए। हामी जुन संस्कारमा हुर्कियौँ , यस्ता अनगिन्ती मन्दिर , देवी देवताका घेरा भित्रै बढ्यौँ तर त्यसको वैज्ञानिकता, महत्त्व बुझेर आफूले अनुसरण गर्दै आफ्ना सन्ततिहरूलाई यो बाटोमा डोर्‍याउन सकिएन ।

यता यो ”तारिफा बाजा” नामक संसारको अर्को कुनामा यति महत्वकासाथ हाम्रा देवतालाई सबैले देख्ने ठाउँमा प्रतिष्ठान गरिएको छ। यसरी ती भान्छे महिलाले आफ्नो रेस्टुराँका पाहुनालाई रोग व्याध नलागोस् भनेर गणेशको आराधना गरिरहेको दिन नेपालको चितवनको एउटा नाम चलेको पार्टी प्यालेसमा खाना खाएका सयौँ ग्राहकहरू बिरामी परेर ताल्चा नै लगाउन पर्ने अवस्था समाचारमा आएको थियो। व्यवसाय सञ्चालकले नाफाको साथै मानवीय कर्तव्य पनि भुल्न नहुने यी दुई फरक घटनाबाट प्रस्ट झल्किन्थ्यो।

मनमा कुरा खेलाउँदै खाना खाएर निस्किएँ। बाटोमा हिँड्दै गर्दा लटरम्म फलेको अम्बाको बोट भेट्टाएँ, कसैले आफ्नै घर अगाडि हुर्काएको रहेछ तर बटुवाले हातले टिप्न मिल्ने। नेपाल छाडेपछि बाटोमै यसरी अम्बाको बोट देखेको थिइन, मन थाम्न सकिन । २-३ वटा टिपेँ। माथि झ्यालबाट बुढी आमा कराउन थालिन् , अवश्य पनि  अम्बा नटिप भनेकी हुनुपर्छ। भाषा बुझ्ने भा को भए दोहोरो संवाद हुन्थ्यो होला , झगडा नै पर्थ्यो होला। केही नबुझ्ने हुँदा हात जोडेर आफ्नै भाषामा “माफ पाऊँ” भने अलि छिटो छिटो भागेँ। यसरी अर्काले लगाएको फलफूल टिप्नु राम्रो हुँदैन भन्ने त थाहा छ तर मानवीय गुण वा संवेदना भित्र , करुणा , दया जस्तै उटपट्याङ नि गर्न मन लाग्दो रहेछ कहिलेकाहीँ। हाम्रो विक्रम संवत् अनुसारको क्यालेन्डरमा त वर्षको एक दिन गणेश चौथीका रूपमा यस्तै उटपट्याङ गर्ने दिन छुट्ट्याइएको हुन्छ। सानो हुँदा यो दिन जे गरे नि हुन्छ भन्ने मान्यताले अरूको बाली फाँड्दिने, बोटबिरुवा लछार पछार गरिदिने गरिन्थ्यो, गाउँमा अरूले नि यस्तै गर्थे। यी सबै सोच्दै बस्ने घर आइपुगेँ ।

सामाजिक सञ्जाल नचलाएको धरै भएको थियो, सुरुसुरुमा त अलि बढी नै प्रयोग गर्थेँ , आजभोलि अलि कम गरेको छु। यस्ता सामाजिक सञ्जालको उचित प्रयोग बारे ज्ञान नहुँदा धरै मानिसहरू अति नै खुल्ला हुने गरेको पाइन्छ। व्यक्तिगत घटनाहरू, साना बालबालिकाका तस्बिरहरू निकै नै सार्वजनिक गर्ने गर्छन् म चैँ सकेसम्म अरूलाई कुनै सन्देश दिने खाले कहिलेकाहीँ राख्ने गर्छु। घुम्नु , देश विदेश डुल्नु आफ्नो रुचि भएकोले आफू पुगेको ठाउँबारे सामाजिक सञ्जालमा खासै राख्न मन लाग्दैन। तर यो पटक यो टापुबारे जानकारी होस् भनेर आज होटेल फर्केर फेसबुकमा एउटा स्ट्याटस राखेँ राम्रा तस्बिरहरू सहित। फेसबुकतिर खासै धरै साथी बनाएको छैन मैले। मेरो स्ट्याटस देखेर म जस्तै घुमिरहन मन पराउने फिन्ल्याण्डकै प्रकाश सापकोटा भाइले दाइ तपाईं त्यहाँ हुँदा छुटाउनै नहुने ठाउँ “रक नुब्लो” पुग्नुहोला है भनेर लेखे।

उनी आफू पुगिसकेर भनेको होला, सम्भव भए त जान पाए हुन्थ्यो । यसो बुझेको त म बसेको ठाउँबाट सार्वजनिक यातायातमा जाने हो भने पुग्न मात्र ४ घण्टा अनि फर्कन अर्को ४ घण्टा भोलिको दिन पुरै बित्ने भो भन्ने सम्झेर मन मारेर विश्वकपको सेमिफाइनल हेर्न बसेँ। बेलुका हुन लागेको थियो अर्को एक जना पाहुनासँग भेट भयो। उनलाई मैले होटेलमा छिर्ने बेला पनि झुलुक्क देखेको थिएँ, त्यतिखेर केही संवाद भएको थिएन । मलाई लागेको थियो कि उनी त्यही घरका सदस्य हुन्। अहिले कुरा हुँदा थाहा भयो कि उनी पनि म जस्तै पाहुना रहेछन् र ३ दिन यहीँ बिताइसकेका रहेछन् । भोलि अर्को सहर जाने तयारी रहेछ। जर्मनी नागरिक “डानिएल” यो टापुमा नियमित आउँदा रहेछन् उता चिसो सुरु भएपछि ।

यो पटक एक महिनाका लागि यहाँ आएका रहेछन् अहिले एक्लै अनि अब एक हप्ता पछि श्रीमती अनि अर्को साथीको जोडी आउने तरखर मा रहेछन्। उनी यहाँ आउँदा जहिले पनि विमानस्थल देखि नै गाडी भाडामा लिँदा रहेछन्, फर्कने बेला त्यहीँ बुझाएर हवाईजहाज चढ्ने। मैले पनि सुरुमा त्यो सोचेको थिएँ तर एक्लो यात्री गाडीमा के मज्जा आउला भन्ने लाग्यो अनि सार्वजनिक यातायात नै रोजाइमा पर्‍यो । फेरी मेरो स्वभाव नयाँ नयाँ मान्छेसँग बोल्ने साथी बनाउने छ त्यसैले त्यो एक्लो महसुस हुने गाडी उपयुक्त लागेन। कुराकै क्रममा उनलाई मैले प्रकाश भाइले भनेको चुचुरो बारे बताएँ। उनी यो भन्दा अघि नि त्यहाँ दुई पटक पुगिसकेका रहेछन् तर मेरो जिज्ञासा बमोजिम भोलि फेरी जान मन्जुर भए। के खोज्छस् कानो – आँखो भने झैँ भो असाध्य खुसी भएँ । सम्भव नै नदेखेको यात्रा फेरि तय गरिने भइयो । भोलिको लागि नयाँ साथी पनि पाएँ, बिहान खाजा खाएर निस्कने योजना बनाएर दुवै जना सुत्न गयौँ ।