चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोभिड–१९ संक्रमणको प्रकोप आज विश्वभर फैलिएको छ । विश्वव्याधिका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आजको मितिसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७५ पुगेको छ ।
कोरोना संक्रमणका कारण मानिसहरु महिनौँदेखि घरमा स्वेच्छिक कैदीका रुपमा बस्न बाध्य भएका छन् । यसरी घरमा नै बस्न बाध्य कला, साहित्य, संस्कृति मन पराउने पाठक र दर्शकबाट लिएर कला साहित्य संस्कृतिकर्मीहरु पनि आफ्नो प्रतिभालाई आकाश दिने काममा आआफ्नो क्षेत्रबाट सक्रिय भएर लागेका छन् । यो स्वतन्त्रताको कैदी जीवनको अवधि बढ्दै जान थालेपछि सबैले आआफ्नो क्षेत्रबाट आफूले जानेका तथा आफ्नो विधा एवम् क्षेत्रगत् क्षमताका आधारमा आफ्ना पाठक, श्रोता र दर्शकसँगै आफैँले पनि एक प्रकारको मानोरञ्जन लिई–दिई रहेका छन् । यसरी आफ्ना साहित्य सिर्जनाको आदानप्रदान गर्नमा विश्वभरका साहित्यकर्मीहरु लागिपरेका छन् ।
आजको विज्ञानले दिएको भर्चुअल प्रविधिले हाम्रो मनको धागोलाई शब्दसँग जोडेर तरङ्गका माध्यमबाट शुभेच्छुकहरु समक्ष पुर्याइदिने गर्दछ । यो भर्चुअल (आफ्नो कम्प्युटरका माध्यमबाट सम्पर्कमा रहने) प्रविधिले दिनहुँ हामीबीच सामीप्य बढाउनु साथै आआफ्नो सिर्जना आदानप्रदान गर्नमा सहयोग पुर्याउँदै आएको छ । संस्थागत रुपमा साहित्यिक कार्यक्रमको आयोजना गरेर हामी कविताका माध्यमबाट श्रष्टा र स्रोताबीच सम्बन्ध जोड्ने काम गर्ने गर्थ्यौँ भने आजको यो सामाजिक दूरीलाई निरन्तरता दिँदै भर्चुयल प्रविधिले हाम्रो साहित्य सिर्जनालाई मञ्च दिँदै साहित्यका माध्यमबाट हामीहरुका बीच सामीप्यता जोड्दै गइरहेका छौँ ।
यसरी नै लेखक सि.जे. कुकले पेपर नेसनसँग मिलेर मार्च २७ मा घर–घरबाटै उपस्थित भएर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (स्टे–एट–होम इन्टरनेसनल लिटरेचर फेस्टिभल) को आयोजना गरेका थिए । यसको सफलतासँगै भर्चुअल साहित्य सबैका लागि प्रिय माध्यम बन्दै गयो । घरमा बसेर आफ्नो एकान्तपनलाई कम गर्ने माध्यमका रुपमा भर्चुअल साहित्य शुरु भएको देखिन्छ । यसरी आजको मितिमा सामाजिक दूरी बनाएर सिर्जनालाई निरन्तरता दिँदैजान भर्चुअल साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
लेखक सि.जे. कुकले पेपर नेसनसँग मिलेर मार्च २७ मा घर–घरबाटै उपस्थित भएर अन्तर्राष्ट्रिय साहित्य सम्मेलन (स्टे–एट–होम इन्टरनेसनल लिटरेचर फेस्टिभल) को आयोजना गरेका थिए । यसको सफलतासँगै भर्चुअल साहित्य सबैका लागि प्रिय माध्यम बन्दै गयो । घरमा बसेर आफ्नो एकान्तपनलाई कम गर्ने माध्यमका रुपमा भर्चुअल साहित्य शुरु भएको देखिन्छ ।
अधिकतम् स्रष्टाहरु आज घरमा नै बस्न बाध्य भएका छन् । यो घरभित्रको आकाशमा रमाउँदै स्रष्टाहरूले समयलाई सदुपयोग गर्दै नयाँ सिर्जनामा पनि लागेको पाइन्छ । जसलाई सुखद थालनी भन्नुपर्छ । केही समयअघि नेपाल स्रष्टा समाजका विधान आचार्यले कविहरू समेटेर कविता गोष्ठी आयोजना गरे । नेपालबाट सहदेव पौडेलले निरन्तर साहित्यकारहरुका मीठा मीठा कथा कविताहरु वाचन गरेर सुनाउँदै आइरहेका छन् । डिजिटल चलचित्र पत्रिका सेतोपर्दाले चर्चित गजल लेखकहरूलाई एकैठाउँमा ल्याएर गजलका माध्यमबाट जोडेको थियो । त्यसरी नै त्यसरी नै कवि रामगोपाल आशुतोष र सगुना शाहले कविताहरूको वाचन गर्दै त्यसलाई युट्युबमा समावेश गराएर सबैलाई सुन्ने मौका दिँदैआएका छन् ।
त्यस्तै भूगोल साहित्य समाजले पनि कविता गोष्ठीको आयोजना गरेको जानकारी भएको छ । अन्तर्राट्रिय नेपाली साहित्य समाज (अनेसास) ले पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै विश्वव्यापी रुपमा कविता वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । बुकाहोलिक्सकले पनि लकडाउनमा श्रष्टासँग साक्षात्कार कार्यक्रमबाट लेखकहरुसँगको साहित्य र सिर्जनाका बारेमा जानकारी प्रस्तुत गरिरहेको छ । चिसापले यही प्रविधिमा जुम कवि गोष्ठीको आयोजना शुरु गरेको छ । न्युयोर्कबाट डा मधुर श्रेष्ठले समय र सिर्जना संचालन गर्दै आइरहनु भएको छ । आज प्रविधिको प्रयोगबाट सर्जकलाई सर्जकसँग जोड्ने काम भइरहेको छ भने सर्जकले पनि आफूजस्तै सर्जकसँग प्राविधिक रुपबाट साक्षात्कार भएर आफ्नो सिर्जना बिसाउने अवसर पाइरहेका छन् । आजको भर्चुअल साहित्य भोलिको इतिहास बन्न सक्छ ।
भर्चुअल काव्य गोष्ठीले कविताका क्षेत्रमा नयाँ आयाम थपेको मात्रै नभएर सामाजिक दूरी बनाएर भोलिका दिनमा पनि यसलाई निरन्तर सञ्चालनमा ल्याइरहन प्रेरित गरेको छ । यसले कवितामा रुचि राख्ने र लेख्ने स्वदेश तथा विदेशमा रहेका सबै कवि लेखकहरूलाई समेट्ने कुरामा कसैको दुईमत हुन्न । यसरी यसको निरन्तरतामा जोड दिने हो भने भर्चुअल कवि गोष्ठीले भोलिका दिनमा अहिलेको युग र समयको प्रतिनिधित्व गर्ने निश्चित छ । यो भोलिको अनुसन्धानको विषय बन्न सक्छ । त्यसैले यसलाई निरन्तर रुपमा प्रयोगमा गर्दै जानु पर्छ । यसले घरमा नै बसेर कविता सुन्न र सुनाउन पाइन्छ । यसमा कुनै आर्थिक भार पनि आउँदैन भने स्थानको आवश्यकता पनि पर्दैन । आजको मितिमा एउटा प्रयोगका रुपमा अगाडि बढ्दै गएको भर्चुअल कवि गोष्ठी एउटा स्रष्टाले अर्को स्रष्टाको सिर्जना सुन्न सुनाउन पाउने उत्कृष्ट माध्यम बनेको छ ।
आज प्रविधिको प्रयोगबाट सर्जकलाई सर्जकसँग जोड्ने काम भइरहेको छ भने सर्जकले पनि आफूजस्तै सर्जकसँग प्राविधिक रुपबाट साक्षात्कार भएर आफ्नो सिर्जना बिसाउने अवसर पाइरहेका छन् । आजको भर्चुअल साहित्य भोलिको इतिहास बन्न सक्छ ।
मेरो पहिलो भर्चुअल कवि गोष्ठीको पहिलो अनुभव म्याडिसनको नाफा संस्थाले नयाँ वर्षको पावन उपलक्ष्यमा अप्रेल १४ का दिन नाफाको ३०औं कोठे काव्य गोष्ठीलाई भर्चुअल कवि गोष्ठीका रुपमा मनाउने विचारका साथ दिनार श्रेष्ठबाट उपस्थितिका लागि निम्तो पाएको थिएँ । भारत, अमेरिका र क्यानडाबाट लगभग १५ जना कवि स्रष्टाहरुको कविता सुन्ने सुनाउने मौका पाएका थिए । त्यसपछि अप्रेल १९ मा नेपाली साहित्य समाज क्यानडाले (नेसास, क्यानडा) आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा दोस्रोपटक सहभागी बन्ने मौका पाएँ । सो गोष्ठीमा लगभग १६ जना कविहरुको उपस्थिति रहेको थियो ।
यसको सफलतासँगै दोस्रो गोष्ठी ३ मईका दिन सम्पन्न भएको थियो । लगभग २१ जना कविकर्मीहरुको उपस्थितिमा सम्पन्न सो गोष्ठीमा नेपालबाट नेपाल स्रष्टा समाजका विधान आचार्यको पनि उपस्थिति रहेको थियो । त्यस दिन विधानजीले मलाई मई ७ का दिन आयोजना गरिने तीसको दशकका कविहरुको भर्चुयल कवि गोष्ठीमा आमन्त्रित गर्न फोन गर्नु भएको थियो र उहाँलाई हामीले क्यानडाको भर्चुयल कवि गोष्ठीमा पनि सामेल गराउन सफल भयौं । उहाँले बहुचर्चित ‘भोक’ कविता सुनाउनु भएको थियो ।
तेस्रोपटक विधान आचार्यले आयोजना गर्नु भएको नेपाल स्रष्टा समाजको आव्हानमा तीसका दशकका कविहरुको भर्चुयल काव्य गोष्ठीमा सहभागिता बन्ने मौका पाएँ । वरिष्ठ कवि तथा संस्कृतविज्ञ तुलसी दिवसको प्रमुख आतिथ्यमा श्रध्देय कवि मञ्जुल र मञ्जु काँचुलीको विशेष उपस्थितिमा तीसका दशकका कविहरु अशेष मल्ल, उषा शेरचन, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, किशोर पहाडी, सरुभक्त, हेमन्त श्रेष्ठ, विश्वविमोहन श्रेष्ठ, ज्ञानुवाकर पौडेल, कणाद महर्षि, स्नेह सायमि, राजेन्द्र शलभ, प्रह्लाद पोखरेल, गिरीराज आचार्य, तुलसी दिवस, मञ्जुल र मञ्जु काँचुलीसँगै अन्य कविहरुका काव्य सुमन श्रवण गर्ने मौका पाएको थिएँ । (क्यानडामा रात ३ बजिसकेकाले यसमा कविहरुका नाम छुटेकोमा क्षमापार्थी छु) । त्यसपछि मित्र निजानन्दजीले फोन गरेर मई ९ का दिन आयोजना गरिने भर्चुअल कवि गोष्ठीमा सहभागिताका लागि अनुरोध गर्नु भएपछि चौथोपटक अ.ने.सा.स, फ्लोरिडा चेप्टरको आयोजनामा भर्चुअल कवि गोष्ठीमा सहभागी बन्ने मौका पाएँ ।
यसरी भर्चुअल कवि गोष्ठीले एकातिर सिर्जनालाई निरन्तरता दिँदै जाने अवसर दिएको छ भने अर्कोतिर कविता सुनिदिने पाठक पनि पाएको छ । भर्चुअल कवि गोष्ठीमा कविको कविता कविलाई नै सुन्ने सुनाउने वातावरण बनाएकोले यसको ठूलो महत्त्व रहेको छ । त्यसैले हाम्रो सिर्जनालाई हामीहरुले हामीहरुका बीच बाँड्नुको बेग्लै मज्जा रहने भएकोले गोष्ठीमा वाचित कविताको सूक्ष्म मूल्याङ्कन गर्ने विचारका साथ ने.सा.स.,क्यानडाको दोस्रो गोष्ठीदेखि जमर्को गर्न थालेकोले यो त्यसैको प्रतिफल हो ।
अप्रेल १९ मा नेपाली साहित्य समाज क्यानडाले (नेसास, क्यानडा) आयोजना गरेको भर्चुअल कवि गोष्ठीमा दोस्रोपटक सहभागी बन्ने मौका पाएँ । सो गोष्ठीमा लगभग १६ जना कविहरुको उपस्थिति रहेको थियो ।
अप्रेल १४ का दिन नेपाली साहित्य समाज, क्यानडाको दोस्रो भर्चुअल कवि गोष्ठीमा २१ जना काव्यकर्मीहरुको उपस्थिति थियो । क्यानडाभरिका साहित्यानुरागीहरुको उपस्थितिमा आयोजित काव्य श्रवण गोष्ठीमा अञ्जु बराल वाग्लेले कविताका माध्यमबाट नेपालको राजनीतिमाथि व्यङ्ग्य कस्नु भएको थियो भने वीरेन्द्र लम्सालले काव्य टुक्राहरुका माध्यमबाट मानवीय जीवनका पीडाहरुको चर्चा गर्नु भयो । जयराम सिंहले आफ्नो कवितामा माध्यमबाट मानवीय जीवनका दर्शनको चर्चा गर्दै आजको मानवताको यान्त्रिकीकरणको विष्तृणा देखाएका छन् । खेम गुरागाँईले मानवीय जीवनका पीडाहरुको उत्खनन् गर्दै जीवन संघर्षका पाटाहरुसँगै नागरिक हुनुको दायित्वलाई प्रतीकात्मक रुपमा प्रस्तुत गरेका छन् ।
मञ्जु आचार्यका मुक्तकमा माध्यमबाट देशको प्राकृतिक सौन्दर्य, नारीको विवशता र प्रेमका सुखमय क्षणहरुको बयान पाइन्छ । मोहन खरेलको छन्दबद्ध कवितामा आज कोरोना महामारीबाट बाँच्न घरमा सबैलाई कैदी बनाएको र आजको स्वतन्त्र युगमा मानिस मानिसबाट त्रसित भएर थुन्न बाध्य भएको चर्चा गर्दै मानवीय विवशतामाथि व्यंग्य कसेका छन् । मुक्ति गौतमले आफ्नो पहिलो छन्दबद्ध कविताका माध्यमबाट मानिसको मपाईत्वको चर्चा गर्दै आफूलाई आफैँ राम्रो महान् ठान्नेहरुको दृष्टि भ्रममाथि शाब्दिक व्यङ्ग्य प्रहार गरेका छन् । पुण्यसागर मरहठ्ठाले कविताका माध्यमबाट व्यक्ति स्वतन्त्रता र आत्मस्वीकृतिका स्वरहरुको वकालत गर्दै मौनताको मूल्यको वास्तविक स्वरुप देखाएका छन् ।
रविन थपलियाले आफ्ना छन्दबद्ध कवितामा मानवीय प्रवृत्तिको स्वरुपलाई व्यंग्यात्मक शैलीमा पिशाचका रुपमा उभ्याएर त्यसका अवगुणहरु केलाएर प्रष्ट्याउने प्रयास गरेका छन् । रवीन्द्र घिमिरेको कविताले मानिस आज आफैँले बनाएको यन्त्रबाट त्रसित बन्न गएको भन्दै मानिसको उन्नति र अवनतिको चित्रण गरेका छन् । रवीन्द्र लम्साल कविताका माध्यमबाट आफ्ना जीवन आफैँ बनाउने आव्हन गर्दै आजको मानवीय जीवनको त्रासद उथलपुथलमाथि प्रहार गरेका छन् । शर्मिला पोखरेलले मातृभूमि र कर्मभूमिका बीच तुलना गर्दै आफूले देखेका सपनाको जीजिविषालाई प्रष्ट्याउने प्रयास गरेका छन् ।
छन्दबद्ध कविताका माध्यमबाट सिर्जना श्रेष्ठले विगतको सपनामा वर्तमानलाई आरोपित गर्दै विदेशको अनुशासित र कठोर जीवनशैलीको वकालत गरेको देखिन्छ । बेलायतबाट क्यानडाको भर्चुअल काव्य गोष्ठीमा सहभागिता जनाउँदै सुदर्शन पौडेलले गाउँको सम्झनामा आफ्नो अतीतलाई सम्झेर पत्रात्मक शैलीमा नवीन प्रयोगका साथ चिठ्ठीलाई सारथि बनाएर गाउँ देखाउने प्रयास गरेका छन् । पुष्प आचार्यले गजल सुनाएर मदहोश भई जीवनलाई प्यालामा राखेर हेर्ने जमर्को गरेका छन् । झपेन्द्र पोखरेलले समयको बयना गर्दै परिवर्तित मानवीय चरित्रले आफ्नो स्वार्थमा कसरी स्वरुप फेर्ने गरेको अवस्थाको चर्चा गरेका छन् ।
राजेन्द्र कार्कीले महिलाको संहितामाथि मीठो शब्द बयान गरे । अनुप न्योपानेले बुबाको सम्झनामा छोराछोरीको जीवनमा बुबाको त्यागको बखान गर्दै उनको आदर्श भूमिकामाथि नतमस्तक भएर छोराको जीवनमा बुबाको भूमिका देखाए । प्रदीप पौडेलले प्रतीक्षाका क्षण र अवस्थाका बारेमा चर्चा गरे भने डा. गोबिन्द रावतले कविताका माध्यमबाट वर्तमानमा देखापरेको त्रासद अवस्थाको व्याख्या गर्दै सन्तानमा उब्जिएको डरत्रासलाई संयम पार्ने अवस्थाको चित्रण गरे । यसरी यस भर्चुअल कवि गोष्ठीमा सहभागी कविहरुले वर्तमान अवस्थालाई माध्यम बनाएर देशप्रतिको वात्सल्य, देखापरेका राजनीतिक विसङ्गति र नागरिक पीडासँगै प्रेमभाव र मातृवात्सल्यताका विचारहरु मुखरित थियो ।
मई ९ का दिन अ.ने.सा.स, फ्लोरिडा चेप्टरको आयोजनामा भर्चुअल कवि गोष्ठीमा २८ जना कविका काव्य प्रस्तुतिहरु सुन्ने मौका पाइएको थियो । यस भर्चुअल कवि गोष्ठीमा अमेरिकालगायत नेपाल, भारत, बेलायत, अफ्रिका, पोर्चुगल, स्पेन, क्यानडा, कोरिया र जापानबाट सहभागिता रहेको थियो । अ.ने.सा.स, फ्लोरिडा चेप्टरका अध्यक्ष निजानन्द मल्लको आयोजना र महासचिव दीप कार्कीको प्राविधिक सहयोगमा आयोजित भर्चुअल कवि गोष्ठीमा जापानबाट गिरिजा गैरेले गजलका माध्यमबाट जीवनको स्वरुपका बारेमा जानकारी दिँदै अहिले हामीले भोग्नु परेको विष्तृणतामा आफन्तहरुको सामीप्यको आवश्यकता र भेट्ने चाहनाहरुलाई अभिव्यक्त गरेका थिए ।
दक्षिण कोरियाका सुशील अर्यालले मुक्तकका माध्यमबाट प्रकृतिमाथि भएको अतिक्रमणको प्रतिफल कोरोनाको प्रकोप रहेको भन्दै प्रकृति संरक्षणका लागि आह्वान गरेका थिए । भारत सिक्किमका रत्ना सुब्बाले कोराना भाइरसः कोभिद १९ कविताबाट प्रकृतिको कारूणिक स्वरुप देखाउनु भएको थियो भने सक्किमका मीना सुब्बाले जिन्दगीका अनेक रङहरु कविताबाट जिन्दगीका उतारचढावमा देखिने विवशताहरु सुनाएकी थिइन् । नेपालका धनराज गिरीको गजलमा मानिसका गुणहरुलाई पहिल्याउने प्रयास गरिएको थियो । उनले राम्रो काम गर्ने मान्छे सधैँ असल हुन्छन् भन्दै मानिसको राम्रो चरित्रको गुनगान सुनाए भने बेलायतबाट बिसन थापाले प्रकृतिवादी धर्ती कविताका माध्यमबाट आजको भयमय स्थितिको बारेमा चर्चा गर्दै भविष्यप्रतिको जीजिविषा र मेलमिलापका सन्देश दिए ।
पोर्चुगलका विनोद स्पन्दनले गजलबाट आजको मानवीय परिस्थितिको बारेमा जानकारी गराउँदै बुद्धको भावना र मेलमिलापको सन्देश सुनाए । त्यस्तै पोर्चुगलकै अर्जुन बरालीले मान्छे कहिले मान्छे जस्तै होला भन्दै मान्छेको मनोविज्ञानलाई कोट्याएर उन्नति, अवनति र चारित्रिक अवस्थामाथि व्यंग्यात्मक चित्रण गरे। अफ्रिकी महादेशको नाइजेरियाका हिक्मत थापाले आजको अवस्थालाई प्राकृतीकरण र मानवीकरण गरेर अफ्रिकाको रमणीय एवम् पर्यटकीय स्थलहरुमा प्रकृतिको प्रकोपले गर्दा दिशाविहीन बन्दै गएको र समाजबाट मानवता हराएजस्तै प्रकृतिको स्वरूपमा पनि निराशावादीताको प्रभाव पर्न थालेकोले सचेतताको बिकुल फुके ।
त्यस्तै युगाण्डाका रमेश कँडेलले आफ्नो कवितामा नेपालीपनका विभिन्न वस्तु (खानाहरु), स्थान (गाँउघर), पहिरनसँगै परम्परा र परिवेशलाई समेटे । अफ्रिकाकै थोरै संख्यामा नेपालीहरू रहेको सेल्सस आइल्याण्डबाट गणेश खड्काले कोरोनाको कहरलाई लिएर गजलका माध्यमबाट प्रकोपले मानिस आफैँ पर्खालभित्र बाँधिन बाध्य भएको बारे सुनाए । स्पेनबाट शारदा सापकोटा निसारले गजलबाट आमाको वात्सल्य र गाउँको परिवेशमा पाइने सत्य जीवनका पलहरुको स्मरण गर्दै फेरि एकपटक त्यही वातावरणमा रमाउने चाहना व्यक्त गरिन् ।
२८ जना कविका काव्य प्रस्तुतिहरुमा विशेष गरेर आजको कोरोनाले सिर्जना गरेको भयवह अवस्था, यसबाटको सचेतता, राष्ट्रप्रतिको प्रेमभाव, राष्ट्रीय विरहभाव, मातापिताप्रतिको श्रद्धासँगै देशमा देखा परेको अव्यवस्थित स्थितिका शब्दहरू अभिव्यक्त भएका थिए ।
नेपालबाट क्यानडाको एउटा सम्मेलनमा सहभागिता जनाउन आएका रामहरि कोइरालाले अहिलेको अवस्थाका बारेमा प्रकाश पार्दै समयको कहरमा पर्दै जानु परेको अवस्थाबारे कविता सुनाए । क्यानडाका मुक्ति गौतमले आफ्नो दिदीमा आमालाई आरोपित गरेर प्रायः ओझलमा पर्ने दिदीको योगदान र बलिदानका कुराहरुलाई काव्यात्मक हरफहरु सुनाए । क्यानडाका डा. गोबिन्द रावतले मानव जीवनमा देखापर्ने उतार चढावलाई भर्याङ्गका रुपमा प्रस्तुत गर्दै मानवीय स्वार्थमाथि व्यंग्य कविता सुनाए ।
अमेरिकाको बोस्टनबाट लालगोपाल सुवेदीले शार्दुलविक्रीडित छन्दमा प्रकृति र प्रकोपका बारेमा काव्यात्मक वर्णन सुनाउँदै प्रकृतिप्रकोप र कोरोनाका बीचको सम्बन्ध देखाउने प्रयास गरे। अमेरिकाको म्याडिसनबाट राजेन्द्र अर्यालले मानिसको चरित्र र व्यवहारमाथि चर्चा गर्दै प्रकृतिमाथि गरिएको अतिक्रमणको प्रतिफल मान्छे आज भीडमा एक्लो भएको महसुस गर्दै आफ्नै छायासँग डराउनु पर्ने अवस्था र विवशतामाथि चर्चा गर्नु गरे । त्यस्तै म्याडिसनबाट सीता अर्यालले कोरोनाको कुरूपतामाथि प्रहार गर्दै समयसँग कोरोनाको तुलना गर्दै सुन्दर विहानीको परिकल्पनामा काव्य वाचन गरिन् । म्याडिसनबाटै दिनार श्रेष्ठले ५० वर्षअघि २०२७ सालमा बाल कविता प्रतियोगिताका लागि लेखेर पुरस्कृत भएको राष्ट्रियताले ओपप्रोत भएको राष्ट्रभक्तिको नेपाल आमा बाल कविता सुनाए। म्याडिसनबाटै पूर्ण श्रेष्ठले मानवीय अनुभूतिहरु र मानिसको मनोदशालाई मनोवैज्ञानिक तरिकाले चर्चा गरे ।
अमेरिकाको मिजोरीबाट उर्मिला निर्दोषीले कोरोनामाथि नै मुद्दा हाल्नेबारे कानूनी र अदालती पक्ष–विपक्षका दाउपेचको मीठो व्यंग्यकाव्य प्रस्तुति पस्किइन् । अमेरिकाको ओरल्याण्डोबाट डा. विनाद बरालले कोरोनाबाट सुरक्षाका उपाय र आवश्यकताका यथार्थपरक अनुभूतिलाई कवितात्मक रुपमा सुनाए । अ.ने.सा.स. फ्लोरिडा च्याप्टरले आयोजना गरेको तेस्रो भर्चुअल काव्य गोष्ठीमा फ्लोरिडाबाट उच्च शिक्षा सिध्याएर जर्जियालाई कर्मथलो बनाउने डा. तुलसी आचार्यले कविताका माध्यमबाट बुबालाई सम्बोधन गर्दै बाउ र छोराबीचको सम्बन्धलाई कोट्याउँदै बुबाको नदेखिएको वात्सल्य र व्याहारको वर्णन प्रतीकात्मक रुपमा गरेका छन् । कवितामा बा एउटा बिम्ब बनेर छोरा अर्थात सन्तानको इच्छा आकांक्षा पुर्याएको कुरालाई दर्शाएका छन् । फ्लोरिडाका चूडामणि खनालले आफ्नो छोटो कविताबाट बाल्यावस्थाको सजीव चित्रण गरेका छन् ।
कार्यक्रम आयोजक तथा अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष निजानन्द मल्लले आजको बढ्दै गएको मानवीय दूरी तथा समयको परिस्थितिका बारेमा कविताको अनुभव बयान गरे भने फ्लोरिडा च्याप्टरका महासचिव तथा यस भर्चुअल काव्य सङ्गमलाई प्राविधिक रुपबाट सबल र सक्षम बनाउन सहयोग गर्ने दीप कार्कीले फूललाई जीवनसँग दाँजेर मानवीय जीवनका स्वरूपलाई केलाउँदै जीवनलाई बाँच्ने नवरङ्गका रुपमा प्रस्तुत गरे ।
यसरी २८ जना कविका काव्य प्रस्तुतिहरुमा विशेष गरेर आजको कोरोनाले सिर्जना गरेको भयवह अवस्था, यसबाटको सचेतता, राष्ट्रप्रतिको प्रेमभाव, राष्ट्रीय विरहभाव, मातापिताप्रतिको श्रद्धासँगै देशमा देखा परेको अव्यवस्थित स्थितिका शब्दहरू अभिव्यक्त भएका थिए ।
प्रारम्भमा सामूहिक रुपमा राष्ट्रिय गान गाएर शुरु भएको यस भर्चुअल काव्य गोष्ठीमा उपस्थित सबैले कोरोनाबाट आफू बसेको शहर, प्रान्त र देशको अवस्था र त्यहाँका नेपालीहरुको स्थितिका बारेमा जानकारी गराएका थिए । गोष्ठीमा श्रोताका रूपमा उपस्थित भएका महेश्वर पन्तले गैरआवासीय नेपाली संघको भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले प्रकाशन गर्न लागेको प्रवासी नेपाली साहित्यकार तथ्याङ्क संग्रहका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै श्रोताका रूपमा उपस्थित भएका अनेसास फ्लोरिडा चेप्टरका संस्थापक अध्यक्ष विमल नेपालले कार्यक्रमको सफलताका लागि शुभकामना दिए । भर्चुअल काव्य गोष्ठीमा अन्य मुलुकबाट पनि सहभागिताका लागि प्रयासरत् रहेको देखिए तापनि प्राविधिक कठनाईले सहभागिता जनाउन असमर्थ भएको देखियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।