रेडियोकर्मीकका रूपमा ३० वर्षदेखि रेडियो नेपालमा सुनिँदै आएको आवाजको नाम हो नवराज लम्साल । पछिल्लो समयमा नेपाली साहित्यमा महाकाव्य लेखन तथा प्रकाशनको खडेरी लागेको अवस्थामा लम्सालका ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ गरी तीन महाकाव्य प्रकाशित छन् । त्यस्तै उनका दुई गीतिसंग्रह र दुई कवितासंग्रह पनि प्रकाशित छन्। लम्सालको पछिल्लो महाकाव्य ‘अग्नि’ले २०७८ को मदन पुरस्कार प्राप्त गरेको छ । 

प्रस्तुत छ, महाकाव्य  ‘अग्नि’का लागि मदन पुरस्कार पाएका कवि डा. नवराज लम्सालसँग साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेको साहित्यिक संवादको सम्पादित अंश; 

अचेल निकै दौडाहमा हुनुहुन्छ । कहिले सुदूरपूर्व कहिले सुदूरपश्चिम । साहित्यिक बहसहरूमा बाक्लै देखिनुहुन्छ । यस्तो बेला पढाइ र लेखाइ कस्तो छ ?

डा. नवराज लम्साल

हो म यतिखेर विभिन्न ठाउँमा पुगेको छु । सार्थक बहसमा छु । साहित्यको सीमा, सामर्थ्य, मेरो लेखनको अभिष्ठ र योजनाहरु सुनाउँदै हिँडेको छु । अग्नि महाकाव्यका विषयमा विभिन्न अन्तरक्रियाहरू गर्दै हिँडेको छु । प्राज्ञिक स्थलहरुमा हुने यस प्रकारको बहस आफैँमा एउटा अध्ययन हो ।

अचेल पुस्तकको पढाइ अलि कम छ । लेखाइको क्रम पनि त्यति छैन । यी र यस्तै कार्यक्रममा व्यस्त छु । युवा पुस्तासँग र त्यसभन्दा पनि स्कुल तहका भाइबहिनीसम्म पुग्ने मौका मिलेको छ । म किन र कसरी लेख्छु भन्ने कुरा सुनाउन पाएको छु ।

साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुभएको छ ?

जीवन आफैँमा एउटा ठूलो दर्शन हो । जीवनलाई मान्छेले समस्या बनाए । जीवन समस्या होइन, रहस्य हो र यही रहस्यको खोजी हो साहित्य । दैनिक जीवन, दालभात र डुकुको कुरा त छँदै छ, त्यो भन्दा माथिको चिन्तन र त्यहीँनेर जीवनको उपयोगिता मूल कुरो हो । मान्छे र मान्छेको जीवनभन्दा पर साहित्य छैन र हुनुहुँदैन ।

वस्तुगत विवरण मात्रै साहित्य हुँदैन तर मनोगत बगाइ मात्र पनि साहित्य हुँदैन । वस्तुताको जगमा मनोगतदृष्टि बिन्दुको यात्रा हो यो । भोगेकै जीवन प्यारो, भोगेकै समाज र समय प्यारो । भोगेको यो समयभन्दा परको उज्यालो के होला ? को होला र किन होला ? यो हृदयको उज्यालो र त्यो अनन्तको उज्यालोको मिलन कसरी ? कहाँ र कहिले होला ? आदि प्रश्न पनि सुरक्षित छ र यसैको उत्तरको पाटोमै हो हामी जाने । चिन्ता छोडेर चिन्तनमा उक्लेपछि लेखकभित्र चैतन्यको आलोक देखिन थाल्छ । बाँचेको युग भन्ने बित्तिकै समय आउँछ सम्पूणर्तामा । समय आफैँ पनि दर्शनको वकालत पनि हो र प्रयोग पनि त्यहीँबाट शुरु हुन्छ ।

तपाईंको रेडियो कार्यक्रम पनि मीठो, गीत पनि मीठो र कविता पनि मीठो । साहित्यको अग्रपङ्तिमा पुग्नु भएको छ । यी सबै कसरी सम्भव भयो ? अग्नि महाकाव्यलाई निकै मीठो महाकाव्य भनिन्छ नि हो ?

म आफैँले यी सबै मीठा छन् कसरी भनूँ ? तपाईंको प्रश्न आफैँमा मेरो सम्मान हो, हार्दिक आभार व्यक्त गर्दछु ।
खास कुरा, यी सबै कलाकै पाटा हुन् । कलाकै सन्तान हुन् । गीत, कविता तथा रेडियो कर्म सबैसबै कला हुन् । यी सबै मिसिएर एउटा नवराज लम्साल बनेको हो जस्तो लाग्छ ।

रेडियोको हकमा अलि फरक छ । म भाग्यशाली रेडियोकर्मी हुँ । बिहान बेलुकी ७ बजेको समाचार, धार्मिक कार्यक्रम, घटना र विचार, जनतासँग प्रधानमन्त्री जस्ता कार्यक्रमदेखि सुरसङ्गम, मधुवनजस्ता साहित्यिक कार्यक्रम सञ्चालन गर्न पाएँ । धार्मिक कार्यक्रम र राजनैतिक विश्लेषण एकै व्यक्तिले सञ्चालन गर्ने अनौठो संयोग पनि मसँग जोडियो । यसैबीच महाभूकम्प र कोरोनोको प्रकोप फैलियो । रातरातभर, दिनदिनभर रेडियोमै बसिया, बोलियोे । लाइभ गरियो । त्यसलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिएको छु ।

रह्यो कुरा अग्निको । २०७८ सालको सर्वाधिक रुचाइएको र पढिएको पुस्तक हो यो । २०७९ मा झन् बढी पढिएको छ । अग्निले मदन पुरस्कारसहित राष्ट्रियस्तरका अन्य चार वटा पुरस्कार प्राप्त गर्यो । सुदूरपश्चिम साहित्य समाज, जन पुस्तकालय कैलाली, चितवन साहित्य परिषद र लालबन्दी नगर वाङ्मय परिषदले वर्ष २०७८ को उत्कृष्ट पुस्तक घोषणा गरे । यी सबै कुराले मलाई सन्तोष, आनन्द र प्यार दिलाएका छन् ।

तपाईंले प्रश्नमा अग्नि मीठो महाकाव्य हो भनेर उल्लेख गर्नुले पनि यो मीठै भएछ भन्ने लाग्यो ।

साहित्य र पत्रकारितामा सँगै हुुनुहुन्छ । यो यात्रा र पुस्तक प्रकाशनबारे केही उल्लेख गर्दिनुस् न ।

साहित्य सानैदेखिको रुचिको विषय हो । सानै उमेरदेखि कविता र गीतसँग सँगसँगै रम्दै रमाउँदै आएको छु । २०४१ मा पहिलो पटक कविता छापिएको हो । हालसम्म यही यात्रामा छु । ३ महाकाव्य कर्ण, धरा र अग्नि । ३ कवितासङ्ग्रह पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल र क्रमशः एक्लै एक्लै । २ गीतसङ्ग्रह धुनभित्र धुनबाहिर र उडूँ उडूँ लाग्छ प्रकाशित छन् ।

पत्रकारिता संयोग हो । एस.एल.सी. दिने बित्तिकै समय दैनिकमा काम गरेँ । २०५१ वैशाखदेखि रेडियो नेपाल पुगेँ । रेडियो नेपालको यात्रा ३० वर्ष भयो । बीबीसीमा १० वर्ष काम गरेँ । अन्य पत्रपत्रिकामा कहीँ न कहीँ केही न केही लेखिरहेकै छु । यात्रा जारी छ, निरन्तर निरन्तर ।

तपाईंको लेखनलाई किन अरुभन्दा फरक र गहिरो मानिन्छ ? सानैदेखि यसै प्रकारको लेखनप्रति रुचि थियो कि अरू केही ?

धन्यवाद । आभारी छु ।

नेपाली साहित्यको त हुँ नै हुँ तर म संस्कृत साहित्यको पनि विद्यार्थी हुँ । नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय दुवैतिर सँगसँगै पढेँ, आइ.ए.देखि नै । आधुनिक नेपाली साहित्यदेखि पौरस्त्य दर्शन र साहित्यका धेरै पुस्तक पढ्ने अवसर मिल्यो । श्रीमद्भगवत् गीता, महाभारत, श्रीमद्भागवत महापुराण, कालिदासका महाकाव्य र स्वयं वेद महत्वपूर्ण जीवनदर्शन र पौरस्त्यदर्शनका आधार हुन् । त्यति गहिरो त हैन, समान्य रूपमा भए पनि ती सबै पढेको छु र प्रभाव ग्रहण गरेको छु । त्यही कारण होला म चिन्ता लेखेर रमाउन्न, केही चिन्तन गरूँ जस्तो लाग्छ । चिन्तन गर्न सकियो भने चैतन्यको बाटो उज्यालो हुन्छ । लेख्ने त मान्छे नै हो र मान्छेको सर्वोच्चता नै हो तर त्यही मान्छेको खोजी गर्ने तरिका र बुझाइ केही फरक भएको हुनसक्छ ।

कस्तो पुस्तक पढ्न मन पराउनुहुन्छ ?

संस्कृतिसँग, दर्शनसँग र इतिहाससँग जोडिएका पुस्तकहरू मन पर्छन् । साहित्य र साहित्यिक पुस्तक त मूल विधा नै भइगयो । कविता, काव्य झन् बढी पढ्छु, पढ्न मन पराउँछु । पढेपछि लामो प्रभाव रहिरहोस् न । त्यस्ता पुस्तक मेरो रुचिमा पर्दछन् तर समसामयिक लेखन थाहा पाउनका लागि बजारतिर पनि नजर त लाउनैपर्छ ।

निकै व्यस्त हुनुहुन्छ, देशदौडाहमा । आफूले भनेजस्तो लेख्न र पढ्न पाउनुभएकाे छ त ?

पढ्न त पाएकै छु । म त यात्रामा पनि पढ्छु र कतै जाँदा उतै पनि पढ्छु तर खासै लेखेको चाहिँ छैन । अग्नि पछि खासै केही लेखेकै छैन । लेख्ने सामग्री र संवेदना सञ्चय गरिरहेको छु । पहिला भरिनुपर्छ अनि बिस्तारै पोखिँदै जाउँला ।

तुलनात्मक रूपमा समकालीन साहित्यकारहरूमा तपाईंलाई बढी सुन्न र देख्न चाहनेहरू बढी छन् किन होला ?

यस प्रश्नको सिधा उत्तर त छैन मसँग । म रेडियोकर्मी पनि भएको र अन्य हिसाबले पनि श्रोता पाठकबीच रहिरहेको हुनाले पनि होला । त्यसमाथि सीमान्तकृत आवाजलाई वाणी दिने कोशिस गरेको हुनाले ती सीमान्तकृतहरूले आफ्नै लेखक ठानेर पनि हो कि ? विद्यालय, विश्वविद्यालय र विशेषतः युवाहरू बढी खुसी देखिन्छन् । डाक्छन्, बोलाउँछन् । भएसम्म जान्छु, जाने गरेको छु ।

नेपाली साहित्यको भविष्य कस्तो देख्नुहुन्छ ?

सुन्दर छ । युवाहरूको आकर्षण छ । विषयको विविधता आएका छन् लेखाइमा । देशभित्रभन्दा अझ देशबाहिर पुगेका नेपाली लेखकहरूका बीचमा बढी चहलपहल छ । उनीहरू लेखिरहेछन्, प्रकाशन गरिरहेछन्, बहस र विश्लेषण गरिरहेछन्, धेरै संस्थागत प्रयास भएका छन् । म त नेपाली साहित्यको भविष्य सुन्दर र सफल देख्छु ।

अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नुहुन्छ ?

अनेसास संसारभर छरिएर रहेका नेपालीहरूलाई जोड्ने मायाको मूलडोरी हो । यस मार्फत संस्थागत रूपमा धेरै कामहरू भएका छन् । बहस, व्याख्या र विश्लेषण भएका छन् । पुस्तकहरू प्रकाशन भएका छन् । कार्यक्रमहरू भएका छन् । सार्थक लेखाइका लागि निकै राम्रा प्रयासहरू भएका छन् । यो संस्था नेपाली लेखकहरूका लागि गौरवको विषय हो ।

अनेसासलाई कुनै सुझाव, सल्लाह छ कि ?

अनेसाससँग जोडिएर विदेशमा रहनुभएका साथीहरुको प्रयास राम्रो छ । कोही साँच्चै साहित्यकार हुन्छन्, कोही साहित्यलाई प्रवद्र्धन गर्ने सुधीजन हुन्छन् । संस्था चलाउन सबै खाले साथीहरू हुनु जरुरी छ र यो राम्रो पनि छ तर त्यसले गर्ने सम्मेलन, सभा र गोष्ठीहरूमा निम्त्याइँदा निम्तोमा साँच्चै साहित्यकारहरू नै परून् र आयोजक नझुक्कियून् जस्तो लाग्छ । साहित्यका नाममा खै के के भाषण दिने र साहित्यको प्रवाह नै नबुझेकाे जस्तो लाग्ने मान्छेलाई भेला पारेर खादामाला गर्नैपर्छ र ? यसले अनेसास जस्तो संस्थालाई त्यति सुहाएन कि जस्तो लाग्छ है । बाँकी तपाईंहरूले नै सोच्ने कुरा हो । फूल कि त बोटमै बसोस् कि मन्दिरमा ।

अब तपाईंको योजना के छ ?

केही गम्भीर विषयहरूको खोज र अध्ययन गर्दै छु । केही विषय निकै पहिलेदेखि नै र केही भर्खरभर्खर शुरु गर्दैछु । यो त नियमित दैनिकी जस्तै भयो तर तत्काल किताब छापिहाल्ने हतारो छैन । अग्निपछि केही सेलाएर सुस्त छु र यो समयलाई देश घुम्ने अवसरका रूपमा लिएको छु । सामान्य लेखापढा भने जारी छ । केही नयाँ काम गरूँ भनेर सोचिरहेछु ।

अन्त्यमा एउटा प्रश्न, प्रिय कवि, प्रिय गीतकार र प्रिय रेडियोकर्मी हुनुहुन्छ । महाकाव्य लेखेर मृत भनिएको विधालाई नै उठाउनुभयो र मदन पुरस्कार पाउनुभयो । प्रसिद्ध कलाकारहरूका स्वरमा रहेका गीतहरू हिट छन् । रेडियो नेपालको मात्र नभएर नेपली रेडियो प्रसारणकै अग्रज मानिनुहुन्छ । यहाँसम्म आउन कति दुःख झेल्नुपर्‍यो ?

सुदूर गाउँबाट शहर पस्ने सबैको कथा एउटै हो । काडमाडौँ बसेर जिन्दगीको उज्यालो खोज्दाको कथा त्यति उज्यालो सबैको हुँदैन होला । म पनि त्यही र त्यस्तै पात्र हुँ । भाव पनि अभाव पनि, दुःख पनि पीडा पनि, प्राप्ति पनि अप्राप्ति पनि निकै भए तर आज ती दिनलाई सप्रेम सम्झनुपर्छ । दुःखको गीत गाएर केही अर्थ छैन । कहिले काहीँ लाग्थ्यो मेरा दुःख देखेर दुःख आफैँ दुःखी हुन्थ्यो होला । हलेदो धेरै कोट्यायो भने पहेँलो हुन्छ भन्छन् । त्यस्तै हो धेरै के भन्नु र ? सुदूर नेपालबाट यति टाढा आइपुगेर तपाईं तपाईं हुन कति कठिनता भोग्नु पर्‍यो सम्झनुस् त ! त्यही र त्यस्तै हो कथा मेरो पनि ।