दार्जिलिङ चिया (टी) संसारको स्वाद हो।बिहानीको उत्साह र उर्जा हो।संसारको कुनै न कुनै घरको भान्साकोठादेखि सुत्नेकोठासम्म दार्जिलिङको चिया पुगेको छ।यति त संसारको किचन र बेडमा नपसिकन निर्धक्क जसले नि  भन्न सक्छ।गाउँकी साँल्दिदीले र माल्दिदीले पनि।त्यो चिया कसैको स्वागतार्थको पहिलो मीठो घुट्को हो।

संसारको ओठैमा छ दार्जिलिङको चिया।संसारको जिब्रोमै छ “दार्जिलिङ टी”।तर किन चियाको मुना चुँढिएसरी चुँढिन्छ श्रमिकको अधिकार?आफुले फेर्ने स्वासको प्रत्येक मुल्कोमा मिहिनेत गरेर चियापात टिप्ने श्रमिक दाजुभाइ-दिदीबहिनीको पसिना र आँसुसँग किन गरिन्छ राजनीति ?

चियाबारी भनेपछि विश्वको आँखामा दार्जिलिङ देखिन्छ।दुईपात एकसुइरोको रमणीयता भेटिन्छ।यति हरियाली-भरियाली बनाउने मिहिनेतिला हातहरुको ठेलाको पीपसँग किन षड्यन्त्रको गीत गाइन्छ?

अजित वियोगी

अजित वियोगी

गम्बुटमा गुम्सिएर र पिल्सिएर अम्लाका काप-कापका खूनसँग र कुर्कुचा चिरिएर दुखेका  चोटसँग किन दिनहुँ अन्याय अत्याचार हुन्छ?

डाडाँपाखाका लहलह चियापातसँग लहैलहै गरिरहेका र हावाको बातसँग सुसेल्दै मेलो लागिरहेका दिदीबहिनीका  सामुहिक आवाजहरुलाई किन कर्कसतामा नारा लगाउन उत्प्रेरित गरिन्छ?त्यो पनि चाडपर्वको गर्व गर्ने समयमा!

 

दार्जिलिङ चियाबारीमा आस्रित छ।चियामा नै आस्रित भएपछि अर्थको अवस्था र व्यवस्था पनि चियाबारीसँग नै अङ्गालिएको छ।अर्थ उपार्जनको मूलाधार नै चिया हो।

दार्जिलिङ डुवर्सका चियाबारीका मजदुरहरू  चियाका मुनामा नै आफ्नो आशा आकाङ्क्षा मौलाएको विपनामा नै सपना देख्न बाध्य छन्।घर व्यवहार,अर्मपर्म,सुख र मर्म,समाज,चाडपर्व,विवाह-मरौ,धर्म-कर्म यही चियापात टिपेर ,बोकेर चल्छ।यसैमा उनीहरूको दिन र रात गल्छ।यही थकानसित मालिकको चलखेल चल्छ,आखिर किन?

मूल्य वृद्धि नगरेर,बोनस नदिएर के आर्थिक अवन्नति, दु:ख र पिडा दिनलाई मात्र हो? यतिसम्मको मात्र चलखेल होइन कि भन्नेतिर चियो गर्न पर्ने समयको सुइँको छ।

अधिकांश श्रमिकहरु घरमा बोनस ल्याएर व्यवहारको बाडफाड गरेपछि मात्र दसैँ-तिहार पस्छ।बोनसै बिना श्रमिकको घर- आगनमा दसैँ-तिहार पसेपछि त्यहाँ दसैँ होइन दसा पस्छ।त्यहाँ तिहार होइन हार पस्छ।त्यहाँ चाडबाड होइन चाड विहीन आँसुको बाढ आउँछ।त्यसले सुख मात्र होइन संस्कार,संस्कृति पनि बगाउँछ।हाम्रो आस्था र अस्मितासँग जोडिएका कुराहरू बगाएर लगिरहे एकदिन हामी के बाँकी रहन्छौँ मान्छे वा मसिन?

श्रमिकको घर आगनडिलमा चियाको मुना मात्र छ।मुनाफा त अन्त्यै मालिककोमा छ।उता मालिकहरु नाफामा छेलोखेलो गर्न निमग्न छन्  यता मजदुरहरु मिहिनेतको मूल्य खोज्न सडक र मेलोमा धर्ना दिइरहेका छन्।मजदुरकै घरको चुलोभित्रको मान्छे मौकामा मौलिएर मालिकको निम्ति राजनीति पनि गरिरहेको छ।

जसलाई हाम्रा सोझासाझा श्रमिकहरुले आफ्ना आढ मानेका छन्।जुन उनीहरूको लागि कति धराप र खराप छ उनीहरूलाई नै थाहा छैन।

पुँजीवादीहरुले गरेको आर्थिक चलखेलको पछिल्तिर गएर चिहाउनुपर्ने बेला यतिबेलाको हो।दसैँ तिहार नेपालीहरुको मौलिक चाडपर्व हो।समुदायबिच एकाकार बनाउने माहोल।पुन:मिलन र खुसीको पल।

यो चाडपर्वसित हाम्रो मूल्य र मान्यताको आधार टेको लागेको छ ।त्यसलाई ढाल्नको लागि पनि शोषकहरु अर्थराजनीतिबाट श्रमिकहरुको जग विस्तारलाई खुम्च्याएर पुर्खौँ-पुर्खाको आजसम्मको पुस्ता-दरपुस्ताको  पर्वको मूल्यलाई मास्न गरिएको अर्को जाल होइन र?

जहिले पनि सत्ता,राजनीती र मालिकले गर्ने लक्षित षड्यन्त्र भनेको मिहिन रुपमा खुट्याउँदै जाँदा समाज र संस्कृतिको फेरो नै समात्ने हो ।जसले जातिको मियो भाँच्ने  काम गर्छ।पैसा नदिनुको पछिल्तिर विपन्नताको पन्नामा राखेर दीन,दु:खी र गरीब बनाउनु मात्र होइन।मौलिक हक र हित ,सरकारको संवैधानिक अधिकारको निर्देशलाई अवमूल्यन गरेर साधरण(आम)मानिसको रोटी र अचार खोस्ने काम मात्र मालिकको होइन।यतातिर हाम्रा नेताहरूले घोतलिनु पर्दैन?विषयहरू खोतलिनु पर्दैन?

डाडाँ मास्तिर र तल्तिर गरिरहेको भेदभावले समतामूलक समृद्धिमा फाँटो मात्र ल्याएको छैन।डाडाँ पहाडतिर एकरुपतामा आएको भङ्गालो र जातिगत भावनाप्रतिको आधारमा हिनताबोध।उता समतलमा हेरिरहेको दृष्टिकोणमा जातिगत अङ्गालो र सामुहिकताको अर्को रुप हो।जुन ति शोषकहरुको पनि समुदाय र संस्कृतिप्रतिको काखीचेपुवापन हो।किनकि तिनीहरू त्यहीँ ,त्यतै वर्तिर पर्तिरबाट यहाँ आएका हुन्।

उनीहरू किन भाग्छन्? कारण जमरा र टीका लाउँदैन्न।उनीहरू किन भाग्छन्?कारण उनीहरू पिङमा हुइँकन र लुइँकन सक्दैनन्।उनीहरू किन भाग्छन्? कारण उनीहरु देउसीरे र भैलो खेल्न जान्दैन्न।उनीहरूको आवाजमा हाम्रो लय नै छैन केवल भय छ।उनीहरु किन भाग्छन्?कारण उनीहरू सयपत्री र मखमलीको माला लाएर चेलीको हातको टीका लाउने निधार नै होइन।कारण उनीहरू पहाडसित एक व्यापारिक साँठगाँठको सम्बन्धमा मात्र गाँसिएका छन्।

बोनस नदिनका लागि,प्रतिशत घटाउनका लागि किस्ता गर्नाका लागि,उनीहरूले विगत बर्सौँदेखी अप्नाइरहेको हत्कण्ठाहरुप्रति हामी कहिले गम्भीर हुने?दसैँ  र देउसी सकिएपछि हामीले यीनीहरुको साँचो रूप बिर्सीहाल्छौँ।

यसरी आफ्नो जातिको महान चाडपर्वको छेकमा नै यीनीहरुले गरिरहने चलखेलमाथि हामीले विकल्प नखोजे,हामीले चाडबाडको बेला आर्थिक रुपले दरिलो आधार बिन्दु नटेके दसैं-तिहार बिर्सिन अब कति पनि  समय छैन।हामीले हाम्रा चाडपर्व बिर्सिएको कहिलेसम्म हामीले आफैलाई पनि सम्झिन सकिरहने छौँ प्रश्न (?)यही र यहीँ हो!

अजित वियोगी

 मिरिक,दार्जीलिङ