२०७९ सालको पौष १४ गते बिहीबार राती ८:३० बजेबाट AP1 टेलिभिजनमा प्रसारण सुरु भएको कवितामाथिको पहिलो रियालिटी शो “द पोइट आइडल” को उपाधि सिक्किम भारतकी कवि नीलम गुरुङले जित्नु भएको छ । नेपाली कविताको क्षेत्रमा एउटा इतिहास रच्न सफल हुनु भएकोमा कवि नीलमलाई बधाई छ ।
अस्ति वैशाख ८ गते शुक्रवार प्रसारित आइडलको ३३ औँ एपिसोडबाट यसको छिनोफानो भएको हो । उपाधिका लागि कवि नीलमसहित मिल्सन राई (भोजपुर), पल्लविब (दार्जीलिङ, भारत) र न्याथन रायन (कञ्चनपुर) फाइनलमा पुग्नुभएको थियो । उहाँहरूलाई पनि बधाई छ । १४/१५ सय कविहरूलाई पछि पार्दै फाइनलमा प्रवेश गर्नु पनि आफैँमा चानचुने कुरा होइन । यो विषयमा थप कुरा लेख्नु परेको खण्डमा पछि लेखौँला । अहिलेलाई भने पोइट आइडलको फाइनल राउन्डभन्दा एक स्टप अगाडि आएर बाहिरिनु भएका दोलखाका कवि अनुप न्यौपानेसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछु । कुराकानी भन्दा पहिले उहाँको बारेमा थोरै केही भनौँ होला ।
कवि अनुपको जन्म दोलखाको मेलुङ्गमा भएको थियो । जिस्किँदै भन्नुहुन्छ, “जन्मेकै चाहिँ टिचिङ हस्पिटलमा हो रे ।” उहाँले आफ्नो जन्म मिति भने खुलाउन चाहनु भएन । प्राय: अविवाहित पुरुषहरूलाई आफ्नो जन्म मिति सार्वजनिक गर्न अप्ठ्यारै लाग्छ, मलाई पनि । त्यसमाथि उहाँ कविसँगै कलाकार पनि । उमेर लुकाउने मामलामा कलाकार झन् अगाडि आउँछन्। कवि अनुप माता माण्डवी न्यौपाने र पिता कुमार न्यौपानेका सुपुत्र हुनुहुन्छ । स्थायी घर दोलखा भए पनि २०६६ साल अर्थात् विगत १३/१४ वर्षदेखि उहाँ काठमाडौँमा हुनुहुन्छ ।
कविता लेखनसँगै उहाँ लामो समयदेखि रङ्गमञ्चमा सक्रिय हुनुहुन्छ । मलाई थाहा भएसम्म उहाँ काठमाडौँ स्थित मण्डला थिएटर र एक्सपर्ट स्टुडियोमा आबद्ध हुनुहुन्छ । लेखनमा कविताबाहेक गीत र कहिलेकाहीँ संवाद पनि लेख्नु हुन्छ । कविता लेख्छु भनेर लेख्न नथालेकोले कवितासँगको उहाँको यात्रा कहिलेबाट प्रारम्भ भयो स्वयम् उहाँलाई पनि थाहा छैन । उहाँलाई थाहा नभएको कुरा हामीलाई झन् थाहा हुने कुरै भएन । “कहिलेबाट लेख्न थालेँ, कसरी कविता बन्यो, मलाई नै थाहा छैन । मैले जानेर केही पनि गरेको छैन । आफ्नै हिसाबले के के के के भइरहेको छ । म स्वीकार गरिरहेको छु । मलाई थाहा छैन कहिलेबाट लेख्न छोड्छु” उहाँ भन्नुहुन्छ ।
अनुभूतिहरूको वैकल्पिक अभिव्यक्ति र समय कवितामा लेखिन्छ भन्ने उहाँको मान्यता रहेको छ ।
अब लागौँ पोइट आइडलसँग केन्द्रित रहेर कवि अनुप न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ ।
पोइट आइडलको उपाधि नजिकै पुगेर बाहिरिनु पर्दा अलिक बेसी मन दुख्यो होला है ?
– म उपाधि जित्न गएकै थिइन । तर पछि केही लोभ चाहिँ पलाएको थियो फाइनलमा उभिने । तर जित्ने चाहिँ हैन ।
हुन त पोइट आइडलमा सहभागी हुँदै गर्दा कम्तीमा उत्कृष्ट ८ सम्म पुग्न पाए हुन्थ्यो भन्ने सोच्नु भएको रहेछ पहिले । नभन्दै त्योभन्दा बेसी नै उत्कृष्ट ६ सम्म पुग्नु भयो । त्यसलाई उपाधि पाए सरह नै मान्दा पनि फरक नपर्ला । १४/१५ सय कविहरूको भीडबाट उत्कृष्ट ६ सम्म पुग्नुको खुसीलाई चाहिँ कसरी व्याख्या गर्नु हुन्छ ?
– अँ, उपाधि पाए सरह भनेर सीमित गर्ने र ? अर्कै अनुभूति होला यो त! व्याख्या त विचारको पो हुन्छ कि, खुसी त अनुभूति हो नि ! ए, अनि उत्कृष्ट त १४ नै थिए, शीर्ष भनौँ होला ।
तपाईं यसअघि पोइट आइडलको रेड जोन अर्थात् बटम टूमा दुई पटक परेर पनि कविताको सामर्थ्यले आफूलाई जोगाउनु भएको थियो । तेस्रो पटक रेड जोनमा परिरहँदा चाहिँ के सोच्नु भएको थियो, अगाडि बढिएला या यात्रा टुङ्गिएला, के चलिरहेको थियो मनमा ?
– सोच्नै छोडिसकेको थिएँ । रुघा र जरोको औषधी खाइरहेको थिएँ । पाउनु पर्ने जति पाइसकेँ जस्तो लाग्थ्यो ।
पोइट आइडलको उत्कृष्ट ६ बाट दुई जना कविहरू बाहिरिँदै गर्दा एउटा रमाइलो दृश्य देख्न पाइयो । कवि मुनु अधिकारी र तपाईंको ड्रेस कलर एउटै थियो । जुत्ताको रङ समेत मिलेको थियो । यो संयोग मात्र हो कि, अथवा पहिले नै सल्लाह भएको थियो यस्तो लाउने भनेर ?
– संयोग मात्र थियो ।
तपाईंसहित चार जना रेड जोनमा परेपछि तपाईंहरूलाई कविता लेखनका लागि विषयवस्तु दिने क्रममा एउटा चिया पसलमा दुई महिला र एक पुरुष आइपुग्छन् र आफ्ना अधुरा रहेका सपनाहरूका कुरा गर्छन् । स्वयम् चिया पसलले पनि आफ्ना सपनाहरू सुनाउँछन् । उनीहरूको त्यो संवाद सुनिरहँदा आफ्ना कुन कुन सपनाहरू सम्झिनु भयो, जो अहिलेसम्म पूरा हुन सकेका छैनन् ?
– जे सम्झे, जति सम्झेँ त्यही कविता हो ।
पोइट आइडलको मञ्चमा सबैभन्दा धेरै पटक रेड जोनमा पर्ने कवि मुनु अधिकारीपछि तपाईं दोस्रो नम्बरमा पर्नु हुन्छ । तीन पटकसम्म रेड जोनमा परेर “आशु कवि राउन्ड” मा आधा घण्टाभित्र कविता लेख्नु पर्दाको सकस चाहिँ कस्तो हुँदो रहेछ ? त्यो अनुभव पनि सुनौँ न ।
– मेरो अभ्यास नै त्यस्तै छ । प्राय: एकै बसाइमा नै लेख्छु कविता, इडिट गर्न झ्याउ लाग्छ । फेरि म थिएटरभित्रकै अर्को विधा प्लेब्याक पनि अभ्यास गर्छु, (जहाँ हामी दर्शककै कथा सुनेर उहाँहरूकै अगाडि प्रस्तुत गर्छौं ) जसमा दर्शकको कथा अनुसार कहिलेकाहीँ ३ मिनेटमा कविता लेख्नुपर्ने हुन्छ। ३० मिनेट त धेरै समय हो ।
पोइट आइडलमा हरेक हप्ता एउटा विषयवस्तु दिएर कविता लेख्न लगाइन्छ । “आशु कवि राउन्ड” मा पनि विषय दिएर कविता लेख्न लगाइन्छ । त्यसको साटो आफैँले पहिले लेखिसकेका अथवा आफ्नै इच्छा अनुसार त्यति बेला लेखेका कविता प्रस्तुत गर्न पाएको भए अझै राम्रो हुन्थ्यो होला भन्ने पनि लाग्यो कहिलेकाहीँ ?
– लागेन।
पोइट आइडलको मञ्च छोड्दै गर्दा, “उनीहरू जस्तै नाम र दामको भोकमा नै छिरेको हुँ म पनि ती डाँडाहरू नाघेर यो सहर” भन्नुभएको थियो कवितामार्फत । आफ्नो सपनालाई साकार पार्न पोइट आइडलले कत्तिको सहयोग गरे जस्तो लाग्छ ? अथवा भोलिका दिनमा तपाईंका सपना पूरा गर्न पोइट आइडलको मञ्चले दिएको यो अवसरले कस्तो भूमिका खेल्ला भन्ने लाग्छ ?
– आज बाँचेको समय आजसम्म बाँचेका समयहरूको उपज होला, र आउने दिनहरूमा पनि त आज गरेका सानोभन्दा सानो कुराको पनि असर हुन्छ नै होला । अब तपाईं आफैँ भन्नुस् कस्तो भूमिका खेल्छ होला यत्रो ठुलो मञ्चले ?
तपाईंले भन्नुभयो कि, “पहिले म नाटकमा मात्र केन्द्रित थिएँ । कविहरूसँग खासै सङ्गत गर्न पाएको थिएन ।” लेख्न त तपाईं पहिले पनि कविता पक्कै लेख्नु नै हुन्थ्यो होला । आफ्ना कविताहरू सुनाउने उपयुक्त मञ्च नपाएर हो अथवा अरू नै कुनै कारणले हो, तपाईं कविको रूपमा चाहिँ बाहिर खासै नदेखिनु भएको ?
– हजुर, लेख्थेँ अलिअलि । सुनाउँथेँ पनि कहिले कसो । देख्नेहरूले त देखिरहेका नै थिए । अनि खास चाहिँ म कविताको चाहिँ सङ्गतमा थिएँ धेरथोर । तर कविहरूको चाहिँ सङ्गत गर्नै डर लाग्ने ! हा हा हा…
तपाईं नाटकमा सक्रिय कलाकार । आइडलको मञ्चमा कविता वाचन गरिरहँदा रङ्गमञ्चको अनुप न्यौपाने मज्जैले देखियो पनि । कवितामा अलिक बेसी नाटक हाबी भयो कि ? भन्ने तपाईं आफूलाई चाहिँ लाग्यो कि लागेन कहिलेकाहीँ ?
– जहाँ उभिए पनि भन्ने त आफ्नै कथा हो । बोल्ने त आफूले जानेकै भाषा हो नि, हैन र ?
नाटकमा त तपाईं हिजो पनि सक्रिय हुनुहुन्थ्यो । भोलि पनि रहनु होला नै । पोइट आइडलपछि अब कविता लेखनको यात्रा चाहिँ कस्तो रहला तपाईंको ?
– जिस्किन्छु ल ! कविता पनि त पोइट आइडलमा आउनुभन्दा अगाडिदेखि नै लेख्थेँ नि …..
“हामी फेरि भेट्ने छौँ”… भन्ने लाइन तपाईंले पनि त्यही पोइट आइडलको मञ्चमा वाचन गर्नु भएको थियो । त्यही लाइन कवि मुनु अधिकारीको पनि थियो । कवि मुनुको त्यो लाइन सर्वाधिक चर्चामा आयो । यसरी एउटै आशयको लाइन मध्ये एउटाको खुब चल्नु र अर्कोको नचल्नुको पछाडि के कुराले काम गर्यो होला जस्तो लाग्छ ?
– यसमा त मैले के भन्न सक्छु र ! अगाडि मैले भन्दा मन परेन होला । पछि मुनुले भन्दा मन पर्यो होला । हा हा हा…
यसैमा जोड्न चाहेँ, जीवनबाट छुटेकाहरूसँग फेरि कुनै दिन भेट हुनेछ भन्ने कुरामा तपाईं आफू चाहिँ कत्तिको विश्वास राख्नु हुन्छ ?
– त्यही विश्वास र आशावादिता नै त होला
“हामी फेरि भेट्नेछौँ,
जीवनको उत्तरार्धतिर कतै,
उमेरको छायामुनि”….
पोइट आइडलको मञ्चमा तपाईंले भन्नुभएको कुरालाई सापटी लिन चाहेँ, “एउटा कविको रूपमा, एउटा कलाकारको रूपमा हामीसँग सामाजिक जिम्मेवारी पनि छ ।” भन्नुभएको थियो । एउटा कविले समाजमा कस्तो किसिमको जिम्मेवारी बहन गर्नुपर्छ भन्ने यहाँलाई लाग्छ ?
– यस्तो उस्तो त ठ्याक्कै भन्न नसकिएला कि ? चेतनाको कुरा होला । प्रश्न गर्ने ठाउँमा प्रश्न र पौरख गर्नुपर्ने ठाउँमा पौरख ।
तपाईंको नजरमा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के हो जस्तो लाग्छ ?
– कविता ! अनि ज्यान फालेर लागिपरेको टिम ।
“रियालिटी सो” भनेपछि भोटको कुरा आइहाल्छ । आइडलको मञ्चमा तपाईंले पनि थुप्रै पटक आफ्ना लागि भोट माग्नु भयो । एउटा कविका लागि कत्तिको गाह्रो हो रहेछ यो भोट माग्ने कुरा ?
– सबैको आ-आफ्नै स्वभाव हुन्छ । मेरो लागि चाहिँ गाह्रो कुरा हो । अझै पनि लाग्छ यो युनीभर्सलाई कतै बुझाउनुपर्छ होला मैले मेरो नाममा आएका भोटको हिसाब ।
लामो समयसम्म कविहरूको सङ्गतमा रहनुभयो । पोइट आइडलको क्लोज क्याम्पको बसाइ चाहिँ कस्तो रह्यो समग्रमा ?
– यो त बबाल बाँचियो नि, “स्याटिस” पल्लविप दाइको भाषामा । ठ्याक्कै एक सय दिन मेरो त ! अनि अर्को दामी कुरा यी कविहरू कवि जस्ता थिएनन् । सबैको अनुहार मेरै जस्तो थियो।
द पोइट आइडल हुँदै छ भनेर पहिलो पटक सुन्दा तपाईंको पहिलो प्रतिक्रिया के थियो ?
– अनौठो लागेको थियो । जान्छु भन्ने थिएन । खास त मलाई मेरा कविताहरूमा त्यति साह्रो विश्वास पनि थिएन । अनि अर्को कुरा चाहिँ भिडसँग डर लाग्छ ।
पहिले कविता लेखिरहँदा कुनै दिन यसरी कविताको पनि रियालिटी सो आउला भन्ने सोच आउँथ्यो कहिलेकाहीँ ?
– आउँथेन । कविता सुनाएर टन्न पैसा कमाएको चाहिँ कल्पना गर्थेँ भुक्का भाको बेलामा । हाहा..
पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धी ?
– विशेष के भन्दा पनि सिकाइ त सबै विशेष नै हुन्छ होला ।
सिकाइसँगै बुझाइ भयो धेरै । म चाहिँ हरेक कलाकारले कम्तीमा पनि ५ वर्षको अन्तरालमा कुनै न कुनै क्लास लिनुपर्छ भन्ने मान्यता राख्छु । मेरो लागि क्लास भयो यो एक सय दिन ।
पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– आबुइ, यो त खतरा क्रान्ति हो नि । नेपाली कविताको मानक भत्केको छ । एक हिसाबले अघिल्ला पुस्ताहरू र कविता भनेको यस्तो मात्रै हुनुपर्छ, यसरी मात्रै लेखिनु/भनिनु पर्छ भन्ने ढड्डासँगको सिङौरी होला । अब अझै नयाँ चेत बोकेर नयाँ कविताहरू आउँछन् जस्तो लाग्छ । सायद, भावी पुस्ताले पढ्नेछ ‘The poet idol’ भन्ने रियालिटी सो आयो, अनि नेपाली कविताको बाटो फेरियो ।
समग्रमा तपाईंका लागि पोइट आइडलको यात्रा कस्तो रह्यो ?
“रोलर कोस्टर” हाहा …। अनेकै गरियो/गर्नु पर्यो त अनि !
जाँदाजाँदै अन्त्यमा केही ?
– कविता जिन्दाबाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।