गैर आवासीय नेपाली संघको साहित्य र संस्कृति विभागले यो वर्ष दुई वटा कृति प्रकाशन गर्ने भएको छ ।
गएको साता गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पादा प्रवर्दन समितिको बैठकले एउटा नियात्रा संग्रह र एउटा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो । यसैगरि बैठकले साहित्यमा योगदान दिने कृति वा स्रष्टाको सम्मानार्थ यो समितिले एउटा अन्तर्राष्ट्रिय स्तरको नेपाली साहित्य पुरस्कारको स्थापना पनि गरेको छ ।
विभागका अध्यक्ष हिक्मत थापाले पहिलो बैठकमा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछानेले एक लाख रुपैंयाको बिऊ रकम राखेर यसको स्थापना गरेको घोषणा गरेको बताए । उक्त बिऊ रकममा अध्यक्ष थापाले ५० हजार रुपैंया योगदान गरेका छन् । यसलाई संसारभरि छरिएर रहेका साहित्य प्रेमीहरुले थप योगदान गर्दै जाने योजना रहेको पनि थापाले बताए ।
वर्ष २०२० मा उक्त संस्थाले नेपाल बाहिर रहेर साहित्य सिर्जना गरिरहेका साहित्यकारहरुको नियात्रा संग्रह प्रकाशन गर्ने भएको छ । यो संग्रहमा नेपाल बाहिर बस्ने श्रष्टाले नेपाल बाहिरकै विषयमा लेखिएका नियात्रा समेटिने बताइएको छ ।
त्यसैगरि उक्त संस्थाले नेपाल बाहिर रहेर गजल सिर्जना गरिरहेका सर्जकहरुको बृथक खालको बृहत गजल संग्रहको प्रकाशनको तयारी गरिएको पनि जनाइएको छ ।
‘दुवै कृतिहरु विज्ञ निर्णायक मण्डलहरुको रोहबरमा छानिने छन् । यी दुवै कृतिको गुणस्तरमा हामी सम्झौता गर्दैनौँ ।’ अध्यक्ष थापाले साहित्यपोस्टसँग भने, ‘नेपाल बाहिर रहेर साहित्य सिर्जना गरिरहनु भएका साहित्यकारहरुका उत्कृष्ट रचना हामीले यी दुबै पुस्तकमा पाउने छौँ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।