बयान – ४ : जीवनको लक्ष्य

खानु र पीउनु जीवन भए जिउनु हरे के !

पछिको आश नभए कठै मानिस हरे के !!

पृथ्वी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर !

तल नै हेरी तल नै हेरी विलौना नगर !!

मनको बत्ती तनले बाली स्वर्ग छ प्रसाद !

कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मी प्रसाद !!

(महाकवि देवकोटा, मुनामदनका अन्तिम हरफ !)

यती ठूलो संसारमा हामी कति ठूला छौं र कहाँ छौं ? अनुमान गरौं- ८ लाख २० हजार किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको सूर्यलाई एउटा मात्र सौर्यमण्डलको एक फन्को लगाउन २३ करोड वर्ष लाग्छ । यो ब्रह्माण्डमा यस्ता १ सय करोड भन्दा बढी सौर्यमण्डल छन् । हामी आर्थात् मानिस यति विशाल ब्रह्माण्डहरूको कति अंश होउँला ? वैज्ञानिक अध्ययनहरूमा उल्लेख भएअनुसार यो पृथ्वीमा भएका सबै कमिलाको तौल यसै पृथ्वीमा नै भएका सबै मानिसको भन्दा धेरै छ । पत्रकार मित्र ज्योति देवकोटाले प्रश्न गरेका छन् तै पनि ‘हामी मान्छेहरू यो ब्रह्माण्ड मैले नै थामेको जस्तो घमण्ड/अहम् किन गर्छौं ?’ देवकोटा खस आर्य परिवारका पुर्खाको भूमि जुम्लाका बाहुन हुन् ।

हाम्रो सामाजिक गतिविधि, व्यक्तिका दृष्टिकोण तथा व्यवहारहरू कतिसम्म असहिष्णु र असामाजिक छन् भनेर जान्न आ-आफ्ना हातमा रहेका फोनहरूका ‘स्क्रीन लग इन’ गरेर सामाजिक सञ्जालमा हेरे मात्र पुग्छ । सामाजिक सञ्जालको जालोमा हनुमानले रामका अगाडि राखिदिएको द्रोणागीरी पर्वत (यसभन्दा पहिले यो पर्वत बिन्ध्याचल उल्लेख गरिएको थियो)  मा राम वाण फेला पर्ला तर ज्योति देवकोटाका कटाक्ष वा कर्ण शाक्यका सोचहरू भेट्न मुश्किल छ । सामाजिक सञ्जालको जालोमा चलेका औंलाहरूमा आँखा खोजेर पनि पाइने होइन भने मन, मुटु र मस्तिष्क त कहाँ पाउनु ? यी पङ्क्ति लेख्दै गर्दा नेपाल सरकारले टिकटक बन्द गर्न गरेको निर्णयले खसेको आकाश यो निर्णय फिर्ता नहँदासम्म माथि नउड्ने निश्चित छ । सामाजिक सञ्जाल विना ‘लाइसेन्स’ का बन्दुकजस्ता भएका छन् जो जहिले जता पनि र जसरी पनि विस्फोट हुनसक्छन् । सामाजिक सद्भावमा प्रभाव पारेको आरोपमा बन्द गरिएको टिकटक खुला भएको वर्षदिन बितिसकेको छ भने फेरि ‘फेसबूक’ले ट्याक्स तिर्न अटेर गरेको गुनासो सुनिन थालेको पनि धेरै भइसकेको छ !

‘के नेपाल सानो छ ?’ महाकवि देवकोटाको यो निबन्ध हामी सबैले नै पढेका छौं । तर माथि उल्लेख कमिलाको र मानिसको तौलको सन्दर्भ र यति ठूलो संसारमा नेपाल र यस भित्रका हामीहरू पृथ्वीका लागि कमिला बराबर नै त छौं  ! हामी भित्रको अहमको आगोको ज्वाला ठूलो कि शान्ति र मित्रताको भावना ठूलो ?

‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ पनि त देवकोटाले नै भनेका थिए । उनै देवकोटाको बहुचर्चित कृति ‘मुनामदन’का माथि उल्लेख हरफले भनेको जे छ, त्यो बुझ्न र अपनाउन सक्नु पो मानिसको जीवनको सार्थकता हो कि ! मानिसको जीवनको लक्ष्य के हो र कहाँदेखि कहाँसम्म हो ? यो प्रश्नले पनि घरीघरी चिमोटिरहन्छ । देवकोटाले त यसो पनि भनेका छन् –

रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान ।  

आखिर रहेछ श्रीकृष्ण एक

न भक्ति भो, ज्ञान, न भो विवेक ।

 

बयान- ५  : को कहाँका हौं ?

 कहाँ थियो वास, अघी म को थिएँ,

 कसो हुँदा यो पिंजरा लिंदो भएँ । 

कहाँ छ जानू कुन साथ लीकन

तँलाई मालुम् छ कि यो कुरा भन ?

– कविशिरोमणि लेखनाथ पौड्याल

हामी सबैलाई नै वा धेरैलाई नै पनि अहिले यस्तो लाग्नसक्छ- ‘आज म जहाँ जे छु र जसरी उभिएको छु, त्यो सबै मेरा बलबुता र आफ्नै पाखुरीले आर्जेको पौरख हो ।’ तर के यथार्थ त्यस्तै मात्र हो र ? तपाईं हामीलाई यहाँसम्म आइपुग्न हाम्रा पछाडि के कसैले साथ सहयोग नगरेकै हो र ? होइन ।

हामी यहाँसम्म आइपुग्न मेरा पछाडि धेरैले श्रम पसिना बगाएका छन् । धेरैले जीवन बलिदान गरेका छन् । आफ्नो गाँस काटेर, आफ्नो उमेर साटेर हामीलाई यहाँसम्म ल्याइपुर्‍याएका हुन् ।

लेख्न पर्ने धेरै कुरा छन् तर हामीले लेखेनौं । लेख्नसक्ने वा लेख्न मन हुनेहरूले गाउँ छोड्यौं । गौरिगञ्ज झापा जिल्लाको पुरानो र परिचित बजार, आठमौजा भनेर चिनिन्थ्यो । यहाँ विराटनगर रङ्गेली हुँदै महेन्द्र राजमार्गले भद्रपुर जोडिन्छ भनेर काठमाडौंका साहु व्यापारी हिराकाजी श्रेष्ठहरूले थानकोट काटेका थिए । यहाँको उर्वर भूमिमा खेती किसानी गरेर मौजा कसेर बस्न सकिन्छ भनेर नुवाकोटतिरबाट पाण्डे, काठमाडौंको काठतिरबाट रिमालहरू पनि यतै झरेका थिए । पुर्वी पहाडका खासगरी धनकुटा, भोजपुर, खोटाङ र संखुवासभा लगायतका जिल्लाहरूबाट सबै जात समुदायका मानिसहरू यहीं जम्मा भएका हुन् ।

हामी कहाँबाट कसरी यहाँ आइपुग्यौं ? सबैलाई पछाडि फर्केर हेर्न कसरी प्रेरित गर्ने ? के हाम्रो लागि कसैले पसिना चुहाएन ? के कसैले हाम्रा लागि आँसु नै झारेन ? तिनका प्रति हाम्रो दायित्व के ? तिनका प्रति हाम्रो भूमिका के ? जसले हामीलाई यहाँसम्म आउने खुट्टा दियो, विचार दियो र त्यो आँट हाम्रो आँतमा पनि कसले भरिदियो ?

हामी धेरैजसो  विश्वकै विपन्न र अविकसित देशका पनि विपन्न परिवार र सुगम भनौं वा दुर्गम त्यतिकै विकट भूगोल भोगेर यहाँसम्म आइपुगेका हौं । हिजो त्यो पहाडबाट तराई होस् वा तराईबाट सदरमुकाम, सदरमुकामबाट राजधानी, राजधानीबाट युरोप होस् वा अमेरिका ? पहाडबाट हिंडेर तराई, तराईबाट मोटर चढेर राजधानी र आज जहाज चढेर समुद्र पार गरेका हामी सबै एकै छानोमुनि एकै चूह्लोमा पाकेको मानो खाएर हुर्केका त हौं नि !

गौरिगञ्ज कै केही कुरा गरौं, अनन्त ठाकुरलाई के पो कर थियो होला र ? जनकपुरबाट झापा पुगेर कालापानीमा स्कूल खोल्छु, तिम्रा मुट्ठी खोल भनेर झगडा गर्न । अरूका पनि धेरैको नाम लिनु पर्ने हुन्छ, जसले जुन वेला जसलाई सम्झिन सकिन्छ उहाँहरूको नाम लिनुपर्छ । उदयलाल सर, मोहनलाल सर, घोष सर, थपलिया सर हामीले सम्झिनु पर्ने अग्रज हुन् । तिनका श्रम पसिनाले हाम्रो जीवनले सुगन्ध पाएको हो । पण्डित सर र विएस्सी सर पनि रैथाने थिएनन् । तिनले के लिए के दिए हिसाब खोजे ऋणात्मक हुन्छ । ऋतुराज सरले बोकेको छडी पनि हाम्रै मायाले नै हो । योगेन्द्र राजवंशी, कोरोवारीमा लामो समयसम्म शिक्षा दान गरिरहनु भएको थियो ।

 

बयान – ६ : सामाजिक दायित्व

मलाई यस्तो लाग्छ-  ‘म धेरै कुद्न सक्छु भनेर एक्लै कुदिरहेसम्म कति कुद्छु  वा अरू कति कुद्छन यकिन हुन्न । सबै सँ-सँगै कुदे पो थाहा हुन्छ, म कति कुद्छु र अरू कति कुद्दा हुन् ? यदि म कमजोर रहेछु भने कमजोरी पनि जाँदो हुँ र सिक्दो हुँ- अरूभन्दा धेरै कुद्ने काइदा के हो ? तर म एक्लै कुदिरहेको छु , सके अरूलाई सँगै कुद्ने अवसर नै नदिएर वा सके पछाडि धकेलेर, छिट्की हानेर । हामी सबै सँ-सँगै कुदौं र सबैभन्दा धेरै कुदौं र नसके सिकौं । एक्लै कुदे वा अरूलाई छलेर कुदेर पहिलो हुन र गन्तव्यमा पुग्न सकिंदैन ।’

हामीलाई तातै तातै भन्दै हिंड्न सिकाउने, हामीलाई स्कूल जानुपर्छ भन्दै आँखा देखाउने, हामीलाई सबको भलो गर्नुपर्छ भन्दै बाटो खनेर डोर्याउने, गाउँ घरमा आउने जाने सबै हाम्रा पाहुना हुन् भनेर तिनका लागि पाटी पौवा वा चौतारो खनेर शीतल छहारी बनाई दिनेहरूलाई के मैले अब तपाईंहरूको लागि के गर्नुपर्छ भनेर सोध्नु वा धन्य छौ तिमीहरू  भनेर सम्झनु पनि पर्दैन ?

हामीले पढेको स्कूलको छाना हामीले टाल्नु पर्छ कि पर्दैन ? हामीले हिंडेको बाटोको खाडल हामीले पुर्नु पर्छ कि पर्दैन ? सबैलाई थाहा छ वा सबैलाई यस्तो लाग्छ, म एक्लैले धेरै गर्न सक्दिनँ वा तपाईं  हामी दुई-चार जनाले मात्र के नै पो गर्न सकिन्छ र ? हो मैले मात्र वा तपाईं हामी दुई-चार जनाले मात्र धेरै केही नै गर्न सकिन्न । तर कसले भन्यो मैले मात्र वा तपाईं हामी दुई-चारले मात्र धेरै गर्नु पर्छ वा सबै गर्नु पर्छ । पर्दैन तर जति सकिन्छ त्यति मात्र गरे हुन्न कसले भनेको छ र ? तर खै जति सक्छु त्यति मात्र नै सही, त्यो मैले किन नगरेको ? हो सबैले गर्दैनन् वा अरूले पनि गर्दैनन् तर मैले नगरे न अरूले गर्छन् वा मैले नगरे कसरी अरूले गर्छन् भनेर मैले किन नसोचेको ? मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? यो प्रश्नको उत्तर दिनु पर्छ पर्दैन हामीले ?

हिजो खाल्डाहरू पुरेर, ढुङ्गाहरू फोरेर कसैले ती बाटोहरू किन बनाए ? आफ्नो गाँस काटेर होस् वा फाटेको कमेज लगाएर कसले ती स्कूलका छानाहरूमा परालले छाए वा टायल लगाए ? जसले त्यो काम गरे त्यो मेरा लागि वा तपाईं हाम्रा लागि नगरेको भए कसका लागि गरे ? तिनले समय बिताउने बसिबियाँलो अरू कुनै मेसो नपाएर पो त्यसो गरेका हुन् र ? यथार्थ घाम जतिकै छर्लङ्ग छ भने अब मेरो वा तपाईं हाम्रो पालो हो कि होइन, बाटोको खाल्डा पुर्ने वा स्कूलको छाना टाल्ने ? हामी आफूले हिंडेको बाटोको खाल्डा पुर्न किन सक्दैनौं ? हामी आफूले पढेको स्कूलको चुहिने छाना टाल्न किन सक्दैनौं ?

त्यस्ता धेरै काम गर्न पैसा नै चाहिन्छ । पैसा नभए केही हुन्न । एकता नै संगठन हो र संगठन नै बल हो । नेपाली जनबोलीले भन्छ- एकले थुके सुक्छ, सयले थुके बग्छ । थुकेर नै बगाउन सकिन्छ भने थुकै त हो सबै मिलेर एकपटक एकैचोटी थुकेर त हेरौं ताकि के हुनसक्दो रहेछ ? सबैले एकै ठाउँमा एकै पटक थुक्ने हो भने त्यही थुकेको फोहोरले पनि कतै कुनै ठाउँमा राम्रो काम गर्न सक्छ भने किन नथुक्ने ? थुकेर त हेरौं । थुकेरै बगाइदिऔं । थुकै त हो काम लाग्छ भने किन सबैले एकैपटक  एकै ठाउँमा नथुक्ने ?

खाली खुट्टा, भोको पेट वा नाङ्गो आङ नै किन नहोस् हिजो हाम्रा अग्रज/पुर्खाहरूले किन स्कूल खोले ? किन पाटी पौवा बनाए ? किन बाटो र पुल बनाए ? किन कसैले गर्दैनन् वा मैले मात्र गरेर के हुन्छ भनेर किन कोही हात बाँधेर बसेनन् ? के तिनीहरूले मूर्ख भएकाले नै यी काम गरेका थिए होलान् त ? उनीहरूले जे गरे र जति गरे त्यो सबै सोचेरै हाम्रा लागि गरे । खाली खुट्टा र भोको पेट कसैले हाम्रा लागि जे गरे अब हामीले आउने पुस्ताका लागि के गर्ने ? जो जहाँ भए पनि आजको ‘गुगल एज’ र ‘ग्लोबल भिलेज’को एकीकृत प्रयासबाट गरौं । सङ्गठित भएर र योजना बनाएर प्रयास गरौं ।

 

बयान – ७  : गौरिगञ्ज नै किन ?

सन्दर्भ गौरिगञ्ज हाइस्कूल झापाका पूर्व विद्यार्थीहरूको तर्फबाट केही वर्ष पहिले मात्र एक संस्था दर्ता भएको छ । वि. सं २००८ सालमा स्थापना भएको यस स्कूलमा २०२३ देखि १० कक्षासम्मको पढाइ शुरू भएको थियो । हालसम्म यस स्कूलबाट १ हजार ५ सय ७७ जनाले नियमित तर्फबाट एसएलसी उत्तीर्ण गरेका छन् । अनुमान गर्न सकिन्छ, अरू यति नै बराबरले आंशिक प्रक्रियाबाट उच्च शिक्षाको बाटो तय गर्नु भएको हुनुपर्छ । केही बर्ष यता एसएलसी एसइई भएको छ भने माध्यमिक शिक्षा  १२ कक्षा सम्म भएको छ ।

यस विद्यालयबाट कक्षा १० उत्तीर्ण गर्नेहरूको सङ्ख्या भने ३ हजार ७ सय ८० पुगेको रहेछ । यस विद्यालयमा लामो समयसम्म प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुहुने अनन्त ठाकुर जनकपुर निवासी हुनुहुन्थ्यो भने उदयलाल यादव स्थानिय । यस स्कूललाई यहाँसम्म ल्याइपुर्‍याउन उहाँहरूलगायत नाम नै लिनुपर्ने अरू धेरै हुनुहुन्छ । यस स्कूललाई अहिले यो पङ्क्तिकारका यसै स्कूलका सहपाठि मित्र गोविन्द घिमिरेको नेतृत्वले अझै अगाडि बढाउने छ । स्थानीय स्तरमा क्यामपस र आसपासमा अन्य माध्यमिक विद्यालयहरूको स्थापना हुनुमा यस स्कूलबाट शुरू भएको शिक्षाको ज्योति हो ।

‘एकले थुके सुक्छ, सयले थुके बग्छ ।’ मेरो अनुरोध र अपेक्षा सबैसँग यति मात्र हो – थुकै त हो यसले कुनै राम्रो काम हुन्छ भने किन नथुक्ने, सबैले एकै थलोमा थुकेर त हेरौं । जसले जति सकिन्छ, बल गरेर थुकौं, मुख र घाँटी सफा गरौं ।

हामीमा धेरै नै अविश्वास किन ? हामी बढी तर्क गर्न र नकारात्मक सोचमा किन ? भनिन्छ-विद्या विवादाय, धनम् मदाय, शक्ति परेस‌ाम् परपीडनाय अर्थात् विद्या विवादका लागि, ‍‍‍‌धन घमण्डका लागि र शक्ति अरूलाई दुःख दिन प्रयेाग नगरियेास् । तर हामीमा यस्तो त भएको छैन ? छ भने यति ठूलो संसारमा मानिसले घमण्ड गर्नु व्यर्थ छ । माथि नै उल्लेख छ- यो धर्तीमा मानिसभन्दा कमिलाको संख्या मात्र होइन, तौल पनि बढ्ता छ । हामीले देखेको ठूलो जनावर हात्ती त कति नै छन् र ? डायनोसर कति ठूलो थियो तर कसरी सकियो ? यसको हेक्का र हिसाब त पुच्छर नभएका हामीले नै वा नरले नै राख्नुपर्ने होइन र ?

तिर्न बाँकी सामाजिक ऋणको भारी बेरुजु छ कि छैन ? आफैं हिसाब गरौं, आफैं अडिट गरौं र आफैं फर्स्यौट गरौं ।

यी पङ्क्ति १२-१५ सय शब्द दशैं पहिले नै लेखेर लेखनाथ दाइ (पौडेल) सँग एकाध दिनपछि २ हजारसम्म पुर्याएर पठाउँछु है भनेर भाका मागेको थिएँ । अमेरिकी नेपाली जनको घनचक्कर कुइराको कागको भन्दा कम कहाँ छ र ? दिनको २४ घण्टामा ८ घण्टा काम गरे पनि काममा जाते-आते २ घण्टा राख्दा १० घण्टा त सकियो । अमेरिकी भूमिमा टेकेको २० वर्षमा ६ घण्टा सुतेको वा निदाएको सम्झना छैन तर बाँकी ८ घण्टा समयको हिसाब मिल्दैन । ज्यान यता र मन उतै हुनुजस्तो असाध्य रोगको कुनै औषधी उपचारको शोध वैज्ञानिकहरूले शुरू गरेकै छैनन् । तिहारको रमझम शुरू हुँदै गर्दा यी पङ्क्ति बिट मार्न लाग्दा अर्को एउटा नयाँ गीतका शब्द र दृश्यले छोयो । घुमन्ते मानव जातिको सन्दर्भबाट उठान गरिएका यो गीतका पङ्क्ति नेपालकै सबैभन्दा ज्यादा घुमन्ते समुदाय राउटे जाति माथि केन्द्रित छन् । नेपाली समाजका दुःखहरूलाई मसिनोसँग स्वर र दृश्यमा उतारिरहेका गायक प्रकाश दुतराज, नेपाली सामाजिक जीवनका दुःख पीडाका गीतहरूमा समाज र संस्कृति पनि बोकेर हिंडेका हुन्छन् । उनकै शब्द र स्वर (प्रकाश दुतराज र मेलिना राई) को त्यही ‘रिमै’ गीतका केही शब्दले यो बयानको पनि बिट मारें है त !

दुःख बगाई लैजा भेरी,

किन बग्छस् हेरी हेरी।’

मानिसको जीवन आफ्नै निर्णयहरूले मात्र चल्न सक्दैन । अनेकौं यस्ता खुड्किलाहरू आउँदै जान्छन्, त्यसमा उक्लिंदा उक्लिंदै फर्किनै नसक्ने अकरिलो भीरमा पनि पुग्दोरहेछ । यी अभिव्यक्ति कम्युटरमा कतै सेभ रहेछन् । आफैंले लेखेको हो वा कतैबाट कसैको सापटी थिए यकिन भएन । तर अहिले यी पङ्क्ति यही अकरिलो भीरमा उभिएर लेखिएका हुन् । यस्तो लाग्छ, प्रकाश दुतराजका यी शब्द यही अकरिलो भीरमा उभिनेहरूका लागि हुन् –

नलाऊ सीमा, नलाऊ घेरो,

जता जान्छु त्यही देश मेरो

व्यक्तिगत रूपमा यो पङ्कतिकार अहिले अमेरिकामा छ । जीवनका ३ दशकलाई ३ भाग लगाएर हेर्दा सबैभन्दा लामो समय बसेको भूमि यही पाताल प्रदेश हो । पहाड र तराईमा गरेर एक भाग, काठमाडौंमा एक भाग र अमेरिकामा अर्को भाग । तर पनि तराईकै एक भाग प्रिय लाग्छ । अनपेक्षित अर्थात् कुनै ठूलो योजना नबनाई र कुनै महत्त्वाकाङ्क्षा नबोकी यो ‘उल्टो गोलार्द्ध’मा भासिएपछि हुने समस्या नै मानसिक रहेछ । ज्यान एकातिर र मन अर्कातिर ।

मानसिक समस्याका अनेक रूप हुनसक्छन् र ती व्यक्तिअनुसार धेर-थोर । दुनियाँको रङ्गिन दुनियाँ मानिने अमेरिकाको लस भेगासमा झापाली कवि नारायण अधिकारीसँग संवाद हुँदैथियो- ‘मानिसका अनेक दुःख छन् र ती दुःखका कारण मानिस आफैं हुन् ।’ झापाली भने पनि कौवाली भने पनि नेपाली बाहुन तथा क्षेत्री समुदायको बहुसङ्ख्यक थर, धारी अधिकारी अमेरिकी समुदायका अल्पसङ्ख्यक नेपाली प्रतिनिधि हुन् । अरूलाई देखाउन उठाएको हातको एउटा औंलाको के भर पर्नु चार वाट औंलाले आफैंलाई ताकिरहेका हुन्छन् ! भन्छन् ‘मर्नुभन्दा बहुलाउनु निको,’ के हो त  बाँचेका धेरै मानिस थाहा नपाएरै बहुलाएका हुन्छन् ?

सपनामा देखिने र मनमा सम्झने बाल्यकालका तिनै पाखा, पखेरा वा तराईका फाँटहरू हुन् । मन र ज्यानको ‘कम्मिनेशन’ नहुनु जतिको असाध्य अर्को रोग पनि नहोला । यो रोगको कारण पत्ता लगाउन त कुनै विज्ञान वा वैज्ञानिक चाहिएन र निदानका लागि तिनको भूमिका अपेक्षित छ ।

नेपालीले संसारमा जहाँ गए पनि दुई पैसा तलमाथि होला सबैले गर्ने दुःख खाइजीविकाको लागि नै हो । नेपाली भूमि छोड्नेहरूले एक छाक मीठो मसिनो वा एकसरो न्यानो कपडा लगाउनु मात्रलाई ठूलो मानेर सामाजिक दायित्व र भूमिका बिर्सनु हुँदैन । यसका लागि देश छाड्नेहरूका सीमालाई बुझ्ने र सामाजिक दायित्व सम्झाउने र प्रेरित गर्ने वातावरण तयार गर्ने देशभित्र बस्नेहरूले पनि हो । माथि पनि उल्लेख छ- जो जहाँ भए पनि मिलेर गरौं । सङ्गठित भएर योजना बनाएर गरौं । जति सकिन्छ,त्यति मात्र गरौं ।

 

अन्त्यमा यो पनि

हुन त यस्तो पनि लाग्छ, गुमेका अवसरको चिन्ता गर्नुभन्दा पनि प्राप्त गर्न सकिने अवसरको खोजी गर्नु राम्रो हो ।

छोरी सुलेखाले एक दिन आमा–बुबालाई सँगै राखेर भनिन्, “तपाईंहरू सात समुद्र तरेर दसौं हजार माइल टाढा आइपुगेको पनि वर्षौं बितिसके । तर, आफूले छोडेर आएको भूगोल र जीवन चाहिं त्यही पहिलेकै देखिरहनुभएको छ । अब तपाईंहरूले छोडेको समाज पनि पहिलेकै जस्तो छैन । त्यहाँ पनि धेरै परिवर्तन आइसकेका छन्, जुन तपाईंहरूले थाहा पाउनु नै हुन्न ।”

तर आफूभित्र भने करीब २ दशक पहिले छोडेको त्यही दशौं हजार माइल टाढाको भूगोल वरिपरि घुमिरहेको छ, आज पनि ।

मानिसको मानसपटलमा एउटा निश्चित समयावधिभित्र त्यस्ता दृश्य र मान्यताहरू सेट भइसक्ने रहेछन्, जसलाई मेट्न कठिन मात्र होइन असम्भव नै रहेछ । प्रकृतिको यो कृतिलाई बदल्नु पनि त असम्भव नै छ, छोरीहरूले यो पनि बुझेको हुनुपर्छ ।

विपनामा यही भूगोलमा चालेका पाइला सपनामा दशौं हजार माइल टाढा कसरी पुग्छन् ? ती साथीसङ्गी, वन-पाखा, गाउँ-शहर, उकाली-ओराली कसरी आँखा वरिपरि नाच्न आइपुग्छन् ? यिनलाई ‘अन–अफ, पज वा होल्ड’ र ‘डिलिट’ केही गर्न किन मिल्दैन ? यो विचित्र लीला प्रकृतिका कृतिबाहेक विज्ञानका कुनै पनि कृतिमा स्वतःस्फूर्त आउने–जाने गर्छन् त ? ज्ञान–विज्ञान र प्रकृतिको यो सन्दर्भ अर्को कुनै प्रसङ्गमा चर्चा गरौंला । अहिलेलाई भने यो पनि– ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ – बालकृष्ण सम ।

यो पङ्क्तिकारले चर्चा गरेको सामाजिक परिवेश वरपरका अर्का साक्षी हुनुहुन्छ- कविराज बान्तवा । कविराज दाइले यो लेख पढेपछि एक संवादमा भन्नुभयो, “भाइ तिम्रो लेख पढें । लामो भए पनि तान्तै लाग्यो । तिमी राम्रो लेख्छौ ।”

उहाँले यो पनि थप्नुभयो- “जीवन भन्नु नै त्यस्तै हो – इन्द्र बहादुर राईकै ‘खीर’ कथा जस्तो ।”

हजारौं माइल टाढा आइपुगेका अभिभावकको मात्र होइन, डेरा गरेर बसेको भए पनि आफू जन्मेर हुर्कंदै गरेको ठाउँबाट नयाँ घर किनेर करीब ३३ माइल मात्र टाढा जाँदा ८ वर्षकी छोरी अभिलेखालाई आफू पढ्दै गरेको स्कूल, साथी र शिक्षकहरू, घर नजिकैको पार्क ठाउँ छोड्न मनै थिएन ।

उनले यो प्रश्न पनि गरिन्, “हामीले छोडेर हिंडेपछि बरन्डामा आउने चरालाई पानी र चारो कसले दिन्छ ?” र, पनि मानिस किन जन्मस्थल छोडेर भौंतारिएर हिंड्न छोड्दैन ? यी पङ्क्ति लेख्दै गर्दा सुधा छोरीहरूलाई टिकटकमा आफूले बनाएको यो गीत सुनाउँदै थिइन् –

किन छेक्छस् मेरै माइती रम्म-डम्म बादलू

फाटि दे बादलू हेर्छु म माइतीको देश !

नोट : गौरिगञ्ज पूर्व विद्यार्थी समाजको स्मारिका २०८० बाट परिमार्जन र सम्पादन सहित- लेखक ।