नेपाली साहित्यका लागि अमेरिकाबाट सञ्चालित संवादात्मक कार्यक्रम प्रवासी प्रवाहमा यस पटक वाङमय शताब्दी पुरूष सत्यमोहन जोशी सुनिए ।

१०१ वर्षीय जोशी यो चिसो मौसममा पनि निरन्तर दुई घण्टासम्म धाराप्रवाह प्रस्तुत भए । एनआरएनएले साप्ताहिक रुपमा सञ्चालन गर्दै आएको ‘प्रवासी प्रवाह’ अनलाइन भर्चुअल कार्यक्रमको आइतबारको विशेष शृंखलामा शताब्दी पुरुष जोशी यसरी जोशिलो शैलीमा प्रस्तुत हुनु भएको हो। नयाँ वर्ष सन् २०२१ को पहिलो विशेष कार्यक्रम भनेर एनआरएन अन्तर्गतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले ‘संचालन गर्दै आएको ‘प्रवासी प्रवाह’मा जोशीसँग उनको भोगाई, साहित्य, संस्कृति र इतिहासका विविध विषयमा प्रत्यक्ष संवाद गरिएको थियो।

जोशीले प्रस्तोताका हरेक जिज्ञासाको घटना विवरण, तिथिमितिसहित जवाफ दिएका थिए ।

‘नेपालीले नोबेल पुरस्कार पाएको हेर्न बाँकी छ,’ जोशीले इच्छा व्यक्त गरे ।

जोशीले आफूलाई अब कुनै पदवी, पद प्राप्ति तथा अन्य लोभ मोह केही बाँकी नरहेको तर आफू नेपालको पुत्र हुँ भन्न पाउँदा नै गर्व रहेको बताउँदै आफूजस्तै कुनै नेपाली वा जहाँसुकै बसेको भए पनि नेपाली मूलको सन्तानले नेपाली माटो र संस्कृतिको बास्ना आउने साहित्यिक कृति सिर्जना गरेको र त्यस्तो कृतिले नोबेल पुरस्कार पाएको देख्ने चाहना बाँकी रहेको बताए ।

तीनपटक नेपालको सम्मानित मदन पुरस्कार जितिसकेका जोशीले पहिलो मदन पुरस्कार पाउने साहित्यकारको समेत परिचय बनाएका छन् । तीन छोरा, तीन छोरी, १२ नाति र ७ पनातिका अभिभावक जोशी आफ्नी धर्मपत्नीसँग ललितपुरको बखम्बूबहालमा बस्छन् ।

नेपाली लोकगीत एक अध्ययन (हाम्रो लोक संस्कृति) कृतिका लागि २०१३ मा पहिलो मदन पुरस्कार प्राप्त गरेका थिए भने नेपाली राष्ट्रिय मुद्रा बारेको अनुसन्धानात्मक कृतिका लागि २०१७ मा दोस्रो पटक मदन पुरस्कार र तेस्रो पटक कर्णालीको लोक संस्कृति र अन्य संयुक्त कृतिका लागि मदन पुरस्कार पाएका थिए ।

उनका इतिहास, संस्कृति,अन्वेषण, नाटक, कथा र पूर्वीय दर्शनका विविध विषयमा ६० वटा कृति प्रकाशित छन्। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिवसमेत रहेका जोशीले नै आफ्नो कार्यकालमा गाईजात्रा महोत्सवको सुरुवात गरेका थिए ।

जुरेली चरी र नेपाली भाषाको अनुसन्धानमा जोशीका हरेक वार्तालाप र कुराकानीमा जोडिने प्रसंगमध्ये ‘जुरेली चरी’को प्रसंग पनि एक हो। ‘के खायो रेलीमाई के लायो होला, मेरो माया रेलीमाई जुरेली चरीले’ ग्रामीण दूरदराजका बस्तीमा गुन्जने यी र यस्तै लोक भाकाहरुलाई टपक्क टिपेर जोशीले कृति नै तयार पारेका थिए, जसले उनलाई मदन पुरस्कार दिलाएको थियो। उनले नेपाली भाषा सभ्यताको अनुसन्धान गर्न यसको उद्गमथलो कर्णालीको जुम्लास्थित सिन्जा पुगेर अध्ययन गरे ।

‘त्यो बेला ज्यादै दु:ख पाएँ,’ कुराकानीका क्रममा जोशीले त्यो बेलाको स्मरण गर्दै भने, ‘गयो डोटी, खायो रोटी, फर्कंदाखेरि धोती न टोपी’ होला भनेर आफूहरुलाई तत्कालीन अञ्चलाधीशले सिन्जा जान नदिने प्रयास गरेको उनको भनाइ थियो। ‘तैपनि हामी पुग्यौं र जे गर्न सक्यौं त्यसमा सन्तुष्ट छु,’ जोशीले आफ्नो अनुसन्धानप्रति गौरव गर्दै बताए ।

तपाईंको दीर्घ जीवनको रहस्य के होला भनी सोधेको प्रश्नमा चिन्तन गर्छु,चिन्ता गर्दिनँ भन्दै जोशीले जीवन जिउने हरेक व्यक्तिको शैली फरक हुने बताउँदै आफूले लोभ, मोह र चिन्ता कहिल्यै नगर्ने बरु जीवन जिउने चिन्तन गर्ने गरेको बताए । ‘म अंग्रेजी कवि जोन किट्स र जुरेली चरीबाट प्रभावित व्यक्ति हुँ, त्यसैले म चिन्ता गर्दिनँ,’ जोशीको भनाइ थियो।

‘विश्वलाई हामीले केही दिन सकेका छैनौं, विश्व साहित्य जगतबाट हामीले लिएका मात्रै छौँ, अब हामीले दिनुपर्छ,’ जोशीको भनाइ थियो, ‘हाम्रो भाषालाई अन्तर्राष्ट्रियकरण गर्ने चासो र लगानी दुवै भएको छैन। हाम्रो पहिचान र सबै नेपालीलाई समेट्ने आधार भाषा र साहित्य नै हो। त्यसैले अब नोबेल पुरस्कार जित्ने गरी नेपाली एवं नेपाली मूलका लेखक र सर्जकहरुले त्यही स्तरको साहित्य सिर्जना गर्नुपर्छ।’

आइतवारको प्रवासी प्रवाहको यो विशेष शृंखलामा एनआरएनका अध्यक्ष कुमार पन्त र संस्थापक मध्येका एक पूर्व अध्यक्ष जीवा लामिछानेले जोशीको सम्मानमा कार्यक्रमको आरम्भमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भाषा साहित्य,संस्कृति एवं सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष एवं एनआरएनका पूर्व कोषाध्यक्ष हिक्मत थापाले आफूहरुको आग्रहलाई सहजरुपमा स्वीकार गरी कार्यक्रममा सहभागी भैदिनु भएको भन्दै शताब्दीपुरुष जोशीप्रति आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।

‘प्रवासी प्रवाह’की संचालिका एवं समितिकी सदस्य सचिव भगवती बस्नेतले कार्यक्रमको सुरुवात गरेकी थिइन् भने कार्यक्रममा पत्रकार गौतम दाहालले जोशीसँगको वार्तालाप गरेका थिए । गौतमले भने, ‘जोशीसँगको यो वार्तालाप ऐतिहासिक बन्न पुग्यो ।’