दशैं नजिक आउँदै थियो । बिहान बेलुकी निकै जाडो अनुभव हुन थालेको थियो । गाउँघरमा ढिकी आधारसमेत कुटेको सुनिन्थ्यो । दुई–चार धनी मानिसले आफ्नै घरमा खान चिउरा कुटे पनि धेरै जसोलाई हाट लगेर चिउरा बेचेर दशैं टार्नु थियो । गाउँका सबैलाई दशैं आए पनि धेरैलाई चाहिं दशैं मनाउनु भनेको ऋण बोक्ने रहर गरे जस्तै थियो । जसरी दशैं नजिक हुन्छ समस्याको कालो बादल उसरी नै मडारिन थाल्छ । अनि गरीबगुरुवालाई संकटमोचन निम्ति धनीमानीको दैलामा जम्लाहात गर्न पुग्ने नौबत आउँछ ।
अचानक रेडियोको एउटा खबर मानिसका मुख मुखमा चर्चा हुँदै थियो । यो थियो – ‘भारत माथि अचानक चीनले हमला गर्यो !‘ यसले मानिसका मन मस्तिष्कमा भय र शङ्काको जरा गाड्दै थियो । शहरको सिमाना नाघेर त्यो खबर गाउँबस्ती तिर पुग्यो । मिलिक्कै हर्षोल्लासको दशैँ सबैलाई आपद्को जड बन्न पुग्यो !
गाउँलेले आफ्नो कामधाम छोडेर बिहान बेलुका गोतामे महाजनका घरमा रेडियोको खबर सुन्ने काम गर्न थाले । जता हेर्यो रेडियो सुन्न जानेको ताँतो देखिन्छ । जन्तरे बुढाथोकी अलिक बढी चिन्तामा छन् । यसै वर्ष उनको जेठो छोरो रामकृष्ण तेजपुरमा कलेज पढ्न गएको । यसै पाली यस्तो आपद् आउनु परेको ।
‘तेजपुर शहर प्रशासनले खाली गर्ने हुकुम दियो रे । मान्छेको भागाभाग छ ।‘ भन्ने खबर पनि सुनिन थाल्यो । पगला फाटक, जेलका कैदी सबैलाई छोडिदिएको खबर वनको आगो झैं फैलियो । ब्याङ्कका जम्मै पैसा पदुम पोखरीमा फ्याँक्दा धेरैले कायदा गरेर हडप गरेको खबर पनि सुनियो । यसरी दरं कलेज कतृपक्षले पनि छात्र छात्रालाई छात्र निवास खाली गरी आआफ्नो घर जाने निर्देश दिएको थप खबर थियो । जो जसरी सके आआफ्नो गन्तव्य स्थल तिर लागे । लागे के भन्नु! जीउ बचाउन मजबुर भए । तेजपुर शहर लगभग सुनसान बन्यो । पुलिस प्रशासनका मानिस बाहेक बाटो जनशून्य देखिएको थियो । यत्रतत्र काम र मामको सुइँको नपाएर लावरिस कुकुर बाटामा हिंडेको सुलभ दृश्य थियो । पूर्वतिर जाने भुडुली नदीको चौकी घाटबाट नाउँमा तरेर आफ्नो घरको बाटो छोट्याउन थाले । बिथोलिनेहरूमा बाहिरबाट पढ्न आउने छात्रछात्रा र शहरमा रोजगार गर्नेहरू नै बढी देखिन्थे ।
यसरी भाग्नेहरूमा शिलाङखुटि गाउँको रामकृष्ण पनि थियो । तर ऊ पश्चिम जाने । उसको हातमा एउटा ठूलै थैलो छ । आतेसमा पढ्ने किताब, लाउने लुगाफाटो के कति हाल्यो, जान्दैन तर खाँदेर हालेकोले थैलो टम्म छ । भाग्ने हतारमा केही सोच्न भ्याएन । अहिले बोकेर हिंड्दा पो पोकाको भारी थाह पायो ।
रामकृष्णको घर तेजपुरदेखि चालिस माइल जति पश्चिम पर्छ । साँझ विहगुडीसम्म हिंडेर जाने कलेजका सहपाठी बन्धु महेन्द्रनाथ बरा र दिलीप श इकीया साथमा छन् । महेन्द्रनाथ बराको घर पुग्दा टक्क दश बजेको थियो । ऊ त्यही बासा बस्न भयो । दिलीप शइकीया थियो अलिक पर खेलमाटिको ।
राति चकमन्न अँध्यारो थियो । सबै बत्ती निभाएर बसेका । अनि घरका बुढा पाकालाई खाल्डो खनेर लुक्ने व्यवस्था गरेको रहेछ । रामकृष्ण ओच्छ्यानमा त ढल्क्यो । तर हल्लाखल्लाले सुत्न सकेन । अनाहुत भय मनमा छिप्दिंदै थियो । मनमा घर कहिले कसरी पुग्ने चिन्ताको मुल बिन्दु यही थियो! यता हिंडेर आएको थकान त छँदै थियो । बिहानीपख बल्ल निदायो ।
भोलिपल्ट दिलीप शइकीयासँग धन्नै तीन माइल जति परको खेलमाटी गाउँ पुग्यो । त्यो बाटोबाट नै मङ्लदै गौहाटी जाने गाडी पाउन सकिन्छ । बाटामा एउटै गाडी कुदेका थिएनन् । दुई एक फौजी गाडी चलेका छन् । त्यो रात दिलीपका घरमा बस्यो । रामकृष्णलाई कहिले घर पुगूँ भन्ने मात्र थियो । त्यो दुई दिन उसलाई महिना दिन बिताए जस्तै हुँदै थियो । यता दिलीप शइकीयाका बाबुआमा बैनी बिनीता सबै उसलाई साम्मे नहुन्जेल न जानु भन्दै बस्ने ढिपी गर्दै थिए । ऊ चैं गाडी भेटे जानेमा थियो! घर सम्झिंदा युद्ध क्षेत्रमा भए जत्तिकै यातना अनुभव हुन्छ उसलाई ! यो अवस्थामा ढुङ्गाका चिउरा चबाएर बस्नु परे जतिकै भएको कुरा उसले मात्र बुझेको थियो ।
भोलिपल्ट राष्ट्रिय राज मार्गमा निस्केर गाडी कुरेको छ । अह्ह ! ठूलो साँझ पर्दा पनि गाडी आउने छाँटकाँट देखिएन । दिलीपका घरका सबैले “धेरै राति भयो, अहिलेतक गाडी आएको छैन ! अब आउँदैन ! अहिले घरै जाऊ, भोलि विचार गर्नुपर्छ,” भन्ने कुरा हुँदै मात्र थियो । तेजपुरबाट एउटा गाडी आयो । शायद गौहाटीतिर जाने बस होला । पानको पत्ता जापे झैं मानिस खाँदेर ल्याएको रहेछ ।
रामकृष्णको ढिपी देखेर दिलीपका परिवारलाई आखिरीमा बिदा दिन कर लाग्यो । जसोतसो दुई खुट्टा बस भित्र पसायो । अँध्यारोमा कसैको मुख देखिने कुरा आएन । बस्ने भन्दा उभिएर जाने बढी थिए । शायद सबैको एउटै मनोस्थिति हुनाले कसैले केही आपत्ति गरेनन् । छिट्टै गन्तव्य स्थल पुग्न पाए हुन्थ्यो भन्नेमा छन् आतङ्कित यात्रीहरू । रामकृष्णले घर पुग्ने हतारमा दिलीपसँग राम्रो गरी विदाइ माग्न पाएन । बसको खलासी हतार गर्दै थियो । ठेलामारा पुग्न आँटे पछि बस बिग्रियो । टर्च बालेर ड्राइभर खलासी मिलेर बनाउन ठ्याक्क ठुक्क गर्न थाले । एक हूल गाउँका मानिस हातमा डन्ठा मुर्गा लालठन झुन्डाएर पश्चिमबाट उनीहरूलाई ताकेर आए जस्तो देखियो । बेला बेला टर्च बसतिर लगाउँदै थिए । बसबाट अन्य यात्रुसँग ऊ पनि ओर्लेको मात्र थियो । त्यो दृश्य देखेर झस्कियो । नजिक हुँदै जाँदा मान्छे बोलेको सुनियो । उनीहरूले लालठन माथि कालो ढाकन लगाएका थिए । शायद शत्रुको हवाई जहाजले माथिबाट नदेखोस् भनेर होला! उनीहरू दश–बाह्र जना जति थिए ।
छिमल छिमल भएर गाउँ रक्षा गर्न जुटेका गाउँ रक्षा बाहिनीको टोली रहेछ । त्यी मध्ये अलिक अधबैंसे एक जनाले भने, “यहाँबाट छिटो जानुहोस् । हाम्रा गाउँका धेरै मानिस गाउँ छोडेर आमै, नानी, केटाकेटीलाई लिएर नौ बिल जहामारि तीरबाट ब्रह्मपुत्र नदी तरेर दक्षिण पार जाँदैछन् ! चीना भालुकपुङ आइपुग्यो! के हुन्छ भन्न सकिंदैन!”
सबैका मुखमा भयले जरा गाडेको थियो । होला पनि ! बाटामा दुई एक फौजी गाडी सिवाय अरू गाडी चलेको देखिएन ।
झन्डै दुई घण्टा पछि बस स्टार्ट भयो । सबै रमाए । मिल्लिक्कै ओर्लेका सबै बसमा चढे । बस कुदिरहेको थियो । अचानको उसलाई भीम साइँलाको याद आयो । गाउँले साथी । सँगै पढेको । पाठशाला पास गर्यो । तर हाई स्कुल पढेन । किन पढेन ! अहिले बल्ल रामकृष्णलाई बुझे जस्तो लाग्यो । शायद गरीबीले गर्दा उसले पढ्न सकेन । उनीहरूसँगै पढ्ने ज्ञानमायाको त दश वर्ष नपुगी बिहे भयो! फुलेश्वरीको त बिहे गरेकै वर्ष कमाउन हिंडेको बुढो फेरि फर्केन । रामकृष्ण यस्तै कुरा सम्झिन थाल्यो ।
भीम साइँलो उसको अभिन्न साथी हो ऊ । अझ उतिकै प्यारो छ । तीन महिना अघि कलेजको बिदामा गाउँ जाँदा ऊ भन्थ्यो, “तिमीले पढ्न पायौ । राम्रो पढे जे पनि बन्न सक्छौ । हाम्रो त सबै दैला झ्याप्प भइहाले ।”
बाबु हस्त वीरको टिबी भएर मृत्यु भए पछि उसले आफ्नो पढाइ बीचैमा छाड्यो । छ जनाको परिवार चलाउन आमालाई सगाउने हुनुपर्यो । भीम साइँलाका कुरा सुनेर रामकृष्णलाई लाग्यो पढ्ने रहर त अझ ऊभित्र मुर्झाएको रहेनछ !
राति यस्तै दशएघार बजेको होला ! बसले रामकृष्णलाई गाउँ पस्ने दो बाटोमा ओरालेर गयो । चारैतिर हेर्यो । रात चकमन्न छ । एक्लो उसलाई मनमा डर डर लाग्यो! राजमार्ग छेउछाउका दुईचार घर पनि अँध्यारोमा डुबुल्की लगाएर निद्राको खास्टोमा गुटमुटो परेको देख्यो । कुम्लो काँधमा हालेर ऊ अगाडि बढ्यो । यहाँबाट ठक्क दुई माइल पर छ उसको गाउँ । नदी किनारको ठूलो मथाउरीमा हिंड्दै छ । एकातिर नदी अर्कातिर वितृष्ण खेती । आधी अधुरो जून पश्चिमतिर ढल्किसकेको थियो । एक हूल कुकुरले झम्टिंदै आए! ऊ ठिङ्ग उभिएर केही टिपे झैं गर्यो । कुकुर कराउँदै मथाउरीबाट ओर्लेर भागे । अब भने त्यो ठाउँमा ऊ अनि पश्चिमपट्टिको कृष्ण पक्षको जून मात्र थियो । यता अब कुनै घर छैन ।
सुनसान रातलाई झ्याउँकीरीले ब्यूँझाउन मथाउरीका दुई कान्लामा एकोहोरो क्यारकुर, चिइइ गरेर कराएको सुनिन्छ । एक्कासि खो पारि डाँडामा एक हूल स्याल कराए । दिउँसो यही बाटो कतिपल्ट आने जाने गर्छौं । राति यही जानेकै बाटो डराउने हुन्छ । दुई महिना अघि यहाँ भीम साइँलोसँग माछा मार्न आउँदा ऊ आरिकटा बिलसम्म पुगेको थियो । माछा समाउन भीम साइँलो सिपालु थियो । कसरी उसले प्रशस्त माछा समाएर सबैलाई बराबर भाग लगाएको थियो । यस पालि पनि ऊसँग माछा मार्ने फुर्ती गर्ने सोच रामकृष्णको मनमा पगारिन छोडेको छैन । आधा भन्दा बढी हिंड्यो ऊ । अब एक माइल जति हिंडे गाउँ पुगिहाल्छ । पोको काँधमा निकैबेर बोकेर होला काँध दुखेको थाह पायो ।
काँध फेरेर पोको पिठ्यूँमा लिएको मात्र थियो । अलिक अगाडि दाहिने पट्टिको खेतबाट पानीमा छप्लाङछप्लाङ गर्दै एउटा मान्छे आएर मथाउरी उठेको देख्यो । त्यो मान्छे उसको अघि अघि हिंड्न थाल्यो । पछाडि आउँदै गरेको रामकृष्णलाई शायद देखेन!
गाउँकै कोही होला भनी रामकृष्ण सोध्यो, “ऐ, को हो ? म पनि उतै जान्छु पर्ख त !”
त्यो मान्छे ठिङ्ग उभियो ! रामकृष्णले उसलाई भेट्न छिटोछिटो पाइला चाल्यो । छेउ पुग्दा ऊ छक्क पर्यो ! “रामकृष्ण ! यति राति तँ एक्लै कहाँबाट आइस् ?” रामकृष्णले केही बोल्नुअघि भीम साइँलोले अचम्म मान्दै सोध्यो । उसैका कुरा रामकृष्ण सोच्दै आउँदै थियो ! भीम साइँलोसँगै यसरी ठ्याक्क जम्काभेट हुँदा उसलाई ठूलो आड लाग्यो ! खुसी भयो !
सोध्यो, “यति राती कहाँबाट आइस् भीम ?”
“माथि मलखे डाँडामा खेत हेर्न गएको थिएँ । कुलो तल्ला गाउँकाले खनेर आफ्नो खेतमा लगेछन् । अहिले आफ्ना पट्टि फर्काएर आएको ! खैइ, ले कुम्लो म बोकिदिन्छु,” भनेर बोकिदियो । यसरी बात मार्दै हिंड्दा रामकृष्णको घर आइ पुगेछ ।
उसको घरको बरन्डामा पोको राखिदिएर “भोलि भेटौंला” भन्दै भीम साइँलो फुत्त निस्किएर गयो । रामकृष्णले घरको दैलो ढकढकायो ।
“को हो ?” भित्र बाट बाउ बोल्दा उसले भन्यो, “म रामकृष्ण !”
“ए ! छोरो आएछ !” खुशी हुँदै दैलो खोले ।
“ … यो राति कसरी आइपुगिस् बाबु !” अचम्म मानेर आमाले एक्कासि उसको टाउको सुमसुम्याइन् । क्षण विलम्ब नगरी ऊ हतार हतार सिकुवामा झुन्डाएर राखेको भात र अलिकति गुन्द्रुक भुलुक्क उमालेर छोराको निम्ति भातको सुसार गर्न थालिन् ।
रामकृष्ण पोको भित्र राखेर हात गोडा धुन थाल्यो । बाबुलाई चीनको आकस्मिक आक्रमण र तेजपुरको स्थिति बयान गरिसकेकै थिएन आमाले भान्सा गर्न बोलाइन् ।
ऊ भात खान थाल्यो । छेउमा बसेर आमा भन्दै थिइन्, “यहाँ हामीलाई कत्रो चिन्ता । के भो, कसो गर्नु । यहाँ तेरा बाबाले फिटफिटिएर कसैलाई सन्चले बस्न दिएका छैनन् ।”
टाढिएको छोरोसँग आमा बोल्न कत्ति पनि थाकेकी थिइनन्, “भोलि चैं साइकिल लिएर भए पनि छोरालाई भेट्न जान्छु! कसैले मलाई नरोक्नु भन्दै थिए तेरा बाबाले! धन्न बाबु त आइपुगिस् !”
भात खाएर सुत्ने तरखर हुँदा आमाले सोधिन्, “यो राति यसरी एक्लै किन आइस् ? उतै बहादुर चोकमा बाटुलीका घरतिर बसेको भए हुन्थ्यो नि!”
“हो नि ! बहादुर चोक अन्धकारमा डुबेको थियो, चकमन्न ! आफूलाई कहिले घर पुगूँ भएको थियो ! धन्न बाटामा भीम साइँलो खेतमा कुलो लाउन गएको रहेछ । उसैले पोको बोकेर घरैसम्म पुर्याइदिएर भोलि भेटौंला भन्दै हतारिएर गयो ।”
“होइन के भन्छ यो !” अचम्म मान्दै आमाले रामकृष्णको अनुहार हेरेर भनिन् ।
“किन ? यसरी आत्तिनु भएको किन, आमा ? साथी हो पोको बोक्यो त के बिरायो ? त्यतिमा यसरी आत्तिनुपर्छ ?”
आमाछोराको संवाद सुनिरहेका रामकृष्णका बाबु भित्रबाट जुरुक्क उठेर आए ।
“कहाँ भीम साइँलाको कुरा गर्छ ! ऊ मरेको महिना दिन हुन आँट्यो ।”
बाबुको कुरा सुनेर मटेङ्ग्राले हानेको ढुकुर जसरी खाटमा रामकृष्ण पुर्लुक्क पल्टियो ।
“कसरी मर्यो ? मलाई किन खबर दिएनौ ?” भन्दै साह्रै अफसोस मान्यो । मनको दुख पोख्नसम्म पोख्यो । घरकालाई झन चिन्ता थपियो ।
“उसको भाग्य नै त्यस्तै रहेछ । माछा मार्दा धेरै माछा देखेर अतालिएर मुखमा जिउँदो कवै माछो च्यापेर अरू माछा समाउने भएछ ! माछो स्वात्तै मुख भित्र पसेर रक्ताम्मे पारिहाल्यो! डाक्टरकामा पुर्याउन नपाई आधा बाटामै चोला उठ्यो ! के गर्नु विचारा उसको दिन त्यति नै रहेछ ।” बाबुले यति भनेर लामो सास फेरे ।
रामकृष्णको स्थितिले घरका सबैलाई अनाहुत भय र शङ्काको माखेसाङ्लोमा पार्यो । ….रातभरि कसैगरी रामकृष्णले सिरानीमा मुन्टो स्थिर राख्न सकेन । निदाएन । झसङ्ग हुन्छ ! उसले भेटेको मान्छे भीम साइँलो नै हो ! काटीकुटी भीम साइँलो । त्यो भीम साइँलो होइन भने फेरि को थियो त ?
चाँद मारी, तेजपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










