विषय प्रवेश :
मानव सभ्यताको इतिहास पल्टाएर हेर्ने हो भने मानिस जाति घुमन्ते युगबाट यायावर बनेर एक ठाँउबाट अर्को ठाँउ बसाइँ सर्दै गएको पाइन्छ । यायावरको युगपछि मानिस समाज निर्माणमा लागेर सामाजिक प्राणी भएपछि आआफ्नो बस्ती (समाज) बसाल्दै जान थाले । त्यसपछि शुरू भयो मानिसमा आफू बसेको भन्दा बेग्लै समाजको भ्रमण गर्ने परम्परा । अनि लेखिन थालियो आफूले गरेको यात्राको कथा ।
निर्मोही व्यासले यात्रा लेखनलाई ऋग्वेदसँग जोडेर इन्द्रले हरिश्चन्दको छोरा रोहीतलाई यात्रा गर्न उत्प्रेरित गरेको प्रसङ्ग उल्लेख गरेका छन् (‘यात्रासाहित्यको सिद्धान्त’ २०७०) । त्यस्तै ईसापूर्व तेस्रो शताब्दीमा लेखिएको स्टोरी अफ वेनामुललाई पहिलो यात्रा पुस्तक भनिएको छ र यो ईजिप्टबाट हराइसकेको भाषा (डेथ ल्याङ्गवेज) मा लेखिएको थियो । तर सन् १८९१ मा ईजिप्टमा गरिएको उत्खननको बेला यो पुस्तक प्राप्त भएपछि यसको संस्करण छापियो ।
यसबारे इतिहासकार हेरोडोटसले पनि चर्चा गरेका छन् (स्टोरी अफ वेनामुन, –स्रोत : विकिपेडिया) । भारतमा पहिलो यात्रा पुस्तक मलायलम भाषामा लेखिएको ‘भर्थमान पुस्तकम्’ लाई मानिन्छ । सन् १७९० मा केरलाका धर्मगुरु परेभक्कल थोमा काथानारले केरलाबाट पानी जहाजमा मद्रास, सिलोन (श्रीलङ्का), दक्षिण अफ्रिका, पोर्चुगल, लेटिन अमेरिका र रोमसम्म गरिएको जलयात्राको चर्चा यस पुस्तकमा गरेका छन् । यो पुस्तक हराएर धेरै समयसम्म बेवास्ता गरिएपछि सन् १९३५ मा पुनः प्रकाशन गरिएको थियो ।
नेपालको सन्दर्भमा यात्रा साहित्यको थालनी बेनामीद्वारा लेखिएको ‘जङ्गबहादुरको बेलायत यात्रा’ बाट शुरू भएको मानिन्छ भने यात्रा साहित्यले विधागत रूपमा ख्याति पाउने काम डा. ताना शर्माबाट ‘बेलायततिर बरालिंदा’ प्रकाशित भएपछि भएको मानिन्छ ।
लेखक र क्यानडाको साइनो
क्यानाडामा नेपाली भाषा–साहित्य र संस्कृतिका बारेमा कुरा गनुपर्दा किरण ढुङ्गानाको नाम अग्रपंक्तिमा आउँछ ।
ढुङ्गानाकै पहलमा सन् १९९१ मा क्यानडाको पहिलो नेपाली संस्थाका रूपमा ‘नेपाली एशोसिएसन इन क्यानाडा’ (एन.ए.सी.–नेक) को स्थापना भएको थियो । नेकबाट प्रकाशित न्यूज लेटर मा अङ्ग्रेजीसँगै नेपाली साहित्यले पनि स्थान पाउन थाल्यो । नेकबाट न्यूज लेटर केही अङ्क मात्र प्रकाशित भएको थियो ।
सन् १९९३ मा नेकबाट नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एन.सी.एन.सी.) बनेपछि ‘लाली गुँरास’ प्रकाशित भएको केही अङ्कपछि ‘दियालो’को नामबाट प्रकाशित हुन थाल्छ । यही दियालोको प्रकाशनसँगै क्यानाडामा साहित्यिक माहौल बढ्दै जान थाल्यो । क्युबेक प्रान्तको मोन्ट्रियलका शरद सुब्बा नेकदेखि एनसिएनसिसम्मको स्थापनाका एक संस्थापक हुन् ।
दियालोको दोस्रो अङ्कमा (१:२ समर १९९४) मा “टुक्रहरू विवशताको” काव्याङ्श प्रकाशित गराउने उही शसु नै शरद सुब्बा हुन् । नेपालबाटै छद्म नाम राखेर काव्ययात्रा थालेका कवि शसुले नियमित रूपमा दियालोको लागि कलम चलाउँदै ‘मोन्ट्रियलको डायरी’ स्तम्भमा लेख्ने गर्नुहुन्थ्यो । यिनै शरद सुब्बाको पहिलो कृतिका रूपमा ‘बाह्रसिङ्घा बाह्रसिङ्घा’ प्रकाशित भएको छ । शिकारको क्रममा गरिएको यात्राको कथा समेटेर लेखिएको ‘बाह्रसिङ्घा बाह्रसिङ्घा’ नेपाली साहित्यमा सम्भवतः पहिलो प्रकाशित कृति होला ।
शिकार कथा लेखनको उद्देश्य
शिकार यात्रा साहित्यमा जङ्गली जनावर आदिको शिकारको खोजी र जनावरलाई कब्जामा ल्याउने प्रयासहरूमा केन्द्रित यात्राको विवरण हुने गर्दछ । शिकार साहित्यमा शिकार स्थल, शिकार गरिएको शिकारका प्रकारहरू, शिकारका लागि गरिने समावेशी तयारी, शिकारको क्रममा सामना गर्नुपर्ने चुनौतीहरू र शिकारको समग्र अनुभवको विवरण समावेश हुने गर्दछ । यसमा लेखकको शिकार के कस्तो उद्देश्यले गरिएको यात्राको वर्णन हुने गर्छ ।
लेखकले आफूले गरिने शिकारको क्षेत्रको छनौट, र वन्यजन्तु वा अन्य शिकारीहरूसँग भए गरिएका उल्लेखनीय भेटघाटहरूको विवरण राखिन्छ । ‘शिकार यात्रा’ भनेको शिकार गर्दा गरिने यात्राको क्रममा लेखकले देखेका भोगेका र अनुभव गरेका अनुभवहरूको कथा-शैलीको विवरण हो, जसमा प्रायः स्थान, शिकार गरिएका जनावरहरू र साहसिक कार्यको विवरण समावेश हुने गर्दछ ।
यसरी लेखिएका शिकार यात्रा कथालाई साझा गर्ने, अनुभवहरू दस्तावेज गर्ने र यात्रा योजना बनाउने तथा अन्य शिकारीहरूको लागि अन्तर्दृष्टि प्रदान गर्ने उत्कृष्ट तरिका हुन सक्छन् । जसरी देशाटन गरेर नियात्रा लेखेपछि पाठकले नयाँ स्थानहरूको अनुभव गर्दै त्यहाँ जाने मनासय बनाउने गर्छन् त्यसरी नै शिकार यात्रा साहित्य पढेपछि शिकारका विभिन्न प्रक्रियाहरूका बारेमा थाहा पाउनका साथै शिकार गर्न जाने इच्छा जागृत हुन थाल्छ ।
शिकार यात्रा सम्बन्धी पुस्तक लेख्ने चलन धेरै अघिदेखि नै रहेको पाइन्छ । सन् १८३७ मा प्रकाशित ‘मेमोइर्स अफ द लाइफ अफ द लेट जोन मिटनू’लाई सबैभन्दा पुरानो र प्रसिद्ध यात्रा विवरण भएको शिकार पुस्तक मानिन्छ ।
मिटनले शिकारको क्रममा गरेको यात्रा अनुभवहरूलाई यस पुस्तकमा जीवन्त रूपमा वर्णन गरिएको छ । त्यस्तै आर.ए. स्टर्नडेलले भारतका जङ्गलको यात्रा गरेर त्यहाँका जङ्गली जनावर बाघ, हात्ती, चितुवा, गौर, एन्टेलस बाँदर (लंगुर), जङ्गली बँदेल, गैंडा, सांबर मृग र मार्को पोलो भेडा लगायतका तस्वीरहरूको संग्रह सन् १८८६ मा कलकत्ताबाट प्रकाशित गराएका थिए । त्यस्तै चर्चिल, विन्स्टनले माई अफ्रिका जर्नी पुस्तकमा आफ्नो अफ्रिकी यात्राको क्रममा गरिएका शिकारहरूको वर्णन गरेका छन् । यो पुस्तक लन्डनबाट १९०८ मा प्रकाशित भएको थियो ।
यस पुस्तकबाट पाठकले नेपालको शिकारको इतिहास थाहा पाउन सक्नेछन् । लेखकले नेपालका शिकार र शिकारीको फेहरिस्त उतारेर देखाइदिएका छन् । नेपालमा शिकार प्रेमीका रूपमा जङ्गबहादुर राणा, जुद्धशमशेर राणा र महेन्द्र वीरविक्रम शाह रहेकोबाट पहिलो पेशेवार शिकारी (प्रोफेसनल हन्टर) किरण शमशेर राणा रहेको बारे थाहा पाउन सकिन्छ । किरण शमशेरले शिकार कथा पनि लेख्ने गरेको र उनको ‘अ युनिक हन्ट इन नेपाल’ पढ्ने मौका पाएर शिकार सम्बन्धी राम्रो जानकारी पाएको समेत उल्लेख गरेका छन् ।
संग्रहभित्र गरिएको समीक्षत्मक शाब्दिक शिकार
भुँडीपुराण प्रकाशन, काठमाडौंबाट सन् २०२४ मा शिकार संस्मरणका रूपमा प्रकाशित ‘बाह्रसिङ्घा बाह्रसिङ्घा’मा चौध वटा यात्रा कथा संस्मरण राखिएको छ । २ सय ७४ पृष्ठको यस संग्रहमा सबैभन्दा लामो अट्ठाइस पृष्ठको ‘माईखोलाको सहर’ रहेको छ भने सबैभन्दा छोटो शिकार संस्मरण ‘सहर खोज्दै गाँउतिर’एघार पृष्ठको रहेको छ ।
काठमाडौं, बत्तिसपुतली, वडा नम्बर ९ का बासिन्दा र यस पुस्तकका लेखक शरद सुब्बाको बसाँईका दृष्टिले मेरो गाउँले पर्नुहुन्छ । मभन्दा एघार वर्षअघि (१९९१) क्यानडालाई गन्तव्य बनाएर मोन्ट्रियलमा बस्दै आउनुभएको छ । नब्बेको दशकमा औंलामा गन्ने नेपालीहरूका बीच संस्थागत रूपमा मैत्रीभाव बढाउँदै लैजान शरद सुब्बा मोन्ट्रियलबाट टोरन्टो धाउने गर्नु हुन्थ्यो । वहाँहरू जस्ता व्यक्तीहरूको प्रयासबाट आज हामी क्यानडामा स्थापित भएका छौं ।
शरद सुब्बालाई शिकार गर्ने शौक बाल्यकालदेखि नै रहेको थियो । सानोमा भण्डारखालमा गएर गुलेलीबाट चाँचर झार्ने शौकबाट शुरू भएको उनको शिकार यात्रा बन्दुकका साथ तराई पुगेर जङ्गली जनावरको शिकार गर्नेसम्म पुगेको थियो । बाह्र वर्षकै उमेरमा बाह्र बोरको बन्दुक चरा माथि ताक्न थालेका सुब्बाको बुवाको जागीर वीरगञ्ज चिनी कारखानामा भएपछि बुवासँगै तराई पुगेका थिए । उनको बाल्यकाल तराईमा बितेकाले तराईका जङ्गलमा शिकार गर्ने मौका पाउँदै जान थाले । बिहेपछि ससुरासँग समेत बन्दुक रहेकोले शिकारमा रौनकता बढ्नु स्वाभाविकै थियो । तर अफसोच माओवादीले ससुरासँग भएका बन्दुक नै लुटेर लगे ।
नेपालबाट शिकारको शौक लिएर क्यानडा आएका सुब्बाको शिकारको शौकले क्यानडामा पनि निरन्तरता पाउँदै गयो । सानैदेखि लागेको बानी सितिमिति छुट्दैन भनिए झैं उनको शिकारको बानी देश विदेशसम्म निरन्तर चल्दै रह्यो । त्यसबेला नेपालमा शिकार गर्न वन विभागबाट लाइसेन्स लिनुपर्थ्यो । जारी गरेको लाइसेन्समा चारजना शिकारी साथीहरू सँगै लिएर जान पाउने अनि चारवटा मात्र जनावर मार्न पाउने अनि लाइसेन्सको अवधि बढीमा दुई हप्ताको मात्र रहने गर्थ्यो । तर चरा मर्ने लाइसेन्सको अवधि भने एक वर्षको हुन्थ्यो । उनले आफ्नो रोजाइको शिकारमा दुईवटा चित्तल, एउटा बँदेल, एउटा रातोमृग, मुजुर, दशवटा लुइँचे (वनकुखुरा), दशवटा, पानीहाँस, आठवटा खरायो, चार वटा कालिज र ढुकुर रहेको हुन्थ्यो । उनले शिकारका लागि प्रयोग हुने बन्दुकहरूको परिकारबाट लिएर बन्दुक सम्बन्धी नियम कानून, यसलाई प्रयोग गर्ने तौरतरिका, यसमा प्रयोग हुने गोली गट्ठाबाट लिएर नेपालका नाम कमाएका शम्भु र राम जस्ता शिकारी अनि बन्दुक बिग्रिएमा त्यसको मर्मत गर्ने बासुदेव शमशेर आदिका बारेमा इमान्दारीपूर्वक चर्चा गरेका छन् । पुस्तकबाट पाठकले शिकारको परिभाषा र जङ्गलको प्रवृतिका बारेमा नयाँनयाँ कुराहरूको जानकारी पाउँदै जान्छन् ।
हामीले बाल्यबालमा शिकारका कथाहरू हाम्रा हजुरबुवा आमादेखि जिजु हजुरबुवाआमाबाट सुन्दै आएका छौं । सानोमा शिकारको कथा सुन्नको पनि बेग्लै रमाइलो हुन्थ्यो । राणाकालका शिकारका लागि राजा राणाकोसवारी चल्थ्यो । भारतमा बेलायती उपनिवेशको बेला राणा प्रधानमन्त्रीले बेलायती शासकलाई नेपालमा शिकार गर्न निम्तो पठाउने गर्थे । चन्द्र शमशेरको निम्तोमा राजा चाल्र्स शिकार गर्न बेलायतबाट नेपाल आएका थिए । भनिन्छ त्यहीं मौकामा चन्द्र शमशेरले नेपाललाई उपनिवेश नबनाउन निवेदन गरेका थिए । मोहन मैनालीले आफ्नो पुस्तक ‘मुकाम रणमैदान’मा पनि यसरी लेखिएको छ “…अंग्रेज अधिकारीहरू नेपालको अधीनमा रहेको जङ्गलमा शिकार खेल्न आए । तीनवटा बाघ, चारवटा भालु र २० वटा अर्ना मारे । एउटा बाघको बच्चा पक्डेर लगे ।” (पृष्ठ १९)
शिकारको क्रममा आफ्नो अनुभवलाई कथात्मक रूपमा प्रस्तुत गर्दै चौध वटा शिकार यात्रा विवरण यस संग्रहमा समावेश भएका छन् । पहिलो शिकार कथामा लेखकको परिचय–परवरिश–परिवार, शिकारको परिवेश, बसाइँको परिवर्तनको जानकारी । नेपालको भौगोलिक अवस्था, जङ्गलले ओगटेको क्षेत्रफल, जङ्गलको नियमकानून, निकुञ्जको व्यवस्थापन, बन्दुक र शिकारको लाइसेन्स आदि बारे विस्तृत रूपमा चर्चा गरेका छन् ।
उनले शिकारका लागि गरिएको यात्राको चर्चा दोस्रो कथाबाट गरेका छन् । बाह्रसिङ्घा बाह्रसिङ्घा शीर्षक राखिएको यस शिकार नियात्रा संग्रहको दोस्रो कथामा नै बाह्रसिङ्घा परेको छ । मैले कुरिन्टारमा बाह्रसिङ्घे रिसोर्ट र बियर फेक्ट्रीका बारेमा सुनेको थिएँ । सम्भवतः भारत र नेपालमा पाइने मृगको प्रजातिलाई बाह्रसिङ्घे भनिन्छ । अंग्रेजीमा यसलाई स्वाम्प मृग (Swamp deer) भनिन्छ । यो नाम विशेष गरी दलदल क्षेत्र र बाढीले भरिएको घाँसे मैदानलाई आफ्नो बासस्थल बनाएर बस्ने जनावरको लागि भनिएको हो । यसको सिङ बाह्रवटा भएका कारणले नेपालीमा यसलाई बाह्रसिङ्घे भनियो । लेखकले यस संग्रहमा शिकार गर्ने सबै प्रक्रिया, तौरतरिका र नियमकानूनका बारेमा सविस्तार अनि अन्य पुस्तकबाट उद्धरण गरेर पाठकलाई जानकारी दिंदै गएका छन् । जस्तै, शिकार गर्ने प्रवृतिलाई झोर भनिन्छ । शिकार फसाउन अंग्रेजीको ‘सि’ आकारमा मानिसको (झरुवा) समूह हल्ला गर्दै जनावर लखेट्दै जाने गरेको रोमाञ्चक घटनाको विवरण यसमा पाइन्छ । शिकारको ‘स’ सम्म नबुझेका र नजानेका पाठकका लागि पनि यो पुस्तक कौतुहलताले भरिएको कुनै सस्पेन्स कथा–उपन्यास–चलचित्र हेरे जस्तो अनुभव हुन्छ । अझ यस पृथ्वीमा बाघको आगमनको रोचक कथासँगै पच्चिस लाख वर्ष अघिदेखिको बाघ र चितुवाका वंशज रहेको जानकारी पाइन्छ ।
हामी शिकारका कथा सुन्ने र पढ्ने गर्छौं । तर शिकार गर्न जाँदाका नियमकानूनका अङ्कगणितलाई लेखकले यहाँ दृश्यात्मक तरीकाबाट प्रस्तुत गरेका छन् । लेखकले बाघको मनोविज्ञानलाई समेत प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
बाघको शिकारको कथा एकातिर छ भने अर्कोतिर लेखक बाघको संरक्षण गर्नुपर्ने आवश्यकताको कुरा पनि गर्नुहुन्छ । नेपालमा सरकारी नियम कानून फितलो भएको गुनासो गर्दै जङ्गल फडानी गरेर बस्ती बसाल्ने र बाघ (जनावर) मार्न विष प्रयोग गर्ने प्रवृतिका विरुद्ध आवाज उठाएका छन् । तर देशको प्रधानमन्त्री ओलीले नेपालमा ३ सय ५५ वटा बाघ रहेकोमा यो संख्या बढी भयो नेपालाई १ सय ५० वटा बाघ भए पुग्छ त्यसैले बाघ कम भए वन पनि मक चाहिने भनी वातावरण परिवर्तनको कार्यक्रममा बोलेको (डिसेम्बर २६, २०२४) सर्वत्र विरोध भएको थियो ।
‘सेतोबाघ’ भन्ने बित्तिकै नेपाली पाठकहरूलाई डायमण्ड शमशेरको उपन्यासको सम्झना आउँछ । यही सेतोबाघको प्रसङ्गमा लेखकले धेरै पाना खर्चेर सेतोबाघ हुनुको वंशानुगत र रोगानुगत कारणहरूमाथि राम्रो चर्चा गरेका छन् । मानवीय जीनमा हुने परिवर्तन अर्थात एल्बिनोका कारण मानिसमा लाग्ने पाण्डुरोग जस्ता जनावरमा पनि यस्तो रोग लाग्ने गर्छ । यसका कारण अफ्रिका र अमेरिकामा सेतो सिंह, सेतो मृग पाउने गरेको र त्यसरी नै क्यानडामा सेतो भालु र थाईल्याण्डको सेतो हात्ती पाउनुमा एल्बिनोकै प्रभाव मानेका छन् ।
लेखकले सेतोबाघका बारेमा जानकारी दिंदै भारतको जोधपुरको समर प्यालेसमा रहेको बाघको रोचक कथा प्रस्तुत गर्दै त्यहाँका राजाले सेतोबाघ जन्माउन गरेको रोचक प्रसङ्ग केलाएर देखाएका छन् । अझ राणाकालमा मात्रै लगभग चार सय बाघ नेपालमा मारिएको तथ्याङ्क पनि देखाएका छन् । लेखकका अनुसार सेतोबाघ दुईसय वर्ष अघिदेखि नै देखिन थालेको र अन्तिमपटक सन् १९५८ मा बिहार देखिएको थियो । यो अन्तिम सेतोबाघलाई मारिएकोमा लेखकले समेत चिन्ता व्यक्त गरेका छन् ।
लेखकले शौकका रूपमा गर्दै आएको शिकार यात्रामा निस्कँदा शिकार गर्न चाहेका जनावरहरूका बारेमा पूर्व जानकारी लिएर रोचक ढङ्गले बयान गरेका छन् । धनेश चरा, बँदेल, ध्वाँसे चितुवा आदि विरालो वर्ग (क्याट फेमली) मा पर्ने बाघ, सिंह, चितुवा, प्यान्थर, विरालो, वनविरालो आदिका प्रकार चिन्ने सजिलो माध्यम समेत देखाएका छन् । शिकारमा निस्केको शिकारीको मनमस्तिष्कमा उब्जने भय, त्रास, कौतुहलता, उत्साह, अवस्था, स्थिति आदिसँगै शिकार गर्दाका विभिन्न परिस्थितिको रोचक प्रसङ्ग केलाएर वयान गरेका छन् । आफ्नो भनाई र लेखाईको पुष्टी गर्न उनले प्रयोग गरेको स्रोतलाई पदटिप्पणी राखेर पाठकलाई यसबारे अझ बढी जानकारी चाहिएमा थप अध्ययनको बाटो खोली दिएका छन् ।
लेखकले शिकारको क्रममा देखिएका जनावरहरूको हाउभाउको चित्रण बडो रोचक ढङ्गबाट कुनै रहस्यमय पुस्तक पढे जस्तै, कुनै हरर चलचित्र हेरे जस्तै गरेर घटनाको बयान गर्दै अब के हुन्छ भन्ने कौतुहलता उब्जाउँदै लेखनलाई अघि बढाउँदै पाठकलाई पठनको आनन्द दिंदै गएका छन् । लेखकले ध्वाँसे चितुवाका बारेमा राम्रो अध्ययन अनुसन्धान गरेको देखिन्छ । नेपालमा जङ्गली जनावरको संरक्षणको कमी र सरकारी निकायबाट हुने जनावरको छालाको कालो व्यापारमाथि समेत प्रश्न उठाएका छन् ।
उनले २०७२–०७३ सालतिरको समाचारलाई उद्धृत गर्दै चितुवा काठमाडौंको घरघरमा पुगेको र गाँउघरमा चितुवाको आतङ्क बढ्दै गएकोबाट लिएर पूर्वमा हुने गरेको हात्ती आतङ्क सबैका कारण जङ्गल फडानी र जनावरको संरक्षणको कमी देखाउँदै सबै प्राणीलाई बाँच र बाँच्न देऊको सिद्धान्त लागू हुनु पर्नेमा जोड दिएका छन् ।
नेपालमा ध्वाँसे चितुवा बढी रहेको तथ्याङ्क कोट्याएर लेखकले चितुवाका प्रकारका बारेमा राम्रो अध्ययन नभएर ध्वाँसे चितुवा र थोप्ले चितुवाका बीच फरक थाहा नपाएको जस्तै गरेर थोप्ले चितुवाको नाममा ध्वाँसे चितुवा मारीनु र त्यसको छालाको कालो व्यापार बढ्दै गएको तथ्य देखाउँदै यस्तो कार्यमा सरकारको ध्यान जानु पर्ने र रोकिनु पर्ने बताउँछन् ।
लेखकले जङ्गली प्राणीसँगै जल प्राणीका बारेमा पनि शिकार कथा पस्केका छन् । उनले माछा मार्न जाने प्रसङ्गमा माछाका प्रकार र हाउँभाउँमाथि प्रकाश पारेका छन् । नेपालमा पाइने सहर माछाको बारेमा उनले धरै नयाँ जानकारी पाठकलाई दिएका छन् । सहर माछा जसलाई अंग्रेजीमा हिमालयन गोल्डन महाशिर भनिन्छ , महाशिर अर्थात महाको अर्थ माछा र शिरको अर्थ बाघ रहेकोले यसलाई बाघमाछा भनिने गरिएको अनि यसको लम्बाई आधा फिटदेखि ९ फिटसम्मको रहने गरेको बताउछन् ।
माछा मार्ने सन्दर्भमा धेरै नै डकुमेन्ट्रीहरू बनेका र धेरै पुस्तक लेखिएको बारेको राम्रो जानकारी दिदै लेखकले ‘माहशिर फिसिङ्ग ईन कर्नाली (२०१४)’ पुस्तकको चर्चा समेत गरेका छन् । अझ माछा मार्न प्रयोग गरिने बल्छीको इतिहास कोट्याएर बेलायतसम्म पुर्याएर यसको प्रयोग चौंधौं शताब्दीदेखि हुन थालेता पनि त्योभन्दा अघिदेखि बल्छीको इतिहास रहेको अनुमान गरिएको छ । पहाडी नदीको बाहुल्यता रहेको नेपालमा विभिन्न २३० थरीका माछाहरू पाउने गरेको र यसमा पनि पहाडी नदीमा पाईने महाशिर माछा, जसलाई नेपालीमा सहर माछा (एक प्रकारको टल्कने माछा) भनिन्छ र सहर माछाको सन्दर्भमा लेखकले नेपालमा पर्यटकलाई आकर्षित गराउन नेपालमा सहर माछाको अन्तराष्ट्रिय प्रतियोगिता गराउन सकिने आफ्नो सुझाव समेत राख्न भ्याएका छन् । यसमा माछा मार्ने र छोड्ने (क्याच एण्ड रिलिज) जस्ता प्रतियोगितामा माछा मार्ने शौकिनहरूले सहभागिता जनाउन सक्छन् भन्ने सम्भाब्यता देखाएका छन् । नेपालमा सरकारको ध्यान नगएर शिकारका यस्ता धेरै क्षेत्रहरूको संरक्षण हुन नसकेको र यस्ता क्षेत्रमा सरकाको अनभिज्ञता रहेकोमा खेद प्रकट समेत गरेका छन् । सही ठाँउमा सही व्यक्तीको चयन नभएर राजनीतिक भर्नाबाजीले धेरै क्षेत्र ओझेलमा परेको अवास्तविकताबाट हामी पाठक परीचित नै छौं ।
यस संग्रहमा लेखकले शिकारका अनुभवलाई कथात्मक तरिकाबाट पस्कँदै पानी र धरतीमा मात्र सीमित नरहेर आकाशका प्राणीका बारेमा समेत शिकारको कथा बनाएका छन् । हामीले हाँस भनेर चिनेको यो मत्स्यजीवी पंक्षीको प्रकारका बारेमा चर्चा गर्दै नीलटाउके, चखेवा, टिल, किर्किरे, स्पुनबिल, पिन टेल, डुबुल्के, ढुङ्गे आदिका प्रकारका बारेमा चर्चा गरेका छन् । लेखक नेपाली भाषामा जनावर र पंक्षीहरूको उपर्युक्त नाम नभएकोमा गुनासो गर्छन् । जस्तै किङ्गफिसरलाई नेपालीमा माटोकोरेटो किन भनियो होला यस्ता धेरै उदाहरणहरू छन् ।
यो पुस्तक शिकार गर्न गएको क्रममा लेखकसँग घटेका घटनाहरूको संस्मरणात्मक संकलन हो । आफ्नो विगतका स्मरणहरूलाई कथात्मक तरिकाबाट प्रस्तुत गरिएको यस संग्रहमा शिकारका नियमकानून र शिकारका लागि चाहिने आवश्यक सामानहरूको विवरण प्रस्तुत गरेर पुस्तकलाई शिकार गर्ने तौर तरिका, सुरक्षा सम्बन्धी मार्गदर्शक, शिकारका नियमसङ्गत जानकारी आदिले भरिएकोले शिकार गर्ने गाइड पुस्तक बन्न गएको छ । शिकार गर्ने शौकलाई खर्चिलो शौक मानिन्छ । त्यसैले त राजारजौटाहरू र धनीमानीले मात्रै यो शौक पालेको देखिन्छ । शिकार जानअघि बस्नलाई टेन्ट, सुत्नलाई स्लिपिङ्ग ब्याग, ब्याकपेक, बन्दुक, त्यसको गोली, बल्छी (माछाको सन्दर्भमा) दिनरात खानको लागि रासनपानी आदि इत्यादिको व्यवस्थाका अतिरिक्त सामान ओसार्न भरिया अनि स्थानीय गाँउलेलाई झोराका रूपमा प्रयोग गर्न दैनिकी पनि दिनु पर्ने हुन्छ । यति गरेपछि शिकार गर्न सफल भए त ठिकै हो असफल भएको खण्डमा आत्मसन्तुष्टीमा नै चित्त बुझाउनु पर्ने हुन्छ । अझ शिकारको शौंक पुरा गर्न आफैले बजारबाट किनेर खसी–बङ्गुर ढालेर भोज खानु पर्ने हुन्छ ।
प्रस्तुत संग्रह पढ्दाको रोचकता भनेको जनावरहरूको बारेमा नयाँनयाँ कुराहरू थाहा पाउनु रहेको छ । बाघ र बघिनीको प्रचनन प्रक्रिया, बघिनीले जन्माएपछि डमरु हुर्काउने क्षेत्र निर्धारण गर्ने र त्यो क्षेत्रमा बाघलाई पनि आउन नदिने, बाघले आफ्नै डमरुमाथि आक्रमण गर्न सक्ने सम्भावनाप्रतिको सावधानी र डमरुका लागि शिकार गर्ने व्यव्स्था मिलाउनेबाट लिएर बघिनीले निर्धारण गरेको क्षेत्रमा डमरुले गर्न सक्ने शिकार (अन्य जनावर) माथि बाघले आक्रमण गर्न नपाउने र नदिने आदि धेरै रोचक प्रसङ्गहरूको चर्चा यस पुस्तकमा भएको छ । शिकारका कथाहरू हिजोआज पढ्न सुन्न पाइँदैन । त्यसैले नेपालको सन्दर्भमा भन्नुपर्दा यस्तोखाले शिकारका कथाहरू समेटिएको पुस्तक अब लेखिने सम्भावना एकदमै न्यून रहेको बारे प्रकाशकले पनि उल्लेख गरेका छन् । त्यसैले यस पुस्तकलाई प्रकाशकले पाठकका लागि सर्वथा नौंलो र पृथक खुराक हुन सक्ने विश्वास लिएका छन् ।
निष्कर्षमा भन्नुपर्दा प्रस्तुत संग्रहभित्र शिकारको अनुभव बोकेका संस्मरणात्मक कथाहरू पाइन्छ । यसमा लेखकको जीवनमा आईपरेको शौकिनका वास्तविक घटनाचक्रलाई सविस्तार समेटेको छ । लेखकले तथ्याश्रित विषयलाई प्रस्तुत गरेकोले पाठकलाई आनन्द प्रदान गर्दै जानेछ भने उनले देखाएका तथ्यगत विवरण र वस्तुपरकताले पाठकमा रोचकता दिंदै जान्छ ।
लेखकले सरल र तर्किकता शैलीमा अनौपचारिक तरीकाबाट आफूले प्रयोग गर्दै आएको बोलीचालीको भाषालाई अपनाएका छन् । उनले संग्रहमा नै आफू विदेशिएको लगभग चार दशकपछि नेपालीमा लेख्ने प्रयास गरेको र शिकारका धेरै शब्दहरूको नेपाली नामाकरण नभएको बारे प्रष्ट स्वीकारोक्ति दिएका छन् । त्यसैले उनको लेखनमा आफ्नै ढाँचा र बनोट रहेकोले यसमा बौद्धिकता, वैचारिकता र निजात्मकता आदि गुणहरू पाइन्छन् । लगभग चार दशक विदेशमा बसेका लेखकको मातृभाषाको लेखाइमा व्याकरणको शुद्धता खोज्न हुँदैन उनले नेपाली भाषामा आफ्नो शिकारको अनुभवका कथाहरूलाई लेखेर दिएकोमा हामी आभारी छौं । यस्तो कथा अब फेरि लेखिएला भनेर यकिनका साथ भन्न सकिंदैन । त्यसैले शरद सुब्बाको यो अनुपक भेटका लागि कृतज्ञ रहनेछौं ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










