गएको ३० मे, शनिबार साँझ ७:३० बजे (सिड्नी समय) एउटा रमाइलो माहौल बन्यो । अष्ट्रेलिया र विश्वका विभिन्न देशमा रहेका सर्जकले फेसबुक लाइभ हेरिरहनुभएका दर्शक/श्रोतामाझ जीवन, जगत र समसामयिक विषय समेटिएका आफ्ना मीठा रचना सुनाउँदा साहित्यिक रसास्वादनको संयोग जुर्न पुग्यो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा जुममार्फत भएको सो कार्यक्रमको सहजीकरण अनेसास न्यू साउथ वेल्स सचिव प्रवीण टण्डनले गरेका थिए ।

आयोजक संस्था अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्माले छोटो मन्तव्यसँगै शुरू भएको सो कार्यक्रममा अनेसास केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा “आचार्य राजन शर्मा” को अगुवाइमा सम्पूर्ण सहभागीहरूबाट ऊँकार उच्चारणसँगै रचनावाचनको क्रम आरम्भ गरिएको थियो ।

जापानबाट अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल “माइला”ले आफ्ना मीठा गजल र हाइकु प्रस्तुत गरेका थिए भने अमेरिकाबाट जोडिएका अनेसास केन्द्रीय पूर्व महासचिव गोवर्द्धन पूजाले आफ्नो सुन्दर कविता प्रस्तुत गरेका थिए।

रचनावाचनको क्रमलाई निरन्तरता दिँदै अनेसास केन्द्रीय महासचिव गणेश घिमिरे, अनेसास केन्द्रीय सदस्यद्वय सानु घिमिरे र अग्नि राजनाथ शर्मा, अनेसास न्यू साउथ वेल्स पूर्व अध्यक्ष महेन्द्र पौडेल, अनेसास ब्रिस्बेन अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ अध्यक्ष निरज क्षेत्री, अनेसास क्यानबेरा महासचिव विनायक अधिकारी, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज महासचिव विदुर सापकोटा, नेपाली भाषा विद्यालय शब्दमालाका पूर्व अध्यक्ष डा. प्रकाश पौडेलले आफ्ना सिर्जना पस्किएका थिए ।

त्यसैगरी आयोजक अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्मा, उपाध्यक्ष ममता तिवारी, सचिव प्रवीण टण्डन, कोषाध्यक्ष विष्णु घिमिरे, सदस्य सीता रसाइली, यसैगरी साहित्यअनुरागीहरु आशीष पौडेल, तुल्सा पाण्डे र महता चापागाईंले पनि आफ्ना साहित्यिक रचनासहित आ-आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा वरिष्ठ कवि तथा निबन्धकार उदय निरौलाले जुम सम्मेलनमा प्रस्तुत रचनाहरूको समीक्षा गर्दै आफ्नै एउटा चर्चित सिर्जना समेत वाचन गरेका थिए ।

यससँगै अनेसास न्यू साउथ वेल्स अध्यक्ष महेश्वर शर्माले सहभागी स्रष्टा र दर्शकमा धन्यवाद र आभार प्रकट गर्दै कार्यक्रम समापन गरिएको थियो ।