पछिल्लो केही वर्ष यता कवि हेमन्त श्रेष्ठ कवि गोष्ठीहरुमा नदेखिँदा, साहित्यिक समारोहहरुमा नदेखिँदा, उनका साहित्यिक रचनाहरु प्रकाशित भएको नदेखिँदा धेरैको मनमा प्रश्न जन्मेको छ, “कवि हेमन्त कहाँ हराए ?”
यो अमेरिकाको वासिङ्टन डिसी मेट्रो क्षेत्रका साहित्यकार र साहित्यप्रेमीहरुको जिज्ञासा हो । तर नेपालका कतिपय उनका दौंतरी कविहरु, नजिकका साहित्यिक अभियन्ता र साहित्यप्रेमीहरुबाट भने उनी टाढिएको निकै भयो । २ दशक बढी नै भयो ।
नेपालमा राम्रा कविता लेख्ने कविहरु प्रशस्त छन् । तर राम्रो वाचन शैली भएका कविहरु भने निकै थोरै छन् । ती थोरैमा कवि हेमन्त श्रेष्ठ थिए । र थिए उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रशासक, पछि प्रशासन प्रमुख नै भए । उनी एकेडेमीमा छँदा प्राज्ञहरुको कोठाभन्दा उनको कोठा गुल्जार हुन्थ्यो । साहित्यकारहरूको भीडले । कलाकारहरूको भीडले । उनीसँग मेरो भेट एकेडेमीमै भएको हो, वि.सं. २०३६ सालको सडक कविता क्रान्तिपछि ।
साहित्यिक पत्रकार संघ त्यतिबेला निकै सक्रिय थोरै साहित्यिक संस्थामध्ये एक थियो । त्यो संस्था नामले मात्र साहित्यिक पत्रकार संघ थियो । तर ९९ प्रतिशत साहित्यिक गतिविधि नै गर्थ्यो । त्यस संस्थामा विश्व विमोहन श्रेष्ठ अध्यक्ष र हेमन्त श्रेष्ठ उपाध्यक्ष निकै वर्ष भए । एकेडेमीबाट नहुने खालका साहित्यिक कार्यक्रम साहित्यिक पत्रकार संघबाट गर्थे । विश्व र हेमन्त दुबै पञ्चायत र राजाको पक्षधर मानिन्थे ।
एउटा लामो कालखण्ड साहित्यिक पत्रकार संघसँग मेरो सम्बन्ध रहेन । म अशेष मल्लहरुको साथमा सर्वनाम नाट्य संस्था बन्नुअघि निकै नजिक भएर रहेँ । अशेष काङ्ग्रेसी मानिन्थे । म कुनै पक्षको थिइनँ, तर अशेष मल्लको साथमा भएकोले साहित्यिक पत्रकार संघवालाहरु मलाई उनीहरुको विपरित विचार भएको ठान्दथे, जुन सत्य थिएन ।
खासमा के भएको थियो भने, एक साल डा. ध्रुवचन्द्र गौतमको अध्यक्षतामा साहित्यिक पत्रकार संघको नेतृत्वमा जान अशेष, म लगायतले उम्मेदवारी दिएका थियौँ । तर अध्यक्षमा अच्युतरमण अधिकारीले उम्मेदवारी दिने अठोट गरेपछि अन्तमा डा. ध्रुवचन्द्रले निर्विरोध भए मात्र उम्मेदवारी दिने, चुनावमा प्रतिष्पर्धा नगर्ने बताएपछि हामी सबैले एकमुष्ट उम्मेदवारी फिर्ता लियौँ । यो घटनापछि नै साहित्यिक पत्रकार संघसँग हाम्रो दूरी बढेको थियो । राजनैतिक वा अरु कुनै कारण थिएन ।
हेमन्तले एकेडेमीको प्रायः जसो सबै कार्यक्रमको उद्घोषण गरेको देख्न सुन्न पाइन्थ्यो । गजबको प्रभाविलो स्वर र शैली थियो उनको । हँसिला, फुर्तिला, राम्रो व्यक्तित्वका धनी र आवाज बुलन्द । अनि अरु के चाहियो र ।
नेपालमा सक्रिय राजतन्त्र भएको बेला राजाले देशका विभिन्न विकास क्षेत्रमा पालैपालो क्षेत्रीय भ्रमण गर्ने गर्थे । सुनिन्थ्यो, त्यस्ता अवसरमा राजाले हरेकजसो साँझ तत् तत् विकास क्षेत्रका कलाकारहरुले प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रम हेर्ने गर्थे । एक साँझ भने कवि गोष्ठी हुने गर्थ्यो । त्यस्तो गोष्ठीको संयोजन सधैँ नै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गर्ने गर्थ्यो । नामले र संस्थागत हिसाबले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भने पनि कवि हेमन्त कविहरुलाई निम्तो गर्न देखि खान बस्न, यातयात लगायत सबैजसो व्यवस्थाका संयोजक हुने गर्थे । म धनकुटा सवारी शिविरमा र हेटौंडाको सवारी शिविरमा २ पल्ट कविता वाचनका लागि जाँदा उनको व्यवस्थापन कौशल देखेको हुँ । राम्रो कवितालाई झन् राम्रो शैलीमा सुनाउने कलाझैं व्यवस्थापनमा पनि उनको कला औधी माझिएको देख्न पाइन्थ्यो ।
खासमा ४,४ वर्षमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरु परिवर्तन भइरहन्थे । तर हेमन्त श्रेष्ठ कहिल्यै म्याद नसकिने स्थायी प्राज्ञ थिए । प्रशासन प्रमुखको पदमा भए पनि ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा हरेक वर्ष गाईजात्राको उपलक्षमा ‘गाइजात्रा महोत्सव’ को आयोजना हुने गर्थ्यो । अन्य हास्य व्यङ्ग्यात्मक कार्यक्रमसहित त्यहाँ व्यङ्ग्य कविताले पनि ठाउँ पाउँथ्यो । उनका कविता पनि त्यसमा पर्थे । उनी कविता महोत्सवमा उद्घोषण आफैँ गर्थे र प्रतियोगितामा पनि भाग लिन्थे । एक साल उनी कविता महोत्सवमा प्रथम भए । उनी प्रथम भएको साल बिबिसी लण्डनले समेत उनको कविता प्रसारण गरेको थियो । कविता महोत्सवको इतिहासमै यो पहिलो दुर्लभ घटना थियो । बिबिसीमा त्यसरी प्रसारण हुनु निकै ठूलो कुरा थियो । रेडियोको जमानामा ।
यो बेग्लै कुरा हो, एकेडेमीको प्रशासन प्रमुख भएकाले प्रथम भएको भन्ने आरोप र आक्षेप उनलाई नलागेको होइन । तर उनी कवि थिए । राम्रा कवि थिए । उनले पुरस्कृत नहुनु पर्ने कारण थिएन । तर पुरस्कृत गर्ने संस्थाको जागिरे भएकाले उनमाथि त्यो आरोप लागेको थियो ।
नेपालमा कार चढ्ने कवि बिरलै थिए । तर हेमन्त त्यो समयमा कार चढ्ने कवि थिए ।
वि.सं. २०४६ सालको जन आन्दोलन सफल भएपछि र बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि त्यो परिवर्तनको राँको सर्वत्र सल्कियो । तत्कालीन सक्रिय राजतन्त्रद्वारा संरक्षित पञ्चायती व्यवस्था अन्तर्गत गठित प्राज्ञ परिषद्का सदस्यहरूलाई राजिनामा गराउन दबाबहरू भए । वक्तव्यहरु निस्के र एकदिन प्रज्ञा प्रतिष्ठानकै सभाकक्षमा तत्कालीन प्राज्ञहरुलाई राजिनामा गराउन दबाब सभा आयोजना गरियो । सो सभामा पञ्चायत र पञ्चायत पक्षधरहरुको व्यापक विरोध गरिएको थियो । वक्ता कवि लेखकहरुले धूवाँधार भाषण ठोकिरहेका थिए । बोल्ने क्रममा हरि अधिकारीले निकै चर्कोसँग साहित्यिक पत्रकार संघलाई “मण्डलेको गुमास्था” भनेर ट्याग लगाइदिएका थिए । त्यतिखेर हेमन्त एकेडेमीको प्रशासन प्रमुख थिए । साहित्यिक पत्रकार संघको अध्यक्ष पनि थिए । उनी पनि त्यो सभामा उपस्थित थिए ।
हरि अधिकारीको भाषणपछि उनले पनि भाषण गरे र साहित्यिक पत्रकार संघलाई “मण्डलेको गुमास्था” भनेकोमा डटेर त्यसको विपक्षमा भाषण गरे । मैले त्यति चर्को भाषण हेमन्तको मुखबाट न त्यसअघि सुनेको थिएँ, न त्यसपछि नै सुनेँ । उनको आक्रोस र त्यो भनाइलाई काउण्टर दिने शैली निकै प्रभाविलो थियो ।
हेमन्तको सहयोगी भावनाको पनि खुल्ला मनले तारिफ गर्नु पर्छ । पहिलोपल्ट डा. तारानाथ शर्मा र म एकै कार्यक्रमका लागि अमेरिका आएका हौँ । अमेरिकी राजदूतावासलाई भिसाको लागि सिफारिस गर्न संस्कृति मन्त्रालयलाई उनले अत्यन्त सद्भावकासाथ पत्र लेखिदिएर डा. तारानाथ र मलाई गुन लाएका थिए सन् २००० मा । त्यो सिफारिसले पनि भिसा लिनका लागि मद्दत नै गर्यो । आज म अमेरिकावासी हुनमा त्यो भिसाको पनि हात छ ।
हेमन्तले निरन्तर कविता साधना गरे पनि, कविताहरु चर्चित भए पनि कुनै किताब निस्केको थिएन । एकेडेमीमा हालिमुहाली हुँदा उनलाई एउटा कविता सङ्ग्रह प्रकाशन गर्न कुनै आइतबार थिएन । तर उनले वि.सं. २०५५ सालमा मात्र एकै वर्ष २ कविता सङ्ग्रहहरु प्रकाशित गरे, ‘म गीत गाउँ कसरी’ र ‘देश भोकाहरुको रोटी होइन’ । यी दुईमध्ये ‘म गीत गाउँ कसरी’ चाहिँ एकेडेमीबाट प्रकाशित भएको थियो ।
यौटा रमाइलो संयोग मान्नु पर्छ, म सन् २००० मा पहिलोपल्ट अमेरिका आएँ । उनी पनि अमेरिका आए र वासिङ्टन डिसीमा फेरि हाम्रो भेट भो । वासिङ्टन डिसीमा उनले एक साथीसँग साझेदारीमा माउण्ट एभरेष्ट रेष्टुँरा खोले । त्यतिखेर होमराज आचार्य अमेरिकन युनिभर्सिटीमा अध्ययनरत थिए र साहित्यमा जागरुक थिए । जय छाङ्छा नेपाली दूतावासमा थिए । उनी पनि साहित्यका सक्रिय र क्रियाशील थिए । हेमन्तका दाइ वसन्त श्रेष्ठ पनि बोष्टन छाडेर यतै बसाइ सरेका थिए र उनी पनि साहित्यमा जागरुक थिए । म त जागरुक र उत्साही छँदै थिएँ । होमनाथ सुवेदी पनि फुर्तीसाथ साहित्यमा चहलपहल गरिरहेका थिए अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको छाता ओढेर ।
अब माउण्ट एभरेष्ट रेष्टुँरा साहित्यिक माहौलको केन्द्र बन्यो । कोही साहित्यकार आए, जमघट त्यहीँ हुन्थ्यो । नेपालबाट आएका साहित्यकारहरू विमल कोइराला, दामोदर पुदासैनी किशोर, सरुभक्त, गोपाल पराजुली लगायत थुप्रै साहित्यकारहरूलाई हामीले माउण्ट एभरेष्ट रेष्टुँरामै स्वागत गरेका थियौँ । होमराज आचार्यको सक्रियता र सुझबुझमा खुलेको ‘एकेडेमी अफ नेपाली पोयटस् एण्ड राइटर्स’को अघोषित कार्यालय नै माउण्ट एभरेष्ट रेष्टुँरा थियो । उनी पनि त्यस संस्थामा निसन्देह संलग्न थिए ।
हामीले रिमाल कविता गोष्ठी, वालकृष्ण सम जयन्ती जस्ता महत्त्वपूर्ण कार्यक्रमहरु माउण्ट एभरेष्ट रेष्टुँरामै सफलतापूर्वक सम्पन्न गरेका थियौँ । मेरो कथा लेखनको २५ वर्ष पुगेको उपलक्ष्यमा एक कार्यक्रम त्यहीँ आयोजना गरियो । मेरो ‘प्रजातन्त्रको काफल पाक्यो हजुर’ हास्यव्यङ्ग्य सङ्ग्रहको विमोचन माउण्ट एभरेष्ट रेष्टुँरामै भएको थियो । डा. गोविन्द राज भट्टराईको हातबाट मेरो अर्को कृति ‘गुडवाई अमेरिका’ नियात्रा सङ्ग्रहको विमोचन पनि त्यहीँ भएको थियो । साहित्यिक गफगाफ गर्न म निरन्तर त्यहाँ जान्थेँ । व्यपारको कामको व्यस्तता बिच पनि साहित्यिक गफगाफ र ममार्फत् साहित्यिक सूचना पाएर हेमन्त दङ्ग पर्दथे ।
माउण्ट एभरेष्ट रेष्टुँरामै विश्व सन्देश नामक पाक्षिक अखबार प्रकाशन गर्ने निर्णय भएको थियो । पत्रिकाको नामकरण हेमन्तले नै गरेका थिए । तीनजना मिलेर सुरु गरेका थियौँ । तर ६,७ महिना पनि तीनजनाको साझेदारी चल्न सकेन । प्रकारान्तरले म एक्लिएँ र ‘विश्व परिक्रमा’ सुरु गरेँ । ‘विश्व सन्देश’ छिटै नै बन्द भयो । ‘विश्व परिक्रमा’ भने मैले १० वर्ष जति चलाएँ ।
एएनए अर्थात् एसोसियसन अफ नेप्लिज ईन अमेरिका अन्तर्गत उत्तर अमेरिकी साहित्य प्रतिष्ठान गठन गरियो । वसन्त श्रेष्ठको अध्यक्षतामा गठित सो प्रतिष्ठानको हेमन्त महासचिव थिए । तर एएनए संस्थामै विग्रह आएर मुद्दामामिला भएपछि र नियमित सारसौंदो अवस्थामा नरहे पछि साहित्य प्रतिष्ठान पनि समयको गर्तमा बिलायो । तर प्रतिष्ठानले कविता प्रतियोगिता गरेर अमेरिकी डलर १००० को पुरस्कार जुन दिँदै आएको थियो, निकै चासोका साथ नेपालीभाषीले लिने गरेका थिए । विश्वभरिका नेपाली कविहरुले त्यो प्रतियोगिताप्रति निकै नै चासो र रुचि देखाएका थिए ।
यति सक्रिय र शक्तिशाली कवि हेमन्त कहाँ हराए आजकाल ? प्रतीक्षित तेश्रो कविता सङ्ग्रहका लागि सिर्जनारत पो छन् कि ? एकेडेमीमा कार्यरत छँदाको दुर्लभ अनुभवलाई संस्मरण लेखन गर्न तपस्यारत छन् कि ? कता हराएका छन् कवि हेमन्त कविताको महादेशभन्दा टाढा ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।