प्रिय लालीगुराँस,

साकुराको देश बाट मीठो सम्झना र यादहरु …

यति बेला म साकुराको फेदमुनि बसेर तिम्रै यादहरुमा हराइरहेको छु । देशको अर्थतन्त्रको भुमरीमा परेपछि म सपनाहरुको जहाज चढेर समुद्रपारि साकुराको देशमा आइपुगेँ, एउटै पृथ्वीमा बसेर एउटै घाम तापे पनि यो समय हामी खोलाका दुई किनार जस्तै भएका छौँ । मनको दूरी जति नाजिक भए पनि भूगोलको दूरीलाई भने परिवर्तन गर्न नसकिने रहेछ ।

मैले समुद्रछेउ पुगेर दुई हात फिजाएर लालीगुराँस …भनेर चिच्चाएर हावाहरूसँग पठाएको सन्देश तिमीले पायौ होला । अहिले साकुराको फेदमुनि यो चलिरहेको हावाहरुले पक्कै पनि तिम्रो कुसलताको सन्देश बोकेर आएको हुनुपर्छ ।

तिमीलाई छोडेर हिँडेको पनि झन्डै एक दशक हुन लागेछ। यो एक दशक यस्तै बतासहरूबाटै यादहरु आदानप्रदान गरिएछ ।

घाँटीमा कहिलेकाहीँ गल लाग्दा केही आड्किँदा म तिम्रो नै नाम पुकारेको हुन्छु । गुराँस …गुराँस…त्यतिखेर सायद तिमीलाई बडुल्की लाग्दो हो । तिमी त जडिबुटी हौ । तिम्रो त नाम नै ओखती छ । त्यसमाथि फुलिदिँदा त कति सुन्दर देखिन्छौ ।

यति बेला तिमी पनि वनैभरि ढकमक्क फुलेकी हुनुपर्छ। तिमीले पनि सजाएकी छौ त्यहाँको धर्ती वन पाखाहरु रातो रङ्गहरुले ।

यता त साकुरालाई माया गरेर बाटो र पार्कभरि लगाइन्छ र हुर्काइन्छ । फुले पछि सबै पुग्छन्, साकुराको फेदमुनि हानामी मनाउन । र मेरो मानसपटलमा पनि कल्पनाको एउटा यस्तो चित्र बनेर आउँछ जसमा मेरो शहरभरि बाटोको छेउछाउ र त्यो नारायणी नदी किनारैभरि लालीगुराँस सजाएको भइदिए ।

प्रिय लालीगुराँस ! तिमी पहाडमा मात्र फुल्यौ, अब तिमी तराई पनि झर्नुपर्छ । तिमी बनपाखामा मात्र फुल्यौ, अब तिमी शहर बजार र पार्कहरुमा पुग्नुपर्छ ।

हो, थाहा छ तिमीलाई स्याहारको खाँचो छ ।अलिकति हाम्रो मायाको खाँचो छ। अलिकति देशको मायाको खाँचो छ ।

अब तिमी साकुराजस्तै फैलिनुपर्छ । अब तिमी पनि यी साकुराहरु जस्तै देशैभरि मुस्कुराउनु पर्छ ।

तिमीलाई छिटै भेट्न आउने छु ।

उही तिम्रो

साकुराको देशबाट लालीगुराँसको प्यारो मान्छे ।