नेपालभन्दा लगभग दुई गुणा ठूलो क्षेत्रफल तथा जनसंख्याका दृष्टिले ५ गुणा कम आवादी रहेको टापु देश न्युजिल्याण्ड संसारकै कुनामा अवस्थित भए पनि प्रवासी नेपालीहरुको अनुमानित सङ्ख्या २०,००० रहेको बताइन्छ । विगत तीन दशकदेखि यहाँ आउने पुस्ता र पछिल्लो पुस्ताले नेपाली संस्कृति, भाषा र साहित्यलाई संरक्षण गर्ने प्रयत्न गर्दै आएको छ । फिँजारिएर रहेका शहर-बस्तीहरु, परदेशको सङ्घर्ष तथा अल्पसंख्यक हुँदाका समस्याले नेपालीपनलाई मलजल गर्न गाह्रो भएको सबैको तर्कना हुने गरेको छ । यी सबै विषमताका बावजुद नेपाली भाषा र साहित्यका सवालमा काम नभएका भने होइनन् ।

नेपाली भाषा, साहित्य एवं वाङ्मयप्रतिको मोह तथा जिम्मेवारीलाई महसुस गर्दै २०७३ सालमा न्युजिल्यान्डमा पनि नेपाली साहित्य समाजको स्थापना भएको थियाो । आफ्नो भाषा र संस्कृतिको संरक्षण मात्र नभएर नेपालीहरुको पातलो जनसङ्ख्याबीच, पाठक र श्रोताविहीन सृष्टाहरुको मनोबललाई उँचो बनाउँदै नेपाली भाषा र साहित्यलाई पोषित गर्न कुनै न कुनै साहित्यिक संस्थाको आवश्यकता थियो । नेपाली समुदायका विभिन्न संस्थाहरुले पनि यो जिम्मेवारीलाई भरथेग गरिरहेका थिए र त्यो क्रम जारी नै छ । अक्ल्याण्ड र क्राइस्टचर्चका संस्थाहरुद्वरा नेपाली कक्षा सञ्चालनको क्रम सुरु भइसकेको थियो । अक्ल्याण्ड, क्राइस्टचर्च, हेमिल्टन तथा डनिडनका स्थानीय एफएममा रेडियो कार्यक्रमहरुमार्फत नेपाली आवाज सुनिन थालिसकेको थियो । नेपाली भाषी भुटानी महानुभावहरुले झन् सक्रिय रुपमा नेपाली भाषा र साहित्यलाई धेरै समयदेखि नै टेवा पुर्‍याउँदै हुनुहुन्छ ।

जनवरी १२, २०२० मा अकल्याण्डमा प्रसिद्ध कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा साहित्यिक एवं सम्मान कार्यक्रम सम्पन्न भयो । ‘न्युजिल्याण्ड नेपाली साहित्य वाङ्मय सम्मान २०२०’मार्फत कवि अधिकारीलाई सम्मानित गरियो । करिब ७० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कवि अधिकारीबाहेक दर्जन जति स्रस्टाले आफ्ना रचना पनि प्रस्तुत गर्नु भएको थियो भने दिनेश अधिकारीकै शब्दमा सृजित केही गीतहरुमा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति एवं नृत्य प्रस्तुत गर्नु भएको थियो । समाजले नियमित साप्ताहिक फेसबुक लाइभ साहित्यिक वाचन कार्यक्रम पनि गर्दै आएको छ ।

यति मात्र होइन, त्रैमासिक रुपमा पत्रिका प्रकाशन तथा सान्दर्भिक साहित्यिक गोष्ठी, कार्यशाला र प्रतियोगिता पनि आयोजना गर्ने तयारी भइरहेको छ ।

गैर आवासीय नेपाली संघले अन्तर्राष्ट्रिय समितिमा रहेको भाषा साहित्य संस्कृति प्रवर्द्धन समितिमा प्रथम पटक न्युजिल्याण्डबाट पनि प्रतिनिधित्व प्राप्त गरेको छ । गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले डिसेम्बर २०१९ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा आयोजना गरेको साहित्यिक अन्तर्क्रियात्मक कार्यक्रमले उक्त संस्था पनि नेपाली भाषा साहित्यलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको देखाउँछ ।

यसैगरी नेपाली भाषी भुटानी संस्थाहरुले पनि नेपाली साहित्यसम्बन्धी सम्मेलन भव्य रुपमा सम्पन्न गर्नु भएको छ । न्युजिल्याण्डमा नेपाली भाषा र साहित्यलाई पोषित गर्न सबैभन्दा ठूलो भूमिका नेपाली भाषी भुटानीहरूको निकै ठूलो छ भन्दा अतिशयोक्ति नहोला । विश्व नेपाली साहित्य महासंघ, न्युजिल्यान्डले पनि साहित्यिक सरगर्मीलाई बढाएको छ ।

सामाजिक अभियन्ताहरुको समूह नेपाली प्रोफेसनल इन न्युजिल्याण्डले पनि पूर्व प्रशासक तथा लेखक प्रेमनिधि ज्ञवालीको पुस्तक “सिराने कान्छो”माथि परिचर्चा एवं संवाद कार्यक्रम आयोजना गरेको थियो । लेखक कपिल लोहनीको पुस्तक ‘विचार र अनुभूति’को परिचर्चा तथा साहित्यिक साक्षात्कार कार्यक्रमले धेरैलाई लेखनमा प्रेरणा प्रदान गरेको पाइन्छ । त्यसो त न्युजिल्याण्डका विभिन्न स्थानमा खोलिएका दुई दर्जन नेपाली संस्थाले कुनै न कुनै प्रकारले भाषा र साहित्यलाई संरक्षण गरेका नै छन् । विभिन्न संस्थाका मुखपत्र, स्मारिका वा पत्रिकाहरुले पनि नेपाली भाषा-साहित्यलाई प्रत्यक्ष वा परोक्ष रुपमा टेवा पुर्‍याएको नै देखिन्छ ।

साहित्यलाई मलजल गर्न पठन संस्कृतिले पनि ठूलो भूमिका खेल्छ । नेपालबाटै लेख्ने कला लिएर आएकाहरुमा सीमित व्यक्तिहरुबाहेक अर्को पुस्तामा नेपाली साहित्य लेखन पुग्न नसकेको शैलेश कर्माचार्य बताउनुहुन्छ । साथै, आप्रवासी विद्यार्थीहरुको फरक प्राथमिकता र नयाँ पुस्तामा नेपालीभन्दा पनि अंग्रेजी सजिलै ग्राह्य भएकाले पनि स्थानीय नेपाली स्रष्टा जन्माउन गाह्रो भएको तर्क कर्माचार्यको छ । अध्ययनका लागि आउने विद्यार्थीहरुले यहाँको अध्यापन शैलीका कारणले पनि धेरै सामग्री पढ्नुपर्ने भएको र यसलाई सहयोग पुग्ने गरी सरकारी स्तरबाट पनि विभिन्न पुस्तकालयहरुको व्यवस्था भएकाले पठन संस्कृति भने उच्च रहेको प्राध्यापक डा. प्रकाश रञ्जितकार मान्नुहुन्छ । युनिभर्सिटी अफ अक्ल्याण्डमा प्राध्यापन गर्नुहुने डा. रञ्जितकारले नेपाली विद्यार्थीहरु मिहिनेती हुने भएकाले उचित पठन शैली अँगालेमा सजिलै सफलता मिल्ने कुरामा विश्वस्त हुनुहुन्छ ।

अक्ल्याण्डमा लामो समय बिताउनु भएका र निरन्तर नेपाली समुदायका क्रियाशील अभियन्ता राज महर्जनका विचार पनि समान छन् । लेखकले पाठकलाई छुने विषय उठान गर्दा लेखन र पठन दुवै अघि बढ्ने कुरामा उहाँको जोड छ । एक लेखक आफैँमा पाठक पनि हो किनकि कुनै स्तरीय लेख लेख्न विषयगत राम्रो अध्ययनको खाँचो हुन्छ तसर्थ पठन संस्कृति वा साहित्यलाई मलजल गर्न नियमित लेख्नु पर्ने सुझाउनुहुन्छ ।

न्युजिल्याण्डकै स्थानीय संस्था सोसाइटी अफ अथर्स, न्युजिल्याण्डकी सुजेन वेल्डले नेपाली र न्युजिल्याण्डका लेखकहरु मिलेर जान सकिने तथा नेपाली लेखकहरुलाई यहाँको लेखक संघ र कार्यक्रमा पनि सहभागी हुन अनुरोध पनि गर्नु भएको छ ।

न्युजिल्याण्डका स्रष्टाहरुको अग्रस्थानमा पशुपति कर्माचार्य, प्रा. पीताम्बर शर्मा, अरुण कार्की, राजुदेव अधिकारी, डा. महेन्द्र गिरी, दिवाकर भुजेल, डा. वीरेन्द्र केसी, शुलभ भारती, गोपाल पौडेल, विदुर पौडेल, अन्जान मुना, लीला अधिकारी, श्याम मधिकर्मी, डा. रमिल अधिकारी, मीना पौडेल, बुद्धिसागर घिमिरे इत्यादि हुनुहुन्छ भने अन्य स्रस्टाहरुमा विनोद भौकाजी, ओम बस्न्यात, राजन बस्नेत, बेदेन्द्र अधिकारी, युवराज भण्डारी, मोहन आचार्य, नमिता दवाडी, नगेन्द्र ढकाल, विपिन्द्र कोइराला, विष्णु बस्नेत, बिबिन घिमिरे, सुमित्रा प्रधान, समीर सिलवाल, राजिव आचार्य, सन्देश पन्थी, गंगा पौडेल, उज्जवल पौडेल, अनोज चालिसे, सत्यवती पौडेल लगायतका स्रष्टाहरु हुनुहुन्छ।

विभिन्न विषयमा नियमित/अनियमित रुपमा अन्य महानुभावहरुले पनि कलम चलाएको पाइन्छ । पत्र-पत्रिका र ब्लगमा लेख्न रुचाउनेहरुमा बाबुराजा महर्जन, डा. जगमाया श्रेष्ठ, डा. निर्मल रिमाल, डा. भुवनेश्वर ढकाल, डा. चन्द्र पौडेल, डा. भोला प्रधान, प्रा.डा. राजेश ढकाल, राज महर्जन, शैलेश कर्माचार्य, प्रदीप रुपाखेती, त्रिभुवन श्रेष्ठ, डा. अच्युत अर्याल, ऋतुराज सापकोटा इत्यादि हुनुहुन्छ ।

साहित्यको मुख्य जग नै भाषा र सृजनशीलता हो । साहित्यको जगलाई दह्रो र दायरालाई बढाउँदै नेपाली साहित्य समाजका गतिविधिहरुको व्यापकता बढाइएको छ । अक्ल्याण्डमा केन्द्रीकृत साहित्यिक सक्रियता न्युजिल्याण्डभरि नै लगिएको छ । साउथ आइल्याण्ड र नर्थ आइल्याण्ड क्षेत्रीय समितिहरु गठन भई अधिकतम व्यक्तिहरुलाई समेट्ने प्रयास भइरहेको छ । स्थानीय संघ-संस्थाहरुको सकारात्मक सहयोग र शुभेच्छुकहरुको रचानात्मक सल्लाह कायम रहेको खण्डमा न्युजिल्याण्डको भूमिबाट पनि नेपाली साहित्यको योगदान पुर्‍याउन सकिनेछ ।

(सुवेदी नेपाली साहित्य समाजका अध्यक्ष हुन् । उनी गैर आवासीय नेपाली संघको भाषा साहित्य संस्कृति सम्पदा प्रवर्द्धन समितिका सदस्य पनि हुन् ।)