जीवनमा कहिलेकाहीँ आफूले गर्दै नगरेको र बिराउँदै नबिराएको कामको सजाय पाइँदो रहेछ । नगरेको र नबिराएका त्यस्ता कामहरुको कतिपय सजायहरू समय क्रममा बिर्सँदै गए पनि केही घटनाहरूले भने जीवनभर पछ्याइरहन्छन् । अझ कहिलेकाहीँ यस्ता घटनाहरूको दुःखद् पक्ष भने त्यो घटनाका प्रत्यक्षदर्शीहरू आफूबाट टाढा हुन्छन् र आफूलाई अरूको अघि निर्दोष साबित गर्ने अवसर पनि पाइँदैन । मलाई बाल्यकालमा घटेको यस्तै एक घटनाले भने अझै पछ्याइरहन्छ ।
२०३३-३४ सालको कुरा हो । जागिरको सिलसिलामा मेरो बुबाको सुर्खेतमा सरुवा हुनुभयो । उहाँसँगै आमा, म, बहिनी र दुई भाइ सबैजना काठमाडौँबाट सुर्खेत गयौँ । कक्षा एकमा भर्खर पास भएकी म, वीरेन्द्रनगरस्थित एक प्राथमिक स्कूलमा सिट नभएको कारणले त्यहीँको जन व्यावसायिक मा. वि.मा एकैचोटी कक्षा चारमा भर्ना गरिएँ । निकै फरक थियो सुर्खेत मेरा लागि- मोटर नजाने, बिजुली बत्ती नभएको, २-४ वटा ठूला घरहरू बाहेक साना-साना घरहरू भएको । मेरो बुबाले कृषि विकासको लागि भारतको हरियाणाबाट थुप्रै विकासे गाई तथा काठमाडौँबाट विकासे कुखुराका चल्लाहरु लगेर त्यहाँ कृषकहरूलाई वितरण गर्नु भएको म अझै सम्झन्छु । काँक्रेविहार, बुलबुले ताल, देउती माईको मन्दिर आदि ठाउँमा गएको सम्झना अझै ताजै छन् मेरो दिमागमा ।
दुई वर्षे सुर्खेत बसाईपछि हामी फेरि काठमाडौँ फर्कियौँ र म डिल्लीबजारको पद्मकन्या स्कूलमा भर्ना भएँ । ६ कक्षा शुरु हुनेबित्तिकै बुबाले अङ्ग्रेजी र गणितका पुस्तकहरू ल्याइदिनुभएको थियो । मीनपचासको छुट्टीमै मैले करिब सबै किताब पढेर सकेँ । म अघिल्लो बेन्चमा नै बस्थेँ । मसँगै मेरा केही मिल्ने साथीहरू पनि बस्थे । हामीलाई विज्ञान पढाउने एकजना मिस हुनुहुन्थ्यो, अरू मिसहरूभन्दा अलि फरक र हेपाहा खालको ।
त्यही मिस एक दिन क्लासमा आएपछि मेरै छेउको डेस्कमा बसेर पढाउन थाल्नु भयो । मसँगै नजिकै बसेकी साथीको कलम मागेर लेख्नुभयो । त्यो क्लास सकियो र सबैजना घरतिर लागियो । भोलिपल्ट ती साथी जसको कलम मिसले लिनुभएको थियो, उनले मसँग कलम माग्दै भनिन्, “मिसले मेरो कलम हिजो तिमीलाई दिनु भएको थियो रे!” मैले सम्झिन खोजेँ तर दिएजस्तो लागेन ।
“हैन होला” भन्दै मैले सधैँ कलम राख्ने खण्डमा हेरेँ- त्यहाँ थिएन । मैले मिसले कलम आफूलाई नदिएको कुरा उनलाई बताएँ। उनी टाउको हल्लाएर अर्को तिर लागिन् । मलाई कलम दिएको र राखेको केही सम्झना थिएन ।
केही समयपछि मिस क्लासमा आउनु भयो । उहाँले कलम मलाई नै दिएको भनेपछि मैले आफ्नो ब्याग फेरि हेरेँ र मसँग त्यो कलम नभएको जानकारी गराएँ । त्यसपछि मिसले सबै जनाको ब्याग खोतल्न क्लासकी मनिटर साथीलाई अह्राउनुभयो । मिसले अह्राएपछि ती साथी उठेर मेरो छेउ आइन् र त्यो बेन्चमा बस्ने सबै भन्दा पहिलो साथीतर्फ लागिन् । तर एक्कासि उनको ब्याग नहेरेर मतर्फ आइन् र मेरो ब्यागभित्र हात हालिन् – म उनको यो व्यवहारले अचम्ममा पर्दै थिएँ, झन बढी आश्चर्यमा परेँ जब उनले मेरो झोलाबाट हात बाहिर निकालिन् । उनको हातमा त त्यही हराएको कलम देखियो । त्यो कलम कसरी त्यहाँ आयो, के भयो- म आफैँ रनभुल्लमा परेँ ।
मसँग त्यति बेला भर्खर बजारमा आएको चाइनिज कालो रङको दुई खण्ड भएको ब्याग थियो । माथिल्लो खण्डमा म सधैँ मेरा कलम, सिसाकलम आदि राख्ने गर्थें भने तल्लो खण्डमा किताब र कापीहरू राख्थें । एकैछिन अघि आफूले ब्यागभित्र हेर्दा नभएको कलम अहिले त्यो साथीले कसरी निकालिन् मैले अड्कल नै लाउन सकिनँ।
सबै साथीहरूका आँखा मतर्फ भए । मेरा आँखा भने एक खालको लाज, आश्चर्य र अपमानले भुइँतिर । म कलम चोर भएँ । मिसले पनि “चोरले म चोर हुँ भन्छ र !” भनेर मलाई नै दोष लाउनुभयो ।
“मैले चोरेको हैन र मलाई थाहा छैन,” भनेर भन्न पनि सकिनँ । म त छाङ्गाबाट खसे झैँ भएकी थिएँ । दिमाग रन्थनियो । म मुनिको पृथ्वी भासिएर त्यहीँ बिलाउन पाए हुनेजस्तो भयो । आँखाबाट त्यसै बर्बर्ती आँसु झर्न थाले । क्लास सकियो । कसैको मुखमा नहेरी घर फर्कें । बाटो कसरी काटेँ, त्यो पनि थाहा छैन । साथमा बहिनी पनि थिई, उससँग बाटोभरि केही नबोलेर घर हिँडेको मात्र सम्झन्छु ।
घरमा कसैलाई केही भनिनँ। बुबा बाहिर जिल्लामै काम गर्नुहुन्थ्यो । बहिनी, दुई भाइ, आमा र म मात्रै काठमाडौँमा थियौँ । भाइ-बहिनी साना-साना थिए । आमालाई पनि केही भन्न मन लागेन । मेरो कुरा कसले पत्याउला भन्ने लाग्यो सुनाउन पनि । म भित्रभित्रै पिल्सिरहेकी थिएँ। आमालाई भनौं फेरि स्कूलको कुरा घरमा र घरको कुरा स्कूलमा नभन्नू भनेर सिकाइएको थियो । कसैलाई केही नभनेर आफैँ झन्-झन् त्यो अपमानको विष पिई रहेँ म ।
साँझ, मेरो अनुहार मलिन देखेर आमालाई के लागेछ कुन्नी नजिकै आएर “के भयो नानी तिमीलाई?” भनी सोध्नु भयो । पहिले त केही होइन भनी टार्न खोजेँ, तर पछि कर गरेपछि रुँदैरुँदै सबै कुरा भने ।
“अब म त्यो स्कूलमा पढ्दिनँ, मेरो कोही पनि साथीहरू हुन्नन,” भनेँ । “एक पल्टको चोर सधैँको चोर” भन्लान् भन्ने लाग्यो । आमाले मेरो मनोदशा कत्तिको बुझ्नुभयो कुन्नी तर तिमीले नगरेको कुरामा दोष पाइछ्यौ भन्दै मलाई मिहिनेत गरेर पढेपछि ती साथीहरू नै तिमीसँग साथी बन्न आउँछन् भनेर सान्त्वना दिनुभयो ।
“पढ्न जान्न भन्नु हुन्न र अहिले हामी स्कूल फेर्न पनि सक्दैनौं,” भनेर आमाले आफ्नो बाध्यता सुनाउनु भयो । “मरता क्या न करता ?” अरू उपाय पनि थिएन । जेठी छोरी, आमाको समस्या मैले नबुझेर पनि नहुने । भोलिपल्ट बिहानै आमा हाम्रो घर नजिकैको मीरा दिज्यू कहाँ जानुभयो र मैले भनेका सबै कुरा गर्नु भयो । उहाँ मैले पढ्ने स्कूलमै बिहानको क्लासलाई पढाउनु हुन्थ्यो । दिज्यूले त्यो कुरा स्कूलमा भनौँला भनेर मलाई सान्त्वना दिनुभयो र स्कूल जान छोड्न हुन्न भनी सुझाउनु पनि भयो ।
त्यसपछि वहाँले स्कूलमा त्यो कुरा गर्नु भयो वा भएन मलाई थाहा भएन र स्कूलमा पनि कसैले त्यो कुरा निकालेनन् । मैले त्यो वर्ष निकै नै मिहिनेत गरेर पढेँ र करिब दुई सय जनाको क्लासमा आठौं भए । अझ विज्ञान विषयमै सबैभन्दा धेरै नम्बर ल्याए । त्यो मार्कसिट मसँग अझै छ ।

[bs-quote quote=”त्यो बेलाका साथीहरू मेरो सम्पर्कमा पनि छैनन् । उनीहरूले त्यो घटनापछि के सोचे मेरो विषयमा त्यो पनि थाहा छैन । यदि कसैले चिन्ने भए अहिले के सोच्छन्, त्यो पनि मलाई थाहा छैन । घटना घटेको ४० वर्षभन्दा बढी भइसक्दा पनि त्यो घटनाले भने मलाई अझै दुःखित बनाउँछ ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote]

त्यो बेलाका साथीहरू मेरो सम्पर्कमा पनि छैनन् । उनीहरूले त्यो घटनापछि के सोचे मेरो विषयमा त्यो पनि थाहा छैन । यदि कसैले चिन्ने भए अहिले के सोच्छन्, त्यो पनि मलाई थाहा छैन । घटना घटेको ४० वर्षभन्दा बढी भइसक्दा पनि त्यो घटनाले भने मलाई अझै दुःखित बनाउँछ । हाल म बसेको ठाउँमा यदि कोही बच्चाले कुनै गल्ती नै गरेछ भने पनि, त्यो कुरा अरूको अघि गरिँदैन- हाम्रो जस्तो गरी कसैलाई चोर साबित गर्न त कल्पना पनि गर्न सकिदैन । बच्चालाई उसको साथी भाइको अगाडि दोषी देखाउँदा त्यसको दीर्घकालीन नकारात्मक असर नपरोस् भनी खुबै ध्यान पुर्याइन्छ ।
विश्व प्रसिद्ध अमेरिकन-जर्मन मनोवैज्ञानिक एरिक एरिक्सनका अनुसार मनो-सामाजिक विकास (ह्युमन साइको-सोसल डेभलपमेन्ट) का तेस्रो चरण ५ देखि १२ वर्षको उमेरमा बच्चाहरू सामाजिक मागअनुसारको सीप तथा क्षमताको विकास गर्न चाहन्छन् । नयाँ कुरा सिक्ने, सीप विकासका लागि प्रयास गर्ने, गल्ती गर्ने, झूट बोल्ने आदि त्यो उमेरका बच्चाहरूमा देखिने सामान्य स्वभावजन्य कुराहरू हुन् । बच्चामा देखिने यो स्वभावलाई अभिभावक तथा शिक्षकहरूले सही तरिकाले बुझेर तदनुरूप बच्चालाई प्रोत्साहन गरेमा उनीहरूमा सकारात्मक ऊर्जा प्रदान हुन्छ र बच्चाहरू उद्यशील, रचनात्मक हुन्छन् । यदि त्यो विकास सम्भव नभए वा कुनै व्यवधान आएमा त्यसको उल्टो, नकारात्मक असर पर्छ बालबालिकामा । बच्चामा हीन भावनाको विकास हुन्छ जसको असर लामो समय सम्म रहन्छ, जस्तो कि मलाई त्यो घटनाले अझैसम्म कुनै न कुनै रुपमा असर पारे जस्तो लाग्छ ।
त्यस घटनामा मैले आफैँले झोलामा राखेर बिर्सेको होस्, मिसले मलाई नभनेर मेरो झोलामा राखिदिएको होस् वा साथीले मलाई जानाजान चोर साबित गर्न आफ्नै हातको कलम मेरो झोलाबाट निकाले जस्तै गरेको होस् (जुन मलाई होइन जस्तो लाग्छ)- सबै सम्भावनाहरूमा मेरो बालापनको कुनै दोष देख्दिनँ म ।
सानोमा यसो गर्नुहुन्न, त्यसो गर्नुहुन्न भनेर अनेक बाधा बन्धनमा बस्नुपर्ने बाध्यता जस्तै हुन्छ विशेष गरी छोरीहरूलाई–म पनि त्यही परिवेशमा हुर्किएँ । स्कूल, कलेज, विवाह, जागिर र जीवनका अन्य विभिन्न मोडहरूमा यस्तै खालका सीमा र परिधिभित्र रहेर हामीहरू करिब सबै नै हुर्किएका, बढेका हौँ । घरमा अभिभावक, स्कूलमा शिक्षक, समाजमा अग्रजहरू र सहपाठीहरूको प्रभाव हरेकको जीवनमा पर्छ नै ।
केही समयअघि तीनैजना छोरीहरूसहित म र मेरो श्रीमान् घुम्न निस्किएका थियौँ । भोक लागेर एउटा फास्ट फुड रेष्टुरेन्टमा छिर्यौं । सबैले आ-आफ्नो खानाको अर्डर गर्यौ । अरू सबैको अर्डर गरेअनुसार नै आयो तर मेरो भने भिन्दै । भाषाको कारणले या अरू कुनै कारणले होला भन्ने ठानेर मैले जे थियो त्यही खान थालेँ । फेरि अर्डर लिने केटीलाई पनि अप्ठेरो पो पर्ने हो कि भनेर मैले छोरीहरु र श्रीमान् लाई केही पनि भनिनँ तर पछि मैले मगाएको सुपभन्दा फरक सुपको स्वादले मेरो मुख बिग्रिदा छोरीले थाहा पाइन् । मैले सबै कुरा बताउनै पर्ने भयो । त्यसपछि मेरी छोरीले मेनेजरसँग कुरा गरिन् र उनीहरूले गल्ती महसुस गरेर मेरो अर्डर बराबरको पैसा फिर्ता दिए ।
कहिलेकाहीँ बोल्दा, अगाडि सरेर कुरा गर्दा या अन्य कुनै ठाउँमा गल्ती हुने हो कि भनेर एक प्रकारको डर लागिरहन्छ मलाई अहिलेसम्म । चाहे त्यो रेष्टुरेन्टको घटना होस् वा विदेश बसाईको क्रममा भएका अरू यस्तै मेरा अनुभवहरू होऊन्- कतै न कतै त्यो डरले काम गरिरहेको हुन्छ । हुन त त्यही “कलम हराएको” घटना मात्रैको असर त पक्कै पनि होइन मेरो डरमा, तर त्यो पनि एउटा प्रमुख घटना थियो भन्ने लाग्छ मलाई ।
अहिले छोरीहरू, उनीहरूको आत्मविश्वास र व्यवहार हेर्दा मलाई आफ्नो बिगतले बेला बेलामा घचघच्याउँछ । हुन त मैले अन्तर्राष्ट्रिय विश्वविध्यालयहरुबाट उच्च शिक्षा हासिल गरी हाल क्यानडाको प्रान्तीय सरकारको एउटा मन्त्रालयमा सम्बन्धित विषयमा काम पनि गरिराखेकी छु । अझै पनि घरी घरी त्यही कलमले पछ्याउँछ र त्यो आरोपले नराम्रोसँग घोच्छ । बारम्बार हामीले थाहै नपाएर वा जानेरै गर्ने कतिपय सानो गल्तीको सिकार जीवन भर कुनै निर्दोष बालबालिका बन्न सक्छन्– समयमै अभिभावक, शिक्षक र समाज पनि सचेत हुन जरुरी छ । भलै त्यो हराएको कलमले मलाई जीवनका आरोह अवरोहहरूमा घोचिरहे पनि यहाँसम्म पुग्न र ज्ञान भर्न भने भरपूर सघाएको छ– मैले त्यही कलम सम्झेर पढेँ, लेखेँ नथाकेर ।
मैले नचोरेको कलम !

टिमिन्स, क्यानडा