
गीत-सङ्गीतको क्षेत्रमा हेर्दा कुनै पनि गीत सबैको लागि कर्णप्रिय र उत्कृष्ट ठहर हुनु वा चर्चित हुनुको पछि सो गीत लेख्ने शब्दकार अर्थात् गीतकारको पनि समान योगदान पुगेको हुन्छ। रहरले मात्र कोरिएका शब्दहरू छन् भने सो गीतमा जति नै राम्रो गायकको स्वर परे तापनि, जति नै राम्रो सङ्गीतकारको सङ्गीतले सजिए तापनि त्यो गहकिलो गीत बन्न सक्दैन। उसो हो भने कस्ता गीतकारको गीत गहकिलो हुन्छ त ? भन्ने प्रश्न यहाँ स्वतः तेर्सिहाल्छ।
अब यस प्रश्नको समाधानतर्फ कुनै उत्कृष्ट गीतकारको विचार बुझ्ने प्रयत्नमा म धेरै दिनदेखि लागिरहेको थिएँ। मेरो सौभाग्य भनौं, नेपाली गीतकारहरूमा अति नै चर्चित र प्रतिष्ठित गीतकार डा. जस योञ्जन ‘प्यासी’-सँग उहाँकै निवासस्थानमा भेटघाट गर्ने अवसर मलाई प्राप्त भयो। डा. ‘प्यासी’-को क्षेत्र व्यापक छ, उहाँको योगदान नेपाली काव्य, समालोचना र नाटककारको रूपमा धेरै फराकिलो छ। गीतकारको रूपमा मात्र लियौं भने पनि उहाँ हाम्रा अमूल्य सम्पदा हुनुहुन्छ। उहाँसितको भेटघाटलाई आफ्नो मनभित्र गुम्सिएको प्रश्नहरूका उत्तर खोज्ने सही अवसर ठानें मैले।
उहाँसितको यो विस्तृत भेटवार्तामा उहाँले व्यक्त गर्नुभएका विचारहरूसित सबै पाठकहरूलाई साक्षात्कार गराउनुभन्दा पहिले मैले के कारणले उहाँसितै मेरा मनभित्रका प्रश्नहरू तेर्साएँ त्यसबारे केही कुरा राख्छु ।
गीत लेख्नेहरू सबै असल गीतकार हुनु नसक्नुको पछि एउटै कारण छ, त्यो हो गीत र कवितामा रहेको समानता र भिन्नताबारे बुझाइको अभाव। कविता र गीतमा धेरै हद्सम्म समानता हुन्छ। दुवै नै पद्य विधा हुन्। कविता र गीत दुवैमा शैली विशिष्ट हुनपर्छ। दुवैमा बिम्ब, लक्षणा, अलङ्कार र अनुप्रासहरूका प्रयोगले भाव अभिव्यञ्जित गरिएका हुन्छन्। दुवैमा शब्द र भावको चमत्कारिता हुनपर्छ। तर दुवैमा धेरै भिन्नता पनि छ। कविताको आकार निश्चित हुँदैन, कविले इच्छाअनुसार कविताको आकार निर्धारण गर्न सक्छन्। तर गीतको निश्चित आकार हुनपर्छ। कवितामा जस्तो गीतमा जटिल शब्दहरू राख्दा मिल्दैन। लोक गीतलाई छोडेर आधुनिक गीतहरूमा ग्रामीण जनताले बोल्ने स्थानीय भाषा र शब्दको प्रयोग पनि ठीक लाग्दैन ।
कविता आख्यानपरक हुन्छ तर गीत आख्यानविहीन हुन्छ। कविताले लेखीय आकार लिन्छ तर गीतले चक्रीय आकार लिन्छ। वाचनलाई ध्यानमा राखेर कविता रचिन्छ तर गायनलाई ध्यानमा राखी गीत रचिन्छ। गीतमा भाषा शैली नै लयदार हुनपर्छ। गीत जुनै पनि विषयमा रचिए तापनि यसको स्थायीमा जुन विषयवस्तुको उठान गरिएको छ, अन्तराहरूमा त्यसैसँग सम्बन्धित भावले पछ्याउँदै गएको हुनुपर्छ। यसैबाट थाहा लाग्छ एक असल गीतकार हुनलाई के कति कुरामा ध्यान राखिएको हुनुपर्ने रहेछ। यही कारणले हामी के देख्छौं भने त्यस्ता गीतकारहरूका गीतहरू मात्र उत्कृष्ट र कर्णप्रिय ठहर भएका छन्, जो कवि पनि हुन् साथै गीतकार पनि हुन्।
जसमा साहित्यको अध्ययन छ, जसले कविता कविताकै ढङ्गले लेख्न सक्छन्, उनैले गीतलाई लय, सूर र ताल ध्यानमा राखी लेख्न सक्छन्। यस्तै गीतकारहरूका गीतहरू मात्र सफल भएको देखिन्छ। यस हिसाबले हेर्दा एक असल गीतकारमा सङ्गीत सम्बन्धी प्रचुर ज्ञान नभए तापनि समान्यतया सूर, ताल र लयबारे आवश्यक ज्ञान चाहिँ हुनै पर्छ। नेपाली गीत सङ्गीतको इतिहास आजको दिनसम्म आइपुग्दा पनि हामीसित सीमित यस्ता गीतहरू छन्, जुन गीतहरूलाई चर्चित र कर्णप्रिय बन्नमा गीतकारको शब्द रचनाले नै धेरैभन्दा धेरै सहयोग पुऱ्याएको छ। तर अफसाेस गर्ने कुरा यहाँ के छ भने राम्रो र कर्णप्रिय गीतको वाहवाही लुट्नेहरूले गायक र सङ्गीतकारको शीपलाई मात्र देखिरहेका हुन्छन्, गीतकारको शीप र मेहनतलाई आत्मसात् गरेका हुँदैनन्।
यसो हुँदाहुँदै पनि असल गीतकारलाई चिन्ने र बुझ्नेहरू पनि हामीसित छँदै छैनन् भन्न चाहिँ मिल्दैन। स्वर्ण-बिक्रेताहरूले अकबरी सुनलाई चिने जस्तै शब्दका कारीगढका रूपमा रहेका असल र उत्कृष्ट गीतकारहरूलाई बुझ्नेहरू पनि हामीसित छन्। यस्तै उत्कृष्ट गीत रचनाको माध्यमले श्रोताहरूका मनमा पस्न सक्ने र बस्न सक्ने एक अब्बल गीतकारको रूपमा हामीले पाएका छौं डा. जस योञ्जन ‘प्यासी’-लाई, जो लामो समयदेखि धेरै असल-असल गीतहरूका सिर्जनामा निरन्तर लागिरहनु भएको छ। भारत र नेपाल दुवैतर्फका नेपाली सङ्गीतप्रेमीमाझ उहाँको शब्द रचना सधैँ चर्चामा रहेर आएको छ। उहाँको विशेषता र व्यक्तित्व बहुआयामि भए तापनि मैले यहाँ उहाँलाई गीतकारकै रूपमा मात्र प्रश्नहरू राख्दै केही खोतल्ने जमर्को गरेको छु। प्रस्तुत छ उहाँसितको भेटवार्ताः-
===
नेपाली जाति र समाजलाई अरू समक्ष माथि उठाउनुमा साहित्य सँग-सँगै गीत सङ्गीतले पनि ठूलो भूमिका निर्वाह गरेको हुन्छ। साहित्यकारहरूले आफ्नै प्रकारले काम गरिरहेका हुन्छन् भने गीत-सङ्गीतमा संलग्न हुनेहरूले आफ्नै प्रकारले काम गरिरहेका छन्। दुवै क्षेत्रबाट जातिको उन्नतिको लागि समान योगदान पुगिरहेको हुन्छ तर पक्षपात के देखिन्छ भने कुनै साहित्यकारको योगदानको मूल्याङ्कन भने विभिन्न प्रकारले भइरहेका हुन्छन्; अध्ययन गरि-गरि समालोचकहरूले उनको कृति उपर विभिन्न प्रकारले लेखेर उनको योगदानलाई उज्यालोमा ल्याउने काम गरिरहेका हुन्छन् तर कुनै गायक गायिका, सङ्गीतकार र गीतकार जति नै उत्कृष्ट भए तापनि उनको योगदानको मूल्याङ्कन गर्दै लेखिएको, उनको महत्त्वलाई उज्यालोमा ल्याउने काम भएको भने देखिँदैन। यो त गीत-सङ्गीत क्षेत्रमा संलग्न रहेकाहरूका योगदान चाहिँ तुलनात्मक रूपमा नगन्य हो भने जस्तो भयो। यसो हुँदा कैयौं राम्रा-राम्रा गायक-गायिका, संगीतकार र गीतकारहरू धेरै नै ओझेलमा परेका छन्। यस सम्बन्धमा हजुरको के विचार छ ?
– “तपाईंले जुन कुरा राख्नुभयो, त्यो अत्यन्त गम्भीर कुरा छ। हाम्रो समाजले त्यसलाई मनन गर्नु पर्ने, अध्ययन गर्नुपर्ने, जान्नुपर्ने र झट्टै केही एउटा चुडान्त निर्णय लिएर केही गरिहाल्नु पर्ने स्थिति जस्तो छ। तपाईंले राख्नु भएको यो प्रश्न र तपाईंको भनाइलाई म पूर्णरूपले समर्थन गर्छु अनि सत्-प्रतिशत सही मान्दै के भन्न चाहन्छु भने साहित्यकारहरूका कतिपय छुटपुट कृतिहरूले पनि चर्चा पाइरहेको हुन्छ, मान्यता पाइरहेको हुन्छ, त्यस्तै मान्यता गीत-सङ्गीत क्षेत्रकाहरूले पाएका छैनन्। सङ्गीत क्षेत्रको मात्र के भनौं, हामीसित नाट्य क्षेत्र छ, जसको विकासमा लागि परेकाहरूका योगदानको उचित मूल्याङ्कन भएको छैन।
त्यस्तै प्रकारले क्रीड़ा जगतलाई हेऱ्यौं भने धेरैले विभिन्न खेलकुदमा प्रगति गरिरहेका छन्। कोही कुश्तीमा, कोही ब्याड्मिन्टनमा, कोही फुटबलमा, कोही भलिबलमा, कोही धनुकाँडमा प्रगति गरेर अघि बढिरहेका छन् तर सही रूपले उनीहरूको चिन्हारी गर्ने, मूल्याङ्कन गर्ने, उनीहरूलाई प्रोत्साहित गर्ने कुनै पहल नै छैन, कुनै तमतयारी नै छैन। यस्तो काम सरकारी निकायहरूले गर्नु पर्ने हो तर कसैले केही गरेका छैनन्। यस क्षेत्रमा थोरै भएपनि जे जति काम भएका छन्, सबै हाम्रै संघ-संस्थाहरूबाटै भएका छन्। यतिमा नै सीमित रहेर उनीहरूले पाउनुपर्ने कुराहरू पाइरहेका छन्।
निमिट्यान्नै छ भनेर त भन्न नसकौंला, एक-दुईजनालाई माथिल्लो तहको मान्यताहरू प्राप्त भएको होला तर धेरैजना चाहिँ पर्दा पछाडि नै परिरहेका छन्। उनीहरू अगाडि आउन सकेका छैनन्, उनीहरूलाई कसैले चिन्न सकेका छैनन्। उनीहरूका योगदानको मूल्याङ्कन भएको छैन। विशेष गरेर सङ्गीतकै कुरा गर्नु हो भने, साहित्यकारहरूका कृतिहरूलाई जुन प्रकारले मान्यता र मूल्याङ्कन प्राप्त भइरहेको हुन्छ, त्यस्तै प्रकारले सङ्गीत क्षेत्रमा समर्पित भएर काम गर्नेहरूका सिर्जनाहरूका मूल्याङ्कन पक्कै भएको छैन।
यसमा मलाई के भन्न मन लाग्छ भने, हाम्रो यो साहित्यमा लेख्नेहरूले साधारण कुरा पनि लेखेर कुनै प्रकारले छपाइ हाल्छन्। उनीहरूका कृतिबारे समीक्षा र समालोचना गरी लेख्नेहरूले लेखी पनि हाल्छन् तर गीत-सङ्गीतको क्षेत्रमा यस्तो हुँदैन। गायक, गायिका, सङ्गीतकार र गीतकारहरूका सिर्जनाबारे लेख्न सजिलो छैन, किनभने यो अलिक अप्ठ्यारो विषय हो। साहित्यमा जस्तो सङ्गीत क्षेत्रमा अध्ययन गेरर मात्र हुँदैन, अलिक ईश्वरीय वरदान पनि हुनुपर्छ। त्यो नभई हुँदैन। यसैले सङ्गीत क्षेत्रमा समर्पित भई काम गर्नेहरूका योगदानबारे लेख्न हो भने लेख्ने मान्छेले धेरै नभए तापनि साधारण रूपमा यो क्षेत्र सम्बन्धी ज्ञान राखेको हुनुपर्छ। केही नजानीकन ऊ यो क्षेत्रभित्र पस्न सक्दैन।
त्यसले गर्दा हामीमाझ साहित्यको लागि लेख्ने समीक्षक अथवा आलोचक, समालोचकहरू धेरै होलान् तर सङ्गीत सम्बन्धी समीक्षा र समालोचना गर्नेहरू कोही छैनन्। यसो गर्न डराउँछन्। त्यसले गर्दा पनि एउटा फाँट सृष्टि भएको देखिन्छ। उनीहरूका उचित मूल्याङ्कन हुन सक्दैन, उनीहरूका सिर्जनाको लेखाजोखा हुन सक्दैन। यसो हुनुहुँदैन। किनभने समाजलाई, जातिलाई र एउटा राष्ट्रलाई माथि उठाउनुमा साहित्यले जति योगदान पुऱ्याएको हुन्, सङ्गीतले पुऱ्याएको योगदान त्यो भन्दा कम पटक्कै छैन। यसैले गर्दा सङ्गीत क्षेत्रमा समर्पित रहेकाहरूका मूल्याङ्कन गर्ने दिशामा हामीले गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता छ।
यहाँ मैले आफ्नै कुरा गरे जस्तो हुन्छ। मैले साहित्य सम्बन्धी थुप्रै पुस्तकहरू लेखेँ। राम्रा-नराम्रा कुराहरूलाई औँल्याएर लेखेँ। कतै प्रशंसा गरेर, कतै सुझाउ दिएर, एउटा सम्यक विचार राखेर मैले लेखेँ। म आफै पनि गीत लेख्छु। म सङ्गीतको परम पुजारी हूँ। गायक गायिकाहरू, सङ्गीतकारहरू, वाद्यवादकहरूलाई मेरो अन्तर हृदयबाट म पूजा गर्छु। त्यसो हुँदा उहाँहरूका क्षेत्रको कामहरूको पनि अध्ययन गर्छु। स्वअध्ययन गर्छु र उहाँहरूलाई यसो गरे राम्रो हुन्छ भनी सुझाउ पनि दिन्छु।
मलाई एउटा कुरा अति नै खट्केको छ। हामी गीतकारहरू गीत लेख्छौं। गीतमा त त्यसको भूमि, जड वा आधार त शब्द नै हो नि। त्यही आधारमा त गीतको संरचना ठडिएको हुन्छ। त्यही शब्दमाथि त सङ्गीत आउँछ, त्यसपछि गायकको गायन कलाको शीप आउँछ, गायन कलाकारको प्रतिभा झल्किन्छ। हुन ता गीत भनेपछि शब्दले मात्र पनि हुँदैन। गीत बन्नलाई सङ्गीतको पनि उत्तिकै ठूलो हात हुन्छ साथै गायक कलाकार र वाद्यवादकहरूको पनि समान हात हुन्छ। अब आजकल सङ्गीत संयोजनको कुरा पनि आउँछ। यी सबै कुराहरू मिलेपछि मात्र पो साँचो रूपमा एक सशक्त गीत बन्न सक्छ।
अब हामी पहिले-पहिलेको गीतहरूलाई कालजयी गीत भनेर भन्छौं। सदाबहार गीत भनेर भन्ने गर्छौं। ती गीतहरू यसरी कालजयी हुनु शब्द सङ्गीत र गायनको कारणले गर्दा हो। त्यसबेला ती सीमित साधनहरूको प्रयोगले पनि त्यस्ता कालयजी गीतहरू बनिन सके भनेदेखि उनीहरूले अहिले सङ्गीत क्षेत्रमा देखा परेका नयाँ नयाँ तकनीक र साधनहरू प्रयोग गर्न पाएका भए अझै ती गीतहरू कहाँ पुग्नेथिए होला। त्यो समयमा सीमित साधनको भरमा पनि उनीहरूले जे गरेर देखाए त्यो अति सराहनीय छ, हामीले त्यो मान्नुपर्छ, मान्यता दिनुपर्छ ।”
कुनै पनि गीत चर्चित हुनुमा गीतकारको भूमिका सम्बन्धमा ‘प्यासी’-ज्यू अझै अविराम बोलिरहनु हुन्छ, म सुनिरहन्छु। बिचैमा अर्को प्रश्न तेर्साइहाल्न मलाई मन लाग्दैन।
उहाँ भन्नुहुन्छ “हिन्दी गीत-सङ्गीतको कुरा गर्दा कुनै गीत प्रसिद्ध भयो भने त्यो गीतको सङ्गीतकार को हुन् भनी खुल्दुली गर्दा शंकर जयकिशन, राहुदेव वर्मन, जयदेव, लक्षमीकान्त प्यारेलाल इत्यादिको कुरा आउँछै आउँछ। यस्तै प्रकारले कुनै चर्चित नेपाली गीतको सङ्गीतकार को रहेछन् भन्दा अम्बर गुरुङ्ग, गोपाल योञ्जन, शान्ति ठटाल तथा जिन्तेन्द्र बरदेवाको प्रसङ्ग आउँछै आउँछ।
गायक गायिका को हुन् भन्ने कुरा त सोध्ने नै हुन्। उनीहरूलाई त सबैले चिनेकै हुन्छन् तर त्यो गीत लेख्ने गीतकार को हुन् भन्नेबारे जान्ने र बुझ्ने धेरैले कोशिस गर्दैनन्। जस्तै अरुणा लामाको एउटा गीत, जुन गीतले उनलाई अरुणा लामा बनाएर चुलीमा पुऱ्यायो, त्यो सुरुको गीत यस्तो छ- “यहाँ फूल नखिलेछ, बहार आउन नै भुलेछ, यहाँ चोट दुखेकै छ, तर सहन परेकै छ”। तर यो गीतको शब्दकार को हुन् भन्ने कुरा थोरैलाई मात्र थाहा छ। यो गीत लेख्ने जितेन्द्र बरदेवा हुन् भनेर जान्नेहरू औंला भाँचेर गन्न सकिन्छ। यसो हुँदा गीतको शब्दकार अथवा गीत लेख्ने मान्छे त हराए, विस्मृतिमा पुरिए ।”
हजुरले भन्नुभए सरह अरूणा लामाकै अर्को एउटा गीत अति चर्चित रहेको थियो। यो कालजयी गीतले डाँडाकाँडा थर्काएको थियो। “बालपनको आँगन त्यागेर, खोलानाला काटेर, आउनु पऱ्यो नौलो घरको सङ्घार”। यो गीतको पनि गायिका को हुन् अनि सङ्गीतकार को हुन् त्यो त सबैलाई थाहा होला तर यसको गीतकार को हुन् त्यसबारे थोरै भन्दा थोरैलाई मात्र थाहा भएको देखिन्छ नि ?
– ठीक कुरा उठाउनु भयो। यो सन्दर्भमा मलाई एउटा कुरा भन्नु छ। भर्खर-भर्खरै मात्र मैले यही “बालापनको आँगन त्यागेर” बोलको गीतमाथि मात्रै एउटा १६ या १७ पृष्ठको रचना तयार पारेको छु। चाँडै नै म यो गीतमाथि मात्र सिलिगुडीमा नै देवकोटा संघद्वारा आयोजन गरिने कुनै एक कार्यक्रममा एउटा लामो वक्तव्य दिने पक्षमा छु।
सो कार्यक्रममा दार्जीलिङ्ग, डुवर्स, खर्सान, कालिम्पोङ्ग, आसाम आदि सबै ठाउँका गीत-सङ्गीत क्षेत्रमा संलग्न स्रष्टाहरू र सङ्गीत प्रेमीहरू आउन सक्छन्। त्यो भेलामा त्यही गीतमाथि मात्र बोल्नेछु। त्यो गीतमा के के छ, त्यसबारे म बोल्नेछु। अहिलेका धेरैलाई थाहा छैन यो गीतबारे। यो गीतको शब्दरचना सानु लामाको हो भनेर धेरैलाई थाहा छैन, म आफैलाई पनि थाहा थिएन। यो म आफैलाई थाहा नभएको कुरा पनि मैले तयार पारेको सो लेखमा भनेको छु। म यति बिघ्न भ्रमित थिएँ कि यो गीत त शरण प्रधानले नै लेख्नु भएको हो भन्ने मैले सोचेको थिएँ।
शरण प्रधान मेरो गुरू हुनु हुन्थ्यो। पाठशालामा हामीलाई उहाँले पढाउनु भएको हो। सबैलाई म भन्थेँ, यो गीत शरण प्रधानले नै लेख्नु भएको हो भनेर। पछि कलेज पुगेपछि पो मलाई थाहा भयो। एक दिन सङ्गीत क्षेत्रका साथीहरू जस्तै बद्री-दुर्गा खरेल, प्रकाश गुरूङ्ग, वसन्त क्षेत्री, दिव्य खालिङ्ग, मणिकमल क्षेत्री, धनञ्जय थापा आदिसित कुराकानी भइरहेको थियो। त्यस बेला यो गीतको प्रसङ्ग उठ्दा सबैले मलाई भने कि यो त सिक्किमका सानु लामाले लेख्नुभएको गीत हो भनेर।
त्यसको सङ्गीतकार पनि शरण प्रधान नभएर दुष्यन्त लामा रहेछन्। शरण प्रधानकै समकालीन दुष्यन्त लामा एक असल सङ्गीतकार थिए तर धेरै लामो उमेर बाँच्न सकेनन्। त्यति बेला उनकै सङ्गीतमा दुइवटा गीत रेकर्ड भएका थिए, “बालपनको आँगन त्यागेर” अनि “विश्वास नगर जिन्दकीको माटोको हो माटै हुन्छ, साथ नखोज बटुवाको भोलि बाटो बिर्सिदिन्छ”। उनी धेरै बाँच्नु भएन तर कालयजी सङ्गीत नै दिएर गए। गीतको शब्दकारहरूलाई धेरैले चिन्दैनन् भन्ने कुरा मेरो मनमा खट्क्यो र मैले एउटा पुस्तक नै लेखें। सायद तपाईंले पनि त्यो पुस्तक पाउनु भयो होला। त्यो पुस्तक हो ‘भारतीय नेपाली गीतकार पारिचयिक चर्चा’, जसमा मैले केवल गीतकारहरूबारे मात्र लेखेको छु।
भारतीय नेपाली गीतको सन्दर्भमा हाजिरमान राईदेखि वर्तमानसम्म कस-कसले गीत लेखेका छन्, सबैको बारेमा थोरै मात्रामा भए तापनि परिचय गराउने प्रयत्न गरेको छु। तर त्यसमा म पूर्णरूपमा सफल त छुइनँ, धेरै छुटेका छन् । त्यसलाई अलिक विस्तारित रूपमा नयाँ अर्को संस्करण निकाल्ने विचार थियो तर अस्वस्थताले गर्दा त्यो सम्भव नहोला। बरु नयाँ पुस्ताका कुनै लेखकले यो काम गरिदिए वा यसलाई अझै व्यापाक गरिदिए राम्रो हुनेथियो ।
नेपाली गीत-सङ्गीतको क्षेत्रमा ३० वर्ष मात्र बाँचेर पनि स्वर्गीय शरण प्रधानले एउटा सिङ्गो उमेर बाँचेको सङ्गीतकारले पुऱ्याए जतिकै योगदान पुऱ्याएका छन्। उनी सङ्गीतकार मात्र नभएर एक असल गीतकार पनि हुन्। उनीद्वारा रचिएका र सङ्गीत भरिएका गीतहरूका तुलना आजका गीतहरूसित गऱ्यौं भने सबै कालजयी गीतहरू छन्। ती गीतहरू सबैको ओँठ ओंठमा बसेका हुन्थे। आजका नयाँ पिढ़ीका भाइ-बहिनीहरूले सायद शरण प्रधान चिन्दैनन् पनि होला। यति महान सङ्गीतकार र गीतकार ओझेलमा परेका छन् । यसमा हजुरको मन्तव्य के छ ?
– शरण प्रधानलाई गीतकार/सङ्गीतकारको रूपमा नचिन्नु र उनको योगदानको मूल्याङ्कन गर्न नसक्नु चाहिँ हाम्रो आफ्नै मूर्खता, कमजोरी भन्नुपर्छ। उनलाई बिर्सनु नै हामीले हाम्रो आफ्नोपन बिर्सनु बराबर हो। किनभने शरण प्रधानका गीतहरू अहिले पनि उत्तिकै कर्णप्रिय र मर्मस्पर्शी छन्, अहिलेको परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक छन्। जस्तै यहाँ एउटा गीतलाई हेरौं, जसलाई अहिले पनि विभिन्न कार्यक्रमहरूमा बजाएर मानिसहरूलाई उत्साहित गर्ने चेष्टा पनि गरिन्छ।
त्यो गीत हो “नेपाली गौरव गर्छौं आफ्नैपनमा घमण्डी त होइनौँ है, सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौँ है।” यो गीतमा अति सरल शब्दको माध्यमले हाम्रो आफ्नो जातिय व्यवहार र आचरणलाई चिन्हाउने काम भएको छ। यही नै यो गीतको क्षमता हो। यसलाई हेरेर हामीले बुझ्नुपर्छ शरण प्रधान कुन स्तरको शब्दकार र सङ्गीतकार हुन् भनेर।
अहिलेका पिँढीले पनि उनीबारे धेरै कुरा बुझ्नुपर्छ। शरणको अर्को एक गीत मलाई साह्रै मन पर्छ। त्यो हो- “मान्छे सबै एउटै रगतको, विचार किन बेग्ला बेग्लै…”। हेर्नुहोस् त कति बेजोड उनका शब्दहरू। अहिले मानिसहरूमा आफ्नो-आफ्नो विचार देखिन्छ। मानिसहरूमा आफैले आफैलाई ठूलो ठान्ने प्रवृत्ति छ; अहम्, दम्भ, अहङ्कार, घमण्ड, भेदभाव प्रचुर मात्रामा देखिन्छ। तर त्यसो किन गर्नु ? आखिर हामी त सबै मानिसहरू एउटै हौं त। एउटै रगतका हौं त। आज तपाईंलाई आवश्यकता पऱ्यो भने मेरो रगतले साथ दिनुपर्छ अनि मलाई आवश्यकता पऱ्यो भने तपाईंको रगतले साथ दिनु पर्छ। यसरी रगतको आवश्यक पर्दा चाहिँ एउटै हुनु अनि अरूबेला चाहिँ किन बेग्ला बेग्लै हुनु ? त्यही समयमा नै शरण प्रधानले यस्तो बेजोड गीत लेखेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक छ। यस्तै गीतलाई हामी कालजयी गीत भन्छौं। यस्तो गीतले समयलाई पनि जितेर अघि बढ़ेको हुन्छ।
अतीतमा डुबेर ‘प्यासी’-ज्यूले शरण प्रधानको गीत र सङ्गीतको कुरा गरिरहनु भएको बेला बिचैमा अर्को एक गीतको प्रसङ्ग निकाल्छु। “अरुणा लामाले नै मणिकमल क्षेत्रीसित गाएका गीत ‘आँखाहरूले कसलाई कसलाई खोजे झैं लाग्छ’। यति बेजोड गीत अहिले पनि विरलै पाइन्छ भनी म उहाँको सामु किटेर भन्छु।”
यो गीतको प्रसङ्ग आउनासाथ “आमामामा”…भन्दै उहाँ भन्नुहुन्छ “त्यतिबेला त उहाँको एउटा सिर्जनाको मूल नै फुटेको थियो। त्यति नै बेला निष्ठुर कालले छोपेर उहाँलाई लगिहाले पछि त नेपाली गीत-सङ्गीतले ठूलो क्षति झेल्नु पऱ्यो।
आज शरण प्रधान केही समयसम्म पनि बाँचिदिनु भएको भए अझ धेरै राम्रा राम्रा गीतहरू हामी पाउँने थियौं। त्यसबेला उहाँलाई सङ्गीत क्षेत्रमा साथ दिने अर्का एक प्रतिभा थिए रञ्जित गजमेर। शरण-रञ्जीतकै नाम दिएर यी दुईले खुबै राम्रा राम्रा गीतहरू सृजना गरेका छन्। त्यस्तै अर्का एक सङ्गीतकार पनि थिए, जसले प्रायः भायोलिन बजाउनु हुन्थ्यो। उनी हुन् कपिलराज सुब्बा। साह्रै राम्रो कलाकार। “उम्लिने माया पोखिन्छ, गम्भिरे पिरती खोज न” बोलको गीत उनैको हो। त्यस्तै प्रकारले शब्दकारहरूमा हामी पासाङ वाङबललाई भुल्न हुँदैन। उनले रचेका “घाम जून पञ्च राखी बाचा मार” बोलको गीतले अम्बर गुरुङ्गलाई धेरै माथि पुऱ्यायो। उनी एक अब्बल गीतकार हुन्। सामान्य शिक्षा लिएर अनि सामान्य जीवन निर्वाह गरेर पनि वाङबलले खुबै उत्कृष्ट गीतहरू सृजना गरेका छन्।
साहित्यमा हिजो-आज अभिनन्दन ग्रन्थ भनेर कसैको जीवनी लेखी प्रकाशित गर्ने होड नै चले जस्तो देखिन्छ। बरु हामीले त शरण प्रधान, गोपाल योञ्जन, अम्बर गुरुङ्ग र शान्ति ठटाल जस्ता हीरा-मोतीहरूबारे शोध गरि-गरि पुस्तकहरू प्रकाशित गर्नुपर्ने अर्थात यस्ता प्रतिभाहरूका अभिनन्दन ग्रन्थहरू वा स्मृति ग्रन्थहरू पो निकाल्नु पर्ने होइन र ?
– यो सही विचार हो तपाईंको। यस्तै हुनु पर्थ्यो। तर यसलाई सोचिदिने र गरिदिने कोही भएनन्। गर्नुपर्छ भनी अघि बढिदिनेहरू कोही छैनन्। यस सन्दर्भमा मलाई अहिले थाहा लागिरहेछ यही वर्ष गोपाल योञ्जनको जन्म दिनमा नेपालबाट एउटा जम्मै भएभरका उहाँका गीतहरू सङ्ग्रह गरेर वृहतरूपमा एउटा पुस्तक प्रकाशित हुँदैछ। सो पुस्तकमा उहाँ सम्बन्धमा लेखिएका अरूका लेखहरू पनि समावेश गर्ने प्रयत्न भइरहेको पनि मैले सुनेको छु। यस्तो काम एकजनाले गर्ने काम होइन। यसको लागि एक सामुहिक पहलको आवश्यकता पर्छ। तर हाम्रा ती सम्बन्धित संस्थाहरू किन निष्क्रिय बस्छन् ? किन यसबारे सोच्दैनन् ?
अब हाम्रा सङ्गीत क्षेत्रका महान स्रष्टाहरू अम्बर गुरूङ्ग, गोपाल योञ्जन, शान्ति ठटाल, जितेन्द्र बरदेवा जस्ता व्यक्तिहरूका अभिनन्दन ग्रन्थ पो निस्कनु पर्थ्यो। तर यसको लागि कोही अघि सर्दैनन्। यसको लागि उनीहरू आर्थिक कारण देखाउँछन्। तर यो समस्या केही होइन। समान विचार भएका मानिसहरू मिलेर गऱ्यो भने यो कम फत्ते हुन्छ। सबैबाट आर्थिक सहयोग लिएर यस्तो काम गर्न सकिन्छ। तर कसै एकले पहल थाल्नुपऱ्यो, जसले नेतृत्व दिनसक्छ। अहिले अभिनन्दन-ग्रन्थ निकाल्ने, शालिग निर्माण गर्ने क्रम चलेको छ। तर गीत-सङ्गीतमा त्यस्ता-त्यस्ता योगदान पुऱ्याउनेहरूका अभिनन्दन-ग्रन्थ निकाल्न सकिँदैन र ? सकिन्छ नी, तर यस्तो कुरा चेतनामा हालिदिने सही व्यक्तिको आवश्यकता छ।
यो सन्दर्भका कुरा चलिरहेको बेला गोपाल योञ्जनबारे अर्को प्रसङ्ग निकाल्नुहुन्छ प्यासीज्यू। दार्जीलिङ्गमा गत वर्ष मात्र निर्माण भएको गोपाल योञ्जनको प्रतिमाको कुरा गर्दै यस कार्य सम्बन्धी एक भाई आफ्नो घरमा आएको अनि उनको योजनालाई मूर्त रूप दिन आफै अगुवा भएर लागिपरेको बताउँदै उहाँ भन्न हुन्छ—”आज दार्जीलिङ्गमा गोपाल योञ्जनको प्रतिमा स्थापना भएको छ। बाहिरबाट आउने पर्यटकहरूले पनि सोध्लान् को हुन् यिनी भनी। यो अति राम्रो काम भएको छ ।”
गीत र कवितामा धेरै समानता छ भने धेरै पार्थक्य पनि छ। कविता नबुझी गीत लेख्दा सफल गीत जन्मिनु नसके जस्तो लाग्छ। गीत लेख्नलाई कवि हृद्य नै हुनपर्छ जस्तो मलाई लाग्छ। रहरले मात्र गीत लेख्दा त्यो त पानीको फोका जस्तो मात्र हुन्छ। हजुरको विचार?
– यो त अति राम्रो प्रश्न राख्नु भयो। यो सम्बन्धमा मैले केही कुरा मेरो पुस्तक ‘भारतीय नेपाली गीतकारहरू केही पारिचयिक’ मा पनि लेखिसकेको पनि छु। कतिमा जन्मजात प्रतिभा हुन्छ र गीत लेख्छन्, कसैले अरूको हेरेर र सिकेर गीत लेख्छन्, कति अभ्यासले खारिँदै गएर गीत लेख्छन्, कतिले लेख्न नसके तापनि उसले कोशिष जारी राख्यो भने एक दिन त अवश्य राम्रो गीत लेख्न सक्लान्। गीत लेख्ने मान्छे पनि रातारात चर्चित हुन सक्ने होइन। सङ्गीतमा पनि गिटारको एउटा कर्ड थिच्दैमा सङ्गीतकार हुने होइन। तर गीत लेख्दा अलिकति गीतको बारेमा अध्ययन गरेको हुनुपर्छ। गीत लेख्ने मान्छेमा कवित्वको भावना हुनैपर्छ। जुन गीतमा कवित्व छैन भने त्यो गीत नीरस बन्छ। गीत लेख्नेले लयात्मकता जानेको हुनुपर्छ।
गीतमा एउटा लय हुन्छ, त्यस्तै प्रकारले गीतको शब्दमा पनि लय हुन्छ। त्यो लय मात्राको सहयोगले बनेको हुन्छ। तबलाको मात्राहरू, जस्तै रूपक, दादरा. दिपचन्दी, करवाँ भन्छौं, त्यस्ता मात्राहरूबारे पनि धेरथोर ज्ञान राखेको हुनपर्छ। ती मात्राहरूमध्ये कुनैमा आधार गरेर गीत रचना गर्न सकिन्छ। यसरी एउटा निश्चित फ्रेममा लेखिएको गीत पाएपछि त्यसलाई कम्पोज गर्नमा सङ्गीतकारलाई अति सुविधा हुन्छ। यसरी मात्रामा मिलेको गीत छ भने सङ्गीतकारले त्यसलाई अझ सजिलोसित राम्रो रूप दिन सक्छन्। कुनै मात्राको फ्रेममा नराखी मनमा आएको भावना जताततै लेख्दा राम्रो गीत बन्न सक्दैन। सङ्गीतकारले त गीत लेखिएपछि त्यसमा लय भर्छन् अनि त्यसैलाई गायकले गाउँछन् तर शब्दकारले त गीत रचना गर्दा नै भित्र-भित्रै गाउँदै रचना गरेको हुनपर्छ। त्यसो गर्दा गीतका शब्दहरू नै एक निश्चित लयमा सलल बगेको जस्तो देखिन्छ। गीत लेख्दा रहर र लहडले मात्र हुँदैन।
धेरै जना यस्ता पनि छन्। ऊ राम्रो गाउन सक्छ, स्वरको क्वालिटि राम्रो छ, सङ्गीत पनि भर्न सक्छ। तब उसलाई के लाग्छ भने, गीत म आफैँ कम्पोज गर्न सक्छु अनि आफैँ गाउन सक्छु र गायक र सङ्गीतकारको स्थानमा मेरै नाम लेखिन्छ। अब शब्दकारको स्थानमा पनि मेरै नाम लेखियोस् भन्ने रहरले गीत पनि ऊ स्वयं लेख्छ। यसरी राम्रो गीत सिर्जना हुन्छ र ? बरू उसले कुनै असल गीतकारको गीत गाउनु पर्ने होइन र ?
– हो, धेरैजना त्यस्ता छन् । सोध्यो भने कसैको शब्द पाइनँ र आफैले लेखियो भनि भन्छन् । त्यसरी गीत लेखिनु हुँदैन । यहाँ एउटा विचार तपाईंसित साझा गरेको मात्र । कतिले त मेरो गीतलाई आफ्नै गीत भनेर दाबी पनि गरेका छन्। मैले पनि उहाँहरूको मन दुखाउन चाहिनँ। मैले त्यति राम्रो लेख्न सकेछु, जसलाई यति मन पराइदिनु भएछ भनि म चुप नै बसेँ ।
कुरा गर्दा गर्दै उहाँ अझ भन्नुहुन्छ—”रेडियोमा पनि मेरा कतिपय गीतहरू ब्याण्ड भए। सङ्गीत भरिएको मेरो जीवनको सबैभन्दा पहिलो एउटा गीत छ, जसलाई प्रकाश गुरुङ्गले गाएका थिए, जो अहिले धेरै नै ख्यातिप्राप्त बन्नु भएको छ। त्यो समयमा म कलेज पढ्दै थिएँ, उहाँ पनि पढ्दै हुनुहुन्थ्यो। तपाईंले गीत लेखेर मलाई पनि दिनु पऱ्यो भनि उहाँले भन्नुभयो। त्यसबेला म खासै राम्रो गीत लेख्न त सक्दिनँ तर पनि एउटा गीत लेखें। “यो चिट्ठी लगी भनि दे बादल मायालु रानीलाई” यो गीत उहाँलाई दिएपछि गीत मन परेछ अनि कसरी यसमा सङ्गीत भरौं भन्ने ध्याउन्नमा लाग्नु भएछ।
उहाँले त्यो गीतको धेरै धून बनाउनु भएछ र पनि आफैलाई सन्तोष लागेन रहेछ। आखिरमा एउटा धून अलिक ठीक लागेछ। त्यो गीत उहाँले रेडियो नेपालमा गाउनु भएछ। त्यसबेला नेपालमा राजतन्त्र नै थियो। त्यसबेला सो गीत एकपल्ट रेडियोबाट बजिसकेपछि त ब्याण्ड पो गरिदिएछ। त्यहाँको एउटा स्क्रिनिङ्ग कमिटिले यो गीतमा “यो चिट्ठी लगि भनि दे बादल मायालु रानीलाई” भनी रानीलाई सम्बोधन गरिएकोले ब्याण्ड गरिएको हो भनी बताइयो। हामी हाम्रो गीतहरूमा मायालु रानी भन्छौं तर उनीहरूले त रानीलाई लक्षित गरि लेखिएको पो ठानेछन्।
नेपालमा त्यसरी ब्याण्ड भएको देखेर आकाशवाणी खर्सानले पनि ब्याण्ड गऱ्यो। त्यो चाहिँ अर्कै गीत थियो। “तिमीले पनि नचाउने, उसले पनि खेलाउने, म त सस्तो धेरै सस्तो खेलाउना भएछु” भन्ने बोलको गीत। त्यसबेला म त रेडियोमा नै थिएँ। उनीहरूले मलाई बोलाएर सोधेको भए त म स्पष्ट पारिहाल्थें तर उनीहरूले अफिसरगिरी देखाए। पदको रवाफ देखाए। ब्याण्डमात्र गर्नु होइन तर त्यो गीतको रेकर्डमा काँटिले नै क्यार क्यार पारेर कोरिदिएछन्। त्यो गीतमा त मैले खासमा नारीको विद्रोह पो लेखेको छु। नारी चाहिँ उपभोगको वस्तुमात्र होइन, नारीको पनि आफ्नै सत्ता र गरिमा हुन्छ भन्ने पो देखाएको हो। तर उनीहरूले गीतको भावपक्ष बुझेनन्।
गीतकार र सङ्गीतकारको रूपमा अम्बर गुरुङ्गलाई हजुरले कुन प्रकारले मूल्याङ्कन गर्नुहुन्छ ?
– अम्बर गुरूङ्गलाई ‘धेरैले नौ लाख तारा उदाए’ भन्ने गीतबाटै मात्र चिन्ने प्रयत्न गर्छन्। त्यो अगमसिहँ गिरीको जातिय भावनाले ओतप्रोत गीत थियो, जुन त्यस समयमा रचियो अनि त्यसले सबैलाई छोयो। गिरीको त्यो गीतलाई अम्बरले कम्पोज गरे, त्यो गीतको अहिले पनि छुट्टै महत्व छ, मान्यता छ। तर अम्बर त्यति मात्र होइनन्। सङ्गीत शास्त्रमा जसले गीत पनि त्यस्तै लेख्न सक्छ, त्यसमा उस्तै सङ्गीत पनि भर्न सक्छ अनि त्यो गीतलाई गाउन पनि सक्छ, उसलाई एक विशेष विशेषणले सुशोभित गर्न सकिन्छ। यसरी तीनै प्रकारका क्षमता भएका कलाकारलाई वाग्येयकार भन्ने गरिन्छ। त्यस हिसाबले हेर्दा हाम्रो नेपाली गीत सङ्गीतको क्षेत्रमा प्रथम वाग्येयकार हुन् अम्बर गुरूङ्ग। त्यसपछि गोपाल योञ्जन र जितेन्द्र बरदेवाको कुरा आउँछ।
‘वाग्येयकार’ शब्दको प्रसङ्ग आउँदा प्यासीज्यू एकक्षण रोकिनु भयो अनि फेरि भन्न थाल्नुभयो, हालसालै मात्र दार्जीलिङ्गमा गोपाल योञ्जनको प्रतिमा स्थापना गरियो। त्यस अवसरमा एउटा स्मारिका निस्केको थियो। त्यसबेला मैले नै भनेको थिएँ कि अब हामी वाग्येयकार नभएर वाग्येकार भनौं। त्यस प्रतिमामा त्यस्तै लेखियो पनि। त्यसको एउटा कारण छ, हामीले संस्कृतको शब्दहरू प्रयोग गर्छौं, जसलाई तत्सम शब्द भनिन्छ। तर त्यसलाई हाम्रोपन दिएर हाम्रो जिब्रोलाई सरल हुने प्रकारको पनि बनाउनु पर्छ, अनि त्यो तत्भव शब्द बनिन्छ। यसैले हामी कहाँ वाग्येयकार भनिरहनु, बरू वाग्येकार भनौं भन्ने मेरो विचार हो। धेरैलाई यो कुरा मन परेन र वाग्येयकार नै हुनुपर्ने भने। तर त्यसभन्दा अघि त कसैले भनेका थिएनन् नि। हाम्रा मानिसहरू कुरा ठीकठाक पारेपछि दोष देखाउने काम चाहिँ गर्छन्।
यो प्रसङ्गपछि उहाँ फेरि अम्बर गुरुङ्गमा आउँनुहुन्छ। भन्नुहुन्छ—अम्बर गुरूङ्गका गीतहरूको अझै अध्ययन भएकै छैन। जतिबेला अम्बर गुरूङ्ग बित्नुभयो, त्यसबेला दार्जीलिङ्गमा गो.दु.नि.स. मा एउटा श्रद्धाञ्जली कार्यक्रमको आयोजन गरिएको थियो। त्यसबेला मलाई उहाँलाई शब्दकारकै रूपमा राखेर बोल्न भनिएको थियो। उहाँका गीतहरू हेर्नुहोस् न कस्ता-कस्ता उत्कृष्ट छन्।
‘सम्हालेर राख’ बोलको गीत हेर्नुहोस् । शान्ति ठटाललाई अहिलेसम्म प्रसिद्धिको टाकुरामा राख्ने यही गीत हो। त्यसबेला रचिएको यो गीत अहिलेसम्म नयाँको नयाँ जीवन्त छ। शान्ति ठटाल र ‘सम्हालेर राख’ बोलको गीत पर्यायवाची शब्द भन्नुपर्छ। उहाँको अर्को गीत ‘म अम्बर हूँ तिमी धरती’, जसमा आफ्नै वैयक्तिक विचारधारादेखि लिएर धेरै कुरा भनिएको छ। यो गीत जति प्रसिद्ध भयो, त्यसको तुलना कुन गीतसित गर्न सकिन्छ र ? अम्बर गुरूङ्गलाई त नेपाली सङ्गीत क्षेत्रमा अग्रणी भन्नुपर्छ। हुन ता उनीहरू भन्दा पनि अग्रणीहरू थिए तर आधुनिक सङ्गीतको क्षेत्रमा चाहिँ उहाँ नै अग्रणी हुन्। स्वरलिपिहरू नै तयार पारेर त्यसैको आधारमा गीत सङ्गीत तयार पार्ने औपचारिक ढंगले सङ्गीत गर्ने परम्पराको थालनी त अम्बर गुरूङ्गले नै गरेका हुन्।
नेपाली गीत सङ्गीतको क्षेत्रबाट अम्बर गुरूङ्गलाई एकक्षण पन्साएर हेऱ्यौँ भने कस्तो देखिन्छ त भन्ने प्रश्नको जवाफमा प्यासीज्यू भन्नुहुन्छ- “त्यो त एउटा पहिरो गएको पाखा जस्तो हुन्छ। हामी एउटा हरियो पाखा देखिरहेका छौं तर त्यसमा अचानक पहिरो गयो भने कस्तो हुन्छ, त्यस्तै देखिन्छ अम्बर गुरूङ्गलाई अलग गरेर नेपाली गीत सङ्गीतको क्षेत्रलाई हेऱ्यौं भने। अम्बर गुरूङ्गको मूल्याङ्कन गर्नमा हामी धेरै ढिलो भइसकेका छौँ ।
नेपाली गीत-सङ्गीत आजको अवस्था हजुरलाई कस्तो लाग्छ ?
– हामी आशावादी हुनुपर्छ। हामी हाम्रो सङ्गीतको अहिलेको अवस्था आशालाग्दो नै भन्नुपर्छ। नयाँ-नयाँ भाइ-बहिनीहरूले विविध प्रकारका गीतहरू निकालेर चेष्टा गरिरहेका छन्। राम्रो के छ भने अहिलेका हाम्रा कतिपय भाइ-बहिनीहरूले शास्त्रीय सङ्गीतको आधारलाई समाउन थालेका छन्। त्यसो गर्दा राम्रो भएर आउने नै भयो। इण्डियन आयडल र सारेगमप जस्ता कार्यक्रमहरू टी.भी. मा हेर्नुहोस्, हाम्रा नानीहरूलाई पनि यता ढल्काउनु पर्ने रहेछ भनी कति प्रतिभाशाली नानीहरूका मातापिताहरू पनि उत्साहित हुन थालेका छन्। यसरी चेतना आउनु थालेको छ। हामीहरूसित एकसे एक प्रतिभाहरू छन् तर उनीहरूलाई संघ संस्थाहरू मिलेर प्रेरणा दिनुपर्छ।
कविता र गीत लेख्नमा कुन सजिलो हो ?
– गीत लेख्नु त कविता लेख्नुभन्दा गाह्रो काम हो । कवितालाई त त्यसको आयातन लामो वा छोटो पार्न सकिन्छ नि तर गीतमा त एउटा साँचामा ढाल्नुपर्छ। गीतमा भावलाई शब्दहरूले सँगसँगै लिएर हिँडेको हुनुपर्छ।
गीतमा क्लिष्ट शब्द पनि त राख्नु भएन होइन र ?
-हो, क्लिष्ट शब्द लयले समाउन अप्ठ्यारो पर्छ। तर कहिले कहिले क्लिष्ट शब्द पनि परेका छन् भने असल सङ्गीतकारले त्यसलाई लयात्मक रूप दिन सक्छन्। जस्तै गोपाल योञ्जनको एउटा गीतमा ‘सहानुभूति’ शब्द परेको छ तर त्यसलाई उनले खुबै दक्षतापूर्वक लयात्मकता प्रदान गरेका छन् ।
अन्तमा, हजुरको गीत लेखनको थालनी र अहिलेसम्म लेखिसक्नु भएका गीतहरूमध्ये आफैँलाई राम्रो लागेको गीतबारे बताइदिनु हुन्छ कि ?
– अल्लारे हुँदा गाउँमा देउसी खेलिन्थ्यो। देउसी खेल्दा कुनै पनि प्रकारको गीत गाउँदा हुने तर देउसे गीत र आशिषको गीत चाहिँ कसै न कसैले लेख्नुपर्थ्यो। त्यसबेला गाउँमा म सामेल रहेको टोलीमा देउसे गीत लेख्ने जिम्मा म माथि पऱ्यो। मैले जसोतसो देउसे गीत लेखें। गीत लेख्ने थालनी यहीँबाट भयो। पछि कलेज पुगेपछि गीत लेख्न थालें।
बद्री-दुर्गा खरेलसित मेरो अति राम्रो सम्बन्ध थियो। उनीहरू सुरू-सुरूमा भानु जयन्तीमा रामायणपाठ गर्नुहुन्थ्यो। मैले उहाँहरूलाई के को रामायण पाठ गरेको, गीत गाउनुपर्छ भन्ने गर्थें । तपाईँहरू कलामन्दिर जाने मान्छे, गीत-सङ्गीत सिक्ने मान्छेले गीत गाउनुपर्छ भनेर भने । गीत लेखिदिनुहोस् न त तपाईँले भनेर मलाई जबरजस्ती गीत लेख्नु लगाए। अनि मैले पनि १७१ औं वा ७२ औं भानु जयन्तीमा गीत लेखें। उनीहरूले कम्पोज गरेर गाए। त्यो त एउटा राम्रो समूह गीत बन्यो।
भानुलाई श्रद्धाञ्जली गीतको बोल थियो- “मेरा बेसुरा गीतहरू तिमीलाई नै समर्पित छन्”। त्यो गीत गाएपछि दुर्गा खरेल त निक्कै चर्चामा आउन थाल्नुभयो। त्यसो भएपछि उहाँलाई पनि धेरै उत्साह प्राप्त भयो। धेरै पछिबाट, जुन समय मैले पनि धेरै गीतहरू लेखिसकेको थिएँ, एक दिन यसै कुरैकुरामा मैले उहाँहरूलाई भनें, तपाईंहरू गीत त कम्पोज गर्नुहुन्छ तर त्यो मानिसहरूले रुचाउँदै रुचाउँदैनन्, प्रचलित नै हुँदैन। अलिक राम्रो सबैले मन नपराउने गीत बनाउनु होस् न भनेर मैले भनिदिएँ।
त्यो कुरा सुनेर त उहाँहरूले पनि भन्नुभयो, “हत् तपाईंले गीतै लेख्न सक्नु हुन्न। त्यस्तो गीत लेखेर दिनुहोस् न अनि पो हामी पनि कम्पोज गर्छौं”। मैले भनें गीत त लेख्छु तर तपाईंहरूले पनि त्यसलाई उस्तै राम्रो बनाउनुपर्छ। त्यसपछि मैले गीत लेख्न तयारी गरें। त्यसबेला म बसेको घरको टेरेसबाट हेर्दा सधैँ बिहान एउटी युवती कहिले आमा-बासित, कहिले दिदी बहिनीसित, कहिले साथीहरूसित जाँदै गरेकी सधैँ देख्थें। मलाई मनमा के लाग्थ्यो भने त्यो युवतीलाई मैले बोलाइहालें भने अरुले के सोच्लान्, के ठान्लान्? उसलाई पनि अप्ठ्यारो अनि मलाई पनि अप्ठ्यारो हुन्छ। यही भाव मनमा खेलिरह्यो अनि मैंले यही भावले त्यो गीत लेखें। ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ बोलको गीतले जन्म लियो। त्यो गीत मैले बद्री-दूर्गा खरेललाई दिएँ। त्यो गीत एकै सिटिङ्गमा यस्तो फ्लोमा मैले लेखेँ कि त्यस्तो फ्लो अहिले आउँदैन।
आफ्नो कुन गीत औधी मन पर्छ ?
– आमा बाबुलाई सबै छोराछेरी मन परे जस्तो हुन्छ। आफ्नो सिर्जना सबै मन पर्छ। यति हुँदा-हुँदै पनि एउटा गीत साह्रै मन पर्छ त्यो गीत कर्म मोक्तानले गाएका छन् । “फेरि फेरि तिमीले मलाई कहिँ कतै नभेट्नु, विपना त भयो भयो, सपना समेत नदेख्नु ।” यो गीतको कम्पोजिशन पनि राजु सुन्दासले खुबै राम्रो गर्नुभएको छ। कर्मले काठमाडौँ गएर यो गीत रेकर्ड गरायो।
===
यो भेटवार्ताको बेला मैले सोधेका प्रश्नहरूका उत्तर दिने क्रममा अरू कुराहरू पनि उनिएर आउँछन् । उहाँ बोलिरहनु हुन्छ, “गीतकारको गीत लगेपछि सङ्गीतकारले कम्पोज गर्छन् अनि उनैले चुन्छन् कि गीत कसको आवाजमा राम्रो हुन्छ भनेर ।” प्यासीज्यू अर्को प्रसङ्ग निकाल्नु हुन्छ- “एक पल्ट अरुणा लामाले चारवटा गीत रेकर्ड गर्न नेपाल लिएर जानु परेको रहेछ र मलाई चारवाट गीत माग्नु भएको थियो । मैले आग्रह टार्न सकिनँ र चारवाट गीत रचेर उहाँलाई दिएँ। कम्पोज गर्न कर्म योञ्जनलाई दिइएको रहेछ । नेपाल जाँदा कर्म योञ्जन र डेजी बराईलीहरू अरुणा लामाभन्दा एक हप्ता पहिले नै जानु पर्ने रहेछ। अरुणा दिदी नेपाल पुग्नुभन्दा पहिले नै कर्म योञ्जनले अरुणाले गाउनुपर्ने गीत यस्तो छ भनि सुनाइदिनु भएछ “एउटा खुल्ला किताब हूँ म, तिमीले पनि पढ़े हुन्छ ।” भन्ने गीत। यो गीत सुन्नसाथ डेजीले लौ यो गीत त म गाउँछु भनेर ढिप्पी गरेछिन्। बरू अरूणा दिदीलाई म मनाउँछु तर यो गीत त मलाई नै गाउनु दिनु पर्छ भनेर ढिप्पी गर्दा उनलाई नै गाउनु दिइएछ। यसरी यो गीत अरुणा लामाले गाउनु पर्ने तर डेजी बराईलीले गाइन्। अरुणा दिदी नेपाल पुगेपछि कर्म योञ्जनले आफूले गाउनुपर्ने गीत डेजीलाई गाउनु दिइसकेको थाहा पाउनु भएछ, जसले गर्दा स्थिति अलिक अप्ठ्यारो पनि बनेछ। डेजीले माफ मागेपछि अनि कर्म योञ्जनले सम्झाएपछि आपस्तमा कुरा मिलेछ। अरुणाले मेरा थुप्रै गीतहरू गाउनु भएको छ। यसमा कतिपय भजन पनि छन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

