
मेरो गीत मेरै प्रतिबिम्ब हैन
जो टुटी जाने हैन जो टुटी जाने हैन
आकाश जस्ता अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
गोपाल योञ्जनद्वारा रचित उपरोक्त गीतको लय र मेलोडीलाई एक क्षण भुलौँ र शब्दहरूलाई मात्र हेरौँ । लाइनहरू उसै-उसै सङ्गीतमय लाग्छ । यो पक्कै कुनै न कुनै लयको फ्रेममा ट्याप्पै बाँधिएको कुनै गीत नै हो भन्ने हामीलाई अनुभूत हुन्छ । रचनाको यति सानो अंशबाटै एकातिर गोपाल योञ्जन एक उत्कृष्ट गीतकार थिए भन्ने कुरा प्रमाणित हुन्छ भने अर्कोतिर यसबाट गीत र कवितामा कतिसम्म पार्थक्य हुन्छ त्यो पनि थाहा पाउन सकिन्छ ।

गोपाल योञ्जन
मेरो गीत मेरै प्रतिबिम्ब हैन
जो टुटी जाने हैन जो टुटी जाने हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन…. ।
उन्नाइस वर्षकै उमेरमा “आकाश जस्ता अमर गीत मेरा, म जस्तो दुई दिनको पाहुना होइन” भन्दै असङ्ख्य सशक्त आकाश जस्ता अमर गीतहरू सिर्जना गरी नेपाली सङ्गीत जगतलाई झलमल्ल पार्दा-पार्दै उनले सन् १९९७ को २० मईको दिन यस लोकदेखि बिदा लिनु परेको थियो । “जीवनदेखि धेरै धेरै नै थाकेर, म मुर्दा भएको तिमी आज हेर” बोलको गीतको सङ्गीतकार गोपाल योञ्जनको निधन भएको पनि आज २६ वर्ष नाघिसकेछ ।
यद्यपि, उनीद्वारा रचिएका वा सङ्गीतबद्ध गरिएका असङ्ख्य गीतहरूमा उनका आकाश जस्ता अमर गीतहरू जीवन्त छन्—अजम्मरी फूल जस्तै । यस्तो लाग्छ कि असमयमा यस लोकलाई छाडेर जानुपरे तापनि उनका सपनाहरू लेक, बेँसी, हिमाल, भञ्ज्याङ् साथै चाँप, गुराँस, नागबेलीले ढाकिएका पाखापखेरूहरू र चियाबारीहरूमा मगमग सुगन्ध छर्दै जीवन्त छन् ।
नेपाली सङ्गीत क्षेत्रमा गोपाल योञ्जनको योगदान एक छुट्टै अध्याय हो । उनको योगदानको सही मूल्याङ्कन गर्न सकेनौँ भने, उनको योगदानबारे टिपन-टापन कुरा मात्र गरेर नेपाली गायन र सङ्गीतको लेखाजोखा गर्ने जमर्को गऱ्यौं भने त्यो ठूलो अन्याय हुन जानेछ । सोझै भन्नपर्दा, गोपाल योञ्जनको प्रसङ्गबिना नेपाली सङ्गीतको चर्चा हुनै सक्दैन ।
किन गोपाल योञ्जनको गीत-सङ्गीत र रचनाहरू यति कर्णप्रिय लाग्छ? यहाँ यही यावत् प्रश्नको उत्तर प्रष्ट पार्ने सानो जमर्को गरिन्छ ।
इतिहासदेखि प्रसङ्ग तानौँ । प्रथम गायक र गायिका सेतुराम र मलवादेवीदेखि मित्रसेन, रत्नदास हुँदै यात्रा तानिएर आएको नेपाली गीत सङ्गीतको फाँटमा आज पर्यन्त कैयौँ सङ्गीतकार, गायक-गायिका र शब्दकारहरू देखा परिसकेका छन् । सबैको योगदान आ-आफ्नो ठाउँमा छँदै छ ।
सबैको योगदानले केही न केही दिएकै छ तर सबैलाई उत्कृष्टताको ट्याग लगाइदिन भने सकिँदैन । कति गीतहरू आए, हिसाबै छैन । कति गीतहरू यसै विस्मृतिको गर्भमा पनि पुरिए । यसरी विस्मृतिको गर्भभित्र पुरिएका गीतहरूसित आजका नयाँ पिँढीले सरोकार राखेको पनि देखिन्न । यसो हुँदा-हुँदै पनि कलाकारहरूका यही भीडभित्र गोपाल योञ्जन त्यस्ता गायक, सङ्गीतकार र गीतकार हुन्, जसलाई प्रत्येक पिँढीका सङ्गीत प्रेमीहरूले जान्न खोज्नेछन्, बुझ्न खोज्नेछन् । प्रत्येक पिँढीका सङ्गीत मर्मज्ञहरूले उनको गीत-सङ्गीतबाट नयाँ-नयाँ रस पाइरहने छन् । आजका प्रत्येक नयाँ कलाकारहरूले उनको गायन, सङ्गीत र शब्दबाट उत्प्रेरणा र मार्गदर्शन पाइरहने छन् ।
गोपाल योञ्जनलाई प्रसिद्धिको शिखरमा पुऱ्याउनुमा उनीभित्रका विशेषताहरूलाई नै श्रेय दिनपर्छ । उनी सङ्गीतकार मात्र थिएनन्, एक बेजोड गीतकार पनि भएकाले नेपाली सङ्गीत क्षेत्रमा उनको धरातल कसैले हल्लाउन नसक्ने दह्रिलो बन्न सकेको हो । गायन, सङ्गीत र शब्द रचना जस्ता तीनै गुणहरूका सम्मिश्रणका धनी उनी वाग्येयकार हुन् । उत्कृष्ट गायन क्षमता र उत्कृष्ट सङ्गीत सृजना क्षमता भएका प्रतिभाहरू त थुप्रै भेटिन्छन् तर सफल गायक र सङ्गीतकारको साथ-साथ सफल गीतकार पनि बन्न सक्नु भनेको सबैको बुताले भ्याउने कुरा भने होइन ।
यसो त नेपाली गीत-सङ्गीतको क्षेत्रमा आफै गीत गाउने, आफै सङ्गीत भर्ने र गाउनु पर्ने गीत आफैले लेख्ने अभ्यास र जमर्को धेरैले नगरेका होइनन् तर प्रथम दुई विधामा सफलता प्राप्त गरे तापनि तेस्रो विधा अर्थात् गीतकारको रूपमा सफल हुनु चाहिँ सबैलाई भाग्यले दिएको छैन । यसको एउटा कारण छ, त्यो हो गीत रचनामा गुण स्तरीयता देखाउन सक्नु र नसक्नुको प्रश्न । सोझै भन्नु हो भने शब्द रचनामा दम नहुनु ।
तीनै विधामा पोख्त हुन खोज्ने उत्कण्ठा राख्दैमा सफलता प्राप्त हुन नसकेको तितो सत्यता हाम्रो सामु उदाङ्गो छँदै छ । स्वर राम्रो छ र सङ्गीतको पनि असल ज्ञान छ भने गायकहरूले आफूले गाउनु पर्ने गीतमा आफै सङ्गीत भर्न सक्छन् तर गीत रचनाको प्रसङ्गमा भने यस्तो प्रयास गर्दा धेरैजसो पछुतो गर्नुपर्ने स्थितिमा पुगेको पनि देखिएको छ ।
आफूमा गीतकारको लक्षण नहुँदा-नहुँदै पनि शब्दकारको पगरी पनि आफै गुथूँ भन्ने लोभले गीत रचना गर्न अघि सर्नु भनेको चित्रकला नजान्नेले रङ्ग र कुची समातेर क्यान्भासमा कोर्नु बराबर हो । कुनै पनि गीत हिट् हुनलाई गायक-गायिकाको स्वर, गीतमा भरिएको सङ्गीत पक्ष र शब्द रचना पक्ष जस्ता तीनै कुराको गुणस्तरीयता हुनपर्छ । असल रचनाकार हुनु भनेको बेग्लै विशेषता हो । कुनै गीतको मूल्याङ्कन गर्दा गाउनेको स्वर, गीतलाई सजाइएको सङ्गीत र गीतको शब्द रचना जस्ता तीनै कुराको मूल्याङ्कन गरिन्छ ।
गोपाल योञ्जन एक सफल र उत्कृष्ट गीत रचनाकार पनि भएकाले यही परम्परालाई समाउँदै कतिपय गायक-गायिका र सङ्गीतकारहरूले गीतको रचना पनि आफैले गर्ने मनोकामना राखेर साहस जुटाएका छन् तर हिमाल चढ्न साहसले मात्र हुँदैन । उनीहरूका गीतका शब्दहरू कोरा कल्पना र माया पिरतीका उत्मादीय अभिव्यक्ति र निरर्थक अभिव्यञ्जना मात्र बन्न पुगेका छन् ।
नारायण गोपालले पनि यसरी नै आफूले गाउनुपर्ने गीत आफैले लेख्दै गाएका भए उनी जुन चुलीमा पुगे त्यो उनको लागि अर्को जन्ममा पनि सम्भव हुने थिएन । राम्रो स्वर भएको गायक-गायिकाले आफैले कनीकुथी गीत लेख्दै त्यसमा लय भर्नुभन्दा बरु अन्य कुनै असल गीतकारको रचना मागेर त्यसलाई आफ्नो स्वर र सङ्गीतले सजाएर जनमानसमाझ ल्याउने काम गरे भने त्यो चर्चित हुन सक्छ भन्ने शिक्षा त नारायण गोपालबाटै लिनुपर्ने हो, जसले सधैँ असल गीतकारका गीतहरू मात्र गाउनु भयो ।
प्रसिद्ध गीतकार डा. जस योञ्जन ‘प्यासी’ लेख्छन्- “रहरले मात्र गीतकार हुन सकिन्न । कसैको गीतको सिको गरी कनी कनी शब्दहरू जोडेर सङ्गीतमा सजाउँदैमा गीत बन्दैन” । उनी अझ लेख्छन् “दुई चार गेडा टिपेर माया-पिरतीका अल्लारे भावलाई पोखाउँदैमा शब्दकार बन्नु अर्को कुरा हो तर साँचो गीतकार बन्नुलाई त भाव, संवेदना, अनुभूति-चेतना, सतत् साधना पनि चाहिन्छ” (भारतीय नेपाली गीतकारहरू पारिचायिक चर्चा) ।
हल्का शब्दहरू थुपारेर त्यसमा लय भर्दैमा बेजोड गीत बन्न सक्ने भए नेपालको राष्ट्रीय गीत किन असङ्ख्य रचनाकारहरूका रचनाबाट चुन्नपर्ने समस्या पर्थ्यो ? कुन रचनाकारको गीत रचनाभित्र अपेक्षित भावलाई उत्कृष्ट ढङ्गले सुललित शब्दहरूमा व्यक्त गर्न खोजिएको छ, त्यही नै हेरिन्छ । गीतकारहरूले प्रयोग गरेका शब्दहरू पनि लयमा प्रवाहित हुन सक्ने मिठास हुनपर्छ । जुनसुकै शब्दहरू लयमा प्रवाहित हुन सक्दैनन् । गीत रचना गर्दा एकातिर क्लिष्ट शब्दको प्रयोग हुनु हुँदैन, यसो भन्दैमा घरमा बोलिने व्यवहारिक शब्दहरूको पनि प्रयोग हुनु हुँदैन । बीचको मार्ग अवलम्बन गर्दै मिठा शब्दहरूका चयन गरिएको हुनपर्छ भन्ने कुरा त क्षमताशील शब्दकारहरूलाई मात्र थाहा हुन्छ । यहाँ गोपाल योञ्जनकै गीतको एक पङ्क्तिलाई हेरौँ-
“जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक”
यदि कुनै व्यक्तिले यो गीतको भाका कस्तो छ त्यो कहिल्यै सुनेको छैन भने पनि यी दुई लाइन शब्दहरू मात्र देख्दा पनि यो त कविता नभएर कुनै असल गीतकारले कोरेका गीत नै होला भन्ने उसलाई आभास भइहाल्छ । कारण यी दुई लाइनहरूमा रचनाकारले आफ्नो अभिव्यक्ति पोखाउन मात्र खोजेका छैनन् तर लयमा बग्न सक्ने शब्दहरू चयन गरेर सजाएका छन्, त्यो पनि अलङ्कार, उपमा, अभिव्यञ्जना र अनुप्रासलाई ध्यानमा राखी ।
यसैबाट थाहा लाग्छ कि असल शब्दकार सजिलै बन्न सकिँदैन, ऊभित्र साहित्यको ज्ञान पनि हुनपर्छ साथै लय अर्थात् कुनै निश्चित भाकाको प्रवाहभित्र बग्न सक्ने गरी शब्दहरू चयन गरी गीतको रूप दिन सक्ने क्षमता पनि हुनपर्छ । भाका हाल्नभन्दा पहिले नै शब्द र लाइनहरू गीत नै जस्तो लागोस् । कविता जस्तो नलागोस् । एउटा गीत गहकिलो बन्नु हो भने त्यसमा गायक/गायिकाको स्वर राम्रो मात्र भएर हुँदैन । राम्रो स्वर भएकोले गाउँदैमा त्यो गीत चर्चित हुन सक्दैन । यसैले कतिपय गीतहरू राम्रो स्वर हुनेहरूले गाएका देख्छौँ तर चर्चित बन्न सक्दैन । किनभने कि त गीतको सङ्गीत पक्ष कि त शब्द रचनाको फितलोपनले गर्दा यस्ता गीतहरू जन्मेर पनि जन-समाजभित्र जम्न सक्दैनन् ।
नेपाली गीत सङ्गीतको क्षेत्रमा मात्र होइन हिन्दी गीतहरूको क्षेत्रमा पनि गीतको शब्द रचनामाथि बढी जोड दिइएको देखिन्छ । हिन्दी फिल्मका प्रसिद्ध सङ्गीतकार ओ.पी. नय्यर शब्दलाई गीतको आत्मा र सङ्गीतलाई शरीर र स्वरलाई लिवास ठान्थे ।
यस सन्दर्भमा कुरा गर्दा अगमसिंह गिरीद्वारा रचित र अम्बर गुरुङको स्वर र सङ्गीतमा ६० कै दशकमा ग्रामाफोन रेकर्डमा निस्केको गीत “नौलाख तारा उदाए” लाई पनि लिन सकिन्छ । गीतको शब्दहरू हेरौँ-
“नौ लाख तर उदाए, धरती र आकाश हाँसेछ ।
शरद लाग्यो बनैमा, फुलले प्रीति गाँसेछ ।
नजली यहाँ झिलिली, मनको तारा निभेछ ।
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ”
यस गीतमा गिरीले उत्कृष्ट ढङ्गमा सरल शब्दहरूले काव्यात्मक अभिव्यञ्जनालाई लयात्मक रूप दिएका छन् । गीतको शब्द संरचना उसै-उसै लयात्मक देखिन्छ । सफल गीतकारको विशेषता यसरी परिपुष्टि हुन्छ ।
गीत र कविता बीच त्यति टाढाको साइनो छैन र नै गीतकारमा कविता रच्न सक्ने क्षमता हुनपर्छ । एउटा कविता नै गीत बन्न पनि सक्दैन । गीत तयार पार्न बसेपछि रचनाकारमा लयचेतना हुनै पर्छ । यही लयचेतना , श्रुतिमधुरता, बिम्ब र अनुप्रास प्रयोगले असल गीतको सृजना हुन्छ । गीतकार हरिभक्त कटुवालको गीतलाई फेरि हेरौँ—
कति कति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखा
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ ।
सीधा बुझिने यी पङ्क्तिहरूमा फरक फरक अर्थ बोध गर्न सकिन्छ । श्रोताले पनि विषयलाई आ-आफ्नै सीमामा राखेर आफ्नै पाराले बुझ्छन् । भावको विचरणमा श्रोतालाई खेल्न दिन सक्नु नै असल गीतको विशेषता हो ।
लय चेतना रहेकै कारणले होला हरिभक्त कटुवालका धेरैजसो कविताहरू पनि गीत जस्तै लाग्छ । कटुवाल गीतमा कवि भएर अनि कवितामा गीतकार भएर केही भनिरहेका हुन्छन् ।
एक कविले नै गीतलाई उत्तम ढङ्गले न्याय दिन सक्छन् भन्ने कुराको उदाहरण हामी हिन्दी गीत सङ्गीत जगतबाट पनि लिन सक्छौँ । हिन्दी तथा उर्दूका प्रख्यात कवि तथा शायर जावेद अख्तरको कुरा गरौँ । उनी हिन्दी सिनेमाको अति चर्चित गीतकार बन्न पुगे । तर जावेद अख्तर त्यसअघि सलिम खानसँग मिलेर ‘सलिम-जावेद’ नाममा चलचित्रको संवाद लेख्ने काम गर्थे । शोले, दीवार जस्ता फिल्महरूको पटकथा-संवाद लेखेर उनी यसै विधामा चर्चित भइसकेका थिए ।
सन् १९८१ मा ‘सिलसिला’ फिल्मको निर्माणको क्रममा निर्देशक यश चोपडासँग गायिका लता मंगेशकरले फिल्मको गीतकारको रूपमा जावेद अख्तरको नाम अघि सारिन् । उनी राम्रा कवि हुन्, उनका कविता मैले पढेकी छु र उनलाई गीत लेख्न लगाइयो भने नयाँपन आउन सक्छ भनी सुझाउ राखिन् ।
लताकै अनुरोधमा चोपडाले सिलसिलाको गीत जावेदलाई लेख्न लगाए । यता जावेदले पनि हिन्दी सिनेमामा प्रयोग गरिने परम्परागत गीत भन्दा पृथक् मात्र होइन तर गीतसँगै कविता पनि जोडेर तयार पारिदिए । लताले गाएकी ‘ये कहाँ आ गये हम, यूं ही साथ साथ चलते’ गीतको स्थायी अंश नै अमिताभ बच्चनको कविता वाचनबाट सुरु हुन्छ, ‘मैं और मेरी तनहाई अक्सर ये बातें करतें हैं…’ ।
गंगा र यमुनाको मिलन जस्तो गीत र कविताको मिश्रण यो अति नौलो शैली थियो । सबैले मन पराए यो शैलीलाई । खुबै चर्चित भयो यो गीत । आज पनि सङ्गीत प्रेमीहरू खुबै चाख मानेर यो गीत सुन्छन् । यहीँबाट जावेद अख्तर एक सशक्त गीतकारको रूपमा स्थापित हुन पुगे । त्यसपछि उनले गीत लेखनको क्षेत्रमा अघि बढ्दै जाँदा अति उत्कृष्ट शब्द रचनाहरूले हिन्दी गीतको क्षेत्रलाई ढकमक्क पारेका छन् । एक कविको सिप यस्तो हुन्छ ।
यसैले कविता र गीतमा धेरै सामञ्जस्यता भए तापनि यी दुईमा धेरै भिन्नता पनि छ । यसो त कवि र गीतकार दुवैले सूक्ष्म भाव अभिव्यञ्जनालाई अलङ्कार, मुर्छना, लालित्य, उपमा, बिम्ब, प्रतीक आदिले सजाएर एक निश्चित बाटो दिन खोजेका हुन्छन्, तर कवितालाई शब्द प्रयोगमा धेरै छुट छ, गीतलाई छैन । कवितामा दुर्बोध्य शब्दहरू हुन सक्छन्, क्लिष्टता हुन सक्छ, कुनै फ्रेमभित्र बाँधिनु पर्छ भन्ने पनि छैन तर गीतमा शब्द नै त्यस्ता चयन गर्नुपर्छ, जसलाई लयले सहज रूपमा चपाउन सकोस् । यति मात्र नभएर गीतका लाइनहरू एक निश्चित फ्रेमभित्र सजिलोसित अटाउन सक्नु पर्छ । एक कवि हुनलाई गीतकार बन्नु पर्दैन तर गीतकार बन्नलाई उसको मन, मस्तिष्क कविको हुनपर्छ अनि मात्र उत्कृष्ट गीत जन्मिनु सक्छ । रहर मात्र गर्नेहरू यहीँ नै असफल हुन्छन् ।
कसैले राम्रो स्वरमा गाउँदैमा वा राम्रो सङ्गीत भर्दैमा असल गीत बन्न सक्दैन । फलाना गीत “यु ट्युब”मा यति लाख श्रोताले सुने र उति लाख श्रोताले सुने भनेर आजको सामाजिक सञ्जालको जमानामा कतिले ठोकुवा गर्छन्, यो कुराले असल गीतको मूल्याङ्कन हुँदैन । यो त भर्च्यूअल श्रोताको सङ्ख्यात्मक मूल्याङ्कन मात्र हो । सबैभन्दा पहिले त लिरिक हेरेर गीतको लेखाजोखा गरिन्छ ।
विसं. २०४० सालमा नै सुप्रसिद्ध गीतकार रत्न शमशेर थापा (अहिले स्वर्गीय)-ले त्यसै बेला कुनै कार्यक्रममा गीतको परिभाषा दिँदै बोल्नु भएको भाषण ‘गरिमा’ पत्रिकाले छापेको रहेछ । त्यसमा गीतकार थापाले यसो भनेका रहेछन्- “म त भन्छु अहिलेका आधुनिक कविता लेख्नु भन्दा गीत लेख्नु साह्रै गाह्रो काम हो । थोरै शब्द र पङ्क्तिमा धेरै कुरा दिन सक्नु नै गीतको विशेषता हो, खुबी हो । के विषयमा मैले गीत लेखिरहेको छु नठम्याई गीत लेख्दा त्यो बहकिएर सही सन्देश प्रवाह नगर्न सक्छ ।
सीमित शब्दमा सम्पूर्ण भावार्थ दिनु पर्ने हुँदा गीत लेखन कठिन कार्य हो भने कवितालाई चाहिँ जति लम्ब्याएर पनि भाव स्पष्ट पार्न सकिन्छ” । उनी अझ भन्छन्- ‘‘सबैभन्दा पहिलो श्रोता तथा दर्शकलाई हान्ने भनेकै गीतले हो । त्यसपछि सङ्गीतले, अनि मात्र स्वरले । यी तीनवटैको राम्रो सम्मिश्रण र संयोजन मिलेपछि मात्र एउटा गीत सुन्दर बन्छ र त्यही हिट हुन्छ भन्ने मेरो मान्यता छ ।’’ कुनै अन्तर्वार्तामा उनले यसो पनि भनेका छन्, “कविताको एउटा अङ्ग भए पनि गीतको आफ्नै गन्ध हुन्छ, आफ्नै छन्द हुन्छ । यसैले म गीतलाई साहित्य र संस्कृतिको दोभान भन्छु” । उनको यो भनाइबाट पनि स्पष्ट हुन्छ, गीत र कवितामा निकटता पनि छ साथै भिन्नता पनि छ ।
गीतमा शब्द रचनाको स्तरीयतामाथि जोड दिँदै नवीन पौड्याल लेख्छन्- “गीतका गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनबाट मात्र असल गीतको निर्माण हुन्छ । गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ । गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ । गीतमा विरह भाव सबैभन्दा प्रभावकारी मानिन्छ । मान्छेभित्रको पीर वेदना, पीडा, संवेदनालाई गीतले सबैभन्दा बढी अभिव्यक्ति दिन सक्छ” ।
केही राम्रा-राम्रा गीतकारहरूलाई हेरौँ, उत्कृष्ट कवि पनि भएका हुनाले उनीहरूले असल गीतको सृजना गर्न सकेका छन् । अगमसिँह गिरी, ईश्वर वल्लभ, वैरागी काइँला, किरण खरेल, यादव खरेल, कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, राजेन्द्र थापा, माधव प्रसाद घिमिरे, हरिभक्त कटुवाल, राममान तृषित, विश्वम्भर प्याकुऱ्याल, नोर्देन रुम्बा, जस योञ्जन ‘प्यासी’, दिनेश अधिकारी, क्षेत्र प्रताप अधिकारी, नगेन्द्र थापा, रमन घिमिरे आदि मूलतः कवि हुन् अनि कवि हृदय लिएर उनीहरूले गीत लेखे ।
यही परिप्रेक्ष्यमा हामी गोपाल योञ्जनलाई हेरौँ । उनी रहरले मात्र गीतकार बन्ने मान्छे होइनन् ।
गोपाल योञ्जनका प्रत्येक गीतलाई हेर्दा, त्यसभित्र प्रयोग भएका उपमा, अलङ्कार, बिम्ब र अभिव्यञ्जनालाई हेर्दा, उनी पक्कै कवि हृदयको मान्छे हुन् भनेर सत् प्रतिशत ठोकेर भन्न सकिन्छ । आफूमा काव्य, गीत रचना र सङ्गीत तीनै थोकको क्षमता रहेकाले नै उनले गीतलाई न्याय दिन सकेका छन् । गोपाल योञ्जन गीत रचना र सङ्गीत तीनै विधाको सम्मिश्रण भएकाले नै नेपाली सङ्गीतको क्षेत्रमा उनी यति प्रख्यात र लोकप्रिय बन्न सकेका हुन् । गीतको भाव र शब्दहरू अनुरूप उत्कृष्ट सङ्गीत भर्न सक्ने अब्बल दक्षताले हुनपर्छ, उनी स्वयंले गाएका गीत होस् वा उनको सङ्गीतमा अरू कसैले गाएको गीत होस्, जति नै पटक दोहोऱ्याएर सुन्दा पनि उत्तिकै कर्णप्रिय लाग्छ । उनले रचेका गीतहरूका एक-एक शब्द र भावपक्षले श्रोतालाई कता कता भित्रसम्म फन्को मार्न बाध्य तुल्याइरहेको हुन्छ ।
ठिटो छँदा गीत लेखनको प्रारम्भिक चरणमा नै उनले लेखेका गीतहरू धेरै वर्ष गीत लेखेर खारिएका एक परिपक्व गीतकारको जस्तो देख्छौँ । ७० कै दशकमा उनको शब्द सङ्गीतमा रहेको एक गीत पछिबाट दिलमाया खातीले गाउनु भएको छ । गीत यस्तो छ-
आजकल म पिरतीलाई ती पीर भन्छु
जसको छायामा कहीँ शान्ति छैन
कहीँ चैन छैन
सब जाडो मान्छन्, हामीलाई पोल्छ
सब पाप भन्छन्, हामी धर्म भन्छौँ
कसलाई बुझाउने, कसलाई सुनाउने
म एक्लोलाई घोच्न, हजार काँडा हुन्छन्
महाजाल बुन्छन्
आजकल म यौवनलाई एक श्राप भन्छु
जहाँदेखि भाग्ने कुनै बाटो छैन
कुनै ठाउँ छैन
मैले खिल्ने फूल सब सिस्नो भन्छन्
मैले चुम्ने ओठ सब विष भन्छन्
मेरो हिँड्ने बाटो नरक हो भन्छन्
मुटु घात गर्नु मेरो धर्म भन्छन्
मेरो कर्म भन्छन्
“आजकल म आफैलाई पराय भन्छु
जसको कलेजा मेरो जस्तो छैन
म जस्तो छैन…”
आहा ! कति कलात्मक अभिव्यक्ति ! प्रारम्भिक चरणमा नै गीत लेखनमा उनले यो नयाँ प्रकारको प्रयोग अघि सारेका छन् । गीतले एक निश्चित भाव अभिव्यक्त गरेको छ । यति मात्र होइन कलात्मक ढङ्गले जिब्रोमा टक्क टाँसिन सक्ने शब्दहरूको चयन गरी अभिव्यञ्जनालाई सोह्र शृङ्गारले सजाएका छन् गीतकारले । आफ्नै यो शब्द रचनालाई कुन तालमा आधारित गरी कुन प्रकारको लय चाहिन्छ, त्यसमा सङ्गीतकारको रूपमा उनी अझ सचेत छन् । यति बेजोड गीतकारको जति नै प्रशंसा गरे पनि पुग्दैन ।
गीतकारमा सङ्गीतको केही ज्ञान छ भने मात्र उत्कृष्ट गीत बन्न सक्छ । गोपाल योञ्जन त स्वयम् असल सङ्गीतकार र गायक भएकाले गीत लेख्दा उनी शब्द, ताल, सुर, राग आदिलाई ध्यानमा राखी लेख्थे भनी गीतकार नगेन्द्र थापा र गोपाल योञ्जनबीच चल्ने पत्र व्यवहारको प्रसङ्ग निकाल्दै किरण भण्डारी लेख्छन् ।
देशभक्तिका गीतहरूमा पनि उनले अभिव्यञ्जनालाई कति सुन्दर ढङ्गले सजाएका छन् । ‘देशले रगत मागे’ बोलको देशभक्ति गीतभित्र एक नमुना हेरौँ-
“हामी वीर बनेर मर्छौं गोली त उ सहन्छे
माग्दिनन् सुनको अक्षर उ नेपालीकी छोरी”
उपरोक्त गीतमा देशभक्तिको साथ-साथ जातियताको भावना अति नै उत्कृष्ट ढङ्गले मुखरित भएको छ । गीतमा एकातिर देश रक्षाको लागि आफ्नो प्राणको आहुति दिने वीर नेपालीको वीरताको प्रतिबिम्ब छ भने अर्कोतिर सोही वीर सिपाहीको आमाको त्याग र बलिदानलाई पनि स्पष्ट देखाइएको छ । घरमा बुढी आमालाई बुढेसकालमा छोरोले देखभाल गर्नुपर्ने हो तर छोरो भने सेनामा छ, देशरक्षाको लागि सिमानामा शत्रुसित लडिरहेको छ ।
उसले घरमै रहेर निरन्तर आमालाई सहारा दिन पाउँदैन । यस्तो अवस्थामा आमालाई छोरोप्रति गुनासो हुनुपर्ने तर आमालाई गर्व छ, छोरो देशको लागि लडिरहेछ भनी । तर अचानक युद्धमा छोरोलाई गोली लाग्छ । यो खबर सुनेपछि आमा कति मर्माहत हुन्छिन्, त्यो पिर र व्यथालाई गीतकार गोपाल योञ्जनले यसरी व्यक्त गरेका छन्- “हामी वीर बनेर मर्छौं गोली त उ सहन्छे” । हेर्नुहोस्, कति सुन्दर अभिव्यक्ति छ यो एकै लाइनमा । ‘गोली’ र ‘सुनको अक्षर’ लाई गीतमा बिम्बको रूपमा राखिएको छ । भाव अभिव्यञ्जनामा लुकेको सौन्दर्यता नै गीतकार गोपाल योञ्जनको विशेषता हो ।
गोपाल योञ्जनको प्रत्येक गीत नै मौलिक पृष्ठभूमिमा उभिएको छ । कोरा कल्पना बोकेका हल्का गीतहरू त गीत लेखनको उनको प्रारम्भिक दिनहरूमा पनि उब्जेको देखिँदैन । श्रीमती रेन्छिनको भनाइमा, त्यस बेला भारत-पाकिस्तान युद्ध चरममा रहेको बेला उनीभित्रको राष्ट्रिय चेत र देशप्रतिको कर्तव्यबोध यसरी शब्दहरूमा पोखिएको थियो, “देशले रगत मागे मलाई बलि चढाऊ” भन्दै ।
गीतहरूमा गोपाल योञ्जनले जीवनका विभिन्न आयामहरूलाई छोएका छन् । उनका गीतहरू बेग्ला-बेग्लै बान्कीका छन् । प्रदीप बोम्जन लेख्छन् “गोपाल योञ्जनले मान्छेको गीत लेख्नुभएको छ । ती गरिब, जो सधैँ सीमान्तकृत भइरहे, उनीहरूको गीत गाउनुभएको छ ।” आज गोपाल हामीमाझ नभए तापनि उनका यी नै कर्णप्रिय र कालजयी गीतहरूले गर्दा उनी हामीबीच नै छन् जस्तो अनुभूत हुन्छ । आज पनि उत्तिकै ताजा र नवीन छन् उनका प्रेमिल गीतहरू । आज पनि युवाहरूमाझ अत्यधिक चर्चित छन् उनका गीतहरू । उनको गीतहरूमा मानवबारे सोच्ने एक फराकिलो हृदय देख्छौँ । गीतहरूमा माटोको सुगन्ध छ, चाँप गुराँसको वासना छ, छहराको कलकल छ, अझ भन्नपर्दा डल्लै जीवन दर्शन छ ।
गीतहरू त धेरैले लेखेका छन् तर विविध बिम्बसहित मर्मस्पर्शी गीत लेख्नु भनेको सबैको बुताले भ्याउने कुरा होइन । उनका गीतहरूका शब्द र पङ्क्तिहरूनै लय बोकेर हिँड्छन् । फेरि उनले गीतको आँखीझ्यालबाट समाज र समय चेतनाको एक फराकिलो दायरालाई देखाउन खोजेका हुन्छन् । सङ्गीत अध्येता गणेश रसिक लेख्छन्- “गोपाल योञ्जनले नेपाली गीत लेख्न र सङ्गीतमा नयाँ धार मात्र भित्र्याएनन्, उनले त कवितात्मक बिम्बसहितका सामाजिक चेतनाका गीत लेखेका छन् ।” साँच्चै नै उनका गीतहरूले उनी बेसहारा, निम्छरो र सीमान्तकृत वर्गका पक्षधर हुन् भन्ने कुरा स्पष्ट देखाएको छ ।
कहाँ पर्यो पूर्व हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो, वैरागी राम
माथि जाने बाटो छैन, समाउने लाठो छैन
आफूलाई त दिउँसै पनि, लाग्छ सधैँ राति
धेरै नेपालीको भोगाइको नै उपरोक्त गीतको मर्म हो । उनले त्यस्ता मानिसहरूसित मुटु साट्न खोजेका छन्, जसको लागि न माथि जाने ठाउँ छ, न समाउने कुनै हाँगा नै छ । न पूर्वको छेउ छ, न पश्चिमकै भेउ छ । सङ्गीत साधक आभास लेख्छन्- योञ्जन आम मान्छेका सङ्गीतकार, गीतकार र गायक हुन् ।” साँच्चै गीतको शब्द र भाकामा आम मान्छेको पीडा लुकेको हुन्छ, उनको गीतहरूमा ।
जीवनलाई गोपालले खुबै जतनले छोएका छन् । छानी-छानी शब्द प्रयोग गरेका छन् । मानवीय अनुभूतिको गहिराइभित्र फन्को मार्दै कतै उनले गीतमा निराशा पोखेका छन् भने कतै प्रेमिल भाव व्यक्त गरेका छन् ।
उनी धेरै दिन बाँचेनन् तर जीवन भोगाइका अनेकौँ तिक्तताहरू चाखेका अभिव्यक्ति छ उनका गीतहरूमा । उनलाई प्रेमको न्यानो स्पर्शदेखि विसङ्गत समयले सृष्टि गरिदिने पीडाको राम्रो अनुभूति छ ।
कैयौँ गीतहरूमा गोपाललाई एक निष्ठावान् देशभक्त र शान्तिपथका यात्रीको रूपमा पाउँछौँ । शान्ति नै बुद्ध हो र त्यसभन्दा पर अर्को बुद्ध छैन भन्ने उनको अवधारणा गीतले यसरी देखाउँछ–
गीतमा पनि उनी लेख्छन्–
केही गुनगुनाउँछु धेरै शान्ति पाउँछु
केही शान्ति बाँढ्न यहाँ गुनगुनाउँछु ।
गीतहरूमा जीवनप्रति उनी धेरै आशावादी पनि छन् भने कतै जीवनको निरर्थकता शब्दहरूमा उनेर राख्न पनि चुक्दैनन् । संसारमा मरेपछि पनि आफ्नो सबै नामोनिशान नमेटियोस् भन्नु हो भने अरूले भुल्न नसक्ने केही कर्म गर्नु पर्छ, नत्र यो भौतिक सम्पत्ति र सुख साधन त सबै छोडेर जान पर्छ भन्ने भाव कति राम्रो प्रकारले उनले गीतमा पोखेका छन् ।
जुनीभरि अर्जेका कमाइहरूलाई
तेरो माटोभरि म फालेर जान्छु,
ए संसार तेरो म केही लानेछैन,
म जिउको लुगासम्म फालेर जान्छु !
(शब्द : गोपाल योञ्जन, सङ्गीत : कर्म योञ्जन,
स्वर : महेश सेवा/स्वरूपराज आचार्य)
यसरी आफ्नो गायन र सङ्गीतले श्रोताको हृदयलाई नै छुन सक्नु र शब्द र भावले पनि झ्वाम्मै प्रभावित पार्न सक्नु जस्ता गुण संसारमा विरलै मानिसहरूलाई मात्र प्राप्त हुन्छ । यति गहन र ओजपूर्ण गीतहरू दिएर नेपाली सङ्गीत क्षेत्रलाई माथि उठाउनुमा उनले जुन योगदान पुऱ्याएका छन्, त्यसको तुलना कसैसित गर्न मिल्दैन । कसैले न उनको सङ्गीतलाई उछिन्न सकेका छन् न त उनको शब्द रचना र गायनको स्तरीयतालाई पछि पार्न सकेका छन् ।
गोपाल योञ्जन पूर्ण रूपमा एक कवि थिए । यसैले जिन्दगीका विभिन्न पक्षहरू र समाजभित्रका विसङ्गतिहरूलाई कविताभन्दा पनि बढी गीतमा सजाएर उनले व्यक्त गरे । सेनामा भर्ना भएर गएको एक लाहुरेको बाध्यता, भोगाइ र जिन्दगीलाई उनले कति गहनता, मार्मिक र लयात्मक रूपमा सजाएका छन् त्यसको एक नमुना हेरौँ—
“घर त मेरो हिमाली पाखा बेँसी हो रे
कुन दिनको संयोगले बने लाहुरे
शूरो बनी हेरेँ मैले जँगार तरेँ सागर तरेँ
साथी भाइको माया खातिर कति चोटी मरेँ मरेँ
जब सुने मलाई मेरै गाउँले नै बिर्से अरे
त्यही दिन साथी म त आत्मैबाट मरेँ मरेँ ।
कतै म त पर्साएर राखिएको बोको बनेँ
परदेश र मधेशमा नाम्लो अनि डोको बनेँ
कतै मान्छे तर्साउने दोबाटोको लाखे बनेँ
आखिरमा घर फिर्दा घरैभित्र पाखे बनेँ” ।
‘भारतीय नेपाली गीतकार पारिचायिक चर्चा’ मा डा. जस योञ्जन ‘प्यासी’ लेख्छन्- “गोपालको सङ्गीत शिल्पलाई अलग राखेर उनका गीत रचनालाई मात्र लिएर केही भन्नु हो भने उनी शब्दका कारिगर हुन् भन्न सकिन्छ । गोपाल योञ्जनले नेपाली गीतको उचाइमा अरू उच्चता थपिदिए” ।
नेपाली काव्यको क्षेत्रमा देवकोटा आशुकवि थिए भने गीत रचनाको क्षेत्रमा गोपाल योञ्जनमा यस्तो विशेषता थियो । क्षणभरमा उनी एउटा राम्रो गीतको रचना गर्न सक्थे ।
गोपाल योञ्जनको विशेषता भनेको एक धुरन्धर गायक, सङ्गीतकार र रचनाकारको रूपमा मात्र उदात्त छैन । कैयौँ अन्य विशेषताहरू पनि छन्, जसको श्रेय गोपाल योञ्जनलाई दिनपर्छ ।
जुन बेला गोपाल योञ्जन सङ्गीत क्षेत्रमा सङ्घर्षरत अवस्थामा थिए, त्यस बेला नेपाली सङ्गीत हिन्दुस्तानी सङ्गीतको प्रभावबाट मुक्त हुन नसकिरहेको अवस्था थियो । यस्तो अवस्थामा गोपाल योञ्जन नेपाली सङ्गीतमा नेपालीपन ल्याउने प्रचेष्टामा लागे, परिमार्जन ल्याउने कार्यमा जुटे ।
अम्बर गुरुङ् र गोपाल योञ्जनकै प्रवेशदेखि नेपाली सङ्गीतमा राम्रा-राम्रा मेलोडी मात्र होइन तर मेलोडीसितै काउण्टर मेलोडीको परम्पराको थालनी पनि भएको बताइन्छ ।
नेपालमा सिनेमाको गीत रेकर्ड गर्न बम्बई जाने परम्परा गोपाल योञ्जनले नै तोडेका रहेछन् । नेपालमै सिनेमाको गीत रेकर्ड गर्न सकिन्छ भनेर गोपालले नै गरेर देखाइदिएका हुन् भनी गीतकार एवम् निर्देशक नीर शाहले एक ठाउँ प्रशंसा गरेका छन् ।
उनका विभिन्न बान्कीका गीतहरूलाई पन्साएर लोक गीतकै मात्र कुरा गर्नु हो भने पनि नेपाली लोक गीत र लोक भाकाको गहन अध्ययन र मनन थियो गोपालमा । यसैले, ‘छातीमा मेरो यो छोटो भोटो’, ‘च्याङ्बा ओइ च्याङ्बा’, ‘मरी गए रेलीमै दैवको काखैमा’, ‘ए कान्छी नानी नि कस्तो छ मनको सुर’, ‘आहै भन भन भाइ हो, देउसुरे ’ जस्ता लोक भाकाहरू उनले हामीलाई दिन सके ।
गोपाल योञ्जनकै कारण नगेन्द्र थापा जस्ता असल गीतकार हामीले पायौँ । थापा स्वयम् भन्छन्- “मलाई गीत दार्जिलिङकाे परिवेश र गोपाल योञ्जनको मित्रताले लेखाएको हो । त्यो तहमा मलाई पुऱ्याउने गोपाल नै हो” ।
नेपाली जगतलाई गोपाल योञ्जनले सङ्गीत सम्बन्धी दुई पुस्तकहरू ‘सङ्गीताञ्जली’ र ‘गीतमञ्जरी’ दिए । आज अप्राप्य यस्ता पुस्तकहरूको पुनः संस्करण छपाएर सबैलाई पढ्ने अवसर दिनेतर्फ कसैको ध्यान गएको देखिँदैन, जुन एक दुःखको कुरा हो ।
नेपाली सङ्गीत क्षेत्रमा गोपाल योञ्जनको योगदानको कदर गर्दै “शुभारम्भ द म्युजिकल जर्नी”ले बितेका दुई वर्षदेखि गोपाल योञ्जनको नाममा पुरस्कार स्थापना गरेर एक सराहनीय कार्य गरेको छ । यो पुरस्कारले पहिलो वर्ष दार्जिलिङका लोकप्रिय र चर्चित र वरिष्ठ गायक दुर्गा खरेललाई सम्मानित गरियो भने गत वर्ष नेपालका सुमधुर स्वरका धनी गायक प्रकाश श्रेष्ठलाई प्रदान गरियो ।
लगभग एक दर्जन जति सिनेमामा समेत सङ्गीत दिने अनि असङ्ख्य फिल्मी र गैर फिल्मी दुवै प्रकारका कालजयी गीतहरूका सर्जक गोपाल योञ्जनलाई पिउने व्यसनले गर्दा अन्तमा जण्डिस रोगले कहिल्यै नउठ्ने गरी थल्यायो । २०५३ को ज्येष्ठ ७ गते नयाँ दिल्लीको अपोल्लो अस्पतालमा गोपाल योञ्जनले यस लोकदेखि बिदा लिए । नेपाली गीत सङ्गीतको क्षेत्रमा अझै धेरै-धेरै ठोस् काम गर्ने उनको सपना थियो होला तर ती सबै-सबै अधुरै रह्यो । यद्यपि उनले जे जति कालजयी गीतहरू छाडेर गएका छन्, ती सबैको संरक्षण हुनपर्छ, सङ्ग्रह गरी राखिनु पर्छ । नेपाली सङ्गीतको फाँटमा उनले जे जति काम गरेर गएका छन्, त्यसबारे मूल्याङ्कन हुनपर्छ, शोध हुनपर्छ, मन्थन हुनपर्छ ।
उनको सबै सृजना र कृतिहरूलाई संरक्षण गरेर राखिएन भने ती सबै नष्ट भएर जान सक्छन् भन्ने विचारले उनका धर्मपत्नी रिन्छेन योञ्जन स्वयं विगत १८ वर्षदेखि यस कार्यमा सचेष्ट रहेर आएकी छिन् । यस दिशामा एक उल्लेख्य कामको श्रीगणेश भएको पनि देखिन्छ । गोपाल योञ्जनका सम्पूर्ण सिर्जनाहरू अमेरिकाको न्यु योर्क स्थित विश्व प्रतिष्ठित कोर्नेल विश्वविद्यालयको मातहतमा रहेको विरलै अथवा विलक्षण थरिका सामग्री तथा पाण्डुलिपिहरू सङ्ग्रह गरी राखिने विभागको आर्काइभ्समा संरक्षण र संवर्द्धन हुन गइरहेको सुखद खबर आज भन्दा सात वर्ष पहिले नै नेपाली सञ्चार माध्यमहरूमा देखा परेका थिए ।
महान् कलाकार गोपाल योञ्जनका सम्पूर्ण सिर्जनाहरू विश्वभरका सङ्गीत प्रेमी तथा अनुयायीहरूका लागि स्थलगत तथा अन लाइन अवलोकन साथै अध्ययनका लागि आर्काइभ्समा निःशुल्क उपलब्ध राखिएका छन् । यस आर्काइभ्समा उनका सम्पूर्ण सिर्जनाहरू साथै उनका हस्तलिखित गीतका डायरीहरू, म्युजिक सिटहरू, तस्बिरहरू, उनका हार्मोनियम र बाँसुरी, उनले लेखेका लेखहरू, उनीबारे अरूले लेखिएका विभिन्न लेखहरू, श्रव्य-दृश्य सामग्रीहरू, उनलाई प्रदान गरिएका केही पुरस्कार र सम्मान पत्रहरू लगायतका सामग्रीहरू राखिएका छन् ।
आर्काइभमा गोपालका गीतहरूलाई १६ विभिन्न खण्डहरूमा विभाजन गरी राखिएको रहेछ । जस्तै दार्शनिक (Philosophical), आध्यात्मिक (spiritual), राष्ट्रिय (Nationalistic), रोमान्टिक (Romantic), नृत्य, (Dancing Melodies), लोक आधारित गीतहरू (Folk Flavored Songs), नारी प्रधान तथा बाल गीतहरू (Songs on and for Women and Children), चलचित्रका गीत-सङ्गीतहरू (Songs for Films), नाटकका गीत सङ्गीतहरू (Songs and music Score for Drama), गीति काव्य (Ballad), गीति नाटक Ballet), बाध्य सङ्गीत, (Instrumental and Musicals), विषय विशेष रचनाहरू (Thematic Songs on Sports, Police, Scout, Environment, School Songs, and songs relating to Trekking and Mountaineering as well as Social awareness etc.), टेलिफिल्म तथा वृतचित्रका सङ्गीतहरू (Music for documentaries and Telefilms ।
यस अतिरिक्त प्राप्त नभएका गीतहरू र सङ्गीत सम्बन्धी अन्य सामग्रीहरू पनि खोजी खोजी उक्त सङ्ग्रहालयलाई उपलब्ध गराउने काम भइरहेको छ । सम्पूर्ण अभिलेखन (archive) संरक्षण र संवर्द्धन र अध्ययनका लागि उपलब्ध गराइने कामको जिम्मेवारी कोर्नेल विश्वविद्यालयले लिएको बताइएको छ । यस कार्यका लागि गोपाल योञ्जनसित सम्बन्धित उनका सिर्जना तथा केही सामाग्रीहरू विश्वविद्यालयलाई निःशुल्क प्रदान गरिएको हुनाले कपिराईट संस्थाकै हातमा रहने बताइएको छ । एक नेपाली कलाकारको सम्पूर्ण कृति तथा सिर्जनाहरू यसरी पूर्ण रूपमा अभिलेखन (archive), संरक्षण गरिएको अन्तर्राष्ट्रिय स्तरमा नै यो पहिलो हो, जो सम्पूर्ण नेपालीको लागि गौरवको विषय हो । कुनै निकाय र कुनै संघ संस्थाबाट हुन नसकेको यो महत कार्यको श्रेय दिनपर्छ स्वयं श्रीमती रिन्छेनलाई ।
दार्जिलिङबाट नेपाल पसेर आफ्नो एक-एक पल नेपाली सङ्गीत क्षेत्रलाई सम्पन्न बनाउनमा समर्पित रहने गोपाल योञ्जनले जीवनमा धेरै तीता-मिठा झेले । व्यक्तिगत र पारिवारिक उकाली-ओरालीभन्दा बढी जीवन पर्यन्त भौगोलिक घाउले नै कता-कता च्वास्स घोचेको हुनपर्छ उनलाई । आफ्नो गाउँ छोडेर नेपाल पसेपछि, उनी नेपालकै भए, नेपालकै माटोले भिजे, नेपाल आमाकै महिमा गाए, राम्रा-राम्रा राष्ट्रिय गीत रचना गरे तर जसै गरे तापनि प्रवासीको संज्ञा दिनेहरूले कोतरिदिएका चोटदेखि उनी मुक्त हुन भने सकेनन् ।
नेपालकै भएर जयगान गाउँदै नेपालकै आत्माभिमान सधैँ शिरमा राखेर हिँडे । आफ्नो राष्ट्रिय गीतमा नेपाल आमाप्रतिको समर्पित भावना पोख्दै उनी भन्छन् “मेरो शिर उडाऊ बरु त्यो सहन्छु तर कोही पराएले टेके सहन्न” । यहाँसम्म भन्ने नेपाल सपुत अचानक स्वर्गे हुँदा भनेजस्तो राष्ट्रिय सम्मान नपाउनु भनेपछि कति दुःखको कुरा हो, भनेर साध्य छैन । किन भेदभावको सिकार भए अनि यो भेदभावको आधार के हो, प्रश्न चिन्हले एउटा लकिर कोरेको छ ।
२०२५–२७ सालमा कीर्तिपुरमा एम.ए पढ्दा पनि गोपालले प्रवासी हुनुको अपमान महसुस गर्नुपर्यो । यही घाउ जीवनभरि सायद उनलाई दुखेको थियो । यही पीडाले घोचिएको उनको कवि हृदय गीतमा बढी मुखरित भएर यसरी चिच्याउन खोजेको छ—
“भनिदेऊ नेपाली दाजु मेरो देश कहाँ पर्यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो”
गोपालभित्रको पीर मर्का नेगेन्द्र थापालाई पनि राम्ररी थाहा थियो । २०२७ भदौको ‘धूपी’-मा प्रकाशित एक लेखमा उनले लेखे, “तिम्रो सिर्जनाको निकास हुने ठाउँ रेडियो नेपाल र सांस्कृतिक संस्थान हुन्, जहाँ तिमीहरूलाई प्रवेश निषेध छ । गोपाल ! मलाई साथी सम्झेर माफ गर । तिमीलाई मैले काठमाडौँ लिएर आएँ तर अहिलेसम्म केही गर्न सकिनँ ।”
नगेन्द्र थापा अझ लेख्छन्- “गोपाल योञ्जन नभएको भए नारायण गोपालको सङ्गीतयात्रामा धेरै फरक पर्थ्यो, जुन तहको नारायणको स्वर थियो, त्यो स्वरलाई रमझम पार्ने र अझ उचाइमा पुर्याउने काम गोपाल योञ्जनको सङ्गीतसहित कालजयी शब्दले गरेकै हो ।”
वरिष्ठ सङ्गीतकार दीपक जङ्गमका अनुसार “मूर्धन्य सङ्गीत साधक गोपाल योञ्जन आफैमा एक ‘इन्टिच्युसन’ थिए जसबारे मिहीन अनुसन्धान कहिल्यै हुन सकेन ।”
सन् १९४३ को २६ अगस्टको दिन दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने मिरिक भेकको ओकाइटी चिया कमानमा एक मध्यम वर्गीय परिवारमा जन्मेका गोपाल योञ्जनको ‘राम कहानी’-भित्र निश्चय नै “एक दिनको घाम र सयौँ दिनको पानी” भरिएको होला तर अल्पायु बाँचे पनि उनले आफ्नो सृजनाले नेपाली गीत सङ्गीत क्षेत्रलाई भने घमाइलो र न्यानो पारेर गए । गोपाल योञ्जन जस्तो कलाकार एक युगमा एक पटक जन्मन्छ ।
नेपाल तर्फबाट गोपाल योञ्जनका सृजनाका विविध पाटोहरूबारे कतिपय सङ्गीत मर्मज्ञहरूले विभिन्न पुस्तक, पत्रिका आदिमा समय-समयमा लेख्दै आएका छन् तर उनको आफ्नै जन्मथलोबाट भने गोपाल योञ्जनको गुणको भार तिर्ने गरी सानोतिनो काम पनि भएको थिएन भन्दा कुनै गल्ती नहोला । यद्यपि २०२१ मा आएपछि भने उनी जन्मेको, हुर्केको र असङ्ख्य कालजयी गीत-सङ्गीत सिर्जना गरी नेपाली सङ्गीत मन्दिरमा समर्पित गरेका भूमि दार्जिलिङले उनीप्रति ऋणी बन्दै महत्त्वपूर्ण कार्य गरेको छ, उनको भव्य शालीग स्थापना गरेर ।
यसको साथै दार्जिलिङकाे मिरिक लगायत अन्य ठाउँहरूमा पनि गोपाल योञ्जनको शालीग स्थापना गर्ने प्रयत्न भइरहेको थाहा लागेको छ । यो एक सराहनीय कार्य हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

