साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

क्यानाडामा नेपाली चिनाउने किरणका तीन कृति

व्यक्तित्व

क्यानाडामा नेपाली भाषा–साहित्य र संस्कृतिका बारेमा कुरा गर्नुपर्दा सर्वप्रथम यहाँका समाजसेवी किरण ढुंगानाको नाम अग्रपंक्तिमा आउँछ । सन् १९५३ (२०१० साल) मा काठमाडौंको चाबहिलमा जन्मिएका किरण ढुङ्गानाले त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दाको समयदेखि नै साहित्यक लेखनप्रति रुचि राख्दै र लेख्दै आएका थिए । सन् १९९८ (वि.सं. २०३६ साल) को विद्यार्थी आन्दोलनमा समेत सहभागी भएर अहिलेका प्रतिष्ठित राजनीतिज्ञ सुभाष नेम्वाङ, प्रदीप नेपालहरुसँगै भद्रगोल जेलमा ५७ दिन बिताए । अध्ययनपछि केही वर्ष वाणिज्य बैंकमा काम गरेका थिए । त्यपछि आफ्नै व्यवसाय गर्न थालेको र केही वर्ष व्यवसाय गरेपछि २६ वर्षे युवा ढुङ्गाना नयाँ जोश र जाँगर बोकेर पातालवासको रङ्गीन सपना बोकेर क्यानाडा प्रवेश गरे । प्रारम्भमा मोन्ट्रियलबाट आफ्नो प्रवासी जीवन शुरु गरेका ढुङ्गानाले तुरून्तै विशाल टोरोन्टोको ब्राह्म्टन शहरलाई आफ्नो कर्म थलो बनाउँछन् ।
दुई छोरा र दुई छोरीका पिता ढुङ्गानाले क्यानडामा आफ्नो आगमन भएकै बेलादेखि नेपाली भाषी खोज्दै सम्पर्क बढाउँदै गए । सन् १९७८ मा पहिलो पटक क्यानडाको मोन्ट्रियल शहरमा आउँदा अनेपाली मित्रका माध्यमबाट भारतीयहरुको एउटा रेष्टुरेन्टमा पुगे र त्यहीँबाट एकजना नेपालीको सम्पर्कमा आए । सत्तरीको दशकमा कुनै एक्पोमा भाग लिन आएका शर्माजी मोन्ट्रियलमा परिवारसहित बस्दै आएका शर्मा र ढुङ्गानाको दोस्तीपछि अटवाकी राधा बस्नेत, टोरोन्टोका रमाकान्त अधिकारी, भ्यानकुभरका माधव कोँजु हुँदै ब्राह्म्टनसम्म आइपुग्दा नेपालीहरूसँगको सम्पर्क संख्यात्मक रूपमा बढ्दै गयो । प्रारम्भमा विशाल टोरन्टोमा (टोरन्टो, मिसीसाँगा, ब्राह्म्टन, स्कारबोरो) बसोबास गर्ने नेपालीहरुका बीच भेटघाटको कार्यक्रम हुने गर्थ्यो । यसरी भेटघाटको क्रममा ढुङ्गानाले लादान, राजजित सिंह कटोज, सुरा हल (जङ्ग थापा), कुमुद शर्मा, कुञ्जर शर्मा, राधा बस्नेत, वेदजङ्ग थापा, भद्रिका शर्मा, डा. जपनारायण श्रेष्ठ, ग्वेल्फमा बाबुराम (क्रिस) भट्टराई आदिसँग भेट्ने मौका पाएपछि नेपालीहरुलाई समेट्ने काम गर्न थाल्नु भयो ।
ढुङ्गानाले क्यानाडामा बसोबास गर्ने नेपालीहरुका बीच समन्वय बनाई राख्न र सबैलाई एउटै मञ्चमा उभ्याउने उद्देश्यका साथ काम गर्दै अघि बढे । सन् १९८३ मा उत्तर अमेरिकालाई समेत समेट्ने उद्देश्यका साथ डिसीमा ‘एशोसिएसन अफ नेपालिज् इन अमेरिकाज्’ (ए.एन.ए.) को स्थापना भएपछि डा. कुञ्जर शर्मा क्यानडाको प्रतिनिधि बने । सन् १९८९ मा एएनएको क्यानडा शाखा बनाएपछि वीरेन्द्र थापा ए.एन.ए. क्यानडाको अध्याक्ष बन्नु भयो । त्यसको एक वर्षपछि किरण ढुङ्गानालाई एएनए क्यानडाको अध्यक्ष बनाइयो । अमेरिकामा रहेको संस्थाको अध्यक्ष बनेपछि उनलाई क्यानडामा नै नेपालीहरूको सहभागितामा बेग्लै संस्था खोल्ने जमर्को चल्यो । यसैको नतिजा हो, सन् १९९१ मा “नेपाली एशोसिएसन इन क्यानाडा” – नेक (एन.ए.सी.) को स्थापना हुनु । यसै संस्थाका माध्यमबाट नेपालीहरूले आफ्नो परम्परागत चाडपर्वहरू मनाउन थाले । यसरी ढुङ्गानाले संस्थाका माध्यमबाट चाडपर्वका अवसरमा भेटघाट कार्यक्रमको आयोजना गराएर एउटै मञ्चमा सबैलाई समेट्दै क्यानडामा नेपालीको संस्थागत बिस्तार गराउन थाले । यहीँ संस्थाका माध्यमबाट नेपाली समाजको गतिविधिलाई लिपिमा उतार्न तथा सबैमा समुदायको सूचना प्रवाह गर्न ढुङ्गानाले सन् १९९२ मा अंग्रेजी भाषामा “न्यूज लेटर” को प्रकाशन आरम्भ गरे । पत्रिकाका माध्यमबाट संस्थागत गतिविधिलाई सबैसामु पुर्याउन प्रकाशन आरम्भ भएको ‘न्यूज लेटर’को पहिलो अङ्कमा नै प्रा. कुमुद देवकोटाको नेपाली भाषामा लेखिएको लेख ‘बाहिर बस्नेहरुलाई शंका छ’ नेपाली भाषामा प्रकाशित हुन्छ । यही लेखलाई क्यानाडामा नेपाली भाषामा लेखिएर प्रकाशित भएको पहिलो रचनाका रुपमा लिन सकिन्छ ।
अंग्रेजी भाषामा निस्कने ‘न्यूज लेटर’ सन् १९९३ मा नेपाली भाषामा ‘लाली गुँरास’को नामबाट प्रकाशित हुन थाल्छ । “नेपाली एशोसिएसन इन क्यानाडा” (एन.ए.सी.) बाट प्रकाशित हुँदै आएको ‘लाली गुँरास’ पत्रिका दुई अङ्क प्रकाशित भएपछि बन्द हुन्छ । त्यसपछि एन.ए.सी. को ठाउँमा ‘नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा’ (एन.सी.एन.सी.) को नामबाट नयाँ संस्था स्थापना भएपछि यहीँ संस्थाको मुखपत्रका रूपमा ‘दियालो’ को नामबाट नेपाली भाषाको पत्रिकाको प्रकाशन शुरु हुन्छ । ‘दियालो’लाई उत्तर अमेरिकाबाट प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका मानिन्छ । आजको मितिसम्म पनि ‘दियालो’ समय अन्तरालमा प्रकाशित हुँदै आएको छ । यही ‘दियालो’ को दोस्रो अङ्क (१ः २ समर १९९४ (वि.सं. २०५१) ) मा पहिलो पटक क्यानाडामा बस्ने क्यानाडियाली नेपाली कविको कविताका प्रकाशित हुन्छ । क्युबेक प्रान्तको मोन्ट्रियलका उही शसु (शरद सुब्बा) को “टुक्राहरु विवशताको” दुईवटा साना कविताहरु प्रकाशित हुन्छन् । यसैलाई क्यानाडामा लेखिएको पहिलो नेपाली कविता मान्न सकिन्छ । २० वर्षसम्म ‘दियालो’को प्रकाशनलाई निरन्तरता दिँदै थियो ।
सन् १९९५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाट वर्षको प्रसिद्ध लेखक उपाधिबाट विभूषित ढुङ्गानालाई सन् २००१ मा नेपाल–अमेरिका काउन्सिल पुरस्कारबाट सम्मानित भएका थिए । सन् २००६ मा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घबाट पुरस्कृत ढुङ्गानालाई २०१२ मा अनेसास र नेपाली साहित्य समाजले संयुक्त रूपमा अभिनन्दन गरेको थियो । उनले आफ्नो पत्रकारितासँगै लेखन कार्यलाई पनि निरन्तरता दिँदै थिए । साहित्य प्रतिको रुचिले गर्दा उनले अनेसासको अध्यक्ष (सन् १९९६–९७) भएर पनि भाषा साहित्यको सेवा गरेको देखिन्छ ।

किरण ढुङ्गानाको साहित्यिक यात्रा आफ्नो विद्यार्थी कालदेखि नै शुरु भएको थियो । उनको रुचि र लेखनले बिस्तारै निरन्तरता पाउँदै गएपछि उनका रचानहरु सन् १९७३–७४ देखि फाटफुट प्रकाशित हुन थालेको पाइन्छ । क्यानाडा प्रवेशपछि पनि उनको लेख्ने बानीले निरन्तरता पाउँदै गएको थियो । उनका केही रचनाहरु बेलायत र भारतको सिक्किमका पत्रिकाहरुमा समेत प्रकाशित भएका छन् । विगत २५ वर्षदेखि कथा, कविता, निबन्ध आदि विधामा निरन्तर कलम चलाउने ढुङ्गानाको आजको मितिसम्ममा तीनवटा पुस्तकहरु प्रकाशित भएको देखिन्छ । उनको पहिलो कृति आत्मसंस्मरणका रुपमा ‘मोन्ट्रियल क्याफे’ सन् २०१५ (माघ २०७१) मा प्रकाशित भएको थियो । यसलाई अनेसासले सन् २०१७ मा उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरेको थियो । त्यसपछि उनको दोस्रो कृति ‘कमली’ उपन्यास सन् २०१६ (मंसिर २०७३) प्रकाशित भएको पाइन्छ भने सन् २०१९ (बैशाख २०७६) मा उनको तेस्रो कृति ‘झरेको पात’ उपन्यास प्रकाशित भएको देखिन्छ ।

“मन्ट्रियल क्याफे”
“मन्ट्रियल क्याफे” किरण ढुंगानाको पहिलो कृति हो । २०७१ माघ (सन् २०१५) मा नेपाली साहित्य समाज, क्यानडा र बाबाज्ञानी प्रकाशन, नेपालबाट प्रकाशित “मन्ट्रियल क्याफे” मा मैले पनि उनका बारेमा लेख्ने अवसर पाएको थिएँ । २७२ पृष्ठको “मन्ट्रियल क्याफे” क्यानडामा नेपालीहरूको आगमनको इतिहास पाइन्छ । उच्चशिक्षा अध्ययनका लागि ढुङ्गानाले नेपालबाट क्यानडाको यात्रा शुरु गरेपछि क्यानडालाई नै आफ्नो कर्मथलो बनाउने निर्णय र त्यसबेलाका क्यानडामा बसोबास गर्ने नेपालीहरुको अवस्था र संख्याका बारेमा जानकारी गराएका छन् ।
नेपाली साहित्यमा आयामेली आन्दोलनका एक प्रवर्तक ईन्द्रबहादुर राईको २०२१ (सन् १९६४) सालमा प्रकाशित “आज रमिता छ” उपन्यास नेपाली साहित्यमा संरचना र रूपविन्यास दुवै दृष्टिकोणबाट परम्परागत लेखनभन्दा एकदम भिन्न शैली अपनाएर लेखिएको कृतिका रूपमा देखा पर्छ । आयामेली भाषामा लेखिएको यो नयाँ औपन्यासिक प्रवृत्तिलाई पछिका लेखकहरूले पनि पछ्याउँदै आएका छन् । नेपाली उपन्यासको इतिहासमा यथार्थवादको आत्मगत पक्षलाई समेटेर लेखिएको उपन्यास “आज रमिता छ” लाई राईले कुनै अध्याय, परिच्छेद, शीर्षकमा नबाँडिकन प्रारम्भ गरेर कथाको अन्त्य गरिएको छ । किरण ढुङ्गानले पनि यही शैलीको अनुशरण गरेर आफ्नो पहिलो कृति “मन्ट्रियल क्याफे” लेखेका छन् । आत्मसंस्मरणका रुपमा लेखिएको “मन्ट्रियल क्याफे” कृति पृष्ठ १७ बाट शुरु हुन्छ र बिना कुनै अध्याय, परिच्छेद वा शीर्षकअगाडि बढ्दै पृष्ठ २७२ मा आएर क्यानडाको कन्जर्भेटिभ दलका नेता स्व. जेक लेटनको भनाइमा गएर टुङ्गिन्छ ।

bahulako diary small and inside post

मेरा प्यारा मित्रहरू
क्रोधभन्दा प्रेम राम्रो
त्रासभन्दा आशा राम्रो
निराशाभन्दा आशावादी हुनु राम्रो
त्यसैले आऊ हामी प्रेम गरौं
आफ्नो ईच्छापूर्तिका लागि आशावादी भएर
यसरी हामी विश्व परिवर्तन गर्न सक्ने छौं

सम्बन्धित पोस्टहरु

मैले नचोरेको कलम !

साहित्यको विधागत नियमका आधारमा किरण ढुंगानाको पहिलो कृति “मन्ट्रियल क्याफे” लाई आत्मसंस्मरणका रूपमा लिन सकिन्छ । सन् १९८० देखि २००० अर्थात २० वर्षको समयावधि समेटेको यस कृतिमा उनको निजी अनुभूतिहरू मुखारित भएका छन् । ४० वर्षअगाडि अध्ययनका सिलसिलामा उत्तरी गोलार्धको क्यानडामा आएर उनले देखेका, सुनेका, भोगेका र अनुभव गरेका संघर्षमयका दिनहरुको अनुभव यस कृतिमा टिपिएका छन् । आफ्नो भूमिकामा उनले यस कृतिलाई आफ्नै जीवन दर्पण भनेर उल्लेख गरेका छन् ।
कृतिको थालनी काठमाडौंको एयरपोर्टबाट शुरु हुन्छ र अन्त्य टोरन्टोको एयरपोर्टमा गएर टुङ्गिन्छ । काठमाडौंबाट उडेको हवाईजहाजले एकजना नेपालीलाई क्यानडासम्म पुर्याउँछ भने टोरन्टोमा अवतरण भएको हवाईजहाजले क्यानडामा नयाँ नेपाली जन्माउने आमालाई भित्र्याउँछ । किरण ढुङ्गानाले नेपाल छोडेको मितिदेखि यो कृति लेखुन्जेलसम्मको उनको जीवनमा देखापरेका उतारचढावको विवरण यस कृतिमा पाइन्छ । यस कृतिमा एकातिर नेपालको प्राकृतिक सौन्दर्यताको मुक्तकण्ठबाट बयान भएको छ भने अर्कोतिर क्यानडाको प्राकृतिक सौन्दर्यता र नीति नियमका बारेमा पनि राम्ररी चर्चा भएको पाइन्छ । उनले यसलाई आत्मसंस्मरणका रूपमा लिए पनि यसको लेखन कार्य मनभित्रका आत्मअभिव्यक्तिबाट मात्र पूरा भएको छैन । यसको लेखन कार्यभन्दाअघि उनले क्यानडाको इतिहासलाई राम्ररी नियालेर अध्ययन गरेको देखिन्छ । उनले क्यानडाका बारेमा पनि राम्ररी अध्ययन गरेको देखिन्छ ।
लेखनको क्रममा उनले आफू क्यानडा आएको दस वर्षअगाडि मोन्ट्रियलको रेस्टुरेन्टमा काम गर्ने शर्माजी क्यानडा भित्रिसकेको प्रसङ्गसँगै त्यसपछि नेपालीहरूका बारेमा जानकारी लिने र राख्ने उत्सुकता उनमा बढ्दै गयो । त्यसपछि शुरु हुन्छ उनको नेपालीहरुको विवरण टिप्ने काम । क्यानडा आएपछि उनले भेटेकाहरु माधव कोजुँ, धनबहादुरकी छोरी चन्द्रा फिल्ड, विजय श्रेष्ठ, मारिया, दिनेश श्रेष्ठ, एनी, रवि त्रिपाठी, राजसिंह कटोज, बेदजङ्ग थापा, सन्ध्या थापा, कुमुद शर्मा, भद्रा शर्मा, श्याम योकलेन, शोभा भट्टराई, अधीर राणा, शैलेन्द्री राणा, हनी, मृगेन्द्र गुरुङ्ग, सरोजनी, राजेन्द्र श्रेष्ठ, मीना, वीरेन्द्र थापा, नीमा शेर्पा, बेन म्याकलहनी, बाबुराम (कृष) भट्टराई, आशीष गिरी, शरद सुब्बा, राधा बस्नेत, जयनारायण श्रेष्ठ, लक्ष्मण खड्का, अम्बिका अधिकारी, हेमलाल अर्याल, रमाकान्त अधिकारी आदि धेरै नामहरु छन्, जसलाई हाम्रा पूर्खाका रूपमा लिन सकिन्छ ।
क्यानडामा नेपालीहरुको आगमनको इतिहासलाई समेटेर लेखिएको यस कृतिमा उनले क्यानडामा केशवराप पिँडालीले भ्रमण गरेपछि फूलैफूलको शहर भनेर लेख नै प्रकाशित गरेको कुरा पनि आउँछ । २०४६ सालको आन्दोलनपछि नेपालको पहिलो मन्त्रीका रुपमा योगप्रसाद उपाध्यायको भ्रमणका बारेमा, सन् १९८७ मा एसोसिएसन फर नेपालिज् इन अमेरिकाज (ए.एन.ए.) को सम्मेलन भएकोबारे जानकारी पनि दिएका छन् । उनले हेमलाल अर्याल पहिलो नेपाली सेफले हिन्दुस्तानी दावत रेस्टुरेन्ट खोलेको कुरा । एक्लो नेपाली भए पनि आफूसँग भएका नेपाल झल्काउने सामानका आधारमा अनेपाली मित्रहरुको सहयोगमा कन्कडिया विश्वविद्यालयमा नेपाल–डे मनाएर क्यानडामा नेपाललाई चिनाउने प्रयास आदि विभिन्न कुराको जानकारी संग्रहित छ । यस कृतिमा क्यानडामा नेपालीहरुको आगमनको कथा मात्र नभएर क्यानडामा आप्रवासीहरुको आगमनको इतिहास पनि पढ्न पाइन्छ । सन् १८९० मा प्यासिफिक रेल्वेको लिक राख्न चिनियाँसँगै भारतीय मजदुरहरुको आगमन । सन् १९२० मा मुम्बई (बम्बई) बाट सिखहरुको आगमनको कथासँगै जर्मन, नाजी, हिटलर, इटाली, मुसालिनो आदिलाई पनि प्रसङ्गानुसार समेटेका छन् । कृतिले क्यानडाका चाडपर्वहरुहरुका बारेमा जानकारी दिन सक्षम भएको छ । यस्तै विदेशमा बसेर विदेशीहरुको चाडपर्वमा रमाइरहेको अवस्थामा किरणलाई पनि आफ्नै परम्परागत चाडपर्वमा आफ्नो दाजुभाइ–दिदीबहिनीसँग मनाउने अभिलाषा पलाउन थालेपछि उनकै प्रयासबाट क्यानडामा पहिलो नेपाली संस्थाको स्थापना हुन्छ । यही संस्थाबाट क्यानडामा पहिलो दशैं कार्यक्रमको आयोजना हुन्छ र यही संस्थाले क्यानडामा पहिलो पत्रिका प्रकाशित गर्छ ।

‘कमली’
सन् २०१६ (मंसिर २०७३) मा शारदा मैनाली ढुङ्गानाद्वारा प्रकाशित भएको ‘कमली’ ऐतिहासिक उपन्यासका रुपमा देखा परेको छ । बाह्र परिच्छेदमा बाँडिएको २१२ पृष्ठको ‘कमली’ उपन्यासले ५८ वर्षको कथालाई तीन पुस्तामा देखाएको छ । कथाको शुभारम्भ सन् १९०१ देखि नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर ज.ब.राणाको समयबाट शुरु भएर सन् १९५९ मा विश्वेश्वरप्रसाद कोइराला नेपालको बाइसौं प्रधानमन्त्रीको समयमा आएर टुङ्गिन्छ । ऐसिहासिक विषयवस्तु समेटेर लेखिएको यस उपन्यासमा ३७ जना पात्रहरु विभिन्न अवस्थामा देखा पर्छन् । यज्ञप्रसाद शर्मा, हरिहर शर्मा र मधुसुधन शर्मा तीन पुस्ताका माध्यमबाट राणकालीन नेपालको अवस्था र व्यवस्थाको वर्णन भएको यस उपन्यासमा मुख्य पात्रका रूपमा ‘कमली’ देखाइएको छ । उनका जीवनको आरोहअवरोहलाई ऐतिहासिक कथाको तानाबाना बुनेर यस उपन्यासमा मधुसुधनसँग कमलीको प्रेमगाथा देखाइएको छ । यही प्रेमकथाको सेरोफेरोमा राणकालीन नेपालको इतिहास र प्रजातन्त्रिक नेपालको उदयका कथाहरूका बारेमा जानकारी पाइन्छ । किरण ढुङ्गानाले ऐतिहासिक घटनाक्रमलाई उपन्यासका माध्यमबाट एउटा प्रेमकथाको सूत्रमा बाँधेर यहाँ प्रस्तुत गरेका छन् । यसमा उनी सफल पनि भएका छन् । इतिहास सबैका लागि रोचक बन्न सक्दैन त्यसैले उनले नेपालको एक खण्डको इतिहासलाई प्रेमको जलप लगाएर यसमा पस्केका छन् । यही कथाभित्र उनले तत्कालीन नेपालको शोषण, संघर्ष र चाकरीका विभिन्न उतारचढावलाई देखाएका छन् ।
राणाकालीन नेपालमा देखापरेको दरबारीया चाकरीको झलक र शोषणका राजनीति उपन्यासले समेटेको पाइन्छ । राणाकालको इतिहाससँगै त्यसबेलाको वास्तविकतालाई समेटेर लेखिएको यस उपन्यासले धरहराबाट बिगुल बजाएर जनतालाई सूचना दिने चलन, नब्बे सालको भुइँचालोको बयान, नेपालमा राणा विरुद्धका स्वरहरु गुञ्जिन थालेको अवस्था, बनारसमा कांग्रेसको चहलपहल, विराटनगर जुट मिलको मजदुर आन्दोलन, २००५ वैशाखमा नेपालको संविधान जारी भएको जानकारी, राणाहरुका बीचमा सत्ताका लागि शुरु भएको षडयन्त्र, राजाका छोरी–चेलीलाई राणाहरुले बिहे गर्ने परम्परा जस्ता इतिहासलाई समेटेको छ । राम्रो अध्ययन र अनुसन्धानपछि जन्मेको कमली उपन्यासमा उपन्यासकारको मिहिनेत देख्न पाइन्छ । उनले चन्द्र शमशेरको बेलायत यात्राका क्रममा फ्रान्स, रोम, भारतका विभिन्न शहरहरुको भ्रमणका कुराहरुलाई पनि समेटेर त्यहाँको इतिहास पस्केका छन् । आफूले क्यानडालाई कर्मभूमि बनाएकाले उपन्यासमा क्यानडाको शरणार्थी प्रसङ्गलाई समेत स्थान दिएर सन् १९१४ मा कामागातामारो पानीजहाजबाट क्यानडा आएको ३४९ जना सिखहरूलाई क्यानडा सरकारले प्रवेश निषेध गरेर फर्काइदिएको इतिहासलाई पनि स्थान दिएका छन् । बुद्धभूमिमा जन्मेका ढुङ्गानाले बुद्धको महिमासँगै सम्राट अशोकलाई पनि उपन्यासमा स्थान दिएर सम्राट अशोकले अपनाएको बुद्धत्वको चर्चा समेत गर्न भ्याएका छन् । यसका अतिरिक्त उपन्यासमा विश्वयुद्ध र नेपोलियन युद्धको चर्चासँगै कालिदासदेखि शेक्सपियरको साहित्यिक योगदानबारे चर्चा गर्दै लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको विश्वप्रसिद्ध चित्रदेखि जुद्ध शमशेरको कलकत्ता यात्राको बेला रवीन्द्रनाथ टैगोरसँग भेटेको कुरा पनि लेखेका छन् । उपन्यासको थालनी चन्द्र शमशेरको राज्यकालबाट हुन्छ र चन्द्रपछि जुद्ध शमशेर, पद्ध शमशेर हुँदै देव शमशेर र मोहन शमशेरको समय देखाउँदै बिपी कोइरालाको समयमा आएर बिट मार्छ ।
जङ्गबहादुर राणाको बेलायत यात्रापछि चन्द्र शमशेरले बेलायतको यात्रा गरेका थिए । कथाको तानाबाना त्यहीँबाट शुरु हुन्छ । राणाकालीन नेपालको प्रशासकीय अवस्थाको चर्चा गर्दै त्यस बेलाको काठमाडौंका गल्ली, चोकहरुबाट लिएर मठमन्दिर, शहर बजारका बारेमा राम्रो बयान गरेका छन् । राणकालीन नेपालको अवस्थाको चर्चा गर्दै त्यसबेला भारतको बनारसमा प्रजातन्त्रको फिलिङ्गो बल्न थालेको अवस्था र नेपाल प्रजा परिषदले शुरु गरेको सन् १९४० को आन्दोलनको प्रसङ्गसँगै त्यसमा पक्राउ परेका शुक्रराज, धर्मभक्त, दशरथ चन्द, गङ्गालाललाई फाँसीको सजाय सुनाएको कुरालाई पनि उपन्यासले समेटेको छ । यस उपन्यासबाट राणकालीन नेपालको धेरै कुराहरुका बारेमा जानकारी थाहा पाउन सकिन्छ जस्तै अहिलेको बनेपा-सिन्धुली मार्ग राणाकालमा पनि चर्चा भएको बारे । राणाकालमा युवाहरु राजनैतिक कारणले देशबाट पलायन हुन बाध्य भएको अवस्थाका बारे । तत्कालीन नेपालको प्रशासनिक व्यवस्थाका बारे आदि । सरल भाषा शैलीमा लेखिएको यस उपन्यासबाट ढुङ्गानाको आख्यान लेखनमा केही कमी कमजोरीहरु देखा परे तापनि उनको पहिलो प्रयास प्रशंसनीय रहेको छ ।

‘झरेको पात’
किरण ढुङ्गानाको तेस्रो कृति ‘झरेको पात’ सन् २०१९ मा प्रकाशित भएको देखिन्छ । नेपाली साहित्य समाज, क्यानडा र बाबाज्ञानी प्रकाशन, काठमाडौंबाट प्रकाशित ‘झरेको पात’ उनको दोस्रो उपन्यास कृति हो । अघिल्लो उपन्यासले राणाकालीन नेपालीलाई विषयवस्तु बनाएको थियो भने ‘झरेको पात’ले दोस्रो युद्धपछिको क्यानडाको जनजीवनलाई विषयवस्तु बनाएको छ । क्यानडामा जाडो शुरु हुनभन्दाअघि हुरीबतासले वातावरणलाई नै नरमाइलो बनाउँदै गएको हुन्छ । अनि त्यसपछि शुरु हुन्छ हिमपात । मानिसको जीवनमा सुख र दुख समानान्तर रूपमा आउने गर्छ । प्रकृतिले पनि एवम् तरिकाले मौसम परिवर्तन गर्दै जान्छ । क्यानडामा पनि मौसमको कहरले मानवीय जीवनमा नराम्ररी प्रभाव पारेको हुन्छ । यस उपन्यासमा टोरन्टोको पश्चिममा पर्ने सानो तर प्राकृतिक सौन्दर्यले भरिएको बेलउड (गाँउ) शहरमा आजभन्दा ५०–६० वर्षअगाडिको अवस्था र यसका मुख्य पात्र लोराको जीवनका आइपरेका कष्टमय अवस्थाको बयान पाइन्छ ।
७३ पृष्ठको यस लघु उपन्यासले बेलउडको सेरोफेरोमा कथा बुनेको छ । कथामा हिउँदकै मौसममा प्राकृतिक प्रकोपमा परेर आमा गुमाउनु परेकी लोरालाई उनकी सौतेली आमाले दिएको दुःख र अमानवीय व्यवहारको वर्णन र लोराले देखाएको मानवीय व्यवहारको व्याख्या पाइन्छ । वेलउड, किच्नर र टोरोन्टोको वरिपरि रुमल्लिएको कथाले क्यानडामा आप्रवासीहरुको आगमनको इतिहास देखाउने प्रयास गरेको छ । उपन्यासले क्यानडाको इतिहासमाथि प्रकाश पार्दै यस प्रकृति भूमिका आप्रवासीहरुको मानव इतिहासको उत्खनन् गरेको छ । दोस्रो युद्धपछि मानवीय जीवनमा देखापरेको सामाजिक परिवर्तनको कथाव्यथालाई उपन्यासले समेट्न प्रयास गरेको छ । क्यानडालाई दोस्रो घर बनाएर एसियाका कामदारहरुमात्र नभएर जर्मन, इटाली, पोर्चुगलबाट पनि मानिसहरुको आगमन हुँदै जान थालेको र हिउँदको पीडादायी जीवन शैली बिताउँदै नयाँ क्यानडा बनाउनमा आप्रवासीहरुको भूमिकामाथि प्रकाश पारिएको छ । यहाँका आदिवासीहरुको पीडामा मलहम लगाउँदै आप्रवासीहरुले यो भूमिमा मानवबस्ती बसालेको तथ्य यस उपन्यासमा पाइन्छ । लोराको पीडादायी जीवनका माध्यमबाट ढुङ्गानाले क्यानडामा मनाउने प्रायः सबै चाडपर्वहरुको राम्ररी चर्चा गरेका छन् । यहाँको प्राकृतिक सौन्दर्य, यहाँको सामाजिक, धार्मिकसँगै राजनीति कार्यप्रणालीका बारेमा पनि व्याख्या गरेका छन् । समष्ठीमा यस उपन्यासले आजभन्दा आधादशकअघिको क्यानडामा आप्रवासीहरुको कष्टमय जीवनको व्याख्या गर्दै यस मुलुकको प्राकृतिक विशेषताका सकारात्मक र नकारात्मक पक्षमाथि सरल र सहज भाषा शैलीमा बयान गरेको छ । बोलीचालीको सरल भाषा शैलीको प्रयोगसँगै देशानुरूपको प्रसङ्गमा अंग्रेजी शब्दहरुलाई पनि प्राथमिकताका साथ राखेका छन् । यस उपन्यासलाई पनि ढुङ्गानाले बिना कुनै परिच्छेद, अध्याय, शीर्षक पृष्ठ १ मा शुरु गरेर पृष्ठ ७३ मा टुङ्गाइदिएका छन् । यसको छपाइपछिको कटाईमा भने केही त्रुटि देखिएकाले त्यसतर्फ ध्यान जानु जरुरी ठान्दछु ।
समाज सेवा र भाषा साहित्य प्रतिको लगाव राख्दै आएका किरण ढुङ्गानालाई आजको क्यानेडियन नेपालीले चिन्न सकेका छैनन् तर क्यानडामा नेपालीलाई चिनाउने, क्यानडामा नेपाली भाषा र साहित्यको विस्तार गराउने अनि ‘मोन्ट्रियल क्याफे’, ‘कमली’ र ‘झरेको पात’ कृतिका स्रष्टाका रुपमा भने उनको नाम सदैव अमर रहने छ ।
टोरन्टो, क्यानडा

प्रतिक्रिया
Loading...