अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तीन दिवसीय छैठौं च्याप्टर सम्मेलन र थप दुई दिने काव्यिक यात्रा सम्पन्न गरी सर्जक र साहित्यप्रेमीहरू आ-आफ्नो गन्तव्यतिर लागेका छन् । बेल्जियमबाट कतिपय फ्रान्सतिर, कतिपय जर्मनीतिर र कतिपय स्विट्जरल्याण्डतिरको भ्रमणमा निस्केका छन् भने, कतिपय घर पुगेको खबर प्रवाहित गरिरहेका छन् । सबैको मन र मस्तिष्कमा अनेसासको विश्व च्याप्टर सम्मेलनको याद तात्तातो छ । घर फर्कंदै गर्दा कार्यक्रमको समिक्षा पनि शुरू भएको छ ।
अनेसासको विश्व च्याप्टर सम्मेलन २३ देखि २५ जुनसम्म बेल्जियमको दोस्रो ठूलो शहर एन्टवर्पमा सम्पन्न भयो । त्यसउप्रान्त, जुन २६ र २७ मा एक दिन नेदरल्याण्ड र अर्को दिन बेल्जियमका विभिन्न पर्यटकीय स्थलहरूको साहित्यिक भ्रमण समेत सम्पन्न भएको थियो ।
कार्यक्रमको तेस्रो दिन ११ बुँदे घोषणा पत्रसहित समापन भएको यो सम्मेलन विविध कोणबाट उल्लेख्य रह्यो ।
खासगरी एनआरएन संघको फोस्रो दोहोरीले छायामा पारेको पहिलो दिनको उद्घाटन कार्यक्रमका तुलनामा दोस्रो दिन वास्तवमै साहित्यिक दिन बन्यो । त्यस दिनको बहस ‘भारतमा नेपाली साहित्य, आधुनिक वैश्विक लेखकीय धार तथा लीला लेखन’ को दृश्यांशलाई धेरै सहभागीहरूले चखिलो माने । सिक्किमका प्राध्यापकद्वय कविता लामा र पुष्पा शर्मासँग अमेरिकाबाट आएका साहित्यकार नारायण अधिकारीले गहकिलो संवाद गरेका थिए । बहसलाई सिक्किमकै उषा शर्माले सहजीकरण गरेकी थिइन् ।
सोही दिन अनेसासका निवर्तमान अध्यक्ष गोबर्द्धन पूजाले ‘अनेसास च्याप्टर: हिजो, आज र भोलि’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए भने बेल्जियमनिवासी सर्जक पंचम अधिकारीले ‘नेपाली साहित्यमा युरोपेली भाष्य र भविष्य’ नामक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रै दिन सम्पूर्ण सहभागी च्याप्टरहरूले आ-आफ्नो प्रगति विवरण सुनाएका थिए ।
तीन दिवसीय कार्यक्रममा क्यानडाका सुरेन उप्रेतीलाई ‘अनेसास हिरो’ का रूपमा सम्मानित गरियो । त्यस्तै, ‘उत्कृष्ट शाखा’ को रूपमा बोस्टन पुरस्कृत भयो ।
तेस्रो दिन सम्मानहरू, बिओटी सभापति पदम विश्वकर्माको संगठन प्रशिक्षण, कविता वाचन र घोषणा पत्र जस्ता ज्वलन्त कार्यक्रमहरू भए ।
पहिलो दिनको उद्घाटन सत्रमा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालको विशेष उपस्थिति र अनेसासका केन्द्रिय सल्लाहकार एवं प्रतिष्ठित नियात्राकार जीवा लामिछानेको विशिष्ट आतिथ्यताले कार्यक्रम उल्लेखनीय बनेको थियो ।
तर, अतिथिका रूपमा मन्तव्य दिने अवसर पाएका तर युग चेतना नभएका एनआरएन संघका दुई खेमाका पदाधिकारीहरूले कुतीको बाटो तय गरेर काशी पुगिंदैन भन्ने बुझेनन्, र सहभागीहरूले अवाञ्छित जुहारी सुन्नु परेको गुनासो गरे ।
बृहत्तर दृष्टिमा, सम्मेलन आफ्नो प्रमुख उद्देश्य हासिल गर्न सफल भयो । सम्मेलनको प्रमुख उद्देश्यहरूमा रचना वाचन एवं साहित्यिक हाजिरी जवाफ तथा साङ्गीतिक कार्यक्रमहरूको माध्यमबाट मनोरञ्जन, अन्तरसंवादलाई बढावा, साहित्यिक समुदायको निर्माण, पठन र लेखन संस्कृतिको प्रबर्द्धन गर्नुरहेका थिए । यस अर्थमा केन्द्रीय आयोजकका रूपमा अध्यक्ष सर्वज्ञ वाग्लेको नेतृत्त्व, युरोप उपाध्यक्ष डिल्ली अम्माईको समन्वयकारी भूमिका र स्थानीय आतिथ्यताको हिसाबले सौरभ कारंजितको नेतृत्त्व सफल बन्यो ।
तर व्यवस्थापन पक्ष चुस्त बन्न नसकेकोमा “नेपाली भाषा-साहित्यको संरक्षण सम्बर्द्धनमा काम त भयो, तर ‘नेपालीको लाहुरेपन’ रहीरह्यो” भन्दै धेरैले कटाक्ष गरे । अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवाले ‘अनेसासले केन्द्रदेखि कै नेताहरूलाई कार्यक्रम कसरी संचालन गर्ने प्रशिक्षण दिन’ माग समेत गरे ।

अनेसासमा सदस्यता वृद्धि र संगठन विस्तार उत्साहजनक भए पनि स्तरियताको दृष्टिकोणले ‘धेरै गर्नु पर्ने ठाउँ रहेको’ धेरैको अनुभूति छ । यो संख्यात्मक विस्तारलाई गुणात्मक रूपमा लैजान नेतृत्त्वकै सोच र कार्यशैलीमै चुनौति रहेको एक सहभागीले बताए । ती सहभागीले प्रश्न उठाएका थिए- स्तरीय कार्यक्रमका निम्ति सचेतता कै कमी हो कि ? तिनै सहभागीलाई उद्धरण गर्दै निवर्तमान अध्यक्ष गोबर्द्धन पूजासँग पंक्तिकारले सम्प्रेषण गरेको थियो- कार्यक्रम त्यति चुस्त त भएन, तर पनि यदी निवर्तमान अध्यक्षको सक्रियता नभएको भए यत्तिकै पनि हुने थिएन की!
अबका सम्मेलनहरू ‘कार्यक्रम सम्पन्न हुनु नै सफलता हो’ भन्ने धारणाबाट माथि उठ्नु जरूरी छ । संस्थापक अध्यक्ष होमनाथ सुवेदीदेखिका केही कार्यकालहरूमा जग बसाउने कुराको सुषुप्त बोध थियो होला । तर अनेसास अब परिष्कृत संगठन बन्नुपर्छ भन्नु अतिशयोक्ती आशा हुँदैन । त्यस्तै, कसले कति वटा लेख्यो भन्दा कसले के लेख्यो भनेर परख गर्नु पनि जरूरी छ ।
सहभागीताको हिसाबले युरोपको उपस्थिति उल्लेख्य रह्यो । युरोपमा सक्रिय शाखाहरूमध्ये डेनमार्कबाहेक सबै शाखाहरूको प्रतिनिधित्त्व रहेको थियो । विशेषगरी, अनेसास पोर्चुगलका अध्यक्ष एनबी अन्जान, अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेती, अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवा, अनेसास नर्वेका अध्यक्ष राजेश सापकोटा जस्ता युवा सर्जकहरूको सक्रियताले भविष्यको बाटो सुनौलो भएको टिप्पणी प्रा.डा. कविता लामाले गरिन् ।
यस्ता युवाहरूलाई अघि बढ्ने वातावरण बनाउनु पर्ने चर्चा कतिपयले गरेका थिए । तर सय, डेढ सय आजीवन सदस्यहरूको मात्रै उपस्थितिमा हुने यस्ता गहन कार्यक्रमहरूलाई अनेसासका २ हजार ८ सय आजीवन सदस्यहरूले कसरी बुझ्छन् ? अनेसासको अर्को सांगठनिक जटिलता हो । जस्तो कि, गत वर्ष मात्रै पोर्चुगलको विश्व सम्मेलनमा आतिथ्य राष्ट्रका रूपमा बेस्करी खटेर सबैको वाहीवाही लुटेका एनबी अन्जानले त्यसपछिको निर्वाचनमा केन्द्रीय सचिवमा इच्छा प्रकट गरेका थिए । तर उनको रहरको कदर र सदर भएन । तिनै अन्जान बेल्जियम सम्मेलन सफल बनाउन केन्द्रीय पदाधिकारीहरू भन्दा पहिले बेल्जियममा आएर समर्पित भई खटिएका थिए ।
आन्ध्र महासागरको उतापट्टी ट्रम्पको देशबाट सन्तोषजनक उपस्थिति रह्यो । तथापि, ट्रम्प नीतिका कारण कतिपय ग्रीनकार्डधारीहरूले यात्रा रद्द गर्नु नपरेको भए यो उपस्थिति अझ दरिलो हुने थियो । क्यानडाको एकल प्रतिनिधित्त्व ‘अनेसास हिरो’ ले गरेका थिए भने भारतबाट आएका तीन विदुषीहरूले पूरै एशियाको प्रतिनिधित्त्व गरेका थिए । यात्रा अनुमति-पत्रमा असहजताका कारण माउदेशबाट कुनै प्रतिनिधित्त्व हुन सकेन ।
अहिले अनेसासको केन्द्रमा भवन निर्माणबारे गहन विमर्श भइरहेको छ । एकथरिले अमेरिकाको वाशिङ्टन डिसीमा भवन किन्ने कुरामा पैरवी गरिरहेका छन् भने अर्कोथरी नेपालमै भवन किन्नु पर्ने विचार राख्छन् । यो महत्त्वपूर्ण निर्णयबारे बेल्जियमको विश्व च्याप्टर सम्मेलनमा शाखाहरूसँग सल्लाह लिन वा राय संकलन गर्न आवस्यक भने ठानिएन ।
विदेशमा गरिने यस्ता सम्मेलनहरू अति खर्चिला हुनुका अतिरिक्त आयोजनामा मानव संशाधनको समस्या अर्को दुरह हो । बिओटी सभापति विश्वकर्माले ‘मिलियन डलर’ खर्च हुने भनेर महँगीप्रति संकेत गरेका थिए । सबै प्रकारका खर्च जोड्दा त्यसको एक चौथाई नै खर्च भए पनि यो राशी पश्चिमा देशहरूमै पनि महत्वपूर्ण रकम हो । यति खर्चिलो सम्मेलनको परिणामस्वरूप उपलब्धी के भए त भनेर समीक्षा गर्नु पनि जरूरी छ । वर्षेनी अन्तर्राष्ट्रिय सम्मेलनको उत्सव गर्नुभन्दा दुई वा तीन वर्षको अन्तरालमा महोत्सव गर्नु पो श्रेष्ठतर हो कि ? बरु, कार्यक्रमको स्तर उकास्न र अनुवादको खाडल पुर्न तर्फ ध्यान दिने पो हो कि ?
जे होस्, समग्रमा सम्मेलनले आफ्नो उद्देश्यमुताबिक अनेसासको भातृत्त्व विकास र लेखक एवं साहित्यलाई प्रोत्साहन गर्ने कुरामा वातावरण सिर्जना गरेको छ । निश्चित रूपमा हामीले चाहे जस्तो सबथोक लयबद्ध हुँदैन । तथापि सार्थकता र व्यर्थताबारे चर्चा गर्नु आवश्यक छ । र, कमीकमजोरीहरूबाट पाठ सिक्नु पनि जरूरी हुन्छ ।
प्रतिकूल माउदेश र परदेशको परिस्थितिका बाबजूद पनि अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न देखाएको सटीक संयोजनलाई साधुवाद भन्नै पर्छ । अनि, बेल्जियम शाखाले ९ वर्षको अन्तरालमा अनेसासको अर्को अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन सम्पन्न गरेर आफ्नो विरासतलाई फेरि एक पटक पुष्टि गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










