सुन्दरतालाई बुझ्न सजिलो होला
भावनाको गहिराई बुझ्न कठिन छ
एकले अर्कालाई माया गर्न सजिलै होला
तर मायाको गहिराई छिचोल्न कठिन छ
भगवान् पनि कहिलेकाहीँ अविवेकी हुन्छन् कि क्या हो
कसैको दाम्पत्य जोडी
जोड्दा या फुटाउँदा
होश गुमाउँछन्
त्यसैले त छुट्टिएकाहरूको पनि
पश्चातापमा रुमलिन्छ जिन्दगी
दिनभर बिर्सिएर के गर्नु र
निदले सँगै च्यापेर सुतेपछि
भीडभाडको रङ्गमञ्चमा
जीवन्त पात्र सल्बलाएर के गर्नु
–मनमा सजाएको पात्र नै
आँखाको नानीभित्रबाटै प्रदर्शित भएपछि
बजारिया पात्रहरु त पलाँशका फूलजस्ता लाग्छन्
न स्पर्शमा कोमलता–न मायाको सुगन्ध ।
भुलक्कड र यादगारको म्याराथनमा
यादगारले बाजी मारेको छ
मन,मस्तिष्क, शरीर एकजुट छन्
कठोर बन्न र भुल्ने प्रयत्न गर्नका लागि
यता छातीभित्रको हृदय
अनि मनको भित्री कुनो
आफ्नो बन्न नसकेको नाता–
बिरानो बन्न नचाहेको माया मायाको
स्याहार सम्भारमा व्यस्त छ
तर बहकिने छुट छ कहिलेकाहीँ
एकान्तमा, दु:खमा, धेरै खुसीमा
अनि विशेष अवसरमा
आज त्यही मायाको विशेष दिन
औँसीको रात, दीपावलीको रात
जन्मदिनको सुअवसर–
हार्दिक मङ्गलमय शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

