प्रवेश
भारतीय नेपाली साहित्य, आजको सन्दर्भमा एउटा व्यग्रता हो, औढाहा हो अनि जिम्मेवारी पनि हो । आजको साहित्य लेखन, कुनैपनि स्थान अनि परिवेशको पृष्ठभूमिमा हुने गर्दछ । त्यस स्थान अनि परिवेशले पोषण गरेका अवस्थाबाट साहित्यका स्वर सिर्जना हुन्छन् । साहित्य, सिर्जनात्मक मात्र नभएर, अध्ययनका एउटा पाटो भएर पनि अघि आइरहेको आज अवस्था छ । साहित्यले आफ्ना वैयक्तिक मनका कुरालाई मात्र प्रस्फुटन होइन यसले सामूहिक अभिव्यक्तिलाई पनि अघि ल्याएको हुन्छ । त्यस अभिव्यक्तिभित्र मानव अन्तर्मन, मानव समाज, देश अनि राष्ट्रका कुरा, सिमाना अनि साहित्यका कुराहरू, राजनैतिक चेतनाका कुराहरू, विश्वका विमर्श आदि हुँदै ब्रह्माण्डकै अध्ययन पनि साहित्यभित्र पाउने गर्छौँ । भारतीय नेपाली साहित्य आफैमा एउटा परिघटना हो । भारत स्वतन्त्र हुनभन्दा अघिदेखि नै नेपाली साहित्यको यात्रा नेपाली भाषी समुदायका निम्ति एउटा समृद्ध र विविध शाखा बनिएको हो । यसमा विभिन्न विधाका रचनाहरू जस्तै- उपन्यास, कथा, निबन्ध, लेख इत्यादि पाइन्छन् । यसले भारतीय नेपाली भाषिक समुदायका जीवन, संस्कृति, सामाजिक परिवेश, तथा उनीहरूको सङ्घर्ष र उपलब्धिहरूलाई प्रस्तुत गर्दछ ।
भारतीय नेपाली गद्य साहित्यको अध्ययनले, विभिन्न युगमा समाजका स्वरूपलाई कसरी प्रतिबिम्बित गरेको छ भन्ने पनि अवलोकन गर्दछ । यो विविधता र गहिराइले भारतीय नेपाली साहित्यलाई समृद्ध बनाएको छ । भारतीय भूमिमा रहेका नेपाली भाषी समाजको साहित्यमा अङ्ग्रेजी औपनिवेशिक कालदेखिनै ठूलो प्रभाव छ । भारतीय नेपाली गद्य साहित्यले नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनलाई मुख्य रूपमा चित्रण गर्दछ । यसमा भारतीय नेपाली भाषिक समुदायका समस्या, अस्तित्वको खोजी, जीवनचर्या तथा आशा आकांक्षाहरू प्रस्तुत गरिएका छन् ।
भारतीय नेपाली साहित्यको एउटा भरपर्दो अध्याय दार्जीलिङसँग छ । स्वतन्त्रतापूर्व अनि पछिका दिनहरूमा दार्जीलिङसँग समाज अनि साहित्य मुख्य संघटन भएर रहेको छ । आजका ऐतिहासिक दस्तावेज अनि अभिव्यक्तिका रूपमा ती संघटन पाइन्छ । दार्जीलिङको भौगोलिक अनि सामाजिक बनोटले देशका अन्य स्थानभन्दा आफ्नो बेग्लै परिचिति दिन्छ । स्वातन्त्र्योत्तर कालका साहित्यिक अभिव्यक्तिहरू समाज अनि साहित्य सँगै बढ्ने प्रक्रिया भएका हुनाले आजको सन्दर्भमा दार्जीलिङको साहित्य महत्त्वपूर्ण देख्न सकिन्छ ।
यसै सन्दर्भमा यहाँका साहित्यिक ऊर्जालाई आफ्नो अभिव्यक्ति बनाएर देखा परेका धेरै साहित्यकारहरू मध्ये, पहिलो कथासंग्रह ‘ठेलमठेलको भीडमा’ (सन् २०१८ ) लिएर देखा परेपछि आफ्ना दोस्रो कथासंग्रह ‘जिन्दगीले कुँदेका कथाहरू’ लिएर कथाकार नूरन राई जुदू दार्जीलिङको गद्य साहित्यमा देखा परेका छन् । उनका कथाहरूका अध्ययन गरिँदा भारतीय नेपाली गद्य साहित्यको सन्दर्भलाई पनि यहाँ जोड्दै यस परिचायिकी तयार हुन जान्छ ।
= = =
भारतीय नेपाली गद्य साहित्यको पृष्ठभूमि
भारतीय नेपाली गद्य साहित्यको पृष्ठभूमिभित्र स्वतन्त्रतापूर्व अनि स्वातन्त्र्योत्तर कालका धेरै पक्षहरू सामुन्ने आउँछन् । स्वतन्त्रतापूर्व कालको, सन् १८९३ मा असमका तुलाचन आलेको ‘मणिपुरको लडाईँको सवाई’, अनि १९ औँ शताब्दीको सुरुवातसँगै, सन् १९०६ मा बनारसबाट छापिएको सदाशिव शर्माको उपन्यास ‘महेन्द्र प्रभा’, सन् १९१५ मा प्रकाशित पद्मनाभ सापकोटाको ‘सूर्यप्रसाद र महारानी प्रियंवदा’, सन् १९१९ मा अनूदित कालेबुङका प्रशमान (पारसमणि) प्रधानका ‘हिरण्यमयी चरित्र’, सन् १९२८ मा खरसाङका प्रतिमानसिंह लामाका ‘महाकाल जासुस’, सन् १९२९ मा नागाल्याण्डबाट धनबहादुर राईका ‘एक थुँगा फूल’, सन् १९३६ मा दार्जीलिङका रुपनारायण सिंहको ‘भ्रमर’, सन् १९३८ मा बनारसबाट काशी बहादुर श्रेष्ठको ‘उषा’ आदि उल्लेखनीय कृतिहरू पाइन्छ । कथाहरूमा- सन् १८९३ मा लेन्सनायक तुलाचन आलेको आख्यापरक कृति ‘मणिपुरको लडाईँको सवाई’बाट शुरू भएको पाइन्छ । सन् १९२७ मा रूपनारायण सिंहको ‘अन्नापूर्णा’, सूर्यविक्रम ज्ञवालीको ‘लाहुरे’ नाममा प्रकाशित ‘देवीको बलि,’ सन् १९३७ मा असमबाट रामप्रसाद ज्ञवालीको ‘कलंक’ आदि हुँदै भारतीय नेपाली गद्य साहित्य तत्कालीन समयसँगै स्वतन्त्रता युगमा प्रवेश गर्दै अघि बढेको पाइन्छ । स्वातन्त्र्योत्तर कालमा, सन् १९४८ मा बबुरबहादुर राणाको ‘सपना या बिपना’, १९५५ मा अच्छा राई ‘रसिक’ को ‘लगन’, १९५७ मा लीलबहादुर क्षत्रीको ‘बसाइँ’, सन् १९५८ मा ‘ब्रह्मपुत्रका छेउछाउ’ आदि पाइन्छ ।
स्वातन्त्र्योत्तर कालका कथाहरूमा हरिप्रसाद ‘गोर्खा’ राईका धेरै कथाहरू सन् १९४९ देखि विभिन्न पत्र-पत्रिकाहरू जस्तै भारती, हाम्रो कथा, गोर्खा, हिमाद्री, प्रभात आदिमा छापिँदै आएका हुन् । यस समयमा हायमनदास राई ‘किरात’ अर्का उल्लेखनीय साहित्यकार हुन् । सन् १९५३ मा किरातका कथा ‘चौकीदार’ प्रकाशित भएको थियो । एम.एम. गुरुङका कथाहरूले दार्जीलिङका विशेष स्वाद लिएर देखा परेका थिए भने सांस्कृतिक स्पर्श भएका निकै गद्य रचनाहरू उनका प्रमुख परिचय बनेर गएको पाइन्छ । यसरी नै निबन्ध क्षेत्रमा, सन् १९०१ मा पादरी गङ्गाप्रसाद प्रधानको ‘गोर्खे खबर कागत’ अनि यसमा छापिएका विभिन्न गद्य रचनाहरूले भारतीय नेपाली गद्य साहित्यको प्रारम्भिक सन्दर्भलाई अघि बढाएको पाइन्छ । पादरी कालबाट शुरू भएका गद्यलेखनले सामान्य व्यवहारिक स्वरूप अनि अनुवादका अंशहरूले विस्तारै कलात्मक स्वरुपतिर लिँदै गरेको पाइन्छ । त्यस कालपछिका गद्यलेखनले भारतीय नेपाली गद्य साहित्यका दह्रिला आधारहरू निर्माण गर्दै अघि बढेको मान्नुपर्ने हुन्छ । भारतको खरसाङबाट पारसमणि प्रधानको सम्पादनमा प्रकाशित हुने ‘चन्द्रिका’मा सन् १९१७ मा बङ्किमचन्द्रको एउटा निबन्ध नेपालीमा अनुवाद गरी ‘जुनकिरी’ शीर्षकमा सम्पादक आफैले मनुष्य खद्योत उपनाममा प्रकाशित गरेका थिए भन्ने तथ्य पाइन्छ । सन् १९२२ मा सूर्यविक्रम ज्ञवालीको ‘जन्मभूमि’, सन् १९२८ मा हैकमसिंह राईको ‘गोर्खा समाजको सुधार’ आदि हुँदै लेखन यात्रा अघि बढेको देख्न सकिन्छ ।
भारतीय नेपाली साहित्यको इतिहासमा पत्र-पत्रिकाको भूमिका महत्त्वपूर्ण रहेको देख्न पाइन्छ । सन् १९१७ मा खरसाङबाट ‘चन्द्रिका’, सन् १९२६ मा देहरादुनबाट ठाकुर चन्दन सिंहको ‘गोर्खा संसार’, सन् १९२८ मा कालेबुङबाट ‘तरुण गोर्खा’, सन् १९३० मा ‘आदर्श’, सन् १९३२ मा दार्जीलिङबाट ‘नेपाली साहित्य सम्मेलन पत्रिका’, सन् १९४१ मा ‘खोजी’, ‘गोर्खा’ आदि पत्र-पत्रिकाहरूले भारतीय नेपाली गद्य लेखनको विकासलाई महत्वपूर्ण योगदान दिएको पाइन्छ ।
स्वातन्त्र्योत्तर कालका सन् १९४९ मा ‘भारती’ पत्रिकामा रूपनारायण सिंहका गद्य रचनाहरू पाइन्छन् भने सन् १९५५ मा अच्छा राई ‘रसिक’ को ‘सप्तकोशी’मा सातवटा गद्य रचनाहरू पाइन्छ । लैनसिंह वाङदेलले धेरैअघि निबन्धहरू लेख्न थाले पनि उनको ‘युरोपको चिठी’ सन् १९५७ तिर प्रकाशित भएको पाइन्छ । त्यसपछि रामकृष्ण शर्माको सन् १९६० मा ‘प्यारो सपना र अन्य लेखहरू’ आदि हुँदै भारतीय नेपाली गद्य साहित्यको यात्राले भरपर्दो गति पक्रेको पाइन्छ ।
इन्द्रबहादुर राई, ईश्वर बल्लभ, र बैरागी काइँलाजस्ता लेखकहरूले तेस्रो आयाम साहित्यिक आन्दोलन आरम्भ गरेपछि स्वातन्त्र्योत्तर नेपाली गद्य साहित्यमा परम्परागत ‘यथार्थवादी’ लेखन शैलीलाई छोडेर जटिल आन्तरिक जीवनलाई प्रतिविम्बित गर्न नयाँ विधिहरू प्रयोग भएको पाइन्छ । दार्जीलिङका नेपाली साहित्यकारहरूले नेपाली भाषालाई भारतका अन्य राष्ट्रिय भाषासरह मान्यता दिलाउन ठुलो सङ्घर्ष गरेका छन् । भाषिक पहिचानको क्षेत्रमा नेपाली गद्य लेखनले धेरै कार्य गरेको पाइन्छ अनि भाषाले प्रदान गरेको त्यस पहिचानलाई समकालीन साहित्यले अझै महत्त्वपूर्ण अवदानहरू प्रदान गर्दै गएको छ । साहित्यमा समाजका विभिन्न मुद्दाहरूसँगै राजनैतिक, सामाजिक, अनि सांस्कृतिक जीवनका विविध पाटाहरू पनि अभिव्यक्त पाइने हुनाले दार्जीलिङका गद्य लेखन पनि ती प्रभावहरूबाट टाडा रहन सकेन । फलत: समकालीन नेपाली गद्य साहित्यमा दार्जीलिङबाट आफ्ना लेखनमा सामूहिक चिनारी, प्रवासी जीवन, यहाँको राजनीति, सामाजिक मुद्दाहरू, आन्तरिक सङ्घर्षहरू, आदिलाई नयाँ दृष्टिकोण साथै विधागत विशिष्टताका साथ प्रस्तुत हुन थालिएको पाइन्छ । यसले नेपाली भाषी समुदायका अनुभवहरूलाई विश्वसामु उत्कृष्ट रूपले चित्रण गर्दै गहराई र विविधताका दृष्टान्तसँगै दार्जीलिङको साहित्यिक सिर्जनाका अवधिलाई विलक्षण समय बनाएर अघि बढेको मान्न सकिन्छ ।
एउटा लामो गद्य साहित्यको यात्रा तय गर्दै वर्तमानमा, सबै सक्रिय कथाकारहरूका नाम लिन सम्भव नरहेपनि केही नामहरू लिनुपर्दा- कालूसिंह रनपहेंली, प्रदिप गुरुङ, सतिश रसाइली, उदय थुलुङ, सन्जय विष्ट, समशेर अली, हरिश मोक्तान, प्रवीण राई जुमेली, युवा बराल, छुदेन काबिमो, सुरज धड्कन, प्रकाश हाङखिम, निरज थापा, मनोज बोगटी, निरङ्कर थापा, रुद्र बराल, ज्ञानबहादुर छेत्री, खड्गराज गिरी, सन्जीब छेत्री, बिनिता छेत्री, सन्ध्या आचार्य प्रभृत्ति कथाकारहरू सक्रिय पाइन्छन् । भारतीय नेपाली कथामा पाइने समकालीन स्वरभित्र- कथाका शैली-कथ्य प्रयोग, शिल्प-संरचना, विषयगत विविधता, अन्तर-विषयक अध्ययन, सांस्कृतिक-अध्ययन, समाज-राजनैतिक चेतना, आदि विषय यी माथि उल्लिखित कथाकारहरूका लेखनमा पाइन्छ । अनि यिनै कथाकारहरूका लहरमा अब नूरन राई ‘जुदू’ को पनि प्रविष्टि भएको देख्न सकिन्छ ।
= = =
कथासंग्रह ‘जिन्दगीले कुँदेका कथाहरू’
इजा प्रकाशन, घूमको प्रस्तुतिमा कथाकार नूरन राई ‘जुदू’ कृत जिन्दगीले कुँदेका कथाहरू कथासंग्रहभित्र जम्मा १८ वटा कथा रहेका छन् । कथासंग्रहको मूल्य २०० सय राखिएको छ । यस पुस्तकको भूमिका साहित्यकार उदय थुलुङले लेखेका छन् । साहित्यले परम्परागत कथाहरू, लोक कथाहरू र मौखिक इतिहासहरूलाई संरक्षण गर्ने माध्यमका रूपमा काम गर्दछ अनि तिनीहरूलाई अघिल्ला पुस्तासामु हस्तान्तरण गर्दछ । परम्परागत कथाहरूको पुनरुत्थान अनि त्यसका आधुनिक व्याख्याहरू आजका नवीन लेखन शैली हो । लेखकहरूले परम्परागत कथाहरूको पुनर्व्याख्या गर्छन् अनि आफ्ना विषयलाई आधुनिक पाठकहरूका लागि सान्दर्भिक बनाउँदछन् ।
यसै सन्दर्भमा, कठपुतलीको मन देखि यता एकान्तवास, अक्षररेखा, ऋतुखेल, घर, भूतको रङ्ग, प्रश्नचिन्ह र च्यातिएका पृष्ठहरू, ऐनाको मेघ, ओइलिएको सूर्यमुखी, अस्ताचलतिर, १९८६ साल, जूनजस्तै घाम, सुन पसिना र ह्यङ्गमेनको चिठ्ठी, पराकम्पन, हिमफेदिका कथाहरू, माटाको घर, लाइफ अफ बटरफ्लाई प्रभृत्ति कथा संग्रहहरू वर्तमान भारतीय नेपाली गद्य साहित्यका अभिप्राप्ति हुन् ।
स्वतन्त्रतापूर्वकालीन गद्य साहित्यमा मुख्यतः स्वतन्त्रता सङ्घर्ष, राष्ट्रवादी भावना, सामाजिक सुधार अनि सांस्कृतिक पहिचान जस्ता विषयवस्तुहरू समेटिएका थिए । यस कालका गद्यले प्रायः ब्रिटिश शासनअन्तर्गत भएको दमन र स्वतन्त्रता प्राप्तिको आकांक्षा प्रकट गर्थ्यो । तथापि नेपाली गद्य साहित्यले आफ्ना विषयहरूमा सामाजिकता अनि सांस्कृतिक पक्षलाई नै प्रधानता दिएको पाइन्छ । यस कालका शैलीमा परम्परागत कथा, मौखिक श्रुति, र आदर्शवादको प्रभाव पाइन्छ । लेखकहरूले नैतिक मूल्य र आदर्शलाई महत्त्व दिएर आफ्ना कलम चलाएका थिए । भारत स्वाधीन हुनअघि नै नेपाली साहित्यमा आधुनिक कालको प्रवेश भइसकेको हुनाले लेखनको वैचारिकता अनि अभिव्यक्तिमा तत्कालीन दार्जीलिङले भारतीय नेपाली साहित्यको मूल स्थान भएर बसेको पाइन्छ ।
भारतीय नेपाली साहित्यका आजका दह्रिला कथाकार उदय थुलुङले यस कथासंग्रहको भूमिकामा कथाकार नूरन राई ‘जुदू’ लाई स्थापित गर्दै लेखेका छन्- ‘संग्रहका कथाहरू सरल छन्, आकारमा केही छोटा पनि । पात्रहरू भरमार छैनन् तर कथाले उठान गरेका विषयवस्तु अत्यन्त संवेदनशील छन् । एकएक कथाहरूले उद्देश्य बोकेका, लाक्षणिक र कौतुहल पनि भएका छन् । कथा पढ्दा पाठकलाई बीचमै छोडुँ नलाग्ने, आधुनिक कथाको ढाँचा समाएका कथाहरू नूरन राई ‘जुदू’ का अघिदेखि कै अभ्यासरत्, साधनारत् र लगनशीलताका उपलब्धिहरू हुन् । उनी भारतीय नेपाली साहित्यका एक प्रतिनिधि कथाकार हुन् । ‘जिन्दगीले कुँदेका कथाहरू’ उनका श्रेष्ठ कथा सिर्जना हुन् । नि:सन्देह ।’
नूरन राईका कथाहरू सामाजिक, यथार्थवादी, प्रणय अनुरागसहित मनोवैज्ञानिक विषयवस्तुमा बुनिएका कथाहरू, मार्मिकता र मनोहारिताको प्राचूर्यता आदि भएका पाइन्छन् । कथा संग्रह सरल छ । कथाहरू छोटा अनि मिलेका छन् । विषयवस्तु अनि कथानकको संवेदनशीलता गहिरो छ । कथा संग्रहभित्र जम्मा १८ वटा लामा-छोटा कथाहरू छन् । कथाक्रम हेर्दा विषय अनि कथानकको बुनोटमा विविधता पाइन्छ । उनका कथाहरू यस प्रकार छन्-
| १. पूर्वाग्रह | ७. आघात | १५. सपनाको घर |
| २. मनको चोट | ८. सरौ | १६. प्रेमोपहार |
| ३. जुलुस | ९. आई० एम० ओके० भाग-१ | १७. चुडेल |
| ४. उन्मुक्तिको बिकल्पतिर | १०. आई० एम० ओके० भाग-२ | १८. कार्गिल बडा । |
| ५. मेहेरमान बुडा | ११. आई० एम० ओके० भाग- ३ | १५. सपनाको घर |
| ६. मरेको मान्छे | १२. जीवन रीत | १६. प्रेमोपहार |
कथा संग्रहहरूलाई परिचयात्मक चर्चामा समावेश गर्दा निम्न अनूभागहरू यसलाई राखिएको छ ।
= = =
कथाकारका विषयवस्तु
कथासंग्रहभित्र विषयवस्तु भिन्नाभिन्नै भए तापनि उनको कथा लेखनको धरातल सामाजिक नै रहेको भेटिन्छ । विषयवस्तु आजका सन्दर्भका धेरै छन् । मानव सम्बन्ध अनि यसबाट देखा परेका विविध समस्या अनि द्वन्द्व आजका साहित्य लेखनले आविष्कार गरेका विषयवस्तुहरू हुन् । यस अर्थमा, उनका कथाहरूका विषयवस्तु सामाजिक हुँदाहुँदै पनि चरित्र चयन अनि घटना निर्माणका दृष्टिकोणले केही मनोवैज्ञानिक अनि त्यो मनोवैज्ञानिकताभित्र लैङ्गिक सम्बन्ध (gender relation) पनि रहेको भेटिन्छ । कथा संग्रहबाट ‘उन्मुक्तिको बिकल्पतिर’ शीर्षक कथालाई यसका उदाहरणका रूपमा राख्न सकिन्छ । ‘जीवन-रित’ कथामा वैवाहिक जीवनमा आउने ईर्ष्या, वाध्यता, विवशता, यथार्थता देखाइएको छ । आफ्ना सन्तान छोरा-छोरीमा उत्कृष्ट को हुन् सक्छ ? भन्ने प्रश्नमा कथाकारले मस्तिष्कमा चलेको द्वन्द्व अनि परिणतिको चर्चा गरेका छन् ।
‘आई० एम० ओके०’ भाग- १, २, ३ कथाहरूभित्र वर्तमान युगको मोबाइल सञ्चार अनि यसको प्रयोगबारे चर्चा भेटिन्छ । कथा ‘आघात’मा प्रेम सम्बन्धको राम्रो प्रयोग भेटिन्छ । एउटा पात्रले आफ्नो जीवनको उत्कर्ष अनि सन्ध्या अनुभव गरेको घटना यसभित्र पाइन्छ । जीवनमा बाँधेका कुरा अनि फुकाएका कुरा समय अनि परिस्थितिमा कसरी कुन रूपमा मानिसको अघि आघात भएर आउँछ त्यो कुरा यहाँ देखाइएको छ ।
‘मेहेरमान बुडा’ कथाभित्र एउटा पात्रको विवशता अनि जीवनका ठोक्करहरूलाई साह्रै राम्रो ढङ्गले बुनिएको छ । ‘मरेको मान्छे’, एउटा उत्कृष्ट कथा हो, जसभित्र एउटा पात्रको जीवनमा कानुन, परिवारको प्रसङ्ग अनि गोर्खाल्याण्ड आन्दोलनका अर्को पाटोलाई दर्शाएको पाइन्छ । भारतीय नेपाली साहित्यको मर्म नै समाज-राजनैतिक चेतना हो । यसको उत्कृष्ट प्रयोग अर्को कथा कार्गिल बडा-भित्र गरिएको छ । यातना, सङ्घर्ष, छलछाम, विवशता अनि आक्रोश यहाँ कथाकारले देखाएका भेटिन्छन् । भारतीय सन्दर्भमा समाज-राजनैतिक अभिव्यक्तिको सार नै छुट्टै राज्य गोर्खाल्याण्डको माग हो । यसै मागको सन्दर्भ जुलुस कथाभित्र परिलक्षित भएको भेटिन्छ ।
= = =
कथाकारका पात्र चयन
कथाकार कहिलेकाहिँ मनोवैज्ञानिक अनि फेरि त्यस मनोविज्ञानभित्र विपरित लैङ्गिक आकर्षणको अभिव्यक्ति पनि देखाउन खप्पिस देखिन्छन् । मानिसको जीवनमा आइरहेका अनि युग सुहाउँदो समयले भन्न सघाएका केही नारी-पुरुष सम्बन्धका तिता-मिठा अनुभवका कुराहरू पनि उनका कथाहरूमा भेटिन्छन् । नागरीय जीवन अनि पुरुष-नारी सम्बन्ध आधुनिक मनोविज्ञानका अध्ययनका पन्नाहरू हुन् । यसको उनले भरपूर फाइदा उठाएका छन् । व्याभिचार(adultary), परसम्बन्ध (illicit relation), रति (lust) आदि जस्ता पक्षहरूलाई आधुनिक मनोविज्ञानका क्षेत्रअन्तर्गत यौन मनोविज्ञानभित्र राख्दै हेरिने गरिएको भए तापनि यी विषयहरू अत्याधुनिक पदावली अनि अभ्यास (ultra modern term and practices) भित्र देखिँदै आइरहेको हो । कथा संग्रहबाट औंशीको त्यो कालो रात कथा एउटा उदाहरणको रूपमा राख्न सकिन्छ । यसभित्र बाल यौन शोषणको चर्चा छ । यौन अपराध छ ।
मनको चोट कथामा पात्र-पात्रा बीचको सौन्दर्य, प्रेम, माया, आकर्षण सँगसँगै यौवनको रतिराग अनि यसको विकासको उल्लेख छ । वैवाहिक, पारिवारिक सम्बन्धबाहेक समाजमा वर्जित वृत्ति (incest taboo)-को रूपमा देखिएको परसम्बन्ध अर्थात् दोस्रो विवाहबारे खुलेर चर्चा गरिएको छ । साथै युवा अवस्थामा हुने गरेका जिज्ञासा, साहस अनि असहजता जस्ता कुराहरूको खुल्ला चर्चा पनि भेटिन्छन् । रतिभित्र कामुकताले सौन्दर्यलाई गौण पाउँछ तर परितुष्टि प्रमुख रहन्छ । सपनाको घर कथामा प्रयोग यस्तै भेटिन्छ । कथाकारले अश्लिलता र नग्नतालाई सकुशल पर्दापछि राखेका छन् । कथाकारका केही पात्र-पात्रा घाँस दाउरा गर्ने, मजेत्रो ओड्ने, रक्सी खाने मात्ने, जस्ता सामान्य पृष्ठभूमिका रहेका पनि पाइन्छ । पात्र-पात्रालाई आफ्ना कथानकसँग अघि बढाउँदै ‘म’ पात्रको प्रयोग उनले धेरै कथाहरूमा गरेका भेटिन्छन् ।
===
कथाकारको भाषा शैली
कथाकारको भाषा शैलीनै कथाको उन्नत प्रचार हो । भाषा शैलीको माध्यमद्वारा कथालाई उत्कृष्ट अध्ययनभित्र समेट्न सकिन्छ । नूरन राई ‘जुदू’-का सरल तर मनलाई खिँची राख्ने एउटा अद्भूत आकर्षण यस कथा संग्रहभित्र व्याप्त देखिन्छ । शब्द चयन साधारण छ, क्लिष्ट भाषा शैली र शब्दको अचाहिँदो बोझ उनले पाठकलाई बोकाएका छैनन् बरु उनका भाषा सामान्य पाठकलाई सहजता दिने सरल भेटिन्छ । ठाउँ-ठाउँमा अङ्ग्रेजी शब्दहरूका प्रयोग पनि सन्दर्भ मिलाएर उपयुक्त ढङ्गले गरिएका भेटिन्छन् ।
कथाकारको उद्देश्य
कथाका तत्त्वहरू मध्ये उद्देश्य पनि एउटा तत्त्व हो । यस अध्ययनभित्र कथा संग्रहभित्रका कथाहरूका तत्त्वगत विवेचना नभएर सामान्य चर्चा गरिएको छ । यसैले कथा संग्रहभित्रका कथाहरूलाई प्राय: एकै दृष्टिकोणभित्र राखेर हेर्न सकिन्छ । यद्यपि, कथा वस्तु चयन अनि वर्णित घटनाहरूको राम्रो तालमेलले कथाको गतिलाई एकै उद्देश्यमा ठेलेको भने भेटिन्न ।
विषयवस्तु, घटना, पात्र-पात्रा आदिहरूका विकासक्रमले कथाहरूका उद्देश्य एवम् परिणति विभिन्न समस्या र मुद्दाहरूलाई स्पर्श गर्दै अघि बढाउने प्रकारका छन् । कथाहरूका स्तर अनि यहाँ प्रयोग गरिएका वातावरण, स्थान अनि समयलाई नियाल्दा कथाकारको कथागत उद्देश्य विविध छन् । भारतीय नेपाली गद्य साहित्यभित्र, समकालीन नेपाली गद्य साहित्यले विभिन्न जात-जाति, भाषा र परम्परालाई समेट्दै देशको सांस्कृतिक विविधतालाई झल्काउँछ । अन्तर-जातीय आख्यान, अन्तर-सांस्कृतिक कथा (क्रसकल्चरल स्टोरीज), साथै लेखकहरूले विभिन्न जातीय समूहहरूबीचको अन्तरक्रिया र सम्बन्धको अन्वेषण गर्ने कथाहरू लेखेका पाइन्छन् । भाषा र पहिचानका क्षेत्रमा धेरै लेखकहरूले स्थानीय भाषाहरूका शब्दहरू प्रयोग गरेका पाइन्छन् अनि यसले उनीहरूको सांस्कृतिक पहिचान र अनुभवहरू प्रतिबिम्बित भइरहेको पनि पाइन्छ ।
===
निष्कर्ष
कथा संग्रह जिन्दगीले कुँदेका कथाहरू भित्रका कथाहरूलाई यतिको सूक्ष्म अध्ययन अन्याय हुन्छ । यही नै निष्कर्ष हो । यद्यपि, दार्जीलिङका नेपाली साहित्यका उपलब्धिका चर्चा सामु यहाँको साहित्य भण्डारमा थपिएको यस नवीन कृतिले एउटा खुड्किलो थपेको छ । समकालीन भारतीय आख्यान परम्पराभित्र एउटा दह्रिलो विषयवस्तु, घटना, पात्र-पात्रा, वैचारिकी आदि जस्ता पक्षहरूलाई प्रस्तुत गर्ने भरपूर प्रयास भारतीय नेपाली साहित्यले गरिरहेको छ । यसै प्रसङ्गमा नूरन राई ‘जुदू’-कृत कथा संग्रह जिन्दगीले कुँदेका कथाहरू एउटा नमुनाका रूपमा राख्न सकिन्छ । समयसँगै खारिएका उनका कथाहरूले मानव जीवनका विविध पक्षहरूलाई समेटेका छन् साथै विविधता प्रदान गर्ने भरपूर प्रयास पनि गरेका छन् । भविष्यमा यस कथासंग्रहले शोधार्थी, अध्येता अनि पाठकहरूका वर्गगत् आवश्यकतालाई परिपूर्ति गरिदिनेछ भन्ने आशय व्यक्त गर्दै दार्जीलिङका कथाकार नूरन राई ‘जुदू’-लाई आफ्नो लेखन यात्राको निम्ति शुभकामना दिनुपर्ने हुन्छ ।
कथाकार नूरन राई ‘जुदू’ उनका अघिल्लो कथासंग्रहमा भन्दा यस संग्रहसम्म आइपुग्दा निक्कै माझिएका देखिन्छन्, यो स्वीकार्नुपर्छ । यद्यपि, साहित्य लेखनका असिमित अभ्यासमा उनले आफैलाई अझ परिष्कृत गर्न सक्ने अवसर अनि सम्भावना पनि उत्तिकै प्रसस्त रहेका छन् । उनलाई पुन: अर्को कृतिसम्म आइपुग्दा पाठकले अझ धेरै आख्यान कौशल अनि शिल्पले भरिएका परिष्कृत स्रष्टाका रूपमा आविष्कार गर्न पाउनेछन् भन्ने आशा गर्न सकिन्छ ।
अभाव अनि अपुग संसारका सबै क्षेत्रमा हुन्छन् । भारतीय नेपाली भाषी समुदायका साहित्यमा पनि धेरै ठूलाठूला पर्खाल अनि त्यसमा गहिरा चर्किएका प्वाँल-दागहरू छन् । त्यसलाई सामुहिक उन्नति अनि प्रगतिका सकारात्मक उर्जाले सपार्दै अघि लानुपर्ने आजको अवस्था छ । यस सन्दर्भसँग, क्यानाडीएन कवि, उपन्यासकार, गीतकार Leonard Cohen को Anthem शीर्षकमा रहेको एउटा गीतको अंश यहाँ उदृत गर्न प्रासङ्गिक पाइन्छ । उनको गीतको अंश यस्तो छ-
‘Ring the bells that still can ring
Forget your perfect offering
There is a crack, a crack in everything
That’s how the light gets in
That’s how the lights get in.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










