होटलबाट निस्कियौँ, अग्लो पहाड रोज्यौँ, खासै अरु मान्छेहरु नजाने खाले पहाड अनी कसैले नहिँडेको बाटो हिँड्ने निधो गर्यौं । उनी १२ वर्षको उमेरदेखि दौडिन सुरु गरेकी अहिलेसम्म नि दिनमा ७-८ किलोमिटर दौडिने गरेकी रहिछन् । म “मन पराउने” तर निरन्तरता नदिने खाले परेँ। स्वभावैले होला केटी मान्छेहरु बाहिर निस्कँदा सबै तयारी गरेर हिँड्छन्, म हिँड्ने भनेपछि जुत्ता लाइहाल्ने खाले परेँ। उनले बाटोको लागि हलुका खाजा, घाम छेक्ने क्याप, पछाडि बोक्ने झोला, सन क्रिम दलेर बन्दोबस्तिले निस्केकी थिइन्, म भने हातमा पानीको बोतल मात्रै बोकेर निस्केको थिएँ ।

निस्किनासाथ म नेपालबाट आएकोले पहाड चढेको अनुभवबारे कुरा सुरु भयो । उनी इरानकी थिइन्, पहाड चढेको अनुभव रहेनछ । अब केही हदमा म सिनियर हुन थालेँ । अनि मैले नि बाल्यकालदेखि नै यस्ता उकाली ओराली गरेको दैनिकी सुनाउँदै अघि बढ्न थाल्यौँ। म जोसिएर अलि ठाडो बाटो लाग्न खोज्दा उनले लामो यात्राको लागि शक्ति सञ्चय गर्नुपर्छ ।  अलि बिस्तारै जाने विचार पाेखिन् । मैले नि त्यसै गरेँ ।

झन्डै २ घण्टा हिँडेपछि सोचेकै उँचाइमा पुग्यौँ, ठाउँ ठाउँमा कडा चट्टान उक्लिनु पर्थ्यो उनी अलि हिच्किच्याउन थालिसकेकी थिइन्, मन नलागी नलागी अनी अलिअलि डराउँदै मेरो पछि लागिन् ।

मान्छेलाई कुनै न कुनै कुराले प्रोत्साहन, हौसला दिइरहेको हुन्छ । यो चुचुरो जबर्जस्ती पुग्नुमा उनीलाई भोलि पहिलोचोटि भेट हुने नयाँ साथीलाई यहीँ ल्याउँछु भन्ने अठोट थियो । त्यही तत्त्वले उनलाई ऊर्जा दिएको थियो, अनि मैले नि उनको त्यो अठोटलाई आफ्नो पहाड चढेको अनुभवको फुर्तिले मलजल गर्दै थिएँ। म अघि अघि चट्टान उक्लिँदै बेला बेला अब सजिलो वाला छ भन्दै थुम्थुम्याउँदै जान्थेँ, जिस्क्याएको थाहा पाउँथी, आँखा तर्थी तर उक्लिएरै छोड्थिन् ।

बिहान हिँड्ने बेला त्यो पहाडको एउटा साइड मात्रै देखिएको थियो । त्यसैले हामीले त्यही बाटो फर्केर बसेकै ठाउँमा खाना खाने सल्लाह गरेका थियौँ । तर त्यो टुप्पोमा पुगेपछि हामीले कल्पनै नगरेको मनोरम दृश्य देख्न थाल्यौँ, अर्को साइडको ठूला ठूला बस्तिहरु, अलि पर हिजो अवतरण गरेको विमानस्थल अनि त्यसको आडमा समुद्री किनार। अब हाम्रा पुराना योजना फेरिए, नयाँ बन्न थाले। आएको बाटो नफर्कने अर्को साइडबाट सहर छिर्ने, त्यतै खाना खाएर बसमा घर फर्कने ।

अघि भनेको अप्ठ्यारा चट्टान उक्लिँदा उनले बेला बेला आफ्नो चिन्ता प्रकट गरेकी थिइन् कि माथि त जिनतिन चढ्न सक्छु तर ओर्लिन गाह्राे होला । कहीँ कहीँ त यही कारण फर्कने मुडमा नि लगभग पुगेका थियौँ । तर फेरि झर्ने साइडपट्टि हेर्दा अलि भिरालो जस्तो लाग्यो अनि मैले अलि हौस्याएर अगाडि बढाउन थालेँ ।

हाम्रो सोचाइ फेरि मिल्यो उनी पनि म जस्तै आफ्नै बाटो बनाउन पर्छ । अरुले बनाको बाटो सजिलो हुन्छ तर केही सिकिँदैन भन्ने खाले रहिछन् । चुचुरोबाट यो टापु धेरै नियाल्यौँ, टन्नै फोटोहरु खिच्यौँ। अन्जान साथीहरु यस्तो अनौठो यात्रा गरेका थियौँ, उनले लगेका खाजा खायौँ तर सँगै फोटो खिच्न दुबैलाई हिच्किचाहट थियो। जुन म सहजै बुझ्न सक्थेँ । किनकि साथमा म भए पनि उनको मनमा भोलिको केटो थियो । सेल्फी खिच्दा भनेजस्तो फोटो आउँदैन त्यसैले मैले मेरो क्यामेरा दिएर उनलाई मेरो फोटो खिच्न लगाएँ ।

तिम्रो नि खिचिदिन्छु ल्याऊ भनेको, अर्को मान्छेले खिचेको थाहा हुन्छ भनेर मानिन, मेरो अड्कल सही निस्कियो। पछि मैले तिमीहरुको मित्रता गाढा भएपछि म पठाउँला, मेरो मोबाइलबाट खिचौँ भनेपछि मन्जुर भइन् । हामीले चुचुरामा एउटा फोटो सँगै खिच्यौँ। उनी सेल्फीको आनन्द लिँदै थिइन्, म नि यस्तो ठाउँमा पुगेर श्रीमतीलाई भिडिओ मार्फत देखाउन लालायित भएँ तर उनी भर्ना भएकी बुहारी कुर्न त्रि.वि. शिक्षण अस्पतालमा थिइन्, जुराएन । नत्र त्यस्तो एकलास ठाउँमा बोल्ने, समय बिताउने साथी भेट्टाएको सुनेर उनी नि खुशी हुन्थिन्, ढुक्क मान्थिन्।

उनको नाम निजमा थियो तर सजिलोको लागि निजा भन्न थालेँ, उनले नि अप्ठ्यारो मानिनन्। अनुहार लगायत शरीरका हात खुट्टामा सन क्रिम नलगाई धेरै पछि त्यस्तो टन्टलापुर घाम तापिरहँदा म सूर्यको किरणले असर गर्छ कि भन्ने चिन्ता व्यक्त गर्थें। उनले क्रिम आफूले लगाएको तर बोकेर नल्याएकोमा खिन्न मान्दै “सरी” है भनिन् र “रासायनिक” प्रकारको भाषाले मलाई ढुक्क पार्न खोज्थिन्  कि । कुन्नी कति तापक्रममा कति समयसम्म बैजनी किरणहरुले असर गर्दैन रे।

पहाडको टुप्पोबाट बेला बेला हावा नि बेसरी आउँथ्यो । उडाउँछ कि क्या हो। हामीले कुराकै क्रममा आफ्नो वजन खोलिसकेका थियौँ ।  मैले नि जिस्क्याइदिएँ, नआत्तिनू उडायो भने नि मलाई पहिला उडाउँछ अनि तिमी बच्नु ।

हाम्रो ओरालो यात्रा सुरु भयो, ढुङ्गै ढुङ्गा , क्याक्टसका बिरुवा मात्रै थिए । म अलि सहज महसुस गर्दै गोरेटो बनाउँदै हिँड्दै थिएँ, बिस्तारै बाटोहरु अप्ठ्यारो हुँदै गए । हाम्रा जीवनका विगतका अध्ययन, अनुभवहरु, पारिवारिक जीवनका कुराहरू सुरु भयाे। उनले १८ वर्षको उमेरमा बिद्रोह गरेर देश छोडेर विदेशिएदेखि सँगालेको लामो अनुभव साटासाट गर्दै जिनतिन ओरालो लाग्दै थियौँ । बाटोहरु नामेट हुँदै गए, झनै अप्ठ्यारो, कहाली लाग्दो बाटोतिर पुग्यौँ। फर्किन पनि नसक्ने यात्रा तय गरिसकेका थियौँ । म चैँ गर्ल्याम्गुर्लुम हाम्फाल्थेँ, उनलाई घस्रिन पर्थ्यो। धक मानीमानी मैले उनको हात समाएर बाटो घटाउँदै गयौँ।

मेरो  पहाड हिँडेको पो अनुभव थियो तर हिमालै चढेको र झरेको त थिएन, तैपनि सकिनसकी अघि लाइरहेँ। हामीमा भयानक डर पलाइसकेको भान दुबैमा झल्किसकेको थियो, तर त्यसलाई थामथुम पार्न नयाँ प्रसङ्ग झिक्थ्यौँ। क्याक्टसको फूललाई फलको रुपमा खान मिल्ने रहेछ, बिच बिचमा त्यही खायौँ । बोकेको पानी, खाजा सबै सक्किसकेको थियो । हामी छल्लिएको स्पष्ट हुन्थ्यो, त्यो डाँडाबाट त्यसरी बेवारिसे तरिकाले कोही पनि झरेका थिएनन् भन्ने पक्कापक्कीजस्तै लाग्थ्यो । तलबाट कसैले देखेर खबर गरिदिए भने हेलिकप्टर सहित प्रहरी आएर उद्दार गर्ला है भन्दै अघि बढ्याैँ। घस्रिँदै झर्ने क्रममा उनी धेरै ठाउँमा लडिन्, हात टेक्दा दर्खर्याएर रगत आउन थाल्यो। उपाय घट्दै गएपछि उनी साहसी बन्दै गएकी थिइन्, अनि आफू लडेको फोटो खिच्देऊ भन्न थालिन् । मैले तिम्रो नयाँ साथी नि भनेर सोधेँ, अब भने उनीमा यस्ता कुराको प्रतिवाद गर्ने तागत बढिसकेको थियो – “नो प्रोब्लम, आइ विल ह्यान्डल ” भनिन् । मैले फोटो खिचिदिएँ । हामीलाई अन्य कुरा गौण र जसरी नि यो यात्रामा बाँच्नु पर्छ भन्ने मात्रै महसुस हुन थाल्यो।

यात्राले अर्को नयाँ मोड लियो जब हामी पहाडको तलतिर बस्तीको छेउ पुग्न थाल्यौँ । बस्तीहरुमा मानिसका धेरै जग्गा हुने रहेछ । आफ्नो घर जग्गाको सुरक्षा गर्न सबैले कुकुर पालेका हुँदा रहेछन् । ती कुकुरहरु शिकारी कुकुरजस्तै थिए, हाम्रा आकृति देख्दा, आवाज सुन्दा झम्टेर आउन लागे । बाँधेको कुकुरदेखि त मलाई खासै डर लाग्दैनथ्यो तर त्यसरी सुरक्षाका लागि खुला छोडिएका कुकुरदेखि भने डर लाग्नु स्वभाविकै थियो। बाँधिएकाहरु त्यहीँ बसेर कराउँदै थिए, खुल्ला छोडिएका केही ठूला कुकुरहरु हामीतिर आए।

हरेक कुराको समय हुने – सामान्य अवस्थामा  दुई तीन घरका कुकुरहरु आ-आफैँ लड्थे होलान् तर बाहिरियाबाट जोगिन कस्तो एकता गरेका । उनी कराउँदै अनियन्त्रित तरिकाले भाग्न थालिन्, कुकुरले झन हामीतिरै लखेट्न थाले। ठूलै बित्यास आउने भयो । अघिका दु:ख सबै साम्य भए। मैले दृढ भएर उनीलाई रोकेँ र केही हलचल नगरी बस्न लाएँ । म आफू नि ठिङ्ग उभिएँ, बाँच्न लेख्या रहेछ सुँघेर छोड्यो।

धेरै बेर सन्नाट्टा छायो, कुकुर गयो उनीलाई होशमा फर्काउन हम्मेहम्मे पर्यो। धेरै बेरको आरामपछि मैले उनलाई तल उतारेँ। एक्कासि गर्लम्म अङ्गालो हालिन् । “अलि कसिलाे” अँगालो थियो त्यो, वास्तवमै मृत्‍यु जितेको पल। उनले रुँदै व्यक्त गरिन् कि उनलाई जीवनमा डर लाग्ने भनेकै कुकुरदेखि रहेछ ।

भनिन् – “मैले ईरानी राज्य विरुद्ध विद्रोह गर्ने आँट गरेँ तर कुकुरदेखिको डर कहिल्यै मेटाउन सकेको थिइनँ, आज तैँले त्यो अवसर दिइस्।”

त्यो कसिलो ‘अँगालो’ त्यसैको प्रस्फुटन रहेछ नत्र भने उनी मुसलमान मुलकी अनि म हिन्दू संस्कारमा हुर्केको, हामी दुबैका लागि अँगालो संस्कार त्यति स्वभाविक थिएन, त्यहाँमाथि अघि भर्खरसम्म एउटा तस्बिर खिच्न नि सकस मानिरहेका हामी ।

तल झरेपछि खाना खाएर बस चढेर फर्किने अघिको योजनाले अब नयाँ रुप लियो । बरफ जमेको ठाउँबाट आएको हामी दुबै जनालाई तातो घाम, उज्यालो नै काफी थियो । त्यहाँमाथि अघि देखिएको समुद्रले दुबैलाई लोभ्यायो। खासै हाम्रो कुनै ठोस योजना थिएन, मलाई नि भोलि त्यो दुई दिने होटल छोडेर अरु नै शहर जानु थियो । उनीलाई नि नयाँ साथी नआएसम्म समय बिताउनु थियो । उनले अघि दर्खरिएको हात रेस्टुराँमा गएर सफा गरिन्। त्यतै लन्च खाएर समुद्रकाे किनारतिरै लाग्ने निधो गर्यौं । जुन हाम्रो होटलको ठीक उल्टो दिशातिर पर्थ्यो। खाना मगायौँ तर निकै ठूलो भाग आउने रहेछ । एउटा मात्रै मगाएर बाँडेको भए मज्जाले अघाइने रहेछ भन्ने दुबैले महसुस गर्यौं। घरतिर फर्कन लागेको भए बाँकी खाना प्याक गरेर लैजान हुन्थ्यो, तर हाम्रो घुमघाम अझै लामो भएकोले त्यो सम्भव भएन । हामी दुबै खानेकुरा फाल्न हुन्न भन्ने मान्यता बोक्ने परेछौँ । बेरालाई बोलाएर माफी माग्दै बिल तिर्यौं । उनले अप्ठ्यारो मानेनन्, किनकि त्यहाँ खानेकुरा खेर जाने सामान्य हुने रहेछ । हामीलाई चैँ भने आत्माग्लानि भयो ।

सन क्रिम नलगाई घरबाट निस्केकोले बजारमा पसल देख्नासाथ गएर किन्दै थिएँ । सानो कुरामा नि कति छिट्टो ध्यान गैहाल्ने उनको । उसले हत्तपत्त यो त जहाजमा लैजान मिल्दैन भनेर सानो चिटिक्क परेको किन्ने सल्लाह दिइन्। म झल्याँस्स भएँ, हो त नि जहाजमा ५० मिलि भन्दा ठुलो लैजान पाइन्न । म भने यस्ता कुरापछि भोगेपछि मात्रै चेत पाउँछु । जे अगाडि देख्यो उठाइहाल्ने बानी छ ।

दुबै जना सङ्घर्षपूर्ण जीवन बिताउँदै विदेशमा अडिएका हामीहरुको भोगाइ धेरै मिल्थ्यो अनि रुचीहरु पनि उस्तै उस्तै भएकोले हामीलाई समय, दुरी खासै औचित्यहीन लाग्न थाल्यो । बाटोमा फेरि कुकुर घटना निकालिन् । मैले नि फुर्ती लाउँदै सानोमा बाले बाघ भेट्दा हातको टर्च जस्ताको तस्तै राखेर बाघको ध्यान त्यहाँ लगाइदिएर आफ्नो ज्यान जोगाएको कथा (मलाई अझै थाहा छैन त्यो मैले उनलाई ढाडस दिन बुनेको कथाजस्तै मेरा बाले सङ्कट सामनाका लागि निडर हुन सिकाउन बुन्नु भएको कथा थियो कि साँच्चै नै घटेको घटना थियो) सुनाउँदै आफूलाई निडर बनाउँदै अघि बढेँ । कति जानेको है तैँले म चैँ बेक्कार विज्ञानतिर पढिछु, यस्तो मिलाएर गफ गर्नै आउँदैन भन्थिन्, जेहोस यात्रा सहज अघि बढ्यो ।

समुद्रको किनारमा मान्छेहरु छुट्टै संसारमा थिए, हामी नि अघिको त्यो पहाडको ओरालो अनि कुकुर काण्ड बिर्सेर अब समुद्री संसारमा ढल्किसकेका थियौँ । उत्तरी युरोपबाट यतिखेर सबैको रोजाइ यतै समुद्रतिर आएर पौडी खेल्न, घाममा पुरुषहरु कट्टु मात्रै लगाएर अनि महिलाहरु बिकिनीमा सेक्किएर बस्न आउँछन् । हामी भने पहाड चढ्न मात्रै निस्केको समुद्रमा पुगेका थियौँ । साथमा गम्छा, स्विमिङ ड्रेस केही थिएन ।

बाटोमै हाम्रा अनुभव साटिसकेका थियौँ, म पानीदेखि डराउने, उनी चैँ समुद्रमै हाम फाल्ने खाले परिछन् । अघि मैले साहसी बनेर कुकुरदेखि बचाएको बदलामा उनलाई आफ्नो पौडी कला देखाउन मन लागेको भाव मैले प्रष्ट बुझेको थिएँ । यद्यपि उनले त्यसरी व्यक्त त गरिनन् तर स्विम्मिङ ड्रेस भाडामा लिएर, किनेर नि पौडी खेल्ने भन्न थालिन् । मलाई नर्मल कट्टुमै पानी छोएर फोटो खिच्न पाए समुद्र पुगेको रहर पुग्थ्यो । के सोच्लिन् भनेर उनलाई तिमीलाई अप्ठ्याराे नलाग्ने भए म सर्ट खोल्छु फोटो भिडियो खिच्देऊ है भनेर सोधेँ । उनले “इट्स ओके ” भनिन् । मेरो फोटो भिडियो बनाइदिइन्।

उनको लागि ड्रेस खोज्यौँ तर पाइएन मन नलागी नलागी “इट्स ओके ” भनिन् तर उनको भोक नमेटिएको प्रष्ट झल्किरहेको थियो। मैले उनीप्रति जगाएको निडरता अनि बाटोमा आफ्नो बोल्ने कलाको बदला सायद मलाई पानीमा देखाउन चाहन्थिन् उनी । मेरो हात समातेर पौडिन सिकाउँथिन् होली वा फिन्ल्याण्ड, स्विडेनतिर हिउँको डल्लोले एक अर्कालाई हिर्काएर आनन्द लिएझैं मलाई समुद्रको पानी छ्यापेर भिजाउथिन् होली । यी सबै अभाव बोकेर अलिअलि मन खिन्न पार्दै फर्कौं भनिन् ।

घर फर्किने बेला फेरि हाम्रो कुरा मिल्यो । बस नचढ्ने हिँडेरै जाने। त्यो समुद्रको किनारदेखि डोरी तान्ने हो भने नि हाम्रो होटल ७ किलोमिटर भन्दा बढी हुन्छ । बसको पहाडी घुम्ती बाटो। तर कुरा कहिल्यै नसकिने, अझै धेरै बाँकी जस्तो लाग्ने अनि जसरी नि दुबैलाई आजको रात कटाउनु थियो, हिम्मत गर्यौं र हिँडेरै होटल पुग्ने निधो गर्यौं। सुरुमा मेरो विमानस्थलदेखि होटलको यात्राको बिचमा घटेको खुलाउन बाँकी घटना उनीलाई सुनाउँदै दूरी पार गर्यौं।

हामी बस्ने होटल नजिक उनले चाइनिज पसल देखेकी रहिछन् । एक्छिन डुल्छु भनेर छिरिन् । म केहीबेर फुट्बल हेर्छु भनेर होटलमै पसेँ। विश्वकपको रमाइलो नि छुटाउन भएन। कमाइ त उनको राम्रै थियो तर फुर्मासी खर्च धरै नगर्ने, सकेसम्म घरमै आफैँ बनाएर स्वथ्यकर खाना खाने बानी रहेछ । फेरि चाइनिज पसलमा छिर्यो भन्दैमा सबै सस्तो र कमसल सामान हुन्छ भन्ने पनि भएन । बाँकी ४-५ दिनको लागि फेरफार हुन्छ भनेर धेरै कपडाहरु किनेर ल्याइन् । मलाई एक एक गरेर देखाइन् । उनको दौडने बानी भएकोले कति दूरी हिँडियो हेर्ने तरिका सेट गरेकी रहेछिन् । घर आएर जाँच्दा २८ किलोमिटर भन्दा बढी हिँडिएछ ।

फ्रेस भएर अब त्यतै बजार डुल्ने, अलि आरामसँग बसेर बाहिरै समय बिताउने, खाने सल्लाह गर्यौं। उनलाई पनि एक दिनअघि देखि आफूले पत्ता लगाएको ठाउँहरु मलाई देखाउनु थियो। बाटोमा लटरम्मै फलेको सुन्तलाको बोट हेर्दै हामी हिड्यौँ, खासै पर्यटकहरु नपुग्ने तर हँसिला, बोलाकी मानिसहरु बस्ने सानो तर अति सुन्दर ठाँउ रहेछ त्यो विमानस्थलबाट १० कि. मि. को दूरीमा रहेको “आगुमिअस” भन्ने बस्ती । यात्रा गर्दा खानेकुराको अलि समस्या हुन्छ। जे पायो त्यही नखाने, मेनुको भाषा नबुझिने। उनीलाई पनि त्यस्तै हुने रहेछ ।

दिनभरिको यात्रामा अन्य विविध कुरा त भएको थियो तर एक अर्काको अल्कोहल (मदिरा) बानी बारे केही कुरा भएको थिएन। मेरो पनि अल्कोहल रोजाइमा खासै पर्दैन तर बेलाबखत ’टुच्छ’ लाउने गर्छु। विशेष गरी फिन्ल्याण्डको समरमा साइकल चलाउन अनि तातो घाममा बियर पिउन चैँ सोख नै छ। त्यो दिन नि त्यस्तै थियो तर उनी मुसलमान मूलकी मलाई नि सोध्न गाह्राे । उनलाई नि त्यस्तै लागेर होला सोध्न हिच्किचाएकी थिइन्। प्रसङ्ग कोट्याउनासाथ उनी पनी बेला बेला सामान्य मदिरा पिउने गर्दिरहिछन् । हाम्रो फेरि कुरा मिल्यो। दिनभरिको थकान मेट्न बारमा पसेर बियर पिउने निर्णय गर्याैं ।