पेशाले प्रध्यापक साहित्यकार विश्वराज अधिकारीद्वारा लिखित गीत सङ्ग्रह “अधुरो प्रेम” हालै प्रकाशित भएको छ। गीतको उत्पत्तिको इतिहास र गीतको महत्त्वसमेत वर्णनन गरिएको यस सङ्ग्रहमा ७९ वटा विभिन्न भाव, अवस्था एवं परिस्थितिका गीतहरू समेटिएका छन्।

चर्चित साहित्यकारहरू माया ठकुरी, उषा शेरचन तथा नवराज रिजालको शुभकामना मन्तव्य यो सङ्ग्रह “अधुरो प्रेम” ले समेटेको छ। सामान्य शैली प्रयोग गरेर लेखिएका यस सङ्ग्रहका गीतहरूले प्रेम, जीवन र जगत्का जटिल कुराहरू सजिलै बुझ्न सजिलो परिदिएको देखिन्छ। खासगरी प्रेम भावका गीतहरू यस सङ्ग्रह भित्र धेरै छन्।

नेपाली साहित्य क्षेत्रमा २०४० को दसकदेखि नै सक्रिय रुपमा उपस्थिति जनाउँदै आएका अधिकारीले लघुकथा, कथा, गीत, धर्म, अर्थ व्यवस्था, व्यवस्थापनजस्ता क्षेत्रमा दुई दर्जन र नेपालका विश्व विद्यालयमा पढाइने व्यवस्थापन विषयमा करिब एक दर्जन जति पुस्तक लेखिसक्नु भएको छ। अधिकारीद्वारा लिखित “विश्वगीता”, “अचम्म” र “नलेखिएका कथा’ चर्चित पुस्तक हुन्।

नेपालको सर्लाही, रौतहट र बारा जिल्लामा बोलिने बज्जिका भाषामा अधिकारीले एक गीत सङ्ग्रह ‘बङ्मती से लमहा’ पनि लेखेका छन्। नेपाली, बज्जिका, भोजपुरी तथा अंग्रेजी भाषामा लिखित अधिकारीका विभिन्न रचनाहरू अनेक साहित्यिक पत्रिकाहरूमा प्रकाशित छन्। हालै अधिकारी अमेरिकाको ओक्लहोमा राज्यस्थित ओक्लहोमा सिटी कम्युनिटी कलेजमा अध्यापनरत छन्।