आदरणीय मेरा प्रियजनहरू,

आजको दिनसम्म यहाँ हामीहरू सबै सकुशल छौँ, र हजुरहरूमा पनि  कुशलमंगलको कामना गर्दछौँ । कोरोना भाइरस हामी बसेको शहरमा पनि छ्यापछयाप्ती फैलिसकेको छ, तर पनि हालसम्म हामीहरू सुरक्षित छौँ | किनभने हामी विगत दुई महिनादेखि घरभित्रै बसी छौँ ।

यहाँ सरकारले भनेको सबैले मान्छन्, र सबै मानिसहरू चेतनशील छन् । हाम्रो बारेमा यहाँहरूले चिन्ता लिनु पर्दैन । यहाँको स्वास्थ्य सेवा धेरै राम्रो छ | सरकार र व्यक्ति दुवैले बराबर जिम्मेवारी लिएकाले स्थिति नियन्त्रणमा छ । आशा छ, त्यहाँ पनि हजुरहरूले सरकारले दिएको घरमै बस्ने आदेश पालना गरिरहनुभएकै छ होला ? यो भाइरस नियन्त्रण गर्ने मुख्य जिम्मा हात हाम्रै हातमा छ ।

तपाईँहरूलाई पनि थाहा नै होला ! सामान्य उपायहरूबाट नै कोरोनाबाट बच्न सकिन्छ । अहिलेको अवस्थामामा यो महामारी नेपाल चरम गतिमा फैलिरहेको र मौजुदा स्वास्थ्य अवस्थामाले धान्न सक्ने अवस्था देखिदैन् । यस्तो अवस्थामामा यसबाट बच्नु नै उत्तम उपाय हो | जुन सम्भव पनि छ । यसैले रोग लागि सकेपछि यसको उपचार गर्नुभन्दा यसको बाटो छेक्नु नै राम्रो हो |

यो पत्र लेख्दासम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ५४८ र यसबाट ज्यान गुमाउनेहरू ३ जना रहेको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले जनाएको छ । हालसम्म यो भाइरस ४० जिल्लाहरूमा फैलिइसकेको र मुख्य रूपमा भारतसँग सिमाना जोडिएका जिल्लाहरू बढी प्रभावित छन् | त्यसैगरि अन्य विविध कारणले गर्दा भाइरस सक्रमण तीव्र गतिमा बढी रहेकोले यसलाई मत्थर पार्न यी कुराहरूमा हजुरहरूले विशेष ध्यान दिनुहुन् म क्यानाडाबाट अनुरोध गर्दछु |

१) यदि परिवारमा कसैलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षणहरू देखिएमा तुरुन्त आइसोलेशनमा बस्नुहोला। आइसोलेसनमा बस्दा सकेसम्म छुटै शौचालयको प्रयोग, डिस्पोजेबल सामानहरूको प्रयोग गर्नु राम्रो मानिन्छ।

२) माथि उल्लेखित लक्षणहरू मनिटर गर्ने र बढ्दै गएमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई स्वाब टेस्ट गराइहाल्नु पर्छ।

३) घरिघरि साबुन-पानीले हात धुने, यदि साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजरको प्रयोग गर्ने, सरसफाइमा विशेष ध्यान पुर्याउनु  पर्छ ।

४) घरिघरि नाक, आँखा र मुख हातले छुनु हुँदैन, छोएमा फेरि हात साबुन-पानीले धुने गर्नु पर्छ ।

५) लकडाउनको पूर्ण पालना गरी भिडभाडमा नजाने, सामाजिक दूरी कायम राख्ने र घरमै बस्नु होला | संसारका धेरै देशहरूले लकडाउनकै कारण धेरै मानिसहरूको ज्यान जोगाउन सफल भैसकेकाले, र सरकारले पूर्ण रूपमा लक्डाउन घोषणा गरेकाले ढुक्कले घरमै बस्नु उचित छ । हामी पनि यहाँ त्यही गरिरहेका छौं, र आफूलाई सुरक्षित राख्न सकेका छौं    ।

६) यदि संक्रमण भैहालेमा नडराई अन्य संक्रमणमा जस्तै यसमा पनि प्रसस्त झोलिलो पदार्थ पिउने, पोषिला खानेकुराहरू खाने र पूर्ण रूपमा आराम गर्नु होला।

७) संक्रमणको समयमा मानिसहरूमा मनोवैज्ञानिक असर पर्ने हुनाले नकारात्मक समाचारहरू सम्प्रेषण नगर्ने, संयमितता अपनाउने, फिल्म हेर्ने, गीत, भजन, किर्तन सुन्ने, परिवारलाई समय दिने, आफन्त र साथिभाइहरूसँग विद्युतीय माध्यमबाट कुराकानी गरेर समय बिताउनुहोला।

८) समयको सही सदुपयोगका लागि व्यायाम गर्ने, पुस्तक पढ्ने, आफ्ना अधुरा रहेका परियोजनाहरूमा         समय लगाई पूरा गर्नु बुद्धिमानी हो।

९) धुम्रपानका अम्मलिहरूको स्वासप्रस्वासमा समस्या हुने र यो भाइरसले पनि मुख्य रूपमा स्वासप्रस्वास प्रणालीमा आक्रमण गर्ने हुँदा धुम्रपान र मद्यपानबाट टाढा रहनु बुद्धिमानी मानिन्छ।

१0) विपदका बेला एक अर्काको सहयोग अति आवश्यक हुन्छ |  तसर्थ आवश्यकता अनुसार इष्टमित्र, साथीभाइ र छिमेकी सबैलाई सकेको सहयोग गर्नु होला ।

माथि उल्लेखित उपायहरू सबैले मनन गरी अपनाएको खण्डमा यो विश्वव्यापी महामारीलाई केही हदसम्म नियन्त्रणमा लिन सहयोग पुग्ने देखिन्छ । लौ त आजलाई यतिमै बिदा। बाँकि अर्को पत्रमा लेखौँला।

उही परदेशी कान्छो