स्थान : अनिश्चित
समय : अनिश्चित
दृश्य विवरण : (मञ्चको मध्यभागमा दुईवटा टेबल र मेच छन् । एउटा टेबल मेचमा एक बसेको छ । अर्को टेबलमा दुई बसेको छ । दुवै टेबलमा फाइलहरू छन् । एकको टेबलमा कम्प्युटर (ल्यापटप) राखिएको छ । दुई आफ्नो मेचमा स्थिर रहँदैन । घरी घरी उठेर यताउति हिंड्दै ऊ मोबाइल फोनमा सम्पर्क गरिरहन्छ । मञ्चको देब्रेतिर एउटा डेसमा माइक्रोफोन लिएर तीन उभिएको छ । मञ्चको पाश्र्वभागमा एउटा विशाल भित्तेपात्रो झुन्डिएको छ । भित्तेपात्रोका दुई खण्ड छन् । माथिल्लो चित्रखण्ड र तल्लो अङ्कखण्ड । चित्रखण्डमा गाढा हरियो पहाड सन्निपातको रोगी झैँ बीच बीचमा धताउँछ । यसरी धताउँदा पहाडको आवाज टाढाबाट आएको जस्तो झैं सुनिन्छ । हर्ष, हौसला, जोश र उत्तेजनाको खिचडी उम्लिरहेको एक दुई र तीनका अनुहार हजार वार्डको चिम झैं बलिरहेका छन् । तीन उद्घोष गर्छ ।)
तीन : भद्र महिलावृन्द ! तथा सज्जन महानुभावहरू ! अहिलेसम्म यहाँ धेरै मूल्यवान् सामानहरू लिलाम भइसकेका छन् । तर नआत्तिनुस् । अझै हामीसँग लोभलाग्दा आइटमहरू छन् । यसकारण सामाजिक प्रतिष्ठाको भ¥याङ उक्लन चाहनुहुन्छ भने आ–आफ्नो मुटुलाई अझ फराकिलो पार्नुस् । किनभने अब प्रस्तुत छ न्याय…देवी ! ! !
(रक्षक १ र रक्षक २ ले न्यायदेवीलाई डोर्याएर ल्याउँछन् । न्यायदेवीको आँखाबाट पट्टी खोलिएको छ । न्यायदेवी रक्षकहरूबाट मुक्त हुने कोसिस गर्छिन् । रक्षकहरू भने उनलाई घिसार्दै बलजफ्ती मञ्चतिर ल्याउँछन् । न्यायदेवी प्रतिवाद गर्दै चिच्याउँछिन् ।)
न्यायदेवी : छोड् मेरा हात । छोड् भन्या ।
(रक्षक १ र २ न्यायदेवीलाई समातिरहन्छन् । दुईले संकेत गरेपछि उनीहरूले न्यायदेवीलाई छोडिदिन्छन् । श्रवण शक्तिबाट ध्वनिहरू समात्न खोज्दै न्यायदेवी बोल्छिन् रक्षक एक र रक्षक दुई प्रस्थान गर्छन् ।
न्यायदेवी : कहाँ ल्यायौ तिमीहरूले मलाई ?
दुई : नआत्तिनुस् देवी, यो अदालत हो ।
न्यायदेवी : अदालत ?
दुई : हो, अदालत । (मोबाइलमा ध्वनिसंकेत । ऊ उठेर अर्कोतर्फ जाँदै कुरा गर्छ)
न्यायदेवी : तर अदालतमा त कानूनको गन्ध आउनु पर्ने ! वहस र तर्कको आवाज गुञ्जनु पर्ने । खै यहाँ त त्यस्तो केही पनि छैन ।
एक : जनताको अदालत यस्तै हुन्छ देवी ! (कम्प्यूटर चलाउँदैछ)
न्यायदेवी : जनताको अदालत ?
एक : हो । सर्वोच्च अदालतभन्दा पनि ठूलो अदालत । (कम्प्यूटर चलाउँदै)
न्यायदेवी : (सुंघ्दै) तर यहाँ त केही चीज डढेको र सडेको दुर्गन्ध आउँदैछ नि ?
एक : वर्षौंसम्म अदालतभित्रै नजरबन्द हुनुभयो त, त्यसैले तपाईंलाई त्यस्तो लाग्या हो । (कम्प्यूटर चलाउनुमै व्यस्त छ)
न्यायदेवी : (आवाज पढ्न खोज्दै पाइला अघि सार्दै) अनि टाढाटाढा कस्तो आवाज हो ! हजारौं मुटुहरू निचोरिएको जस्तो सुनिंदैछ । (असन्तुष्टि दर्शाउँदै) हैन कहाँ ल्यायौ तिमीहरूले मलाई ?
(तीन हतारिंदै न्यायदेवीतर्फ लम्कन्छ)
तीन : शान्त हुनुहोस् देवी शान्त ।
(तीनले न्यायदेवीलाई एकतिर लगेर फकाउन थाल्छ । स्पटलाइट उनीहरूमाथि केन्द्रित हुन्छ । बाँकी भाग अन्धकार)
तीन : (फकाउँदै) हामीले तपाईंलाई अदालतको कैदबाट मुक्त गराएका छौं ।
न्यायदेवी : (नबुझेर) मुक्ति ? छुटकारा ?
तीन : हो मुक्ति । आखिर कतिञ्जेलसम्म तपाईं तराजुमा तौली तौली न्याय बेच्नुहुन्छ ? कति दिनसम्म न्यायाधीशको अङ्गरक्षक जस्ता तरवार ठड्याएर उभिरहनु हुन्छ ? सुन्नुहोस् त, तपाईंका गरिमा र महिमा बुझ्नेहरू यहाँ आतुर भएर बसिरहेका छन् ।
न्यायदेवी : (प्रतिवाद गर्दै) झूठ ! सरासर झूठ । अब गुलिया शब्दहरूको बोक्राले तिमी तितो गुदीलाई ढाक्न सक्दैनौ । (पक्कै पनि यहाँ नैतिकता डढिरहेको छ, मानवताको लाश सडिरहेको छ । लाखौं दुःखी गरीबको सपना र विपनाको लिलाम हुँदैछ । अझ भन्छौ यहाँ मेरो महिमा बुझ्नेहरू छन् ?
तीन : (सम्झाउने कोशिश गर्दै) तपाईंले मेरो कुरै बुझ्नु भएन । तपाईंलाई त हामीले सर्वसुलभ बनाउन खोजेका छौं । मेरो मतलब के भने, तपाईं अदालतभित्र सीमित हुनु भयो भने त दुःखी गरीबहरूले न्याय पाउँदै पाउँदैनन् नि ।
न्यायदेवी : किन पाउँदैनन्, म कसैको भेदभाव गर्दिनँ ।
तीन : तपाईं गर्नुहुन्न तर अदालतले भेदभाव गर्छ कानूनकर्मीले गर्छ । अदालत अचेल यति टाढा भइसक्यो कि त्यहाँसम्म पुग्न गरीबहरूलाई असम्भव छ । यसकारण तपाईं नै अन्याय र अत्याचारको आगो निभाउन गरीब दुखीको घरघरमा पुगिदिनुहोस् । बिन्ती देवी । (हात जोडेर घुँडा टेक्छ)
न्यायदेवी : (तीनलाई बेवास्ता गरेर अर्कोतिर बढ्दै) तिम्रो जिब्रोले जति नै राम्रो अभिनय गरे पनि मैले तिमीभित्रको शकुनिलाई चिनिसकें । यसकारण अब जाल नबुने पनि हुन्छ ।
(न्यायदेवी फटाफट जान थाल्छिन् । तीन अरकच्च पर्छ । मोबाइलमा कुरा गरिरहेको दुई हतार हतार आएर न्यायदेवीको बाटो छेक्छ ।)
दुई : अ…रे ! के गर्या यस्तो ! ! ! देवी ! ! ! यत्तिकै गइदिने ? यस्तो हो भने त हाम्रो प्लेनै क्रयाश् हुन्छ नि । (एक पनि छेउमा आउँछ) ।
एक : हामी भने तपाईँलाई सेफ ल्यान्डिङ्ग गराउन खोज्दैछौं । त्यसै पनि राष्ट्रले तपाईंलाई धान्नै नसक्ने भइसक्यो ।
तीन :(छेउमा आउँदै) यसकारण निजी क्षेत्रमा गएर आनन्दले बस्नुहोस्, आफ्नो प्रसाद सबैलाई बाँड्नुहोस् ।
(बोल्ने क्रममा एक, दुई र तीनले हातेमालो गरेर न्यायदेवीलाई घेरावन्दी गरिसक्छन् । लाचार न्यायदेवी उम्कने कोसिस गर्छिन् तर सक्दिनन् । हातेमालोको वृत्त देवीवरिपरि घुम्न थाल्छ ।)
दुई : (एकलापको लयमा) अब तपाईंले तरवार ठढ्याइरहनु पर्दैन ।
एक : (एकलापको लयमा) किनभने अब तरवारसँग कोही डराउँदैन ।
तीन : (एकलापको लयमा) अब ढक तराजु खेलिरहनु पर्दैन ।
दुई : (एकलापको लयमा) यसैकारण तपाईंको आँखाबाट पट्टी खोलिदिएका हौं ।
एक : (एकलापको लयमा) जसले तपाईंलाई संरक्षण दिन्छ ।
तीन : (एकलापको लयमा) उसैले दोषी र निर्दोषको फैसला गर्छ ।
दुई : (एकलापको लयमा) अब कानूनको भाषा फेरिन्छ ।
एक : (एकलापको लयमा) अब न्यायको परिभाषा फेरिन्छ ।
तीन : (एकलापको लयमा) तपाईंले लालमोहर मात्र लाए पुग्छ ।
(अचानक चित्कार गर्दै न्यायदेवी बलपूर्वक घेरामुक्त हुन्छिन् । एक दुई तीन तर्सेर पछि हट्छन् । उनीहरू परस्परमा केही सल्लाह गर्छन् । तर उनीहरूको आवाज सुनिदैन । दुई फटाफट प्रस्थान गर्छ । एक आफ्नै टेबलमा गएर बस्छ अनि कम्प्यूटर खेल्न थाल्छ । तीन आफ्नै डेसमा फर्कन्छ । न्यायदेवी आक्रोश व्यक्त गर्छिन् ।)
न्यायदेवी : पाखण्डीहरू ! ! ! यति भयानक विश्वासघात ! ! ! तिमीहरूले मलाई जनताको अदालतमा पुर्याइदिन्छौं भन्या होइन ? खै कहाँ छन् अन्यायमा पिल्सिएका जनता ?
तीन : इ क्या त तपाईंकै सामुन्ने बसिराछन् (दुईको प्रवेश)
न्यायदेवी : झूठ नबोल । के म जनता र जन्तु छुट्याउन सक्दिनँ । शायद यो युगको आँखा फुटेको होला । तर म अन्धी भएकी छैन । म (यति नै बेला दुईले रिमोट कन्ट्रोलमा स्वीच थिच्छ न्यायदेवी अवाक् र स्थिर बन्छिन् । एक दुई तीन जोडले हाँस्छन्)
तीन : (दर्शकदीर्घातर्फ) श्रद्धेय महानुभावहरू, कृपया शान्त भइदिनु होला । हाम्रो लिलाम बडाबड जारी छ । न्यादेवीको न्यूनतम मूल्य हुनेछ पचास हजार रुपियाँ । (दर्शकदीर्घामा हल्ला हुन्छ ।)
दर्शक १ : पचहत्तर हजार !
दर्शक २ : एक लाख !
दर्शक ३ : एक लाख पच्चीस हजार !
दर्शक ४ : एक लाख पचास हजार ! (सन्नाटा)
दर्शक २ : एक लाख पचहत्तर हजार ! (सन्नाटा)
तीन : एक लाख पचहत्तर हजार (दर्शकतिर हेर्दै) एक लाख पचहत्तर हजार …. एक लाख पचहत्तर हजार… एक, एक लाख पचहत्तरहजार दुई …
दर्शक ३ : दुई लाख । (एक र दुई हर्षोल्लासित बन्छन्)
तीन : दुई लाख ! ! ! दुई लाख ! ! ! दुई लाख एक, दुई लाख दुई ….. ।
दर्शक १ : तीन लाख ! (दर्शकदीर्घामा कोलाहल)
तीन : तीन ला…ख….!….!…! तीन लाख एक….. तीन लाख दुई तीन लाख तीन ! (काठको हम्मरले डेसमा ठोक्दै दर्शक १ तर्फ हेर्छ) यहाँको शुभनाम ।
दर्शक १ : मेरो नाम श्रीमान् क । (दुई न्यादेवीको छेउमा आउँछ)
तीन : तपाईंलाई बधाई छ ! सामान क्लेयरेन्सको लागि हाम्रो लेखापालसँग सम्पर्क राख्नु होला ।
दुई : (नेपथ्यतिर हेर्दै आदेशमूलक स्वरमा) गार्ड !
रक्षक १ : (नेपथ्यमै) यस सर !
दुई : (न्यायदेवीतिर संकेत गर्दै) । यसलाई यहाँबाट निकाल् ।
रक्षक १ : (नेपथ्यमै) हस् सर् !
(रक्षक १ र रक्षक २ हरियो वाँसको अर्थी लिएर प्रवेश गर्छन् । अर्थी भूइँमा राखेर उनीहरू स्थिर न्यायदेवीलाई मूर्ति झैँ टाउको र खुट्टाबाट उठाउँछन् । दुई र तीनले पनि सहयोग गरेर न्यायदेवीलाई अर्थीमा तेर्स्याइदिन्छ । रक्षक १ र रक्षक २ ले अर्थी बोकेर उठाउँछन् । तीन जोगिंदै एकको छेउमा पुग्छ ।
दुई : (रक्षकहरूलाई) एक छिन् पख् । (श्रीमान् क प्रति) श्रीमान् क, यता हेर्नुस् । यो रिमोट कन्ट्रोल पनि यहीं राखिदिएको छु । (रिमोट कन्ट्रोल राख्छ) अब न्यायदेवीलाई आफ्नो इच्छाअनुसार सञ्चालन गर्न सक्नु हुन्छ । मेरो पनि बधाई ! (रक्षकहरूप्रति) जाओ अब ।
(रक्षकहरू अर्थी बोकेर जान्छन् । एक कम्प्युटर खेलिरहेकै छ । दुई र तीन पनि एकको पछितिर उभिएर कम्प्युटर स्क्रीनमा उत्साहपूर्वक हेर्छ । उनीहरू एक अर्कामा कुरा पनि गर्छन् । तर उनीहरूको कुरा सुनिदैन । भित्तेपात्रोको पहाड सन्नीपातको रोगी झैं ठूलो स्वरमा बर्बराउँछ ।)
पहाड :न तन शुद्धि न मन शुद्धि, न जन शुद्धि !
विनाशकाले विपरीत बुद्धि !
बस् जनतन्त्र ! जनतन्त्र !
(नेपथ्यको सामूहिक आदिम चित्कार सरिरहन्छ रक्षक १ र रक्षक २ आत्तिँदै प्रवेश गर्दछन् । एक दुई र तीनको ध्यान तिनीहरूतिर खिंचिन्छ)
रक्षक १ : सर ! बाहिर भीड जम्मा छ ।
तीन : भीड ? कस्तो भीड ? (तीन उनीहरूतिर आउँछ)
रक्षक २ : खै, हेर्दा त मान्छेहरू जस्तै देखिन्छन् ।
एक : (मेचबाट उठ्दै) के भन्छन् त तिनीहरू ?
रक्षक १ : खै, हामीले त केही बुझेनौं । लाटाहरू जस्तो कराउँछन् मात्रै ।
तीन : (एक र दुईलाई) अब के गर्ने ?
दुई : के गर्ने ? आफ्नो काम जारी राख्ने नि ।
एक :बाहिर भीड छ भन्छन् नि त ।
दुई : धत् ! जँघार तर्दा पनि त्यसरी तिघ्रा कमाउनु हुन्छ । त्यस्तो हजार पन्ध्र सयको भीडलाई त पेलेरै दबाउन सकिन्छ । (मोबाइल अन गरेर बोल्न थाल्छ) हल्लो ! नाइके ? बाहिर के भइराछ ? … अँ अँ… अँ अँ … (मोबाइलमा हात राख्दै तीनलाई) हरे ! तपाईंहरू आफ्नो काम शुरू गर्नुस् न भन्या । (फेरि मोबाइलमा) (एक फेरि मेचमा कम्प्युटर चलाउन थाल्छ । तीनले रक्षकहरूलाई कुनै कामको निर्देशन दिंदै नेपथ्यतिर पठाउँछ । रक्षकहरूको प्रस्थान् । तीन फेरि डेसमा गएर उभिन्छ । दुई मोबाइलमा कुरा गरिरहन्छ । एक र तीनको ध्यान पनि उसैमाथि केन्द्रित हुन्छ ।)
दुई : (मोबाइलमा कुरा गर्दै मंचमा ओहोर दोहोर गर्छ ।) हल्लो नाइके, ल भन् । … अँ अँ … मान्छेहरू जनावर जस्तो चिच्याइरहेका छन् रे ! …हो र भन्या !..अँ अँ… सुन् त, हामी उनीहरूकै भविष्य निर्माण गरिराख्या छौं भन्नु । गाँस, बास र कपासको व्यवस्था सबैलाई हुन्छ भन्नु । पहिला राम्रो मुखले सम्झाउनू, मानेनन् भने ड्याम कि ड्याम । (दुईले मोबाइल बन्द गरेर तीनलाई हेर्छ । तीन आतिन्छ)
तीन : श्रद्धेय महानुभावहरू ! राष्ट्रनिर्माणको लागि हामीलाई दक्ष जनशक्तिको खाँचो छ ।
एक : मुलुकलाई एककाइसौं शताब्दीतिर डोर्याउनु परेको छ ।
तीन : भूमण्डलीकरणको माध्यमद्वारा विश्वग्रामको रचना गर्नु छ ।
एक : यी सब लक्ष्य हासिल गर्नका लागि गुणस्तरीय शिक्षाको खाँचो हुन्छ ।
तीन : यसैकारण प्रस्तुत छ देवी सरस्वती !
(रक्षक १ र रक्षक २ को साथमा वीणाधारिणी सरस्वती देवीको चूपचाप प्रवेश । निर्दिष्ट ठाउँमा पुगेपछि रक्षक १ ले रिमोट कन्ट्रोल चलाउँछ । सरस्वती यन्त्रवत् अड्छिन् ।)
एक : हो महानुभावहरू ! देवी प्रसन्न भइन् भने हामी यी महान् लक्ष्य हासिल गर्न सक्छौं ।
दुई : East or west she is the best. In fact, she is two in one.
एक : नाम सरस्वतीको काम लक्ष्मीको ।
तीन : देवीका विशेषताहरू त थाहा पाइहाल्नुभयो । अब लगाउनुस् बोली । प्रारम्भिक मूल्य छ रु. एक लाख ।
दर्शक २ : दुई लाख ।
तीन : दुई ला….ख ! ! ! दुई लाख एक, दुई लाख दुई, दुई लाख…….
दर्शक ६ : तीन लाख !
तीन : तीन ला..ख ! ! ! तीन लाख एक, तीन लाख दुई, तीन लाख…
दर्शक ५ : पाँच लाख !
तीन : (उत्तेजित हुँदै) पाँ..आ……च ला…ख ! ! ! पाँच लाख एक, पाँच लाख दुई, (दर्शकदीर्घामा नजर दौडाउँदै) पाँच लाख दुई…..पाँच लाख दुई । पाँच लाख तीन (हम्मर डेसमा ठोक्छ)
एक : तपाईंलाई बधाई छ । (दर्शक ५ प्रति) अब देवी सरस्वती तपाईंकै हुनुभयो । (रक्षक १ प्रति) गार्ड !
रक्षक १ : यस सर् ।
एक : उहाँलाई देवीको डेमोन्स्टे्सन गरिदे ।
रक्षक १ : हस् सर् । (एकले रक्षक २ लाई संकेतपूर्ण आदेश दिन्छ । रक्षक २ जान्छ । अनि रक्षक १ ले कम्प्यूटरको स्वीच चलाउँछ । सरस्वती यंत्र झैं देवी दर्शकदीर्घातिर फर्कन्छिन् । बोल्न थाल्छिन्)
सरस्वती : (यन्त्रवत्) तमसो मा ज्योतिर्गमय । श्रद्धावान् लभते ज्ञानम् ।
(रक्षक १ ले भोल्युम् बढाउँदै जान्छ, देवीको स्वर चर्कन्छ)
स्वरस्वती : (ठूलो स्वरमा) (a+b-2 = a2+2ab+b2)
(रक्षक १ ले भोल्युम बढाउँदै घटाउँछ ।)
सरस्वती : (यंत्रवत् स्वर बढाउँदै घटाउँदै) A for apple. B for ball. C for cat. क…….ख…..ग
तीन : भो भो पुग्यो । (रक्षक स्वीच थिच्छ । सरस्वती मूक बन्छिन् ।)
यसलाई लैजा ।
(रक्षक २ अर्थी लिएर आउँछ । रक्षक १ लाई सहायता गरेर उसले सरस्वतीलाई अर्थीमा तेस्र्याउँछ । दुवैले अर्थी बोकेर लान्छन् ।)
तीन : (दर्शक ५ प्रति) अब माता शारदेश्वरी तपाईंकै भइन् । अब तपाईंले इच्छाअनुसार चलाउन सक्नु हुन्छ । फेरि पनि बधाई । (ताली बजाउँछ)
पहाड : (ठूलो स्वरमा बर्बराउँछ) बाँस, गाँस, कपास । बाँस, गाँस्दैछ, कपास ओडाउँदैछ । विद्याको अर्थी लाँदैछ ।
एक :(पहाडको आवाज पछ्याउँछै) हैन अघिदेखि कहाँबाट यो आवाज आइराछ हँ । यहाँ त अरु कोही पनि छैन ।
तीन : (चारैतिर हेर्दै) हो हो मलाई पनि त्यस्तै लाग्दैछ ।
दुई : छाड्दिनुस् छाड्दिनुस् । बाहिर मान्छेको भीड छ भन्या, सुन्नु भएन । (तीनलाई) ल शुरु गर्नुस् । (मोबाइलमा कुरा गर्दै अर्कोतिर)
तीन : (जोशिंदै) महानुभावहरू ! अब प्रस्तुत छ एउटा विचित्रको आइटम । अनुहार हेर्दा टिसलाग्दो, व्यवहार हेर्दा रिस उठ्दो । तपाईंहरूकै चिरपरिचित शिक्षक ! ! !
(रक्षकहरूले शिक्षकलाई दुई हातमा समातेर बलपूर्वक ल्याउँछन् । शिक्षक फुत्कन खोज्दा रक्षकहरू च्याप्प समात्छन् । शिक्षक शिर उच्च पार्छ )
एक : (रक्षकहरूलाई) ए बिस्तारै समा । हेर्दै सीसाकलम जस्तो छ, अहिले फिटिक्क जाला ।
तीन : (दर्शकहरूतर्फ) तपाईंहरूले एउटा भनाइ त सुन्नु भएको होला । गुरु गुँड नै रह्यो, चेला चिनी बन्यो । अब तपाईंहरू नै भन्नुस् । चिनी त हामीलाई चाहिन्छ नि । चाहिँदैन र ।
दर्शकहरू : चाहिन्छ । चाहिन्छ ।
एक : हो, चाहिन्छ भने चिनी उत्पादन गर्ने कारीगर पनि त चाहियो । यसैले बौद्धिक चिनीको कारीगर हो शिक्षक !!
तीन : प्रिय महानुभावहरू ! शिक्षकको प्रारम्भिक मूल्य छ रु. एक हजार । एक हजार एक (दर्शकदीर्घामा चारैतिर आँखा दौडाउँदै) । एक हजार दुई, एक हजार तीन, …. एक हजार चार, … एक हजार पाँच, … । हन के भएको यस्तो । छ …सात … आठ । हन तपाईंहरूमध्ये कोही पनि हुनुहुन्न । (दुईलाई सोध्छ) अब के गर्ने ? (शिक्षककको अनुहारमा स्वाभिमान चम्कन्छ)
दुई : खै के गर्ने गर्ने । (झट्ट सम्झेर) अँ अघि जसले सरस्वती देवी लिनुभा थियो उहाँलाई नै दिने ।
एक : सित्थैमा ?
दुई : सित्थैमा त । यस्तालाई कल्ले पैसा हाल्छ ।
एक : सित्थैमा त कहाँ हुन्छ । भैगो हामी नै राखौं ।
दुई : पर्दैन । यसको के काम । खै हामी पढ्दै नपढी ठूला मान्छे भयौं ।
तीन : (दिक्क मान्दै) हे ..! के किचकिच गरिरा । राखे भइहाल्यो नि । केही नभए पनि हाम्रो भाषण लेख्ने काम त गर्छ ।
दुई : (रिसाउँदै) चाहिने नचाहिने कुरा नगर्नुस् । कल्ले पाल्नु सक्छ यल्ललाई । भाषण लेख्नलाई हामीसँग त्यत्तिका विद्वानहरू फालाफाल छन् ।
शिक्षक : (मुस्कुराउँदै) देख्नुभो त । शिक्षकको कुनै मोल हुँदैन । यसको मतलब शिक्षक अनमोल छ, वहुमूल्य छ ।
दुई : (शिक्षकप्रति रोष प्रकट) … ए ..! बढी बोल्छस् ? केटाकेटीहरूलाई पढाउँदा पढाउँदा आफै केटाकेटी भइसक्यो ।
एक : (शिक्षकलाई देखाउँदै) यिनीहरूको त जातै असन्तोकी । जहिले पनि किचकिच किचकिच । बाहिर कोकोसँग झगडा गरेर आउँछ । अनि त्यसको रिस चाहिं विद्यार्थीहरूमाथि पोखाउँछ ।
शिक्षक : (स्वाभिमान दर्शाउँदै) हेर्नुस्, सह्यो भन्दैमा अर्कालाई मनपरी … भन्न पाइँदैन । म तपाईंहरूको इसारामा नाच्ने कठपुतली हो र ? यसकारण मेरो चोखो पेशालाई जुठो नबनाउनुस्, बुझ्नुभो ?
दुई : (शिक्षकप्रति आक्रमक ढंगमा बढ्दै) ए ! तैंले कल्लाई धम्की दिएको हुँ । गर्नु सक्ने केही होइन । खालि कालो ब्ल्याकबोर्ड देख्या छ, सेतो चकले लेख्या छ । यसको त दिमागै ब्ल्याक एन्ड ह्वाइट भइसक्यो ।
एक : (समर्थन जनाउँदै) हो भन्या । अचेल कलरको जमानामा यस्तो ब्ल्याक् एन्ड ह्वाइट् के काम । पठाइदिनुस् पठाइदिनुस् ।
दुई : शिक्षक भन्या त गुरु द्रोणाचार्य जस्तो हुनुपर्छ । गुरुक्षेत्रमा पनि ठीक्क, कुरुक्षेत्रमा पनि ठीक्क । (तीनलाई) ल ल पठाइदिनुस् ।
तीन : (दर्शकदीर्घातर्फ वरपर चहार्दै) । अघि यहाँ कसले पो देवी सरस्वतीलाई लिनुभएको थियो ? (दर्शक ठम्याएर खुशी हुँदै) ए तपाईं । ल तपाईंलाई चिठ्ठा पर्या जस्तो छ । शिक्षक त तपाईंले सित्थैमा पाउनु भो नि !
दर्शक ५ : भो भो शिक्षक त म नलाने ।
तीन : नलाने ! ! ! किन ? के भयो ?
दर्शक ५ : शिक्षक त विदेशबाटै झिकाउने ।
तीन : विदेशबाटै झिकाउने ? ! ! त्यसरी कहाँ हुन्छ ! स्वदेशी देवीको पूजा गर्नलाई त स्वदेशी पुजारी नै चाहिन्छ ।
दुई : यसकारण सरस्वती देवीको पूजा गर्न (शिक्षकलाई औंल्याउँदै) यसैलाई लैजानुस् । पूजा गर्ने यसको काम, प्रसाद खाने तपाईंको काम । (रक्षकहरूप्रति) ए केटा हो ! लैजा यसलाई ।
(रक्षकहरू शिक्षकलाई घिसार्छन् । शिक्षक फुत्कन खोज्छ)
शिक्षक : (आक्रोशपूर्वक) छाड्दे मलाई छाड्दे । म आफ्नो स्वतंत्रता बन्धक राख्दिन । म कसैको दास बन्दिन ।
(रक्षकहरूले बलजफ्ती शिक्षकलाई बाहिर लान्छन् । ‘छाड्दे मलाई !’ अभिव्यक्ति खुम्चिदै हराउँछ ।
एक : दर्शक महानुभावहरू ! आजको कार्यक्रममा जसरी तपाईंहरूले सहयोग गरिरहनु भा छ, त्यसले हामीलाई ज्यादै उत्साहित पारेको छ । अब हामी प्रस्तुत गर्दछौं एउटा मेच … (यति नै बेला रक्षकहरू आतिदै प्रवेश गर्दछन्)
रक्षक १ : (स्याँ स्याँ गर्दै) सर सर ! तिनीहरू बौलाहा जस्तो कराइराछन् ।
एक : किन कराएको ? के भन्छन् ?
रक्षक २ : हातको इसाराले कुन्नि के माग्दैछन् । खानेकुरा भन्या हो कि ।
तीन : कस्ता खानै नपाएका भुखमरीहरू रहेछन् ।
दुई : (रक्षक १ लाई) यता सुन् । अचेल हाम्रो देशमा खानेकुराको अभाव छ, यसकारण हप्ताको एक दिन भोकै बस्नू भन् । जाओ । (रक्षकहरू जान्छन्)
पहाड : (ठूलो स्वरमा अचेत झैं बर्बराउँछ) हाम्रो देशमा खानेकुराको अभाव छ, यसकारण हप्तामा एक दिन भोकै बस । हाम्रो देशमा पिउने पानीको अभाव छ । यसकारण हप्ताको एक दिन प्यासै बस । हाम्रो देशमा लाउने लुगाको अभाव छ । यसकारण हप्ताको एक दिन नाङ्गै बस । जनतन्त्र… जनतन्त्र… जनतन्त्र ! ! ! (पहाडको टुप्पाबाट धुँवा पुत्पुताउँछ)
एक : ए चूप ! को हो त्यो ? (दृष्टिले वरिपरि खोज्छ)
तीन : हिम्मत छ भने सामुन्ने आइज । (दृष्टिले वरिपरि खोज्छ)
दुई : जनतन्त्र ! जनतन्त्र ! केको जनतन्त्र । (दृष्टिले वरिपरि खोज्छ)
एक : यहाँ त धन कमाउने धनतन्त्र । (दृष्टिले वरिपरि खोज्छ)
तीन : बन्दूक पड्काउने गनतन्त्र । (दृष्टिले वरिपरि खोज्छ)
(यति नै नेपथ्यतिर झ्यालको शीशा फुटेको आवाज सुनिन्छ । एक, दुई र तीन झस्कन्छन् । कोलाहल बाक्लिंदै जान्छ । उनीहरू के गरुँ कसो गरुँको अर्थमा परस्परमा हेराहेर गर्छन् । दर्शकदीर्घामा कोलाहल उम्लन्छ)
एक : लौ न बर्बादै भो । (दर्शकहरू ! ! सबैजना भागिसके छन् ।)
दुई : तिनीहरू त पर्खालै नाघेर आइसकेछन् । हिंडे म त । (भाग्छ)
तीन : ए कहाँ जान लाग्या, म पनि जान्छु । पर्खनुस् ।
एक : (चारैतिर हेर्दै) रक्षकहरू ! ! कहाँ छौ तिमीहरू ?
तीन : (दुईलाई) आउनुहोस् । भित्र कतै लुकौं । अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु ।
(एक र तीन भाग्छन् । विपरीत दिशाबाट जनको प्रवेश । वर्षौसम्म अन्याय र अत्याचार पिल्सिएको प्रतिबिम्ब उसको अनुहारमा झल्कन्छ । ऊ लाटो होइन तर बोल्न सक्दैन । खडेरी परेको अनुहार । सुकेका झील झैं आँखाहरू । ऊ दर्शकदीर्घामा हेर्दै जोडले जनावर झैं चिच्याउँछ । उसको चित्कारमा पीडा, असन्तोष, आक्रोश, क्रोध, अरु पनि के के छचल्कन्छन् ।)
रंगमञ्चले आँखा चिम्लन्छ ।
मिति : २००१ जुलाई
रंगमञ्च : प्रज्ञा प्रतिष्ठान
प्रस्तोता : जेभियर एकेडेमी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ चैत्र २०८२, मंगलवार 










