दृश्य : मञ्च अन्धकार छ । खाली छ ।

समय : कुनै पनि ।

सङ्गीत : भयावह ।

 

आकृति : (अन्धकारभित्रैबाट) अरे ! तिमीले मलाई    खोजेको ? कि मैले तिमीलाई खोजेको ? अवश्यै होइन । मैले तिमीलाई खोजेको होइन । पक्का हो । तिमीले मलाई खोजिरहेको हुनुपर्छ । हा… हा….. (हाँस्छ) हा म ? म तिम्रै नजिकमा छु । ए ! अझ देखेनौ ? हुन त अँध्यारोलाई उज्यालोले कहिले देख्न सकेको छ र ? तर अँध्यारोले उज्यालोलाई जित्न सक्छ । के कालो बादलले घाम र जूनलाई छोपेको छैन र ? ग्रहणले घाम र जूनलाई निलेको छैन र ? हा….. हा… ( हाँस्छ) अझै देखेनौ ? लु, एकपल्ट राम्ररी हेर मलाई ।

(मञ्च अलिकति उज्यालिन्छ । त्यस उज्यालोमा एक व्यक्तिको कुमदेखि खुट्टासम्मको आकृति देखिन्छ । अनुहार देखिँदैन । त्यो आकृति मध्य मञ्चमा छ र केही अघि बढेर ठिङ्ग उभिन्छ । आकृतिको सम्पूर्ण पोशाक कालो छ । तर अनुहार छैन । देखिंदैन ।)

 

आकृति : शायद अब त मलाई देख्यौ होला तिमीले ?

आविष्कारक : (प्रेक्षागृहबाटै) तिम्रो शरीर त देखें । तर तिम्रो अनुहार खोइ ?

आकृति : मेरो अनुहार ? मेरो अनुहार हरायो । ए ! होइन, होइन, मेरो अनुहार खोसियो ।

आविष्कारक : खोसियो ? किन ?

आकृति : (हाँस्छ) हा….. हा….. किन ? म बताउँदिनँ ।

आविष्कारक : तिमीले बताउनै पर्छ । तिम्रो अनुहार खोइ ?

आकृति : किन बताउनु ? बताउँदिनँ ।

आविष्कारक : तिमी मान्छे होइनौ शायद !

आकृति : ठीक भन्यौ तिमीले । म मान्छे नै होइन ।

आविष्कारकः त्यसो भए तिमी भूत ?

आकृति : हा… हा… भूत ? म ? हा हा… (हाँस्छ)

आविष्कारक : (केही अघि बढेर) होइन, तिमी भूत पनि होइनौ । नत्र भने मलाई डर लाग्नु पर्थ्यो । त्यसो भए तिमी को हौ ?

आकृति : म बताउँदिनँ ।

आविष्कारक : किन ?

आकृति : कारण तिमीलाई थाहा हुनुपर्ने ।

आविष्कारक : अहँ मलाई थाहा छैन ।

आकृति : हा… हा… मलाई विश्वास भएन ।

आविष्कारक : (मञ्चतर्फ जाँदै) साँच्चै, मलाई थाहा छैन ।

आकृति : तिमी चैं को हौ ?

आविष्कारक : आविष्कारक (मञ्चतर्फ जाँदै)

आकृति : आविष्कारक ? तर के को आविष्कारक ? उत्थानको कि पतनको ? विकासको कि विध्वंशको ? औषधिको कि विषको ? युद्धको कि शान्तिको ? हिंसाको कि अहिंसाको ?

आविष्कारक : म आविष्कारक हुँ । नयाँ नयाँ प्रयोगद्वारा नयाँ चीजको आविष्कार गर्छु । मानवहित, मानव- आनन्द र सुखका निम्ति ।

आकृति : तर तिम्रो हरेक आविष्कारले मानवहित, आनन्द र सुख कति जन्माउन सकेको छ र ? तिम्रो कोशिशले अझैसम्म शान्ति स्थापना गर्न सकेको छैन चारैतिर । वर्तमान र भविष्यको रूप डरलाग्दो बनाएका छन् आविष्कारहरूले ।

आविष्कारक : यो त आरोप मात्र हो ममाथि ।

आकृति : यस आरोपमा केही सत्यता त अवश्यै छ ।

आविष्कारक : सत्यता होला । तर मेरो आविष्कारको दोष मात्रै देखाएर भएन । गुणलाई पर सारेर ।

आकृति : आविष्कारको गुणले मान्छेलाई अल्छे बनाएको छ । तिमी आविष्कारक प्रयोगहरूद्वारा यस संसारलाई चमत्कार देखाउने । तिमी आविष्कारक भौतिक जगतमा चमत्कार देखाउने । तर भौतिक सुख कहिले शाश्वत रहन सक्दैन । तब तिमी भौतिक सुखको आविष्कार किन गर्छौ ?

आविष्कारक : वास्तवमा म सुखको आविष्कार गर्दिनँ । तर खाँचो पूरा गर्ने कोशिश गर्छु । सम्भावनालाई प्रयोगहरूद्वारा सफल बनाएर नयाँ चीज जन्माउने कोशिश गर्छु अनि नयाँ चीजले मान्छेलाई लाभ त दिएकै हुन्छ ।

आकृति : हानि पनि त दिएकै हुन्छ ।

आविष्कारक : तर म हानि रोक्ने कवच पनि निर्माण गर्ने कोशिश गर्छु ।

आकृति : तर मलाई थाहा छ । तिमीले निर्माण गरेको हानि रोक्ने कवचले हानिलाई पूर्णतया रोक्न सकेको छैन ।

आविष्कारक : कसरी ?

आकृति : मान्छेहरू हानि प्रति ज्यादै सम्मोहित भइसकेका छन् । वास्तवमा अब तिमीले जन्माएको हानिबिना मान्छेको जीवनको कुनै सार छैन । कारण त्यो हानि मान्छेको आसक्ति र कुलतको मूल कारण भइसकेको छ ।

आविष्किारक : मतलब मेरो आविष्कारले जन्माएका अवगुणहरू र हानिहरू मान्छेका निम्ति आसक्ति र कुलतको मूल कारण भएका छन् ?

आकृति : हो, तिम्रो प्रयोगले, तिम्रो आविष्कारले चमत्कार त देखायो ।तर त्यसले मान्छेलाई पतनको बाटोतर्फ पनि हिँडाउँदैछ ।

आविष्कारक : तर मैले पतनको निम्ति प्रयोग गरेको थिइनँ । न त मैले मानव आसक्ति र कुलत जन्माउनु नै आविष्कार गरेको हुँ ।

आकृति : तर तिम्रो आविष्कारको निहुँमा मान्छेहरू क्षणिक आनन्द उठाउने कोशिशमा छन् । क्षणिक आनन्द लाभ गर्नका निम्ति पतनतर्फ जाँदैछन् । र मलाई पछ्याउँदैछन् ।

आविष्कारक : तिमीलाई पछ्याउँदैछन् ? तर किन ?

आकृति : मैले तिमीलाई अघि नै भनिसकें । मेरो अनुहार खोसिएको छ ।

आविष्कारक : तर कसले ?

आकृति : कसले ? तिमीले आविष्कार गरेका हानिहरू मन पराउनेहरूले ।

आविष्कारक : मतलब ?

आकृति : तिमी मसित आऊ । म तिमीलाई मेरो अनुहार खोस्नेहरू देखाउँछु ।

(आकृति जान्छ । पछि-पछि आविष्कारक पनि जान्छ । त्यसपछि मञ्चमा चारैतिर हेर्दै एक चरित्र आउँछ र एक कुनामा गएर दाहिने पाखुरामा इन्जेक्ट गर्छ । अनि केहीबेर पछि ।)

चरित्र (स्वगत) : आहा ! कति मज्जा आयो । राम्रो kick दिँदैछ । माल त ठीक रहेछ । (हाँस्छ) हा… हा… अब No Problem, No tension, No pain, No frustration. Only pleasure, pleasure, pleasure. Everywhere हो pleasure दिइरहेछ यसले मलाई । हा….. हा….. (हाँस्छ)

 

(यत्तिमा चेतनाको प्रवेश)

चेतना : (प्रवेश गर्दै) गलत छ तिम्रो धारणा । यसले तिमीलाई मज्जा दिएको होइन । तर तिमीलाई खाइरहेछ यसले । तिमीले त्यो सिरिञ्जको सहायताले निर्दोष शरीरमा Drugs (ड्रग्स) इन्जेक्ट गरेनौ । तर अकाल मृत्युलाई निमन्त्रणा दियौ । ड्रग्स तिम्रो जीवनको हत्यारा हो, killer हो । विष हो अकाल मृत्यु दिने । तर pleasure होइन ।

चरित्र : तिमी को हौ ?

चेतना : म तिम्रो चेतना हुँ ।

चरित्र : मेरो चेतना ?

चेतना : हो । तिमीले तिम्रै शरीरमा ड्रग्स…! तिमीलाई सम्झाउने । हेर, तिमी यो कुआदतलाई त्याग्ने कोशिश गर । ड्रग्स भनेको मगजलाई सुताउने हानिकारक तत्त्व हो । मगजलाई सधैं उठाउनुपर्छ । जगाउनुपर्छ । तर ड्रग्स सेवन गरेर मगजलाई सुताउनु हुँदैन । मार्नु हुँदैन । जीवनलाई विस्तारै मार्ने ड्रग्ससित सम्झौता नगर । तर यसको विरोध गर ।

चरित्र : जीवन ? हा… हा… के गर्नु समस्यै समस्या गुजुल्टा परेको जीवन ? के गर्नु कामै नपाउने बेकारी जीवन ? के गर्नु खाँचोहरूले खोपिल्टा परेको अभावग्रस्त जीवन ? (हातको सिरिञ्जतर्फ हेरेर) यसले केही बेरलाई भए पनि मलाई समाधान दिएको छ । pleasure दिएको छ ।

चेतना : यो ड्रग्स बोक्ने सिरिञ्ज समाधान होइन । तर विष घोच्ने माध्यम मात्र हो । यसले pleasure होइन पतन ल्याउँछ ।

चरित्र : तर पतन ल्याउने चीज बनिन्छ नै किन ? यस्तो चीजको व्यापार हुन्छ किन ?

चेतना : तिम्रो प्रश्नको उत्तर म प्रश्नमा नै दिन्छु । पतन ल्याउने चीज बनिए तापनि तिमी लिन्छौ किन ? यस्तो चीजको व्यापार भए तापनि तिमी किन्छौ किन ?

चरित्र : Pleasure को निम्ति । दुःखहरू भुल्नुको निम्ति । Frustration हटाउनुको लागि । यसको

तल्तलले sick हुनुबाट जोगिनुलाई लिन्छु म यो । किन्छु म यो ।

चेतना : यसको सहाराबिना पनि जीवनमा pleasure हुन्छ । आनन्द हुन्छ । जीवनमा सुख-दुःखका ज्वारभाटाहरू चलिबस्छन् । कहिले सुखको छाल उर्लिएर आउँछ त कहिले दुःखको लहर । ती छाल र लहरले जीवन भिजेकै हुन्छ । तर भिज्नुबाट डराएर विष पिउनु उचित छैन । ड्रग्स सेवनले Frustration हटेर जाँदैन । बढेर जान्छ झन् । यसको तलतलले sick हुनुबाट जोगिनुलाई यसकै सेवन गर्नु पर्दैन । यसको तलतललाई रोक्ने ठूलो औषधि हो तिम्रो आत्मबल । तिमीले आफ्नो आत्मबल बलियो बनायौ भने तिमी बाँच्नु सक्छौ ड्रग्सको आक्रमणबाट । तिमी त्याग्न सक्छौ यसलाई ।

चरित्र : (डराएर) होइन म सक्दिनँ । योबिना म मर्नेछु ।

चेतना : होइन । तिमी मर्ने छैनौ योबिना । तिमी त केवल अस्वस्थ भएका छौ । तिम्रो उपचार हुन सक्छ । तिमीलाई बचाउने, तिम्रो क्षीण आत्मबललाई बलियो बनाउने अस्पतालरूपी शिविरहरू, Rehabilitation centre-हरू धेरै छन् । तिमीले चाह्यौ भने तिमी यो दलदलबाट निस्किन सक्छौ । ड्रग्स सेवनले तिमीलाई तिम्रो घर-परिवारदेखि टाढो लगेको छ । तिमीलाई बेघर जस्तो पारेको छ । फर्की आऊ आफ्नो घर । तिम्रो पुनर्वास हुनसक्छ । फर्क ।

चरित्र : ममा त्यस्तो आँट छैन ।

चेतना : हेर, जहाँ इच्छा त्यहाँ उपाय । धेरै फर्किसके आफ्नो घर । धेरै फर्किने कोशिशमा छन् । तिमी पनि कोशिश गर । मलाई तिमीसितै राख । निर्दोष शरीरलाई सुईले धेरै नघोच अब । तिमी बाँच्न सक्छौ आफ्ना सपनाहरूलाई पूरा गर्न । यसरी अकाल मृत्यु नरोज । फर्क ।

चरित्र : होइन म सक्दिनँ । सपनाहरूको लोभ नदेखाऊ मलाई । जाऊ तिमी । जाऊ । (चरित्र भाग्छ)

चेतना : अरे ! सुन मेरो कुरा । सुन । (चेतना पनि जान्छ)

 

(यत्तिमा तीन युवकको प्रवेश । एकको हातमा ब्याग छ)

युवक (क) : आज तिमीले जसरी भए पनि दिनुपर्छ ।

युवक (ख) : पर्सी त दिइहाल्छौ नी ।

युवक (ग) : अहँ । तीन सयमा हुँदैन । अस्तिको पनि दुई सय बाँकी छ ।

युवक (क) : Please देऊ न ।

युवक (ग) : हुँदैन । म गएँ ।

युवक (ख) : होइन, होइन । नजाऊ । हामी कस्तो sick भइसकेका छौं ।

युवक (क) : हामीलाई नपत्याएको ? पर्सी दिइहाल्छौँ नि ।

युवक (ग) : अहँ हुँदैन । उधारो हुँदैन ।

युवक (ख) : (हातको घडी खोलेर दिंदै) ना यो घडी राख ।

युवक (ग) : (घडी थापेर) यसको दाम Hardly तीन सय त होला । यतिमा हुँदैन यत्रो माल ।

युवक (क) : (रुपियाँ दिंदै) ना तीन सय । अब त देऊ ।

युवक (ख) : घडी र तीन सय मिलाएर त हुनुपर्ने ।

युवक (ग) : (रुपियाँ थापेर) हुँदैन ।

युवक (ख): (ज्याकेट खोलेर दिँदै) ना यो ज्याकेट पनि लैजाऊ । छिटो देऊ माल । कस्तो sick भइसकें ।

युवक (ग) : ठीक छ । (ज्याकेट थापेर) Next time चाहिँ cash बाहेक अरू केही चीज लिन्नँ नी । (ब्यागबाट सानो कागजको पोको झिकेर दिँदै) ना ।

(युवक (क) र (ख) अत्तालेर त्यो पोको थाप्छन् ।)

युवक (क): Thank you, thank you. Let’s move

(दुई युवक (क) र (ख) जान्छन् । यवुक (ग) पनि जान्छ अर्को दिशातर्फ)

 

(यत्तिमा पुनः आकृति र आविष्कारकको प्रवेश)

आकृति : अहिले तिमीले देख्यौ एक ड्रग्स एडिक्ट चरित्र र उसको चेतनालाई । त्यो चरित्रसित चेतना छैन । तिमीले एक ड्रग्स बेच्ने र दुई ड्रग्स किन्ने युवकहरूलाई पनि देख्यौ । वास्तवमा तिमीले नै जन्माएका हानिहरूको कुप्रभाव देख्यौ ।

आविष्कारक : तर मैले त मान्छेको रुग्णता हटाउने कोशिश गरेको थिएँ । मेरो आविष्कारको दुरुपयोग गर्नु त भनेको थिइनँ । उत्थानलाई मारेर पतनलाई रोज्नु त भनेको थिइनँ ।

आकृति : (हाँस्दै) हा… हा… आऊ एकपल्ट फेरि मसित । हिँड । (आकृति जान्छ । आविष्कारक पनि पछि-पछि जान्छ ।)

 

(यत्तिमा मञ्चमा एक युवती आउँछे । हातको ब्याग एक कुनाको काँटीमा झुण्ड्याउँछे र जान्छे । त्यसपछि चाल मारेर ड्रग्स व्यसनी युवक (क) आउँछ । र त्यो ब्यागबाट केही रुपियाँ झिकेर गोजीमा हाल्छ र भाग्छ । त्यसपछि त्यो युवती पुनः आउँछे र ब्याग खोलेर हेर्छे अनि)

युवती : अरे ! यहाँको पैसा कसले लग्यो ? (ब्याग राम्ररी हेर्छे) को आयो यहाँ ? सन्तोष ! सन्तोष, एई सन्तोष ! यसैको काम हुनुपर्छ । उफ ! म थाकिसकें यससित । यसलाई आफ्नो भाइ भन्नु पनि लाज लाग्छ । अस्ति पनि तीन सय रुपियाँ हरायो । आज पनि छ सय हरायो । दुःख गरेर कमाएर के गर्नु ? उफ ! आमा ! आमा !

आमा (भित्रँदै): हन के भयो ?

युवती : हेर्नुहोस् न । अहिलेको अहिले मेरो ब्यागबाट छ सय रुपियाँ हरायो ।

आमा : तँ पनि त्यस्तै छेस् । जहाँ पायो त्यही ब्याग राख्छेस् ।

युवती : यो सन्तोषसित वाक्क भइसकें म ।

आमा : अब नदेखीकन त्यसलाई दोष नदे ।

युवती : अन्त अरू कसले लान्छ त ? यो घरमा तपाईं, म र त्यो बाहेक अरू को नै छ र ? आमा, तपाईंलाई केही थाहा छैन । त्यसको सङ्गत ठीक छैन । कति सम्झाउनु ?

आमा : अब त्यो सन्तोष साथीहरू भनेपछि हुरुक्कै हुन्छ ।

युवती : साथीहरू भन्दा हुरुक्कै त हुन्छ नी । तर साथीहरूले चाहिँ खाल्डोमा हालेको पत्तो छैन । आमा, त्यसको सङ्गत एकदमै ठीक छैन । नराम्रा लत भएकाहरूसित त्यो हिँड्ने गर्छ । मैले धेरै कुरा सुनेकी छु त्यसको बारेमा ।

आमा : अब कसरी त्यसलाई ठीक बाटोमा ल्याउने त ?

युवती : उपाय सोच्नुपर्छ । (दुवै स्तम्भित हुन्छन्)

 

(मञ्च अँध्यारिन्छ । यत्तिमा प्रेक्षागृहमा हो-हल्ला मचिन्छ । दुई पुलिसले युवक (ख) लाई खेद्दैछन् । युवक (ख) भाग्दै मञ्चतर्फ लाग्छ । मञ्च उज्यालिन्छ । मञ्चमा युवती र आमा हुँदैनन् । युवक (ख) मञ्चमा पुग्दा नपुग्दै एक पुलिस मञ्चमा पुग्छ र युवक (ख) भागेर मञ्चमा आइपुग्दा उसले युवक (ख) लाई समात्छ । अर्को पुलिस पनि मञ्चमा पुग्छ । त्यसपछि )

पुलिस (१) : (हातको रोलले युवक (ख) माथि प्रहार गर्दै) भाग्छस् ? हँ ! भाग्छस् ? ड्रग्सखोर । आमा-बाबाले दुःख गरेर कलेज पढाउँछन् छोराले पढेर उन्नति गरोस् भनेर । तँ चाहिँ ड्रग्स खान्छस् ? भन्, तेरो साथी कहाँ छ ? भन् । कहाँबाट supply हुन्छ ड्रग्स ? भन् । (पिट्छ)

युवक (ख): (पीडाले कराउँदै) ऐया ऐया ! भयो नकुट्नुहोस् ।

पुलिस (१) : बता छिटो । बता (पिट्छ)

युवक (ख): ऐया ! ऐया !

 

(पुलिस (२) ले युवकलाई ठेल्छ । युवक (ख) भुइँमा लड्छ । त्यही अवस्थामा पुलिस (२) ले पनि युवक (ख) माथि रोलले प्रहार गर्छ । युवक (ख) हुरुक्कै हुन्छ अनि त्यसपछि)

पुलिस (२) : बता छिटो तैले कहाँबाट पाइस् हिरोइन ?

युवक (ख) : नहिर्काउनुहोस् । म सबै बताउँछु ।

पुलिस (१) : छिटो बता ।

युवक (ख): मैले त्यो.. त्यो पासाङको बाट किनें ।

पुलिस (१) : को पासाङ ?

युवक (ख) : सी. एस. सरणीमा बस्छ । उसले माल ल्याएर supply गर्छ । हाम्रो कलेजका केटाहरूलाई उसैले supply गर्छ । ऊ प्रायः मोटर साइकलमा आउँछ ।

पुलिस (२) : तेरो नाम के हो ?

युवक (ख) : डेविड ।

पुलिस (१) : ड्रग्स खाने तेरा साथीहरूको नाम ?

युवक (ख) : सन्तोष, आवेश, छिरिङ, सेवास्टीन, निमा, जीवन, कुलदीप, रमेश, राजेश, कल्याण, नुडुप ।

पुलिस (१) : ठीक छ । हिँड् थाना । थानामा सबै बताउलास् ।

युवक (ख) : Please Sir, मलाई छोडिदिनुहोस् । अब म खान्नँ । Please Sir.

पुलिस (२) : (रोलले प्रहार गरेर) चुप् । चुपचाप थाना हिँड् ।

(पुलिस (२) ले युवक (ख) लाई समातेर घिसार्दै लान्छ)

 

(पुनः आविष्कारक र आकृतिको प्रवेश)

आकृति : देख्यौ त्यस परिवारको स्थिति ? ?

आविष्कारक : देखें ।

आकृति : त्यस युवकलाई पुलिसले पक्राउ गरेको पनि देख्यौ ?

आविष्कारक : देखेँ ।

आकृति : तब तिमी कस्तो निष्कर्षमा पुग्यौ ?

आविष्कारक : निष्कर्ष ?

आकृति : हो, निष्कर्ष । तिम्रो विचारको निष्कर्ष ।

आविष्कारक : म त आविष्कारक हुँ । प्रयोग गर्छु । यस्तो स्थितिलाई रोक्नको लागि पनि मैले प्रयोग गर्नुपर्छ आविष्कारकै निम्ति ।

आकृति : विनाश र विकृतिलाई रोक्न ?

आविष्कारक : हो, वर्तमान समयमा युवा जमात ड्रग्सरूपी विनाश र विकृतिको प्रकोपमा परेका छन् । यसलाई रोक्नुपर्छ ।

आकृति : तर यी विनाश र विकृति तिम्रै आविष्कार त हुन् । तिम्रै सृजना त हुन् ।

आविष्कारक : शायद ।

 

(यत्तिमा चेतना दुगुर्दै आउँछ)

चेतना : बचाऊ । उसलाई बचाऊ ।

आकृति : तिमी त चेतना होइनौ ?

चेतना : हो । म चेतना हुँ ।

आविष्कारक : चेतना ? कसको ?

चेतना : उ: त्यो चरित्रको । उः त्यहाँ हेर त । त्यो चरित्र कस्तो छट्पटाइरहेछ । (सबै अचल हुन्छन् । त्यसपछि प्रकाश मधुरो हुन्छ । मञ्चको देब्रे पक्ष उज्यालो हुन्छ; जहाँ एक चरित्र छट्पटाइरहेको देखिन्छ । अनि)

चरित्र : (स्वगत)उफ ! ऐया ऐया ! अब के गरूँ ? (देब्रे पाखुरामा दाहिने हातले हिर्काएर हेर्छ । भुइँबाट सीरिज टिप्छ अनि) अरे ! यो के ? उफ् ! Vein नै छैन । (त्यसपछि दुवै खुट्टामा हेर्छ । हिर्काउँछ र इन्जेक्ट गर्न खोज्छ । अनि) उफ् ! दुवै खुट्टामा पनि vein छैन । अब के गरूँ ? (सीरिञ्जलाई हेरेर) फेरि यो Last हो । यो ट्रीप पाइनँ भने त मेरो विजोग हुन्छ । हातमा फिक्स गरूँ भने vein नै छैन । भरै vein मा गएन भने माल त त्यसै खेरो जान्छ । (अचानक घाँटी समातेर) अँ, अब यहाँ नै फिक्स गर्छु । (घाँटीमा इन्जेक्ट गर्छ) अहाऽऽऽ (सञ्चो मान्छ । त्यसपछि चरित्र भएको मञ्च अँध्यारिन्छ । अनि दृश्य पूर्ववत रहन्छ ।)

चेतना : देख्यौ त्यो युवकको अवस्था ? त्यसको दुवै हात-खुट्टाबाट vein हराउँदै जाँदैछ इन्जेक्ट गर्दा गर्दा । अब त्यसले घाँटीमा इन्जेक्ट गर्न थालेको छ । त्यसलाई बचाउनु पर्छ ।

आकृति : तिमीले त्यसलाई सम्झाउन सकेनौ ?

चेतना : म थाकेँ । म हारेँ । र त तिमीहरूको सहायता माग्न आएको छु ।

आकृति : सहायता ? तर मलाई चाहिँ कसले सहायता गर्ने ?

चेतना : तिमीलाई सहायता किन चाहियो ?

आकृति : अरे ! मेरो अनुहारमा हेर त ।

चेतना : अनुहार ? अरे ! तिम्रो अनुहार खोइ ?

आकृति : खोसिएको छ ।

चेतना : कसरी ? कसले ?

आविष्कारक : उसले बताउँदैन । मैले उसलाई धेरैचोटि सोधिसकेँ । तर उसले बताएन ।

आकृति : होइन । अब बताउने समय आइसकेको छ ।

आविष्कारक : त्यसो भए बताऊ । तिम्रो अनुहार खोइ ?

आकृति : मेरो अनुहार खोसिएको छ । तिमीहरूले ती ड्रग्स व्यसनी युवकहरूलाई देख्यौ । एडिक्टहरूलाई देख्यौ । हो, तिनीहरूले नै मेरो अनुहार खोसेका छन् ।

चेतना : तर किन ?

आकृति : कारण तिनीहरू अमृत मन पराउँदैनन् । तर विष रोज्छन् । उनीहरू जीवन मनपराउँदैनन् । तर मृत्यु खोज्छन् ।

चेतना : तिमी चैँ को हौ ?

आकृति : म ? म नै हुँ मृत्यु । तर मेरो अनुहार खोसिएर म असामयिक भएको छु । र म असामयिक मृत्यु हुँ । ड्रग्स व्यसनीहरूले, एडिक्टहरूले ब्राउन सुगर, हिरोइन, ह्यास, कोकिन्स, मरफिन्स, डेन्ड्राइट, फेन्सिड्योल, कोरेक्सहरू, ट्याब्लेटहरू खाने गर्छन् । वास्तवमा उनीहरूले यी ड्रग्सहरू सेवन गरेका होइनन् । तर असामयिक मृत्युलाई रोजेका हुन् । उनीहरूलाई यस्तो कुलत र व्यसनबाट जोगाउन सकियो भने मात्र म मेरो अनुहार पाउँछु र म केवल मृत्यु हुन्छु । तर अहिले मेरो अनुहार खोसिएको छ र म असामयिक भएको छु ।

आविष्कारक : हो, अब मैले केही त अवश्यै गर्न परेको छ । (दर्शकलाई) महानुभावहरूलाई मेरो आग्रह छ । यहाँहरूले मलाई सहयोग प्रदान गर्नुपर्छ ।

चेतना : तिमी आवष्किारक हौ भने महानुभावहरूलाई सहयोग किन मागिरहेछौ ?

आविष्कारक : मानवजगतमा छ ड्रग्सको समस्या । यसको समाधान पनि त्यहीँ छ । यसर्थ मानवजगतका महानुभावहरूकै सहयोगले मात्र यस समस्याको समाधान हुनसक्छ ।

आकृति : कसरी ?

आविष्कारक : ड्रग्स व्यसनी, एडिक्टहरूको मूल समस्या के छ सो बुझ्नु उचित छ । उनीहरूको मानसिक धरातलमा कतै ठूलो आघातको पैहो त गएको छैन ? खोज्नुपर्छ । र त्यहाँ मल्हम लगाउने काम गर्नुपर्छ । सङ्गत, रहर र आघातले गर्दा यो आसक्ति, यो नराम्रो आदत जन्मिएको हो भने त्यो नराम्रो सङ्गत कसरी सृष्टि हुँदैछ ? त्यसको मूल जरा खोज्नुपर्छ । रहरले जन्मिएको हो भने रहर कताबाट आयो (?) त्यसको प्रवेशद्वार पनि खोज्नुपर्छ । आघातले जन्मिएको हो भने त्यो आघात किन र कसरी देखा पर्यो (?) त्यसको मूल कारणको पनि खोजी गर्नुपर्छ । र हामी सबै यस समस्याको निराकरण र निवारणको अभियानतर्फ लाग्नुपर्छ । तर यो अभियान तब मात्र सम्भव हुनसक्छ जब हामी सचेत र एकजुट भएर यसमा लागिपर्नेछौँ । यसर्थ हामीलाई हाम्रो चेतनाको खाँचो छ । (चेतनालाई देखाएर) हाम्रो चेतना यसरी भाग्न नपरोस् । हाम्रो चेतनाले यसरी बचाऊ खोज्न नपरोस् ।

आकृति : वाह ! वाह ! आफ्नो प्रयोगले जन्माएको गलतीलाई ढाकछोप गर्ने तिम्रो तरिकालाई प्रशंसा नगरी सकिन्न ।

आविष्कारक : मेरो प्रयोगले सुधार जन्माउनु खोजेको हो । तर यससित साइड इफेक्ट्स (side effects) छन् भने त्यसको चेतावनी पनि दिइएको हुन्छ । त्यसको निवारण गर्ने उपाय पनि बताइएको हुन्छ । गलती होइन यो । सदुपयोगले उत्थान र दुरुपयोगले पतन जन्माउँछ । यो त दुरुपयोग गर्ने र जीवनलाई आसक्तिको क्रीडागन सम्झनेहरू कै गलती हो । मेरो होइन । मेरो प्रयोगसित गुण र दोष दुवै छन् भने गुणलाई छानेर दोषलाई त्याग्न सक्नुपर्छ । त्यो हाम्रो चेतनामाथि भर पर्छ । तर दोष र हानिप्रति नै लालायित हुनु र क्षणिक सुख प्राप्तिको निम्ति जीवनलाई असामयिक मृत्युको काखमा सुम्पिनु मूर्खता हो । अनि यो मूर्खता अहिलेको युगमा पढेकाहरूले गर्नु एकदमै अनुचित छ ।

चेतना : वर्तमान संस्कार र सभ्यताको नाममा यस्तो भएको हो कि ?

आविष्कारक : संस्कार र सभ्यताले होइन । तर हाम्रो प्रलोभित मनको तलतल र हाम्रो क्षीण आत्मबलले गर्दा यस्तो भएको हो । (दर्शकसित) हे ! महानुभावहरू, यहाँहरू सचेत भइदिनुपर्छ । प्रत्येक घरमा ड्रग्स विरोधी आवाज उठ्नुपर्छ । आउनुहोस्, हामी सबै मिलेर एउटा नयाँ अभियान शुरू गरौँ ड्रग्समुक्त संसारको निर्माणार्थ । (आकृतिलाई देखाएर) यो अनुहारहीन आकृति असामयिक मृत्यु हो । हेर्नुहोस्, यो कति डरलाग्दो छ ! हामी ड्रग्स व्यसनी, ड्रग्स एडिक्ट भएर यति डरलाग्दो र असामयिक मृत्यु नमरौँ । (चेतनालाई एक हातले अँगालेर) अनि हाम्रो चेतनालाई यसरी बेघर नपारौँ ।

आकृति : (दर्शकसित) मलाई मेरो अनुहार चाहिन्छ । म यति डरलाग्दो र असामयिक हुन चाहदिनँ । म गएँ मेरो अनुहारको खोजीमा । (प्रस्थान)

चेतना : आविष्कारक, म पनि गएँ मेरो वासस्थानको खोजीमा । (प्रस्थान)

आविष्कारक : असामयिक मृत्यु गयो सामयिक हुन । तर उसले आफ्नो अनुहार पाएन भने ऊ हाम्रो घर, आँगनमा सधैँ असामयिक भएर आउनेछ । यदि ऊ असामयिक भएर आयो भने हाम्रो सपना फक्रन नपाई कोपिलामा नै मर्नेछ । चेतना पनि गयो वासस्थानको खोजीमा । यदि उसले पनि आफ्नो वासस्थान पाएन भने ऊ बेघर हुनेछ जसले विकृति र विनाश ल्याउनेछ । यसर्थ ड्रग्स ओसारपसार लाई रोकौँ । हो, Drugs Trafficking लाई रोकौं ।ड्रग्सको कुलतलाई रोकौं । हो, Drugs Addiction लाई रोकौं । ड्रग्स विष हो अकाल मृत्यु दिने । जीवनले लक्ष्य माग्छ । विष होइन । यसर्थ जीवनलाई विष नपिलाऔं । त्यागौं यो आसक्ति, यो कुलत । ड्रग्स व्यसनीहरू, एडिक्टहरू पागल होइनन् । उनीहरू त केवल बिमार भएका छन् । उनीहरूको उपचार हुनसक्छ । उनीहरू फेरि त्यो कुबाटोलाई त्यागेर फर्की आउन सक्छन् आफ्नो घर, आफ्नो ठाउँ, आफ्नो गाउँ । फर्काऔँ उनीहरूलाई । आउनुहोस् शुरु गरौँ यो अभियान ।

(आविष्कारक विस्तारै मञ्चबाट ओर्लेर प्रेक्षागृहतर्फ जानलाग्छ – SAY NO TO DRUGS भन्दै । प्रेक्षागृहबाट आविष्कारक बाहिरिएपछि उसको पछि पछि सबै दर्शकवृन्द हातमा ड्रग्स विरोधी प्लेकार्डहरू बोकेर विस्तारै बाहिरिन्छन् ।)

* पर्दा *

डाउहिल, खरसाङ, भारत ।