“यह सबसे बड़ा देवत्व है, कि

तुम पुरुषार्थ करते  मनुष्य हो

और मैं स्वरूप पाती मृत्तिका ।”

माथिको कवितांश हिन्दी साहित्यकार नरेश मेहताको ‘मृत्तिका’ शीर्षक कविताको हो । उनले यस कविताका माध्यमबाट  सामान्य माटोको टुक्रालाई आफ्नो कर्म र पुरुषार्थले चिन्मय शक्तिमा परिवर्तन गर्न सक्छ र उसलाई देवत्व रूप प्रदान गर्न  सक्छ । लेखकले ‘एक मात्र मनुष्यले’ भन्ने सन्देश दिन खोजेका छन् ।

यी हरफहरूलाई स्मरण गर्दै यस घरी म असमका कवि, कथाकार, गीतकार मोहन सुवेदीको कविता कृति ‘सुगन्धी माटो´मा गाभिएका कविताहरूको सुवास लिने प्रयास गर्दैछु ।  कत्तिको सुगन्धित छन्  ‘सुगन्धी माटो’ का कविताहरू ? आउनुहोस् त्यसको चिरफार गरौं ।

कवि सुवेदी लेख्छन्, “आफ्ना कविताहरूको बारेमा मेरो भन्नू केही छैन, त्यो पाठकको रुचि र आग्रहको कुरा हो । तर कुनै पनि कविता अथवा कवितांशले पाठकको मनलाई आन्दोलित गर्न सक्षम भयो भने त्यसलाई आफ्नो  सफलता ठान्नेछु ।”

यस क्षेत्रमा उनी असफल भए जस्तो  मलाई लागेको छैन । उनका कविताहरूले मेरो मस्तिष्कमा सधैँ एउटा मृदु कम्पन गरिरहेका थिए र त्यही कम्पन आज शब्द बनेर निस्किए ।

‘सुगन्धी माटो’मा लामा छोटा गरेर मोठ ५२ वटा कविता समाविष्ट छन् । ‘कविता अर्थात्’ बाट शुरू भएको कृति ‘प्रियपाठक’ मा टुङ्गिएको छ ।  कृतिको प्रकाशक ‘सुवेदी प्रकाशन’ रहेको छ भने कृति प्रकाशनमा ल्याउने कार्य पूर्वायण प्रकाशन गुवाहाटी असमले गरेको छ ।  कृतिको मोल  २०० तोकिएको छ ।

० ० ०

विषय प्रवेश :

 

एक जना लेखकले लेखेका थिए –

“सबै कविता नबुझेकै राम्रो

बुझ्यो भने कविता

कविता भइरहँदैनन्

कवितालाई बुझ्न् मौनता चाहिन्छ

अनि मौनता पनि एउटा साधना हो ।”

शिल्पले सजिएका, बिम्ब र प्रतीकले भरिएका   ‘सुगन्धी माटो’का प्रायजसो कविता सरस, सुबोध छन् भने कुनै कुनै  कविताको बौद्धिकता धेरै उच्च रहेको देखिन्छ र कविताहरू पाठकीय वैचारिकतामा गएर अड्किएका देखिन्छन् ।

कविताले  साधुको सज्जनता वर्णन गर्छ भने मूर्खको मूर्खता, प्रकृतिको कोमलता अथवा प्रकोपता पनि वर्णन गर्दछ ।  मुखौटो भिरेर असली पुरुष बनेर हिँड्नेहरूको कुअभिप्राय उतार्छ भने कुनै निर्दोषीलाई न्याय दिलाउन पनि तत्पर हुन्छ कविता ।  कविताले भुक्तभोगीको मर्म छाम्छ भने अत्याचारीलाई सर्प भई  डस्न पनि पुग्छ । कविको कलम र त्यो कलमको मसीको एक एक थोपाबाट निस्केका शब्दहरूको  अपार शक्ति बारे उनी यसरी भन्छन् –

“कविता जब तिम्रो नजिक हुनेछ

नआत्तिनु

बरु सुमसुम्याइदिनु कोमल हत्केलाले

नभए नङार्न बेर छैन

उसका तीखा दाँतहरूले

जसको कुनै औषधि निस्किएकै छैन”

– ‘कविता  अर्थात्’

 

प्रत्येक बिहान घामका ज्योतिले उज्यालो चारैतिर छर्छ । त्यही ज्योतिले हरेक शहर, प्रत्येक  गल्ली उज्याला हुन्छन् । घामको ज्योति धर्तीमा परेपछि सारा चराचर व्यस्त हुन्छ आआफ्नो कर्ममा । दिउँसो सुन्दर देखिएका सडकहरू राति सुनसान हुन्छन् र त्यही सुनसान सडकहरूमा कालरूपी बाघ लुकेर बसेको हुन्छ दिनभरि आहार खोजेर घर फर्किँदै गरेका हरिनलाई भोग गर्न । बिहानका घामसित लुकामारी खोल्दै निस्केका पुतलीहरूका पखेटा उखेल्न । हो ! हिजोआज मानिसले द्वैत रूप लिएर हिँडेका हुन्छन् जसलाई अङ्ग्रेजीमा ‘ड्वेल नेचर’ भनिन्छ । मानिसले आफ्नो नक्कली रूप ढाकेर सक्कली देखाएको हुन्छ  र  सरल मनका मानिसले उसको प्रकृत रूप  चिन्न सक्तैन । आजभोलि मित्र बनेर घाउमा मलम लगाउनेहरू ताल परे त्यही घाउमा नून छर्न पनि पछि हट्दैनन् । मानिसको यो  द्वैत रूपलाई कवि सुवेदीले यसरी अभिव्यक्त गरेका छन् _

“बेलुकी फर्किन्छ जब

सुनसान हुन्छन् सहर र गल्लीहरू

चिनिँदैन कसैको पनि अनुहार कसैगरी

लुकेर बस्दछ पहाडको पल्लो कुनामा

बारम्बार निल्न आँटेको अटेरी बादल

दर्किन्छ देहभरि ठोक्किँदै

जुन ठाउँमा कुद्दै थियो घाम ।”

– ‘घाम’

शिल्प र बिम्बले कवितालाई चुल्याए पनि  त्यसमा व्यङ्ग्यात्मक रङ पोत्न चुकेका छैनन् कवि सुवेदी । आफ्नो अस्तित्व गुमाएर अर्काको चम्चागिरी गर्ने चेला चम्पाहरूप्रति दह्रो झटारो हान्दै उनी यसरी लेख्छन् _

“रमाउँदै आउँछन्  हजारौँ झिँगाहरू

आजको उत्सव  हुनेछ सिङ्गो मृत देहमाथि

नृत्यगीत, चुस्कीको अनन्त मादकता

नाच्दै पुग्छन् त्यस ठाउँमा उत्सव मनाउन”

– झिँगाहरू

यद्यपि उनले यस कवितामा चेलाचम्चाहरूको धुपौरे प्रवृत्तिलाई  मात्रै  घिसारेका छैनन् , शासक र दमन नीति अपनाउने अमानवीय प्रवृत्तिलाई दर्शाउन उनले  बाघलाई बिम्ब बनाएका छन् । कुकुरलाई शोषित वर्गको प्रतीकको रूपमा उभ्याएका छन्  र झिँगारूपी प्रवृत्ति भएका मानिस जो अर्कालाई चुसेर मज्जा लुट्छ त्यस्तो लुच्चो प्रवृत्तिमाथि दह्रो व्यङ्ग्य कसेका छन् । यो कवितामा बिम्बात्मक रूपमा  प्रयोग भएका शब्द जस्तै बाघ, झिँगा र कुकुरले शासक, शोषक र शोषित वर्गको प्रतिनिधित्व गरेजस्तो भान हुन्छ । अङ्ग्रेज शासनको दमन नीति र  सर्वहारा समाजको झझल्को पाइन्छ । कविताको अन्तिम हरफले पाठक वर्गका अक्कली-सक्कली दुवै आँखा उघार्छ । अवश्य यो पाठकको एउटा दृष्टिकोण मात्र हो । विभिन्न दृष्टिकोणबाट हेर्नु हो भने  तत्कालीन समयमा विभिन्न परिवेशसित तुलना गरेर भिन्न अर्थ खुलाउन सकिन्छ । कवितामा गरिएको कलात्मक व्यङ्ग्यले कविताको चमत्कारिता बढाएको छ ।

‘सुगन्धी माटो’ मा कतै भोक रोएको छ भने कतै मङ्सिर रमाएको छ । कतै  पूँजीवादको दर्के झरीमा बेस्सरी भिजेर मुसो भएको छ सोझो निमुखो मित्रता । कही धन्यधान्य गोठ छ त कतै दुःखको प्रकोप छ ।  कहिले कवि कृषकको मर्म छाम्न पुगेका छन् भने कहिले पृथ्वीबाट द्वेष-द्वन्द्व निर्मूलको कामना गरेका छन् । उनका कुनै कविता पिताको स्नेहमा रुझेका छन् र कुनै जननीप्रति समर्पित छन् ।

हाम्रो  समाज-संस्कृतिले पितालाई भगवान भन्दा बढी मान्दछ । हो पनि, पिताको योगदान सन्तानप्रति असीम हुन्छ । त्यसैले त वेद पुराणमा पनि पितालाई  भगवान जत्तिकै  मानेको  पाइन् । हो, पिता त्यो गुरु हुन्  जसले सन्तानलाई सही बाटो देखाउँछन् र उनीहरूको उत्तरोत्तर कामना गर्दछन् ।

पिताभित्र छिपेको दैवत्वको उपासना गर्दै उनी यसरी भन्छन्-

“मैले समात्न नसकेको

न्यानोपन

मैले नाप्न नसकेको

उच्चता

मैले अँगाल्न नसकेको

विशालता

सागरमा नअटाएका आँखाहरू

ऊ मेरा अति नै आत्मीय  बाबु !”

– बाबु

युरोपका प्रख्यात कवि सेमुअल टेलर कलरिजले पनि कविको कल्पनाशक्तिलाई विशेष महत्व दिँदै कुनै पनि काव्य सिर्जना कविको कल्पनाबाटै हुन्छ भन्दै कल्पनालाई काव्यको आत्मा मानेका छन् ।  ‘सुगन्धी माटो’ मा  कवि सुवेदीको कल्पनाको उडान तीव्र छ, अनुभवको रङ प्रखर छ ।

असमेली नेपालीहरूलाई पटकपटक आइपरेको समस्या, चाहे त्यो बीसौं शताब्दीको असीको दशकको ‘असम आन्दोलन’ को बेलाको होस् या एक्काइसौँ शताब्दीको एन.आर.सी को समस्या होस्, यस्ता  समस्या विभिन्न  समयमा असमेली नेपालीमाथि  आइपरेको कुरा हामीलाई थाहा छ । युगौँदेखि असम भूमिमै बसोबास गर्दैआएका, देश तथा समाजको निम्ति बलिदान दिएका गोर्खालीहरूलाई  जब उनीहरू रैथाने हुन् होइनन् भनेर पटकपटक  सोधिन्छ र उनीहरूको अस्तित्व र पहिचान खोतलेर उनीहरूलाई  प्रश्नचिह्नको कठघराभित्र खडा गरिन्छ तब  मन हाहाकार गर्छ र त्यो हाहाकार आक्रोशका शब्द भएर यसरी पोखिन्छ-

“भेट हुनेबित्तिकै प्रायः प्रत्येक जनाले

सोध्ने गर्छन् ‘तँ को होस ?’

अनि  मेरो जवाफ हुन्छ, ‘म त अमुक हुँ’

‘कहाँबाट आएको, घर कहाँ हो ?’

अनि म सबैलाई खोतलेर देखाउन थाल्छु,

मेरो जन्म र मृत्युको सुदीर्घ इतिहासको भूगोल ।”

– सुगन्धी माटो

जातीय चेतले सचेत कवि आफ्नो अस्मिताको परिचय दिँदै यसरी भन्छन् –

“कसरी भन्यौँ कि

म कसैको होइन, कहीँको होइन

तर सबैको हुँ, सबै ठाउँको हुँ

पैतालाहरू उभिएको ठाउँ मेरो हो

मैले हाँसेको ठाउँ मेरो हो

मैले रोएको गाउँ मेरो हो ।”

– सुगन्धी माटो

हिजोआज होडबाजी छ, नाउँ र प्रगतिको चाहनामा मानिस दगुरेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा मानिस जतिजति उन्नतिको शिखर चढ्दै छ, त्यति त्यति मानिसको मनबाट मानवता हराउँदै गएको छ । आज जता हेर्‍यो उतै हिंसा, धर्मको नाउँमा विभेद फैलिएको छ । बिस्तारै मानिस एकाअर्कादेखि टाढा हुँदै छ । तत्कालीन परिवेशमा सबैभन्दा चर्किएको विषय हो मानव भूगोल र सबैभन्दा उपेक्षित विषय पनि यही नै हो । परिवेश प्रदूषण भन्नेसाथ हामी नदी-नाला, हावापानी, माटो आदिका कुरा गर्छौं, सचेत हुन्छौँ र समाजमा सचेतता ल्याउन भरसक प्रयास गर्छौं तर त्यही पर्यावरणको एउटा अभिन्न र सबैभन्दा महत्त्वपूर्ण अङ्ग मानव पर्यावरणको कुरा सोच्दै सोच्दैनौँ । मानव पर्यावरणप्रति सचेत कवि सुवेदीले यसरी भनेका छन् –

“बड्दै छ दूरत्व मानिसको बिच

बाँच्नाका लागि प्रेमहीन यन्त्रणा

कति टाढासम्म कुदाउँछ स्वयंलाई

खुबै अप्रासङ्गिक कल्पित ईश्वर पनि ।”

 

“रोक्कियो एक्कासि हावा-पानीको गति

पैतालाका शब्दहरू, मन्दिर मस्जिद र गिर्जाघरको द्वार

अनाम आघातको बोझले सचेत छ

समग्र देश, मानिस माटो  र माया ।”

– बिरामी पृथ्वी

छुट्टै मादकता हुन्छ बिम्ब र शिल्पले सजिएका कवितामा । नयाँ बिम्ब प्रयोगमा खप्पिस कवि सुवेदीले यस कृतिमा मानवेतर प्राणीलाई समेत बिम्बको रूपमा प्रयोग गरेका छन् । उनको कलमबाट न झिँगा उम्किएका छन् न मुसा फुत्किएका छन् । अझ उनका कवितामा ‘चमेरो’ बिम्ब भएर झुन्डिएको छ भने ‘भित्ति’हरू घरका भित्तामा दगुरेका छन् ।

“मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ

चबाइरहन्छ, अनवरत उसका तीखा दाँतहरूले

नयाँ कम्बल, कोठाभित्रका कागजहरू, दाल चामलहरू

पुस्तकका पानाहरू पत्रिकाका रङ्गिन पृष्ठहरू

मलाई डर लाग्न थालेको छ

इतिहासको सिङ्गो पातो उसले निल्नै आँटेको छ ।”

– मुसो

मुसोरूपी अनाम भय जसले हाम्रो इतिहास, हाम्रो अस्तित्व निल्न आँटेको अनुमान गर्दै, जातिको हितको निम्ति अरूलाई सचेत तत्पर छन् कवि ।

‘सुगन्धी माटो’मा जातीय, राष्ट्रिय  तथा देशप्रेमको भावना साथसाथै भरपूर मात्रामा प्रकृति प्रेमको अभिव्यञ्जना पाइन्छ । सुवेदीका कविताहरूमा ग्रामीण परिवेश स्वच्छन्द रूपमा छल्किएको पाइन्छ । उनले आफ्ना हातले कृषकको मुटुको व्यथा छामेका छन् भने चिया कमानमा चियाका हरिया बुटासितै हुर्केका मजदूरहरूका अकथित वेदनाहरू पनि  पोखेका छन् ।

अङ्ग्रेजले जब असममा चिया बगानहरू बसाए र त्यी बगानको हेरचाह गर्न धेरै मजदूर झारखण्ड, छत्तीस गड, ओडिसा आदि अञ्चलबाट ल्याए । त्यी मजदूरहरू असम आएर अङ्ग्रेजकै चियाकमानमा मजदूरी गर्न थाले । समयको साथसाथै उनीहरू चिया बगानका अभिन्न अङ्ग बन्नपुगे । न उनीहरूलाई  आफ्नो अतीत थाहा छ न भविष्य । त्यस्तै एउटा  चिया बगानको मजदूरको पीडा कविले यसरी व्यक्त गरेका छन् –

“जन्मदिनको तारिख थाहा छैन उसलाई

जुन दिन बाक्लो झरी परेको थियो रातभरि

अनि उम्रिएका थिए चियाका नयाँ पालुवाहरू

जुठेल्नोको छेउमा आमाको प्रसव वेदना

कालो रङको छोरो पाएर हाँस्यो उसको अनुहार

हात मुसार्दै उसका बाबुको सज्जल

भोलिपल्ट सात नं लाइनमा थियो ठुलो भिड

हाडियासित मुछिएको रङ्गिन मादकता

त्यसरी नै हुर्कियो बुधु, लछ्मी मङ्लुहरू

चियाका बोटहरूसित टाँस्सिदै विचित्र ।”

– उसको जन्मदिनमा

कलघरको साइरनको तिखो शब्दले थिचेको जनजीवले जान्दैन आफ्नो जन्मकथा, जान्दैन आफ्नो अतीत । त्यस्तै बुधुवा, बिर्सा, मङ्ग्लुको व्यवस्थालाई आत्मसात गर्दागर्दै कविले ‘हाडिया’ शब्दको नेपालीकरण गर्न बिर्सेछन् ।

‘हाडिया’ साद्री भाषाको शब्द हो ।  उनीहरू जाँड अर्थात् चामलमा मर्चा मिसाएर बनाएको एक किसिमको रक्सीलाई ‘हाडिया’ भन्छन् । हामी असमेली नेपालीहरू यो शब्दसित एकात्मा छौँ र सहजै अर्थ ठम्याउन सक्छौँ । तर हाम्रो राज्य बाहिरका नेपालीहरूले अलिकति घोत्लिनुपर्छ । तर यो शब्दको प्रयोगले कवितालाई रत्तीभर पनि बिथोलेको छैन । अझ ‘हाडिया’ शब्दले कवितामा पूर्णता ल्याएको छ । कविताको माध्यमबाट कलघरका लाइनहरूमा हुर्केका  आदिवासीहरूको जनजीवन टड्कारो देखाउन सफल भएका छन् कवि ।

नेपालीमा एउटा भनाइ छ- “आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई ।” हाम्रो सनातन धर्ममा  युगौँदेखि पूर्वजहरूले आफ्नो हर्ष-उल्लास, प्रकृतिपूजन अथवा अन्य सामाजिक कार्यहरू चाडपर्व र उत्सवले झल्काउने गर्दै आएका छन् । साउनमा नागपञ्चमीदेखि शुर भएका चाडपर्वहरू फागुनको वसन्तपञ्चमीसम्म चलिरहन्छन् । एउटालाई जसोतसो पन्छायो अर्को पर्व ढोकानेर हुन्छ । धनीहरूको निम्ति दशैंले हर्षोल्लास ल्याउँछ भने सर्वसाधारण मानिसको पिठ्यूँको हाडै भाँचेर जान्छ त्यसैले दशैं अरूको निम्ति चाड भए पनि गरीबको निम्ति दशा हो भनेर भनेको पाइन्छ । ‍

बाढीले निलेको एउटा साधारण गाउँको दयनीय परिवेश र चाडपर्व आउँदा भएको खर्चको त्रासदी कविले हृदयङ्गम  गर्दै उनीहरूको दुखेसो यसरी व्यक्त गरेका छन् ।

“दसैँ तँ नआइज यसपालि

नयाँ लुगा सिलाएर

रङ्गिन चस्मा लगाएर

घोडामाथि चढेर

र हात्तीमा फर्किजाने गरेर

पानी छ यता हुँदो

न उकालो न उरालो

सडकहरू भत्किएर

मात्र रातमाटे पिरलो छ ।”

दसैँ

कवि फेरि साहुको ऋणले पिठ्यूँ भाँचिएको गरीबको मार्मिक स्थिति बयान गर्दै भन्छन्

“नआइज दसैँ यसपालि

खसीहरू काटेर

परेवाहरू रेटेर

साहुको व्याजमा मुछिएर

भएभरको ऋणले लुछिएर ।”

– दसैँ

‘सुगन्धी माटो’ मा समावेश भएका प्रायजसो कविता  सहज, सरल र स्वाभाविक शब्दहरूको प्रयोग गरी मुक्त छन्दमा लेखिएका छन् । कतिपय कविता देख्दा र पढ्दा जति सरल छन्  भने बुझ्न  उति नै जटिल छन् ।  सर्वसाधारण पाठकले बुझ्न निक्कै मिहिनेत गर्नुपर्छ । उनका कविता सोझा छैनन् तर शोषितवर्गका निम्ति छन् निमुखा सोझा र सर्वहारा वर्गका निमित्त छन् । सरल छन् तर सरल भएर पनि जटिल छन् र जटिल भएर पनि सरल छन् । तर जब पाठकले जटिलताको ढोका उघारेर कविताको सरलीकरण गर्छ तब मात्र उसलाई कविको उद्देश्य र कविताको अन्तर्निहित तात्पर्य थाहा लाग्छ ।

कुनै साहित्यकारले भूमिका नबाँधेको अथवा उनीहरूका शब्दका भारले नथिचेको ‘सुगन्धी माटो’को एउटा छुट्टै विशेषताले गर्दा यो पुस्तक अत्यन्त पठनीय भएको छ ।  विशेषतः समाज, देश, जाति, कर्म तथा  पर्यावरणीय भावनाले ओतप्रोत यस कृतिमा कविले मानवतावादी दृष्टिकोणलाई विशेष महत्त्व दिएको देखिन्छ । प्रकृतिका अन्य उपकरण साथै मानवीय प्रवृत्ति जगेर्ना गर्नुपर्ने भाव अभिरञ्जित भएको छ ।  समाजप्रति अत्यन्त संवेदनशील कवि सुवेदीले  यस संग्रहमा आक्रोशका झिल्का उकेल्दै शान्ति स्थापनाको कामना गरेका छन् ।

० ० ०

उपसंहार:

आशा-निराशा, सचेतता  र उत्साहका उद्गार पोख्ने कवि सुवेदीको ‘सुगन्धी माटो’ मा सन्निविष्ट कविताले समाजलाई केही न केही वार्ता दिएका छन् । एकलवादको विरोध गर्दै कुनै परम्परागत पद्धतिमा सीमित नरहेर बहुलता, बहुकेन्द्रता तथा नवअग्रसरताको प्रबलता पाइएकोले उनका कविता आधुनिकताको घेरादेखि निस्किएर उत्तराधुनिकता तर्फ ढल्केका छन् । पूँजीवादी एवम् शोषक समाजको विरोध गर्दै, शोषित वर्षलाई महत्त्व दिँदै, वर्गविहीन समाजको कल्पना गर्ने उद्देश्य कविताहरूमा अन्तर्निहित भएकाले कविले मार्क्सवादी सिद्धान्त उजागर गरेका छन् भनेर किटान गर्न सकिन्छ । कविले उच्चको सट्टा निम्न र सर्वहारालाई अँगालेका छन् । प्रयोगका साथै विविधतामाथि जोड दिएका छन् । देख्दा साधारण लाग्ने विषयलाई बिम्ब र प्रतीकको रूपमा सजाएर नौलो पन ल्याएका छन् ।

समाजमा व्याप्त हिंसा, द्वन्द्व, क्लेश आदि देखेर उनी छटपटिन्छन् । ती छटपटाइ शब्दमा उलार्ने प्रयास गरेका छन् । रुढीवादी परम्पराप्रति आक्रोशित र भविष्यप्रति आशावादी रहने कवि सुवेदीले केवल आफ्नो दुखेसो पोखेका छैनन्  उनले समाजलाई नयाँ मार्ग देखाएका छन् ।

कविताको भाषा  परिष्कृत र परिमार्जित छ । कताकता स्थानीय शब्दको प्रयोग भएको देखिए पनि यस्तो भाषिक प्रयोगले कवितालाई दुर्बोध पारेको छैन ।

सुन्दर कृति नेपाली साहित्यमा भित्राएकोमा कवि सुवेदीलाई धन्यवाद दिँदै उनको साहित्यिक यात्राको दीर्घायुको कामनासहित सुस्वास्थ्यको कामना गरेँ ।