पाल्पा जिल्ला डबका रिब्दीकोट -७ पाल्पामा जन्मनु भएकी साहित्यकार डा.सीता बिष्ट कार्की ‘सीबिका’ आधा दर्जन भन्दा बढी कृति प्रकाशित छन् । कविता, हाइकु,मुक्तक,गजल देखि उपन्याससम्म प्रकाशित गरिसक्नु भएको छ ।

हाल काठमाडौँमा बसोबास गर्दै आउनु भएकी पाल्पाली साहित्यकार डा. सीता बिष्ट कार्की सीबिकाको साहित्यिक योगदान माननीय छ । आख्यानदेखि काव्यमा राम्रो कलम निखार्न सफल साहित्यकार डा. सीता बिष्ट कार्की सीबिकाले २०७८ साल साउन नौ गते काव्य विधामा थप योगदान दिँदै आफ्नै परिकल्पनामा षड्ऋतु विधाको सुरुवात गर्नु भएको छ । जसको विधिवत् घोषणा २०७८ साउन नौ गते केन्द्रीय समिति गठन गरी गरिएको थियो ।

आज षड्ऋतु समाज नेपाल तेस्राे वर्षमा प्रवेश गरेको छ । दुई बर्षको अवधिमा यस समाजले छ वटा कृति प्रकाशन गरिसकेको छ भने केही पुस्तक प्रकाशनको तयारीमा छन् । छोटो अवधिमै यसरी कृति प्रकाशन गर्न सफल भएको छ । समाजले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने कुरामा विश्वस्त रहेको छ । यो समाजलाई अहिलेसम्म सहयोग गरी यो विधालाई यहाँसम्म ल्याउने सबै साहित्यकार, लेखक, पाठक शुभचिन्तक प्रति यस विधाका परिकल्पनाकार र केन्द्रीय समिति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

यसै प्रसङ्गमा षड्ऋतु कसरी लेख्ने भन्ने जानकारी पनि तल उल्लेख गरिएको छ।

===

षडऋतु कसरी लेख्ने ?

षडऋतु लघुतम कविता कविता विधाको उपविधाअन्तर्गत लघु विधा हो । षडऋतु दुई शब्द षट् र ॠतु मिलेर बनेको छ । पूर्वीय दर्शन र वाङ्मयमा षट् वा छ सङ्ख्याको सारै ठुलो महत्त्व रहेको पाइन्छ । त्यसैअनुसार शब्दकोशले कतिपय क्षेत्रका अर्थ दिएको छ ।

– षट्पद : छवटा खुट्टा भएको, भ्रमर

– षट्पदी : छवटा चरण वा पाउ हुने छन्द

– षट्कोण : छवटा कुना परेको

– षड्दर्शन : साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त यी छ वटा हिन्दुहरूको दार्शनिक सिद्धान्त

– षडरस : गुलियो, अमिलो, नुनिलो, तीतो, पिरो र टर्रो यी छवटा प्रमुख रस, स्वाद वा शरीरका पोषक तत्त्व

– षडरिपु : काम, क्रोध, लोभ, मोह, मद र मत्सर यी मानिसमा हुने विकार वा छ प्रकारका शत्रु

– षट्कर्म : स्नान, सन्ध्या, पूजा, तर्पण, जप र होम यी छवटा मानिसहरूले गर्नुपर्ने अनिवार्य कर्म

– षट्कर्ण : छ्वटा कानले सुनेको; भन्ने र सुन्नेबाहेक तेस्रो मानिसले पनि सुनेको कुरो ।

– षड्मुख : भगवान् कार्तिकेय (ञ) षट्कृत्तिका : आकाशमा रहेका छवटा ताराको समूह, किर्किटी तारा ।

यसरी नेपाली शब्दकोश षट् वा छ सङ्ख्याको अर्थलाई विभिन्न रूपमा व्याख्या गरिएको छ ।

ऋतुको शब्दकोशीय अर्थ हेर्दा : वैदिक कर्म गर्नका लागि उपयुक्त शुभ समय भन्ने एउटा अर्थ छ ।

उसरी नै अर्को अर्थ : प्राकृतिक रूपले वर्षभरिमा दुई दुई महिनाको विभाग भनिएको छ । ती ऋतुका नाम  वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर हुन् ।

त्यसै गरी ऋतुले अर्को अर्थ बोटबिरुवाको फलफूल लाग्ने समय पनि जनाउँछ । त्यसैले समय अनुसारका फलहरुलाई ऋतुफल भनिन्छ ।

अर्को अर्थमा स्त्रीले गर्भधारण गर्ने समय वा महिनावारीको समयलाई पनि बुझाउँछ ।

समग्रमा विचार गर्दा ऋतु शब्द सम्भावना र उत्पादनशीलता बुझाउने हो भन्न सकिन्छ ।

षड् अथवा छ को र ऋतुको सामान्य विवेचनापछि षड्ऋतु नै नामका लागि छानिनुको अर्थ पनि प्रायः प्रस्ट नै भयो । यसमा समय, सृष्टि, संसार, स्रष्टा, सत्य, सेवा र साधन समेत सबै समेटिएको अनुभूत हुन्छ । दर्शनले दर्साउने र द्रष्टाका अन्तर्मनले देख्ने पनि तिनै कुरा हुन् । अन्तर्मनले देखेको कुरा कलात्मक रूपले स्रष्टाले समेट्छ । त्यसरी नै समेट्ने क्रममा षट्पदीय काव्य षड्ऋतुको अवतरण हुन्छ । यो षड्ऋतु षट्पदीय लघु काव्य हो । यसका प्रतिपङ्क्तिमा छ अक्षरका दरले राखिन्छन् । त्यसैले यो छत्तीस अक्षरीय लघु र काव्यात्मक रचना बन्छ ।

आजको व्यस्त मानिस र मानिसको अभिव्यक्तिमा सुन्दरता खोज्ने चाहलाई यसबाट सहयोग पुग्ला भन्ने लाग्छ । यसमा अनेकता र विविधता तत्त्वहरूको सम्मिश्रण हो भन्न हिचकिचाउनु पर्दैन । त्यस कुरालाई माथि षड्ऋतुको चर्चा गर्दा उल्लेख गरियो । सानो कुरा नै ठुलो कुराको स्रोत हो । किनभने थोपाबाट महासागर बनेको छ । यस षड्ऋतुमा सुन्दर फूलहरू छन्, शृङ्गारिक रसहरू छन्, सुन्दर प्राकृतिक छटाहरू छन् । त्यति मात्र होइन मानिसका शत्रुहरू पनि छन् । षड् र ऋतु मिलेर बनेको यो लघुकाव्य उपविधा विविध काव्यिक रसास्वादन गर्ने पूर्णिमाको जून हो । यसले भाषा साहित्यको श्रीवृद्धिका लागि एउटा सानो इँटा भए पनि थप्ने काम गर्नेछ । वास्तवमा हजारौँ साना साना पानीको विन्दुहरूबाट विशाल समुद्र बन्दछ ।

परिभाषा : षडऋतु लघुकाव्यलाई परिभाषा गर्दा काव्य विधाभित्र छ गुण “छ पङ्क्ति र छत्तीस अक्षरको षट्पदीय स्वरूपमा संरचित लघुतम उपविधा नै षडऋतु हो” वा “षट्पदीय काव्यिक छत्तीस अक्षरीय लघु काव्य नै षडऋतु हो ।” यस प्रकार षड्भित्र हरेक प्रकारका छ तत्त्वहरू लुकेका छन् । यिनै विविध छ प्रकारका तत्त्वहरू मिलेर षड्ऋतु लघुकाव्यको संरचना भएको पुष्टि गरिन्छ ।

षडॠतुको सिद्धान्त तथा सूत्रहरूलाई लेखनका हिसाबले मुख्य गरी तीन भागमा विभाजन गरिएको छ :

– संस्कृतका शास्त्रीय छन्द । षडॠतु लघुतम काव्यमा संस्कृतका शास्त्रीय छन्दहरू यसमा निश्चित गण र सूत्रहरू हुन्छन् निम्न छन् (क) शशिवदना छन्द (नय गण) (ख) सोमराजी छन्द (यय गण) (ग) विध्युल्लेखा वा शेषा छन्द (मम) (घ) तनुमध्या छन्द (तय) (ङ) तिलका छन्द (सस) (च) विमोह छन्द (रर) (छ) मन्थान छन्द (तत) (ज) वसुमती छन्द (तस) (झ) रघु छन्द (जय गण) (ञ) रत्नराज छन्द (रय) (ट) युवती छन्द (जस) यस लेखनमा स्वरान्त अक्षर पूरा उच्चारण हुन्छ र उसै अनुसार गणना गरिन्छ ।

– लोकछन्द : नेपाली लोकजीवनमा प्रचलित लोकगीतको लयमा गाउन पनि सकिन्छ यसमा उच्चारणगत एकरूपता वा सामाक्षरिक गति यतिको आधारमा निर्माण गरिन्छ । लोकजीवनले उच्चारण गरेका आधारमा अक्षरको गणना गरिन्छ । त्यसो हुँदा कतिपय ठाउँमा अकारान्त अक्षर पनि हलन्त उच्चारण भएर गन्तीमा नआउन सक्छ ।

– मुक्त छन्द षडॠतुलाई मुक्त छन्दमा पनि लेख्न सकिन्छ । मुक्त छन्द हरेक प्रकारको कविताको स्वतन्त्र लय हो तर पनि आन्तरिक लयको सुमधुर झङ्कार लुकेको हुन्छ । मुक्त छन्द वा स्वतन्त्र छन्दमा गद्य कविताकै लेखन जस्तै गरी लेख्न सकिन्छ । प्रत्येक हरफहरूमा सकेसम्म अक्षर सङ्ख्या समान राख्न सकेमा अझ सुन्दर हुन्छ । यसमा पनि अक्षरको गणना लोकछन्दमा भएकै नियम अनुसार हुन्छ ।

सूत्र : दुई माथिका हरफ र तलका हरफका बिचमा एक स्वतन्त्र वाक्य भएको षडऋतु लघुकाव्यका केही उदाहरणहरू यसरी देखाइएको छ ।

(१) शशिवदन छन्द (।।। ,lऽऽ) 

नयन झुकेको

मनुज लुकेको

अमृत सुकेको

चकित छ है त्यो

नियम चुकेको

श्वास नै रुके
(२) सोमराजी छन्द (।ऽऽ ।ऽऽ) 

भिजेको सिरानी

उजेलो बिहानी

झुकेको जवानी

छु रोज्दै खोज्दै

छ नौलो कहानी

बनेरै अज्ञानी

 

(३) विधुल्लेखा (शेषा) छन्द (ऽऽऽ ऽऽऽ)

आनीबानी खोली

बोकेको रे झोली

हाँसी, खेली बोली

मेची कोसी गर्दै

मोर्चा युद्धैमा गोली

ऐना हेर्दै रोली ।

 

(४) तनुमध्या छन्द (ऽऽ। ।ऽऽ) 

जन्मे अनि आएँ

हाँसेर मनाएँ

व्यर्थै दुख पाएँ

यो देह छ प्यारो

वर्षात नि खाएँ

साँच्चै नै रमाएँ ।