म बेलाबेला जानी-जानी पछि परेर तिमी मभन्दा पढाइमा नि सिनियर यो ठाँउको नि एक दिने सिनियर त्यसैले तिमी अघि हिँड भनेर जिस्क्याउँथें ।

उमेरको बढोत्तरीसँगै फिन्ल्याण्डको चिसो अनि अँध्यारो रातहरूदेखि दिग्दार लाग्न थाल्दो रहेछ । तुलनात्मक रुपले हेर्दा फिन्ल्याण्ड संसारकै धनी, अनी खुसी देश मध्यमा पर्ने भए पनि अँध्यारो रितु (नोभेम्बर – डिसेम्बर) धेरैका लागि कस्टकर हुन्छन् र यही समयमा यहाँ आत्महत्याको दर पनि बढी नै देखिने गरेको छ । मलाई नि पहिला त लाग्थ्यो, अँध्यारो-उज्यालो, गर्मी-ठण्डी प्राकृतिक नियम हुन् । तर १६ वर्षको फिन्ल्याण्ड बसाइपछि अब म पनि अरुजस्तै अँध्यारो, चिसो मन नपराउने भएछु । डिसेम्बेरको जाडो छल्न, घाम हेर्न कतै जानुपर्छ भन्ने दिमागमा थियो तर कहाँ जाने कता जाने भन्ने केही पत्तो थिएन।

श्रीमती र छोरी बिदा मनाउन नेपाल गएका थिए । १७ वर्षको छोरोको विद्यालय मध्य थियो । त्यसै पनि उमेरले होला हामीसँग हिँड्न मन गर्दैन । मेरो नि डिसेम्बेर ११ तारिख एउटा असाइन्मेन्ट बुझाउनु पर्ने थियो । नेपालदेखि लागेको बानी जे नि अन्तिममा गर्ने । त्यहीअनुसार आइतबार बुझाउने योजना बनाएको थिएँ । तर किन हो कुन्नि यो पाली – हैन सधैँ अन्तिम दिन किन कुर्नु आखिर फिन्ल्याण्डका जाँचकीहरु जे जस्तो बुझाए नि “वाह क्या गज्जब” भनिहाल्छन् भन्ने भान पर्यो र बिहीवार राती ८ बजे “सबमिट” थिचिदिएँ ।

ठीक त्यसै बेला मैलेँ भरखरै फिन्ल्याण्डमा भेट्टाएकी बहिनी पुष्पाले फोन गरी र भनी, “दाइ मैले अमेरिकाबाट कोसेली ल्याइदिएको छु, पुर्याउन आउँछु ।”

म मक्ख परेँ । सन्ध्याकालीन हिँडाइमा बाहिरै थिएँ । उनी आउने भनेपछि त्यतै कुरेर बसेँ। फिन्ल्याण्डको हिउँ अनि हिजो मात्रै अमेरिका भाइको बिहेबाट फर्केर गाढी निकालेका बाटोमा अड्किएछ । म धरै बेर कुर्नेमा परेँ।

घर गएँ । बहिनीको कोसेलीसँगै मेरो घाम ताप्न जाने रहर झन जाग्यो । इन्टरनेटमा खोज्न थालेँ । एक्लो यात्री, विकल्प धेरै थिए । घरी मनमा आउँथ्यो, चार जनाको परिवार भाको मान्छे यो उमेरमा एक्लै के हिँड्नु । फेरि अर्को चञ्चले  मनले हैन सबैको मिलेको बेला नि घुम्नको लागि कुनै अवसर बाँकी राखेको छैनौ । निकै यात्रा गरेको अनुभव छ । अब यो पटक एक्लै जा भन्यो । खोज्ने क्रममा अफ्रिकी देश मोरोक्कोको छेउमै पर्ने आन्ध्र महासागरको एउटा टापु जुन स्पेनको अधीनमा रहेको छ,”ग्रान क्यानारी” अलि आकर्षक लाग्यो ।

यतिखेरको समयमा फिन्ल्यान्डमा माइनस १०-१२ डिग्री तापक्रम सामान्य हुन्छ भने सूर्य खासै देखिँदैन । देखिए पनि सूर्यमा जुन तेज हुनुपर्ने त्यो हुँदैन । सूर्य सफा देखिएको दिन झन चिसो हुने गर्छ । यस्तो ठाँउको मान्छेले २२-२५ डिग्री तापक्रम अनि सधैँ उज्यालो भैरहने टापु भेट्टाको। बस ! अरु केही सोचिनँ, टिकेट काटेँ । रातिको ९:२२ भइसक्यो हवाइजहाज त भयो । त्यो पनि भोलीपल्ट बिहान ७:३० को । विमानस्थलको लागि घरबाट ५ बजे त हिँडिसक्नु पर्ने छ ।

अब अर्को समस्या त्यो टापुमा कहाँ बस्ने, कहाँ घुम्ने, के के गर्ने ? जहाजको फिर्ती टिकट एक हप्तापछि १६ तारिख थियो। त्यसैले होटल पनि सुरुमा त एक हप्तैको हेर्न थालेँ। पछि फेरि मनमा लाग्यो कि मैले होटेल लिएको ठाउँ गतिलो भएन भने के गर्नु ? समय कम थियो सुत्नु नि छ जे जे होला होला भनेर र्याण्डम ठाँउमा दुई रात “होटल” बस्ने ठाउँ बुक गरेँ ।

बिहान ४:३० को आलाराम बजाएको थिएँ । खुल्दुली मन ४ बजे नै बिउँझिएछ । २४ डिग्रीमा जाने भने नि के गर्नु घरबाट हिँड्दा तीन भकारी लुगा, टोपी, पन्जा आदि इत्यादि भतुरेँ । बस चढेँ । फुर्सद भयो कि हिँडिहाल्न मन पराउने मेरो स्वभाव अनि धरै थरिका यात्रा अनुभव सँगालेको भएर होला खुल्दुली साथै एक प्रकारको निर्धक्क पनि थिएँ म ।

पैसो र इन्टरनेट भएसम्म बाँचिन्छ भन्ने मनमा लिएर जहाज चढेँ । जहाज खचाखच भरिएको थियो । टुर प्याकेज बोक्ने जहाजमा बस्दा नेपालमा बनभोज जान लागेको रिजर्व बस जस्तो महसुस हुन्थ्यो । लाग्थ्यो, त्यहाँ भएका अरु सबै यात्रीहरु योजना बनाएर परिवार, साथीभाइसँग थिए सायद म मात्रै एक्लो थिएँ । जहाजमा समय बिताउन कहिलेकाहीँ पुस्तक पढ्ने गरेको थिएँ । नेपाल नगएको ३ वर्ष भइसकेको थियो । घरमा नयाँ पुस्तक खासै थिएन, पढिसकेका मात्र थिए ।

हतारमा छोरीको दराजबाट एउटा किताब चैँ हालेको थिएँ- हार्पर लिको “टु किल अ मोकिङ बर्ड”। सरकारी विद्यालय पढेको अनि अङ्ग्रेजीमा बल्लबल्ल पास हुन्थेँ । त्यसैले होला अङ्ग्रेजी अलि गाह्राे लाग्छ, त्यहाँमाथि यो पुस्तकका शब्दहरु साँच्ची नै अङ्ग्रेजीमा यस्ता शब्द नि छन् भन्ने लाग्ने खाले रहेछ । कनिकुथरी १०-१२ पेज पढेँ। परिचारिकाहरु खाना लिएर आए।

लामो यात्रा बिहानै निस्किएको हुन्छु । खान त पर्यो नि भनेर जहाजको टिकेट किन्दा खाना पनि किनेको थिएँ । खाना त आयो तर उनीहरुको सेट मेनुबाट दिए । त्यहाँ गाईको परिकार थियो । केही घण्टा अघि मात्र टिकेट लिएको हुँदा मैले छान्ने अवसर पनि पाइनँ तर सामान्यतया जहाजमा “शाकाहारी”, “चिकेन”, “मिट” छनौट हुन्थ्यो तर पर्यटक मात्र बोक्ने प्याकेज भएर होला यो जहाजमा त्यस्तो केही रहेनछ ।

के गर्ने खाने कि नखाने भनेर सोधिनँ- मुख्य परिकार गाईको बारा थियो तर वरिपरि आलु, अरु तरकारी, सलाद आदि थियो । सोचेँ – खाना लिएँ । बारा पन्छाएर ग्वाम्ग्वाम खाएँ । जीवनमा सधैँ सोचेँ झैँ कहाँ हुन्छ र बस परिस्थितिअनुसार चल्न सिक्नुपर्छ । यसो गरिरहँदा कीर्तिपुरमा स्नातकोत्तर पढ्दाको नि झझल्को आयो । त्यतिखेर हामी ४-५ जनाको समूह उट्पट्यान्ङ ग्याङ्गमा कहलिन्थ्यो ।

सर पढाउन छिरेपछि हामी भाग्ने । एक दिन भागेर गोदावरी पुग्यौँ, सबै भुक्का टाट समूह, एउटा आइटमभन्दा अर्डर गर्ने दुमडी नभाको बेला परेछ । बफ चिल्ली मगाइयो – अरुले मासु खाए मैले साइडको प्याज, गोलभेँडा खाएर चित्त बुझाको थिएँ । आखिर जीवनको गति न हो ठ्याक्कै २० वर्षपछि त्यही क्षण दोहोरियो। खल्तीभरि पैसा भए  पनि के गर्नु जहाजमा आफ्नो खाना नि नपाउने अनि किन्न नि । अरु विकल्प नै थिएन ।

तातो कफी पिएपछि निदाइएछ । त्यसै नि राती अझ्कल्टिएको निद्रा थियो । जहाज अवतरण भयो । फिन्ल्याण्डको ३ पत्रे लुगा उतारेर टि सर्ट, कट्टुमा सीमित पारेँ अनि होटलतिर जाने बस चढेँ । पर्यटककै भरमा बाँचेको जस्तो महसुस हुने टापुमा अङ्रेजी भाषा बिरलै बोल्दा रहेछन् । झन्डै एक घण्टा लामो बस यात्रा तर भाडा जम्मा १ युरो चालिस सेन्ट, दङ्ग पर्दै गएँ । बस यात्राकै क्रममा अर्को रमाइलो घटना महसुस गरियो जुन घटनाको बेलिबिस्तार फेरि कुनै क्षणमा सुनाऊँला, जेहोस होटल पुगियो।

जहाजको खान्कीको बिजोग थियो । सबैभन्दा पहिले बहिनी पुष्पाले ल्याइदिएको बिहेको कोसेली “अर्सा र कसार” झिकेँ – फिन्ल्याण्ड पुगेको अमेरिकाको बिहेको कोसेली अनकुन्टार टापुमा गमगम खाँदै थिएँ । छेउको कोठाबाट त्यस्तै ३०-३५ वर्षे अर्की पाहुना निस्किन्। उनी होटलको म्यानेजर खोज्दै थिइन् । म विदेशीजस्तो लागेर होला, उनीले सहज महसुस गरिन् र गफगाफ सुरु भो ।

त्यो कसार खाँदै मैले बहिनीलाई कल गरेँ र बेलिबिस्तार लाउँदै थिएँ । उनीले सुरुमा त पत्याइनन् । किनकि हिजो राती भेट हुँदासम्म म आफैँलाई यो यात्राबारे कुनै सुँइक्को थिएन । उनलाई थाहा दिने त कुरै छोडौँ । पछि भिडियो कल गरेर ढुक्क बनाएँ । अघि भर्खरै भेट्टाएको बहिनी भनेको चैँ उनीसँग मेरो चिनजान यही वर्षको साउन महिनामा भएको थियो ।

म मेरा मातापिताको ६ जना जीवित सन्तान मध्येको कान्छो सन्तान हुँ । दाइ, दिदीहरुको माया प्रशस्त पाएँ (कहिलेकाहीँ पुल्पुलिएँ पनि होला) तर आफूभन्दा सानो कोही नहुँदा कता कता केही खड्किएको महसुस हुन्थ्यो । परदेशमा अरुले सजिलै दाइभाइ, दिदी बहिनी बनाएको देख्दा म पनि कुनै दिन बहिनी भेट्टाउँछु भन्नेमा ढुक्क थिएँ । हामी खनालहरुको मूल थलो अर्घाखाँचीको खन्ना भन्ने ठाँउ रे भन्ने सुनेको थिएँ । नभन्दै परदेश बसेको १६ वर्षपछि त्यहीँ ठाउको पुष्पा भेट भइन् र मलाई दाइ बन्ने सौभाग्य मिलेको हो।

अघि भर्खर परिचय भएकी तिनी स्विडेनबाट अघिल्लो दिन मात्र आएकी रहेछिन् । अनि म फिन्ल्याण्डबाट । फिन्ल्यान्डमा भएको भए न त मलाई स्विडेन मतलब हुन्थ्यो न त स्विडेनकी उनीलाई फिन्ल्याडको म । तर अनकुन्टार ठाँउमा छिमेकी देश सुन्नासाथ कुराकानी बढ्दै गयो । उनी त्यो ठाँउमा एक दिन अघि नै पुगेको हुँदा मेरा नयाँ ठाउँबारेका कौतुहलता उजागर गर्दै गइन् । कुराकानीसँगै मैले खाइरहेको कसारबारे जान्न खोजेको बुझेँ र मैले त्यसको महत्त्व र बनाउने तरिका बुझाउँदै चाख्ने हो भनेर सोधेँ । इजी गोइङ स्वभावकी रहेछिन्, मिठो मानेर खाइन् । मैले पनि बिहेको कसार जति धेरैको मुखमा पर्यो । नवजोडीको सम्बन्ध उति नै दिगो र सुमधुर हुन्छ भन्ने सुनेको थिएँ । खुसी लाग्यो।

म्यानेजर आइपुग्यो । उनीले गाढीको पार्किङबारे सोधिन्। अब म फेरि निराश भएँ । यिनी त गाढी भएकी रहेछिन् । अब गाढी लिएर घुम्छिन् होली । मैले भर्खर कल्पना गरेको केही दिनकी साथी फेरि गायब भएको महसुस भयो । उनीहरुको कुराबाट फेरि बुझेँ कि गाढी त उसको साथीले पर्सी लिएर आउँदै रहेछ । त्यसको लागि पार्किङ बुझेकी रहेछिन् । म्यानेजर गयो र हाम्रो कुराकानीले निरन्तरता पायो ।

उफ्, कस्तो संयोग । उनीले पनि मैलेजस्तै र्याण्डम तरिकाले घुम्ने योजना बनाएकी रहेछिन् । अनि त्यो आउने भनेको साथी पनि उनीले टिकेट काटेपछि सामाजिक सन्जाल मार्फत यात्रा अवधिका लागि भेटेकी रहेछिन् र पहिलो भेट नै त्यही हुने रहेछ । मैले पनि सँगै जाने कोही पाए सजिलो हुन्थ्यो सोचेर केही पहिलादेखि साथीभाइलाई सोधखोज गरेको थिएँ । तर त्यही त हो नि फिन्ल्याण्डमा कतै जान ६-८ महिनाअघि देखि योजना बनाउनु पर्छ । अनि भन्नासाथ त्यो नि ठ्याक्कै मजस्तै एक्लै हिँड्न मिल्ने नि हुनुपर्यो।

अघिसम्म छिमेकी छिमेकी देश मात्रै मिलेको थियो । अब धरै कुराहरु मिल्न थाले । उनी रसायन शास्त्रमा विद्यावारिधी गर्दै रहेछिन् । तेस्रो वर्षमा म सामाजिक विषयको पहिलो वर्षको विद्यार्थी । तर जोसँग जे हुँदैन त्यसैको महत्त्व बढी हुन्छ भने झैँ उनी निरन्तरको “रसायनको” ल्याब परीक्षणबाट दिक्दार भएर छुट्टी मनाउन निस्केकी रहेछिन् । मेरो “गफ मात्रै” गर्ने प्रकारको आप्रवासीहरुको स्वास्थ्य सम्बन्धी अध्ययन उनीलाई अझै रमाइलो लाग्न थाल्यो ।

म पनि एक दिने अनुभवी गाइड अनि पढाइमा नि सिनियर पाएपछि खुल्दै गएँ । बेलिबिस्तार बढ्दै गयो । उनीले श्रृङ्गारमा प्रयोग हुने अत्याधिक रसायनबारे अध्ययन गर्दै रहेछिन् । त्यस्ता सामान उत्पादन गर्ने “ठुला” कम्पनीसँग झेल्नु पर्ने कठिनाइ बेलिबिस्तार लाइन् र म सामाजिकतिरको विद्यार्थी भएकोले अलि सरल भाषामा उनको अनुसन्धान बुझाउन खोज्थिन् ।

हामीले कुराकानीको प्रसङ्ग बदलेर हिँड्ने निधो गर्यौं । संयोग नि कस्तो हामी दुबै जना दौडन, हिँड्न मन पराउने परेछौँ  ।बस ! समय बितेको पत्तै भएन । म बेलाबेला जानी जानी “पछि” परेर तिमी मभन्दा पढाइमा नि सिनियर यो ठाँउको नि एक दिने सिनियर त्यसैले तिमी अघि हिँड भनेर जिस्क्याउँथें । तर उनलाई त म धेरै कुराले परिपक्व लाग्न थालिसकेछ । त्यसैले मेरो कुरालाई मुस्कुराएर आलटाल गर्न थाली ।

म आफैँलाई चैँ आफूमा उमेर बाहेक उनीभन्दा उच्चता झल्काउने केही नभएको महसुस हुँदै थियो । कुराकानी बढ्यो । उनीले यो ठाउँमा जाने लायकका मुख्य आकर्षणहरु पहिल्याइसकेकी रहेछिन् र भोलिपल्टसँगै अग्लो पहाड चढ्नेमा निर्क्योल गर्यौं । कुराकानीकै क्रममा त्यो पर्सि भेट हुने उनको साथीबारे धेरै कौतुहलता जनाइन् । हुन पनि हो ३५ वर्षकी केटी ४० वर्षको केटो अनकुन्टार ठाउँमा भेट्दैछन् । खुल्दुली त भैहाल्छ कस्तो स्वभावको होला, कसरी प्रस्तुत हुने होला आदि इत्यादि। उनी मसँग यतिसम्म नजिक भइन् कि आफ्नो कोठा देखाउँदै- संयोगवश दुइटा खाट वाला कोठा पाएछु भन्ने समेत व्यक्त गरिन्।

लामो यात्रा अनि उनीसँग गफको तालमा हिँडेको धपेडीले झ्यामै निदाएछु । बिहान उठ्दा उनको म्यासेज देखेँ “आ एम मेकिङ कफी- यु क्यान ज्वाइन इफ यु वान्ट”। हामी बसेको ठाँउमा चिया, खाजा, खाना आफैँ बनाउन मिल्ने व्यवस्था थियो । उनीले सबै मेसो पाइसकेकी थिइन् । मलाई नि के खोज्छस् कानु – आँखो भनेझैँ यस्तो नौलो ठाउँमा ओछ्यानमा म्यासेज हेर्दा कफी अफर। भान्सामा गएको उनीले पहाड चढ्न गाह्राे हुन्छ भनेर प्रशस्त खाने कुराको नि जोहो गरेकी रहेछिन् । कुनै धक मानिनँ । मज्जाले खायौँ । खाजा खाएर उनी तयार हुने समयमा मैले छिटोछिटो बाँकी ५ रातको लागि अरु दुई ठाउँमा बस्ने बासको टुङ्गाे लगाएँ ।