सन् १९७१ देखि १९९२ सम्म अर्थात् २१ वर्षसम्म भाषा आन्दोलनमा अगुवाइ गरेका भाषासङ्ग्रामी हुन् तारापति उपाध्याय । उपाध्यायको जन्म १४ जुन १९३२ मा असमप्रान्त, तेजपुर नगर पश्चिमतर्फ ब्रम्हपुत्रमाझको ‘बाटुले बिल’ भन्ने टापुमा भएको थियो । बुबा नन्दलाल उपाध्याय भट्टराई र आमा तुलसादेवीका नवम सन्तान हुन् उपाध्याय । उपाध्यायका भाषा प्रदीप (सन् २००१), दश महारथी (सन् २००१), निबन्ध गुच्छ (सन् २००२), साधारण नेपाली सामाजिक जीवन (सन् २००२), अनुवादको भूमिका पद्धति र स्थिति (सन् २००३), आनन्दमय (सन् २००६, अनुदित उपन्यास), केही निबन्ध केही जीवनी (सन् २००८), स्वदेशी चिन्तनः साहित्य मन्थन (सन् २०१०) लगायत नेपाली भाषामा १६ र असमीया भाषामा ५ गरी २१ ओटा कृतिहरू प्रकाशित छन् ।

हाल उदालगुडी जिल्लाको सदर, सहर उदालगुडी वडा नं. १ (बिटिआर) असममा बसोबास गरिरहरनु भएका भाषासङ्ग्रामी एवम् अनुवाद साहित्यमा अकादमी पुरस्कार प्राप्त तारापति उपाध्यायसँग साहित्यपोष्टका लागि दीपक सुवेदीले गरेको कुराकानी

तपाईंको औपचारिक लेखन कसरी सुरु भएको थियो ?
मेरो पहिलो रुचि कविता विधा नै थियो । सन् १९५६ तिर ‘बढ्यो कि सड्यो’ भन्ने कविता पहिलो पटक नेपाली छात्र सङ्घको पत्रिकामा छापिएको थियो । त्यसपछि नै सन् १९५७ तिर गद्य विधाको त्यो त्यस्तै हने थियो शीर्षक लेख रामकृष्ण शर्माद्वारा सम्पादित कालिम्पोङबाट प्रकाशित ‘गोर्खा’ पत्रिकामा छापिएको थियो । भाषा आन्दोलनतर्फ आकर्षित हुँदै जाँदा गद्य विधातिरै मन लम्कियो ।

बाल्यवस्था कसरी बितेको थियो ?
मेरो बाल्यवस्था ब्रम्हपुत्र नदीको द्वीप बाटुले बिलमा अनि खोल्साहरूमा पौडन सिक्नु, बैठा लिएर नदीमा नाउ चलाउन, गाई हेनै, जङ्गलमा घुमफिरगरि बृक्षमाथि चढ्न र गीर, दण्डीवियो आदि खेलकुदमै बितेको थियो ।

वितेका ती दिनहरूको अनुभव सम्झँदा कस्तो लाग्छ ?
समस्या, जर्जरित अवस्था र दुःख अनि कष्टको जीवनले नै साँच्चै जीवन के हो भन्ने पाठ सिकाउँदो रहेछ । विश्वास जगाउँछ । साथमा साहस भन्ने चाहिन्छ । डरले काम बन्दैन । कुनै कामकुरा सफल हुँदैन रहेछ ।

नेपाल जानु भएको छ ? कस्तो थियो नेपाल ?
सन् १९६५ र सन् १९७५ तिर दुईपटक गएँ । उसबेला बिराटनगर र पूर्वीखण्डतिर गएर केही दिन बिताएको पनि थिएँ । राजा महेन्द्रको तत्कालीन नेपाल राम्रै लागेको थियो ।

देवकोटा, सम आदिसँग कतै कुनै कार्यक्रममा भेट भयो ?
नेपालमा त होइन । दार्जीलिङ पुगेर त्यहाँ सरकारी कलेजमा पढ्दा दुःख निवारक हलमा हुने सभाहरूमा सुधपा बाहेक पनि समयसमयमा आमन्त्रित हुँदै पुग्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्य सम्राट बालकृष्ण समहरूको दर्शन र उनीहरूका भाषणहरू सुन्ने सुयोग मिलेको थियो । दार्जीलिङले नै मलाई त्यस कालमा (१९५३–१९५७) जाति, भाषा र साहित्यप्रति प्रभावित पारेको थियो ।

देवकोटा र सम कस्ता थिए त्यसबेला ?
यो कुरा म दार्जीलिङमा पढ्दा सन् १९५३ देखि १९५७ सम्मको हो । त्यसकालमा उहाँहरूको उमेर त्यस्तै ५० देखि ६० वर्षसम्मको हुनुपर्छ । देवकोटा अलि गम्भीर र शान्त देखिन्थे । शाकुन्तल महाकाव्यका केही पङ्ति भट्याएर सभामा दर्शकवृन्दलाई मुग्ध पार्दथे । बालकृष्ण समचाहिँ अलि चञ्चल देखा पर्थे । स्वलिखित मुकुन्दइन्दिरा नाटकका केही अंश दर्शकसामु नाटक भङ्गिमा प्रदर्शित गर्दै दर्शकवृन्दका हात थपडीले सभाघर गुञ्जायमान पार्दथे ।

तपाईंका समकालीनहरू कोको हुनुहुन्थ्यो ?
मेरा समकालीन सहकर्मीहरू छन् डा.कुमार प्रधान, पूर्णिम प्रधान, दुर्वाशा उपाध्याय आदि । तिनीहरूलाई नै म समाजसेवी, भाषा साहित्यानुरागीका रूपमा सम्झन्छु र आदर गर्दछु ।

भाषा आन्दोलन गर्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो ?
सन् १९७१ देखि भाषा आन्दोलन चम्किएको हो । त्यस कालमा मेरो उमेर ३९ वर्षको थियो ।

भाषा आन्दोलनको सोच कसरी आएको थियो ?
मातृभाषाप्रति प्रेम छँदै थियो । सन् १९७१ तिर, साहसी सांसद स्व.रतनलाल ब्राम्हणले नेपाली भाषामा सपथ ग्रहण गर्दा ठूलो हलचल मच्चिएको थियो । त्यहाँ संसदमा बोलिने भाषा देशको संविधान स्वीकृत मान्यता प्राप्त हुनुपथ्र्यो । त्यसबेला नेपाली भाषा विदेशीको हो भन्ने कुरा थियो । यस्ता कुराहरूले संविधानमा नेपाली भाषा अन्तर्भुक्त नगरेसम्म जातीय सुरक्षा, मर्यादा र स्वाभिमान रहने रहेछ भन्ने चेतना जनमानसमा जाग्न थालेको थियो । ठिक त्यसै कालमा उदालगुडीमा दरङ जिल्ला नेपाली छात्र सङ्घको अधिवेशन बसेर भाषा साहित्यको चर्चा गर्दै असम नेपाली साहित्य सम्मेलनलाई जन्मायौँ पनि । त्यस कालमा म उदालगुडी हाइस्कुलको शिक्षक थिएँ ।

भाषा आन्दोलनको तयारी केकसरी गरिएको थियो ?
भाषा आन्दोलन सर्व भारतीय तहमा गर्नु पर्ने अवस्था अनिवार्य भएको थियो । दार्जीलिङले ‘अखिल भारतीय नेपाली भाषा समिति’ नामको तदर्थ समिति तयार गरेको थियो सन् १९७२ का प्रारम्भमा । त्यसका सचिव पदमा रहेका प्रेमकुमार आलेले असम पदार्पण गरि सबै कुरा स्पष्ट पारेपछि हामीले उदालगुडीमा मङ्गलदै जिल्ला भाषा समिति खोली हर रविवार गाउँहरूमा घुमफिर गर्दै शाखा तयार गर्यौं । त्यस कालमा असम राज्यमा असमीया भाषा साथै बडो जातिको पनि भाषा आन्दोलनले असमको आकाश कम्पमान भएको थियो । पहिलो अधिवेशन सर्व भारत स्तरको अनुष्ठित गर्ने दायित्व त्यस अवस्थामा उदालगुडीका काँधमा आइपर्यो । स्थानीय काङ्ग्रेस विधायक स्व.बहादुर बसुमतारीलाई स्वागत कारिणी समितिको सभापति र मूल सचिवमा म आफैँ रहेर तीन दिने कार्यक्रम १९७४ खृष्टाब्दका अन्तमा उदालगुडी सहरमा अनुष्ठित हुँदै सफल समापन भएको थियो । खुल्ला सभा उन्मोचित गरिदिएका थिए तत्कालीन असम साहित्य सभाका सभापति स्व.सत्येन्द्रनाथ शर्माले । त्यसकालमा भारतमा आन्दोलनमुखी नेपाली भाषाका शाखा एक सय एकओटा थिए । असम प्रान्तमा नै ६० ओटा शाखा थिए ।

तपाईंका भाषा आन्दोलनका सहयात्रीहरू कोको हुनुहुन्थ्यो ?
त्यसबेला ‘हाम्रो ध्वनि’ पत्रिकाका सम्पादक स्व.अनुराग प्रधान, नव सापकोटा, गङ्गादेवी उदयवर, मैना थापा, बि.एम. प्रधान अनि रौताका स्व. केवलीप्रसाद शर्मा, हेमप्रसाद शर्मा, स्व. जगनिधि दाहाल र शिङ्रीका स्व.लक्ष्मीप्रसाद तिमसिना आदि थियौँ ।

भाषा आन्दोलन गर्दा के कस्ता दुःखकष्ट आइलागे त्यसबेला ?
अनेक समस्या र कष्टको सन्मुखिन हुनु परेको थियो । असम राज्यमा उग्ररूपमा भाषा आन्दोलन मचिएको थियो । म थिएँ सरकारी स्कुलको शिक्षक । छुट्टि या फुर्सद रविबारको दिन र ग्रीष्मकालीन बन्दमा मात्र पाउँथे । सङ्गठनको फन्ड थिएन । शाखाहरू खोल्दै जिल्लाहरूमा घुमफिर गर्नु पर्ने । शनिबार स्कुल छुट्टि पछि नै गएर रेलमा चढेर दगुरिन्थ्यो । भोलिपल्ट रातमा घर फर्किन्थ्यो रेलमै । गरम छुट्टिमा चाहिँ अलि दूरीको कार्यसूचि मिलाई भ्रमण गर्ने गरिन्थ्यो । घरको समस्या घरकी कै थाप्लोमा पर्दथ्यो ।

भाषा आन्दोलनमा गठन गरिएका शाखामा कुनकुन स्थानमा कोको अगुवा हुनुहुथ्यो, सम्झना छ ?
मलाई लाग्छ त्यसबेला शुक्लाईमा इन्द्र शिवाकोटी, बङ्गाइ गाउँमा बी.एम. प्रधान, शिङरीमा लक्ष्मी पराजुली, गुवाहाटी वृहत्तरमा नव सापकोटा, गोपालबहादुर छेत्री, मैना थापा, रौतामा केवलीप्रसाद शर्मा, हेम शर्मा, विश्वनाथ चारआलीमा टिकाराम निर्भिक, पर्शुराम बुढाथोकी, मङलदैमा गोविन्द उपाध्याय, गोरुडुवामा रुद्र पराजुली, दलबहादुर आदि हुनुहुन्थ्यो । त्यसै गरी बृहत्तर उदालगुडीमा चन्द्रमोहन छेत्री, गंगादेवी उदयवर र म, कार्वीआङलङमा डम्बर दाहाल लगायतका हुनुहुन्थ्यो ।

भाषा, साहित्यको विकास र विस्तारमा अगुवाको भूमिका कस्तो हुनुपर्छ ?
अभ्यन्तरिक ग्रामीण अञ्चलहरूमा साहित्यका शाखा खोल्नु, सरकारी बन्ध अक्सर कालीन समयमा कविता, कथा, निबन्ध आदि विषय लिएर साहित्य गोष्ठीहरू अनुष्ठित गर्नु, विद्यार्थी, युवायुवती आदिमा प्रतियोगिता मूलक स्वरचित कविता, कथा पाठ गराउँदै पुरस्कार दिने व्यवस्था मिलाउनु र वर्षदिनभित्रमा निर्वाचित रचनाहरू प्रकाशित गराइदिएर भाषा साहित्यतर्फ सर्वसधरणको मन र हृदय उत्साहित पारिदिने काम गर्नु पर्छ ।

वर्तमान असममा नेपाली भाषाको अवस्था कस्तो छ ?
त्यति राम्रो छैन । नेपाली MIL (Modern Indian Language) अर्थात् आधुनिक भारतीय भाषा प्रवर्तक समिति पुनर् जन्म दिएर एउटै लक्ष्य लिई नेपाली अभ्यसित अञ्चलहरूमा घुमफिर गरी सरकार औ सम्पर्कित कार्यालयहरूमा दावी गर्दै निवेदन पत्र अर्पण गर्ने दिन बित्न लागेको अनुभूत हुदैँछ । गुवाहाटी र डिब्रुगढ विश्वविद्यालयमा नेपाली विषयका प्रध्यापक नियोगको व्यवस्था पनि आजतक भएको छैन । यो दुःख लाग्दो कुरा छ ।

नेपाली भाषासाहित्यका क्षेत्रमा गर्व लाग्ने समय भनेर कुन समयलाई लिनुहुन्छ ?
नेपाली भाषासाहित्यको मान, मार्यादा र बृद्धिमा सन् १८९६ मा पशपति प्रेस स्थापना हुनु, सन् १९१८ मा कलकत्ता विश्व विद्यालयले बिएसम्म नेपाली भाषालाई पठनपाठनको स्वीकृति प्रदान गुर्न, १९२४ तिर दार्जीलिङमा नेपाली साहित्य सम्मेलनको जन्म हुनु र २० अगस्ट १९९२ मा नेपाली भाषाले संवैधानिक स्वीकृति प्राप्त गरेको समय आदिलाई सम्झँदा नेपालीभाषा साहित्यका क्षेत्रमा गर्व लाग्छ ।

कुन पुस्तकको अनुवादमा साहित्य अकादमी पुरस्कार प्राप्त गर्नु भएको थियो ?
मैले खृष्टाब्द २००९ मा स्वदेश प्रेमी, चिन्तनशील साहित्यिक बङ्किमचन्द्र चट्टोपाध्यायको ‘आनन्द मठ’ को अनुवादनमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको थिएँ ।

के विषय छ यस पुस्तकमा ?
यस पुस्तकमा वनवासी सन्यासीहरूले ब्रिसिट शासनका विरोधमा ‘वन्देमातरम’ ध्वनिले बिद्रोह गरेको कुरा वर्णित छ । ‘वन्देमातरम’ जस्तो राष्ट्रिय स्वदेश प्रेमी गीत जोपछि काङ्ग्रेसले भारत स्वाधिनताको प्राक् कालसम्म राष्ट्रिय गीतको दृष्टिले व्यवहार गरि आएको यस पुस्तकमा उल्लेख छ ।

अनुवाद गर्दा के कुरामा ध्यान दिन पर्छ ?
सृष्टिशील औ देश र समाजसँग गाढा सम्पर्क रहेको, पाठ्यवस्तुप्रति पाठक औ श्रोताहरूको मन आकर्षित गर्ने कुराहरूमा विशेष ध्यान दिनुपर्छ ।

अन्य लेखन र अनुवाद लेखनमा के कस्ता अन्तर पाउनु भयो ?
लेखकले अनय लेखनहरूमा निज भाषा शैलीमा सामाजिक, आर्थिक, धार्मिक, नैतिक कुराहरू माथि विशेष आलोचना गरेको पाइन्छ भने अनुवाद लेखनमा अन्य भाषाशैलीले प्रभावित मनोग्राही शब्दशैली मिश्रित केही कुरा र त्यस जाति भाषीहरूको भाव र चिन्ताहरू प्रकाशमा ल्याउँछ । जातिजातिमा रहेको भेद हटाउँदै क्रमशः पारस्परिक सुझबुझ ल्याउने पथ प्रसस्त पार्दछ । निज भाषाहरूको श्रीबृद्धि गराउँछ । अनुवाद रहित भाषा साहित्य गतिशील उति बन्दैन र हुँदैन ।

निबन्ध के हो ? केले यसलाई राम्रो तुल्याउँछ ?
निबन्धले साहित्यको गद्य विधालाई बुझाउँछ । यो कुनै विषयवस्तुको सार हो । छोटा, सरल वाक्य र बिचबिचमा केही उदाहरण दिन सक्दा निबन्ध रोचक बन्दछ । विषय सम्पर्कित अर्थव्यञ्जक शब्दहरूको प्रयोग र एकाग्र मनले विशेष ध्यान दिनु उचित हुन्छ ।

पहिले र अहिलेको लेखनमा केही अन्तर पाउनु भएको छ ?
पहिलेका लेखनहरू सरल औ मार्जितरूपमा लेखिने गर्थे । तर अहिलेका लेखक र लेखन प्रक्रिया सीमाहीन छ । सौर्य जगतझैँ ज्ञान र कल्पना शक्ति प्रसारित औ विस्तारित हुँदै गएको छ । अघि साहित्य भन्नाले छन्द र लय भएका लेखन शैलीलाई बुझिन्थ्यो । अब त्यो सोच र सीमा रहेछ ।

समकालीन नेपाली भाषा र साहित्यलाई कसरी हेर्नु हुन्छ ?
नेपाली साहित्य विशेषत संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषा साहित्यले प्रभावित छ । भारतीय नेपाली साहित्य चाहिँ बङ्गाली, असमीया, अङ्ग्रेजी, हिन्दी, गढवाली आदि अनेक भाषा साहित्यले प्रभावित हँदै केही शब्द र शैली आदिमा पृथक र नयाँ प्रकारले मौलाउँदै गएको अनुभव गरेको छु ।

असममा अहिलेको भाषा साहित्यको बजार कस्तो लाग्छ ?
कालका आधारमा देशको वर्तमान सामाजिक र आर्थिक अवस्था त्यति चम्किलो छैन । त्यसैले पनि अहिलेको भाषा साहित्यको बजार पनि झरिलो र समृद्ध छैनझैँ लाग्छ ।

नेपालीभाषीहरूका लागि के भइदिए हुन्थ्यो जस्तो लाग्छ ?
विशेषत राजा महेन्द्रका कालबाट तत्कालीन प्रज्ञा प्रतिष्ठान विदेशका भाषा र साहित्य प्रेमीहरूसँग पनि सम्पर्क राखि ख्यात हुँदै आएको छ । यसले उत्तरपूर्वी प्रदेशहरूका भाषा साहित्यका संस्था, विशेषत बङ्गाली, असमीया, मणिपुरीहरूसित पनि राम्रो सम्पर्क जोडी कार्य गर्ने यत्न गरेमा यी प्रदेशहरूमा रैथाने भइ बसेका नेपालीभाषीहरू अनेक प्रकारले उपकृत हुने थिए जस्तो लाग्छ ।

नेपाली भाषा र साहित्यलाई विश्वव्यापीकरण गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
नेपालको प्रज्ञा प्रतिष्ठानसँग भारतीय नेपाली भाषा र साहित्य सङ्गठनहरूले मिली आन्तर्राष्ट्रिय तहको सङ्गठन तयार गरी विचार विमर्श गर्दै स्तरीकरण र विश्वव्यापीकरण गर्ने कार्य तर्फ अघि बढ्नु पर्छ भन्ने मलाई लाग्छ ।

जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
कर्म नै जीवन हो । यस जीवनको एकमात्र उद्देश्य हो– प्राणी मङ्गलजनक कर्मरत हुनु । गीतामा श्रीकृष्ण भन्छन्– ‘कर्मण्ये अधिकारस्ते मा फलेषु कदाचन ।’ यही नै हो जीवनको परिभाषा ।

जीवनका लेखकीय इच्छाहरू केही छन् ?
प्राथमिकतहदेखि विद्यालयहरूमा नेपाली ःक्ष्ी का पाठ्यपुस्तक तयार गर्ने इच्छा त थियो । तर ‘बुढो भयो, सब रङ्ग गयो, आँगन भयो परदेश’ अवस्थाले ती आशा र आकाङ्क्षा व्यर्थ भए । पञ्चेन्द्रीयमा आँखा र कानले काम गर्न छाडिदिए पछि त हातले पनि साथ दिन छाड्दा गर्ने के ?

साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
गुमाउने कुरा परै जाओस् । सन् १९७१ देखि भाषा आन्दोलनमा १९९२ सम्म अर्थात् २१ वर्षसम्म एकान्त मनले खटेर अनि २००१ देखि २०२१ सम्म अर्थात दोस्रो २१ वर्षसम्म साहित्यकर्ममा मनोनिवेश गर्नाले नै केही मात्रामा जीवन सफल भएझैँ अनुभूत हुन्छ ।